December 28, 2010

सुइना कर्णालीका : र मेरो पहिलो गुरुकुल अनुभव

हिजो 'आरोहण गुरुकुल' मा 'सुइना कर्णालीका' भन्ने नाटक हेरेँ|

र, मुटुभरि विषाद, आँखाभरि आँसु र मनमा एउटा संकल्प लिएर फर्किएँ|
----------------------------------------------------------------------------------------------
मैले नाटक साह्रै कम हेरेको छु| हामी सानो छँदा सम्म गाउँमा नाटक देखाउने चलन थियो यदाकदा| एउटा हातका औंला भाँच्न भ्याउने गरी हेरियो होला यस्ता नाटकहरु, आफ्नै गाउँ र वारीपारी गरेर| गाउँका युवाहरुको स्वत:स्फूर्त उत्साह र लगनका परिणाम हुन्थे ती र तिनले प्राय:जसो कि वर्गीय विभेद र सामाजिक द्वन्द्वका कथा बुनेका हुन्थे कि बैंशालु प्रेमका कुरा बोकेका हुन्थे| काठमान्डौको पश्चिमी भेगको काँठ हाम्रो गाउँमा वामपन्थी राजनीति खासै पसेको थिएन, यसैले नाटकमा राजनीति कमै हुन्थ्यो| कलाकारिताका हिसाबले यस्ता नाटकको स्तरलाई उँचो भन्न सकिने कुनै आधार भने भेटिन्नथ्यो; कथा, सम्वाद, प्रस्तुति, अभिनय सबै काँचो-अधकल्चो हुन्थे, तर तिनले गाउँको स्थानीय संस्कृतिक जीवनमा अलिकति भएपनि ज्यान थपेका थिए| २०४४-४५ तिर गाउँमा टिभी 'पसेपछि' नाटकका यस्ता स्थानीय उत्पादन पनि बन्द भए|

साहित्य पढ्ने रुचि भएपनि मलाई नाटक पढ्ने बानी भने लागेन| पढ्ने हिसाबले नाटक जहिलेपनि निरसनै लागे|

काठमाडौंमा प्रज्ञा भवन, संस्कृतिक संस्थान वा सभागृहमा नाटकहरु चलिरहेका हुन्थे, तर धेरै हेर्ने मेसो मिलेन| नाटक प्रदर्शन धेरैजसो साँझमा हुने र साँझ छिप्पिएपछि काँठको आफ्नो गूँडतिर फर्कन बस नभेटिने-दुई कुराको संयोगले गर्दा नाटक धेरै हेरिएन| एउटा हातका औंलालाई नपुग्ने रहेछन् मैले यी ठाउँमा हेरेका नाटकहरु| ६ कि ७ मा पढ्दा विद्यालयले प्रज्ञा भवन लगेको थियो 'मालती मंगले' देखाउन| त्यसको केहि समयपछि 'आऊ बसौं पियारी मिर्मिरे झ्यालैमा' भन्ने हास्य-नाटक हेरेको थिएँ| आई. एस्सी. पढ्दा ताका एउटा फ्रेन्च नाटकको नेपाली अनुवाद मंचन 'स्कापांको दाउपेच' हेरेको थिएँ| मैले हेरेका नाटकहरु कुल यत्तिनै होलान्| 

यो हिसाबले, 'सुइना कर्णालीका' (सपना कर्णालीका) मैले हेरेको चौथो नाटक हुनपुग्यो| र मेरो पहिलो गुरुकुल अनुभव पनि यहि बन्यो|

यो कथा (यो यथार्थ) कर्णालीको हो| नाटकका दुई पक्ष छन्- विपना (यथार्थ) पक्ष र सपना पक्ष| विपना पक्षले  कर्णालीको आजलाई देखाएको छ, कहालीलाग्दो गरिबी, चरम जातीय विभेद र कठोर श्रमले भरिएको दु:खी जिन्दगीलाई देखाएको छ| यो त्यहि कर्णालीको कथा हो, जो मेरा लागि अहिलेसम्म यदाकदा कुनै पत्रिकाको पानाभन्दा बढी बन्न सकेको थिएन, मेरो चियापसले बुद्धिविलासभन्दा बढी बन्न सकेको थिएन| गुरुकुलको रिमाल नाट्यघरमा 'सुइना कर्णालीका' हेरेपछि मलाई अब कर्णाली आफ्नै लाग्न थालेको छ, मुटुको नजिक लाग्न थालेको छ| हिजो कर्णालीको पीडा मेरो मुटुमा पस्यो र अब यसले मलाई जीवनभरी चिमोटिरहनेछ| पूरै नाटक टिलपिल आँखाहरु लिएर हेरेँ मैले|

