केहि दिन पहिला पहिलो पटक, छोटो-दुइ दिनेनै सहि- जापानको ‘तोहोकु’ (उत्तर-पूर्व) को यात्रा गरिएको थियो र त्यसकै बारेमा केहि लेखौंला भन्ने सूर थियो ढिलै भएपनि। तर नेपाल भनिने मेरो देशको नियतिले लिन थालेको अझ ओरालो बाटोले मनै बिगार्दियो र केहि पनि लेख्न मन लागेन। बाहिर बस्दा त मन यस्तो झसंग हुन्छ, नेपालभित्रै बसेर जिन्दगीको संघर्ष गरिरहेकाहरुले कसरी जोगाइरहेका होलान् आफूलाई पागल हुनबाट?! सलाम गर्न चाहन्छु म ती सबैलाई!
अन्तत: माओवादीहरुले सरकार छोडेका छन् र आंशिक रुपमा सडकमा फर्किएका छन् ( संसद त अझै छोडेका छैनन्!)। अब बिस्तारै फेरि जंगल पनि पस्लान्, के भन्न सकिन्छ र?!
माओवादीले सरकार छोड्नुको जुनसुकै बहाना बनाएपनि आउने संविधानसभामा हुने आफ्नो निश्चित लज्जाजनक हारनै हो भन्ने कुरा कसैबाट पनि लुक्न सक्दैन, कसैले आँखै चिम्लिन्छ भने त्यो बेग्लै कुरो हो। जंगलबाट शहर पस्दाताका माओवादीहरु के सोच्थे भने पूरै देश हाम्रो मुठ्ठीमा छ, जनताले हाम्रो जयजयकार गरिरहेका छन्, बन्दुक छोडेपनि भयो अब, चुनावैबाट सत्ता आफ्नै हुन्छ। तर यो भ्रमको पर्दा च्यातिन डेढ वर्ष लागेछ। हिजो माओवादीले मन जितेर हैन तर्साएर, हतियार र मूढे बलका भरमा केहि क्षेत्रमा गढ बनाएका थिए र तीनै माध्यमहरुबाट देशभरिनै त्रासमय रुपमा आफ्नो उपस्थिति देखाएका थिए। फेरि उनीहरु जंगलमा भएकाले उनीहरुको बारेमा सबैलाई सबै कुरा थाहा हुने स्थिति पनि थिएन। शहरमा मस्ती गरिरहेका कतिपय ‘वुद्धिजीवि’हरु हावा भरेर माओवादीको आकार बढाइरहेका थिए, (आफ्नो नजिकको कोहि नमरुञ्जेल जति वुद्धिविलास गरे पनि भो!)।
‘—पहली बारिशमें ही सब रंग उतर जाते हैं—‘ भनेझैं एक घटनापछि अर्को घटनाहरुले पर्दाहरुलाई पखाल्दै माओवादीको वास्तविक ‘शक्ति’लाई उदाङ्गो पारिदिएका छन्। हो उनीहरुसंग हतियार त रहेछ, तर वास्तविक र भरपर्दो-दिगो राजनीतिक शक्ति हुनका लागि चाहिने जनाधार भने पटक्कै रहेनछ। रोल्पा जुन ठाउँलाई उनीहरु आफ्नो राजधानी भन्थे, त्यहि ठाउँमा चुनाव हार्ने निश्चित छ उनीहरुले। हतियारका भरमा जनतालाई धम्क्याएरमात्रै उनीहरु हावी देखिएका रहेछन् भन्ने स्पष्ट भइसकेको छ।
यो बोध माओवादीलाई पनि एक महिना जति पहिला भयो। त्यै ‘बोधिज्ञान’को परिणाम थियो प्रचण्ड र बाबुरामले एउटा अन्तर्कृया कार्यक्रममा लाजै नमानी खोकेको बोली- “हाम्रो पक्षमा जन-उभार हुँदा चुनाव गराइएन, अहिले हाम्रो पक्षमा जन-उभार नहुँदा चुनाव गराइदैँछ।