दशैं २०६४ - २ "टिका"
नेपालतिर फोन गर्नु बाहेक यसपालिको दशैंको विशेष कुरा भनेको टिका लगाउनुनै भयो। 'विदेशको दशैं, भुत्राको दशैं!' जस्तो लागेर पहिला टिका-सिका लगाइन्न थियो। यसपालि छोरीको लागि भनेर टिका लगाइयो। छोरी भएपनि पोहर लगाइएको थिएन, अबीर नभएर। अबीर यसपालि पनि थिएन। मार्चमा नेपाल गएको बेला ल्याउन बिर्सिइएछ। सुदिपजी र भाउज्यूले नल्याइदिएको भए यो पाली पनि लगाउने मेसो हुने थिएन।
बूढा-बूढी भएर छोरीलाई टिका लगाइयो। के गर्दिन आँटे बाउ-आमाले भनेर छोरी डराइ पहिला त! पछि आफैं अक्षतासंग चल्न थालेकी थिई। त्यसपछि एकापसमा टिका लगाइयो।
यस्तो टिको पनि रमाईलै हुँदो रहेछ!
दशैं २०६४ - ३ "एउटा 'कठोर' सत्यसंग साक्षात्कार"
टिकाकै दिन साँझ कपाल कटाउन गएँ "10 Minutes-Just Cut" मा। १,००० येनमा काट्दिन्छन्। सबैभन्दा सस्तो यहि हो। जापानमा लोग्नेमान्छेहरुपनि कपाल कटाउन गईसकेपछि त्यहिँ टाउको नुहाइमागेर, मसाज गराएर, आँखीभौं आदि पनि काँटछाँट गरेर चिल्ला भएर निस्कन्छन्। दाम पनि त्यहि अनुसार तिर्छन्। आफूलाई भने 'कात्तो दाके'(काट्ने मात्रै) भए काम चल्छ।
साह्रै पिर लाग्न थाल्यो बीचबाट मलाई। एैना अगाडि बसेपछि देख्छु, मेरो निधारको क्षेत्रफलमा ब्यापक 'वृ्द्धि' भइसकेछ यसबीचमा! ध्यान दिएर नहेरेको धेरै भईसकेछ कि क्या हो! कपाल मेरो झर्दै नझरेको हैन, तर टुप्पी राख्ने ठाऊँतिरबाट अलिअलि झरेको हो पहिला। त्यहाँ हतपति कसैले पनि देख्दैन। अब भनौं न, bird's eye view मा मात्रै देखिन्छ! एउटै उमेरका, अझ आफूभन्दा कम उमेरका साथीहरुको अघिल्तिरबाटै 'वन बिनाश' भएको धेरै देखिएको छ। 'अब late thirties तिर लाग्दा पनि झ-या छैन भनेपछि, कहिल्यै पनि नझर्ला मेरो कपाल त!' भनेर जुँघा नमुसारिएको पनि होईन। अब भने ठूलै पिर प-या छ!
अनि बाँकी 'वन' पनि एकदम पातलो पो भईसकेछ! मेरो कपाल 'तिल-चामल' हुन थालेको त धेरै पहिलाबाटै हो, एस एल सी दिएताकाबाटै हो। त्यतिखेर 'चामल' दुई-चार 'गेडा' मात्रै देखिन्थे। झोंक चल्दा 'चामल'लाई उखेलेर फ्याँकिन्थ्यो पनि बेला-बेलामा। तर 'चामल'को जुलुशै निक्लन थालेपछि भने केहि नचल्ने देखेर 'जय रामजी की' भनेर वास्ता गर्न छोडियो। अहिले कम्तिमा २५-३० प्रतिशत त पुग्यो होला 'चामल'को भाग, तर याद हुनै छाडेको छ अचेल। यो 'काईँयो अनावश्यक' को चरण पनि भर्खर शुरु भएकोले बढी ध्यान गएको होला, विस्तारै बानी लाग्ला यसमा पनि, आशा गरौं। तर नरमाईलो त लाग्दो रहेछ गाँठे!
चीनमा पढ्दा एउटा सहपाठी केटोले एउटा उखान सुनाउँथ्यो (पुरानै हो कि नयाँ बनेको हो, थाहा भएन)'मान्छे हिँड्ने बाटोको घाँस मर्छ, बुद्धी खेल्ने टाउकोको कपाल झर्छ!' उबेलाँ के थाहा, यो उखान यस्तरी काम लाग्ने दिन पनि आउँछ भन्ने! मेरो मुखैमा झुण्डिनेछ अब यो। अब आफूलाई ढाडस दिने बाटो पनि यहि एउटा त बाँकी छ!
तर यो उखानको प्रतिलिपि अधिकार खुल्ला छ है साथी हो! सबै 'चिण्डे' र 'चिण्डेन्मुख' मजस्ता सबैको लागि बनेको हो यो उखान। ढुक्क भएर, आफ्नै जस्तो मानेर प्रयोग गरे हुन्छ!
मेरो लागि यो पालीको दशैंको अर्को कोसेलीनै भन्दिम् न यसलाई!
Basanta Ji,
ReplyDeleteWhen I think about how much they charge for hair cuts here, I feel like we have been unfair to the barbers in Nepal. Just Rs 30 for a hair cut ?
Here, I bought a machine and cut my hair myself or ask for help from my friends on the portion where I can't reach.
I like that proverb, I guess I'm too destined to be bald, however I'm not sure if I'm wise :)
You are right Prajwoljee. We get great service with very few money. Our babers are as skilled as here, but they are very much underpaid.
ReplyDeleteBut in Nepal, everybody may be underpaid.
I haven't tried myself with the machine yet. But I search the cheapest possible barber.
Regarding the proverb, I have similar feeling with you.