April 23, 2010

जापान:प्राग्इतिहासदेखि आधुनिक काल सम्म

यो हालसालै मैले पढी भ्याएको जापानी इतिहाससम्बन्धी एउटा अंग्रेजी पुस्तक हो। अचेल मेरो अड्डा जाऊ-आऊको समय लम्बिएको छ, रेल र बस गरेरै दुई घण्टाजति बित्छ दिनमा। त्यो समयलाई गरिएको 'सदुपयोग'को पहिलो बाली यहि हो:) 

अमेरिकी इतिहासकार John Whitney Hall  द्वारा लिखित Japan: From Prehistory to Modern Times ले जापानको प्रागऐतिहासिक कालदेखि १९६० को दशकसम्मको इतिहासको विश्लेषण गरेको छ। पकेट साईजमा ४०० पृष्ठमा फैलिएको यो किताब इतिहासमा "सौखीन तर सकृय" रुचि राख्ने मजस्ता पाठकका लागि ठिक्कको मानें मैले। जापानी इतिहासको समग्र कालखण्डको बारेमा संक्षिप्तनै भएपनि आधारभूत जानकारी मिल्यो, अब कुनै कालखण्ड विशेषलाई मात्रै केन्द्रित गरिएर लेखिएका पुस्तक पढ्न पनि त्यति गाह्रो नहोला।

जापान बारेको जानकारी टुक्रा-टाक्रीहरु बटुलेको जस्तो मात्रै भएकोले समग्र इतिहास एकचोटि पूरा पढ्ने रहरको केहि अंश पुग्यो यो किताब पढेपछि। यो एक विदेशीका आँखाले हेरेको जापानको इतिहास हो तर लेखक हलज्यू जापानमै जन्मेर हुर्केकाले उहाँमा रहेको जापानप्रतिको संवेदनशीलताले गर्दानै होला, यो पुस्तकमा पश्चिमी पूर्वाग्रह कतै पनि देखिँदैन, कम्तिमा मेरो बुझाईमा। अब कुनै जापानी इतिहासकारले लेखेको जापानी इतिहास पनि पढ्नुपर्ला; विशेष गरी उन्नाईसौं शताब्दीको मध्यपछिका घटनाक्रमहरु बारे विदेशी र जापानी दृष्टिकोणमा रहेका भिन्नता बुझ्नका लागि। 

यहि किताबले छाडेका केहि मोटामोटी प्रभावहरुमा अडिएर कुरा गरौं आज, तथ्यांकगत कुराहरु वा बिस्तृत घटनाक्रमहरुमा भने त्यति लाग्नेछैन।

इसापूर्व १५०,००० वर्षमै जापानका टापूहरुमा मानव बसोबास भइसकेको संकेत भेटिएका रहेछन्। जापानको वर्तमान राजतन्त्रको शुरुवात भएको मितिचाहिँ इसापूर्व ६६० लाई मानिँदो रहेछ, यहि वर्ष जापानका प्रथम सम्राट 'जिम्मु' ले शाशन शुरु गरेका रहेछन्। जापानीहरु आफ्नो राजवंशलाई संसारको सबभन्दा पुरानो र निरन्तर मान्छन्, तर धेरै इतिहासकारहरु भने त्यो दावीलाई स्विकार गर्दैनन्। जापानी राजवंशको निरन्तरता र जिम्मुकै कथालाई पनि उनीहरु अति दक्षिणपन्थी उग्रराष्ट्रवादी जापानीहरुले आफ्नो प्रभाव फैलाउन बनाएको 'कथा' मान्छन्। इस्वीको सातौं शताब्दीतिरबाटका धेरै कुरा भने स्पष्ट भएकाले जापानी राजतन्त्र कम्तिमा त्यो ताकाबाट भने निरन्तर अस्तित्वमा रहेको छ। यहि हिसाबले पनि यो अहिलेको बिश्वका पूराना राजतन्त्रहरुमध्ये पर्छ, सबभन्दा पूरानै पनि हुनसक्छ। राजतन्त्रको इतिहास लामो भएपनि शाशन-सत्तामा यसको प्रभाव धेरै जसो कमै थियो। इतिहासमा राजतन्त्र प्राय: धार्मिक र औपचारिक दायित्व मात्र निर्वाह गरेर बसिरहेको देखिन्छ भने देशको शाशनचाहिँ सैन्य-सामन्त र युद्ध सरदारहरुको प्रभावमा चलेको देखिन्छ। 

जापान एउटा टापू-देश भएकोले यसको सम्पर्क मूलभूमि (continent) संग कम हुनु स्वाभाविक हो र जापान र जापानी जनता बन्ने प्रकृयामा त्यो भौगोलिक अवस्थितिको प्रशश्त प्रभाव परेको मानिन्छ। पहिलो सहस्राब्दीसम्म जापानको प्रमुख विदेशी सम्बन्ध चीन र कोरीया थिए। चीन र कोरीया हुँदै प्रवेश गरेको बुद्ध धर्मले पहिलो विदेशी प्रभाव ल्याएको थियो जापानमा। जापानीहरुले सातौं शताब्दीमा चीनबाट लिखित भाषा, साँस्कृतिक मान्यताहरु र प्रविधिहरु ल्याए र तिनलाई आफ्नो आवश्यतकता अनुसार परिमार्जन गर्न थाले।

तर त्यसपछिका वर्षहरुमा बिस्तारै जापानका सैन्य-सामन्तहरुले बन्द नीतिको अख्तियार गर्दै लगे र बाँकी बिश्वबाट जापानलाई अलग्याए। यो प्रकृयाले सत्रौं शताब्दीको शुरुमा पूर्णता पायो, जब तोकुगावा इयेयासु भनिने महासामन्तले एक हिसाबले जापानको एकीकरणलाई पूरा गरे र आफ्नो वंशको 'शोगुनतन्त्र' (shogunate) शुरु गरे। जापानका बिभिन्न क्षेत्रीय सैन्य-सामन्तहरु पनि अस्तित्वमै रहे तर तिनको नेता र देशको केन्द्रीय शाशकको रुपमा भने तोकुगावा परिवार रह्यो।

सन् १६०३ देखि १८६८ सम्म रहेको तोकुगावा शोगुन शाशनकाललाई जापानी इतिहासमा 'एदो काल' (Edo period, जापानीमा EDO JIDAI) भनिन्छ। तोकुगावा शोगुनहरुको शाशनको केन्द्र रहेको तत्कालीन 'एदो' भेगकै अहिलेको नाम तोक्यो हो। प्राचीन समयदेखि तोकुगावाहरुको दबदबा नसकिऊञ्जेलसम्म जापानी राजतन्त्रको केन्द्र भने क्योटो रहँदै आएको थियो। यसरी हेर्दा एदो काललाई शोगुनतन्त्र र राजतन्त्रको  समानान्तर शाशनकालको रुपमा पनि लिन सकिन्छ, तर राजतन्त्रसंग कुनै उल्लेखनीय अधिकार भने थिएन।

साढे दुई शताब्दीसम्म जापानलाई बन्द र बाँकी बिश्वबाट अलग गरेर शाशन गरेको शोगुनतन्त्र आन्तरिक र बाह्य दुबै कारणहरुको प्रभावमा परेर समाप्त भयो। दुई शताब्दी पछिको शोगुनतन्त्र धेरै हिसाबले भद्दा, ढोंगी र सौखीन जीवनशैलीको भईकेको थियो। जापानी समाजका आर्थिक लगायतका समस्याहरु समाधान गर्नसक्ने हैसियतमा यो थिएन। अर्कोतिर, पुनर्जागरण र औद्योगिक क्रान्तिबाट शक्ति पाएपछि संसारभरि छरिएका यूरोपेलीहरु कुनै हालतमा पनि जापानलाई खुलाउन र एशियाभित्रका आफ्ना ब्यापारिक र औपनिवेशिक उद्देश्यहरुलाई पूर्णता दिन चाहन्थे। बेलायतबाट स्वतन्त्र भएको अमेरिका पनि केहि समय पछि जापान खोल्न चाहनेहरुको समूहमा मिसियो।

