March 16, 2010

अपाङ्गता र समाजको दायित्व

दुई हप्ता हुन लाग्यो नाकाता (नाम परिवर्तित) हाम्रो शाखामा आएको। यो कम्पनीमा उसले काम गर्न थालेको पाँच वर्ष भएछ। यस अघिसम्म ऊ नजिकैको अर्को शहरमा रहेको शाखामा कार्यरत थियो। कम्पनीको छ महिना पहिलाका आन्तरिक मेमोहरु र सेफ्टी मिटिङ्ग (safety meeting) का माईन्यूटहरु हेर्दा नाकाताका बारे धेरै चर्चा भेटिन्छन्। कुनै प्लाण्टको कन्भेयर बेल्टसंग सम्बन्धित एउटा गम्भिर दुर्घटनामा परेको थियो ऊ। फरक शाखाको मान्छे भएको कारण त्यति ध्यान गएको थिएन मेरो र सीमित जापानी क्षमताका कारण धेरै कुरा बुझेको पनि थिईन मैले त्यतिखेर।

अहिले देख्छु, उसले देब्रे हात गुमाएको रहेछ त्यो दुर्घटनामा। उपचार सकिएपछि  ऊ काममा फर्कियो। एउटा हात नभएपछि उसले गर्न सक्ने काम निश्चित रुपमा केहि सीमित हुने भए, त्यसैले उसले गर्न सक्ने काम खोज्ने क्रममा कम्पनीले हाम्रो शाखामा पठाएको रहेछ। 

छ महिना पहिलासम्म दुबै हात भएको मान्छे अहिले एक हातबिनै काममा फर्किनुपर्दा उसको मनमा कस्ता भावनाहरु गुज्रिरहेका होलान्, त्यो म कल्पनासम्म पनि गर्न सक्दिन। निश्चित रुपमा एउटा गहिरो पिडा हुनुपर्छ उसको मनमा। तर उसको अनुहार हेर्दा त्यो बिल्कूल देखिँदैन, हँसिलो अनुहारको देखिन्छ र रमाईलो पाराले कुराकानी गर्छ। बितिसकेको समयलाई बितिसकेको समयको रुपमा सहज स्विकार गर्न र यसपछिको दिनचर्याका लागि आफूलाई तयार पार्न दत्तचित्त देखिन्छ ऊ। एक हात बिनाको नयाँ जीवनको शुरुवातमा छ ऊ र लगनतापूर्वक यसका लागि आवश्यक सीपहरु सिकिरहेछ। 

मेरा मामाको एउटा खुट्टा कमजोर छ, उहाँ विशेष खाले लठ्ठी (परम्परागत बैशाखी) का भरमा उभिने र हिँड्ने गर्नुहुन्छ। सहयोगी परिवारजनका कारण उहाँलाई  सघाऊ पुगेको निश्चय पनि छ, तर पनि जिन्दगीका धेरै कर्महरुमा उहाँले भोग्नुपरेका अप्ठेराहरु हामीले देखेका छौं। यसबाहेक शारीरिक अशक्ततालाई नजिकबाट देखेको थिईन मैले। अहिले छिमेकी टेबलमा काम गरिरहेको नाकातालाई देख्दा, उसले भोगिरहेको असहजतालाई देख्दा लाग्छ हामीले त्यति धेरै ध्यान नदिने  कुराको कति महत्व रहेछ। कति कुरालाई हामी स्वाभाविक र आफ्नै हकको (take as granted) मान्छौं,  तर हाम्रो शारीरिक स्थितिमा केहि परीवर्तन आउनसाथ सबै कुरा कति फरक हुन पुग्दा रहेछन्!

नाकाता दाहिने हात चलाउने मान्छे हो र उसले गुमाएको हात देब्रे, उसले देब्रेको सट्टा दाहिने हात गुमाऊँदा स्थिति अझ जटिल हुनसक्थ्यो भन्न पनि सकिन्छ तर देब्रे हातको दाहिने जत्तिकै महत्व रहेछ। केहि कुरा बोक्नु पर्दा दुबै हात चाहिने कुरा हामी सबैलाई बोध छ तर अरु कैयन मसिना काममा सन्तुलन मिलाउने काम झन् महत्वपूर्ण रहेछ। अहिले नाकाताले एक हातले कम्प्युटर चलाएको, एक हातले कागजात स्टिच गरेको, एक हातले कतै मेमो टाँसेको, एक हातले फोटोकपी गरेको, एक हातले कफी बनाएको, एक हातले बेन्तो (लञ्च-बक्स) खोलेको--- देख्दा म आफैंलाई समेत अप्ठेरो लाग्छ। Prosthetic arm को अंकुशले अलि-अलि सहयोग गर्छ तर आफ्नो ईच्छामा चल्ने पाँच औंला भएको स्वस्थ हातजति उपयोगी त्यो अवश्य पनि हुनसक्दैन। 

