April 17, 2010

तोयोता प्लाण्ट भ्रमण

प्रसिद्ध मोटर कम्पनी तोयोता (टोयोटा)को एउटा प्लाण्टको भ्रमण गर्ने मौका जु-यो गत बिहिवार। यस बारेमा जापान आउनेबित्तिकै थाहा पाएको भएपनि जाऊँला-जाऊँला भन्दा-भन्दै सात वर्ष बितेछ।

हुनत टोयोटा समूह अहिले गाडी उत्पादन बाहेक अन्य धेरै क्षेत्रमा पनि संलग्न भईसकेको छ, तर यसलाई अझै पनि गाडीकै पर्यायको रुपमा लिईन्छ।

टोयोटा शहरमा रहेको टोयोटा समूहको मुख्यालय (Head Office)। यसका अरु दुई प्रमुख कार्यालयहरु टोक्यो मुख्यालय (Tokyo Head Office) र नागोया कार्यालय (Nagoya Office) हुन्। 

यस्तो भ्रमणमा सहभागी हुनका लागि कम्तिमा दुई हप्ता पहिलेनै ईण्टरनेटबाट बुक गर्नुपर्ने रहेछ (जापानमै, विशेष गरी टोयोटा शहरको  नजिकै रहनुभएका साथीहरुलाई रुचि छ भने यहाँ क्लिक गरेर जानकारी लिन सक्नुहुन्छ; Toyota Plant Tour)।

त्यहि टूरमा आधारित भएर केहि कुराकानी गरौं आज।

तोकिएको समय बिहानको साढे दशभन्दा केहि मिनेट पहिलानै मुख्यालय नजिकैको Toyota Kaikan Museum मा पुग्यौं हामी बूढा-बूढी। आफू आईपुगेको जानकारी गराएर आगन्तुक पास लिएपछि खास टूर शुरु हुने समय ११ बजे सम्म म्यूजियमभित्रै घुम्नु थियो।

म्यूजियममा पस्ने बित्तिकै टोयोटाका दुई बिशिष्ट उत्पादनहरु देखिन्छन्। टोयोटाको भविष्योन्मुख उत्पादन -दर्शनलाई झल्काउने यी दुई उत्पादनमा एउटा "i-unit" नाम दिईएको Concept Vehicle हो। यो एक सिटे गाडी भविष्यको सबैभन्दा लोकप्रिय सवारी साधन हुने अनुमान रहेछ टोयोटाको। "i-unit" बारेको केहि मिनेटको प्रदर्शन हेरियो।

दोश्रो चाहिँ "Toyota Partner Robot" हो। यो रोबोटले ट्रम्पेट बजाएको पनि हेर्न पाईयो। बेलाबखत यस्ता धेरै रोबोटहरु मिलेर कन्सर्ट पनि गर्दा रहेछन्:), हामी पुगेको दिन त्यो संयोग भने परेन। "i-unit" बारेको प्रदर्शनी र ट्रम्पेट बजाईरहेको Toyota Partner Robot यो लेखको अन्त्यमा राखिएका दुई भिडियोहरुमा हेर्न सक्नुहुन्छ।

म्यूजियम भित्र पसेपछि एक खण्डमा टोयोटाका बिभिन्न मोडेलका गाडीहरु प्रदर्शनीका लागि राखिएका थिए भने अरु खण्डमा टोयोटाको इतिहास र उत्पादनप्रणाली संबन्धी टोयोटाको दर्शन झल्काउने तस्बिरहरु, रेखाचित्रहरु टांगिएका थिए। २०-२५ सीटका मिनि थिएटरजस्ता पनि थिए र तिनमा टोयोटा बारेका जानकारी प्रसारण भईरहेका थिए। ठाऊँ-ठाऊँमा राखिएका कम्प्युटरहरु चलाएर पनि टोयोटाको उत्पादन प्रणालीको virtual tour गर्न सकिन्थ्यो। दोश्रो तल्लामा टोयोटासम्बन्धी उपहार-सामानहरुको पसल रहेको छ।

ठिक एघार बजे हामीजस्ता ४० जना मिसिएर बनेको हुललाई लिएर टूर बस टोयोटाको मोतोमाची प्लाण्टतिर लाग्यो। जापानभित्र टोयोटाका यो सहित १२ प्लाण्टहरु रहेछन्। ती सबै १२ प्लाण्टहरु टोयोटा शहर रहेको प्रान्त (आईची)मै रहेछन्। मोतोमाची प्लाण्टमा तोयोताका Crown, Mark X, Estima आदि मोडेलका गाडीहरु उत्पादन गरिँदो रहेछ।

