सत्ते-सत्ते! धरोधर्म! 'जन्मदिन' मै ब्लगको १००औं 'टाँसो' (पोष्टिङ) पार्ने मेरो नियत थिएन। कम्तिमा मे ११ को अघिल्लो टाँसोपछि अस्ति शुक्रवारसम्म थिएन। नयाँ केहि लेख्ने फुर्सद र मानसिकता दुबै थिएन, तर एउटा पूरानै कविता भएपनि घुसार्दिने सूर भने चलेको थियो। शुक्रवारदेखि भने नियतै राखेको हुँ। दुई दिन कुरेपछि 'जन्मदिन'मै ठ्याक्क १००औं टाँसो पर्छ भने किन नकुर्ने भन्ने लाग्न थाल्यो। खैर, छोडौं यो कुरा अहिलेलाई।
उसो त म जन्मदिन मनाउने कुरामा खासै चासो राख्दिन। मेरो आफ्नै जन्मदिन त झन नआइदिए हुन्थ्यो जस्तो लाग्छ:) जन्मेको दिन हुँदैमा महत्वपूर्ण हुन्छ भनेर कता लेखेको छ र? कुनै ब्यक्ति नमरी उ जन्मेको दिनको मूल्यांकन हुन सक्दैन। यो निरस र नरमाइलो कुरालाई पनि छोडिदिउँ यतै।
काठमाडौंको पश्चिमी भेगको काँठमा हुर्किने क्रममा खासै साहित्यिक वातावरण थिएन वरिपरि। गाउँमा केहि मान्छेहरु 'मधुपर्क' र पछि 'गरिमा' पढ्थे। कति किनेर ल्याए पनि वा कतैबाट पाएपनि नपढी राख्ने खालका थिए। पढेको विद्यालयमा पनि खासै थिएन त्यो वातावरण। सामान्यतया वर्षको एकपटक भानुजयन्तीको दिन कविता प्रतियोगिता हुन्थ्यो।
थाहा छैन कसरी साहित्य पढ्ने बानी लाग्यो। हाजिरजवाफहरुमा कहिलेकाहीँ जित्दा पाएका 'बालकोसेली'का केहि अंकहरुले हुनसक्छ अथवा रेडियो नेपालको 'बाल कार्यक्रम'ले पनि हुनसक्छ मलाई शुरुमा त्यतातिर डो-याएको। यी बाहेक प्रेमा शाह आदिले लेखेका बालकथाका पुस्तकहरु पनि हात पर्न थाले। अलि ठूलो भएपछि पढेको 'हमजाएगाको डायरी' को पनि ठूलो प्रभाव हुनसक्छ। गाउँमा पुस्तकालय नभएपनि हामी बालसखाहरुका बीचमा किताब आदान-प्रदान निकै चल्थ्यो र पुस्तकालयको अभावको अलिकति भएपनि पूर्ति गर्थ्यो यसले। पछि विस्तारै साथीहरुका घरमा भएका मधुपर्क र अरु पत्रिकाहरु पनि पढ्न थालियो। घरमै पनि थिए अलि-अलि, तर बढी धार्मिक पुस्तकहरु र त्यो पनि हिन्दीमा। गाउँका कुनै-कुनै घरका बुईंगलमा भेटेर पढेका कति किताबहरुले मनमा पारेको प्रभाव अझै ताजै छ। 'रत्नश्री' भन्ने पत्रिकाको 'दार्जलिङ् कथा विशेषांक' सबैभन्दा बढी सम्झनामा छ। २०३०को दशकका मधुपर्कका बिभिन्न अंकहरुका कथा-कविताहरु, शिकार कथाहरु सबै सम्झना नभएपनि तीनले मनमा पारेको प्रभाव भने अझै महशूश गर्न सक्छु म। गोरखापत्रको 'शनिवासरीय परिशिष्टांक' (अहिले 'शनिवारीय' भनिन्छ क्यारे!) पनि टूपीदेखि पैतालासम्म पूरै पढिन्थ्यो। त्यो जमानामा र त्यो पनि गाउँमा पढ्ने कुरा कमै थिए, भएकाको हामीले 'अधिकतम उपयोग' गरेका थियौं।