नाटकको  सपनाखण्डमा आफ्ना अपार प्राकृतिक र मानवीय सम्पदाको प्रयोग गरेर समृद्ध र विकसित बनेको कर्णाली राज्यको कथा छ| यस्तो कर्णाली राज्य जो संघीय नेपालका अरु राज्यहरुभंदा धेरै विकास भैसकेको छ, र यस्तो कर्णाली राज्य जससँग आर्थिक सहायता माग्न केन्द्रिय राज्य (केन्द्रिय सरकार) आईरहन्छ| यहि कर्णाली राज्यको समृद्धिबाट लोभिएर संसारका अनेक देशबाट मान्छेहरु यहाँ काम गर्न आउँछन्| कलाकारहरुको अभिनय अत्यन्त जीवन्त र स्वाभाविक लाग्छ| सबै कलाकारहरुको अभिनय उत्कृष्ट छ, त्यसमा पनि विशेष, कर्णाली राज्यको मुख्य मन्त्रीको भूमिकामा भएका साथीको अभिनय अझ अब्बल  छ| नाटकको यहि भागमा अहिलेको नेपाली राजनीतिमा मौलाएका भ्रस्टाचार, अपराधीतंत्र र नातावादमाथि गम्भिर प्रहार गरिएको छ र भाषण बढी गर्ने, कामको नाममा माखोपनि  नमार्ने नेपाली नेतागिरीको खेदो खनिएको छ|

नाटक, दलित भएकै कारण कतै बास नपाएर खुल्ला आकाशमुनी चिसो रात बिताउन बाध्य भोका र थकित पुन्नबहादुर विश्वकर्मा र उनकी अबोध सानी नातीनीको दुखद् यथार्थबाट शुरु हुन्छ र उनीहरुको सपनामा प्रवेश गर्छ| उनीहरु निद्राबाट ब्युँझेपछि, गरिबी, विभेद र दु:खका पहाडले थिचिएको कर्णालीमा ब्युँझिएपछि नाटकको अन्त्य हुन्छ| नाटकको शुरुवाती भागको सशक्तताले मनलाई यस्तरी बाँध्छ कि कुनै राजनीतिक कमेडीजस्तो लाग्ने 'सपना' खण्डमा पनि दर्शकले कर्णालीको व्यथालाई भुल्न सक्दैन, उल्टो सबै हाँसो र व्यंग्यले कर्णालीको दयनीय वर्तमान र कर्णालीवासीका पिडालाई अझ गहन रुपले दर्शकको मनमा गाडीदिन्छन् र दर्शक बाहिर हाँसेपनि भित्रभने रोईरहेकै हुन्छ| |             

यो नाटकको कथा त्यति मौलिक र नयाँ नलागेपनि प्रस्तुतिको सशक्तताले नाटकलाई बलियो बनाएको छ| कर्णालीका पिडामाथि थुप्रै कथा लेखिईसकेका छन्, यसका सम्भावनाहरुका कुरा पनि धेरैले गरिसकेका छन्, तर यो नाटकले कर्णालीको विपना (यथार्थ) र यसको सपना (सम्भावना) को खाडललाई त्यसको सम्पूर्ण भयावहताका साथ प्रस्तुत गरेको छ| यो नै यस नाटकको शक्ति, यो नाटकको मौलिकता र यो नाटकको सफलता हो|

नाटकमा  कर्णाली प्रदेशको वर्तमान दुर्गतिका लागि, त्यहाँका श्रमजीवी जनताको घोर दु:खी जीवनका लागि केन्द्र (काठमान्डौ) लाई दोषी देखाईएको छ| निसन्देह यो सत्यको एउटा पाटो हो; तर सत्यको अर्को पाटो भनेको, कर्णाली (वा यस्तै अरु भूभाग) को पीडाको अर्को पाटो भनेको त्यहींका ठूलाठालू लाउकेहरु पनि हुन्| कर्णालीमा पुन्नबहादुर विश्वकर्माहरुमात्र छैनन्, तिनलाई चुस्ने स्थानीय जूकाहरू पनि छन्| एक ठाउँमा जातिभेदको प्रसंग ल्याएर यसलाई थोरै सम्बोधन गरिएको छ, तर त्यतिमै त्यो पाटोको सम्बोधन पुगेजस्तो लाग्दैन| देशमा यतिखेर जारी, क्षेत्रीय समस्याका लागि काठमान्डौलाईमात्रै धारे हात लगाउने र जातीय समस्याका लागि बाहुनलाईमात्रै सत्तोसराप गर्ने  'फेशन'ले बढी प्रभावित गरेको छ नाटकलाई| 