मोतोमाची प्लाण्टसम्म पुग्न लाग्ने लगभग १५ मिनेटको समयमा टूर गाइडले टोयोटाको इतिहास र वर्तमान स्थितिका बारेमा कुरा गरिन्।

वर्तमान टोयोटा शहरको पुरानो नाम कोरोमो हो। उन्नाईसौं शताब्दीमा यो शहर रेशम उत्पादनका लागि प्रसिद्ध थियो र रेशमकै कारण एउटा धनी शहर मानिन्थ्यो। जापान र बिश्व बजारमा रेशमको माग घटेपछि शहरको आर्थिक स्थिति पनि खस्कियो। यो स्थितिमा एउटा रेशम उद्यमी परिवारकै उत्साही युवा किइचिरो तोयोदा सन् १९३० मा साना ग्यासोलिन ईञ्जिनहरुको अनुसन्धानमा संलग्न भए र सन् १९३३ मा उनको परिवारको रेशम उत्पादन कम्पनी Toyota Automatic Loom Works को एउटा शाखा Automobile Department को रुपमा गाडी उत्पादन शुरु गरियो। यहि शाखाले सन् १९३७ मा 'तोयोता मोटर कम्पनी लिमिटेड' को रुप लियो। 

कम्पनी शुरु गर्ने परिवारको थर तोयोदा हो र अहिलेसम्म पनि उच्च तहको ब्यवश्थापनमा त्यहि परिवारका सदस्यहरुको बहुमत छ। कम्पनीको नाम 'तोयोदा' नै नराखेर 'तोयोता' राख्नुमा भने तीन प्रमुख कारणहरु देखाईएका छन्। 

१) जापानी भाषाको काताकानामा 'तोयोदा' लेख्दा दश स्ट्रोक आबश्यक पर्छ भने 'तोयोता' लेख्न आठ स्ट्रोकमात्रै आवश्यक पर्छ। आठ जापानी संस्कृतिमा शुभ मानिन्छ। यसैले कम्पनीको नामको रुपमा तत्कालीन ब्यबश्थापनले 'तोयोता' लाईनै अपनाउने निर्णय गरेछ। यहि 'तोयोता' बिदेशी उच्चारणमा 'टोयोटा' बन्न पुगेको हो। 

जापानमात्र नभएर चीन, ताइवान, हङकङ, कोरीया आदि चिनियाँ साँस्कृतिक प्रभावक्षेत्र भित्रका सबै ठाऊँमा आठ शुभसूचक अंक मानिन्छ।

 २) दोश्रो, 'तोयोदा' नै राख्दा एउटा परिवारको बर्चस्व देखिने र 'तोयोता' राख्दा त्यस्तो कम हुने धारणा रहेछ।

३) तेश्रो, 'तोयोदा' भन्दा 'तोयोता' उच्चारण गर्न सजिलो र श्रुतिमधुर भएकोले।

तलको तस्बीर तोयोताको लोगो हो। यो लोगोको बारेमा पनि गाइडले केहि कुरा गरेकी थिईन्। ती कुराहरुको सारको रुपमा तोयोताको आधिकारिक ब्याख्यालाई यहाँ राख्न चाहन्छु;

The current Toyota Mark consists of three ovals: the two perpendicular center ovals represent a relationship of mutual trust between the customer and Toyota.  These ovals combine to symbolize the letter "T" for Toyota.  The space in the background implies a global expansion of Toyota's technology and unlimited potential for the future.
 थप कुरा यहाँ क्लिक गरेर बुझ्न सक्नुहुन्छ।

शहरको आर्थिक स्तरलाई फेरि उच्च बनाउन तोयोता कम्पनीले दिएको योगदानको कदर गर्दै मार्च १, १९५१ मा कोरोमो शहरको नाम फेरेर तोयोता बनाईयो।

टोयोटा कम्पनी र यससंग जोडिएका अरु साना-ठूला धेरै कम्पनीहरु र उद्योगहरुका कारण टोयोटा शहर एउटा अटोमोटिभ शहर (Automotive City) बनेको छ। टूर गाईडका अनुसार टोयोटा शहरको जनसंख्याको लगभग १० प्रतिशत टोयोटा कम्पनीमा काम गर्छ।