-२-
लेख्ने बानी पनि लाग्दै गयो। एक-दुई पटक भानुजयन्तीमा पुरस्कार हात परेपछि र बाल कार्यक्रमको 'को भन्दा को कम' मा एउटा कविता र एउटा निवन्ध प्रसारण भएपछि हौसला पनि बढ्यो। विद्यालय पढ्दै एकताका 'झण्डै-झण्डै साहित्यिक' दैनिकि पनि चलेको थियो केहि समय। तर रचनाहरु प्रकाशन गर्ने आत्मविश्वाश आईसकेको थिएन, चाहना भने विस्तारै बढ्दै थियो।
विद्यार्थी जीवनका भित्ते पत्रिका वा वार्षिक स्मारिका आदिबाहेक प्रकाशनकै लागि भनेर पठाउन थालेको भने बी.ई. सकेर नेपाल फर्केपछिमात्रै हो। 'कान्तिपुर साप्ताहिक' ले एउटा लघुकथा छापिदिएको थियो। पोखरा बस्दा त्यहाँका स्थानीय पत्रिकाहरुले केहि कविता र लेखहरु छापिदिएका थिए। तर लोभ भने राष्ट्रिय पत्रिकामै छपाउने थियो। मधुपर्क, गरिमा, तन्नेरी, गोरखापत्र, कान्तिपुर आदिले छाप्दै छापेनन्। म आफूलाई त्यस्तो 'खतरा' लेखक-कवि त ठान्दिनँ तर मेराभन्दा धेरै स्तरहीन रचनाहरु भने छापिएको देखिन्थ्यो यदाकदा। मेरो घमण्ड पनि हुनसक्थ्यो यो अथवा अरुका रचनालाई मैले नबुझेको पनि हुनसक्थ्यो तर यसपछि पत्रिकहरुमा छपाउने मन मर्दै गयो। सकिएछ भने पछि किताबै छपाउँला भन्ने विचार थियो।
मैले जानेको अर्को कुरो के हो भने नेपालमा लेख-रचना छपाउन पनि 'चिनजान-नातागोता' आदि सबैभन्दा भरपर्दा माध्यम हुन्। हाम्रो 'गज्जब' नेपालमा लेखन र प्रकाशनले अझै पेशेवर रुप नलिईसकेको स्थिति हो यो। विगतका केहि वर्षमा निश्चयपनि केहि परीवर्तन आयो होला यसमा।
एकचोटि नेपाल टेलिभिजनको 'अभिव्यक्ति' भन्ने कार्यक्रममा कविता वाचन गर्न भनेर पनि पुगेको थिएँ त्यसका संचालकलाई भेट्न। तीनले के-के कुरा गरेर अल्मलाए धेरै बेर; र पछि बोलाउँला भनेर फर्काए मलाई। त्यो 'पछि' आएन!
नछपाउने भनेर मन बनाएपछि लेखनको गति कम हुने रहेछ, रोकिनै त रोकिन्न। मान्छेले अरुले पढुन भनेरनै लेख्छ। अरुले नपढुन् भन्ने चाहना लेख्नेमा हुँदै-हुँदैन, ठोकेर भन्दिन्छु म यो। जीवनभरि लुकाएर दैनिकी लेख्नेहरुमा पनि आफू मरेपछि अरुले पढिदिउन् भन्ने चाहना हुन्छ। वस्तवमा अरुले नपढुन् भनेर आफ्नै लागि लेख्ने हो भने लेख्ने आवश्यकतै छैन।
त्यो अवधिमा मैले थोरै लेखें, त्यो पनि छोटा कविताहरु, लेख्न भनेर बसेर हैन कि भावनालाई आफैंभित्र धान्न नसक्ने भएपछि मात्रै। तर ती छोटा कविताहरुले असाध्यै सन्तुष्टि दिएका छन् मलाई।
-३-
