October 22, 2019

दशैं यात्रा र मनमा भ्रमण वर्ष २०२०

हरेक दशैंको बिदाभित्रमा देशको कुनै नयाँ ठाउँमा यात्रा गर्ने केहि वर्षदेखिको हाम्रो पारिवारिक परम्परालाई निरन्तरता दिने क्रममा यसपालि साथीहरुसंग बर्दिया राष्ट्रिय निकुञ्ज जाने योजना बन्यो ।

योजना मुताबिक टिकाको पर्सिपल्ट बिहान आठ जनाको हाम्रो टोली प्रस्थान गर्‍यो । हाम्रो यहि समूहले परारको दशैंमा पूर्वी नेपालको यात्रा गरेको थियो । यात्रा अवधिभरका लागि एउटा जीप भाडामा लिइएको थियो ।

नेपाल मलाई अति सुन्दर लाग्छ र यो नेपाल अघाउञ्जेल नघुमी मरौंला भन्ने ठूलो डर छ मनमा । तर ढुक्कले घुम्ने परिस्थिति बनेको छैन अझै । घुम्नका लागि परिवारका सबैको बिदाको समय कुर्नुपर्‍यो, जुन दशैंमै मात्र मिल्छ । अनि घुमघामको खर्चको कुरा पनि छ । यी सबै मेसो मिलाउनुपर्ने कारणले गर्दा चाहेजति अझै घुम्नसकेको छैन । थोरै नै सहि, मैले पूर्वी नेपाल केहि घुमेको छु तर पश्चिम नेपालको मामिलामा भने मेरो स्थिति लाजमर्दै छ । २०५७ सालको चैतमा लुम्बिनीसम्म पुगेको म त्यसपछि अहिलेको यात्रा सम्पन्न नहुञ्जेल कावासोती कटेर उता लागेको थिइन ।

उद्देश्य बर्दिया राष्ट्रिय निकुञ्ज र त्यसपछि कर्णाली-चिसापानी पुलसम्मको भएपनि हामीले पहिलो रातको बास लुम्बिनीलाई बनायौं । ठाउँ-ठाउँमा रोकिँदै आरामको यात्रामा जाँदा हामी साढे ३ बजे भैरहवा कट्यौं र लुम्बिनीतिर सोझियौं । भैरहवाबाट लुम्बिनी जान हामीले समातेका बाटो फराकिलो थियो तर बन्दै गरेकाले उबडखाबडयुक्त कष्टपूर्ण थियो । ठाउँ-ठाउँमा बाटोलाई एकतर्फी गरिएको थियो तर कतै सूचना राखिएको थिएन । यस्तोमा धेरै यात्रुहरु, विशेष गरी पर्यटक झुक्किनु स्वाभाविक छ । हामी पनि एक पटक बाटो बन्द देखेर २ किमीजति फर्केर अर्को साइडबाट जानुपर्‍यो । हाम्रो राज्यको लापरवाहीको एउटा नमूना हो यो । यस्तो लापरवाही कतैपनि क्षम्य हुँदैन, झन् लुम्बिनीजस्तो धार्मिक र पर्यटकीय धाम जाने बाटोमा त हुनैहुँदैन ।

यो बाटोको कष्टपूर्ण यात्रा पछि हामी लुम्बिनी गुरुयोजनाले समेटेको भेग प्रवेश गर्‍यौं, यहाँ पुगेपछि मन झन् खिन्न भयो । लुम्बिनी धाम अगाडिको बाटो धूलोले पूरै कुहिरीमण्डल थियो । बाटो चाक्लो बनाइएको रहेछ तर पिच नभएकोले जताततै बुङ्बुङ्ती धूलो उडीरहेको थियो । सवारी व्यवस्थापन अत्यन्त भद्रगोल थियो र हरेक प्रवेशद्वार अगाडि अराजक भिड र कोलाहल देखिन्थ्यो । राज्यले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ र २० लाख पर्यटक भित्र्याउने उद्देश्य राखेको छ तर देशको एउटा प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीको हालत यस्तो छ ! लुम्बिनी फेरि एउटा आम पर्यटकीय गन्तव्यमात्र होइन, यो संसारका अरबौं मान्छेहरुको आस्थाको केन्द्र हो । थाइल्याण्ड, म्यान्मार, श्री लंका, कोरीया, जापान, चीन आदिजस्ता देशका धेरै मान्छेहरु जिन्दगीमा कम्तिमा एकपटक लुम्बिनी भ्रमण गर्ने धोको राख्छन् । र अहिले पश्चिम-पूर्व, संसारका अरु सबै देशमा पनि भगवान गौतम बुद्धमा आस्थावान मानिसहरुको संख्या बढीरहेको छ ।  यसैले लुम्बिनीसम्मको यात्रालाई सहज र सुविधापूर्ण बनाउने र स्वयं लुम्बिनीलाई व्यवस्थित बनाउने हो भने लुम्बिनी आफैंले २० मात्र होइन ३० लाख पर्यटक भित्र्याउन सक्छ । त्यसका लागि यी बाटाहरुको निर्माण यथाशिघ्र सम्पन्न भइसक्नुपर्छ । भ्रमण वर्ष शुरु हुन अब ३ महिनामात्र बाँकी छ, युद्धस्तरमा काम नगरी यो सम्भव छैन । साथमा होटल, गेष्ट हाउसहरुको उचित व्यवस्थापन र निरन्तर अनुगमन पनि जरुरी छ ।

साँझमा हामीले मायादेवी मन्दिर भ्रमण गर्‍यौं । मायादेवी मन्दिरको दर्शन प्रकृया र सरसफाइ पहिलेभन्दा व्यवस्थित लाग्यो । त्यसपछि त्यहाँको उद्यान, सिद्धार्थ गौतमलाई जन्माएपछि मायादेवीले नुहाएको तलाउ र आराम गरेको पीपलको वृक्ष, अशोक स्तम्भ, आदि वरिपरि टहलिँदै र तस्बीर लिँदै केहि समय बिताएपछि हामी शान्तिदीप बलिरहेको स्थानतिर गयौं र होटल फर्कियौं ।

हाम्रो जीपमा केहि प्राविधिक समस्या आएकाले मर्मत गराउनका लागि जीप लिएर चालक भाइ भैरहवा गएका थिए । हामी विद्युतीय रिक्शा (इ-रिक्शा) मा होटेल फर्कियौं । लुम्बिनीमा अहिले पहिलेका रिक्शा देखिँदा रहेनछन्, इ-रिक्शामात्रै चल्दा रहेछन् ।

रिक्शा चालकका अनुसार यी इ-रिक्शाहरु एक कोरीयन केटीको प्रयासमा प्राप्त भएका हुन् । ति केटी लुम्बिनी घुम्न आएको बेला रिक्शा चालकहरुको दु:ख देखेर कोरीया फर्केर चन्दा उठाएर रिक्शा किनेर बाँडेकी हुन् । उनका कुरा लगभग सत्यनै होलान् किनभने कोरीयाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) ले सन् २०१६ को फेब्रुअरीमा ७० वटा इ-रिक्शा बाँडेको थियो । ती दयालु युवतीले कोइकाको माध्यमबाट काम गरेकी होलिन् । इ-रिक्शा पहिलो पटक वितरण भएको यहि बेला हुनुपर्छ, अहिले आएर एशियाली विकास बैंक आदि अरु संस्थाले पनि बाँड्ने खबर आएका छन् ।

भोलिपल्ट बिहान इ-रिक्शानै लिएर बिभिन्न देशका मन्दिरहरुहरु घुमियो । सबै देशका मन्दिरहरु आ-आफ्नै विशेषताका र भव्य छन् । नेपालको मन्दिर पनि भव्य र प्रभावशाली छ ।

मन्दिरहरु घुमेर हामी बर्दिया लाग्यौं । पहिल्यै घुमिसकेका साथीहरुवाट प्राप्त फोन नम्बरका माध्यमले बस्ने ठाउँको जोहो गर्‍यौं लुम्बिनीबाट हिँड्ने बित्तिकै ।

राष्ट्रिय निकुञ्जको क्षेत्र छिरेपछि अलिक कडाइ देखियो । सबैतिर सेनाको निगरानी थियो । जनावरहरु हिँडिरहने क्षेत्र भएकाले गाडीको गति ४० किमी प्रतिघण्टामा सीमित गरिने रहेछ र त्यसका लागि ठाउँ-ठाउँमा टाइमकार्ड लिनुपर्ने र बुझाउनुपर्ने रहेछ ।

पूर्व-पश्चिम राजमार्गको अम्बासाबाट देब्रे लाग्दानै अँध्यारो भइसकेको थियो । त्यहाँबाट पातला बस्ती र जङ्गल हुँदै झण्डै ११ किमी भित्र गएपछि मात्र हामी बस्ने थारु होम रिसोर्ट आउनेथियो । हामी रिसोर्टका सञ्चालक मोहनलाल चौधरीसंग निरन्तर फोन सम्पर्कमा थियौं तर अँध्यारोमा अपरिचित भेग हिँड्नु अलिक अप्ठेरो हुने भइहाल्यो । बीचमा एउटा खोला तर्नुपर्ने भनिएको थियो । खोलामा पुल देखिएकोले हामी उत्साहित हुँदै अगाडि बढ्यौं तर बीचबाट फर्कनुपर्‍यो, बनीसकेकै रहेनछ । यसपछि मात्रै हामीले हाम्रो पछिपछि आएको एउटा बाइक किन पुलतिर नआइ खोलातिर ओर्लिएको रहेछ भन्ने बुझ्यौं ।

खोलामा ओर्लिएपछि फेरि अर्को समस्या आइपर्‍यो । खोला कहाँ गहिरो छ र कहाँ छैन भन्ने कसरी पत्ता लगाउने त्यो अँध्यारोमा ! फेरि मोहनलालजीसंग सम्पर्क गर्‍यौं । ‘एकछिन पर्खने र कुनै बाइक आएपछि त्यो कहाँबाट पस्छ हेरेर त्यसैको पछिपछि आउने ।‘ भन्ने सल्लाह अनुसार गरियो । हामी थारु होम रिसोर्ट पुग्दा साँझ साढे आठभन्दा बढी भइसकेको थियो ।

थारु होम रिसोर्टको स्वादिष्ट खाना खाएर र भोलिपल्टको जीप सफारीको व्यवस्था गरेर सुत्दा मध्यरात हुन आँटीसकेको थियो ।

भोलिपल्ट बिहान बर्दियाको विशेष उत्पादन कालो चामलको भातसहितको नास्ता खाइयो । अचेल चर्चित मार्सीभात भन्दा केहि कालो यो भात उच्च पौष्टिकतायुक्त हुने जानकारी पाइयो । केहि वर्ष पहिला कोरीयाबाट बीउ ल्याएर यसको उत्पादन शुरु गरिएको रहेछ ।

हामीलाई जङ्गल सफारीमा लाने जीप रिसोर्ट अगाडि हामीलाई पर्खिरहेको थियो । हामी चढेको केहि समयपछि एकजना फूर्तिला युवा जीपमा चढे । उनी दीपक राजवंशी रहेछन् हाम्रो जीप सफारीका गाइड । अत्यन्त विनम्र दीपक भाइ जङ्गल सफारीका गाइड मात्र होइन, पेशेवर वन्यजन्तु फोटोग्राफर पनि रहेछन् । उनले खिचेका फोटाहरु नेशनल जोग्राफिकले समेत प्रयोग गरेको रहेछ । उनले भने अनुसार काठमाण्डौंको विमानस्थलमा राखिएको बाघको ठूलो तस्बीर पनि उनकै क्यामेराको कमाल हो ।

जीप सफारीमा बाघ देखियोस् भन्ने हाम्रो यात्राको शुरुवातदेखिकै प्रार्थना थियो ।

बर्दिया निकुञ्जले जङ्गली जनावर र विशेषगरी बाघको संरक्षणमा संसारभर ख्याति कमाएको छ र प्राकृतिक वासस्थानमै सहज रुपमा बाघ हेर्न सकिने थोरै ठाउँमध्ये एक मानिन्छ यसलाई । सन् २००९ मा १८ मात्रै रहेको वयष्क बाघको संख्या हाल ८७ पुगेको रहेछ । यो प्रशंशायोग्य संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्जले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरु पाएको छ । विश्व बन्यजन्तु कोषका सदभावना दूत लियोनार्डो डि काप्रियोले आफ्नी आमा र दिदीसंग सन् २०१० मा यहाँ केहि दिन बिताएका थिए । बेलायती राजकुमार ह्यारी सन् २०१६ मा आएका थिए ।

हामी बसेको होटलबाट २ किमी पर रहेछ बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारा प्रवेशद्वार । लामो नाम दर्ता प्रकृयापछि मात्र जङ्गल पस्न पाईने रहेछ । त्यो बिहान हामी ८ जना बाहेक अरु ३० जनाजति पनि सफारीका लागि जङ्गल प्रवेश गरेका थिए । 

न गर्मी, न जाडो, ठिक्कको एकदम राम्रो मौसम थियो । जङ्गलमा ठाउँ-ठाउँमा बाघ वा अरु कुनै विशेष जनावर देखिन सक्ने ठाउँमा चालकलाई जीप रोक्न लगाउँथे दीपक भाइ । साथै जङ्गली जनावरहरु, विशेष गरी बाघका बारेमा हामीलाई थुप्रै कुरा पनि सुनाए उनले । जङ्गल सफारीको गाइडका रुपमा उनले सँगालेका अनुभवहरु सुन्न पनि रमाइलो भयो । राजकुमार ह्यारीले १ घण्टाजति जङ्गलमा बिताउँदा उनलाई उपलब्ध गराइएका चार गाइडहरु मध्ये एक रहेछन् दीपक भाइ । लियोनार्डो डि काप्रियोले आफ्नो चश्मा निकालेर पहिराइदिएका पाका र अनुभवी गाइड राजमान चौधरी दीपक भाइका मामा रहेछन् ।

सबैको पहिलो उत्सुकता बाघ हेर्ने हुन्छ यस्ता सफारीमा । हात्ती र गैंडाका बथान देखिने पनि आशा हुन्छ । तर त्यो दिन हामीलाई भाग्यले साथ दिएन, बाघका केहि ताजा पाइला, आफ्नो क्षेत्र जनाउन उसले जमीन कोतरेर बनाएका संकेत र दिसाको थुप्रो मात्र देख्न पाइयो । चित्तल र बाँदर भने प्रशश्त देखिए । दीपक भाइका अनुसार चित्तल बाघको सबैभन्दा प्रिय शिकार हो । बाँदर र चित्तल ‘दोस्त’ हुँदा रहेछन् जङ्गलका, बाघ आएको देखेर बाँदरहरु कराएको आवाजले चित्तलहरु सतर्क बन्दा रहेछन् र सुरक्षित हुन भाग्दा रहेछन । यी बाहेक १-२ ठाउँमा जरायोहरु पनि देखियो । हात्तीको बथान हिँड्ने क्रममा माडिएका साना बिरुवाहरु पनि देखाउँदै थिए दीपक भाइ तर बथान हिँडेर कता पुगिसकेको हो केहि भेउ पाउन सकिएन । गैंडा र बँदेलहरु पनि देखिएनन् । जङ्गलको बीचमा रहेको गिर्वा खोलाको किनारमा गोहीहरु घाम ताप्दै गरेको पनि देखिएन ।

यो याममा जङ्गली जनावहरु देखिनु भाग्यकै कुरा हो रहेछ । बाघ, हात्ती, गैंडा आदि सहजै देखिने भनेको चैतदेखि असारको गर्मी बेला रहेछ । त्यो बेला बाघ तिर्खाएर पानी खान निक्लने रहेछ र कतिपय धेरै गर्मी दिनमा त घण्टौंसम्म आहाल बस्दो रहेछ । अरु जनावरहरु पनि गर्मी छल्न पानी खोज्दै आउँदा रहेछन् ।

गर्मी याममा फेरि बर्दिया आउने र त्यो बेला जीप सफारी होइन पैदल सफारी गरेर जसरी पनि बाघ हेर्ने निर्णय गर्दै हाम्रो ४ घण्टाको जीप सफारी सकियो ।

सफारीका जीपहरु डिजेलबाट चल्ने हुँदा तिनले निकुञ्जमा धूवाँ र ध्वनि दुबैथरी प्रदूषण गरीरहेका छन् । विशेष गरी चर्को ध्वनिका कारण जनावरहरु तर्सेर पनि भाग्छन् होला । यी डिजेल जीपहरुलाई धूवाँ र ध्वनि प्रदूषण दुबै नहुने इलेक्ट्रिक जीपहरुले प्रतिस्थापन गरिनुपर्छ । यसो गर्दा पर्यापर्यटकीय गन्तव्यका रुपमा बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा आकर्षण थप हुन्छ ।

फर्केर प्रवेशद्वारमा आइसकेपछि त्यहाँ रहेको गोही प्रजनन केन्द्रको अवलोकन गरियो । यहाँ प्रजनन गरेर केहि समय हुर्काएपछि गोहीलाई कर्णाली नदीमा लगेर छोडिने रहेछ । दीपक भाइका अनुसार त्यसरी कर्णालीमा छोडिएका गोहीहरुको बाँच्ने दर भने कम रहेछ ।

राजमार्गमा गाडीले ठक्कर दिएर घाइते भएको बाघलाई उपचार गरिँदै रहेछ नजिकै । मान्छेहरुलाई देखेपछि घाइते बाघ झर्कने र रिसाएर आक्रमण गर्न खोज्ने हुँदा फलामे जालीमा कालो पर्दा लगाइएको थियो । यसरी झर्केको बाघले बाहिरकालाई आक्रमण गर्न नसकेपछि भित्ता वा फलामे जालीमा आक्रमण गरेर आफैंलाई हानि पुर्‍याउने रहेछ र उपचार प्रकृया झन् जटिल बन्ने रहेछ । संगै एउटा सानो पोखरीमा अन्धो भइसकेको एउटा बूढो गैंडा आहाल बसिरहेको थियो । यो गैँडालाई बाहिर निक्लन नदिनका लागि पोखरीको चारैतिर तारबार गरिएको छ र राति त्यसमा करेण्ट छोडिने रहेछ ।

अन्त्यमा, त्यहाँ रहेको सानो थारु संस्कृति सङ्ग्रहालय हेरेर हामी रिसोर्टतिर फर्कियौं ।

रिसोर्टमा खाना खाएर हामी कर्णाली चिसापानी पुल पुग्यौं र पुल तरेर कैलाली टेक्यौं ।

अब हाम्रो पोखरातिरको फिर्ती यात्रा शुरु भयो र हामी त्यो रातको बास बस्न नेपालगञ्जतिर लाग्यौं।

(२०७६, कार्तिक ५ गते मंगलबार https://www.parichaynetwork.com/basanta-gautam/ मा प्रकाशित )


No comments:

Post a Comment