मोतोमाची प्लाण्टभित्र क्यामेरा, मोबाईल फोन लान दिईँदो रहेनछ।

गाडी उत्पादनका मुख्य ४ प्रकृयाहरु (stamping, welding, painting and assembly) मध्ये welding र assembly मात्र आगन्तुकहरुलाई देखाईँदो रहेछ। हाम्रो भ्रमण assembly line बाट शुरु भएको थियो। welding भएर आएको car body मा electronic parts बाट शुरु गरेर ईञ्जिन, सिटहरु, स्टेयरिङ्ग, झ्यालका शिशाहरु आदि धेरै भागहरु क्रमैसंग assemble हुँदै गएको हेर्दा उत्पादन प्रकृयामा लागू गरिएको अधिकतम स्वचालनले जो कोहिलाई पनि प्रभावित बनाऊँछ। भ्रमणको अन्त्यमा welding प्रकृया हेरियो, जहाँ सैयौं रोबोटहरु गाडीलाई (body) आकार दिन खटिरहेका थिए। welding प्रकृया ९६% स्वचालित रहेछ। ती रोबोटहरु हामीले साईन्स फिक्सनमा देख्ने/पढ्ने जस्ता मान्छेकै आकारका (humanoid) निश्चयपनि थिएनन्, तर तन्केर, निहुरेर हतार-हतार काम गरिरहेका तिनीहरुलाई देख्दा साँच्चै मान्छेहरु देखेजस्तो भावना जन्मियो मेरो मनमा। जनसंख्या घट्दै गएको जापानका भावी कामदारहरुको रुपमा यस्ता रोबोटहरुको संख्या अझ बढ्दै जाने निश्चित छ।

समग्र उत्पादन प्रकृयामा तोयोता उत्पादन प्रणाली (Toyota Production System, छोटकरीमा TPS) कसरी लागू भईरहेको छ भनेर गाइडले ब्याख्या पनि गरिरहेकी थिईन्। TPS का दुई प्रमुख धारणाहरु JIDOKA र Just-In-Time (JIT) रहेछन्।

JIDOKA: जापानी भाषाको यो शब्दको सोझो अर्थ 'स्वचालन' हो। गाइडका अनुसार तोयोताको उत्पादन-दर्शनमा यसले Automation with human like intelligence जनाऊँछ।

Just-In-Time (JIT): यसको अर्थ चाहिँ Make what is needed when it is needed, and only as much as needed

Toyota Production System(TPS)Toyota Way औद्योगिक क्षेत्रमा धेरै अध्ययन र चर्चा-परिचर्चाका विषय हुन्। सवा एक घण्टाको भ्रमणमा धेरै जान्न/देख्न निश्चय पनि भ्याईन्न। फेरि तस्बीर खिच्न नपाईने हुँदा आफ्नो सीमित स्मरण-शक्ति बाहेक भर पर्ने अरु कुरा केहि हुन्न। 

गाइडका अनुसार मोतोमाची प्लाण्ट हरेक २ मिनेटमा एउटा कार assemble गरेर निकाल्ने क्षमता राख्दछ। अहिले दिनमा औसत ३०० गाडीहरु बन्छन् रे (मेरो स्मरण गलत छैन भने)। यो मोतोमाची प्लाण्ट चीन, भारत, भियतनाम आदि १३ देशहरुमा रहेका २९ तोयोता प्लाण्टहरुको mother plant पनि हो रहेछ। 

टोयोटा एउटा बिश्व प्रसिद्ध कम्पनी समूह भएकोले यसका बारेमा तपाईँहरु सबैलाई पनि पक्कै केहि न केहि थाहा छ भन्ने कुरामा म विश्वश्त छु। अहिले टोयोटा यसका केहि मोडेलका गाडीहरुमा देखिएको समस्याका कारण अझ बढी चर्चामा छ। एक हिसाबले अहिले टोयोटा यसको इतिहासकै सबैभन्दा कठिन मोडमा उभिएको हुनुपर्छ। यसका गाडीहरुको बिक्री ब्यापक रुपले घटेको छ र चर्चा अनुसार हालै यसले एक जापानी बैंकसंग ३ बिलियन अमेरिकी डलर बराबरको ऋण लिएको छ। गाडीमा देखिएका समस्याहरु र तिनले सृजना गरेका दुर्घटनाका बारे अमेरिकी कंग्रेसले तोयोताका वर्तमान अध्यक्ष आकिओ तोयोदा स्वयँसंग स्पष्टीकरण लियो (आकियो तोयोदा कम्पनी संस्थापक किइचिरोका नाती हुन्।)

तोयोता डुब्नु भनेको यसमा काम गर्ने/लगानी गर्ने लाखौं मान्छेहरुमात्रै डुब्ने होईन, यसकै भरमा चलेका हजारौं अरु साना-मझौला कम्पनीहरु र तिनले सृजना गरेका करोडौं रोजगारीहरु पनि डुब्नु हो। त्यसो भयो भने तोयोता शहर र नागोयामात्रै होईन, पूरै जापानको अर्थतन्त्रमा ठूलो धक्का पुग्नेछ। यसको असर बिश्वब्यापी र ब्यापक हुनेमा पनि शंका छैन।

