प्रकृति मासौं र संस्कृति मासौं
पुर्खाका पौरख यी सम्पदा नासौं
‘भ्रमण वर्ष’ मनाउन भने छोड्नुहुन्न
सबैले फेवा र रारा भित्तामा टाँसौं !
February 09, 2020
December 23, 2019
सडक – खाल्टा छन्, पेटी छैन
साढे दुई वर्ष अघि स्थानीय चुनावको आफ्नो
‘घोषणापत्र’मा तत्कालीन एमालेले ‘पोखराका सडकका खाल्टाखुल्टी २४ घण्टाभित्र पुर्ने
व्यवस्था मिलाइनेछ ।‘ भनेर वाचा गरेको थियो । एमाले चुनाव जितेर महानगरको नेतृत्वमा पनि पुग्यो । मलाई लागेको थियो महानगरको यो नेतृत्वले यत्ति एउटा काम गर्दियो भने पनि ठूलै 'क्रान्ति' हुन्छ र नेतृत्व पोखराप्रति कत्तिको संवेदनशील छ
भन्ने कुरा यहि एउटा 'सानो' घोषणालाई पूरा गर्छ कि गर्दैन भन्नेबाटै
थाहा हुन्छ । घोषणापत्रका घघडान कुराहरु गर्न समय लाग्न सक्छ तर सडकका खाल्डाखुल्डीलाई २४
घण्टाभन्दा बढी टिक्न नदिएर नेतृत्वले आफ्नो उपश्थिति देखाउन सक्छ र जनतासंग जोडिन
सक्छ । चुनावी वाचामा तोकेरै २४ घण्टा किन भनियो त्यो थाहा भएन तर हप्ता दिनभित्रै
गर्दिए पनि ‘क्रान्ति’नै हो । चुनाव सकिएको केहि दिनपछि २०७४, जेठ १४ गतेका दिन यहि कुरालाई व्यक्त गर्दै मैले
फेसबुकमा स्टाटस लेखेको थिएँ, “ठुला-ठुला घोषणा त पूरा हुँदै गर्लान् तर ‘सडकका
खाल्डाखुल्डी (pothole) २४ घण्टाभित्र टालिने’ भन्ने ‘सानो’ कुरा पनि चाँडैनै
व्यवहारमा देखियो भने मात्र पोखरा महानगरपालिकाको नयाँ नेतृत्व वास्तवमै प्रतिबद्ध
रहेछ भनेर विश्वाश लाग्नेछ ।“
चुनावी प्रचारका दौरान ‘स्मार्ट सिटी’ लगायतका अनेक ठूला
सपनाहरु पनि देखाइएका थिए । कार्यकालको आधा समय बितिसक्दा पनि महानगरले कुनै
देखाउन लायक ‘सिग्नेचर’ काम गरेको देखिँदैन । ‘स्मार्ट’ सिटीको कुरा कहाँ पुग्यो
त्यो महानगरको नेतृत्वलाई थाहा होला, तर हामीले चाहिँ शहरको स्वरुप बिगारेर
झुण्डिएका तारहरुको ‘इन्द्रजाल’समेत जस्ताको तस्तै रहेको तितो यथार्थ देखेका छौं र
भवन निर्माणको मापदण्डलाई पहुँचवालाले ‘धोती लगाइदिएको’ र शहर झन्-झन् अव्यवश्थित
हुँदै गएको देखेका छौं । पोखराको यातायात अत्यन्त अव्यवश्थित र अराजक बन्दै गएको
छ । बिहान र साँझको कार्यालय समयको चापमा मात्र होइन, दिउँसै पनि भद्रगोल
देखिन्छन् पोखराका मुख्य चोक र सडकहरु । ‘पोखरा अर्को काठमाण्डौं बन्ने हो कि?’
भन्ने हाम्रो चिन्ताको अब कुनै अर्थ छैन र पोखरा अर्को काठमाण्डौं बनीसक्यो जस्तो
लाग्न थालीसकेको छ । काठमाण्डौंको अनुभवबाट सिकेर पोखराले आफूलाई जोगाउने र एउटा
योजनाबद्ध सुन्दर शहरको रुपमा विकास गर्ने अवसर गुमिसकेकै त होइन भन्ने प्रश्नले
मनलाई बारम्बार घोचिरहन्छ अचेल ।
अहिलेलाई सडकका खाल्डाखुल्डीतिरै फर्कौं । पोखराका सडक र
खाल्डाखुल्डी पर्यायवाची लाग्छन् । पोखरामा सडक होस् तर खाल्डाखुल्डी नहोस् –
यस्तो सम्भव लाग्दैन । तर ‘खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्ने’ वाचा गरेकाहरु
महानगरको ‘सत्ता’मा पुगेपछि केहि आशा जागेको भने हो ।
म आफू दैनिक हिँड्ने बाटोको एक भाग, के. आइ. सिंह
पुलदेखि सुन्दर फिडसम्मको लगभग ४०० मी. को बाटोमा स्थानीय चुनाव हुनुभन्दा केहि
महिना पहिलेबाटै धेरै खाल्डाखुल्डीहरु देख्दै आएको थिएँ मैले । स्थानीय चुनावपछिको
एक वर्ष बित्यो, डेढ वर्ष बित्यो तर त्यो खण्ड जस्ताको तस्तै रहिरह्यो । यो एउटा
उदाहरणमात्रै हो पोखराका सडकको स्थितिको । पोखराका अरु भेगका सडकमा पनि
खाल्डाखुल्डी धेरै देखिन्छन् र कतिपय ठाउँमा सडकको पीचमा खाल्डा परेको होइन,
खाल्डामा अलिअलि पीच परेको हो कि जस्तो लाग्छ ! सामान्यतया यस्ता खाल्डाहरुको टालटुल बेलैमा गरिँदैन र बजेट सिध्याउने ‘असारे
विकास’नै कुरिन्छ ।
२०७५ साल, मंसिर २ गते मैले त्यो सडकखण्डका सात ठाउँको
तस्बिरसहित महानगरको ’२४ घण्टे’ चुनावी वाचा सम्झाउँदै एउटा फेसबुक स्टाटस लेखें र
महानगर प्रमुखका स्वकिय सचिवलाई ट्याग गरें । कुनै प्रतिकृयाको अपेक्षा गरेको
थिइन, तर स्वकिय सचिवज्यूले फोनमा र भेटमा छिट्टै काम गराउने वचन दिनुभयो । केहि
समयपछि ती खाल्डाहरु टालेको देखियो । यो द्रूत प्रतिकृया र कामका लागि महानगरलाई
धन्यबाद दिइयो । यसरी सामाजिक संजालमा उठाइएका सबै समस्यामा महानगरले
चासो दिन्छ वा स्वकिय सचिवज्यूसंगको व्यक्तिगत चिनजानका कारण यो घटनालेमात्रै चासो
पाएको हो, त्यो थाहा भएन तर
तर त्यो टालटुलले एक वर्षायाम पनि धानेन । गत असार
नसकिँदै फेरि खाल्डा पर्न थाले त्यो सडकखण्डमा र दशैंसम्ममा जस्ताको तस्तै भयो । दशैं अगाडि एक दिन त्यहाँका १-२ खाल्टामा हिलो हालेर पुरिएको देखिएको थियो,
जुन त्यहि रातको झरीमा बग्यो । हिलो हालेर खाल्डा पुर्ने काम महानगरले पक्कै गरेन
होला । तिहारताकाबाट त्यो सडक खण्डका खाल्डाखुल्डी फेरि पुर्न थालियो । संसदीय
उपचुनावसम्म लामाचौर देखि बगरसम्मकै सडकखण्डमा खाल्डा टाल्ने काम नियमित भइरहेको
देखिन्थ्यो, अचेल देखिएको छैन ।
नियमित रुपमा टालिरहँदा सडक सडक होइन ‘टालाटुली बटुली’
बन्न पुगेको छ। थोरै खाल्डा हुँदा टालेर काम चल्न सक्छ तर सडकैभरि खाल्डैखाल्डा
हुनु भनेको हाम्रो सडक निर्माणको खत्तम गुणस्तरको प्रमाण हो । यस पटक पनि टालेको
ठाउँमै फेरि प्वाल पर्ने वा नयाँ खाल्टाहरु देखिन शुरु भइसकेको छ । बारम्बारको
यस्तो हविगतले हाम्रो सडक निर्माण र सम्भार प्रकृयामाथिनै गम्भिर प्रश्न उठाएको छ
।
नेपालको सार्वजनिक संरचना निर्माणको गुणस्तर खत्तम छ
भन्ने दुनियाँलाई थाहा छ । तर यस्तै हो भनेर चुप लागेर बसीरहँदा सधैं यस्तै
भइरहन्छ । महानगरले आफ्नो बजेटले हुने निर्माणकार्यको गुणस्तर राम्रो राख्न सक्छ,
चाहेमा त्यो कुनै ठूलो कुरा होइन । महानगरका जिम्मेवार व्यक्तिहरु कमिशनको खेलबाट
मुक्त हुनुबाहेक केहि गर्नुपर्देन त्यसका लागि ।
अर्कोतिर, पोखराको जमीनको बनावट खुकुलो छ र यहाँ अत्यधिक
पानी पर्छ । सडकमा बढी खाल्डाखुल्डी हुनुको अर्को कारण यो पनि हुनसक्छ । यसको
निराकरणका लगि हामीले अहिलेसम्म पछ्याउँदै आएको सडक निर्माण प्रविधिलाई छोडेर नयाँ
प्रविधि अँगाल्नुपर्ने हुनसक्छ । काठमाण्डौं वा बिराटनगरमा पछ्याएको प्रविधि यहाँ
उपयुक्त नहुनसक्छ । आधुनिक सडक र यातायात प्रणाली अँगालेको झण्डै ४ दशकको अनुभवबाट
सिकेर पोखराले आफ्ना लागि उपयुक्त सडक निर्माण प्रविधि खोजीसक्नुपर्ने हो
अहिलेसम्म तर दु:खको कुरा त्यो हुन सकेन । पोखराको जस्तै जमीन र हावापानी भएका
अन्य ठाउँहरुमा पछ्याइएको प्रविधि हेरेर पनि सिक्न सकिन्थ्यो, त्यता पनि ध्यान
गएको छैन ।
सडक पैदलयात्रीको पनि हो कि होइन ?