श्रमको  सम्मान गर्ने र सादा जीवन-उच्च विचार राख्ने संस्कृतिले हाँकेको समृद्ध कर्णालीमा तल्लो तहको शारीरिक बलको काम गर्न कुनै पश्चिमी मुलुकको मान्छे आएको देखाईएको छ, कर्णालीको समृद्धिमा झुत्तिएर त्यहाँ काम गर्न आएका 'लाखौं' विदेशीहरुको प्रतिनिधिपात्र हो ऊ| प्रतिनिधिपात्रको यस्तो चयनले शारीरिक श्रम चाहिने काम भनेको तल्लो तहको काम हो र यस्तोमा आफूबाहेककालाई 'दलाउन' सक्नुनै 'समृद्धि'को परिचय हो भनेजस्तो लाग्छ| नाटकले दिन खोजेको मूल सन्देशसंग यो मेल खाँदैन|
----------------------------------------------------------------------------------------------
माथि पनि लेखें, यो मेरो पहिलो गुरुकुल अनुभव थियो| गुरुकुलका बारेमा मैले धेरै पढेको थिएँ, सुनेको  थिएँ तर अहिलेसम्म पुगेको थिइन| 'सुइना कर्णाली'का रुपमा मेरो यो पहिलो गुरुकुल अनुभव अत्यन्त फलदायी रह्यो| अबका हरेक पटकका काठमान्डौ बसाईमा, गुरुकुलमा नाटक मन्चन भैरहेको छ भने, नछुटाई हेर्न जाने विचारमा छु|
-----------------------------------------------------------------------------------------------
(फ्ल्याश नराखी) तस्बीर खिच्ने अनुमति दिईएको थियो| म पनि केहि फोटो र बेला-बेलाका केहि टुक्रा भिडियो खिच्ने विचारमा थिएँ तर नाटकले यस्तरी तन्मय बनायो कि हातहरु क्यामेरातिर बढ्नै मानेनन्| दोश्रो पटक हेर्न गईयो भने खिच्नुपर्ला तस्बीरहरु:)
------------------------------------------------------------------------------------------------
देशका अरु भागमा यो मन्चन पुग्ला-नपुग्ला, तर तपाईं काठमाण्डौमै हुनहुन्छ भने यो नाटक हेर्न नछुटाउनुहोला, पुस २५ सम्म मन्चन हुँदैछ|

December 22, 2010

'पाटे' र 'माटे' हरु

Image Source: Click Here

कुरा शुरु गरौँ २०५३ सालबाट|  म मेरो पाँचवर्षे पहिलो प्रवासबाट भर्खरै नेपाल फर्केको थिएँ| पाँच वर्षका घटनाक्रमहरुका बारेमा 'अपडेट' हुने क्रममा त्यो अवधिमा बनेका 'स्ल्यांग'हरुपनि सिक्दै थिएँ|
                 
त्यतिखेर  गाउँमा भर्खर-भर्खरै मोटरसाइकल संस्कृति भित्रेको थियो| गाउँका केही केटाहरु कच्ची बाटोमा कुहिरिमंडल धूलो उडाउँदै मोटरसाइकल हुईकाउँथे| मोटरसाइकलमा सवारमध्ये धेरैजसो वेरोजगार थिए, रोजगारीको चिन्तापनि थिएन तिनलाई र तिनले बाऊ-आमालाई थर्काएर त्यो जिनिस हात परेका हुन् भन्ने सुनिन्थ्यो| मोटरसाइकल तिनका लागि आवश्यकताभन्दा पनि खोक्रो रवाफ प्रदर्शन गर्ने माध्यम थियो| ती कन्नापछाडि उडाइने पात्रपनि बन्थे धेरैजसो| बाटोमा यस्ता मोटरसाइकलवाला कुनै हुइकिरहेको देखेपछि "ऊ 'बा.अ.प' गयो!" भन्ने चलनजस्तै चलेको थियो| यदाकदा 'बा.अ.फ.' पनि प्रयोग हुन्थ्यो| केहि मोटरसाइकलको नम्बर प्लेटमा 'बा.अ.प' वा 'बा.अ.फ.' नै पनि हुन्थ्यो तर 'प' वा 'फ' को ठाँउमा अरुनै अक्षर भएका पनि हुन्थे| 'बा.अ.प' वा 'बा.अ.फ.' सबैलाई चिनाउने साझा नाम बनेका थिए, सबै ईन्जिन तेल (engine oil) लाई 'मोबिल' भनिएजस्तै:)    

