May 22, 2012

असफल झुण्ड र देशको अनिश्चित भविष्य

धेरै दिन भयो’बन्द’ मनाउन थालेको।

यो देशको संक्रमणकाल कहिल्यै सकिने भएन! वि सं २००७ सालबाट हामीले आधुनिकतातिरको यात्रा शुरु गरेको मानिन्छ। २००७ सालबाट शुरु गरेर अहिलेसम्म हामी सधैं राजनीतिक अस्थिरता र आर्थिक विकासहीनतामा रुमल्लीरहेका छौं। हामीसंगै हाम्रोजस्तै स्थितिबाट यात्रा शुरु गरेका देश विकासको दिशामा धेरै पर पुगिसके, हामी भने निरन्तर पछाडि जाँदैछौं। हाम्रो राजनीतिक नेतृत्व कहिल्यै दूरदर्शी र परिपक्व हुन सकेन। जहिले पनि यसले जनतालाई अलमल्याउने र धोका दिने काममात्रै गर्दै आएको छ। जनता पनि राजनीतिक रुपले सतहमा मात्रै जागरुक देखिन्छन्, त्यहि सतही जागरुकता पनि सृजनात्मक छैन, हिंसात्मक मात्रै छ। यो हिंसात्मक मानसिकताको उदाहरण यतिखेर प्रष्ट देखिईरहेको छ नेपालका सडकहरुमा। जातीय पहिचानसहितको राज्यलगायतका माग राखेर आदिवासी-जनजाति महासंघले गरेको तीन दिने बन्दको आज तेश्रो दिनसम्म जे देखियो, त्यसले देशको भयावह भविष्यको एउटा तस्बीर देखाऊँछ। यो बन्द चरम रुपले हिंसात्मक बनेको छ र आन्दोलनकारीहरु जो प्रति पनि हिंसात्मक बनेका छन्। यो देशमा बन्द सफल हुनु भनेको जनताको समर्थनले सफल हुने होईन, आतंकले सफल हुने हो। जसले जति बढी आतंक फैलाउन सक्छ, उसको बन्द उतिनै सफल हुन्छ। र यो बन्दजति आतंकमय बन्द अहिलेसम्म भएकै छैन भनेपनि हुन्छ। यसमा लागेका नाराहरु एकदमै उग्र र साम्प्रदायिक छन्। एम्बुलेन्सका गाडी समेत रोकिएका छन्, तोडफोड गरिएका छन्; अरु सवारी साधनका कुरा त अब पूराना भए। अघि भर्खर पनि टिभीमा हेरेको थिएँ, आन्दोलनकारीले यात्रुसहितको बसमा पेट्रोल छर्केर आगो लगाएछन्, यात्रुहरु भाग्न भ्याएकाले मानवीय क्षति भने हुन पाएनछ। सञ्चार संस्थाहरु र सञ्चारकर्मीमाथि त योजनाबद्ध आक्रमणनै गरिएको छ।  