जापान आएपछि पनि ताल त्यस्तै थियो। तर विघ्नै नराम्रा कुराहरुले पनि केहि राम्रो शुरुवात गरिदिँदा रहेछन्। अढाइ वर्ष जतिपछिको ज्ञानेन्द्र शाहको कथित 'रचनात्मक प्रजातन्त्र' मेरो लेखनीका लागि सानोतिनो 'वरदान'जस्तै हुनपुग्यो। नेपालसंग फोन र इण्टरनेट सम्बन्ध विच्छेद भएको बेला थियो। अमेरिका बस्ने एउटा साथीसंग च्याटमा कुरा हुँदा उसले मलाई साझाको बारेमा बताएको थियो। त्यसमा हुने केहि राजनीतिक कुराकानीहरुमा त सहभागी भईयोनै तर साझाभित्रको साहित्यले मलाई झन बढी आकर्षित ग-यो। एक-से-एक कवि, कथाकार र लेखकहरु छन् त्यहाँ। त्यतिबेलै नेपाली यूनिकोड पनि 'हात' प-यो र मेरो जीवनको सानोतिनो 'क्रान्ति'को शुरुवात भयो। मेरो मतलब, मैले 'फेरि' लेख्न थालें। यूनिकोडले 'कागजमा लेख्दै-केर्दै-अर्कोमा सार्दै---' को झञ्झटलाई मेटिदियो र साझाले तुरुन्तै प्रतिकृया दिने 'पाठक' पनि मिलाइदियो। 'गोतामेको गनगन' नाममा 'राजनीतिक हाइकू' लेख्थें शुरुमा। पछि 'कविताको देश' भन्ने धागो शुरु भयो। यसले धेरै नयाँ साथीहरु र प्रशंशकहरु दियो मलाई, मैलेपनि धेरै राम्रा कविहरुको संगत पाएँ। केहि कथाहरु पनि लेखें मैले यो ताका। साझा पसेबाटैको 'चौतारी'को सहभागिताले पनि धेरै लेखायो। गाउँले पाराको छेडखान, गफगाफ आदि खुब पढियो-लेखियो। त्यो बेलाको 'चौतारी'को हरेक अंक एकदमै रमाईलो नाटकजस्तो हुन्थ्यो। गजल लेख्ने कुराको आधारभूत जानकारी पाएको पनि साझाबाटै हो मैले, केहि लेखियो पनि। समयाभावले अचेल साझा 'पस्ने' समय एकदम कम भएको छ, नरमाईलो लाग्छ।
त्यो ताका एउटा ब्लग पनि शुरु गरेको थिएँ मैले, ब्लगस्पटमै हो। तीन-चार पोष्टिङसम्म लेखियो, 'राजनीतिक गाली' मात्रै र थन्कियो त्यो ब्लग। त्यसको पाठक पनि मैमात्र थिएँ होला। त्यसको पासवर्ड याद छैन अहिले।
विस्तारै इण्टरनेटमा 'आफनै' घर 'बसाउने' सूर चल्यो। लाग्यो किन फेरि ब्लगबाटै शुरु नगर्ने?! केहि महिनाको मन्थनपछि गत सालको मे १९मा यो ब्लग शुरु गरें मैले। शुरुका दुई पोष्टिङलाई धेरै परीवर्तन गरीरहें केहि समय। वास्तवमा शुरुवातमा के राख्दा राम्रो हुन्छ अथवा पहिलो पोष्टिङमा के लेख्ने भन्ने कुराले धेरै समय खाँदो रहेछ, बरु पछि-पछिका लामा-लामा पोष्टिङहरु सजिलै तयार हुन्थे।
अब बुझ्नुभयो होला, म मेरो यो ब्लगको 'जन्मदिन'को बारेमा कुरा गर्दैछु, मेरो आफ्नो हैन। आज यो एक वर्ष पूरा भयो। एक वर्षसम्म तन्काउन सकेकोमा म आफैंलाई पनि बधाई दिन्छु, किनभने कतिचोटि 'बेकारको बोझ थपिएछ जिन्दगीलाई----' भन्ने लागेको थियो। यो ब्लग मेटेर आनन्दले बस्छु र झुक्केर पनि अर्को ब्लग शुरु गर्दिन भन्ने विचार धेरै चोटि आएको थियो। ब्लगमा लेख्न थालेपछि एक किसिमको दायित्वबोधजस्तो अनुभव हुँदो रहेछ। केहि दिन लेख्ने समय नमिलेपछि छटपटी बढ्दै जाँदो रहेछ, आफैंलाई र अरु केहि मानिसलाई पनि धोका दिएजस्तो लाग्दो रहेछ।