‘ वाह! क्या ‘जोक’! यहाँनिर एक दुईटा कुराहरु। त्यतिखेर त्यस्तो ‘ब्यापक जन-उभार’ आफ्नो पक्षमा हुँदा चुनाव गराउन किन सकेन माओवादीले? यो त माओवादीको कमजोरी भएन र? अब फेरि माओवादीको पक्षमा जन-उभार कहिले आउँछ र चुनाव गर्ने? त्यतिखेरसम्म एमाले-काँग्रेसको पक्षको जन-उभार घट्यो भने यहि तर्कले तिनले पनि चुनाव सारे भने के गर्ने नि? यो अत्यन्त बच्काना कुरा गरेर माओवादीहरुले विगत डेढ वर्षमा कमाएको धेर-थोर राजनीतिक पूँजीलाई आफैले सोझै रसातलमा पु-याएका छन्।
फेरि अर्को कुरो, माओवादी कस्तो दल हो, जस्को जनाधार छ महिनामै पत्तासाफ हुन्छ?! कुनैपनि राजनीतिक दललाई जनाधार बनाउन लामो समय लाग्छ र बनिसकेपछि त्यति सजिलै त्यो नाश पनि हुँदैन। वास्तवमा माओवादीको कुनै जनाधारनै छैन, उसले बनाउने कोशिशपनि गरेको छैन र हतियार र चर्का कुराको भरमा देखिएको तामझामलाईनै जनाधार मान्ने भूल गरिरहेको छ। हो सबैलाई थाहा छ माओवादी भूमिगत राजनीतिबाट आएको हो, तर खुला राजनीतिलाई पनि ‘भूमिगत’ आँखालेनै हेर्नु उस्को ठूलो भूल हो। तर माओवादी आफ्नो भूल स्विकार्न तयार छैन।
२२ बुँदे भनिने उनीहरुको नयाँ मागपत्र मैले एकचोटिमात्रै पढेको छु। मलाई नेपाली दलहरु र तीनका नेताहरुले लेखेका-बोलेका धेरैजसो कुराहरु पढ्नै मन लाग्दैन, पढिहालेपनि दोहोराएर पढ्न मन लाग्दैन। कतै मैले Psychologist को परिभाषा पढेको थिएँ; “Someone who explains to you the things that you understand using the words that you don’t understand.” कि त्यस्तै केहि भन्ने। नेपाली राजनीतिक लेखोटहरु त्यस्तै हुन्छन्। यो २२ बुँदेमा धेरै कुरा ठीकैपनि छन्। तर माओवादीले मौका पाउँदा यी सबैलाई छोड्न तयार भएकै हो। मधेश र जनजातिका समस्यालाई सरकारले समाधान गर्नसक्ने छाँट देखिएपछि र संविधानसभाको चुनाव साँच्चिकै हुने छाँट देखेपछि उनीहरु फेरि उचालिएकामात्रै हुन्।
रायमाझी आयोगका दोषीलाई कारवाही गर्ने कुराको प्रसंग, यो सहि छ। हो त्यसबाहेक पनि यो देशमा विकराल दण्डहीनता छ। तर यसका पछाडि के अरु दलहरुमात्रै जिम्मेवार हुन् त? कथित जनयुध्दकालमा शाही सेनाका तर्फबाट मात्रै हैन, माओवादीका तर्फबाट पनि उस्तै ज्यादतीहरु धेरै भएका छन्। माओवादीहरु आफूले गरेका ज्यादतीप्रति सबैले आँखा चिम्लिदिउन् भन्ने चाहन्छन्। यदि उनीहरु दण्डहीनताको अन्त्य चाहन्छन् भने किन आफूभित्रैबाट शुरु गर्दैनन्? निर्दोष जनतामाथि ज्यादती गर्ने आफ्ना कार्यकर्ता र कमाण्डरहरु अथवा जिम्मेवार जोसुकैलाई किन कारवाही गर्दैनन् र जनताको सामु राख्दैनन्? विगतमा धेरै चोटि के देखिईसकेको छ भने माओवादीले आफ्ना दलभित्रका अपराधीहरुलाई