ठूलो सैन्य दलबलका साथ आएका अमेरिकी कमाण्डर म्याथ्यु पेरी (Commodore Perry) ले सन् १८५४ मा जापानलाई बन्द नीति परित्याग गर्न बाध्य पारे। १८५४ देखि दोश्रो बिश्वयुद्धको अन्त्यसम्मको समयलाई जापानको इतिहासको पहिलो आधुनिकीकरणको काल मानिन्छ। दोश्रो आधुनिकीकरणको काल दोश्रो बिश्वयुद्धको अन्त्यपछिको हालसम्मको समय हो।

१८५४ देखिका घटनाक्रमहरु लेखिएको खण्डलाई दोहोराएर पढें मैले। निकट इतिहासका घटनाहरु भएकाले जानकारीहरु बढी बिस्तृत हुनु स्वाभाविकनै भयो तर यो कालखण्डमा जापानीहरुले आफ्नो अस्तित्वमाथि आएका केहि ठूला संकटहरुलाई अत्यन्त सफलतापूर्वक र रचनात्मक ढंगले हल गरेका छन् र आफूलाई द्रूत ढंगले आधुनिकीकरण गरेका छन्। अर्कोतिर यहि कालखण्डमा उनीहरुको अहं र चरम जातिवाद-राष्ट्रवादले उनीहरु स्वयं र बिश्वलाई ठूलो नोक्सानी पनि पु-याएको छ।

१८५४ पछिका दिनहरुमा बल्ल जापानी राजतन्त्र जापानको वास्तविक शाशक बन्न पुग्यो। शोगुनतन्त्र असफल भईसकेपछि जापानी जनताहरु नेतृत्वका लागि राजतन्त्रतिर फर्किए। तत्कालीन मेइजी सम्राट र राजतन्त्रले जापानको आधुनिकीकरण र आर्थिक विकासमा प्रशस्त योगदान दिए। पश्चिमी प्रविधिमा दक्षता हासिल गर्न जोडतोडले लागे जापानीहरु र केहि दशकमै आफूलाई आर्थिक र प्राविधिक दुबै रुपले पश्चिमीहरुको प्रतिष्पर्धी बनाउन सफल भए।

तर बढ्दो आर्थिक शक्ति र बिश्व समुदायमा अग्लिएको छविले उनीहरुलाई औपनिवेशिक महत्वाकांक्षातिर पनि डो-यायो। जापानी नश्लको सर्वोच्चताको भावना र उग्र-राष्ट्रवादले युद्धउन्माद जन्मायो र जापानीहरु चीन, कोरीया लगायतमा आक्रमण गर्दै उपनिवेशहरु बटुल्न थाले। १९०५ को लडाईँमा रुसलाई हराएपछि यो उन्माद अझ बढ्यो र बिस्तारै जापानी शाशनमा सेनाको प्रभाव बढ्न थाल्यो। १९१८ बाट बहुदलीय प्रजातान्त्रिक राजनीतिक प्रणाली शुरु भयो तर दलहरु जनतामा प्रभावकारी रुपले स्थापित हुन र राजनितिमा सशक्त नेतृत्व दिन असफल भए। दलीय राजनीतिको यो असफलताले दक्षिणपन्थी सैन्यशक्तिलाई अझ उत्साहित बनायो र त्यसलाई राजनीतिमा अझ सकृय बन्ने मौका दियो। उग्र-राष्ट्रवादी सैन्य चिन्तन बलियो हुँदै जाने क्रममा सन् १९३३ मा जापानले आफूलाई लिग अफ नेशन्सबाट अलग्यायो र जापान र जापानी समाजको पूर्ण सैनिकीकरण शुरु भयो। दोश्रो बिश्वयुद्धमा जापान, जर्मनी र इटालीसमेतको गठबन्धनमा संलग्न भयो। सन् १९४५ को हिरोशिमा र नागासाकीको त्रासदीमा पुगेरमात्रै यो सैनिकीकरण र अन्धराष्ट्रवादी युद्ध उन्मादको दुखद् अन्त्य भयो।

