March 21, 2010

आगो र खरानी

नेपाली कांग्रेसका सभापति एवं देशका पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको निधनसंगै हाम्रो राजनीतिको एउटा कालखण्ड सकिएको छ। हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै उनको आत्माको चीरशान्तिको कामना गर्दछु।

प्रख्यात बेलायती लेखक H.G. Wells ले कतै भनेका छन्; Leaders should lead as far as they can and then vanish. Their ashes should not choke the fire they have lit (नेताहरुले आफूले सकेजति मात्रै नेतृत्व गर्नुपर्छ र त्यसपछि विश्राम लिनुपर्छ। तिनीहरुले बालेको आगो तिनीहरुकै खरानीले पुरिएर निभ्नु हुन्न।) यो उक्ति धेरै हिसाबले गिरिजाको जीवनमा लागू हुन्छ। गिरिजा प्रसाद कोईरालाको योगदानको, उनका महानता र कमजोरीहरुको लेखाजोखा भईरहेको छ र ईतिहासले गरिरहनेछ; तर एउटा कुरा के स्पष्ट छ भने गिरिजाले बालेको 'आगो' लाई उनकै 'खरानी'ले निभाएको छ र त्यो पनि पटक-पटक।

पटक-पटक अवसर पाउने भाग्यमानी नेताहरु कमै हुन्छन् र गिरिजाप्रसाद तिनै भाग्यमानीमध्येका एक थिए। तर हरेक पटक उनी इतिहालसे उनका लागि छुट्याईदिएको उचाईसम्म उठ्न सकेनन्। उनको निधनपछि महशूश भएको रिक्तता उनको राजनीतिक योगदानको उचाईले भन्दा पनि नेपाली राजनीतिमा छ  दशक भन्दा बढीको उनको उपश्थिति र सत्ता-राजनीतिको दुई दशक लामो हालीमुहालीले गर्दा बढी हो। हामी नेपाली यी दुबैको भेद ठम्याउन सक्दैनौं/चाहँदैनौ; त्यो बेग्लै कुरो हो। मेरा कुरा कसैलाई चित्त नबुझ्न सक्छ, कृपया यसलाई मेरो नितान्त नीजि विचार मानेर पढिदिनुहोला।

२०४२ सालको कुरो हो, नेपाली कांग्रेसको सत्याग्रहलाई रामाराजा प्रसाद सिंहको बमले 'उडाएको' थियो भर्खरै। त्यसकै केहि समय पहिलेबाट कांग्रेसी हस्तीहरु पञ्चायत पस्ने लहर पनि छलेको थियो। मेरो वरपरका केहि पुस्तैनी/खाँट्टी कांग्रेसीहरु "अब मन्त्री पायो भने गिरिजा पनि पञ्चायत पस्छ!" भन्थे। ती 'कांग्रेसी'हरुले किन त्यसो भने, यो कुरामा कत्तिको सत्यता थियो मलाई थाहा छैन। त्यसको चार वर्ष पछि पञ्चायतले हावा खायो र शुरु भयो नेपाली सत्ता-राजनीतिको गिरिजा-युग।

२०४६ सालपछिको संसदीय प्रजातन्त्र संस्थागत र सफल हुन नसक्नुमा धेरै कारणहरु खोज्न सकिन्छ तर एउटा प्रमुख कारणचाहिँ गिरिजाकै सत्तालिप्सा, जाल-झेल र कपटनै हो। गणेशमान र कृष्णप्रसाद भट्टराईबाट शुरु गरेर उनले कांग्रेसभित्र आफूभन्दा फरक विचार राख्नेहरुलाई एक-एक गरी अपमान गर्दै र पन्छाऊँदै गए। प्रजातन्त्रको नारा बोकेको कांग्रेसलाई देशकै सबैभन्दा ठूलो सामन्ती संस्था बनाए उनले र आफू त्यसको महासामन्त बने। नेपाली कांग्रेसको केन्द्रीय समितिमात्र उनको पञ्जामा थिएन, उनी कांग्रेसका जिल्ला र गाऊँ समिति देखि लिएर नेविसंघका इकाइ समितिसम्म हस्तक्षेप गरेर आफ्ना 'हनुमान'हरु लाई स्थापित गर्थे। उनले नयाँ पुस्ताबाट नेतृत्व उदाउने मुहानलाईनै थुन्ने कोशिश गरेका थिए धेरै पटक। उनको नेतृत्वको नेपाली कांग्रेसमा कहिल्यै पनि आन्तरिक लोकतन्त्रको हावा चलेन, त्यहाँ कहिल्यै वैचारिक मन्थन भएन। यसैले हामी अहिले दयालाग्दो स्थितिमा पुगेको, लगभग मेरुदण्डवीहिन भईसकेको कांग्रेस देखिरहेछौं।