सधैं जोगाएको छ र उल्टो संरक्षण गरेको छ। यो परिष्थितिमा दण्डहीनताको माग गर्न उसंग कुनै नैतिक आधार छैन। (तर यहाँ मैले दण्डहीनता कायम रहोस् भन्न खोजेको भने हैन।) भैरवनाथ गणका अपराधीहरुलाई कडाभन्दा कडा सजाय हुनुपर्छ भने बाँदरमुढेका अपराधी अथवा मुक्तिनाथ अधिकारीका हत्याराहरुलाई कारवाही हुनुपर्छ कि पर्दैन? दण्डहीनताको यो शृंखलाले नटुंगिने छाँट लिईसकेको छ। माओवादीको सिको गरेर आज जन्मिरहेका अनगिन्ती हतियारधारी समूहहरुसंग जे गरेपनि कारवाही भोग्नुपर्नेछैन भन्ने आत्मविश्वाश देखिन्छ र जनतामा पनि अपराधका लागि कोहि दण्डित हुन्छ भन्ने कुरामा बिल्कुल भरोसा छैन।
एउटा राजनीतिक दलको इमान्दारिता उ आफूले गरेका सम्झौतामा कत्तिको टिक्छ भन्ने कुराले देखाउँछ। माओवादी यो परीक्षामा अनुत्तीर्ण भएको छ। हो, राजतन्त्रको छिनोफानो गरेपछि मात्रै संविधानसभाको चुनाव गरेको भए सबैभन्दा राम्रो हुनेथियो। तर अहिलेको संसदले घोषणा गरेर होईन, ‘सेरेमोनियल’ र गणतन्त्रको बीचमा बकाईदा जनमत संग्रह गरेर। त्यो बेलामा एमालेको यस्तै प्रस्तावमा माओवादी किन सहमत भएन, ताज्जुब लाग्ने कुरा छ। जनमत संग्रहको आधारमा आएको गणतन्त्रले सजिलै राष्ट्रिय-अन्तर्राष्ट्रिय बैधता पाउने थियो, अन्य माध्यमका तुलनामा। त्यसपछिका माध्यमहरुमध्ये संविधानसभालाई जनादेशप्राप्त एउटा निकाय मान्न सकिन्छ, तर अहिलेको संसदसंग त्यो नैतिक आधार छैन। यो ‘नयाँ’ संसद हैन, पुरानै हो। सात दलका पुरानै घिनलाग्दा अनुहारहरु छन् र माओवादी बन्दुकका भरमा पुगेको हो, जनताको मतबाट होईन। अब चुनावमा कतिलाई जनताले धूलो चटाउने हुन् थाहा छैन। यो संसदले गणतन्त्र घोषणा गर्नु भनेको त्यो गणतन्त्रले बैधता नपाउनु र प्रकारान्तरले राजतन्त्रलाई जोगाउनु र बलियो बनाउनु हो। त्यो बेलामा असहमतिका बुँदाहरु लेखेपनि एमाले सम्झौतामा अडिएको छ। एउटा परिपक्व राजनीतिक दल हुनुको लक्षण हो यो। (यहाँनिर के स्पष्ट पारौं भने मेरो एमालेसंग केहि लिनिदिनु छैन। म आफ्नो ब्यक्तिगत विचार प्रकट गर्दैछु।)
युद्धविराम सम्झौताको उल्लंघन पनि माओवादीले जति गरेको छ, त्यसको एक अंश पनि सरकारले गरेको छैन (माओवादी इतर पक्ष भनौं न, किनभने अस्तिसम्म त माओवादी आफैंपनि सरकारमा थियो!)। नेपाली सेना चूपचाप ब्यारेकमा छ डेढ वर्ष यता तर ‘लाल सेना’ कथित ‘वाइसीएल’को नाममा देशभरि आतंक मच्चाउन ब्यस्त छ। आफैं सरकारमा गइसकेर पनि माओवादीले समानान्तर सरकार चलाउन छाडेन, आतंक मच्चाउन छोडेन र जनतालाई दु:ख दिन छोडेन। कस्तो राजनीतिक दल हो यो माओवादी?!
