केहि समय पहिला एकजना टाढाका नातेदार पर्नेसंग संगै कतै जानेमा परियो।
“जापान बसेर खासै उपलब्धि भएन कि क्या हो?” एकछिनपछि तिनले सोधे।
“हजूर--? उपलब्धि भन्नाले----?” मैले तिनको कुरा खासै नबुझेको पनि हो, किनभने मलाई मेरो जापान बसाई उपलब्धिमूलकनै लागेको थियो र अझै लागेको छ।
“पैसो त्यति कमाईएन कि क्या हो?” उनले कुरो ‘खुलस्त’ पारे।
“खोई कमाईएन, सर्टिफिकेट बाहेक केहि पनि कमाईएन।“ मैले प्रष्टीकरण दिएँ। जापान जानु अगाडि पनि उनको संगत गरेको र उनको वैचारिक स्तर राम्ररी बुझेकोले कुरोलाई यतै टुङ्ग्याईदिएँ मैले बिस्तारै अरु विषयतिर मोडें।
‘नेपालै बस्छु’ भनेर नेपाल फर्केको पनि एक वर्ष भयो, अस्ति असार मसान्तबाट। माथिको प्रसंग र सम्वाद मेरो यो एक वर्षको औसत स्वरुप हो।
यो एक वर्षलाई अलिक उज्यालै भावले हेर्दा पनि बढीमा मिश्रित अनुभूतियुक्त भन्न सक्छु म। यो एक वर्षमा भोगिएका/देखिएका कुराहरुमध्ये केहिलाई बेला-बेला यहि ब्लगमा पनि लेखेकै छु। कति कुरा भने समायभावले लेख्न सकिएन, कति ईण्टरनेट भरपर्दो नहुँदा लेख्न सकिएन; ती कुरा मनैमा पाके र झरे।
शुरुवाती दिनहरु ‘तँ किन नेपाल फर्केको?’ प्रश्नको वर्षातमा रुझेका थिए, ती दिनहरुका कुरा मैले ‘तँ किन घर फर्किस्?’ मा लेखेको छु। अझ शुरुमा त नेपाल ‘सधैंका लागि’ फर्केको कुरामै विश्वाश गर्दैनथे मानिसहरु। विकसित देशमा केहि वर्ष बसेको मान्छे आफ्नै घर नेपाल फर्कने कुरा असम्भव जस्तो लाग्दो रहेछ कि मानिसहरुलाई? फर्केकै हो भन्ने विश्वाश परेपछि भने सबैको सोधाई ‘नेपालजस्तो झूर ठाऊँमा पनि फर्कने हो? किन उतै नबसेको?---‘ हुन थाल्यो। यस्ता प्रश्नलाई र सधैं विदेशको विदेशै भास्सिएको भए राम्रो हुन्थ्यो भन्ने सल्लाहलाई आफ्नो बुता र शब्दशक्तिले भ्याएसम्म जवाफ दिईयो र आफ्नो मनको कुरो नढाँटी भनियो। समग्रमा भन्नुपर्दा, हामी नेपाल फर्केकोमा खुशी हुनेहरु थोरै भेटियो, हामीलाई मूर्ख भन्नेहरु साह्रै धेरै भेटियो।
दुई-तीन महिना बितपेछि भने अर्को खाले प्रश्नको सामना गर्नुपर्ने भयो। जापानमा ‘कुस्त’ कमाएर फर्केको होला यो भन्ने परेछ र एकथरी मानिसहरु ‘कति ल्याईस् त????’ भनेर सोध्न थाले। बजारमा घर-घडेरी किन्ने सल्लाह दिने, कहिलेकाहिँ ‘घडेरी हेर्न जाऊँ’ नै भन्ने पनि हुन्थे। ‘अब कार चढेर हिँड्नुप-यो, अनि बल्ल पर्सनालिटी देखिन्छ।‘ भन्ने सल्लाह पनि पाईयो:) कुरै-कुरामा ‘करोड त ल्याईस् होला नि!’ भन्ने पनि धेरै थिए। धेरैजसो हाँसेर उडाईयो यस्ता चासालाई, केहि नजिकका मान्छेलाई भने यथार्थ पनि खोलियो।
एक वर्ष बितिसक्दा पनि बजारमा घर-घडेरी ‘नजोडेको' र कार पनि नचढेको देखेपछि भने चासो र प्रश्नहरु अलिक कम भएको छ। ‘जापानबाट यो केहि पनि नकमाई बुंगै फर्केछ!’ भन्ने परेको होला मान्छेलाई अब। राम्रै भयो, अब ताईँ न तुईँका प्रश्नको आक्रमणमा पर्नु परेन।
एक हिसाबले त्यस्ता मान्छेहरुको सोचाई पनि ठिकै हो; यी केहि वर्षमा बटुलेका ज्ञान, शैक्षिक प्रमाणपत्रहरु, फरक समाज र फरक परिवेशका अनुभव आदिलाई नगन्ने हो भने म केहि पनि नकमाई बुंगै फर्केको हुँ। यतिखेरको नेपालले ती कुरालाई पैसाको तुलनामा तुच्छ र बिर्सनलायक ठान्दो रहेछ।