केहि समयपहिला मापदण्डभन्दा धेरै साँघुरो
सडकपेटी राखिएको विरोधस्वरुप काठमाण्डौंमा जनताले सडकपेटी भत्काइदिएका थिए ।
सडकपेटीनै नभएपछि कस्तो विरोधको शैली अपनाउनुपर्ने होला, त्यो चाहिँ पोखराका
जनताले सोच्नुपर्ने भएको छ ।
पोखरामा पछिल्लो समय बनाइएका वा पीच गरेका
सडकमा कतै पनि पैदलयात्री हिँड्नका लागि सडकपेटी राखिएको देखिँदैन । मैले माथि
उल्लेख गरेको के. आइ. सिंह पुलदेखि सुन्दर फिडसम्मको खण्डमा बाटो फराकिलै छ तर
सडकपेटी छैन । सुन्दर फिडबाट फाटेर लामाचौर र महेन्द्रगुफासम्म पुग्ने दुइ बाटामा
पनि सडकपेटी छँदैछैन । बस्तीको बीच हुँदै जाने यी सडक शहरी सडक हुन्, राजमार्ग
होइनन् । यी बाटोमा पैदलयात्रीहरुको
संख्या पनि उल्लेख्य देखिन्छ । पैदलयात्रीको संख्या कम नै भएपनि सुरक्षाको
दृष्टिकोणले सडकपेटी अनिवार्य हुन्छ । यो भेगमा मात्र यस्तो होला भन्ने लागेको
थियो तर केहि समय पहिला आँखा अस्पताल जाँदा त्यताको बाटोको पनि यस्तै हालत देखियो ।
रामबजार क्षेत्रतिर पनि यस्तै देखिन्छ । अमरसिंह चोकबाट रानीपौवासम्मको सडकखण्डमा
पनि सडकपेटी छैन । महेन्द्रपुल, चिप्लेढुङ्गा, पृथ्वीचोक आदि मुख्य बजार
क्षेत्रबाट भित्र पस्ने धेरै जसो सडकमै पनि सडकपेटी देखिँदैन।
अचेल पैदलयात्रीका लागि आवश्यक सडकपेटी साह्रै साँघुरो राख्ने वा राख्दै नराखी
सडक निर्माण गर्ने प्रवृत्ति मौलाएको छ हाम्रो राज्यमा । झ्वाट्ट हेर्दा यो
सामान्य लापरवाहीजस्तो लाग्नसक्छ, तर यो राज्यले गरीरहेको अत्यन्त गम्भिर अपराध हो
। सडकपेटी नराख्नु भनेको आफ्नै सवारी हुने मान्छेका लागि मात्र सडक बनाउनु हो र
पैदलयात्रा गर्नेहरुको नागरिकका रुपमा कुनै अधिकार र कुनै हैसियत छैन भन्नु हो ।
यो देशमा आफ्नै सवारी हुनेभन्दा नहुने धेरै छन् । पैदलयात्रा गर्नेहरु सामान्यतया
निम्न आर्थिक स्थितिका हुन्छन्, यसैले सडकपेटी नराखी सडक बनाउनु भनेको राज्यले
गरेको गम्भिर वर्गविभेद हो । दृष्टिवीहिनहरु समेत सहजै हिँड्न सक्ने गरी आवश्यक
व्यबश्थासहित बनाइनुपर्नेमा सडकपेटीनै नराख्नु चरम संवेदनहीनता हो ।
सडकपेटी शहरी सडक डिजाइनको अनिवार्य भाग
हो र यसका लागि निश्चित मापदण्ड तोकिएको हुन्छ । नेपालको शहरी सडक मापदण्डमा पैदलयात्रीको
चाप हेरी न्यूनतम डेढ मीटर देखि अधिकतम तीन मीटर सम्मको सडकपेटी राख्नुपर्छ भनिएको
छ । नेपालको कानूनले पनि यिनै मापदण्डलाई पछ्याएको छ । यसकारण सडकपेटी नराखी सडक
निर्माण गर्नु भनेको कानूनको उल्लंघन हो, यो दण्डनीय छ । यो कुरामा महानगर र अन्य
सरोकारवाला निकाय चाँडै ध्यान जाओस्, सडकपेटीकै लागि सडक प्रयोगकर्ता जनताले
अदालतसम्म जानु नपरोस् ।
अर्को तिर, सडक पेटीले सडकलाई एक हदसम्म
जोगाउने काम पनि गरेको देखिन्छ । सडक पेटी नभएको ठाउँमा सडक छेउछेउबाट पीच बिग्रने
र झरीमा बग्ने गरेको धेरै देखिन्छ ।
केहि समय पहिलेमात्र चिप्लेडुङ्गा-महेन्द्रपुल वरिपरिको छँदाखाँदाको सडकपेटी
भत्काएर ‘नयाँ’ बनाउने महानगर सडकपेटीनै नभएका ठाउँका लागिचाहिँ किन तात्दैन, अनौठो
छ ।
(यो लेख केहि सम्पादन सहित २०७६, पुस ७ गतेको 'समाधान' राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
December 02, 2019
अपराध
प्रत्येक पल यहाँको कहर हो
यहाँको हावा आफैंमा जहर हो
ज्यूँदो हुनु अपराध हो यहाँ
यो मूर्दाहरुको शहर हो !
यहाँको हावा आफैंमा जहर हो
ज्यूँदो हुनु अपराध हो यहाँ
यो मूर्दाहरुको शहर हो !