बिगतमा लाग्दै आएको आरोपजस्तै माओवादी जानी-नजानी फेरि पनि दरबारलाई बलियो बनाउने काम गर्दैछ। माओवादीको नेतृत्व कुनै ‘डबल रोल’मा त छैन, जनताका छोराछोरीलाई क्रान्तिको सपनामा होमेर आफूभने दरबारसंग घाँटी जोड्ने?! यो शंकालाई भरथेग गर्ने आधारहरु धेरै भेट्न सकिन्छ उनीहरुको ब्यबहारबाट। हिजो बहुदलको विरुद्धमा राजा विरेन्द्रसंग ‘कार्यगत एकता’ थियो भनेर खुल्लमखुल्ला सगर्व भन्छन् उनीहरु। आजपनि त्यस्तै कथित ‘कार्यगत एकता’ छैन भन्ने कुराको के निश्चितिता छ? जहाँसम्म उनीहरुका चर्का नाराहरुको कुरा छ, ‘घरमा स्वास्नी कुट्नेहरु बाहिर निक्लेपछि सबैभन्दा ठूलो स्वरमा नारी स्वतन्त्रताको भाषण ठोक्छन्।‘ भनेजस्तै पनि हुनसक्छ। अर्कोतिर, उनीहरुले दरबारसंग ‘कार्यगत एकता’ नगरीकनै चर्का कुरा गरेका हुन् भने पनि उनीहरुको उग्र वाम चिन्तन र ब्यबहारले सघाउने भनेको उग्र दक्षिणपन्थी राजतन्त्रवादीहरुलाईनै हो।
यो पनि हुनसक्छ, माओवादीहरु साँच्चै अझैपनि नेपालमा आफ्नो एकदलीय तानाशाही लादेर नेपाललाई पनि उत्तर कोरियाजस्तै ‘एनिमल फार्म’ बनाउने सपना देखिरहेछन्। यो सपना देख्न छोडेहुन्छ माओवादीले! कुनैपनि रंगको अधिनायकवाद सैह्य हुनेछैन नेपालीलाई! पहेंलो राजतन्त्रबाट मुक्त हुनासाथ ‘रातो राजतन्त्र’मा जानु भनेको क्रान्ति हैन, प्रतिक्रान्ति हो र मध्ययुगतिरको प्रतिगमनमात्रै हो!
लोकतान्त्रिक गणतन्त्र नेपाल-जिन्दावाद!
एकदलीय तानाशाही-मूर्दावाद!
Basanta Ji:
ReplyDeleteI think, even the Moists leaders know that without proper development of the country, it's very tough to achieve other revolutionary goals. However, they don't want development, they just want revolution(?).
They have seen Europe, Prachanda Talks about "Rang De Basanti", They talk about 'lofty' things. But they forget that still 30% of our population is still under poverty line(i.e. they earn less than NRs 7000/year NOT month).
I am exactly 100% cofident that, if there was no revolt of Maoists in Nepal, this number would have decreased by lot more.
Yes, I am not in favor of King or Koiralas but I would like to speak what I feel. I don't want to see people dying of hunger at one corner and some other people fighting to make republic.
God Bless Nepal
बसन्त जी,
ReplyDeleteमाओबादीको दोधारे कुरा गर्ने शैलीले गर्दानै आहिले उनिहरु पलायन हुन थालेका जस्तो लाग्छ मलाइ...ठुला ठुला कुरा खोक्ने, गरेर देखाउन नसक्ने भए पछि त पलायन हुने नै भयो नि.....बोलीको मोल नभयेको देख्दा कसरी पो "जन युद्ध" हांके इनिहरुले जस्तो लग्छ....जनताको लागि युद्ध गर्ने ले आहिले आयर यसरी बच्चा जस्तो रुने काम त गर्न भएन नि
:)
ReplyDelete‘तोहोकु’ (उत्तर-पूर्व) को यात्रा समस्मरण पछी पढन पाईएला नै ०००० यो लेखमा भने मेरो १००% सहमति छ ।
ReplyDeleteजंगलमा बसेर "गुट्टी" हाँकेकै तालमा सरकार पनि चलाउँला र जनता पनि हामीले जे भन्छन त्यहि गर्छन भन्ने माओबादीको अपरीपक्क "स्वप्न भंग" भएर यीनीहरु आत्तीएकोमा कुनै शंका छैन ।
देश चाहे "गणतन्त्र" होस "जन गण तन्त्र" होस वा जे होस तर कुनै यौटा दलको अनुकूलता वा प्रतिकूलता हेरेर चुनाव गर्नु भन्ने चाँही सार्है तानाशाही कुरो भयो ।
नेपाली जनतालाई आफ्नो मालीक आफै बन्न दिनु पर्छ "सहरको राजा" हटाएर "जंगली राजा" बन्न खोज्नु यिनीहरुको भुल हो ।
Highly enriching. One of the best I have come across on the topic.Good to see that you have kept your writing skills immaculate from the days in China or even from behind.