बन्दको पहिलो दिन बिहान एउटा टिभी च्यानलमा आदिवासी-जनजाति महासंघका महासचिव आङ काजी शेर्पालाई पहिलोचोटि देखेको थिएँ मैले। अघिल्लो साँझको कुनै कार्यक्रमको पुर्नप्रसारण थियो त्यो। क्षेत्री समाज, नेपालका अध्यक्ष दिल बहादुर क्षेत्री पनि थिए कार्यक्रममा। शेर्पाको प्रस्तुति अत्यन्त साम्प्रदायिक र गालीगलौजले भरिपूर्ण थियो। धेरै त हेर्न पाईँन मैले तर उनी बेला-बेलामा बाहुन-क्षेत्री आदिवासी होईनन्, यिनलाई काशी पु-याउनुपर्छ पनि भन्थे। त्यहि दिन दिऊँसो रिपोर्टर्स क्लबमा पत्रकारहरुसंग बाझाबाझ भयो उनको। उनलाई पूरा बोल्न दिएपछि मात्रै पत्रकारले प्रतिवाद गरेको भए राम्रो हुन्थ्यो, तर शेर्पाका एक-एक शब्दहरु उत्तेजना भड्काउने खालका थिए। अठाह्र दिन सुदूर पश्चिम बन्दा हुँदाचाहिँ समर्थनको कुरा लेख्ने, अनि जनजातिको बन्दको अघिल्लो दिनचाहिँ गोलभेंडा कुहियो भनेर लेख्ने भनेर समेत उनी उनकै शब्दमा 'बाहुन पत्रकार महासंघ' लाई गाली गर्दै थिए। उनीमात्रै होईन, आदिवासी-जनजाति महासंघका अरु नेताहरु, सडकमा देखिने उनीहरुका कार्यकर्ताहरु र फेसबुकसम्मका समर्थकहरु स्वतन्त्र प्रेसका विरुद्ध चर्को विष ओकलिरहेका थिए। आन्दोलनको पहिलो बिहानको पहिलो प्रहरबाटै मेडियामाथिको आक्रमण शुरु भैसकेको थियो। देशभर पत्रकारहरुमाथि सांघातिक आक्रमण भईरहेको थियो, सञ्चारकर्मी चढेका यातायातका साधनहरु जलिरहेका थिए र सञ्चारगृहहरु घेरिएका थिए। आफूले घाईते पारेको पत्रकारलाई उपचार गरेको निहुँमा हिजो बी एण्ड बी अस्पताल समेत घेर्न पुगेका थिए बन्दकर्ताहरु।

उनीहरुका आक्रोश र माग जायज होलान् तर जुन प्रहार मेडियामाथि भयो, त्यो अत्यन्त गलत थियो। यसले उनीहरुकै उद्देश्यलाई ठूलो धक्का पु-याउने निश्चित छ। आफ्ना अनेक कमी-कमजोरीका बावजूद नेपाली सञ्चार जगत आफ्नो ब्यावसायिक धर्ममा राम्ररी अडिएको छ। मेडियाले जे देख्यो, त्यहि देखाउने, सुनाउने वा लेख्ने हो, कुनै एक पक्षको एजेण्डा बोकेर हिँड्ने होईन। सबैलाई थाहा छ, विगत केहि समय यताका हरेक बन्दमा मेडियाले उहि किसिमले काम गरेको छ, कसैलाई काखा वा कसैलाई पाखा पारेको छैन। स्वतन्त्र मेडियामाथिको आक्रमणले यो आन्दोलनको चरित्रलाई तानाशाही स्वरुपको देखाएको छ। तानाशाही र अधिनायकवादी सोच हुनेहरुले जहिले पनि सबैभन्दा पहिला मेडियालाई सिध्याउन खोज्छन्। जंगलमै हुँदा माओवादीले पनि त्यहि गर्न खोजेको थियो, शहर पसेपछि पनि धेरै पटक उसले मेडियालाई समाप्त पार्न खोजेको छ। हिजो सत्ता कब्जा गरेपछि ज्ञानेन्द्रले पनि सबैभन्दा पहिलो निशाना सञ्चारमाध्यमलाईनै बनाएका थिए। 

यो देशलाई संघीयता चाहिन्छ कि चाहिन्न भन्नेमै कहिल्यै राम्रो बहस नभई आज जातीय राज्य हुने कि नहुने भन्ने द्वन्द्वमा देश पुगेको छ। दुबै पक्षमा बिस्तारै जातीय अहंको रंग बढीहेको थियो, प्रचण्डले आफूलाई भेट्न आएका जनजाति नेताहरुलाई उक्साएपछि स्थिति झन् भड्किएको हो। बुटवलमा यो बन्दको उद्घाटन बुंगुर काटेर र बुंगुरको टाउकाको छेउमा 'संघीयता विरोधीलाई यसैगरी काटिन्छ।' भनेर लेखेको कागत राखेर भयो। अब यो देश संघीयतामा जाला पक्कै पनि, तर संघीयता विरोधीहरुको पनि पूराका पूरा अधिकार छ यो देशमा शानका साथ बाँच्ने। उनीहरुले संघीयताको विरोध गरेर कुनै राष्ट्रद्रोह गरेका छैनन्। अनावश्यक उत्तेजना र फरक विचारप्रतिको असहिष्णुताले कसैको पनि भलो गर्दैन। भोलि देशको राजनीतिक हावाले अर्को दिशा लिनपनि सक्छ र सबै फेरि एकात्मक राज्यतिर फर्कन पनि सक्छन्।