त्यसपछिका केहि वर्ष जापान अमेरिकी प्रभावमा रह्यो। पूर्ण अमेरिकी प्रभावमा रहेको १९४५ देखि १९५२ को समयमा जापानी समाजको सैनिकीकरणलाई समाप्त पारियो, जापानी सम्राटको 'दैवी' स्तरलाई अस्विकार गर्दै र सार्वभौमसत्ता जापानी जनतामा रहेको घोषणा गर्दै नयाँ संविधान लेखियो र नागरिक शाशनको आधार तयार पारियो। यसबाहेक शिक्षा-प्रणाली, कृषि लगायत जापानी समाजका अरु धेरै पक्षहरुमा पनि सुधार शुरु गरियो। जापानीहरु फेरि पश्चिमा प्रविधि सिक्न र दक्ष हुनतिर लागे। अर्कोतिर, उदार लोकतान्त्रिक शाशनमा पनि जापानीहरु सफल भएका छन्। दोश्रो बिश्वयुद्धपछि जापानमाथि राखिएका नियन्त्रणहरुका कारण सामरिक हिसाबमा जापानको आवाज त्यति ठूलो मानिदैन तर यो एउटा बलियो आर्थिक शक्ति भने बनेको छ।

सन् १९५२ मा अमेरिकी अधीनस्थताको अन्त्यको औपचारिक घोषणा गरियो। सन् १९५३ मा अमेरिकी-जापान आपासी सुरक्षा सन्धि भयो र जापान अमेरिकाको सुरक्षा-छातामा पुग्यो। यस अनुसार, जापानको सुरक्षाको लागि अमेरिका जिम्मेवार हुनेछ तर जापानले अमेरिकी सैन्य-अखाडाहरुका लागि भूमि र सुविधाहरु उपलब्ध गराउनुपर्नेछ। जापानको सामरिक सुरक्षा अहिलेसम्म यसै सन्धिका आधारमा सञ्चालित छ।

सन् १९५६ मा जापान संयुक्त राष्ट्रसंघको सदस्य भयो।

हलज्यूले शीतयुद्धकालीन १९६० को दशकको संक्षिप्त चर्चा गरेर आफ्नो पुस्तकको समापन गर्नुभएको छ। त्यसयता बिश्व राजनीतिमा र जापानकै जीवनमा पनि धेरै परीवर्तनहरु आईसकेका छन्। १९९० सम्म  बिश्व आधारभूत रुपमा दोश्रो बिश्वयुद्धले परिभाषित गरेकै ढाँचामा चलिरहेको थियो। १९९० को दशकको शुरुवातको  साम्यवादको पतन र बिश्वमा उदार लोकतन्त्र र बजार अर्थतन्त्रको अझ सशक्तिकरणले केहि फेरबदल ल्याएको छ निश्चय पनि तर मूल: ढाँचा अझै पनि उहि मान्न सकिन्छ। 

यतिखेर भने चीन, भारत र ब्राजिल जस्ता देशहरु पनि धनी र शक्तिशाली हुँदैछन्। सूचना र बायोप्रविधिले संसारभरिकै आर्थिक/सामाजिक ढाँचामा ठूलो परीवर्तन ल्याऊँदैछन्। अन्तर्राष्ट्रिय शक्ति-संरचनामा ठूलो परीवर्तन हुने, जापान लगायतका सबै देशको स्थितिमा ब्यापक फेरबदल हुने समयको नजिक आईपुगेका हुनसक्छौं हामी। 

