October 18, 2007

मेरो मनको दशैँ

सबैलाई दशैंको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु! सबैको जिन्दगी अझ सफल, अझ समृद्ध र अझ सुखमय बनोस्।

(यहि प्रसंगमा मेरो दुई वर्ष पुरानो एउटा रचना राख्न चाहन्छु। एक-दुई अनलाईन फोरममा राखिसकिएको पनि हो। नयाँ लेख्ने हुती छैन अचेल! एक किसिमले 'हुतीहारा'नै भन्दिए हुन्छ मेरो अहिलेको अवश्थालाई!:P)


मेरो मनको दशैँ

मेरो मनको दशैँ विद्यालयमा दशैँ बिदा शुरु हुने केहि दिन पहिलेबाट शुरु हुन्छ । वर्षात सकिएको छ, धानको फाँट हरियोबाट पहेँलो हुने सूरमा छ, भटमासका बोटहरु र मकैका ढोडहरु उखेलेको बारी अझै रसिलो र मलिलो देखिन्छ र बिहानको हल्का चिसोले दशैँले कतै नजिकै लुकेर जिस्काइरहेको छनक दिन्छ। विद्यालयमा शुभकामनाका शब्दहरु लेखिएका पोष्टकार्डहरुको आदानप्रदान भइरहेछ, मनपर्ने शिक्षकहरु र मनपर्ने साथीहरुको भागमा मात्र यी पर्छन् र कुनै कुनैमा प्रेमको उद्घोष पनि हुनसक्छ।

दशैँ बिदा लाग्नुअघिको दिनमा हाम्रो विद्यालयमा विद्यालयब्यापी कार्यक्रम भएको त याद छैन, तर सबै कक्षाले आफ्नै ढंगले रमाइलो गरेर एक अर्काबाट छुट्टिन्थे। त्यस्ता कार्यक्रमहरुमा म चूट्कीला सुनाऊँथेँ। गान, बजान र नृत्य मेरो वशका कुरा होइनन् (मलाई आफू निरस भएकोमा सधैँ हीनताबोध भइरहन्छ।) । धन्न बच्चैमा पढेको "हमजाएगाको डायरी" ले चूट्कीलामा रस बसाईदियो र भीडभाडमा अलि अलि गफ लाउन जान्ने भइएछ।

बिदाका दिनहरुमा मेरा साथीहरु किताबमात्रै हुन्थे। दशै तिहारमा जूवा-तास नखेल्ने मान्छेलाई अनौठो जनावर मान्ने समाज छ मेरो। अभावले गाँजिएको मेरो बाल्यकालले मलाई किताबको छेऊमा पुर्यायो, तासको छेऊमा जानै नदिई। हुनत किताबको सोख पनि सस्तो थिएन मेरो लागि ।

फूलपाती, अष्टमी र टिकाका औपचारिकताहरुभन्दापनि मलाई दशैँको समयको मादकताले सधैँ सधैँ लठ्याउँछ। सबेरै बिहानको हल्का झण्डै पारदर्शी कुहिरो र मिठोसंग चसक्क घोच्ने चिसो हावा, उज्यालो दिनमा पहेँलिएर दौडिरहेको वतास, चँगाबुट्टे निलो एकदम निलो आकाश, हावाका पखेटामा झुण्डिएर उडिरहेको साँझ - के छ यी सबमा कुन्नि, जसले जिन्दगीका कठोरताहरुको माझमा पनि मेरो मनको भित्र, भित्र कतै, आशाको उज्यालो भरिरहन्छ।