तोयोता खाइकान म्यूजियम र मोतोमाची प्लाण्ट घुम्दा भने पूर्ण रुपमा सकारत्मक उर्जा मात्रै अनुभव गरें मैले, तोयोतामाथि मडारिईरहेको बादलको कुनै संकेत देखिन। तोयोता आफ्ना समस्याहरुलाई समाधान गर्न र अझ फैलिन समर्थ छ भन्ने अनुभूति लिएर फर्किएँ म।
-----------------------------------------------
र अन्त्यमा खाईकान म्यूजियममा खिचिएका दुई छोटा भिडियोहरु राख्दैछु।

टोयोटाको Concept Vehicle, "i-unit" बारेको प्रदर्शनी।



तल चाहिँ टोयोटाको "Partner Robot" ट्रम्पेट बजाऊँदै। "Partner Robot" हरुको कन्सर्ट हेर्ने धोको भने अझै बाँकी छ।

10 comments:

  1. पढ्नुनै पर्ने लेख रहेछ पढ्दै गर्दा मैले नेपाल पनि पटक पटक समझिय हामी कति टाढा छौ त?

    ReplyDelete
  2. I simply enjoy coming to your blog & trying to slowly understand the language with ref to context!

    ReplyDelete
  3. Thanks for sharing.

    One point though: I believe robots are made to enhance the capabilities of human beings; not to replace them. :)

    ReplyDelete
  4. जापानको विकासको एक झल्को नेपालमै बसेर देख्न पाइयो । टोयोटाको पृषठभूमि र योगदानबारे पनि जनकारी पाइयो । यसका लागि धन्यवाद !

    ReplyDelete
  5. तोयोदा र टोयोताको कथा रोचक र आनन्ददायी लाग्यो मलाई पनि । सन्सार भरि प्रख्यात टोयोटाको बारेमा पढने अवसर जुटाइदिनुभएकोमा धन्यबाद बसन्तजी । लोगोले व्यक्त गरेको अर्थ जस्तै टोयोटाले आफ्नो बर्चस्व कायमै राखेको पाए मैले ।

    ReplyDelete
  6. वसन्तजी, विश्वप्रशिद्ध टेायेाटा कम्पनी वारे राम्रेा लेख पढ्न पाउंदा अाफु पनि कम्पनी भित्रै पुगेकेा अनुभव गरे। धेरै धेरै धन्यवाद ।तपार्इवाट यस्तै जापानका अन्य गतिविधि वारे जानकारी मिलेकेा छ। धेरै जापानीहरूले फूल व्यवसाय मनपराउंछन् भन्ने सुनेकेा थिए यसवारे पनि मैाका मिले लेख्नु हेाला है ।

    ReplyDelete
  7. BASANTA JEE,
    TAPAIKA SAMAGRIHARU KATI RAMRA LAGCHHAN !..... NISHABDA! MAUN COMMENT....!!!

    ReplyDelete
  8. यहाँहरु सबैलाई हार्दिक धन्यबाद ब्यक्त गर्न चाहन्छु।

    नवीनजी, मेरो सोचाई पनि त्यस्तै हो, अपुग श्रमशक्तिको केहि समभाव्य भागलाई रोबोटको जिम्मा लगाउने हो, मानव-श्रमलाई पूरै विश्थापित गर्ने होईन। फेरि जति विकसित भएपनि रोबोटले कहिल्यै पनि गर्न नसक्ने कामहरु पनि जतिपनि बाँकी रहनेनैछन् मानव समाजमा, तिनका लागि मान्छे आफैं भिड्नुबाहेक अरु उपाय छैन।

    gckarki जी, फूल ब्यवसायका बारेमा जान्ने/भ्रमण गर्ने मौका मिलेमा अबश्य पनि लेख्नेछु।

    ReplyDelete
  9. टोयोटा, खासगरि यसको उत्पादन प्रणाली (TPS), -का बारेमा नेपालमै छँदा धेरै पढियो, सुनियो। त्यसैले जापानमा हेर्नैपर्ने ठाउँको सूचिमा टोयोटा प्लाण्टलाई पनि राखेको छु मैले (मौका जुर्ला-नजुर्ला, त्यो भिन्दै कुरा!)। अहिलेलाई भने सरको यो टाँसो पढेरै चित्त बुझाएँ :)

    ReplyDelete
  10. धन्यबाद पन्थीजी! अबश्य जानुहोला। एउटा अविष्मरणीय र उपयोगी अनुभव हुनेछ।

    ReplyDelete