(२०७३, फाल्गुन २०)
November 17, 2019
--- घातक हुने रहेछ
अहंको सिँढी चढ्नुहुन्न, घातक हुने रहेछ
अति चाहले डढ्नुहुन्न, घातक हुने रहेछ
दुनियाँसंग लड्नुपर्ने लडाईँहरु धेरै छन्
आफैंसंग लड्नुहुन्न, घातक हुने रहेछ ।
अति चाहले डढ्नुहुन्न, घातक हुने रहेछ
दुनियाँसंग लड्नुपर्ने लडाईँहरु धेरै छन्
आफैंसंग लड्नुहुन्न, घातक हुने रहेछ ।
(२०७६, मंसिर १; पोखरा)
November 04, 2019
'प्रतिगन्ध' पढेपछि
सरुभक्तको नविनतम उपन्यास 'प्रतिगन्ध' पढिभ्याएँ ।
बिभिन्न परिबन्दले अमेरिका पुगेका मानिसहरुका जीवनकहानी समेटिएको छ उपन्यासमा। उपन्यासको मुख्य पात्रजस्तो लाग्ने अमर प्रधानको कथा छ, अमेरिकातिरको यात्रामा चिनजान भएर बनेका उसका साथीहरु महेश थापा, युवराज गिरी र रवि जोन्सनको कथा छ । अन्त्यतिर आइपुग्ने बेलामा अर्पणाको कथा छ । सुख भन्दा पनि दु:ख र पिडाका कुरा बढी छन् । आतंकवादको छायामा परेको अमेरिकी समाजको कथालाई त्यहाँ बसीरहेका नेपालीहरुको जीवनसंग जोडेर देखाउनन खोजिएको छ। जतिसुकै बैभवशाली भएपनि अमेरिकामा शान्ति र आनन्द छैन । र जतिसुकै कमाए पनि त्यहाँ पुगेका नेपालीहरुको भित्री मन सधैं पीडित छ। नेपालमा छँदा पुस्तान्तरगत विवादका कारण आफ्ना बाबुआमासंग सम्बन्ध बिग्रेको हुनछ केहि पात्रको, तिनै पात्र अमेरिका पुगेर आफ्ना छोराछोरी हुर्काइसकेपछि छोराछोरीसंगको पुस्तान्तरगत विवादमा पनि फँस्छन्। यस पटक पुस्ता मात्र होइन देश, परिवेश र संस्कृतिसमेत फरक छ, त्यसकारण यो विवाद पहिलोभन्दा झन् बढी कुरुप देखिन्छ ।
केहि पात्रहरुको चरित्रमा आएको अचानकको ठूलो परीवर्तन अस्वाभाविक लाग्छ । अमेरिका पुगेपछि अमर मृतात्माहरुसंग कुरा गर्न थाल्छ, नेपालमा छँदाको त्यस्तो प्रसंग छैन। एउटा कारण आतंकवादी आक्रमणमा परेर उसको छोराको मृत्युको आघातले होला भन्ने अनुमान लगाउन सकिन्छ । तर उसकी स्वास्नी आरतीले उसलाई छोडेर हिँड्नुमा कुनै स्वाभाविक कारण देखिँदैन। पोखरामा घर किन्दा उसलाई थाहा नदिएकोमा उ रिसाउँछे तर उसलाई 'सर्प्राइज' दिननै अमरले त्यो घर किनेको हुन्छ । आरतीले मन नपराएपछि अमरले माफी माग्छ र त्यो घर बेच्न लगाउँछ, तैपनि आरती उसलाई छोडेर हिँडिदिन्छे। मालाको सम्झनाले गर्दा मारिया फर्नान्डाको यौन आमन्त्रण स्विकार गर्न नसकेको युवराज वेश्यागमनमा भने अति सहजतापूर्वक संलग्न हुन्छ । चारलोटको रिस र नेपाल, नेपाली भाषाप्रतिको उसको घृणाको कुनै पृष्ठभूमि, कुनै कारण देखिँदैन । रवि जोन्सनसंगको उसको प्रेमिल विगतका कुरा पढ्दा चारलोटमा पछि अचानक पागलपन सवार भएजस्तो लाग्छ।
उपन्यास सरस र सरल छ र अमेरिकामा बसेका नेपालीहरुको एउटा अंशको सजीव चित्रण गरेको छ, तर यो उपन्यास नभएर उपन्यासिका (novella) हरुको सङ्ग्रहजस्तो लाग्छ । छुट्टाछुट्टै कथाहरु जोडिएर कुनै छुट्टै निष्कर्ष दिँदैन। अमरको आफ्नै कथामात्रैले पनि उपन्यास पूर्ण हुन्थ्यो जस्तो लाग्छ। फेरि अमरका चार साथीहरुमध्ये तीनजनाको कथा छ तर सुवर्ण लिम्बुको कथा छैन। अरु सबैको राखिसकेपछि सुवर्ण लिम्बुको पनि राखेको भए हुन्थ्यो जस्तो लाग्छ । सुवर्ण लिम्बुको कथाको ठाउँ अर्पणालाई दिइएको छ। यो उपन्यासको सारचाहिँ अमेरिका पुगेपछि नेपालीहरु नेपालको यादमा भित्रभित्रै रोएपनि अनेक परिबन्दले फर्कन सक्दैनन् तर मरिसकेपछि भने उनीहरुको आत्मा नेपाल फर्किन्छ भन्ने लाग्छ ।
साना टङ्कण असावधानीले आँखा घोच्न आइपुग्ने ठाउँ ज्यादै धेरै छन्। समर्पण पृष्ठमै 'प्रवासी नेपाली पाठकहरुमा---' हुनुपर्नेमा 'प्रवासी नेपाली पाठकठहरुमा---' भएको छ। विभक्तिहरुमा विशेष असावधानी देखिन्छ, 'को' हुनुपर्नेमा 'मा' भएको र 'मा' हुनुपर्नेमा 'को' भएजस्ता गल्ती धेरै देखिन्छन्। पढाइको प्रवाहलाई ठेस लगाउँछन्। कतै स्त्रीका बारेमा 'गरे', 'भने' भएको छ। अर्पणाको बङ्गाली साथी कमलाको बाउको नाम शुरुमा श्यामानन्द छ, पछि रमानन्द भएको छ । प्रकाशकले यत सावधानी अपनाएको देख्दा दु:ख लाग्छ ।
सरुभक्तका उपन्यासबाट गहन दर्शनको अेपक्षा गर्ने बानी लागेकालाई भने यसले निराश बनाउँछ ।
October 22, 2019
दशैं यात्रा र मनमा भ्रमण वर्ष २०२०
हरेक दशैंको बिदाभित्रमा
देशको कुनै नयाँ ठाउँमा यात्रा गर्ने केहि वर्षदेखिको हाम्रो पारिवारिक परम्परालाई
निरन्तरता दिने क्रममा यसपालि साथीहरुसंग बर्दिया राष्ट्रिय निकुञ्ज जाने योजना
बन्यो ।
योजना मुताबिक टिकाको
पर्सिपल्ट बिहान आठ जनाको हाम्रो टोली प्रस्थान गर्यो । हाम्रो यहि समूहले परारको
दशैंमा पूर्वी नेपालको यात्रा गरेको थियो । यात्रा अवधिभरका लागि एउटा जीप भाडामा
लिइएको थियो ।
नेपाल मलाई अति सुन्दर
लाग्छ र यो नेपाल अघाउञ्जेल नघुमी मरौंला भन्ने ठूलो डर छ मनमा । तर ढुक्कले
घुम्ने परिस्थिति बनेको छैन अझै । घुम्नका लागि परिवारका सबैको बिदाको समय
कुर्नुपर्यो, जुन दशैंमै मात्र मिल्छ । अनि घुमघामको खर्चको कुरा पनि छ । यी सबै
मेसो मिलाउनुपर्ने कारणले गर्दा चाहेजति अझै घुम्नसकेको छैन । थोरै नै सहि, मैले
पूर्वी नेपाल केहि घुमेको छु तर पश्चिम नेपालको मामिलामा भने मेरो स्थिति लाजमर्दै
छ । २०५७ सालको चैतमा लुम्बिनीसम्म पुगेको म त्यसपछि अहिलेको यात्रा सम्पन्न
नहुञ्जेल कावासोती कटेर उता लागेको थिइन ।
उद्देश्य बर्दिया
राष्ट्रिय निकुञ्ज र त्यसपछि कर्णाली-चिसापानी पुलसम्मको भएपनि हामीले पहिलो रातको
बास लुम्बिनीलाई बनायौं । ठाउँ-ठाउँमा रोकिँदै आरामको यात्रामा जाँदा हामी साढे ३
बजे भैरहवा कट्यौं र लुम्बिनीतिर सोझियौं । भैरहवाबाट लुम्बिनी जान हामीले समातेका
बाटो फराकिलो थियो तर बन्दै गरेकाले उबडखाबडयुक्त कष्टपूर्ण थियो । ठाउँ-ठाउँमा बाटोलाई
एकतर्फी गरिएको थियो तर कतै सूचना राखिएको थिएन । यस्तोमा धेरै यात्रुहरु, विशेष
गरी पर्यटक झुक्किनु स्वाभाविक छ । हामी पनि एक पटक बाटो बन्द देखेर २ किमीजति
फर्केर अर्को साइडबाट जानुपर्यो । हाम्रो राज्यको लापरवाहीको एउटा नमूना हो यो ।
यस्तो लापरवाही कतैपनि क्षम्य हुँदैन, झन् लुम्बिनीजस्तो धार्मिक र पर्यटकीय धाम
जाने बाटोमा त हुनैहुँदैन ।
यो बाटोको कष्टपूर्ण
