August 10, 2017

उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्!

उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्
यसै गरी दिन-दिनै उनलाई मार्नेछन्
उनी संगै दिन-दिनै हामीलाई मार्नेछन्
दिन-दिनै उनलाई मार्नेछन्
र एक दिन
उनलाई सधैंका लागि मार्नेछन्
एउटा आष्थालाई मार्नेछन्
उज्यालोलाई मार्नेछन्
शिकार ढुकेर बसीरहेछन् गिद्धहरु
मौका पाउनसाथ मार्नेछन्

डा गोविन्द के सी लाई मारेर उनीहरु-
शहरको नामी भट्टीमा छिर्नेछन्
डा के सी लाई सम्झँदै उनीहरु
कुखुरका फिला मगाउनेछन्
बुंगुरका साँप्रा मगाउनेछन्
कलेजो, जिब्रो र गिदी मगाउनेछन्
सके सम्म रातो रक्सी मगाउनेछन्
अनी उनीहरु-
डा गोविन्द के सीको मासु खानेछन्
फिला उधार्नेछन्
साँप्रा चपाउनेछन्
भुटेर खानेछन्
पोलेर खानेछन्
साँधेर खानेछन्
कलेजो, गिदी, जिब्रो सब खानेछन्
र डा गोविन्द के सी को रगत पिउनेछन्

भोलिपल्ट शोकसभामा-
उनीहरुको रुवाइ सबैभन्दा चर्को हुनेछ
उनीहरुले ल्याएको माला सबैभन्दा गह्रौं हुनेछ
उनीहरुको शोक मन्तब्य सबैभन्दा लामो हुनेछ
उनीहरुकै मात्र अनुहार हुनेछ टिभीले देखाउने मलामीमा 

उनीहरुले-
डा गोविन्द के सी को भव्य शालिक बनाउनेछन्
सडक, चोक र गल्लीलाई उनको नाम दिनेछन्
उनको नाममा पुरष्कार दिनेछन्
उनको नाममा छात्रवृत्ति बाँड्नेछन्
उनको नाममा विदेश घुम्नेछन्
उनको नाममा पाँचतारे अस्पताल खोल्नेछन्
र त्यसमा ‘गरीबलाई प्रवेश निषेध!’ टाँस्नेछन्

उनीहरुले डा गोविन्द के सी लाई मार्नेछन्
यसै गरी दिन-दिनै उनलाई मार्नेछन्
उनी संगै दिन-दिनै हामीलाई मार्नेछन्
दिन-दिनै उनलाई मार्नेछन्
र एक दिन
उनलाई सधैंका लागि मार्नेछन्
हामीलाई सधैंका लागि मार्नेछन् 

1 comment:

  1. राम्रोसंग नपढे भने फेल भइन्छ,फेल भइयो भने राम्रो जागीर
    पाइदैन,राम्रो जागिर नपाए राम्री बुढी पाईदैन
    त्यसैलेअब खुरुखुरु पढ्नुको विकल्प छैन
    ......अब नमारी नछाड्ने भए डाम्नाहरुले !!

    ReplyDelete