एक-दुई दिनमा अर्थपनि थाहा पाईयो; 'बा.अ.प' र 'बा.अ.फ.' भनेको 'बारी अब पच्यो!' र 'बारी अब फर्केन!' रे| मोटरसाइकल चढ्ने धेरैले खेत वा बारीको टुक्रो बेचेर मोटरसाइकल किनेका हुनाले त्यसरी रमाईलो 'न्वारान' गरिएको रहेछ| हरेक हप्ताजसो "फलानोलेपनि खेत 'हानेर 'बा.अ.प' किनेछ|" भन्ने नयाँ 'समाचार' पनि सुनिन्थ्यो| 'हानेको' भनेको चाहिं 'बेचेको' रे!

पछि चितवनको एउटा साथीसंग कुरा हुँदा यस्तै प्रसङ्ग त्यहाँ पनि जन्मेको थाहा पाईयो| उसको तिर 'ना.अ.क.' र 'ना.अ.घ.' लाई क्रमशः 'नारायणी अंचल कठ्ठा' र 'नारायणी अंचल घडेरी' भनेर उडाईँदो रहेछ| देशका अरु भागमा पनि यस्ता 'कथा' बनेका थिए होलान् पक्कै पनि| 

जग्गा कारोबारले ब्यबशायको रुप लिंदैगरेको शुरुवाती दिनहरु थिए ती| पछि यो ब्यबशाय अनियन्त्रित र संक्रामक रुपले फैलँदै गयो र नेपाली संस्कृतिमा थपिएको एउटा रोगनै बन्यो| सत्तासीनहरुको भ्रष्ट शासनशैली, गाउँमा अवसर र सुविधाहरुको चरम अभाव र माओवादीहरुको विध्वंशात्मक विद्रोहले देशका गाउँ-गाउँबाट मान्छेहरु विस्थापित हुने क्रम बढ्यो| केहि नहुने गरीबहरु खाने मुख र कमाउने पाखुरीमात्रै बोकेर भएपनि शहर पसे| गाउँमा अलिकति केहि हुनेहरु त्यो बेचेर राजधानी र अरु प्रमुख शहरहरुमा घडेरी जोड्नेतिर लागे| राजधानीमा घडेरी/घर हुनुलाई गतिलो धाक र रवाफ मान्नेहरु पनि  हाम्रो समाजमा  सधैं  छंदैछन्|  यी कारणले गर्दा जग्गाको कारोबार ह्वात्तै बढ्न गयो| यसमा हुने पैसाको चलखेल, भ्रष्टाचार, गुन्डागर्दी आदि पनि त्यहि अनुपातमा बढ्दै गयो|  पहिला मान्छेका आँखामा त्यति धेरै नपर्ने 'जग्गा दलाल' हरुको जमातपनि ठूलो भयो, दलालहरु नेपाली समाजका सबैभन्दा सकृय मान्छेहरुजस्ता देखिन थाले|  
   
'दलाल' लाई अंग्रेजी शब्द 'agent' को नेपाली अनुवादका रुपमा लिईन्छ तर 'agent' शब्दको जुन ईज्जत छ, 'दलाल'ले त्यसको  एक प्रतिशत पनि पाउन सकेको छैन| यथार्थमा 'दलाल' शब्द बेईज्जतीको पर्याय पो मानिन्छ| आफूभन्दा फरक विचार राख्ने जोसुकैलाई यसको र त्यसको 'दलाल' भनी-भनीकन नेपालका साम्यवादी दल र नेताहरुले विचरो 'दलाल' शब्दको हुर्मत काढीसकेका छन्| छ दशकयता 'दलाल' लाई नकारात्मक अर्थमा मात्रै सुन्दा-सुन्दा नेपाली मानसिकताले यस्लाई त्यही अर्थमा मात्रै लिनथालेको छ| हाम्रो  मानसिकतामा 'दलाल' को आकृतिको गुणात्मक स्वरुप 'चोर', 'फटाहा' वा 'गुन्डा' भन्दा अलिकतिपनि फरक  छैन| विचरो 'दलाल' शब्द दिक्क भएर जंगल पसीसक्यो होला, सके आत्महत्यानै गरिसक्यो की:)         