सडकमा ‘बाहुनजति काशी जा, क्षेत्रीजति फाँसी जा’ र ‘क्षेत्री-बाहुन काटिन्छ, आलो रगत चाटिन्छ’ जस्ता अत्यन्त घटिया नारा सामन्य भएका छन्। यो उत्ताउलोपन र आतंकवादी शैलीले सबैलाई भड्काईसकेको छ, उनीहरुकै मागप्रति अलि नरम विचार राख्ने बाहुन-क्षेत्रीलाई पनि भड्काईसकेको छ। अब भोलिका दिनबाट त्यो पक्षमा पनि यस्तै उग्रता शुरु भयो भने एउटा रक्तपातपूर्ण स्थिति आउने निश्चित छ। पोखराको सृजनाचोकमा आजै दुईपक्षीय भिडन्त हुने स्थिति आईसकेको थियो, प्रहरी बीचमा बसेर मात्रै टरेको थियो। सानातिना भिडन्त काठमाण्डौंमै पनि भईसकेका छन्।

नेपाली काँचो संघीयताको अर्को रुप पनि देखिन थालेको छ। सिसडोल भनिने काठमाण्डौंको फोहर लगेर फालिने ठाऊँ नजिकका वासिन्दाले हिजो महानगरको फोहर बोकेर गएका गाडी रोकिदिएछन् केहि घण्टा, ‘अर्को राज्यको फोहर हाम्रो राज्यमा किन ल्याएको?’ भनेर। हिजोलाई कुरो मिलेपनि उनीहरुले देश जातीय राज्यमा गए यहि गरिनेछ भनेर भनिसकेका छन्। आज दिऊँसो अर्को खबर आएको छ, खैरेनीटार, मुग्लिङ, नौबिसे आदिका वासिन्दाले राजधानीतिर जाने विद्युत लाईनहरु काटिदिने रे। राष्ट्रिय स्रोत-साधन वितरणको स्पष्ट योजनाविना गर्न लागिएको यो कथित ‘राज्य’ बाँडफाँडले अबका दिनमा यस्ता समस्या प्रशश्त ल्याउने निश्चित छ।

सरकार र बन्दकर्ताहरुबीच हिजैदेखि वार्ता चलिरहेको छ, निष्कर्ष आएको सुनिईसकेको छैन अझै। सरकारका दुई प्रमुख घटक माओवादी र मधेशी मोर्चा दुबैले यो बन्दलाई उचालेका र उत्तेजित पारीरहेका छन्, यसैले वार्तामा यो सरकारको भूमिका साँच्चै निष्पक्ष होला भन्ने कुरामा शंकै छ।

तराईका केहि भागका बन्दलाई लम्ब्याईसकिएको छ र आजको वार्ता राम्रोसंग अगाडि नगए यो नेपाल बन्द पनि लम्बिन सक्छ।

यसैबीच भारतबाट फर्किनासाथ भारतीय राजदूत जयन्त प्रसाद हाम्रा नेताहरुलाई फकाउन र थर्काउन भेटघाटमा हिँडिसकेका छन्, आजको माओवादी-कांग्रेस-एमाले-मधेशी मोर्चा बैठकमा उनीपनि सहभागी हुँदैछन् भन्ने समाचार आएको छ। हाम्रा नेताहरु आफू मिल्न सक्दैनन्, तर एउटा विदेशीले आएर चाकमा लात हानेपछि भने लुरुक्क परेर उसले भनेजस्तै गरी मिल्दिन्छन्।

र देशको भाग्य निर्धारण गर्ने निर्णयहरु एउटा विदेशी राजदूतलाई साक्षी राखेर गर्छन्।

हाम्रो देशको अहिलेको राजनीतिक नेतृत्व असफल पत्रुहरुको एउटा जमात मात्रै हो भन्ने कुरा यसैगरी पटक-पटक प्रमाणित भएको छ।

1 comment:

  1. जयन्तले नै लात मारेर ,भयेपनि भोली सम्ममा,येकल जातीय न भयेको सघीयताको घोषणा भये हुन्थ्यो,नत्र के होला यो देशमा ?

    ReplyDelete