साँचो कुरो भने यहि हो, हामी प्रमाणपत्र र अनुभवहरुमात्रै बोकेर नेपाल फर्कियौं, पढ्न भनेर गइका थियौं र प्राथमिकतामा त्यहि प-यो। छोरी जन्मेपछि उसको स्याहार-सुसार हाम्रो दैनिकीको अर्को महत्वपूर्ण पाटो बन्न गयो। छोरी एकवर्षकी हुँदा मेरो पढाई सकिईसकेको थियो, त्यसपछि उनले पढ्न थालिन्। छोरी नेपाल पठाईदिएको भए मैले दिनको १४-१६ घण्टा काम गर्न पाउने थिएँ होला, अनि विदाका दिन त दुबैजनाले ‘मरेर’ काम गर्न भ्याईन्थ्यो होला। यथार्थमा धेरैले यस्तै गर्छन्, बच्चा केहि महिनाको हुनासाथ नेपाल पठाईदिन्छन् र आफू ‘मरेर’ काम गर्न थाल्छन्।
तर हामीले पैसाभन्दा छोरी आफूसंगै राख्नुलाईनै ठूलो ठान्यौं र छोरी हुर्कँदै जाँदाका हरेक क्षणहरुको साक्षी हुन चाह्यौं। छोरीले हातखुट्टा फालेर खेलेको देख्दाको अनुभूति, ऊ पहिलो पल्ट पल्टिएको देख्दाको खुशी, ऊ बामे सर्दाको आनन्द, ऊ पहिलो पटक उभिएर हिँड्दाको उसको र हाम्रो खुशी, उसको पहिलो शब्द सुन्दाको हर्ष------- हामीलाई यिनै महत्वपूर्ण लागे। यस्ता क्षणहरु र तिनले दिने खुशीको कुनै मूल्य छैन, र ती दोहोरिएर पनि आऊँदैनन्।
यथार्थ कुरा गर्दा, मलाई साना बच्चाहरुलाई बाऊ-आमाबाट छुटाएर राख्नुनै ठूलो अपराध लाग्छ। बाऊ-आमासंगै रहन पाऊनु र उनीहरुसंग आत्मीय भएर हुर्कन पाऊनु हरेक बच्चाको अधिकार हो। बाऊ-आमा सग्लै र स्वस्थ हुँदाहुँदै पनि तिनबाट टाढिएर हुर्किएका बच्चाको मनोदशा राम्रो देखेको छैन मैले। जतिनै माया गर्ने बाजे-बज्यै, काका-काकी वा मामा-माईजू भएपनि तिनले बाऊ-आमाको ठाऊँ लिन सक्दैनन्। कहिलेकाहीँ विशेष परिश्थिति हुनसक्छ, त्यस्तोमा छोटो समयको लागि अलग्गिनु बेग्लै कुरा हो। अझ विशेष परिश्थिति पनि हुनसक्छ; बाऊ वा आमा वा दुबै बितेका हुनसक्छन्, कोहि सेनामा अथवा त्यस्तै खाले पेशामा हुनसक्छन्, कोहि जेलमा हुनसक्छन्। त्यो स्थितिमा परिवारले, समाजले, राज्यले ती बच्चालाई हेर्नुपर्छ र हुर्कने क्रममा तिनलाई सकेसम्म आत्मीय वातावरण दिनुपर्छ। आफ्ना बाऊ-आमा हुँदा-हुँदै भने बच्चाले तिनैका साथमा हुर्किन पाउनैपर्छ।
कहिलेकाहीं पछाडि फर्केर आफ्नो चालीस लागीसकेको जिन्दगीलाई एक पटक हेर्छु म। चरम गरिबी र अभावबाट शुरु भएको मेरो जिन्दगी यतिखेर जहाँ छ, त्यसमा म सन्तुष्ट छु, जुन गति र शैलीमा म यहाँ आईपुगें त्यसमा पनि सन्तुष्टनै छु। फेरि यत्तिमै अडिएर बस्ने पनि छैन म। मलाई के विश्वाश छ भने हाम्रो जिन्दगीमा सबै हिसाबले क्रमिक प्रगति जारी रहनेछ। आर्थिक प्रगति पनि जारी रहनेछ तर यसैका लागि जिन्दगीका अरु सबै खुशी र आत्मीयता त्याग्नु छैन, न नैतिकता र ईमान त्यागेर रातारात अकूत धनमालिक हुनुछ। आर्थिक प्रगति जिन्दगीको एउटा भाग हो, यहिनै पूरै जिन्दगी भने होईन।
यस्तै रह्यो यो एक वर्ष।
अहिलेलाई ‘कति ल्याईस् त???’ घट्दै गएको खुशी मनाऊँदैछु, तपाईँलाई पनि निम्तो छ सामेल हुन, खुशी मनाउन:)