ReplyDeleteMaosits have shown signs of coming face to face with the truth now and are scared, obviously. They thought that people had succumbed to them under their relentness killings, threats and vandalism. How ill visioned and sick their leaders are, its hard to imagine.
Still I am very afraid that they will plunge the country back to the civil war.
But the other side of the story is the role of army in the country. They could neither strategically fight and defeat the Maoists when given the role, nor have shown any sign of siding up the the democracy. They too are in some kind of utopia, it seems they dream of taking over the power one day, Musharraf style. Their general outlook is that of an incapable and wounded beast, only able to hurt the ones who they are supposed to protect. Their master is on the run and in verge of extintion, their usability is of great question to me. Realistically what use is this current military in Nepal who can show no real skills other than shoot and kill the nepalese themselves?? Does anyone expect them to protect us from any invading army? Do they have any moral standards that make them acceptable as a civilized force in our society? I don't think so.
I am sorry for replying late to all the comments.
ReplyDeleteThe only motive of maoists seems to establish the stalinist communist dictatorship in Nepal and they don't give a damn about freedom and human rights. I know they will not be successful in Nepal but they can continue destabilizing Nepal and cause more and more bloodshed in Nepal. If they don't mend their ways and accept multiparty ideology and open society, Nepal will soon turn into Iraq or Afganistan.
Or it may already been turned, signs we are getting are too bad.
बसन्तजी,
ReplyDeleteतर्क राम्रो लाग्यो । माओवादीले गरेका सबै काम सही छ भन्ने छैन । भूमिगत र गुरिल्ला राजनीतिबाट खुल्ला राजनीतिमा अवतरण गर्ने प्रकृयामा माओवादी पक्षबाट केही रणनैतिक भूल भएको स्पष्ट देखिन्छ। शायद यसैबाट हच्किएर माओवादी नेतृत्व अहिले सँविधान सभाको चुनावमा जानबाट डराएको हुन सक्छ।
सशस्त्र कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्न माओवादी नेतृत्वलाई त्यति सजिलो छैन। साम्यवादको सुगा रटाईमा प्रशिक्षित कार्यकर्ता र मिलिशियाले नेतृत्वलाई साम्यवादी ढँगले नै प्रश्न गर्ने गर्छन। लोकतान्तृक गणतन्त्रलाई आत्मसात गर्न साम्यवादी गणतन्त्रमा लागेका कार्यकर्तापँक्तिलाई गार्हो छ। यस्तै, माओवादी भित्रै परम्परागत ढर्रामा साम्यवादलाई बन्दुककै नालले स्थापित गर्नु पर्छ भन्नेहरुको कुनै कमि छैन। माओवादी नेतृत्वका लागी अहिले चुनौतिको क्षण छ।