-४-
ब्लगले धेरै नयाँ साथीहरु र पाठकहरु त दिएकै छ, 'केहि न केहि त लेखिएकै छ' भन्ने आत्मसन्तुष्टि पनि दिएको छ। पेशाको हिसाबले बिल्कूल फरक बाटोमा हिँडेको हुनाले 'लेख्ने' कुरालाई आफूले चाहेजति समय दिन सकेको छैन, लेख्न चाहेका धेरै कुराहरु मनमै छन्, कति मनमै बिलाईसके। वर्षौंदेखि दशौं कथा र निवन्धहरुको 'प्लट' मनमा बोकेर हिँडिरहेको छु। कुनैदिन 'पूर्णकालीन' लेखक बन्ने धोको छ मनमा।
सामन्यतया नेपालीमै लेख्ने मेरो शुरुदेखिकै विचार हुनाले मेरो सम्पर्क पनि प्राय: नेपाली ब्लगरहरुसंग मात्रै छ। मैले यो ब्लगमा सूत्र राखेका ब्लगहरु (FRIENDS) म नियमित रुपमा पढ्छु। अरु नेपाली ब्लगहरु पनि पढ्छु धेरैनै। एककिसिमले मेरो अध्ययन अहिले बिभिन्न ब्लगहरु (प्रायश: नेपालीका) र कान्तिपुरमा सीमित भएको छ।
यो ब्लग शुरु गरुञ्जेलसम्म पनि मलाई ब्लगस्पटको बारेमा मात्रै जानकारी थियो। अहिले बुझ्दा लाग्छ, वर्डप्रेस धेरै राम्रो र प्रणालीबध्द' छ यो भन्दा। अब वर्डप्रेसमै लेखौंकि भन्ने पनि लाग्दैछ, तर यसमा यति लामो बाटो हिँडिसकियो, एक किसिमको 'आत्मीयता' बनिसकेको छ यो संग भनेर ब्लगस्पट छोड्न सकेको छैन अझै।
मैले माथि पनि भनें म आफ्नोलागि मात्रै नभएर अरुले पनि पढिदिउन् भन्ने चाहनाले लेख्छु। त्यसैले 'अमूर्त मनोवाद' लेख्ने रहर कहिल्यै पलाएन ममा। निश्चित रुपमा आफ्नो मान्यता र विचारमा सम्झौता कहिल्यै गरेको छैन, लेखनमा पनि। तर त्यहि आफ्नो मान्यता र विचारलाई अरुका सामुपनि राख्ने मेरो प्रयास हो। यसो गर्दा साथी पनि बन्छन्, शत्रु पनि बन्छन्। तर यो राम्रो हो, 'तिल' र 'चामल' छुट्टिएकै राम्रो।
अलिक ढिलै भएपनि ब्लगको दुनियाँमा प्रवेश गरेकोमा म खुशी छु, अरु कारणले पनि। ब्लग यो दुनियाँको वैकल्पिक सञ्चार माध्यमको रुपमा छ। ब्यक्तिगत रुपमा मेरो लागि यो आफूलाई अगाडि लाने सबैभन्दा भरपर्दो माध्यम बनेको छ र मैले धेरै सम्भावनाहरु देखिसकेको छु यसमा। मलाई लाग्छ ब्लग र सामाजिक सञ्जाल (Social Networking Sites) को राम्रोसंग संयोजन गर्न सक्ने हो भने धेरैजसो मूलधारका सञ्चारमाध्यमविनानै काम चलाउन सकिन्छ। दोश्रो, भर्खरै बामे सर्दै गरेको नेपाली ब्लग दुनियाँको एउटा सहयात्री बन्न पाउँदाको गर्व झन् अनमोल छ मेरा लागि।
मैले आफ्नो गफ राखें माथि। अब मलाई तौलिने काम तपाईँहरुको।
र अन्त्यमा तपाईँहरु सबैलाई मुटुदेखिको धन्यबाद!