April 12, 2010

जिन्दगी अब शुरु हुन्छ

छोरीको किण्डरगार्टेनकी प्रिन्सिपल उएदा सान (नाम परीवर्तीत) को जागिरे जीवन गत मार्च ३१ बाट सकिँदै थियो। त्यो ताका म छोरीलाई लाने-ल्याउनेमा परेको थिईँन, त्यसैले उनीसंग मेरो भेटघाट भएन त्यो ताका। सोवितासंग केहि कुराकानी भएको रहेछ। सोविताले "सेन्सेई अब के गर्नुहुन्छ?" भनेर सोध्दा सेन्सेई "'अब के गर्ने?' होईन, 'अब के नगर्ने?' हो।" भनेर हाँस्दै थिईन् रे। उनका "गर्न मन लागेका तर जागिरको कारण गर्न नभ्याएका कुराहरु धेरै छन्।" रे र अब ती कुराहरु, आफ्नो रुचिका कुराहरु, गर्ने रे। उनको 'वास्तविक जिन्दगी' अब शुरु हुन्छ रे।

चार वर्षअघि यस्तै कुराकानी इमाइ सेन्सेई (नाम परीवर्तीत) संग भएको थियो मेरो। इमाइ सेन्सेइको मूल  जागिर/पेशा के हो भनेर मैले सोधेको थिईन, उनी, (म त्यतिखेर बस्ने) शहरमा रहेका बिदेशीहरुका लागि काम गर्ने एक स्वयंसेवी संस्थामा सकृय भएका कारण चिनजान भएको थियो। निवृत्तिभरणमा जाने प्रसंग चलेपछि मैले सोधेको थिएँ, अब यसपछि के गर्नुहुन्छ भनेर। उनको जवाफको आशय पनि उएदा सेन्सेईकै जस्तो थियो। इमाइ सेन्सेइले साठी वर्षबाट शुरु हुने आफ्नो जीवनलाई निबन्धकार (essayist) को 'क्यारीयर' दिने निश्चय गरेकी थिईन्।

यस बीचमा धेरै अरु त्यस्तै मानिसहरुसंग भेटघाट भएको छ मेरो। सबैको सोचाई उस्तै भेटिन्छ, दोश्रो जीवनमा खुशीका साथ जमिरहेकाहरुसंग काम पनि गरेको छु मैले। ल्याबको अफिसका अहिलेका मेरा सहकर्मी खावाखुबो-सान विगत दश वर्षदेखि चराहरुको पछि कुदिरहेछन्। एउटा कम्पनीको जागिरमा ३६ वर्षभन्दा बढी बिताएर सेवानिवृत्त भएपछि उनी चराहरुको तस्बीर खिच्ने आफ्नो बच्चैदेखिको रुचिमा डुबे। उनी अहिले हप्ताको तीन दिन मात्रै काम गर्छन्, त्यो पनि आफ्ना पूराना हाकिम र मित्रको विशेष अनूरोधका कारणमात्रै। नयाँ-नयाँ प्रजातिका चराहरुको खोजीमा उनी जापान र विदेशका जंगली क्षेत्रहरुको भ्रमणमा हिँडिरहन्छन् र उनीसंगको कुराकानी चराहरु र क्यामेराले भरिएको हुन्छ:) अलिक समय अघिसम्म यसैगरी आंशिक समय आउने खावासाकी-सान पनि थिए ल्याबमा। उनी चाहिँ साठी वर्ष भएर सेवानिवृत्त भएपछि बाइक रेसर्स क्लबमा आबद्ध भएका थिए र महिनामा दुई-तीन पटक लामो दूरीका बाइक टूरमा निक्लन्थे।

सामाजिक चिन्तनको यस्तो 'ट्रेण्ड' लाई हुर्काउन/सफल बनाउन दुई कुराको सबैभन्दा बढी महत्व छ शायद। पहिलो, आर्थिक स्थायित्व/निश्चितिता हो। निवृत्तिभरणको आम्दानीले दैनिक जीवन राम्ररी बित्न सक्ने भएपछि आफ्नो 'सपना' को काममा ढुक्कले लाग्न सकिने भयो। दोश्रो चाहिँ, जापानीहरुको स्वस्थ जीवन र लामो आयू हो। धेरै जापानीहरु ९० वर्षसम्म सजिलै बाँच्छन्। ६० बाट शुरु हुने तीन दशकको जीवन पूरै नभएपनि कम्तिमा दुई तिहाईसम्म  शारीरिक/मानसिक रुपमा सकृय हुन गाह्रो हुँदैन उनीहरुका लागि। दुई दशक भनेको छोटो समय होईन, धेरै सृजनात्मक काम गर्न सकिन्छ। एक दशक मात्रैमा पनि धेरै गर्न सकिन्छ।

आधुनिक समाजको एउटा ठूलो रोग यहि हो कि यहाँ धेरैजसो मान्छे आफ्नो रुचिभन्दा बाहिरको क्षेत्रमा रोजगार छन्। ती सबैका 'सपना'हरु भौतिक जीवनको स्याहार-सुसारका लागि 'शहीद' भएका छन्। यसका लागि दोष कसलाई दिने? पारिवारिक/सामजिक चिन्तनको दबाबलाई कि आफैंलाई? यो प्रश्न आफैं धेरै चिन्तन-मननको विषय भईसकेको छ, धेरै साहित्य र कलात्मक रचनाहरुको स्रोत बनिसकेको छ। मैले एक महिना पहिला हेरेको "थ्री ईडियट्स" पनि यस्तै विषयमा रहेछ (तपाईँले पनि हेरिसक्नुभयो होला पक्का पनि)।

अर्कोतिर, आफ्नै रुचिसंग केहि मिल्ने 'जागिर'मा पुगेपनि सबै कुरा आफूले चाहेजस्तो हुन सक्दैन। जागिर भनेको सम्झौताको नाम हो, जसमा लगभग सधैंजसो रचनात्मकता र आत्मसन्तुष्टिभन्दा पैसो माथि पर्छ। यहाँसम्म कि आफ्नै सृजनाका भरमा बाँच्ने लेखकहरु, चित्रकारहरु वा संगीतज्ञ आदि समेतले बजारको नाडी छामेर त्यसै अनुसारको सृजना नगरी बाँच्न गाह्रो हुन्छ।

अचेल मेरो मनमा यस्तो तर्कना अलिक बढी चल्न थालेको छ:) लाग्छ, उएदा सेन्सेई र इमाइ सेन्सेईजस्तै म पनि आफ्नो 'सपना'को जीवन बाँच्न 'बूढेशकाल' कुरिरहेछु:) तर मेरो 'बूढेशकाल' उनीहरुको जस्तै सामाजिक रुपले सुरक्षित, आर्थिक रुपले निश्चिन्त, र मलाई केहि दशकको नयाँ जीवन दिन सक्ने गरी पूर्ण स्वस्थ- यति अवसरसम्पन्न होला-नहोला, त्यो भने अनुमान गर्न गाह्रो छ।

तर सकेसम्म आफ्नो उर्जालाई, आगोलाई जोगाएर राख्ने कोशिशमा भने छु।

र एक दिन म पनि घोषणा गर्नेछु; "जिन्दगी - अब शुरु हुन्छ!":))
********************************************

(सेन्सेई- शिक्षकलाई सम्मानपूर्वक गरिने सम्बोधन। डाक्टरहरुलाई पनि सेन्सेई भन्ने चलन छ।)

8 comments:

  1. दाई !! सानो प्रसँग उठान गरेर गहन घनिभूत बिषयको चर्चा गर्नुभएको छ् यहाँ!! यो हाम्रो असुरक्षित अनिस्चित retire life को मात्र कुरा रहेन ,उमेरले भन्दा पहिल्यै सोचले बुढो हुने र जिन्दगी ओरालो लागेको घोषणा गर्ने हाम्रो संकुचित प्रब्रित्ती प्रती को पनि झटारो हो। हामीले यही बाट सिक्नुपर्छ ,जिन्दगी सकिएको घोषणा हामीले होइन समय आँफैले गर्नेछ। हामी मात्र सुरु गर्न सक्छौँ यदी हामीमा चेतना छ भने। धेरै धन्यवाद साथै नव बर्षको शुभकामना पनि!!

    दीप्स

    ReplyDelete
  2. जीवनमा हरेक बखत ठुँगिरहने पाटोलाई मार्मिक ढङ्गले उप्काउनुभयो । निश्‍चय नै तपाईँ-हाम्रो जिन्दगी सुरु भएको छैन, मालो समयसम्म हुने छाँट छैन । कुरा बुढेसकालमा रहरको र मनले खाएको काम गर्न पाइएला कि भन्नेमा टिक्या छैन, बाँचुन्जेल नै 'जीवन' बाँच्ने पालो नआउँला भन्ने पो खतरा छ । सम्झौता र पारिश्रमिकमा जीवन साट्नुपर्ने स्थिति रहुन्जेल समृद्ध मुलुकको यस्तै प्रचलनलाई आहान सम्झेर मुख मिट्ठयाइरहनुपर्ने होला । आर्थिक स्वतन्त्रता नपाउन्जेल 'रिटायर्ड लाइफ' मा पनि उस्तै बोझिलपन हुनेछ हाम्रोमा । र मुख्य कुरो त, उमेर छँदा 'केटाकेटी' सम्झेर भरै नगर्ने र उमेर घर्केपछि 'सबै कुरो सिद्धियो' भनेर पाखा लगाउने नेपाली संस्कृतिका कारण पनि हामी त्यस्तो भाग्यमानी माहुरी बन्न सक्दैनौँ कि ?

