September 05, 2010

संक्रमणकाल

आफूले सुनेका/पढेका तर नभोगिएका परीवर्तनहरुसंग चिनजान गर्दैछु। सात वर्ष यसै पनि लामो समय हो, यो अवधिमा परीवर्तनको गति जतिसुकै मन्द हुने समाजमा पनि धेरै कुरा फेरिएको देखिन सक्छ। परीवर्तन भएका कति कुरा प्राकृतिक र स्वाभाविक हुन्छन्। धेरै चिनजानका ब्यक्तिहरुको निधन भईसकेको हुन्छ, धेरै नयाँ बच्चाहरु थपिईसकेका हुन्छन् समाजमा। आफू जाँदाका साना बच्चाहरु किशोर बनिसक्छन् र किशोरहरु बलिष्ट वयष्क बनिसकेका हुन्छन्। एउटा फरक परिवेश र स्थानमा बिताएपनि आफूले पनि यो अवधिमा बिताईएको उहि सात वर्ष हो, तर यो अवधिको परीवर्तनलाई प्रत्यक्ष देख्न नपाएको हुँदा कता-कता के-के अनौठो लाग्दो रहेछ। आफ्नो मनमा आफूले छोडेर जाँदाकै चित्र बाँकी हुँदो रहेछ र त्यहि चित्रका आधारमा सबै कुरा चिन्ने-खोज्ने निरर्थक चाहना पनि हुँदो रहेछ।

हाम्रो देशका लागि यो कालखण्ड अझ विशेष रह्यो। यहि अवधिमा धेरै ठूला राजनीतिक परीवर्तनहरु भए।

नयाँ परिवेशमा पुगेको आफ्नो समाज र देशसंग फेरि परिचय गाँस्ने क्रममा छु यतिखेर, अर्को शब्दमा अहिलेको ‘फेशनेवल’ वाक्यांश ‘नयाँ नेपाल’ संग चिनजान गर्दैछु। त्यो परिवेशमा आफ्नो ठाऊँ खोजिरहेछु र आफ्नो परिचय निर्माण गर्न खोजिरहेछु। भौतिक, मानसिक सबै हिसाबले एउटा संक्रमणबाट गुज्रिरहेछु।

नेपालको जिन्दगी अप्ठेराहरुले भरिएको छ। अप्ठेराहरु हिजोपनि थिए, र आज अप्ठेराहरु नघटेका बरु झन् बढेको पाएँ मैले। वर्षौंको अस्थिर राजनीति र सीमाहीन मौलाएका भ्रष्टाचार, नीतिहीनता र दण्डहीनताका कारण देश झन्-झन् जर्जर हुँदै गईरहेको छ। केहि मान्छेहरु “कत्रा-कत्रा परीवर्तन भए---“ भनेर घमण्डले खोक्छन् तर राजनीतिक परीवर्तन हुनुनै कुनै ठूलो कुरा होईन। राजनीतिक परीवर्तनसंगै प्रणालीबद्ध सामाजिक-आर्थिक विकास र समृद्धि जोडिएर आउन सक्यो भनेमात्रै त्यो राजनीतिक परीवर्तन गर्व गर्न लायक हुन्छ। यतिखेर, देशको राजनीतिक प्रणालीमा जति परीवर्तन भए पनि सत्तासंयन्त्रको काम गर्ने शैलीमा कुनै परीवर्तन देखिएको छैन। आफूलाई नयाँ भनाउने शक्तिहरु पनि पूरानै भ्रष्ट र असक्षम प्रणालीभित्रै आफ्नो भाग खोज्न र त्यसमै रमाउन अभ्यस्त हुन थालेका छन्। एउटा थोत्रो-बिग्रिएको गाडीमा चालक फेरिएजस्तै स्थिति छ अहिले। गाडी नयाँ नबनुञ्जेल थोत्रो-बिग्रिएको गाडीमा चालकमात्रै फेर्दैमा केहि हुनेवाला छैन।

नेपाली जिन्दगीका अप्ठेराहरु भोग्ने बानी पार्दैछु। शुद्ध सफा पानीको अभाव र वर्षैभरिको लोडशेडिङ्ग यतिखेरको नेपाली जिन्दगीलाई परिभाषित गर्न सकिने सबैभन्दा सटीक प्रतीक हुन्। हिजोदेखि आजसम्म देश चलाउनेहरुमा अलिकति मात्रै पनि सृजनात्मकता, अलिकति मात्रै पनि संवेदनशीलता भईदिएको भए हामीले पूरै देशमा विद्युतीकरण गरीसकेका हुन्थ्यौं यतिखेरसम्म, तर त्यो हुन सकेन, र अझै केहि समय हुने छाँट देखिँदैन। जबसम्म हाम्रो राजनीति समाजका सबैभन्दा धूर्त र कपटी मान्छेहरुको बन्दी बनीरहन्छ, तबसम्म यो अन्धकार हामीले भोगिरहने छौं।

