March 06, 2010

झारा टार्ने प्रवृत्तिको महारोग

केहि दिन पहिला ब्यवसायी पम्पाटीमाथि खुल्लमखुल्ला गोली-प्रहार गरेर अपराधीहरु भागे। त्यसको दुई-तीन दिनसम्म पत्रिकामा फोटाहरु देखिए, प्रहरीहरु उपत्यका भरिका काला पल्सर मोटरसाईकल र तिनका धनीको खानतलासी गर्दै थिए। कारणचाहिँ के भने, पम्पाटीलाई गोली हान्नेहरु कालो पल्सरमा चढेर आएका थिए रे! यस्तो लाजलाग्दो दृश्य देखेपछि हाम्रो राज्ययन्त्रको सोच्ने क्षमता र तार्किक स्तरमाथि दया लाग्छ जो कोहिलाई पनि।  भोलि कुनै हत्या/घटनामा संलग्नले "ढाका टोपी लगाएको थियो---" भन्ने हल्ला चल्यो भने ढाका टोपी लगाउनेजति सबैलाई समात्ने????

सामान्य मात्रै सोच्ने क्षमता भएको जो कोहिले जान्ने कुरा के हो भने कालो पल्सर चढेर आएका अपराधीहरु, अरुनै केहि चढेर भागिसके, पुलिसले कालो पल्सर चढ्ने जनतालाई त्यसको पर्सिपल्टसम्म दु:ख दिईरहनुको कुनै तुक छैन। फेरि त्यहि मोटरसाईकल लिएर बजार कोहि किन निक्लेला?? अपराधीहरु त्यति 'सोझा'  छन् र? बरु अपराधीहरु प्रहरीकै भ्यान चढेर 'ससम्मान' भागेका पनि हुनसक्छन, घटनाक्रमले प्रहरीको तलदेखि माथिसम्म आपराधिक गिरोहको पकड यथेष्ट भएको देखाईरहेकै छन्। 

देशमा हत्या-हिँसाको श्रृंखलाले झन् कहालीलाग्दो रुप लिईरहेको छ र राज्यको उपश्थितिको बोध कतै छैन। गृह-प्रशाशनको सोच्ने स्तर भने यति घटिया छ। "हगिसकेपछि दैलो देख्ने" यस्तो झारा टराईले अपराधीहरु पक्रिईन्छन् र देशमा शान्ति हुन्छ?

माओवादी द्वन्द्वको उत्कर्षकालमा देशमा संकटकाल लागेको बेलामा यस्तै खाले दृश्यहरु खुब देख्न पाईन्थ्यो राजमार्गमा। तत्कालीन शाही सेना ठाऊँ-ठाऊँमा ढुकेर बसिरहेको हुन्थ्यो र 'चेक'को नाममा जनतालाई खुब सास्ती दिईन्थ्यो। निजी गाडीहरु भने 'चेक'मा पर्दैनथे। 'चेक'मा पर्ने भनेका सस्ता बसमा यात्रा गर्ने उनै गरीब नेपालीहरु हुन्थे। शाही सेनाका जवानहरु रोगीका औषधिका पोका, घर पुगेर शहर फर्कँदै गरेका डेरावालाका दाल-चामल-गुन्द्रुक र सुत्केरीका थाङ्गना-टालाहरु खोतल्दै-ओल्टाईपल्टाई गर्दै 'सुरक्षा जाँच' गरेको झारा टार्थे, मानौं माओवादीका हतियार तिनै औषधिका पोका, दाल-चामलका पोका र थाङ्गनाहरु हुन् र तिनलाई खोतलेपछि माओवादीहरुको विद्रोह साम्य हुन्छ। बाटा-बाटामा महिनौंदेखि शाही सेना 'चेक' गरेर बसेको छ भन्ने थाहा पाऊँदा-पाऊँदै कुनचाहिँ मुर्ख हतियार बोकेर बसमा हिँड्दो हो र?! यति साधारण कुरा सोच्ने फुर्सद नभएको हो कि अथवा 'राजाको काम, कहिले जाला घाम' को झारा टराई हो?

अहिले कालो पल्सर चढ्ने मान्छेका 'दु:खका दिन' देख्दा लाग्छ, हाम्रो राज्ययन्त्रको 'झुर' चिन्तनशैली, दयालाग्दो तार्किक क्षमता र झारा टार्ने प्रवृत्ति जस्ताको तस्तै छ; स्थिति अझ ओरालो लागेको छ। 

हामीकहाँ क्रान्ति र परीवर्तनका नाममा ब्यक्तिहरु मात्रै फेरिईरहन्छन्, संयन्त्र भने सधैं जस्ताको तस्तै रहिरहन्छ। 

11 comments:

  1. Padh padhke thoda,thoda samajhme aane laga hai!
    Can you not give a short gist of the article in Hindi or English? It would be great fun!

    ReplyDelete
  2. I agree there is not much safety in Nepal these days. But checking black pulsar, I dont think thats bad. They are trying to find some clue. That may not be adequate but based on the infratsctrue we have and police intelligence, I think they are doing their best. I would say at least they tried.
    Regarding maoist insurgency time, checking in the highway was hastle but that would also worked as a bottle neck for maoist war. At least they could not carry weapong and travel freely. It is a kind of checking system against insurgent. That doesnt control completely though. As road department keep hump on the road to so that driver would slow down the speed, its same kind of thing.

    ReplyDelete
  3. jhara tarne check pani garena bhane, kehi pani garenan bhanera khedo garchhan vanera hola....