यस्तोमा अरु कसैले सघाएपनि हुन्छ, तर नाकाता आफैं त्यो चाहदैन, न त उसको भलो चाहने अरु कसैले चाहन्छन्। अरुले सघाउने बढीमा केहि दिन होला, अरुले सघाएकै भरमा जिन्दगी चल्दैन; लोग्ने-स्वास्नीनै भएपनि चौबीसै घण्टा भर पर्न सकिँदैन। उसलाई आत्मनिर्भर हुन सघाउने कुनै पनि चिज किनिदिन भने कम्पनी तयार छ र गर्नुपर्ने यहि हो।

खुशीले अपाङग हुन कोहि पनि चाहदैन। केहि मान्छेहरुमा जन्मजात कमजोरी केहि हुनसक्छन्, केहि दुर्घटना, लडाईँ आदिमा परेर अशक्त बन्न पुग्छन्। एउटा सभ्य समाजले अपाङ्गहरुलाई सबलाङ्गजत्तिकै सम्मानजनक ब्यबहार गर्न सक्नुपर्छ। कुनै एक क्षमता गुमाएपनि बाँकी कुरामा उनीहरु अरुजत्तिकै वा अरुभन्दा बढी सक्षम हुनसक्छन्, अझ उनीहरुमा आफूलाई प्रमाणित गर्ने लगन र जागरुकता धेरै हुन्छ। समाज र देशले उनीहरुको त्यो क्षमता, लगनशीलता र जागरुकताको फल लिनुपर्छ र उनीहरुलाई आत्मसन्तुष्टि र जीवनयापनको आत्मनिर्भरता दिन सक्नुपर्छ।

अरु विकसित समाजहरुको दाँजोमा जापान कहाँ उभिन्छ, त्यो थाहा छैन मलाई, तर जापान धेरै हिसाबले अपाङ्गमैत्री लाग्छ मलाई। स्कूल, अस्पताल, उद्यान, सुपरमार्केट, ट्रेन-स्टेशन आदि सार्वजनिक स्थलहरु सबैमा ह्वीलचेयर लान मिल्ने ब्यबश्था गरिएका छन्। बसचालक आफैं ओर्लेर ह्वील-चेयरमा चढेको यात्रीलाई बस चढाउने, सिट बेल्ट बाँधिदिने गर्छन्, सब-वे र ट्रेन स्टेशनहरुमा स्टेशन माष्टरले त्यसै गरी सघाऊँछन्। दृष्टिवीहिनहरु आफैं छडीको सहाराले बस-स्टप/ट्रेन-स्टेशन पुग्न सक्ने गरी, जेब्रा-क्रसिङ्गहरु पार गर्न सक्ने गरी संकेतहरु राखिएका हुन्छन् लगभग सबैजसो सडकमा। श्रवणशक्ति गुमाएकाहरुका लागि सांकेतिक भाषाका समाचार र कार्यक्रमहरु पनि धेरै देखिन्छन् टिभीमा। सुस्त मनस्थितिका ब्यक्तिहरुलाई  स्याहार गर्ने कल्याणकारी संस्थाहरु पनि धेरै देखिन्छन्। अपाङ्गहरुलाई शहरभरिका सार्वजनिक  यातायात साधनहरुमा भाडा लाग्दो रहेनछ, नाकाताले भनेपछि थाहा पाएको मैले। अपाङ्गहरुलाई गर्ने सामाजिक ब्यबहार पनि राम्रै होला भन्ने मेरो अनुमान छ, नाकातालाई कम्पनीमा गरिएको ब्यबहार हेर्दा।

धेरै दायित्वबाट विमुख भईसकेको हाम्रो राज्य यो दायित्व पूरा गर्ने सवालमा पनि पूरै असफल छ अहिलेसम्म। अपाङ्गहरुलाई समाज र आफ्नै परिवारले समेत बोझ बाहेक केहि मान्दैनन् र अत्यन्त अपमानजनक ब्यबहार गर्छन्। केहि ईमान्दार संस्थाहरुले शारीरिक/मानसिक अशक्तहरुका लागि धेरै कल्याणकारी कामहरु गरिरहेका निश्चय पनि छन्, तर तिनका आफ्नै आर्थिक सीमा हुन्छन्। जबसम्म सरकार/राज्य स्वयंसंग अपाङ्गहरुका लागि स्पष्ट योजना र समन्वयकारी भूमिका हुँदैन, तबसम्म स्थितिमा सुधार आउने सम्भावना कमै हुन्छ।