यो पाली वर्षामा पनि दिनको दुई घण्टा लोडशेडिङ्ग कायमै छ। वर्षामै दुई घण्टा भएपछि हिऊँद लागेपछि स्थिति भयावह हुने निश्चित छ। यहाँ मान्छेहरुको मनमा अठाह्र घण्टे लोडशेडिङ्गको स्मृति आलै छ। यो पालि त्यति वा त्यो भन्दा पनि बढी हुने पक्काजस्तै छ। केहि समय पहिला कालीगण्डकीमा समस्या आउँदा एक हप्ताजति दैनिक आठ घण्टे लोडशेडिङ्ग खपियो। त्यसलाई मैले भावी ‘अठाह्र घण्टे’ खप्ने अभ्यासका रुपमा लिएको छु:) फेरि अहिलेको दैनिक दुई घण्टे पनि तालिकाबद्ध छैन। त्यो दुई घण्टा बाहेक पनि बत्ती कतिखेर जाने र कतिखेर आउने ठेगान हुँदैन। यसैले जिन्दगी तालिकामा चलाउन गाह्रो छ।

पहिला यहि कुराले त्यति घोच्दैनथ्यो होला, किनभने जिन्दगीको एउटा महत्वपूर्ण भागको रुपमा ईण्टरनेटको उपस्थिति थिएन। अहिले हेर्दा, जिन्दगीका महत्वपूर्ण सम्वादहरु, सम्पर्कहरु सबै ईण्टरनेट आश्रित भईसकेछन्। विशेष गरी पेशागत जीवनका लागि आवश्यक सम्पर्क र सम्वादका लागि अरु माध्यमहरुको प्रचलन लगभग पूरै घटीसकेको छ। फोन एउटा विकल्प हुनसक्छ यदाकदा तर यसका आफ्नै सीमा छन् र यो खर्चिलो पनि हुनसक्छ।

हाम्रो ‘संक्रमण’काल यसरी चल्दैछ भने आर्याको पनि आफ्नै संक्रमणकाल चल्दैछ। हामीभन्दा धेरै निश्चिन्त बाल-मनोदशामा बाँचीरहेकाले ऊ खुशीनै छे। शुरुवाती दिनका भाषिक समस्यामाथि बिस्तारै विजय पाउन थालेकी छे उसले, नेपाली राम्रैसंग बोल्ने भईसकी। उसको भाषिक संक्रमणकालको यतिखेरको चरण अनौठो देखिन्छ; उसले नेपाली बोलेको जापानीले नेपाली बोलेको जस्तो लाग्छ भने उसले जापानी बोलेको नेपालीले जापानी बोलेको जस्तो लाग्छ:) ध्वनिगत रुपमा उसको उच्चारण यतिखेर नेपाली र जापानीको ठीक मध्यमा छ। हामी दुईले घरमा कहिलेकाहीँ मात्रै भएपनि ऊसंग जापानी बोलेर उसको जापानी क्षमतालाई बिग्रने नदिने कोशिश गरेको हो, तर त्यो सम्भव हुने छाँट देखिन्न। स्कूल पनि जान थालीसकेकी छे, साथी धेरै बनाएपछि उसले तिब्र गतिमा जापानी बिर्सने निश्चित छ अब।

यतिखेर तीजको आगमन नजिकिएको छ र केहि नेपाली टिभी च्यानेलहरुमा तीजका गीत जतिखेरपनि बजिरहेका हुन्छन्। ती गीत हेर्दै नक्कल गरेर नाच्नु उसलाई सबैभन्दा मनपर्ने काम हो यतिखेर। आमाको कुर्थाको शललाई सारी मानेर जीऊमा बेर्न पनि सिपालु भईसकेकी छे ऊ।

लोडशेडिङ्ग उसका लागि भने रमाईलो कुरो भएको छ। बत्ती जाँदा “बत्ती गयो--!” भनेर कराउनु र आऊँदा “बत्ती आयो--!” भनेर रमाउनु उसको दिनचर्याका प्रिय गतिबिधिहरुमध्येका बनेका छन्। साँझमा बत्ती जाँदा जम्मा हुने भिडमा हिँड्न उसलाई खुब रमाईलो लाग्छ। सडकमा जताततै देखिने फोहरसंग भने अझै अभ्यस्त हुन सकेकी छैन ऊ। बाहिर निस्कँदा “कुसाई! कुसाई!” (गन्हायो! गन्हायो!) भनेर नाक छोपिरहन्छे। त्यसैगरी गाडीका हर्नको आवाजलाई सहने बानी पनि अझै लागिसकेको छैन।

हाम्रा सडकहरुमा देखिने छाडा कुकुरहरु र गाईहरु देखेर भने ऊ खुब खुशी हुन्छे। “ऊ कुकुर!” वा “गाई आयो!” भनेर दंग पर्छे ऊ सडकमा तीनलाई देख्दा।