यात्रा पछि हामी लुम्बिनी गुरुयोजनाले समेटेको भेग प्रवेश गर्यौं, यहाँ पुगेपछि
मन झन् खिन्न भयो । लुम्बिनी धाम अगाडिको बाटो धूलोले पूरै कुहिरीमण्डल थियो ।
बाटो चाक्लो बनाइएको रहेछ तर पिच नभएकोले जताततै बुङ्बुङ्ती धूलो उडीरहेको थियो ।
सवारी व्यवस्थापन अत्यन्त भद्रगोल थियो र हरेक प्रवेशद्वार अगाडि अराजक भिड र
कोलाहल देखिन्थ्यो । राज्यले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ र २०
लाख पर्यटक भित्र्याउने उद्देश्य राखेको छ तर देशको एउटा प्रमुख पर्यटकीय गन्तव्य
लुम्बिनीको हालत यस्तो छ ! लुम्बिनी फेरि एउटा आम पर्यटकीय गन्तव्यमात्र होइन, यो
संसारका अरबौं मान्छेहरुको आस्थाको केन्द्र हो । थाइल्याण्ड, म्यान्मार, श्री
लंका, कोरीया, जापान, चीन आदिजस्ता देशका धेरै मान्छेहरु जिन्दगीमा कम्तिमा एकपटक
लुम्बिनी भ्रमण गर्ने धोको राख्छन् । र अहिले पश्चिम-पूर्व, संसारका अरु सबै देशमा
पनि भगवान गौतम बुद्धमा आस्थावान मानिसहरुको संख्या बढीरहेको छ । यसैले लुम्बिनीसम्मको यात्रालाई सहज र
सुविधापूर्ण बनाउने र स्वयं लुम्बिनीलाई व्यवस्थित बनाउने हो भने लुम्बिनी आफैंले
२० मात्र होइन ३० लाख पर्यटक भित्र्याउन सक्छ । त्यसका लागि यी बाटाहरुको निर्माण
यथाशिघ्र सम्पन्न भइसक्नुपर्छ । भ्रमण वर्ष शुरु हुन अब ३ महिनामात्र बाँकी छ,
युद्धस्तरमा काम नगरी यो सम्भव छैन । साथमा होटल, गेष्ट हाउसहरुको उचित व्यवस्थापन
र निरन्तर अनुगमन पनि जरुरी छ ।
साँझमा हामीले मायादेवी
मन्दिर भ्रमण गर्यौं । मायादेवी मन्दिरको दर्शन प्रकृया र सरसफाइ पहिलेभन्दा
व्यवस्थित लाग्यो । त्यसपछि त्यहाँको उद्यान, सिद्धार्थ गौतमलाई जन्माएपछि
मायादेवीले नुहाएको तलाउ र आराम गरेको पीपलको वृक्ष, अशोक स्तम्भ, आदि वरिपरि
टहलिँदै र तस्बीर लिँदै केहि समय बिताएपछि हामी शान्तिदीप बलिरहेको स्थानतिर गयौं
र होटल फर्कियौं ।
हाम्रो जीपमा केहि प्राविधिक समस्या आएकाले मर्मत गराउनका लागि जीप लिएर चालक भाइ भैरहवा गएका थिए । हामी विद्युतीय रिक्शा (इ-रिक्शा) मा होटेल फर्कियौं । लुम्बिनीमा अहिले पहिलेका रिक्शा देखिँदा रहेनछन्, इ-रिक्शामात्रै चल्दा रहेछन् ।
हाम्रो जीपमा केहि प्राविधिक समस्या आएकाले मर्मत गराउनका लागि जीप लिएर चालक भाइ भैरहवा गएका थिए । हामी विद्युतीय रिक्शा (इ-रिक्शा) मा होटेल फर्कियौं । लुम्बिनीमा अहिले पहिलेका रिक्शा देखिँदा रहेनछन्, इ-रिक्शामात्रै चल्दा रहेछन् ।
रिक्शा चालकका अनुसार यी
इ-रिक्शाहरु एक कोरीयन केटीको प्रयासमा प्राप्त भएका हुन् । ति केटी लुम्बिनी
घुम्न आएको बेला रिक्शा चालकहरुको दु:ख देखेर कोरीया फर्केर चन्दा उठाएर रिक्शा
किनेर बाँडेकी हुन् । उनका कुरा लगभग सत्यनै होलान् किनभने कोरीयाली
अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) ले सन् २०१६ को फेब्रुअरीमा ७० वटा इ-रिक्शा
बाँडेको थियो । ती दयालु युवतीले कोइकाको माध्यमबाट काम गरेकी होलिन् । इ-रिक्शा
पहिलो पटक वितरण भएको यहि बेला हुनुपर्छ, अहिले आएर एशियाली विकास बैंक आदि अरु
संस्थाले पनि बाँड्ने खबर आएका छन् ।
भोलिपल्ट बिहान
इ-रिक्शानै लिएर बिभिन्न देशका मन्दिरहरुहरु घुमियो । सबै देशका मन्दिरहरु आ-आफ्नै
विशेषताका र भव्य छन् । नेपालको मन्दिर पनि भव्य र प्रभावशाली छ ।
मन्दिरहरु घुमेर हामी
बर्दिया लाग्यौं । पहिल्यै घुमिसकेका साथीहरुवाट प्राप्त फोन नम्बरका माध्यमले
बस्ने ठाउँको जोहो गर्यौं लुम्बिनीबाट हिँड्ने बित्तिकै ।
राष्ट्रिय निकुञ्जको क्षेत्र
छिरेपछि अलिक कडाइ देखियो । सबैतिर सेनाको निगरानी थियो । जनावरहरु हिँडिरहने
क्षेत्र भएकाले गाडीको गति ४० किमी प्रतिघण्टामा सीमित गरिने रहेछ र त्यसका लागि
ठाउँ-ठाउँमा टाइमकार्ड लिनुपर्ने र बुझाउनुपर्ने रहेछ ।
पूर्व-पश्चिम राजमार्गको अम्बासाबाट
देब्रे लाग्दानै अँध्यारो भइसकेको थियो । त्यहाँबाट पातला बस्ती र जङ्गल हुँदै
झण्डै ११ किमी भित्र गएपछि मात्र हामी बस्ने थारु होम रिसोर्ट आउनेथियो । हामी
रिसोर्टका सञ्चालक मोहनलाल चौधरीसंग निरन्तर फोन सम्पर्कमा थियौं तर अँध्यारोमा
अपरिचित भेग हिँड्नु अलिक अप्ठेरो हुने भइहाल्यो । बीचमा एउटा खोला तर्नुपर्ने
भनिएको थियो । खोलामा पुल देखिएकोले हामी उत्साहित हुँदै अगाडि बढ्यौं तर बीचबाट
फर्कनुपर्यो, बनीसकेकै रहेनछ । यसपछि मात्रै हामीले हाम्रो पछिपछि आएको एउटा बाइक
किन पुलतिर नआइ खोलातिर ओर्लिएको रहेछ भन्ने बुझ्यौं ।
खोलामा ओर्लिएपछि फेरि
अर्को समस्या आइपर्यो । खोला कहाँ गहिरो छ र कहाँ छैन भन्ने कसरी पत्ता लगाउने
त्यो अँध्यारोमा ! फेरि मोहनलालजीसंग सम्पर्क गर्यौं । ‘एकछिन पर्खने र कुनै बाइक
आएपछि त्यो कहाँबाट पस्छ हेरेर त्यसैको पछिपछि आउने ।‘ भन्ने सल्लाह अनुसार गरियो
। हामी थारु होम रिसोर्ट पुग्दा साँझ साढे आठभन्दा बढी भइसकेको थियो ।
थारु होम रिसोर्टको
स्वादिष्ट खाना खाएर र भोलिपल्टको जीप सफारीको व्यवस्था गरेर सुत्दा मध्यरात हुन
आँटीसकेको थियो ।
भोलिपल्ट बिहान बर्दियाको
विशेष उत्पादन कालो चामलको भातसहितको नास्ता खाइयो । अचेल चर्चित मार्सीभात भन्दा
केहि कालो यो भात उच्च पौष्टिकतायुक्त हुने जानकारी पाइयो । केहि वर्ष पहिला
कोरीयाबाट बीउ ल्याएर यसको उत्पादन शुरु गरिएको रहेछ ।
हामीलाई जङ्गल सफारीमा
लाने जीप रिसोर्ट अगाडि हामीलाई पर्खिरहेको थियो । हामी चढेको केहि समयपछि एकजना
फूर्तिला युवा जीपमा चढे । उनी दीपक राजवंशी रहेछन् हाम्रो जीप सफारीका गाइड ।
अत्यन्त विनम्र दीपक भाइ जङ्गल सफारीका गाइड मात्र होइन, पेशेवर वन्यजन्तु
फोटोग्राफर पनि रहेछन् । उनले खिचेका फोटाहरु नेशनल जोग्राफिकले समेत प्रयोग गरेको
रहेछ । उनले भने अनुसार काठमाण्डौंको विमानस्थलमा राखिएको बाघको ठूलो तस्बीर पनि
उनकै क्यामेराको कमाल हो ।
जीप सफारीमा बाघ देखियोस् भन्ने हाम्रो यात्राको
शुरुवातदेखिकै प्रार्थना थियो ।
बर्दिया निकुञ्जले जङ्गली
जनावर र विशेषगरी बाघको संरक्षणमा संसारभर ख्याति कमाएको छ र प्राकृतिक वासस्थानमै
सहज रुपमा बाघ हेर्न सकिने थोरै ठाउँमध्ये एक मानिन्छ यसलाई । सन् २००९ मा १८
