March 26, 2009

कांग्रेस नेता रामचन्द्र पौडेलसंग अन्तर्कृया

गएको आइतबार साँझ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसंगको एउटा अन्तर्कृया कार्यक्रममा भाग लिने मौका मिल्यो। नागोयामा दुई वर्ष पहिला पनि उनीसंग अन्तर्कृयाको मेसो परेको थियो। त्यतिखेर अर्का कांग्रेस नेता डा. नारायण खडका पनि उपश्थित थिए।

केहि दिन नेपाली नेताहरुको भिड लागेको थियो टोकियोमा। कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको अधिवेशनका लागि चारजना नेताहरु आएका थिए भने माओवादीको भातृसंस्था लोकतान्त्रिक गणतान्त्रिक मोर्चाको अधिवेशनका लागि पनि तीन-चार नेताहरु आएका थिए।

नेता पौडेल जिनर्यो आवास क्षेत्रको हलमा आईपुग्दा साँझको सातभन्दा बढी भईसकेको हुँदो हो। कार्यक्रम अनौपचारिक थियो। परिचय आदानप्रदान पछि नेताज्यूबाट एउटा सानो मन्तब्य राखियो। मन्तब्यमा माओवादीका यावत कृयाकलापहरुको विरोध हुनु स्वाभाविक भयो, एउटा कांग्रेस नेताको लागि। साथमा 'हाम्ले त माओवादीलाई तह लगाउन खोजेको हो तर एमालेले खुट्टा कमाउनाले गाह्रो भएको छ' भन्ने आशयका कुरा पनि थिए। अचेल सबै कांग्रेस नेताहरु त्यस्तै भाषण बढी गर्छन्। खासमा अचेल कांग्रेस छिटपुट भाषणमै सीमित भएको छ, माओवादीलाई कुनै रचनात्मक दबाब दिन कांग्रेसले सकेकै छैन। कांग्रेस नीतिविहिन-नेताप्रधान भएको धेरै भईसक्यो, अब त यसमा अलिकति पनि उर्जा नभएजस्तो देखिएको छ। लोकतन्त्र र देशका लागि सोच्नेहरुका लागि यो चिन्ताको विषय हो। देशलाई एउटा सशक्त र रचनात्मक कांग्रेस आवश्यक छ अझै, तर एउटै शर्त, कांग्रेसले आफूमा आमूल सुधार गर्न सक्नुपर्छ।

देशमा धमाधम स्ववियू चुनावको नतिजा आइरहेको बेला परेकोले स्ववियू चुनावकै कुरा पनि आउनेनै भयो। नेविसंघ दोश्रो भएकोमा नेताज्यूको असन्तुष्टि देख्न सकिन्थ्यो। अखिलहरुको गुण्डागर्दी, विशेष गरी क्रान्तिकारीको गुण्डागर्दीलाई दोष दिईयो यस्तो परिणामको लागि। गुण्डागर्दी नेविसंघले पनि नगर्ने भने होइन, आफू बलियो भएको ठाऊँमा उ पनि के कम देखिएको छ र? विद्यार्थी राजनीति भनेको 'गुण्डागर्दी ब्यबष्थापन' मात्रै हो भनेर यो गोतामेले त्यसै भनेको हैन:)

चितवनको बालकुमारी कलेजको कुरा निक्लियो यसै प्रसंगमा। "बालकुमारी जस्तो विद्यार्थी, शिक्षक र कर्मचारी सबैमा हाम्रो अत्यधिक बहुमत भएको ठाऊँमा समेत क्रान्तिकारीले गुण्डागर्दी गरेर नेविसंघलाई हराए" भन्ने नेताज्यूको भनाइमा एकजना साथीको सटीक प्रतिकृया थियो "बालकुमारीमा पहिला त बहुमत मात्र हैन, नेविसंघको एकछत्र गुण्डागर्दी चल्थ्यो, अहिले कसरी अरुको चलेछ!"

"पहिला गुण्डागर्दीमा भर परेकैले अहिले आफूभन्दा ठूलो गुण्डा आएपछि केहि नचलेको हो----" नेताज्यूको भनाइमा अनिच्छितनै सही, अलिकति स्विकारोक्ति थियो।