हाम्रो ‘संक्रमण’काल लोडशेडिङ्ग र छाडा सडकले दु:खी छ, उसको संक्रमणकाल यिनैले गर्दा खुशी छ। बच्चा हुन पाउनुपनि गज्जबकै कुरो हो:)

7 comments:

  1. मेरो आफ्नो व्यक्तिगत कुरा गर्ने भने मलाई यो 'संक्रमणकाल'भन्ने शब्द नै मन पर्दैन ।यो केवल नेताहरूले आफ्नो हुत्तिहारापन र निकम्मापन लुकाउन प्रयोग गर्ने एउटा ढाल मात्रै हो ।

    ४६‍-४७ सालमा पनि नेताहरु 'शिशु प्रजातन्त्र' भन्ने एउटा काइते शब्द प्रयोग गर्थे। मलाई हाँस उठ्थ्यो । मेरो विचारमा कि त प्रजातन्त्र हुन्छ कि एकतन्त्र (वा 'अप्रजातन्त्र') हुन्छ । तर प्रजातन्त्र भएपछि त्यो आफैँमा पूर्ण हुन्छ । शिशु भए त फेरि जवान-बृद्ध हुँदैं मर्ने पनि भयो :)

    कुरालाई छोट्याउँदा, सदन देखि सडकसम्म देखिएको यो अव्यवस्था र छाडापन संक्रमणकालले हैन नेताहरुकै अयोग्यताका कारण पैदा भएको हो ।

    ReplyDelete
  2. Dherai Ramro Dai. Tapai ko yo kadam le Desh pharkina ha mi sabai lai prerana dewos. I hope you are now fully settled in 'new' place and expect to read you more often.

    ReplyDelete
  3. संक्रमणकाल भनेको संक्रमित बिरामी जस्तै हो, राम्रो उपचार गरे निको र बलियो हुन्छ; बेवस्ता गरे मर्छ । देशको उपचार गर्ने डाक्टर-संसद अयोग्य र भ्रस्टचारी निस्के तर तिन्लाई certificate हामीले नै दिएको हो । Dilip Acharya ले भन्नु भए जस्तै प्रजातन्त्र बुढो भएर मरेको तीन बर्ष भैसक्यो । अहिले खुले आम गुण्डागर्दिले (पहिले लुकिछिपी गुण्डागर्दी हुन्थ्यो, शिशु प्रजातन्त्र हुँदा) जन्म लिएको छ । यो कहिले बुढो भएर मर्ने हो ?

    ReplyDelete
  4. मलाईत सारा विश्वनै संक्रमणकालबाट प्रलयकालतिर लम्की राख्या जस्तो लागी राख्याछ.
    वयष्कहरूलाई मननपर्ने तथ्यहरू बच्चाहरूलाई मन पर्दो रहेछ ...राम्रो लाग्यो.

    ReplyDelete
  5. माफ गर्नु होला यस पाली तपाईका सबै लेखहरु पढ्न ढीला भईरहेको छ। ब्यस्त रहे केही समय।
    सबै तिर बाट संक्रमणको अबस्था चलेकै छ, देशलाई भाईरसहरुले बेस्करी न्याकेका छन्। दुख लाग्छ सुन्दा पढ्दा र भोग्दा। दिलिपजीले भने जस्तै मलाई पनि यो सबै नेताहरुले आफू मानी माथी ओभानो भन्ने तरिका निकालेका हुन, कहिले संक्रमण काल, त कहिले शिशु प्रजातन्त्र..आर्याको लागी बरु निकै संकम्रण काल चलेको छ भन्ने कुरा अनुभव र अनुमान गर्न सकिन्छ। उनको राम्रो ख्याल गर्नु होला..
    संक्रमण अबस्थाका बाबजुत पनि तपाईका लेखहरु निरन्तर पढ्न पाईएको छ म त खुसी छु।
    धेरै धेरै धन्यबाद बसन्त जी।

    ReplyDelete
  6. हालको हाम्रो देशको अवस्थालाई एउटा आफ्नै उदाहरण दिएर कस्तो रहेको छ भन्ने कुरा प्रष्ट पार्नु भएको रहेछ ! कति सरल लेखाइ ! खुरु खुरु तपाइँ ले मलाइ गफ सुनाइ रहे जस्तो लाग्यो !

    अनि यो संक्रमणकाल र शिशु प्रजातन्त्रको बारेमा दिलिप दाइ ले गर्नु भएको सानो बहस पनि सहि लाग्यो ! है बसन्त दाइ !

    ReplyDelete
  7. अप्ठेरोमा बाँचेर पनि हाँस्न नछोड्ने गुण चाहिं नेपालीको मौलिक गुण हो जस्तो लाग्छ मलाई | फर्की फर्की घुम्दै आइहाल्ने हाम्रा चाडबाडहरुले पनि यसलाई जगाई राख्छन|यहाँको लेखले पनि यी परस्पर विरोधी जस्ता देखिने तत्वलाई रमाइलोसंग मिसाएको छ |

    ReplyDelete