मात्रै रहेको वयष्क बाघको संख्या हाल ८७ पुगेको रहेछ । यो प्रशंशायोग्य संरक्षणका
लागि बर्दिया राष्ट्रिय निकुञ्जले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरु पाएको छ । विश्व
बन्यजन्तु कोषका सदभावना दूत लियोनार्डो डि काप्रियोले आफ्नी आमा र दिदीसंग सन्
२०१० मा यहाँ केहि दिन बिताएका थिए । बेलायती राजकुमार ह्यारी सन् २०१६ मा आएका
थिए ।
हामी बसेको होटलबाट २
किमी पर रहेछ बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारा प्रवेशद्वार । लामो नाम
दर्ता प्रकृयापछि मात्र जङ्गल पस्न पाईने रहेछ । त्यो बिहान हामी ८ जना बाहेक अरु ३० जनाजति पनि सफारीका लागि जङ्गल प्रवेश गरेका
थिए ।
न गर्मी, न जाडो, ठिक्कको
एकदम राम्रो मौसम थियो । जङ्गलमा ठाउँ-ठाउँमा बाघ वा अरु कुनै विशेष जनावर देखिन
सक्ने ठाउँमा चालकलाई जीप रोक्न लगाउँथे दीपक भाइ । साथै जङ्गली जनावरहरु, विशेष
गरी बाघका बारेमा हामीलाई थुप्रै कुरा पनि सुनाए उनले । जङ्गल सफारीको गाइडका
रुपमा उनले सँगालेका अनुभवहरु सुन्न पनि रमाइलो भयो । राजकुमार ह्यारीले १ घण्टाजति
जङ्गलमा बिताउँदा उनलाई उपलब्ध गराइएका चार गाइडहरु मध्ये एक रहेछन् दीपक भाइ ।
लियोनार्डो डि काप्रियोले आफ्नो चश्मा निकालेर पहिराइदिएका पाका र अनुभवी गाइड
राजमान चौधरी दीपक भाइका मामा रहेछन् ।
सबैको पहिलो उत्सुकता बाघ
हेर्ने हुन्छ यस्ता सफारीमा । हात्ती र गैंडाका बथान देखिने पनि आशा हुन्छ । तर
त्यो दिन हामीलाई भाग्यले साथ दिएन, बाघका केहि ताजा पाइला, आफ्नो क्षेत्र जनाउन
उसले जमीन कोतरेर बनाएका संकेत र दिसाको थुप्रो मात्र देख्न पाइयो । चित्तल र
बाँदर भने प्रशश्त देखिए । दीपक भाइका अनुसार चित्तल बाघको सबैभन्दा प्रिय शिकार
हो । बाँदर र चित्तल ‘दोस्त’ हुँदा रहेछन् जङ्गलका, बाघ आएको देखेर बाँदरहरु
कराएको आवाजले चित्तलहरु सतर्क बन्दा रहेछन् र सुरक्षित हुन भाग्दा रहेछन । यी
बाहेक १-२ ठाउँमा जरायोहरु पनि देखियो । हात्तीको बथान हिँड्ने क्रममा माडिएका
साना बिरुवाहरु पनि देखाउँदै थिए दीपक भाइ तर बथान हिँडेर कता पुगिसकेको हो केहि
भेउ पाउन सकिएन । गैंडा र बँदेलहरु पनि देखिएनन् । जङ्गलको बीचमा रहेको गिर्वा
खोलाको किनारमा गोहीहरु घाम ताप्दै गरेको पनि देखिएन ।
यो याममा जङ्गली जनावहरु
देखिनु भाग्यकै कुरा हो रहेछ । बाघ, हात्ती, गैंडा आदि सहजै देखिने भनेको चैतदेखि असारको
गर्मी बेला रहेछ । त्यो बेला बाघ तिर्खाएर पानी खान निक्लने रहेछ र कतिपय धेरै
गर्मी दिनमा त घण्टौंसम्म आहाल बस्दो रहेछ । अरु जनावरहरु पनि गर्मी छल्न पानी
खोज्दै आउँदा रहेछन् ।
गर्मी याममा फेरि बर्दिया
आउने र त्यो बेला जीप सफारी होइन पैदल सफारी गरेर जसरी पनि बाघ हेर्ने निर्णय
गर्दै हाम्रो ४ घण्टाको जीप सफारी सकियो ।
सफारीका जीपहरु डिजेलबाट
चल्ने हुँदा तिनले निकुञ्जमा धूवाँ र ध्वनि दुबैथरी प्रदूषण गरीरहेका छन् । विशेष
गरी चर्को ध्वनिका कारण जनावरहरु तर्सेर पनि भाग्छन् होला । यी डिजेल जीपहरुलाई
धूवाँ र ध्वनि प्रदूषण दुबै नहुने इलेक्ट्रिक जीपहरुले प्रतिस्थापन गरिनुपर्छ । यसो
गर्दा पर्यापर्यटकीय गन्तव्यका रुपमा बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा आकर्षण थप
हुन्छ ।
फर्केर प्रवेशद्वारमा
आइसकेपछि त्यहाँ रहेको गोही प्रजनन केन्द्रको अवलोकन गरियो । यहाँ प्रजनन गरेर
केहि समय हुर्काएपछि गोहीलाई कर्णाली नदीमा लगेर छोडिने रहेछ । दीपक भाइका अनुसार
त्यसरी कर्णालीमा छोडिएका गोहीहरुको बाँच्ने दर भने कम रहेछ ।
राजमार्गमा गाडीले ठक्कर
दिएर घाइते भएको बाघलाई उपचार गरिँदै रहेछ नजिकै । मान्छेहरुलाई देखेपछि घाइते बाघ
झर्कने र रिसाएर आक्रमण गर्न खोज्ने हुँदा फलामे जालीमा कालो पर्दा लगाइएको थियो ।
यसरी झर्केको बाघले बाहिरकालाई आक्रमण गर्न नसकेपछि भित्ता वा फलामे जालीमा आक्रमण
गरेर आफैंलाई हानि पुर्याउने रहेछ र उपचार प्रकृया झन् जटिल बन्ने रहेछ । संगै
एउटा सानो पोखरीमा अन्धो भइसकेको एउटा बूढो गैंडा आहाल बसिरहेको थियो । यो
गैँडालाई बाहिर निक्लन नदिनका लागि पोखरीको चारैतिर तारबार गरिएको छ र राति त्यसमा
करेण्ट छोडिने रहेछ ।
अन्त्यमा, त्यहाँ रहेको
सानो थारु संस्कृति सङ्ग्रहालय हेरेर हामी रिसोर्टतिर फर्कियौं ।
रिसोर्टमा खाना खाएर हामी
कर्णाली चिसापानी पुल पुग्यौं र पुल तरेर कैलाली टेक्यौं ।
अब हाम्रो पोखरातिरको फिर्ती यात्रा शुरु भयो र हामी
त्यो रातको बास बस्न नेपालगञ्जतिर लाग्यौं।
(२०७६, कार्तिक ५ गते मंगलबार https://www.parichaynetwork.com/basanta-gautam/ मा प्रकाशित )
October 19, 2019
'रणहार' पढेपछि
योगेश राजद्वारा लिखित र २०७५ सालको मदन पुरस्कार प्राप्त
ऐतिहासिक उपन्यास भक्तपुरका (र समग्रमा पनि) अन्तिम मल्ल राजा रणजित मल्लको
मनोविज्ञानको चिरफारमा केन्द्रित रहेछ । उनी बालक हुँदा र राजा भइसकेपछिका बिभिन्न
घटनाक्रमहरुका दौरान उनको मनका उहापोहहरुलाई केलाइएको छ । घटनाहरुलाई संक्षिप्तमा
पृष्ठभूमिमा बसालेर मानसिक द्वन्द्वको विश्लेषणलाई कथाको अग्रभागमा राखिएको छ ।
राजा रणजित मल्लको चरित्रलाई निष्पृह र कोमल चित्रण गरिएको छ । उनी जन्मेदेखि, उनी
हुर्कँदै जाँदा र राज्य प्राप्त गरीसकेपछिका बिभिन्न अपशकुनी घटनाहरुले उनको
राज्यको अन्तको संकेत दिइसकेका थिए भन्ने आशय पनि छ उपन्यासमा । गोर्खाली राजासंगको
हारलाई विधिको विधानका रुपमा सहज स्विकारेका छन् उनले । विजय पश्चात गोर्खाली
राजाले आफ्ना ‘मीत’ रणजितलाई पनौती वा किर्तिपुरजस्तो कुनै सानो राज्य दिएर
सम्मानपूर्वक राख्ने कुरा गर्छन् तर रणजितले त्यो लोभमा नफसी काशीवास रोजेका छन् ।
भौतिक लडाईँमा उनी रणहार भएपनि स्वाभिमानको लडाईँमा भने रणजितनै देखिन्छन् य
प्रसङ्गमा ।
पुस्तकमा भक्तपुरको समृद्ध कलाकौशल र तत्कालीन सांस्कृतिक गतिविधिहरुको सुन्दर चित्रण पनि छ ठाउँ ठाउँमा ।