'दलाल' शब्द आफैंमा नराम्रो होईन, यसैले 'दलाली' आफैंमा नराम्रो काम पनि होईन र 'दलाल' नराम्रो पेशा पनि  होईन| ठण्डा दिमागले सोच्दा, सबै जागिरेहरु 'दलाल' हुन्; फरक यत्ति हो, कोई सरकार र जनताबीचका दलाल  होलान् कोहि साहू र ग्राहकबीचका दलाल होलान्| सबैले बिचमा बसेर, दुई पक्षको 'सेवा' गरेर 'कमिसन'नै खाने  हुन्| यसर्थ 'दलाल' शब्दको 'पुनरुत्थान' गरिनु, यसलाई फेरि यसको स्वाभाविक ईज्जत दिलाइनु जरुरी छ:) 

त्यसपछि नेपालमा जग्गा कारोबार, जग्गा दलाली र जग्गा दलालहरु संक्रामक रुपमा  बढे भनेर माथिपनि भनिसकेको छु| हालै साढे सात वर्षे दोस्रो प्रवासबाट फर्केपछि यी शब्दहरुले सगरमाथाको चुचुरो छोइसकेको देखियो| केहि जग्गा दलालहरुले अचम्मलाग्दो गरी दाम पनि कमाएछन् | अहिले यो पेशा समाजका चुल्ठे-मुन्द्रेहरुको सबैभन्दा राम्रो 'जागिर' भएछ| सबै दलका धेरै कार्यकर्ताहरु पनि यतै छिरेछन्  र आफ्नो पहुँचको दुरुपयोग गरेर यो पेशालाई अझ पत्रु, अझ भ्रष्ट र अझ अनुशाशनहीन बनाएछन्| दल र नेताहरुका लागि यो क्षेत्र चन्दा दुहुने  लैनो गाई बनेछ|  

यतिखेर देशमा ब्याप्त कार संस्कृति जन्माउने प्रमुख कारकहरु मध्ये एक यहि जग्गा कारोबार पनि हो| यसैले समाजमा घरका तल्ला थप्ने होडबाजीको संस्कृति पनि जन्मायो, कसैले सोझो दलाली गरेर कमाएर थपे, कति कर्मचारीले दलालसँग मिलेर कमाएर थपे, कतिले सार्वजनिक वनपाखाको 'प्लटिंग' गरेर-गराएर-बेचेर थपे; र कतिले आफ्ना मलिला जग्गा बेचेर थपे|

यहि कारोबारले देशका धेरै मलिला फाँटहरुको हत्या ग-यो| यो ब्यबशायलाई नियमन र नियन्त्रण गर्ने कुनै गतिलो निकाय नहुँदा-भएकाले पनि गतिलो काम नगर्दिंदा र  देश चलाउनेहरु यसलाई मर्यादित बनाउनेतिर लाग्नुभन्दा यसैलाई दोहेर अकूत कमाउनतिर लग्दिनाले देशका उत्कृष्ट कृषियोग्य फाँटहरुको बलात्कार जारी रह्यो| अनुत्पादक बन्जर जमीनको दाँजोमा मलिला खेतबारी टुक्राउन (कथित 'प्लटिंग' गर्न) पनि सजिलो, त्यहाँ कंक्रिट जंगल ठड्याउन पनि सजिलो| जसरी हुन्छ 'छिटो र धेरै' धन कमाउनुलाई बहादुरी मानिने संस्कृतिले समाजलाई गाँजेको बेला मलिला फाँटहरु, देशको कृषिक्षेत्रको भविष्य आदि कुराहरु कसैको मनमा पनि बस्न योग्य भएनन्|

कति ठाउँमा प्राकृतिक रुपले सुन्दर डाँडा-थुम्काहरू पनि भासेर तिनका छाती चिरेर बेच्ने काम भईरहेको छ| यसरी देशका धेरै ठाउंको स्थानीय प्राकृतिक सौन्दर्यको नाक-कान ताछिईसकेको छ|