केहि बेरको कुराकानीपछि सामूहिक तस्वीर खिचेर कार्यक्रम अन्त्य भयो।

अहिलेको कांग्रेसको समस्याहरु के के हुन्? धेरै छन् तर मूल समस्या भनेको 'गिरिजा, गिरिजा र गिरिजा' नै हो। गिरिजा ब्यक्तिका रुपमा त समस्या हुन् नै, कांग्रेसभित्र माथिदेखि तलैसम्म गिरिजाप्रवृत्ति हावी छ। लोकतन्त्रको डम्फू सबैभन्दा बढी बजाउने कांग्रेस आफैंभित्र भने लोकतन्त्रको 'ल' पनि छैन। केन्द्रदेखि गाऊँसम्मका समितिहरु अझै टिकेप्रथाले छानिन्छन्। केन्द्रमा सभापतिको चुनाव हुने प्रावधान त छ तर गिरिजाको विकल्प सिच्ने कुराले पनि कांग्रेसीहरु मूर्च्छा पर्छन्। एउटा लोकतान्त्रिक दल भएर पनि किन सबै कांग्रेसीहरु गिरिजाको कुरा हुनासाथ गरुडको अगाडि परेको नागजस्तो हुन्छन्, अचम्म लाग्छ।

अचेल बजारमा आएका कुरा सुन्दा त गिरिजालाई कांग्रेसको भन्दा पनि सुजाताको 'क्यारीयर'को बढी चिन्ता देखिन्छ। अस्ति ताका निकै हल्लाखल्लासहित भएको 'उपचार-भ्रमण'को मूल आशय पनि यहि हो रे! अब सुजाता कांग्रेसको सर्वसम्मत सभापति भएको देख्ने दिन आऊँदैछन् जस्तो छ। के कांग्रेस डाइनोसर हुने बाटोमा पुगिसकेको हो?

कांग्रेससंग अब महाधिवेशन गर्न, खुल्ला र प्रतिष्पर्धात्मक ढंगबाट सम्पूर्ण नेतृत्व छान्न, नेतृत्वमा युवाहरु (३५-५० वर्षका)लाई बहुमतमा ल्याउन र आन्तरिक लोकतान्त्रिक प्रकृयालाई तलैसम्म बिस्तार गर्न समय धेरै बाँकी छैन।

9 comments:

  1. कांग्रेसको कुरा गर्नु बेकार छ, अब यो देशमा। अझ गिरिजाको, अनि रामचन्द्र........
    रिशि धमला जस्तो पत्रकारको प्रेसिडेन्ट अनि गिरिजा जस्तो नेपालको नेता ... उस्तै हो कि।

    पढि हाले, किन पढेछु जस्तो लाग्यो मलाई त।

    ReplyDelete
  2. कांग्रेसलाई अब भाषण गर्ने ठाउँमै राखिदिनुपर्छ ॥ २-४ वटा बुढा भेला हुन्छन् अनि गफ हान्छन् बस्छन् ॥ सुन्ने मान्छे होउन् कि नहोऊन् ! तिनीहरूमा यतिभन्दा केहि हुति बाँकि छैन !!

    ReplyDelete
  3. the status of congress will go on deviating until congress become free from koirala's authoritarian rule....and that seems to be impossible....

    ReplyDelete
  4. माथि उजेलीजीले भनीसक्नु भा'छ 'गफ हान्ने' कुरा । मलाई लाग्छ अहिले हामीकहा कांग्रेस मात्रै हैन सबै दल 'गफ' मा मात्रै सिमित छन।

    गिरिजा एक पछि अर्को गल्ती गर्दै अब सुजातालाई आफ्नो उत्तराधिकारी ( वा नेपाली कांग्रेसको राजा) बनाउन हात धोएरै लागेको कुरा साँचो हो ।

    यत्तिका दिनसम्म सरकारमा सामेल नभई प्रतिपक्षमा बसेपछि अहिले अचानक (सुजातालाई उप प्रम दिए) सरकारमा सामेल हुने संकेत दिएर यीनले आफ्नो चरित्र उदागं गरिसकेकाछन ।

    यस्तो अबस्थामा यस्ता दलका कुनै पपनि नेताले लोकतन्त्रको कुर नगरेकै सुहाउँछ ।

    ReplyDelete
  5. नेपाली कांग्रेस पार्टी नभएर गिरिजाको Pvt Ltd हो, यसमा कुनै शंका नै छैन ।

    मलाई अर्को मन नपर्ने नेता भनेको राम चन्द्र हो, मलाई राम्रै संग याद छ राम चन्द्रका भाषाणहरु; आज: "नया संविधान चाहिंदैन, पुरानै बाट समस्याको समाधान गर्न सकिन्छ", भोली: "नया संविधान हैन, पुरानो लाई अलि परिवर्तन गरे पुग्छ", पर्सि: "नया संविधानको कुनै विकल्पै छैन" । य बाबा, राष्ट्रिय नेता भए पछी त एउटा vision चाहिन्छ नि । राष्ट्रिय नेता भनेको तनहुँ बाट सरेर बालाजुमा घर बनएर बस्नु मात्र होइन नि । यिनिहरुको जस्तो गफ मात्र ठोक्न त चिया पसलको बाजेलाई पनि आउंछ, नेताको काम गफै मात्र दिने हो भने त त्यही बाजेलाई नै नेता बनाए भै हाल्यो नि ।