लेखकले उपसंहारमा लेख्नु भए अनुसार यो ‘शुद्ध इतिहास होइन, इतिहासमा आधारित पुनर्रचना मात्र हो । ------- यसले त्यस्ता ऐतिहासिक सामग्री पढ्ने जाँगर पाठकमा जगाउन सक्यो भने पुस्तकको उद्देश्य पूरा भएको ठान्नेछु ।‘ यो सरस पुस्तक पढीसकेपछि मेरा लागि भने लेखकको त्यो उद्देश्य साँच्चैनै पूरा भएको छ। म रणजित मल्लको जीवनी, उनको राज्यकालको भक्तपुर र विशेष गरी यो पुस्तकमा उल्लेखित केहि विशेष घटनाक्रमहरुका बारेमा खोजेर पढ्न अत्यन्त उत्सुक भएको छु ।
पुस्तकमा भक्तपुरको समृद्ध कलाकौशल र तत्कालीन सांस्कृतिक गतिविधिहरुको सुन्दर चित्रण पनि छ ठाउँ ठाउँमा ।
लेखकले उपसंहारमा लेख्नु भए अनुसार यो ‘शुद्ध इतिहास होइन, इतिहासमा आधारित पुनर्रचना मात्र हो । ------- यसले त्यस्ता ऐतिहासिक सामग्री पढ्ने जाँगर पाठकमा जगाउन सक्यो भने पुस्तकको उद्देश्य पूरा भएको ठान्नेछु ।‘ यो सरस पुस्तक पढीसकेपछि मेरा लागि भने लेखकको त्यो उद्देश्य साँच्चैनै पूरा भएको छ। म रणजित मल्लको जीवनी, उनको राज्यकालको भक्तपुर र विशेष गरी यो पुस्तकमा उल्लेखित केहि विशेष घटनाक्रमहरुका बारेमा खोजेर पढ्न अत्यन्त उत्सुक भएको छु ।
September 30, 2019
शाकाहार - मानव चेतनाको गन्तव्य
पशुबलिलाई
बेठिक भन्नु र शाकाहारको कुरा गर्नु भनेको राम्रै गाली खानु हो नेपालमा । झन्
दशैंको बेलामा शाकाहारको कुरा गर्यो भने त मान्छेहरु उग्र भइहाल्छन् र ‘डलर खाएर’
हिन्दू धर्म ‘सिध्याउन’ लागेको आरोप लगाइदिन्छन् । उनीहरुका कुरा सुन्दा यस्तो
लाग्छ, नेपालमा हिन्दू हुनु भनेको ‘जनावरको बलि दिनु’ र मासु लुछ्नु हो र त्यहि
मात्र हो ।
बाल्यकालमा
मैले अलि अलि मासु खाएँ । बाहुन परिवारमा जन्मे-हुर्केकाले खसी-बोकाको मासु मात्रै
खान पाइन्थ्यो । नियमित खाने कुरा भने थिएन, मासु एउटा ‘विशेष’ खानेकुरा
मानिन्थ्यो र चाडबाड,
विशेष गरी दशैं, चैते दशैंमा यो अनिवार्य
ठानिन्थ्यो । आक्कलझुक्कल अरु बेलामा पनि यो मुखमा पर्न आईपुग्थ्यो । यसरी हेर्दा
मेरो बाल्यकाललाई म बढीमा १० प्रतिशत मात्रै मांसाहारी मान्न सक्छु । कुखुराको
अण्डा समेत खान नहुने मानिन्थ्यो, तर गाउँका केहि
‘आँटिला’हरुले अण्डा र कुखुराकै मासु पनि खान थालीसकेका थिए । ती आँटिलामध्येमा
पर्न आफूसंग भने गाँठ र आँट दुबै थिएन ।
शिक्षा
र रोजगारीका लागि शहर पस्न थालेपछि काठमाण्डौंको काँठका बाहुनले खाने मासुको
परिमाण पनि बढ्न थाल्यो । अत्यन्त ‘स्वादिष्ट’, ‘सम्मोहनकारी’ र
‘शक्तिशाली’ म:म लाई चिनेपछि त्यसबाट जोगिन को सकोस् ! खसी-बोकामात्रै खान पाउने
भनेर तोकिएका बाहुनहरुले प्लेटका प्लेट ‘भैंसी’ पनि सखाप पार्न थाले । कलेज
पढ्दाका तीन वर्षमा सय प्लेट चानचुन ‘भैंसी’ मेरा पेटमा पनि पसे हुनन् ।
स्नातक
तहको अध्ययनका लागि २०४८ मा चीन पुगेपछि भने मासु धेरै खाइयो । चीनमा सागपातपनि धेरै
प्रकारका पाईन्थे तर मासु धेरै सस्तो लाग्थ्यो। ‘चिनियाँहरुले उड्नेमा हवाईजहाज र
हिँड्नेमा मोटर बाहेक जे पनि खान्छन् !’ भनेर हाँसो गर्थे त्यहाँ बस्ने विदेशीहरु । साँच्चै
हो जस्तो लाग्थ्यो मलाई चिनियाँहरुको खानपीन हेर्दा । अहिलेको स्थिति कस्तो छ,
थाहा भएन ।
चीनमा
बस्दा कुखुरा र बुंगुरको मासु सबैभन्दा धेरै खाईयो । खसीको मासु महँगो पर्थ्यो ।
खसीको मासु सामान्यतया मुसलमानहरुले सञ्चालन गरेका पसलमा बढी पाइन्थ्यो । सेकुवा
खान मन लागे हामी ती पसलहरुमा जान्थ्यौं । गाईको मासु खानबाट भने जोगिने सक्दो
प्रयास गरियो । नेपालमा छँदा खाँदै नखाए बराबर थियो माछा, चीनमा त्यसको पनि परिमाण
बढ्यो । नेपाल फर्केपछि कुखुरा र खसीको मासुलाई मात्रै निरन्तरता दिईयो ।
दोश्रो
प्रवासका लागि २०५९ मा जापान पुगेपछि फेरि चीनकै जस्तो स्थिति दोहोरियो । त्यहाँ
पनि माछा-मासु नखाई टिक्न नसकिने स्थिति छ । ‘शाकाहारी हुँ ।’ भनेर कसैले भन्दा धेरैजसो
जापानीहरु छक्क पर्छन् र सोध्छन्; “अण्डा पनि खाँदैनस् ?” वा “माछा पनि चल्दैन ?” । कतिपय भोजनालयहरुमा मासु
र आलु मिसाएर पकाएको तरकारीबाट आलुका टुक्राहरुमात्रै छानेर शाकाहारी व्यक्तिलाई
दिईएका जस्ता कुराहरु पनि सुनिन्छन् । परम्परागत जापानी खानामा माछा र समुद्री
जीवको प्राधान्यता छ तर गत शताब्दीबाट पश्चिमा खानाको प्रभावका कारण जापानमा
मासुको खपत पनि धेरै बढी छ ।
जापानमा
शाकाहारी खानाको अस्तित्वनै छैन होला भन्ने लागेको थियो मलाई तर नेपाल फर्कनुभन्दा
केहि महिना अघि पुगेको एउटा बौद्ध मन्दिरले भने मेरो त्यो सोचाईलाई गलत साबित
गरिदियो।एक
शुभचिन्तक जापानी बृद्धाले लिएर गएकी थिईन् हामीलाई त्यो मन्दिरमा । आफूलाई कहाँ
लगिँदैछ भन्ने बारेमा त्यति नबुझ्दा-नबुझ्दै पनि हामी उनको पछि लागेका थियौं, एउटा आईतवार बिताउनु थियो जसरी भएपनि ।
जापानी बौद्ध परम्पराका बिभिन्न
सम्प्रदायहरुमध्ये कुनै एकद्वारा संचालित त्यो मन्दिर हँसमुख बुद्ध (Laughing Buddha) को रहेछ । प्रवचनकर्ताका
अनुसार उनीहरु हँसमुख बुद्धलाई मैत्रेय बुद्ध मान्दा रहेछन् । पछि मैले ईण्टरनेटमा
खोजेर पढेको थिएँ, यो मान्यता राख्ने बौद्धमार्गीहरु
संसारका अरु केहि ठाउँमा पनि रहेछन् ।
मन्दिरमा
भव्य र सुविधापूर्ण प्रार्थना र ध्यान कक्षहरु थिए। प्रवचनपछि हामीलाई सामूहिक, व्यक्तिगत प्रार्थनामा सहभागी
गराईयो र भोजनालायतिर लगियो । त्यहाँको भोजनालयमा पूर्ण शाकाहारी भोजन तयार हुँदो
रहेछ । हामीकहाँ आफूलाई शाकाहारी भन्नेहरु गाईभैंसीको दूध भने खान्छन् तर त्यहाँ
दूधसंग सम्बन्धित भोजन पनि छँदै थिएनन् । त्यो सम्प्रदायमा दूधलाई पनि मासुजस्तै
मानिने रहेछ । खाना अत्यन्त सन्तुलित, पौष्टिक र स्वादिष्ट थियो ।
त्यहाँको
भोजनले मांसाहारलाई निरन्तरता दिन मेरो मनले बनाएका बहानाहरुलाई भने गतिलै धक्का
दियो । त्यसको केहि वर्ष अघिबाट म मासु खानका लागि गरिने पशुपञ्छीको वध र तीनलाई
दिईने यातनाका प्रति म संवेदनशील हुँदै गईरहेको थिएँ तर मासु छोड्न सकिरहेको थिईँन
। मैले खोजेका बहानाहरु ‘माँसाहारजत्तिको पौष्टिक शाकाहार नहुन सक्छ’, ‘हामी शाकाहारी खानालाई मिलाएर बनाउन जान्दैनौं’, ‘जापानमा शाकाहारी हुनु असम्भव
छ’ आदि प्रमुख थिए। तर उक्त मन्दिरमा पुग्ने संयोगले मलाई मेरो कमजोर ईच्छाशक्तिनै