    ReplyDelete
  4. प्रहरी संजाल आफैंभित्र अपराधीलाई सघाउने समूहको गाढा उपस्थिति रहनुले स्थिति निकै गम्भीर र दुखद देखिन्छ | एकाध घटना मात्रै त्यस्ता भएका होलान भनेर जनताले पत्याउने आधार भेटिंदैन | हाम्रो दुर्भाग्य, सजाय सोझानिमुखा जनताले भोग्नुपर्ने !

    ReplyDelete
  5. संकटकालको बेला गर्ने चेकिङ्को धेरै अर्थ रहेछ दाइ । हामीलाई गाडिबाट ओरालेर त्यतिकै हिँडाएको रहेनछ । समातेका आतङ्ककारीलाई लुकाएर राखेका हुँदा रहेछन् अलि पर अनि पैसा खुवाएर आफ्ना बनाएका हुँदा रहेछन् । गाडिबाट ओर्लेर हिँडेका मान्छेमाथि प्रत्यक्ष निगरानी राख्दा रहेछन् तिनीहरू । कसैले खुट्टा खोल्च्याङ् खोल्च्याङ गरेर हिँडेमा वा कुनै किसिमको असक्तता देखाएको खण्डामा द्वनद्वमा परेर घाइते भएको आतंककारी हो कि भनेर थाहा पाउनलाई त्यसो गरेको रहेछ । अहिलेको पल्सर बाइकको कुरा चैँ राम जाने.......

    ReplyDelete
  6. धान चोर्ने मुसो, चोट पाउने भ्यागुतो भन्छन नि! कालो पल्सर किन्न खोज्नेले पनि १० पटक सोचेर किन्नु पर्ने भो त्यसो भए...वर्तमान परिपेक्षमा अराजकताको त उच्चस्तरीय उदाहरण बनेको छ नेपाल...सारै उदेखलाग्दो स्थिती :(

    ReplyDelete
  7. बसन्त जी, यो कालो पल्सरको प्रसंगले मलाइ कता कता १० वर्ष पूर्वको राजदार्वार काण्ड याद दिलायो । उसबेलामा गठित आयोगले पूर्व तथाकथित मृत राजा (स्व. युवराज दीपेन्द्र) ले नसाको धुत्तमा भटटटटटट भटटटटट गोली चलाएका..... भन्ने उक्ती मिल्दो जुल्दो लाग्यो ।

    हुन त यो संकटकालिन अवस्थामा तपाइ हामीमात्र गुज्रीएका हँउ । सत्तासिनहरूको नालायकिपनको पराकाष्ठा यो भन्दा अरू जीर्ण हुन बाँकी नै पो के छ र ? फेरि कुनै अदृश्य शक्तीको भरमा चल्ने गरेको हाम्रो नेपाली राजनीतिमा यो कुनै तेूस्रो अचम्म पनि त होइन । इतीहास साक्षी छ, यस्ता खाले घटनाहरू थुप्रै घटीसकेका छन् र मलाइ लाग्दैन यही प्रबृत्तीको विकास र अभ्यास हुँदै जाने हो भने कदाचित बन्द पनि हुन सक्छ भनेर । मैले यसलाइ सरकार विहिन राज्यसत्ताको एक असफल प्रयोगको रूपमा हेरेको छु ।
    जुन मुलुकमा पूर्व राजसंस्था कै उच्च सम्मानित व्यक्तीहरू स्वयं मान्छे किच्दै हिड्थे अहिले सरकार स्वयं ज्यानमारा बन्दै गएको छ । सम्भवतः यो पुरानै प्रवृत्तीको पुनरावृत्ती मात्र पनि हुन सक्छ ।
    समयअभावका कारण, बिट मार्छु ।

    ReplyDelete
  8. मलाई उदेक लाग्ने कुरा पनि यही हो । अपराध पूर्णतय रोक्न नसकिएला तर अपराध घटिसकेपछी अपनाईने यो नाटकीय हतकण्डाले उल्टै अपराधिको मनोवल बढाउने बाहेक केही गर्दैन ।

    यहाँनेर प्रसंगबस एउटा कुरा लेखौं है । बेला बेलामा भन्ने गरीन्छ : "नेपाल पुलीसले चाह्यो र 'पायो' भने जुनसुकै अपराधीलाई पनि समात्न सक्छ रे"

    यहाँनेर विशेष गरी 'पायो' शब्दमा जोड दिनु पर्ने हुन्छ । अपराधलाई राजनैतिक बृतबाट प्रतक्ष संरक्षण भएकाले बिचरा पुलीसले त्यो कहिल्यै
    'पाउँदैन' । अहिले त झन अपराधीहरुनै महान महान नेता भएका छन, यस्तो बेलामा अपराधीलाई राजनेताले चलाएको हो कि नेतालाई अपराधीले चलाउँछन भन्न झन मुश्किल छ ।

    ReplyDelete
  9. यहाँनेर हजमोला खाँदा पनि हजम नहुने कुरो त गृहमन्त्रीको 'फूर्ती' पो बनेको छ। राजधानीमै शान्तिसुरक्षाको स्थिति यो हदसम्म बिग्रिँदा पनि उनलाई 'विशेष सुरक्षा योजना' को 'सफलता' को दुहाइ दिँदै ठिक्क छ। धन्य हाम्रो प्रहरी-प्रशासन! धन्य हाम्रा गृहमन्त्री!!

    ReplyDelete
  10. कुरा अझ धेरै गर्ने मन थियो यस बारेमा, तर समयले साथ दिएन। अरु-अरु प्रसंगमा गर्दै गरौंला। अहिलेलाई, विचारपूर्ण प्रतिकृयाहरुका लागि यहाँहरु सबैलाई हार्दिक धन्यबाद!

    ReplyDelete