December 28, 2013

बोक्न लायक 'झोला'

गत बुधबार (२०७०, पुस १०) बिहान कृष्ण धरावासीको कथा 'झोला'मा आधारित भएर बनेको सोहि नामको चलचित्र हेरियो। सर्वप्रथम त यो मौका जुटाईदिएकोमा र्याण्डम रिडर्स सोसाइटी अफ नेपाललाई हार्दिक धन्यबाद दिन चाहन्छु।

लाज नमानी भन्नुपर्दा मैले 'झोला' पढेको छैन, मेरो खत्तम समय ब्यवश्थापनले मेरो साहित्य पढाईलाई नराम्ररी बिथोलेको छ। धेरै साथीहरुलेझैं सुन्ने मौका ( 'बुलबुल' लगायतका कार्यक्रमबाट) पनि पाएको छैन। यसैले मैले एकैचोटि कृष्ण धरावासीको कथा पढ्ने र यादव भट्टराईको निर्देशन कला हेर्ने काम गरें हिजोको चलचित्रबाट।

सतीप्रथालाई मूल विषय बनाएको कथाले सय वर्ष अगाडिको नेपाली पहाडी समाजलाई चित्रण गरेको छ। नेपाली चलचित्रहरु सकेसम्म यस्ता सामाजिक-ऐतिहासिक विषयवस्तुमा पस्दै-पस्दैनन् र पसिहाले भने पनि तिनले सामजिक यथार्थलाई राम्रोसंग पस्कनै जान्दैनन्/चाहँदैनन्। यस्ता विषयवस्तुलाई साहित्यले धेरै समाएपनि कथित ‘मूलधार’ नेपाली चलचित्रले समाउने आँट अझै गर्न सकेको छैन् बलिउडको मसला शैलीबाट प्रभावित यो कथित ‘मूलधार’ले आजसम्म गीत, जोकर, फाईट आदि मिसाएर बन्ने ‘ऊँट’ शैलीलाईमात्रै पछ्याऊँदै आएको छ। बेला-बेला फरक धारका चलचित्रले केहि शिक्षा दिन्छन् तर यो कथित मूलधारले ती शिक्षा पटक्कै लिएको देखिँदैन।

‘झोला’ले १०० वर्ष अगाडिको पहाडी नेपाली समाजको चित्रण गर्ने राम्रो प्रयास गरेको छ। प्रदर्शनपछिको अन्तर्कृयामा निर्देशकज्यूले भन्नुभए अनुसार त्यो बेलाको जस्ता घरहरु भएको गाऊँ भेट्न साह्रै मुश्किल पर्यो रे, थुप्रै ठाऊँ चहार्नु पर्यो रे। फिल्म सिटीले यस्तै अप्ठेरोमा साथ दिन्थ्यो शायद। तत्कालीन समाजको प्रतिलिपि तयार पार्न सकिने फिल्म सिटी भैदिएको भए यो ‘झोला’ हामीले अझ चाँडै हेर्न पाऊँथ्यौं होला। त्यस्तै पात्रहरुको संवादको भाषा र शैलीलाई पनि यतिखेरको सट्टा त्यहि बेलामा पुर्याउन सकेको भए अझ राम्रो हुनेथियो। पछि अन्तर्कृयामा पनि अरु केहि सानातिना कमजोरीहरुका कुरा उठेका थिए। सती प्रथाको अन्त्यका लागि चन्द्र शमशेरलाई मात्रै जस नदिई त्यसलाई त्यतिखेरको समाजमा बढेको जागरुकता र विद्रोही भावसंग पनि जोडेको भए पनि हुन्थ्यो जस्तो मलाई पनि लागेको हो, तर अहिले सोच्छु त्यतिखेरको अत्यन्त आतंकित र दमित हाम्रो समाजमा विद्रोह भन्न सकिने विद्रोहनै कति थियो होला र? सतीप्रथाको अन्त्यमा शायद चन्द्रशमशेरकै ‘विवेक’ बढी जिम्मेवार हो कि?

औसत नेपाली चलचित्रहरुभन्दा कलात्मक प्रस्तुतिमा पनि उच्चकोटिको रहेको छ ‘झोला’। तर यस्तै विषयवस्तुमा चीनका निर्देशक चाङ्ग यी मोऊले सन् १९९० को दशकमा बनाएका थुप्रै चलचित्रहरु हेरेर तिनको ‘फ्यान’ बनेको मलाई कलात्मक प्रस्तुतिमा अझ मेहेनत गर्न सकिन्थ्यो जस्तो लाग्यो। चलचित्रले कता-कता डकुमेण्टरीको झल्कोचाहिँ दिन्छ। हुनत यस विषयमा मेरो आफ्नो ज्ञान केहि छैन, म एउटा आम दर्शकको रुपमा यी कुराहरु बोलीरहेछु र निर्माण-निर्देशक समूहका आफ्नै धेरै बाध्यता र सीमाहरु पनि थिए होलान्। अन्त्यमा पृष्ठभूमिबाट बोलिएको “अरु धेरै खाले सतीप्रथाहरु अझै जिऊँदै छन्---“ भन्ने आशयको भनाईलाई अलिक कलात्मक प्रस्तुति पनि दिन सकिन्थ्यो कि?

सबै कलाकारले राम्रो अभिनय पस्केका छन्। समग्रमा, ‘झोला’को दर्शनले मलाई खुशी र गौरवान्वित बनाएको छ। ‘झोला’ को पूरै टिमलाई हार्दिक बधाई! विविधतापूर्ण नेपाली समाजका थुप्रै कालखण्डहरु यस्तै कलात्मक चलचित्रको प्रतिनिधित्व पर्खेर बसीरहेछन्।  ‘झोला’को टिमले अरु धेरै सुन्दर ‘झोला’हरु निर्माण गर्न सकोस्, मेरो हार्दिक शुभकामना! 

2 comments:

  1. धन्याबाद दाई यति राम्रो फिडब्याकको लागी !

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete