June 03, 2013

राष्ट्रिय राजनीतिको धमिलो मुहान

अपार रचनात्मक संभावना बोकेका युवा विद्यार्थीको उर्जालाई एक महिनासम्म झूट, धोकाधडी, बेईमानी र हिंसामा अल्मल्याएर स्ववियु चुनाव नामक नौटंकी तत्काललाई 'स्थगित' नामको स्खलनमा टुंग्याईएको छ।

त्रिभूवन विश्वविद्यालयले आफ्ना आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा गत जेठ २३ गते स्ववियु चुनाव गराउने घोषणा गरेको थियो। त्रिविको यो घोषणासंगै विद्यार्थी संगठनहरु चुनावमा जुटेका थिए र वैध-अवैध सकेजति हत्कण्डाहरु अपनाएर धेरैभन्दा धेरै क्याम्पसका स्ववियुहरु जित्ने योजना बनाएका थिए। तिनका माउ पार्टीहरु पनि स्ववियु चुनावलाई आफ्नै प्रतिष्ठाको लडाईँ बनाऊँदै आफ्ना ‘हुनमान’हरुलाई स्ववियु ‘कब्जा’ गर्न सघाउन क्याम्पस-क्याम्पस छिरेका थिए। यो स्ववियु चुनावको निहुँमा विद्यार्थी संगठनहरु र तिनका माऊहरुले जे-जस्तो ब्यवहार देखाए त्यसले उसैपनि जनताको नजरमा नराम्ररी गिरिसकेको नेपाली राजनीतिको मूल्य झन् तल झरेको छ।

यस बीचमा देशका धेरै क्याम्पसहरुमा राती २ बजेसम्म नयाँ ‘विद्यार्थी’ भर्ना गरिए। शैक्षिक क्षेत्रमा यस्तो भाँडभैलो दुनियाँमा अन्त कतै देख्न त के कल्पना गर्न पनि सकिँदैन। फर्जी विद्यार्थी भर्ना गरीसकेपछि सबै विद्यार्थी संगठनहरु अरुलाई दोषी देखाएर आफूमात्रै पानीमाथिको ओभानो बन्ने कसरत गरीरहेछन्। भर्ना र अन्य निहुँमा क्याम्पसहरुमा तालामाथि ताला पनि थपिईरहेका छन्। स्ववियु चुनावसंगै देशमा चन्दा आतंक पनि बढेको छ र गुण्डाहरुको परिचालन पनि बढेको छ। अहिलेका युवा विद्यार्थी नेताहरु आफ्ना माउ पार्टीका नेताहरुभन्दा बिल्कूलै फरक देखिँदैनन्। भविष्यको राष्ट्रिय नेतृत्वको ठूलो हिस्सामा अहिलेको विद्यार्थी नेतृत्वबाट जानेहरु हुने सम्भावना धेरै छ। साँच्चै त्यस्तो हुने हो र कुनै वैकल्पिक नेतृत्व अगाडि नआउने हो भने हामीले अर्को पचास वर्ष यो देशको राजनीतिसंग आशावादी नभए हुन्छ।

नेपालमा विद्यार्थी राजनीति पञ्चायत विरुद्धको मोर्चाका रुपमा शुरु भएको हो। पञ्चायतकालमा राजनीतिक दलहरु र तिनका भातृसंस्थाहरु प्रतिबन्धित भएका बेला एक हिसाबले यो आवश्यक पनि थियो, तर २०४६ सालपछिको खुल्ला परिवेशमा विद्यार्थी राजनीतिको ‘अन्त्य’ हुनुपर्थ्यो। विद्यार्थी संगठनहरु शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्थ्यो र देशको भविष्यको चिन्ता हुन्थ्यो भने तिनका माऊहरुले पनि त्यहि दिशामा जान प्रेरणा दिनुपर्थ्यो। त्यसो हुन सकेन, दल र तिनका नेताहरुलाई युवा विद्यार्थीहरुको भविष्य र देशको भविष्यसंग कुने सरोकार भएको देखिएन। उनीहरुले देशका शैक्षिक संस्थाहरुलाई आफ्नो नांगो नाचको मैदान बनाईरहे र लाखौं विद्यार्थीहरुको भविष्यलाई तहसनहस पारीरहे। हाम्रा दल र नेताहरुका लागि देशभरिका गरीब युवा विद्यार्थीहरु भनेका आफ्नो सत्तास्वार्थका लागि सडक तताईदिने, लडिदिने र मरिदिने पिउसाहरुभन्दा बढी कहिल्यै हुन सकेनन्।

'दलीय' विद्यार्थी संगठनहरुले गर्ने कथित 'विद्यार्थी' राजनीतिले विद्यार्थीहरुमा उग्रता, अभद्रता, अराजकता, बेईमानी र असहिष्णुताको बाक्लो विष भर्ने काम मात्रै गरेको छ। त्यसैको विस्तारित र विकसित रुप हो हाम्रो भ्रष्ट र असभ्य राष्ट्रिय राजनीति। विद्यार्थी राजनीतिको यो उग्रता, अभद्रता, अराजकता, बेईमानी र असहिष्णुताले यो देशको राष्ट्रिय राजनीति कम्तिमा आऊँदो ५० वर्ष सम्म अहिलेकै जस्तो असभ्य र भ्रष्ट रहने ग्यारेण्टी पनि गरेको छ। दशकौंदेखि स्ववियु राजनीतिले हाम्रा विद्यार्थी नेताका पुस्ता-पुस्तालाई अनुशाशनहीनता, गैर-जिम्मेदारी, बेईमानी र जबर्जस्तीजस्ता ‘राजनीतिक’ भ्रष्टाचार त सिकाएकै छ, आर्थिक भ्रष्टाचारमा पनि पोख्त बनाएको छ। स्ववियु चुनावमा हुने लाखौंको खेलको कसैले कतै हिसाबकिताब बुझाउनुपर्दैन। स्ववियुमा विजयी हुनेले अरु दशौं लाखमा चचहुई गर्न पाऊँछन्। हरेक क्याम्पसका स्ववियुले क्याम्पसमा ‘भर्ना भएका’ विद्यार्थी संख्याको आधारमा प्रति विद्यार्थी २० रुपैयाँ पाऊँछन्। यस्तो आम्दानीको आधा स्ववियु र क्याम्पस प्रशाशनले संयुक्त रुपमा खर्च गर्ने प्रावधान छ भने आधा स्ववियुले मनलागी गर्न पाऊँछन्। संयुक्त निर्णयमा खर्च गरिनुपर्ने आधा रकममा पनि स्ववियुनै हावी हुने निश्चित छ।

अर्कोतिर, हरेक क्याम्पसमा अन्य बिभिन्न स्रोतहरुबाट हुने आम्दानीमा पनि स्ववियुले गतिलो हिस्सा जमाएका छन्। एउटा उदाहरणका रुपमा १५०० जति विद्यार्थी अध्ययनरत एक इञ्जिनियरिङ्ग क्याम्पसलाई लिन सकिन्छ। त्रिविको आंगिक उक्त क्याम्पसमा ‘पूर्ण शुल्कीय’ विद्यार्थीहरुबाट उठ्ने आम्दानीको दुई प्रतिशत स्ववियुलाई दिने सम्झौता भएको छ। ‘दुई प्रतिशत’ सुन्दा थोरै लाग्छ तर स्ववियुले पाउने वास्तविक रकम भने थोरै छैन। जस्तो आर्थिक वर्ष २०६९-७० का लगि स्ववियुले दश लाख रुपैयाँ पाएको थियो। उक्त क्याम्पसमा यस वर्ष केहि कार्यक्रमहरु थपिएकाले आगामी आर्थिक वर्षमा स्ववियुले चौध लाख रपैयाँको हाराहारीमा रकम पाउने निश्चित छ। स्ववियुले यो भन्दा धेरै रकम पाऊने क्याम्पसहरु पनि छन्। यसरी रकम पाऊनु आफैंमा नराम्रो होईन, ईमान्दारहरुको हातमा यति ठूलो रकम पर्दा थुप्रै रचनात्मक र शैक्षिक कामहरु हुनसक्छन् तर अहिलेसम्मको स्थिति हेर्दा सबैजसो स्ववियुहरुमा दुरुपयोगको श्रृंखला कहालीलाग्दोगरी धेरै छ।