सबैभन्दा प्रमुख कारण हो मैले मासु छोड्न नसक्नुमा भन्ने बोध गराईदियो ।
केहि
विशेष घटनाहरुले मान्छेको संवेदनालाई बढाईदिँदा रहेछन् । छोरीको जन्म एउटा यस्तै
घटना बन्यो मेरा लागि । एउटा नयाँ मानवजीवनको शुरुवात र हुर्काईलाई नजिकबाट
हेर्दाहेर्दै म सबै जीवनप्रति अझ संवेदनशील हुन थालें । मान्छे वा जनावर, सबैको जीवन उत्तिकै अद्वितिय, अनुपम सौन्दर्य हो भन्ने बोध गहिरो हुँदै
गयो ममा । जीवनको हत्या घोर कुरुपता हो, यस्तो कुरुप कार्य जीवनप्रति कुनै
संवेदनशीलता नभएको क्रुर मान्छेले मात्र गर्न सक्छ र कसैको हत्याबाट आफ्नो भोजन
जुटाउनु मानवीय कर्म हुँदै होइन भन्ने मान्यता अब मेरो मनमा गहिरो गरी बस्यो ।
साउदी
अरेबियामा कार्यरत एकजना भाइबाट एउटा ईमेल प्राप्त हुनु अर्को घटना बन्यो । त्यो ईमेल
त्यहाँको एक बहुचर्चित नृशंश हत्याकाण्ड बारे थियो । केहि फिलिपिनोहरुले एकजना
पाकिस्तानीको हत्या गरेर उसको मासु खाएका थिए र सम्पूर्ण गतिविधिहरुलाई क्यामेरामा
कैद गरेका थिए । पछि ती नरभक्षीहरु समातिएपछि ती फोटोहरु बाहिर निक्लेका रहेछन् ।
भाइको
ईमेलमा धेरै फोटाहरु थिए । मृत पाकिस्तानीको लाश काठको फलेकमा राखिएको, पहिला उसको घाँटी छिनालिएको, त्यसपछि क्रमैसंग हात
खुट्टाहरु निकालिएको, उसको छाती फोरेर दुई भाग लगाईएको,
भित्रका मुटु, कलेजा, फोक्सो
आदि झिकिएको, आन्द्राभुँडी झिकिएको आदि अनेक फोटाहरु थिए। ती
सबै राक्षसहरु अत्यन्त आनन्दित ‘पिकनिक’को मुडमा थिए,
उनीहरुको अनुहारमा अलिकति पनि लज्जाबोध र डर थिएन । ती मध्येका केहि उक्त अभागी
मान्छेको जननेन्द्रिय हातमा लिएर क्यामेरातिर फर्केर जिस्कँदै हाँसिरहेका पनि थिए ।
त्यहाँ आन्द्राभुँडी सफा गरिएका तस्बीरहरु पनि थिए, अनि केहि
ठूला ड्रमजस्ता भाँडाहरुमा मासु पकाएको र अन्त्यमा गोलाकार बसेर सबैले मासु खाएका
फोटाहरु पनि थिए । सबै घटनाक्रम खसी, बोका काटेर गरिनेजस्तै थिए।
एक-दुई दिनमा ती राक्षसहरुको पापको घैंटो फुटेछ । त्यो निर्दोष पाकिस्तानीको मासु खाने मध्येका केही, भोजन विषाक्तताको समस्याले गर्दा अस्पताल भर्ना भएछन् । त्यसपछि एक-एक गर्दै सबै कुरा बाहिर आएछ । साउदी सरकारले ती मध्ये धेरैलाई प्राणदण्ड दिएछ, बाँकीलाई लामो समयको कारावासको सजायँ दिएछ।
एक-दुई दिनमा ती राक्षसहरुको पापको घैंटो फुटेछ । त्यो निर्दोष पाकिस्तानीको मासु खाने मध्येका केही, भोजन विषाक्तताको समस्याले गर्दा अस्पताल भर्ना भएछन् । त्यसपछि एक-एक गर्दै सबै कुरा बाहिर आएछ । साउदी सरकारले ती मध्ये धेरैलाई प्राणदण्ड दिएछ, बाँकीलाई लामो समयको कारावासको सजायँ दिएछ।
आङ्गनै
सिरिङ्ग गर्ने तस्बीरहरु हेरेपछि मेरो मनस्थितिनै खल्बलिएको थियो केहि समय । त्यसपछिका
दिनमा मासु खाँदा जहिलेपनि तिनै दृश्यहरु झल्झली आँखामा आउन थाले । मासु खान
थालेपछि तिनै दृश्यहरु आँखामा आएर मनस्थिति खल्बलिने, एउटा एकदम अफ्ठेरो परिश्थितिमा बाँचें म धेरै दिन । ती तस्बीरहरु छउन्जेल
बेला-बेला हेरिने र आफ्नो मनस्थिति खल्बलीइरहने भएकाले केहि समयपछि सबै तस्बीरहरु
मेटें मैले । अरु कसैलाई पठाउँदा पनि पठाइँन मैले ती तस्बीरहरु, किनभने त्यस्ता तस्बीरहरु
हेर्नु भनेकै पनि एउटा हिंसा आहार हो । फेरि कतिपय मान्छेमा ठूलो मानसिक विचलननै ल्याइदिन सक्छन यस्ता तस्बीरहरुले । त्यसको केहि वर्ष
पहिला इराकमा अन्सर-अल-सुन्नाका आतंककारीहरुले नेपाली दाजुभाईहरुको हत्या गरेको
भिडियो पूरा हेर्ने आँट कहिल्यै गर्न सकिन मैले, जति हेरें
त्यतिलेनै पनि धेरै दिन मानसिक विचलन भोगेको थिएँ ।
यी घटनाहरुले मलाई मानव र अरु जनावरको जीवनको समानता र महत्वप्रति संवेदनशील बनाए । ठाडो शब्दमा भन्दा मैले मान्छेको मासु र अरु जनावरको मासुमा भेद देख्न छोडें र मैले आफुलाई शाकाहारी बनाउने निधो गरें । दश वर्ष हुन लाग्यो, आफ्नो उक्त निर्णयमा म अडिग छु र शाकाहारबाट प्राप्त हुने शारीरिक, मानसिक र आध्यात्मिक लाभको प्रशश्त अनुभव गरीरहेछु ।
यी घटनाहरुले मलाई मानव र अरु जनावरको जीवनको समानता र महत्वप्रति संवेदनशील बनाए । ठाडो शब्दमा भन्दा मैले मान्छेको मासु र अरु जनावरको मासुमा भेद देख्न छोडें र मैले आफुलाई शाकाहारी बनाउने निधो गरें । दश वर्ष हुन लाग्यो, आफ्नो उक्त निर्णयमा म अडिग छु र शाकाहारबाट प्राप्त हुने शारीरिक, मानसिक र आध्यात्मिक लाभको प्रशश्त अनुभव गरीरहेछु ।
मानवजाति
कहिलेदेखि मांसाहारी भयो अथवा यो मानवको रुपमा उभिएको शुरुवाती दिनदेखिनै
मांसाहारी थियो वा थिएन भन्ने कुरा बहसको विषय हुन सक्छ । बौद्धिक विकास नभइसकेको
आदिम मान्छेका लागि मांसाहार शायद बाध्यता पनि थियो किनभने उसले कृषिकर्म
जानीसकेको थिएन र प्रकृतिमा उपलब्ध वनस्पतिहरुपनि चिनिसकेको थिएन । त्यो युगमा
मान्छेले जनावरको मात्र होइन मान्छेकै पनि मासु खान्थ्यो । मासुकै कुरा भइसकेपछि
जनावरको वा मान्छेको – खासै फरक नमान्दा हुन्छ । अहिले मान्छेले मान्छे खाने कुरा
इतिहासको पानामा सीमित भईसकेको ठान्छौं हामी तर माथि उल्लेख गरिएको साउदी
अरेबियाको घटनाले हामीलाई अर्कै सोच्न बाध्य बनाउँछ । तन्त्रका नाममा बच्चालाई बलि
दिने घटना हाम्रै वरिपरि पनि यदाकदा देखिएकै छ । केहि समय अगाडिसम्म कुनै-कुनै समाजमा
बच्चाको सालनालसमेत खाने गरिएको सुनिन्थ्यो । यस्ता कुरा अपवाद हुँदै गएपनि जनावहरुप्रतिको मानव व्यवहार भने अझै आमरुपमै
अत्यन्त क्रूर र दानवीय छ । संसारभरि भोजनका लागि तुलनात्मक रुपमा सुधा र कमजोर
जनावरहरुको यातनापूर्ण हत्या गरिन्छ, र धेरैजसो यस्ता हत्यालाई न्यायोचित ठहर्याउन
धर्मको खोल ओढाउने गरिन्छ ।
गहनतम
मानवीय संवेदनाले मांसाहारलाई कदापि स्विकार्न सक्दैन । प्रकृतिको सबैभन्दा
चेतनशील प्राणीले अर्को चेतनाको हत्या गर्नु र आफ्नो भोजन बनाउनु यसै पनि विडम्बना
हो । मानवीय चेतनाको लागि सुहाउने कुरा होइन यो । शारीरिक तहमै उभिएर हेर्दा पनि मांसाहार
मानव शरीरका लागि आवश्यक छैन र यसले ठिक गर्दैन भन्ने प्रमाणित भइसकेको छ ।
जीववैज्ञानिकहरुका अनुसार मानव शरीरको बनावट, विशेष गरी मुख र पाचन प्रणालीको
संरचना शाकाहारी भोजनका लागि उपयुक्त छ । प्रकृतिले मानिसलाई शाकाहारी जीवनको लागि
तयार पारेको छ । मानिसले मासु खानुपर्ने कुरामा दिइने एउटा तर्क यसको पौष्टिकताको
पनि हो तर अहिले मासुजत्तिकै वा त्यो भन्दा पनि बढी पौष्टिक शाकाहारी खानेकुराहरु जतिपनि
भेटिन्छन् । त्यसैले पौष्टिकताकै लागि मासु खानुपर्ने र निर्दोष जनावरहरु मार्नु
पर्ने कुरामा कुनै दम देखिँदैन ।
मान्छेले
मान्छे खाने कुरा अपवादबाहेक नदेखिएपनि, नसुनिएपनि मान्छेले
मान्छेसंग गर्ने व्यवहार भने झन्-झन् हिंसात्मक बन्दै गएको छ । चेतना माथिल्लो
स्तरको हुँदै जाँदा र बुद्धिको विकास हुँदै जाँदा त समग्र मानवजाति अहिंस्रक बन्दै
जानुपर्ने हो तर त्यो हुन सकेको छैन । मान्छेलाई मान्छे हुनबाट रोक्ने एउटा प्रमुख
कारण मांसाहारनै हुनसक्छ । मासुको परिमाण बढाउन अचेल पशुपञ्छीलाई अनेक अप्राकृतिक
खानेकुरा खुवाइन्छ र धेरै थरी एण्टिबायोटिक पनि दिइन्छ । मासु सेवनसंगै त्यस्ता
तत्वहरु मानव शरीरमा प्रवेश गर्छन् । अर्कोतिर, हत्या गरिँदाको क्षण पशुपञ्छीमा उब्जने भय र
क्रोधभावका कारण तिनका शरीरमा थुप्रै विषाक्त रसायन निर्माण हुन्छन् । ती विषाक्त
रसायन पनि मासु हुँदै मान्छेको शरीरमा प्रवेश गर्छन् । यस्ता रसायनहरुले मासुले
मान्छेमा तनाव र चिन्ता बढाउँछन् र बिभिन्न रोगका कारण बन्छन् । मासु खान पालिएका जनावरहरुका कारण संसारमा
धेरै नयाँ-नयाँ रोगहरु पनि फैलिरहेका छन्।
मांसाहारको
पक्षमा दिईने अर्को एउटा तर्क हो, ‘मानवजातिले मांसाहार नगर्ने हो
भने, पर्यावरणीय सन्तुलन (इकोसिष्टम) बिग्रन्छ’। तर यो तर्कमा पनि कुनै दम छैन, किनभने जुन
प्राकृतिक प्रणालीको सन्तुलनको कुरा गरिन्छ, त्यो प्राकृतिक
प्रणालीबाट मानवजाति धेरै पहिले अलग भइसकेको छ । खेतीपाती गर्न जानेबाटै मानिस
त्यसबाट अलग्गिएको हो । बाघभालूले मासु खान नपाउँदा तिनको अस्तित्वनै समाप्त हुन्छ,
पर्यावरणीय सन्तुलन बिग्रने त्यो अवश्थामा हो, मान्छेले मासु नखाँदा पृथ्वीको
पर्यावरणीय सन्तुलनको रौं पनि हल्लिँदैन ।
फेरि मान्छे जंगली जनावरहरुको शिकार गरेर पनि खाँदैन अचेल, ऊ त तुलनात्मक रुपमा सूधा र कमजोर जन्तुहरुलाई केहि समय पालेर, पछि ‘धोकापूर्ण’ तरिकाले मारेर खान्छ । यी जनावरहरुलाई तिनको प्राकृतिक जीवनशैलीबाट जबर्जस्ती तानेर घरपालुवा बनाएर उसले पृथ्वीको पर्यावरणीय सन्तुलनलाई पहिल्यै धेरै खल्बल्याईसकेको छ। उल्टो अब मासु खाने बहाना पनि त्यसैलाई बनाउन खोज्नु भनेको कुटिल चालबाजी मात्रै हो।
फेरि मान्छे जंगली जनावरहरुको शिकार गरेर पनि खाँदैन अचेल, ऊ त तुलनात्मक रुपमा सूधा र कमजोर जन्तुहरुलाई केहि समय पालेर, पछि ‘धोकापूर्ण’ तरिकाले मारेर खान्छ । यी जनावरहरुलाई तिनको प्राकृतिक जीवनशैलीबाट जबर्जस्ती तानेर घरपालुवा बनाएर उसले पृथ्वीको पर्यावरणीय सन्तुलनलाई पहिल्यै धेरै खल्बल्याईसकेको छ। उल्टो अब मासु खाने बहाना पनि त्यसैलाई बनाउन खोज्नु भनेको कुटिल चालबाजी मात्रै हो।
धेरैजसो
धर्ममा देवताको नाममा पशुबली दिईन्छ, विगतमा देउताकै
नाममा नरवलि पनि दिईन्थ्यो। ढुंगाको मूर्ति अगाडि निर्दोष र अबोध पशुहत्या गरेर
धर्म कमाईन्छ भन्ने विडम्बनापूर्ण परम्परा छन् मान्छेका ! कतिपय मन्दिरहरुमा कुनै अबोध
जनावरलाई जति धेरै यातना दिएर तड्पाई-तड्पाई मा-यो, त्यतिनै
धर्म र पुण्य कमाईने विश्वाश गरिन्छ । के क्रूरता र हिंसा धर्म हो ? अनि हामीले आफ्नो क्रुरता र हिंसालाई छोप्न
धर्म-परम्परा र कथित शास्त्रको गज्जबको खोलपनि तयार पारेका छौं । पशुबलिका विरुद्ध
र शाकाहारका पक्षमा कसैले चुईँक्क बोल्यो कि शास्त्रको दुहाई दिँदै पाखुरा खैंचिदै
आउनेहरु धेरै छन् । तर के कुनै पनि शास्त्र कुनै विषयको अन्तिम सत्य हुनसक्छ ? र अर्कोतिर, कुन
शास्त्रको कुरा गर्ने ? शास्त्र त शाकाहारका पक्षमा पनि लेखिएका छन् । अझ खासमा
भन्ने हो भने त इसाइ र इस्लामको दाँजोमा हिन्दू धर्ममा शाकाहारको दर्शन विस्तारित
र व्यापक छ । हिन्दूहरुले कम्तिमा उपनिषदकालदेखिनै शाकाहारको गरिमाको चर्चा गर्दै
आएका छन् । त्यसकारण, शाकाहारको कुरा गर्नु हिन्दूविरोधी हुनु होइन । संसारमा मासु
नखाने हिन्दूहरु मासु खानेभन्दा बढी छन् । हिन्दूत्वको नाममा मासुप्रतिको आसक्ति
नेपालमा बढी छ । नवरात्रलाई सात्विक पूजा आराधनाको समय मानिन्छ धेरैतिर । हामीले
भने त्यसलाई जीवहत्याको पर्व बनाएका छौं र अहिले आएर त्यसमा जूवातास र रक्सीपनि
थपेका छौं । दशैंलाई आफूभित्रको पशुभावलाई त्याग्ने (‘बलि दिने’) पर्व बनाउनुपर्ने
हो तर हामी त्यहि भावलाई आफूभित्र अझ बढाइरहेछौं ।
बिभिन्न चाडपर्वहरुमा हाम्रो समाजले बलि दिने
जनावरहरु तुलनात्मक रुपले निर्धा र सोझा हुन्छन् । राँगा, खसी, बोका, च्याङ्ग्रा
आदिलाई महिषासुरको अवतार मानेर बलि दिने हामीले अझ सम्म किन नबुझेको होला, अरुलाई मारेर मासु खाने हिसाबले बाघ वा
सिंह पो बरु महिषासुरका नातेदार हुनसक्छन् (गहिरिएर हेर्ने हो भने तिनले पनि आफ्नो
प्राकृतिक स्वभावलाई पछ्याएका मात्र हुन्) । तर हामी बाघ वा सिंहलाई
खसी-बोका-राँगोलाई जसरी यातना दिन र मार्न सक्दैनौं, हाम्रो शारीरिक क्षमताले
पुग्दैन त्यसो गर्न, अनि हामी हाम्रो कुण्ठा र हीनताबोधलाई
लगेर आफूभन्दा कमजोर र सूधा जनावरहरुमाथि खन्याउँछौं । हाम्रा कतिपय मन्दिरहरुमा मानसिक शान्ति पाइने
र आध्यातिक तरङ्गहरु अनुभव गर्न सकिने ठाउँभन्दा पनि जनावरहरुका वधशाला मात्रै लाग्छन्
। र हाम्रा पेट आईन्स्टाईनले कतै भनेझैं,
हत्या गरिएका अबोध जनावरहरुका चिहानमात्रै हुन् ।
पशुबलि र शाकाहारको कुरा गर्दा मानव चेतना र विवेकलाई
सर्वोपरि राखेर हेरिनुपर्छ र हामीले आफैंसंग सोध्न सक्नुपर्छ के खानको लागि अर्को
कुनै जीवनको हत्या गर्नु उन्नत मानव चेतनाको गरिमालाई सुहाउने कुरा हो ? मानव
चेतनाको गन्तव्य अझ हिँसात्मक बन्दै जानु हो कि समग्र जीवजगतप्रति करुणाभाव
बढाउँदै जानु हो?
(पोखराबाट प्रकाशित हुने 'समाधान' राष्ट्रिय दैनिकमा २०७६, असोज १२ गते, आइतबार, थोरै संशोधनसाथ छापिएको।)
Subscribe to:
Posts (Atom)

