साथीहरुले अस्तिनै जिस्काइसके मलाई, मेरा पोष्टिङ्गहरुको शुरुवात जहिलेपनि ‘अहिलेपनि ढिलो भएँ म---‘ बाट शुरु हुन थालेको छ भनेर। नभन्दै त्यस्तै हुँदैछ, यो पाली पनि! दशैं सकिएको यतिका दिन भईसक्यो, बल्ल लेख्न बस्दैछु।
दशैं कार्यक्रम थियो नागोयामा शनिबार, २० तारीख। हाम्रो ‘कार्यक्रम’ भने शुक्रबार बेलुकाबाटै शुरु भयो। ओसाकाबाट पनि तीनजना साथीहरु आउनुभएको थियो। अलिअलि सोमरसको साथमा गफैमात्रै थियो, तर रमाईलो भनेको त्यहि गफ त हो। एक डेढ हप्ता साथीहरुसंग जमघट गरेर एकदम ‘शुद्ध’ ठेट नेपालीमा गफगाफ-हा हू गर्न पाईएन भने असैह्य भएर आउँछ मलाई, केहि विशाल र गह्रौं कुराले थिचेजस्तो लाग्छ। शनिबार बिहानसम्म लम्बिएको त्यो गफगाफ जिन्दगीका अविस्मरणीय गफगाफमध्येमा मिसिन पुगेको छ।
आफू तास खेल्ने मामिलामा सधैं खत्तम! जुटपत्ती बाहेक जानेको फरास। त्यो दिन पनि राती कतिबजेबाट हो, फरास शुरु भयो। आफुले त हारियो अलि-अलि। ‘सुदिपजीले एक करोड जित्यो!’ भनेर हल्ला हुँदैथ्यो बिहान! बेला-बेला बिभिन्न भाकाका लोकगीतहरु पनि निस्किएका थिए। ‘माछी काँडैले---‘ भन्ने भाका निकै ‘लोकप्रिय’ भा'थ्यो हाम्रो दशैं जमघटमा। जोकहरु पनि चलेका थिए बिभिन्न 'राउण्ड'मा।
अब नागोयाको दशैं कार्यक्रमतिर लागौं। पहिलेका भन्दा अलि फरक थियो। पहिले केहि साथीहरुले स्वत:स्फूर्त रुपमा जिम्मा लिन्थे, कुनै औपचारिक समिति वा संगठनको नाममा कार्यक्रम हुँदैन थियो। जे-जति कार्यक्रमहरु हुन्थे, आफैं बीचबाट हुन्थ्यो जान्नेले पनि गाउँथे-नाच्थे, नजान्नेले पनि गाउँथे-नाच्थे र दोहरी र अन्ताक्षरी हुन्थ्यो। यसरी सबै संलग्न हुन्थे, अथवा भनौं न सबैलाई ‘दशैं’ लाग्थ्यो।
यसपाली अलि फरक भयो। केहि संस्थाद्वारा घोषित रुपमै आयोजनाको जिम्मा लिएर कार्यक्रमको आयोजना गरिएको थियो। आयोजकहरुको परिश्रम र लगनको लागि धन्यबाद दिन चाहन्छु।
कार्यक्रमको बारेमा पछि कुरा गर्दै गरौंला। अहिलेलाई केहि फोटाहरु।
यस्तो बेलामा मलाई मैले ‘भूमिगत’ ब्लगिङ्ग गरिरहेको भएपनि हुन्थ्यो जस्तो लाग्छ। केहि समय पहिले‘नेसाज डे’मा पनि यस्तै अनूभूति भएको थियो।
बसन्त जी,
ReplyDeleteफोटाहरु हेर्दा त सार्है रमाईलो भयो जस्तो छ। दशैंको शुभकामना दिने काममा चुकिएछ। तिहारकै भए पनि, शुभकामना है त।
यस्तो बेलामा मलाई मैले ‘भूमिगत’ ब्लगिङ्ग गरिरहेको भएपनि हुन्थ्यो जस्तो लाग्छ।
हुनत मैले पनि ब्लगिङ्ग भुमिगत भएरै शुरु गरेको हुँ। त्यसको अर्कै मजा छ। तर, साथिहरुले बार्तामा ल्याइ छाडे, कहाँ लुक्छ भनेर जासुसि नै गर्न थाले। अनि त बार्ता गरेर, केहि बुँदे सहमति पनि गरियो। हाललाई अर्ध भुमिगत भए पनि, सत्तामा चाँहि गएको छुँइन्। :D
मलाई त म बस्ने थलो तपाँईले पनि पत्ता लगाइ सक्नु भयो कि जस्तो लाग्छ। जे होस, जापानमै रहे भेटै पनि होला। तर, म अझै पनि, अर्ध भुमिगतनै रहन रुचाँउछु।
फेरि पनि शुभकामना, ‘अहिलेपनि ढिलो भएँ म---‘ बाट पोष्टिङ्गहरुको शुरुवात गर्नु नपरोस।
प्रो.
प्रोफ, तपाईँ बस्ने ठाउँ त तपाईँका पोष्टिङ्गहरुबाटै थाहा पाएको हुँ। तर तपाईँको परिचयभने पत्ता लगाउन सकेको छैन। केहि समय पहिलाको एउटा कार्यक्रममा त्यहीँबाट आउनुभएको एकजना दाइसंग सोधेको पनि हुँ, दाइलाई केहि भेउ छ कि भनेर। दाइलाई पनि त्यत्ति थाहा रहेनछ। बरु 'एउटा भूमिगत ब्लगर त मै पनि हुँ।' भन्दै हुनुहुन्थ्यो!
ReplyDeleteआशा गरौं हाम्रो भेट होला कुनै दिन। भेट भएर मैले चिनेपनि कसैलाई नभनौंला, तपाईँलाई पनि नभनौंला। यसो गरेपछि तपाईँको अर्ध-भूमिगत पहिचान ज्यूँ-का-त्यूँ रहला। कि कसो?
शुभकामनाको लागि धन्यबाद! तर पेट पाल्ने मेसोले फुर्सद दिँदो रहेनछ ब्लगका लागि, अथवा साहित्य लेखनका लागि। हेरौं, कोशिश गर्नेछु, ढिलो नहुन।
अँ, यो भूमिगत हुन चाहेको चाहिँ, मन लागेजति सबै कुरा लेख्न पाईन्थ्यो भनेर हो। अहिले कति कुरा आफैंभित्र राख्नुपरेको छ। साथीहरु रिसाउलान् भनेर कति कुरा लेख्न सकिएको छैन।
ReplyDeleteअर्को ब्लग शुरु गरौं भनेपनि, एउटैको त यो गति छ!
:)गोपनियताको कुरो चलिरा'रेछ
ReplyDeleteदादा कतै गालि खानेमा म नै त पर्दिन भन्छु । चौतारीमा राख्न अनुरोध गर्ने त मै हु बाबै !
हजुरको दशैको फोटोहरु राम्रो लाग्यो ---ढिलै भ पनि शुभ-कामना हजुरलाइ दादा!!
हा हा हा! चौतारीमा के को भूमिगत, के को खुल्ला?! त्यहाँ न मेरो कसैसंग रिसराग अथवा असन्तुष्टि छ, न अरुको मसंग। कुरो अन्ततिरकै हो क्या! सबै ठाऊँ चौतारीजस्तै भैदिए यो संसारै अर्कै भैहाल्थ्यो नि।
ReplyDelete