स्ववियुहरुको आर्थिक हिसाबकिताबमाथि कुनै लेखापरीक्षण गराउनै नपर्ने प्रावधानले आर्थिक अनुशाशनहीनता र चलखेललाई सजिलो बनाईदिएको छ। स्ववियुले आफ्नो हिसाबकिताब क्याम्पसलाई बुझाए पुग्छ। चुनिएको केहि समयमै स्ववियुका पदाधिकारीहरुको जीवनशैलीमा देखिने द्रूत ‘अग्रगमन’ सबै क्याम्पसमा चर्चाका विषय बन्ने गरेका छन्। देशका कुनैपनि क्याम्पसका प्रशाशनसंग स्ववियुले बुझाएको हिसाबकिताब गहिरिएर हेर्ने र अस्वाभाविक देखिए प्रश्न उठाउने हिम्मत छैन। विद्यार्थी नेताहरुको हरामी उग्रतासंग सबै डराऊँछन् नै, त्यसमाथि तिनैको चाकडी गरेर र तिनैको सिफारिशमा पदीय भागबण्डामा परेका पदाधिकारीहरुसंग विद्यार्थी नेताहरुलाई औंला ठड्याउने नैतिक बल पनि हुँदैन।

कतिपय 'ठूला' क्याम्पसका स्ववियुहरु स्थानीय प्रशाशन र राज्यलाई समेत अटेर गर्ने 'हैसियत'का मानिन्छन्। क्याम्पसको आर्थिक स्रोतको दुरुपयोगले नअघाएर स्थानीय ठेक्कापट्टामा कसैका पक्षमा दादागिरि गरेर आफ्नो 'भाग' लिने काम समेत गरेका छन् स्ववियुहरुले। 

यो देशको एउटा ठूलो दुर्भाग्य यहि हो कि यहाँ युवा विद्यार्थीका पुस्तौं-पुस्ताको उर्जालाई यसैगरी अल्मल्याएर स्खलित पारिएको छ र तिनलाई वस्तुनिष्ठ र ईमान्दार भएर खुल्ला आँखाले देशका लागि, समाजका लागि केहि सोच्न सक्ने, केहि गर्न सक्ने अवसरबाट वञ्चित गरिएको छ। जसले जुन तर्क दिएर उचित ठहर्याउन खोजेपनि कथित विद्यार्थी राजनीति देशको शैक्षिक दुरावश्थाको प्रमुख कारणमध्ये एक हो र यसको वर्तमान संरचनाको अन्त्य हुनैपर्छ। अब विद्यार्थी गतिबिधि 'राजनीति' बाट मुक्त हुनुपर्छ र नेपालका विद्यार्थिले पनि विश्वका अरु देशका विद्यार्थीहरुसंग जीवनका हरेक आयाममा प्रतिष्पर्धी हुन सक्ने ढंगले आफूलाई विकास गर्न पाउनुपर्छ।

बिहानीले दिनको संकेत गर्छ र त्यो संकेत अहिले गतिलो देखिएको छैन। भविष्यको राजनीतिको नदीलाई संग्लो बनाउन त्यसको मुहानको रुपमा रहेको अहिलेको विद्यार्थी राजनीतिलाई संग्लो बनाउनै पर्छ। अबको विद्यार्थी राजनीति शैक्षिक मुद्दा केन्द्रित हुनुपर्छ, त्यसमा राजनीतिक चेत हुनुपर्छ तर नांगो दलीय राजनीति हुनुहुँदैन। एउटा ब्यक्तिको रुपमा हरेक विद्यार्थीको आफ्ना राजनीतिक मान्यता हुन्छन्, उनीहरुलाई मन पर्ने कुनै दल पनि हुनसक्छ, त्यसमा कुनै बन्देज हुनुहुँदैन र हुनपनि सक्दैन तर शैक्षिक संस्थाभित्रका गतिबिधि त्यो वैचारिक आष्था र दलीय आग्रहबाट प्रदूषित हुनुहुँदैन। स्ववियु चुनाव प्रणालीमा आमूल सुधार गरेर यसलाई दलीय छायाबाट मुक्त पारीनुपर्छ, सांगठनिक प्यानल बनाएर उम्मेदवारी दिन नपाउने गरीनुपर्छ। त्यस्तै, स्ववियु चुनावलाई केहि महिनाको राष्ट्रिय उर्जालाई अलमल्याएर स्खलित पार्ने मेलोको रुपमा नभई क्याम्पस-क्याम्पसको स्थानीय गतिबिधिका रुपमा सीमित गरिनुपर्छ। यहि कुरा कथित प्राध्यापक राजनीति र कथित कर्मचारी राजनितिमा पनि लागू हुन्छ। जबसम्म हाम्रा विश्वविद्यालयहरु नांगो दलीय नाचबाट मुक्त हुँदैनन् तबसम्म हामीले यो देशको उज्यालो भविष्यको कामना नगरे हुन्छ।

No comments:

Post a Comment