 -----------------------------------------------------------------------
एउटा ब्यक्तिले आफ्नो अनुभवमात्र नभै अरुको अनुभवबाट पनि सिक्न सकेजस्तै एउटा देश वा समाजले पनि आफ्नोमात्रै नभै अरु देश वा समाजको इतिहासबाट पनि धेरै कुरा सिक्न सक्छ। जापानको इतिहासका सकारात्मक-नकारात्मक कालखण्डहरुबाट पनि हामीले सिक्न सक्ने कुराहरु धेरै छन्। 

जापानीहरुको कर्मठता, औद्योगिक चिन्तन र लगनशीलताबाट त जो कोहि जहिले पनि प्रभावित हुन्छ नै। जापानीहरुको नयाँ कुरा, नयाँ प्रविधि सिक्ने तत्परता अत्यन्त प्रशंशनीय छ। शत्रु-मित्र जोसुकैका प्रविधि र ज्ञान सिक्ने, ऊ भन्दा दक्ष हुने र त्यो प्रविधि-त्यो ज्ञानलाई आफ्नो सामाजिक-राष्ट्रिय बिशिष्टतामा ढाल्ने प्रकृयानै जापानको संस्कृति हो भनेपनि हुन्छ। ठूल्ठूला संकटबाट निक्लेपछि जुन द्रूत आर्थिक विकासको उदाहरणहरु जापानले बिश्वलाई देखाएको छ, त्यसको पृष्ठभूमिमा यहि तत्परता छ।

अर्कोतिर, जापानको १९२०, १९३० का दशकको दिशाहीन दलीय राजनीति हाम्रो समसामयिकतासंग धेरै अर्थमा मेल खान्छ। त्यो बेलाको उदार लोकतन्त्रले राजनितिमा पकड जमाउन नसक्दा जापान दक्षिणपन्थी सैन्यशाशनको बाटोमा गयो। जब उदार लोकतन्त्रले सशक्त सुशाशन दिन सक्दैन, तब देश दक्षिणपन्थी या बामपन्थी अतिवादतिर भासिने ठूलो सम्भावना हुन्छ। हामी त्यहि संकटको डिलमा पुगेका छौं र दुबैतिरका रक्तपिपासुहरु मुख मिठ्याउन थालिसकेका छन्। 

हामीले सिक्न सक्ने सबैभन्दा सान्दर्भिक पाठ यहि हो शायद।

14 comments:

  1. Good Review Basanta jee

    Thank you

    Rajendra Parajuli

    ReplyDelete
  2. ramro sanga prastut garnu bhayo Basanta jee..
    Japan ma American haru le lekhideko sambhidan le nai chali ra rahechha.. Hamro desh ma matrai tato na chharo ke ko natak garnu parya yo Sambhidan ko name ma..Aba hiroshima, nagasaki jasto ta nabhanau testai testai ta bhai sakyo.. Manchhe hajarau mari sake .. tara pani khai ta chet budhhi.. MU** Neta haru bhanne ki hami MU** bhanne confused bhaye yar ma ta...

    ReplyDelete
  3. यो अंश पढ्दा पनि किताब नै पढे जस्तो लाग्यो । सायद जापान नै सबैभन्दा पुरानो राजतन्त्रात्मक देश होला, किताब मा पनि यदि दावी मज्जैले गरिएको छ भने ।
    मान्नैपर्छ, विगत का कालखण्ड बाट जापान ले धेरै कुरा सिकिसकेको छ, केही वर्ष को अन्तराल मै धेरै प्रगति भएको रहेछ भन्ने बुझिन्छ, यसबाट !
    पुस्तक पढ्नु पनि एउटा रमाइलो बानी हो, जापानीहरु बसमा ट्रेन मा किताब पढ्छन् भन्थे,तपाइ ले नि पढ्न थाल्नुभएछ । यो बानी चाँहि नेपाल का गाडि मा भिडभाड नहुने र गुन्द्रुक जसरी यात्रु नकोच्ने हो भने यहाँ पनि लागु त हुन्थ्यो होला, तर खै के खै के !