र मेरो मनको दशैँको मध्यचोकमा मेरो मामाघर पर्छ। घर र छिमेकमा टिका थापिसकेपछि, मामाघर जाने यात्रा शुरु हुन्थ्यो, टिकाकै दिन। भक्तपुरको अलिक भित्री भागमा पर्ने मेरो मामाघर गाऊँ कालीटार (अहिले दधिकोट गा. वि. स. मा पर्छ जस्तो लाग्छ।) पुग्न ठिमीमा बसबाट ओर्लेर एक घण्टा जति हिँड्नुपर्छ। हनुमन्ते खोला तरेर तरकारीका फाँटहरु कटेर एउटा सानो उकालो काटेपछि गाम्चा शुरु हुन्छ। गाम्चाको सीरी (श्री?)को पसलको रौनकनै बेग्लै हुन्थ्यो। लँगुरबुर्जाका थुप्रै खालहरुमा मान्छेहरु झुम्मेर चिच्याईरहेका हुन्थे । हामीपनि बढीमा एक मोहरसम्म त्यहाँ बुझाएरमात्रै बाटो लाग्थ्यौँ। चर्खण्डी (?) सम्मको चौडा बाटो छोडेर, एउटा सानो खोला तरेर गोरेटो समात्ने बेलासम्म झमक्क साँझ परिसक्थ्यो। त्यतिखेरसम्म त्यो गाऊँमा टिका थाप्न जाने छोरी, ज्वाईँ र भाञ्जाभाञ्जीहरुको ठूलै जमात पनि भेट भइसक्थ्यो। ठूलाहरुको सञ्चो-विसञ्चो र ब्याबहारिक गफमा हाम्रो हल्लालाई पनि मिसाऊँदै हामी सकेसम्म छिटो मामाघर पुग्ने धूनमा बत्तिन्थ्यौँ। माथिबाट उज्यालो चन्द्रमाले जीवन्त जूनको वर्षा गरिरहेछ र तल धानका बोटहरु हामीलाई लजालु स्पर्श गरिरहेछन्। आज लाग्छ ती क्षणहरु आनन्दको सागरमा पौडिएका क्षणहरु थिए, संसारका सब पिडाहरुबाट मुक्त भएका क्षणहरु थिए, शायद समाधिका क्षणहरु थिए।

त्यसपछिका हरेक दशैँहरु जिन्दगीमा कहिल्यै नपुरिने घाऊ बेस्सरी चहराएर बित्ने गरेका छन्। एक घटस्थापनाको दुई दिन पहिले मेरी आमा; शान्त, शुशील र सुन्दरी आमा हामीलाई छाडेर बैँशमै, आफ्नो सपनाको घर सजाउन भर्खरै थाल्दा थाल्दै, गुँडमा बचेराहरु जम्मा गरिमात्रै सकेर तिनका लागि आहारा खोज्दा खोज्दै, ताराहरुको संसारतिर जानुभयो।

त्यो चोटको दुई वर्षपछिको दशैँमा होला, मलाई र मेरो माईलो (भाइ शिशु)लाई निलो पाईण्ट र निलै शर्ट आएको थियो। बाले हामीलाई मामाघर लिएर जानुभएको थियो। कलंकीबाट बस चढ्ने संभावनै थिएन, मान्छेहरु झुण्डिएर यात्रा गरिरहेका थिए नैकापतिरबाटै।

"म तिमीहरुलाई कथा सुनाऊँछु, हिँडेर जाऊँ है त ?"
"हस्।" बस चढ्ने रहर त छँदैथियो तर कथाको लोभले जित्यो।

बाले रामायणको कथा शुरु गर्नुभयो, शायद दशैँको शुरुवातको प्रसंगबाट होला। हामी कथामा यस्तरी एकाकार भयौँ कि बाटो कटेको पत्तै भएन। त्रिपुरेश्वर पुगेपछि ट्रलीबस चढ्न पाईयो। ठिमीमा ट्रलीबसबाट झरेपछि कथाको क्रम फेरि शुरु भयो। त्यो दिनको त्यो एकाग्रता, त्यो तन्मयता आजसम्म कहिँ कतैपनि दोहोरिएको छैन।

"अब हजूरबाले सुनाउनुहुन्छ तिमीहरुलाई कथा।" मामाघर पुगेपछि बाले भन्नुभयो।
'ल आओ, म सुनाउँछु कथा।" हजूरबाले कथा शुरु गर्नुभयो बाले रोकेको ठाऊँबाट। त्यो रात सपनामा हामीले पूरै रामायण देख्यौँ होला।

दशैँमा हामीले पाएको दक्षिणा भोलिपल्ट फर्कँदा ठिमी पुगेर सकिन्थ्यो। सडक नपुग्दैको एउटा पुस्तक-पत्रिका पसलमा "बालकोसेली" भन्ने पत्रिका र नयाँ बालकथाका पुस्तकहरु किनेपछि हाम्रो दशैँ हामीबाट बिदा हुन्थ्यो।