    विषयवस्तुको मार्मिक उठानको लागि आभार ।
    नयाँ वर्ष २०६७ को निकै धेरै शुभ कामना वसन्तज्यु लगायत समस्त पाठक मित्रमा, यहीँबाट ।

    ReplyDelete
  3. हो बसन्त जी, जिन्दगीका सपनाहरु तलबको आकारले पुरा गरोस भन्ने मानसिकतामा बाचेका हामी मध्ये कतिको त जीवन कसरि शुरु र अन्त्य हुन्छ थाहै हुदैन। चल्नु पर्ने नियमको घेरा नै हाम्रो दायित्व सम्झन्छौ हामी। मलाई लाग्छ अवकाश नै आफ्ना अधुरा र अपुरा सपनाहरुको पुरा हुने माध्यम हो। तपाईका यी महत्वपूर्ण बिचारहरुले पक्कै पनि अर्को नयाँ शुरु हुने जीवनको सहि बाटोमा लाग्न प्रेरित गर्ने छन।
    साथै नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना तपाइँ लगायत सम्पूर्ण पाठक, शुभचिन्तक र पारिवारिक जीवनमा पनि ।

    ReplyDelete
  4. Kaise hain aap? Aaj bade dinon baad Bikhare sitare' pe swayam Poojane likha hai..zaroor padhen!

    ReplyDelete
  5. "I'm not interested in age. People who tell me their age are silly. You're as old as you feel."

    यो पोस्ट पढी रहँदा Elizabeth Arden को माथिको वाक्य बारम्बार याद आयो ।

    आर्थीक कारणले गर्दा हामीहरु जापानिहरु जस्तै "रिटायर्ड लाईफ" मा पनि स्वतन्त्र हुन नसकौंला त्यो भिन्दै कुरा हो । तर हाम्रो सामाजिक सोचमा परिवर्तन आएमा "रिटायर्ड लाईफ" निश्क्रिय वा अनुत्पादक नै भने रहने छैन ।

    एकदमै समसामयिक र प्रेरणादायी लाग्यो यो पोस्ट !

    नयाँ वर्षको शुभकामना !

    ReplyDelete
  6. म स्कुले जीवनमै छँदा मेरो घरको भित्तामा लेखिएको अनेपाली एउटा वाक्य यस्तो थियो
    'जबतक रहेगी जिन्दगी फुर्सत नहोगा काम से
    फुर्सत निकालकर करलो प्रेम राम से'
    वाक्याशय आध्यात्मिक भए तापनि यसको मूल आशयतिर गम्दा हामी नेपालीको आर्थिक अवस्था, बाध्यता र रहरको पौँठेजोरी तथा आयुलाई समेत ख्याल गरी बनेको आदर्श वाक्य जस्तो लाग्छ । त्यसैले यही बेफुर्सत र असङ्गतिकै बीच काम गर्नुपर्छ जस्तो लाग्छ । जापानीहरूको सोचाइ उनीहरूको वस्तुगततामा भने राम्रो र अनुकरणीय छ ।

    ReplyDelete
  7. जीवन त सधैं सन्तुलित (जति सकिन्छ) रुपमै बाँचेको राम्रो हो जस्तो लाग्छ। सपनाहरु बूढेशकाललाई भनेर राख्दा पनि उस्तो बुद्धिमता त कहाँ होला र ! जेहोस्, बाँच्ने उर्जा चाहिँ हराउनु भएन जुन तपाईंको लेखले प्रष्ट पारेको छ। मेरो ल्याबमा पनि एकजना सत्तरीको हाराहारीको उमेरका जापानी रिसर्चर छन्। जागिरे जीवनबाट अवकाश पाएपछि पिएचडी गरीवरी अहिले रिसर्चकै धूनमा मस्त छन् बूढा। उनलाई देख्दा अचम्म लाग्छ र गहिरो सम्मानको भाव पनि जागृत हुन्छ।

    अन्त्यमा, सरलाई नववर्ष २०६७ को धेरै-धेरै शुभकामना!!

    ReplyDelete
  8. यहाँहरु सबैलाई हार्दिक धन्यबाद र नववर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना!

    ReplyDelete