अरु बिभिन्न उत्पीडित/अवसरवीहिन समूहहरुजस्तै नेपाली अपाङ्गहरु पनि धेरै डलरखेती एनजीओका लागि दुहुना गाई बनिरहेका छन्। कति परिवारमै यस्तो स्थिति छ, कुनै दयालु बिदेशीले अशक्तका लागि नियमित पठाईदिने पैसामा परिवारका सबलाङ्ग सदस्यहरुले मोजमस्ती गर्ने समेत देखिएको छ। यो भन्दा पतित चरित्र अरु के हुनसक्छ???

9 comments:

  1. सर्वप्रथम हाम्रो समाज नै अपांग छ भन्छु म त .. उसले हेर्ने आँखा नै अपांग छ, र त अपांगप्रतिको हाम्रो नेपाली समाजको दृष्टिकोण यस्तो हेय वा विभेदकारी भएको । तर समयसंगै त्यस्तो व्यवहारमा परिवर्तनका संकेतहरु भने देखिएका छन ।

    ReplyDelete
  2. निकै मार्मिक कुरा लेख्नु भयो। म ब्यत्तीगत रुपमा उनीहरुलाई disabled भन्नु भन्दा पनि Differently abled भन्न मन पराउछु। सबै ठाउँमा यस्ता मानिसको लागी निकै होस पुर्‍याईएको हुन्छ तर जापानमा बिशेष अलि बढी।
    हाम्रो समाजमा यस्तो समय आउन निकै कुर्नु पर्ला सायद। मन छुने र प्रेरणा दिने खालको सत्य घटना.. जो सबैले पठ्न आबश्यक छ।

    ReplyDelete
  3. अपाङ्गताको विषयमा हामीहरुले पनि गम्भीर भएरै सोँच्नुपर्ने हो, तर के गर्नु धेरै कुरा नारामुखी मात्रै देखिन्छन्। जे होस्, जापानजस्ता विकसित देशमा देखिने अपाङ्ग-अनुकूल पूर्वाधारहरुले भविष्यका लागि भए पनि आशावादी हुन चाहिँ सघाउ पुर्‍याउँछन्।

    ReplyDelete
  4. अब भने ...जापान त्यसै यत्रो विकशित र अघि बढेको होइन रहेछ जस्तो लाग्यो ... त्यहाँ का हरेक .... कुरा हरु शशक्त र सबल रहेछन ....
    सलुट छ ति जापानी हरु र ... त्यस्ता ग्रेट मानवीय भावना भएका ...मानवधार्मिहरुलाई ....

    ReplyDelete
  5. जापानबाट सिक्नुपर्ने धेरै कुराहरु मध्येको एक - अरुप्रतिको ब्यबहार !!! हामी अलिक स्वार्थी छौ, सधै आफ्नो बारेमा मात्र सोच्छौ । I and then We को पथमा हामी पनि लाग्ने कि ???

    ReplyDelete
  6. राम्रो कुरा उठाउनुभएको छ । अपाङ्गहरूलाई स्वाभिमानपूर्वक बाँच्ने स्थिति सृजना गर्नु नै आफूलाई सबलाङ्ग ठान्नेहरूको कर्तव्य हो ।

    ReplyDelete
  7. पढ्छु भन्दाभन्दै नभ्याएको लेख आज पढें | निश्चय पनि हाम्रो समाज भौतिक हिसाबले मात्र नभएर मानबीय संस्कारका हिसाबले समेत पछि रहेछ भन्ने तथ्य तपाईंको लेखले छर्लंग परेको छ| जागरण बिस्तारै आउंदै छ, तर साँच्चिकै इमान्दारितापुर्बक कदम उठाईएको हेर्न भने निकै कुर्नुपर्ने देखिन्छ |

    ReplyDelete
  8. जतीनै चोट लागे पनी सही रहन सक्ने अनी कालांतर सम्म रही रहन सक्ने , मन

    ReplyDelete
  9. बसन्त जी साह्रै मन छुने लेख्नु भएको रहेछ हामीले थोरै भए पनि यस्तै चेतनामुलक सिर्जनाले समाजलाई झक्झकाई रहनु पर्दछ । बधाई छ ।

    ReplyDelete