October 19, 2019

'रणहार' पढेपछि

योगेश राजद्वारा लिखित र २०७५ सालको मदन पुरस्कार प्राप्त ऐतिहासिक उपन्यास भक्तपुरका (र समग्रमा पनि) अन्तिम मल्ल राजा रणजित मल्लको मनोविज्ञानको चिरफारमा केन्द्रित रहेछ । उनी बालक हुँदा र राजा भइसकेपछिका बिभिन्न घटनाक्रमहरुका दौरान उनको मनका उहापोहहरुलाई केलाइएको छ । घटनाहरुलाई संक्षिप्तमा पृष्ठभूमिमा बसालेर मानसिक द्वन्द्वको विश्लेषणलाई कथाको अग्रभागमा राखिएको छ । राजा रणजित मल्लको चरित्रलाई निष्पृह र कोमल चित्रण गरिएको छ । उनी जन्मेदेखि, उनी हुर्कँदै जाँदा र राज्य प्राप्त गरीसकेपछिका बिभिन्न अपशकुनी घटनाहरुले उनको राज्यको अन्तको संकेत दिइसकेका थिए भन्ने आशय पनि छ उपन्यासमा । गोर्खाली राजासंगको हारलाई विधिको विधानका रुपमा सहज स्विकारेका छन् उनले । विजय पश्चात गोर्खाली राजाले आफ्ना ‘मीत’ रणजितलाई पनौती वा किर्तिपुरजस्तो कुनै सानो राज्य दिएर सम्मानपूर्वक राख्ने कुरा गर्छन् तर रणजितले त्यो लोभमा नफसी काशीवास रोजेका छन् । भौतिक लडाईँमा उनी रणहार भएपनि स्वाभिमानको लडाईँमा भने रणजितनै देखिन्छन् य प्रसङ्गमा ।

पुस्तकमा भक्तपुरको समृद्ध कलाकौशल र तत्कालीन सांस्कृतिक गतिविधिहरुको सुन्दर चित्रण पनि छ ठाउँ ठाउँमा ।

लेखकले उपसंहारमा लेख्नु भए अनुसार यो ‘शुद्ध इतिहास होइन, इतिहासमा आधारित पुनर्रचना मात्र हो । ------- यसले त्यस्ता ऐतिहासिक सामग्री पढ्ने जाँगर पाठकमा जगाउन सक्यो भने पुस्तकको उद्देश्य पूरा भएको ठान्नेछु ।‘ यो सरस पुस्तक पढीसकेपछि मेरा लागि भने लेखकको त्यो उद्देश्य साँच्चैनै पूरा भएको छ। म रणजित मल्लको जीवनी, उनको राज्यकालको भक्तपुर र विशेष गरी यो पुस्तकमा उल्लेखित केहि विशेष घटनाक्रमहरुका बारेमा खोजेर पढ्न अत्यन्त उत्सुक भएको छु ।






No comments:

Post a Comment