हामीले गुमाएका हाम्रा अति उर्वर मलिला फाँटहरु, जंगलहरु र सुन्दर डाँडा-थुम्का हरुलाई एकछिन बिर्सेर हेर्ने हो भने अथवा यस्ता भूमिलाई कथित घरजग्गा कारोबारको पन्जाबाट जोगाएको स्थिति हो भने; स्वस्थ अर्थतन्त्रमा नीतिनियममा रहेर अरु वस्तु र सेवाहरुजस्तै घरजग्गाको पनि केहि कारोबार हुनु स्वाभाविक हो| हाम्रो अस्वस्थ अर्थतन्त्रको हकमा भने यस्तो स्वाभाविक प्रकृयाको आशा गर्न सकिने ठाउं थिएन र यो नीतिविहीन वातावरणमा फैलियो| अशान्ति, असुरक्षा र चन्दा आतंक आदिले गर्दा लगानीका अरु क्षेत्रहरु सुक्दै गएपछि मान्छेहरुले यसमा पैसा लगाउन थाले| माओवादीहरु शान्तिप्रक्रियामा आइसकेपछिपनि अन्य क्षेत्रको लगानी वातावरणमा खासै सुधार आउनसकेको छैन र अझै यसैमा लगानी बढी छ| देशको समग्र अर्थतन्त्रका लागि यो चिन्ताको विषय हो किनभने ठूल्ठूला मूठामा पैसाको खेल देखिएपनि घरजग्गा  कारोबार मूलतः एउटा अनुत्पादक ब्याबशायिक क्षेत्र हो| उध्योग वा पर्यटन क्षेत्रमा जस्तो लामो समयसम्म  प्रतिफल दिने क्षमता घरजग्गा ब्यबशायको हुँदैन; न त यसले सिर्जना गर्ने रोजगारीनै पनि स्वाभाविक, व्यापक र दिगो प्रकृतिको हुन्छ|

यसपटक के थाहा पाईयो भने जग्गा दलालहरुलाई 'ज.द.' भनेर छोटकरीमा पुकार्न थालिएछ| जग्गा दलालहरुले 'जग्गा मध्यस्थकर्ता' (छोटकरीमा 'ज.म.') को रुपमा आफ्नो दोश्रो न्वारान गरेर आफ्नो पेशालाई 'ईज्जतदार' बनाउने कोशिश पनि गरेछन्, तर त्यो प्रयास खासै सफल हुन भने सकेनछ|

खेत र बारीका पाटा 'प्लटिंग' गरेर बेच्ने र कमाउने काम भएकाले यो पेशालाई कसै-कसैले 'पाटो प्लटिंग' पनि भन्दा रहेछन् अचेल| अनि 'पाटो प्लटिंग' गर्नेहरु 'पाटे' भनिंदा रहेछन्| जग्गा भनेको माटो त हो भन्ने अर्थमा जग्गा दलालहरुलाई कसै-कसैले 'माटे' पनि भन्दा रहेछन्| 

'पाटे' र 'माटे' हरुको कारोबार अलि खस्केको बेला रहेछ अहिले| लगानीका नयाँ क्षेत्र खासै नदेखिएपनि बैंक र फाइनान्स कम्पनीहरुले बढी ब्याज दिन थालेकाले मान्छेका पैसा त्यतै पसेजस्तो छ अहिले| 'पाटो प्लटिंग' खस्केकै ठिक, यस्तो अनुत्पादक क्षेत्र बढी उक्सिनु भनेको देशको अर्थतन्त्र सुन्नेर मोटाउनुमात्रै हो| देशको समग्र अर्थतन्त्र सही लीकमा चलेको बेला पनि यसको आफ्नो स्वाभाविक हिस्सा भने कायम रहनेनै छ, त्यसमा कसैले कन्जुस्याईं गर्ने छैन|

म:म पसलभन्दा बढी खुलेका बैंक र फाइनान्स कम्पनीहरुले बेस्करी ब्याज दिनुपनि अर्को खाले 'पाटे-माटे' संस्कृति र देशको अर्थतन्त्रको रोग बन्दै छ| यसले देशको शेयरबजारलाई कुटुकुटु खान थालेको त देखिईसक्यो| अब बिस्तारै अरु क्षेत्रमा यसले पारेको कुप्रभावपनि सतहमा आउनेनै छन्|

December 16, 2010

पारसको नयाँ 'गोलीलीक्स'

ह्वीस्की निलेभन्दा छिटो गोली 'लीक' गर्ने खान्दानी बानी बोकिबक्सेका पारस 'सरकार' बाट फेरि अर्को 'गोलीलीक्स' अध्यायको मञ्चन भएको छ। गणतन्त्र भयो भनिएको देश अझै यस्ता पत्रु पात्रहरुका हर्कतका वरिपरि रिङ्न बाध्य छ। थुक्क यो काँचो गणतन्त्रको भाग्य!