माओवादीको साम्यवादी गणतन्त्र र कम्युनिष्ट तानाशाहीका सैद्धान्तिक पक्षसँग म कहिले सहमत हुन सक्दिन। लोकतान्तृक मान्यता नभई नेपालीले साँस्कृतिक, धार्मिक र बैयक्तिक अधिकार कहिले प्राप्त गर्न सक्दैन। पढे-लेखेका हामी सबैले बुझेका कुरा हो यो। यसका बावजुद पनि हामी अहिले माओवादीसँग सँबद्ध बढदो जमात देख्न पुग्दछौँ। साम्यवाद प्रतिको मोहले भन्दा पनि अन्य राजनैतिक दलहरुका असक्षमताले पनि माओवादीतर्फ झुकाव धेरैले देखाएका छन। यस्तो अवस्थामा माओवादीले कतिको सिट जित्न सक्छ वा सक्दैन भन्ने कुराको आकलन गर्न गार्हो छ।
तर पनि माओवादी चुनावसँग डराएको छ र त्यसको कारण केही मुद्दा विशेषहरुमा, मूलत: तराईमा आफूले भोग्नु परेको क्षति नै हो। क्याडर बेस्ड पार्टी भएका कारण माओवादीले तराईमा आफुले पाउने मत प्रतिशतलाई सँगठनको क्षमतासँग जोडेको छ। तराईमा आफ्नो सँगठनबाट पलायन हुनेहरुको सँख्या बढेपछि, माओवादीले आफ्नो प्रभाव घटने अनुमान गरेको हुन सक्छ।
क्याडर बेस्ड पार्टीहरुले गर्ने आकलन जहिले पनि सही हुन्छ भन्ने छैन। कार्यकर्तासँख्या घटेको अवस्थामा पनि मतसँख्या बढन सक्छ यदि जनताले राजनैतिक मुद्दाहरुलाई मन पराउने हो भने। गणतन्त्रलाई प्रमूख मुद्दा बनाउने माओवादी पँक्तिले यि कुराहरु किन बुझेनन? किन आफुलाई प्रमूख गणतान्तृक शक्तिका रुपमा अगाडी बढाउँदै चूनावी मैदानमा उत्रने हिम्मत गरेनन त? धेरै प्रश्नहरु हाम्रा अगाडी छन। माओवादीले चुनाव हारेपनि गणतन्त्र स्थापना हुने हो भने त उनीहरुले राजनैतिक रुपमा जित्ने हो नि।
तर, माओवादीहरु आफ्ना राजनैतिक जितका बावजुद पनि चुनावमा भाग लिन नचाहनुको कारण भने सँविधान सभामा सिट सँख्या बढी खोज्नु नै हो। माओवादीले सँविधान सभामा आफ्नो राम्रो हैसियत बढाएर (१) आफुले चाहे जस्तो सँविधान बनाउन खोजेको हुन सक्छ, (२) सँविधान सभानै आगामी सँसद पनि बन्ने भएकोले भविष्यषको सरकार गठनमा पनि आफ्नो भूमिका खोजेको हुन सक्छ।
यसले के देखाउँछ भने सँविधान सभाको चुनावको सँबन्धमा जे-जति बहस र छलफल भएका छन, ति पर्याप्त छैन। सँविधान सभाको चुनावलाई सँविधान लेखनको लागी आवश्यक व्यक्तित्व र मुद्दाहरुको चुनावको साटोमा पार्टी-पार्टी बिचको द्वन्द र प्रतिस्पर्धाको रुपमा चित्रण गरिएको कारणले यसो हुन गएको हो। सँविधान सभाको चुनाव अगावै लोकतान्तृक शक्ति भनाउँदाहरुकै बिचमा साझा सहमति हुन जरुरी पनि छ। प्रत्येक पार्टीले आ-आफ्ना धारणाहरु अगाडी राखेका छन। नेपाली काँग्रेश आफ्नो नेतृत्वमा लोकतान्तृक गणराज्यको डम्फु फुक्दै छ भने उता नेकपा एमाले अहिले नै चुनावी प्रचारमा उत्रिसकेका छन। यिनै तयारीलाई हेरेर माओवादीहरु पनि २२ बुँदे लिएर अगाडी आएका छन। राजनैतिक रुपमा आफुलाई बलियो बनाउने यस खेलले अन्तत: ज्ञानेन्द्रहरुलाई फाईदा र लोकतन्त्रलाई घाटा नलगाउला भन्ने छैन। तसर्थ, माओवादीले मात्र होईन, आठ दलका अन्य राजनैतिक घटकहरुले पनि अब विस्तारै प्रमूख राजनैतिक मुद्दाहरुमा साझा मतैक्यता र अवधारणा अगाडी ल्याउनु पर्छ।
धन्यवाद,
परिवर्तन