    ReplyDelete
  4. Basantaji,
    There is a typing mistake in mentioned year.
    I think it should be 1854 instead of 1954.

    reference:Wikipedia
    Matthew Perry was the Commodore of the U.S. Navy who compelled the opening of Japan to the West with the Convention of Kanagawa in 1854.

    -Rishab

    ReplyDelete
  5. यहाँहरु सबैलाई हार्दिक धन्यबाद!

    रिषभजी, गल्ती औंल्याईदिनुभइकोमा धेरै आभारी छु। १८५४ नै हो हुनुपर्ने, सच्याएको छु।

    ReplyDelete
  6. आकारजीले भन्नुभएजस्तै जापानको ईतिहासको बारेमा केही जानकारी नभएकोले मेरो लागि पनि यो पोस्ट 'किताब' जस्तै भयो ।

    आफूलाई जापानको बारेमा 'मोटामोटी' जानकारी मिलेको माने हैं मैले त, धन्यवाद ।

    ReplyDelete
  7. मलाई लाग्छ सबै भन्दा महत्वपुर्ण कालखण्ड पनि १८५४ देखी दोश्रो विश्वयुद्द सम्मको समय हुनु पर्छ। शासकहरूले बलमत्ता देखाएको ईतिहास ले गर्दा दोश्रो विश्वयुद्दमा जापानी जनताले ठुलो दु:ख भोग्नु पर्यो। र त्यो दुर्घटना पछि पनि कसरी सम्हालिएर १९५५ देखी हाल सम्ममा एउटा प्रमुख आर्थिक शक्ति हुन सफल भए भन्ने सामाग्री पनि रोचक हुन सक्छ ।
    हाल आएर शक्तीसंकलन गर्दै गरेका दुई राष्ट्रहरूको उन्माद देखिन थालि सकेको छ । आशा गरौँ नेताहरूको मुर्खता र सत्ता प्रलोभनले गर्दा हामीले कुनै हविगत भोग्नु नपरोस् ।

    धेरै राम्रो गरेर प्रस्तुत गर्नु भएछ बसन्तजी । धन्यवाद जानकारीको लागी ।
    - रविन्द्र

    ReplyDelete
  8. Basanta jee,

    Thank you very much for very informative and interesting post.

    ReplyDelete
  9. जापानको बारेमा केन्द्रित पुस्तक from prehistory to modern times पढेर हामीलाई पनि प्रसस्त कुराहरु सिक्ने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद बसन्त जी.

    ReplyDelete
  10. यो पुस्तक को समिक्षा एकदम राम्रो लाग्यो बसन्तजी । लेख्दै गर्नु होला । अनी साँच्चै , जापान को मेइजी काल वा दोस्रो बिश्व युद्ध पस्चात को जापान को अर्थतन्त्र को बारेमा लेखियेको कुनै राम्रो पुस्तक तपाईं लाई थाहा छ ? छ भने येसो सिफरिस गरिदिनुस् न है ।

    ReplyDelete
  11. जापानी इतिहासको मोटामोटी चर्चासँगै अझ विस्तारमा बुझ्ने रुची बढाइदिनुभयो। यसरी आफूले पढेको पुस्तकबाट उपयोगी जानकारी बाँड्ने सरको सरहानीय प्रयासप्रति कृतज्ञता जनाउँछु।

    ReplyDelete
  12. दिलिप दाइ, रविन्द्रजी, सुरथ भाइ र पन्थीजीलाई हार्दिक धन्यबाद दिन चाहन्छु।

    सुरथ भाइ, ती कालका जापानी अर्थतन्त्रको विकासका बारेमा मलाई पनि पढ्ने मन छ, कुनै राम्रो किताब हात लागे अबश्य पनि कुरा गरौंला।

    ReplyDelete
  13. BASANTA JEE,
    DHERAI RAMRO LAGYO, SAMCHHIPTA TARA CHAAKH LAGDO SAILIKO LAGI TAPAILAI DHERAI DHANYABAAD.
    HIMAL,KOREA BATA

    ReplyDelete
  14. धन्यबाद हिमालजी!

    ReplyDelete