द्वन्द्व र घम्साघम्सी पुराना सरकार र नयाँ सरकारको बीचमा छ, र पो यत्रो हल्लाखल्ला छ। पारसको हावा फायरले कुनै अदना नेपालीका कानका जाली चर्किएका भए वा अझ त्यो सोझो नेपालीको ईहलिला सकिएकै भएपनि केहि हुनेवाला थिएन। त्यो नेपाली 'गुमनाम' तथ्यांकको एउटा अंकसम्म हुनसक्थ्यो बढीमा शायद। तर कानका जाली 'पवित्र' गराउने 'सौभाग्य' पाउने परे रुबेल चौधरी।

मलाई रुबेल चौधरी कुनै प्रभावशाली विदेशी र सुजाताका ज्वाईँसम्ममात्रै लाग्थे। उनीपनि कुनै गिरोहनै होलान् भन्ने लागेको थिएन, यसअघि उनका बारेमा धेरै कुरा सञ्चारमाध्यममा आएका पनि थिएनन्। आज एउटा पत्रिकामा उनका 'पवित्र' कामहरुको नालीबेली दिईएको रहेछ। पत्रिकाका कुरा पत्याउने हो भने, उनीपनि नेपाललाई तन्नम बनाउन कस्सिएर लागेका खलनायकहरुमध्येका ठूलै खलनायक पर्दारहेछन्। टाईगर टप्सको हावा गोलीकाण्ड यसैले नेपालका खलनायकहरुको द्वन्द्व हो। हाम्रो भाग्य, दुईटा खलनायकहरुको झगडाको रमिते बस्नु परेको छ हामी। पत्रुभन्दा पत्रु सिनिमामा पनि झगडा नायक र खलनायकको हुन्छ, एउटा विकल्पको रुपमा नायक सधैं उपलब्ध हुन्छ, तर हाम्रो देशको भाग्यमा नायकको विकल्प अझै देख्न पाईएको छैन।

रुबेल अरु कुरामा जस्ता भएपनि (उनका अपराधहरुको खोजीनीति गरेर दण्ड दिइनुपर्छ, त्यसमा कुनै शंका छैन), यो घटनामात्रै हेर्दा भने दोष पारसकै हो र कानूनमा चलेको देशमा हो भने पारसले केहि वर्ष खोरको हावा खानुपर्ने थियो। भर्खरै पढें, छ्वालीखुट्टे सरकारले पारस 'सरकार'लाई रिहा गरीसकेछ र पारसको जयजयकार र स्वागत भईसकेछ पोखरामा। नेपालमा राजतन्त्र फेरि फर्कन त्यति सम्भव नहोला, तर पारस नेता हुने छाँट आईसक्यो अब। एकदिन पारसको नेतृत्वमा सरकार बनेको र हाम्रा नेताहरु उनका मन्त्री बनेको पनि देख्न पाईने छ। यो अजीबको देशमा जे पनि हुन्छ!

पारस-पक्राउको विरोधमा सडकमा 'गोली हान्न पाउनैपर्छ!' भनेर नारा लगाउने राजावादीहरुको कुरो त छँदैछ, एकथरी मान्छेहरु कांग्रेस र सुजाताको रिसमा 'सौताको रिसले पोईको काख मुत्ने' काम पनि गरीरहेछन्। यो 'काख मुत्ने' काम निकै तल्लो तहका नेताहरुसम्म पनि जाँदो रहेछ। हिजो दिऊँसो मैले आफू कार्यरत क्याम्पसको स्ववियूका एक पदाधिकारीले क्याम्पसको मूलढोकामा टाँसेको प्रेस-विज्ञप्ति पढेको थिएँ। त्यहाँ 'पारससंग नेपालको राजनीतिको कुरा गर्नु रुबेल चौधरीको अपराध हो। एउटा विदेशीलाई नेपालको राजनीतिको कुरा गर्ने अधिकार कसले दियो?' भन्दै रुबेललाई त्यसै आरोपमा कारबाही गर्ने माग गरिएको थियो। यहि तर्कका आधारमा हेर्दा त अनमिनपूरैलाई कारवाही गरे भयो, नेपालको राजनीतिको कुरो त्यसले भन्दा बढी कसले गरेको छ:)

खैर, हामी अभागीको यो अभागी देशमा कुनै 'चमत्कार' नहुञ्जेल पारसले 'गोलीलीक्स' गरीरहनेछन् र रुबेलले देशका ५० करोडहरु चपाईरहेनछन्।

भगवानले हाम्रो रक्षा गरुन्!

December 09, 2010

शहर

शहर

बल्ल चिनें उनलाई!
धन्न उनको छातीमा कान लगाएछु,
र उनको तातो ढुकढुकी छामेछु!

बलात्कार गरेछन् उनलाई 
यस्तरी विरुप पारेछन् उनलाई
उनको खोजीमा भौंतारिईरहेको म
उनलाई नचिन्दा-
उनकै घर अगाडि 
उनीसंगै
उनको ठेगाना सोध्दै रहेछु ।
(डिसेम्बर २०१०, काठमाण्डौं-पोखरा)

December 03, 2010

ACED 2010, Xian - ४

फर्केर फेरि नोभेम्बर ९ को दिनमा। त्यो दिन दिऊँसो हामीलाई Xian High Voltage Apparatus Research Institute (XIHARI) भ्रमण गराईने कार्यक्रम थियो। त्यता जाँदा बाटोमा पर्ने एउटा ऐतिहासिक उद्यान (नाम बिर्सें) मा एक घण्टाजति घुम्न छोडिएको थियो। त्यहाँ म संगै हिँडिरहेका दुई जना चिनियाँ केटाहरुलाई नेपालको राजनीतिको बारेमा केहि कुरा थाहा रहेछ। उनीहरु "तिमीहरुको देशमा त माओवादी कम्युनिष्ट पार्टीपनि रहेछ, हैन?" भनेर सोध्दै थिए। मैले "हो, माओवादी अहिले हाम्रो देशका सबभन्दा ठूलो दल हो।" भन्दा "हो र? कसरी त्यस्तो भयो?" भनेर आश्चर्य मानेझैं गर्दै थिए। चीनमा यतिखेर माओ औपचारिक दस्तावेजहरुमा मात्र यदाकदा झुल्किन्छन्, चिनियाँहरुले माओको कट्टरतालाई छोडेको धेरै भईसक्यो, यो चीन र पूरै विश्वका लागि हितकर सावित भईसकेको पनि छ। माओबाट मुक्ति पाएपछिमात्रै चीन समृद्धिको बाटोमा हिँड्न थालेको हो। नेपालजस्तो देशमा भने अझै माओको धङधङी देखिएकोमा चिनियाँहरु छक्क पर्दा रहेछन्। बेलुका अर्को कार्यक्रममा हामी बसेको टेबुलका दुई प्राध्यापकहरुले पनि चासो दिँदै थिए। एकजना प्राध्यापक त "हामीकहाँ त माओ बितेको धेरै भईसक्यो, तिमीहरुकहाँ भने अझै जिऊँदै रहेछन्!" भनेर हाँस्दै थिए।

XIHARI को भ्रमण सकिएपछि साँझ conference banquette थियो, थाङ शाशनकाल (Tang Dynasty, सन् ६१८-९०७) संग सम्बन्धित सांस्कृतिक कार्यक्रमका साथ। कार्यक्रममा थाङ कालका गीतहरु, नाचहरु, प्रस्तुत गरिएको थियो, त्यहि समयका पोशाकमा सजिएका कलाकारहरुद्वारा। वाद्ययन्त्रहरु पनि त्यहि समयमा प्रयोग गरिएको मानिएका वाद्ययन्त्रहरु थिए। थाङ शाशनकाल चिनियाँ इतिहासको स्वर्ण युग मानिन्छ। थाङ अवधिको राजधानी वर्तमान सिआन भएकाले पनि यो कार्यक्रम अझ सान्दर्भिक हुने भईहाल्यो।  कार्यक्रम एकदमै आकर्षक थियो।

यो कार्यक्रमको भिडियो बनाएको छु, १४ मिनेट जति लामो। ईण्टरनेटको सुस्त गतिका कारण यहाँ अपलोड गर्न सकिन। खासमा म आज त्यहि भिडियो राख्न मात्रै चाहन्थें, तर भिडियो अपलोड हुन हप्ता दिन कुर्नुपर्ने छाँट देखियो:) पछि कुनै दिन अवश्य राख्नेछु।

अहिलेलाई यो शृंखलालाई यहिँ अन्त्य गर्न चाहन्छु।

विविध कारणवश ब्लगमा छिटो-छिटो लेख्न सकिरहेको छैन, क्षमाप्रार्थी छु।
(समाप्त)