    हामीले गर्न सक्ने सबै भन्दा ठुलो भुल भनेको यिनिहरुलाई नेताको दर्जा दिएर राख्नु हो, मेरो विचारमा यस्ता "गफ" नेताहरुको कार्यक्रम बहिस्कार गर्नु नै देशको लागि हितकारी होला । जनताबाटै नयाँ नेता निस्किन दिनु पर्छ, legacy बाट होइन ।

    ReplyDelete
  6. बसन्त जी तपाई जती टेक्नोलोजी र प्रविधिमा पोख्त हुनु हुन्छ त्यति नै राजनितिमा पनी हुनु हुन्छ जस्तो लाग्छ .... एक असल नागरिकमा हुनु पर्ने असल गुण रहेको पाए । राजनैतिक रुपमा सचेत हुनु एक दम उचित हो तर हिजो आज भै रहेको गतिविधि ले गर्दा ... मलाई यस सम्बन्धी कुरा नै गर्न मन लाग्दैन ... हुन त म नेपाली राजनीति सम्बन्धी चासो नदिने ब्यक्ति होइन तर मैले निकै भो नेपाली राजनिति को बारेमा कुरो नगरेको । कलेज लाइफ मा चरम इच्छा रहेको ले गर्दा स्थानीय पेपर को लागी हल्का लेख्ने पनी गरिन्थ्यो र केही जान्ने भएर कुदि पनी हेरियो तिनीहरुको पुच्छर भएर - तर त्यस देखि यता कुनि मन नै भाचिएर आएको छ त्यस सम्बन्धी लेख्न को लागी । राजनीति एउटा ठगी खाने भाडो हो जस्तो लाग्छ अनि नेता - गफ मात्र दिने गदारहरु जस्तो लाग्छ । खोई मैले झुट्टो बुझेको हो की ... उनीहरु को ब्यहबार त्यस्तो हो कुनि मलाई थाहा छैन ।

    ReplyDelete
  7. ई मान्छेको पार्टीले सबैको बिचार सुन्नु पर्छ भन्ने सिद्दांत बोकेको मैले नि सुनेको हूँ | बाँकी राजनीतिका ठुला ठुला कुरा म बिचारालाई के थाहा ...

    ReplyDelete
  8. मलाई हामी कहाँ भाषण र ब्यबहारमा फरक छ भन्ने थाहा छ तर म कति पटक भाषण सुन्न कै लागि खुल्लामन्च गएको छु र खुल्लामन्चलाई सांघुरो बनाएर फर्किएको छू | ताली पिटेको छु | म रमाएको छु |
    जोसिएको छु बेला बल्ला | हरेक पटक अब चाहिं केही होला भनेर फर्किएको छु र त्यो छाक सारै आनन्दको छाक खाएको छु | आनन्दको निन्द्रा सुतेको छु | जबकि मलाई फेरि थाहा छ त्यो त भाषण थियो | साथी ! किन यस्तो हुने गर्छ हँ ? म अर्थात जनता किन भावुक भएको यस्तरी ! जानी जानी किन ठगिएको यस्तरी ! नसुनु भन्छु फेरि किन किन सुनिरहेको हुन्छु उसैलाई | बसन्तजी फेरि सुनाई दिनु भयो | अँ रोग त उस्तै रहेछ सबैको |

    ReplyDelete
  9. प्रतिकृयाका लागि सबैमा हार्दिक धन्यबाद!

    राजनीति र राजनीतिज्ञको कुरा गर्नु भनेको हाम्रा लागि एउटा 'मन नपर्ने बाध्यता' हो। जे भनेपनि राजनीतिले ठीक बाटो र स्थायित्व नलिई अरु सबै कुराले ठीक बाटो लिँदैनन् भन्ने पक्का छ।

    मेरो विचारमा हामी सबैको दायित्व पनि राजनीतिमाथि सकारात्मक हस्तक्षेप गर्ने र त्यसलाई उज्यालोतिर घचेट्न बल गर्ने हो। यो कामका लागि कुनै दलमा लाग्नैपर्छ वा कुनै नेताको हनुमान हुनैपर्छ भन्ने छैन। अर्कोतिर दलमा लाग्ने सबै खराब हुन्छन् भन्ने पनि हैन। दलीय राजनीतिमा लागे पनि नलागेपनि मान्छेको इमान्दारिता र सकारात्मक चिन्तन ठूलो कुरा हो। पलायन समाधान होईन। यसैले दल वा नेता मन नपर्दा-नपर्दै पनि यस्ता कार्यक्रममा भ्याएसम्म जान नछोड्ने विचारमा पुगेको छु म।

    ReplyDelete