अब दिनहरु उहि रहेनन्। हजूरबा हुनुहुन्न, हजूरआमा हुनुहुन्न। हनुमन्तेको फाँटमा तरकारीहरु कम झुल्छन्, त्यहाँ आजभोलि राक्षसजस्ता कुरुप र विशाल ईँटाभट्टाहरु मलिलो माटोलाई चपाएर, उग्राएर धूवाँ फालिरहेका हुन्छन्। गाऊँको वातावरण झन् बिग्रेको छ। चियापसलहरुले चियासँगै जाँड रक्सीपनि बेच्न थालेको धेरै भयो। तन्नेरीहरु उद्देश्यहीन झल्लीरहेछन्। पिङ्ग मच्चिन छोडेको छ गाऊँमा, किनकि दिदी-बहिनी र भाऊज्यू-बुहारीले पिङ्ग खेल्ने वातावरण रहेन अब, जताततै जँड्याहा र गुण्डाहरुको बिगबिगी बढेको छ। र रातभर कुन घर कुन गाऊँमा बन्दूक पड्कने हो पत्तो हुँदैन।

मेरा धेरै दशैँहरु घर र देशबाट टाढा परदेशमा एक्लै एक्लै बितेका छन्। तर मलाई मेरो मनको दशैँले कहिल्यै छोडेको छैन। दिनमा बतासलाई रोकेर झुल्ने हरिया फाँटहरु अनन्तसम्म फैलिएका छन् मेरो मनमा। साँझको बतास घर अगाडिको अग्ला अग्ला काईँयो फूलका रुखहरु वरिपरि चक्कर मार्छ र रुखहरुलाई काऊकुती लागाएर आफैँ खित्का छोड्दै भाग्छ। अनि चन्द्रमा उदाएपछि आकाश र धर्तीको रुपको जुहारी चल्छ।

मेरो मनको दशैँमा म स्मृतिका गोरेटाहरुमा दायाँबायाँका मभन्दा अग्ला बोटका धानका बालाहरुसंग गफ गर्दै मामाघर गईरहेको हुन्छु।


****************************************************************************

6 comments:

  1. दशैंको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छ

    ReplyDelete
  2. खै के लेखुं, म त तपाइंको जीवन्त लेखन शैली को फ्यान नै भएको छु | तपाइंका दशैं र मेरो दशैंका यादहरु केहि फरक भए पनि मुल मर्म भने एउटै हुन|

    ReplyDelete
  3. चमत्कारी बाबाजी, धन्यबाद।

    प्रज्वलजी, तेस्तरी नफूर्क्याउनुस् न यार! अनुभुतिलाई शब्दमा उतार्ने कोशिशसम्म गरेको मात्रै हो। राम्रो लेख्न सकेको छैन अझै।
    मेरा रचनाहरु पढिदिनु भएकोमा सधैं आभारी छु र धन्यबाद दिन चाहन्छु।

    ReplyDelete
  4. बसन्त जी ,तपाईंका पुराना कथाहरुमा म अझै पुग्न नभ्याएका ठाउँहरु पनि रहेछन । तर तपाईंका कथाका गोरेटोहरुमा कुनै न कुनै रुपले म पनि हिडेंको रहेछु । दधिकोटको सिरिको पसल मेरो पनि बाल्यकालको सम्झनामा रहेको छ ,त्यहाको पुष्टकारी र गुदपाक खुब प्रसिध्द थिए । मैले पनि २-४ चोटि घुमाउरो बाटो भएपनि त्यो बाटो हुदै जाने गरेको याद छ । दसैं जति निरस भएर मनाएपनि या चलन चल्तिका सामान्य रमाइलाहरु सँग नरमिए पनि यसको रौनक ले शायद नाम मात्रैले पनि हामीलाई स्फुर्ति र आनन्दको अनुभव चाहि पक्कै गराएको छ ।

    ReplyDelete
  5. दशैंको हार्दिक मंगलमय शुभकामना !

    ReplyDelete
  6. दिनेशजी, प्रतिकृयाको लागि धन्यबाद! हाम्रा बाल्यकालका गोरेटाहरु कतै-कतै मिलेका रहेछन् भन्ने थाहा पाऊँदा खुशी लाग्यो। सिरिको पसल मेरो बाल्यकालको स्मृतिको एउटा 'ल्याण्डमार्क' हो, मामाघर जाँदा र फर्कँदाको एउटा 'स्टेशन'।

    अब त धेरै भयो ठिमीबाट सिरिको पसल हुँदै मामाघर नगएको। लौकिन्थली कि गोठाटारबाट ललितपुरको भित्री भाग हुँदै मामघर नजिकको बिरुवा भन्ने ठाऊँसम्म बस जान थालेको धेरै भयो। नेपाल फर्केपछि एकचोटि पुरानै बाटोबाट मामाघर जाने विचारमा छु।

    ReplyDelete