सरकार चलाउने कुरामा पनि उनको र उनका आसेपासेहरुको पर्याप्त मनोमानी थियो। बहुदलीय प्रणालीको खुल्लापनमा देशले आर्थिक-सामाजिक गति लिईरहेको बेला उनले आफ्नै दलको बहुमतको सरकार  भंग गरेर मध्यावधि चुनाव आह्वान गरे। त्यो चुनावबाट शुरु भएको त्रिशंकु संसदहरु र एकपछि अर्का अझ नालायक सरकारहरुको लहरले देशलाई छिया-छिया बनायो। त्यतिखेर निर्माण गर्न नसकिएको राजनीतिक संस्कार देशले अझै पाएको छैन। उनी जति पटक प्रधानमन्त्री भएपनि उनको शाशनकाल पनि भ्रष्टाचार र बेथितिका चाङ्गले भरिएको छ। देशका नीति-नियमलाई उनले जहिले पनि धोती लगाईदिए र आफू र आफ्ना आसेपासेलाई जहिले पनि देशका नीति-नियमभन्दा माथि राखे। आफ्नी छोरीका हरेक नाजायज हठ, जिद्दी र कर्तुतलाई देशभन्दा माथि राख्ने उनको धृतराष्ट्र प्रवृत्तिले देशलाई अझै कति डस्ने हो, थाहा छैन।

२०४६ सालको गिरिजाको आगोलाई उनको सत्तालिप्साको खरानीले निभाईसकेको थियो। तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिईदिनाले गिरिजा र नेपालका सबै दलका सबै नेताहरुले राजनीतिक 'पुनर्जन्म' लिने मौका पाए। प्रतिनिधिसभा पुनर्स्थापनको अडान लिनु र २०६३ को जनआन्दोलनलाई सफलतापूर्वक नेतृत्व दिनुले उनको राजनीतिक उचाई बढ्यो र जनताले पूराना कुरा पनि बिर्सिए। माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन उनले गरेको मेहेनत पनि ज्यादै प्रशंशायोग्य छँदैछ। 

गिरिजाले आफूले बालेको २०६३ सालको त्यो आगोलाई जीवन्त राख्न सक्थे। आन्दोलनको समाप्तिपछिनै उनी अभिभावकको भूमिकमा सर्न सक्थे र सकृय नेतृत्वको जिम्मा नयाँ पुस्तालाई दिन सक्थे। त्यतिखेरको उनको नैतिक बलका कारण बाहिर बसेरै पनि उनी वैचारिक नेतृत्व दिनसक्थे देशको राजनीतिलाई। त्यसपछि पनि कम्तिमा संविधान-सभाको चुनाव सकिएको भोलिपल्टबाट अभिभावकको भूमिकामा बस्नसक्थे उनी। तर समयक्रमले उनमा सत्तालिप्सा झन्-झन् बढेको देखायो। माओवादीलाई सरकारको नेतृत्व सुम्पन उनले गरेको दीर्घ आनाकानी हामीले देखेकै छौं। केहि समययता उनको सत्तालिप्सा उनकी छोरी सुजाताका माध्यमबाट केन्द्रीकृत रुपले प्रक्षेपण भईरहेको थियो।

गिरिजाको निधनपछि देशको शान्ति-प्रकृयाले मियो गुमाएको विचार छ धेरैको। एक हिसाबले त्यो ठिकै पनि हो किनभने प्रचण्ड र माओवादीसंग भएका कतिपय कुराकानी र कथित 'मौखिक सहमति' आफूसंगै लिएर गएका छन् उनले। त्यस्ता मौखिक सहमतिलाई 'लिखित सहमति'मा उतार्न नसक्नु उनको  बेईमानी र कमजोरी दुबै हो। उनले चाहेका भए त्यो अवश्य पनि सक्थे होलान्। त्यस्ता 'मौखिक सहमति' के कति भएका छन्, त्यस बारेमा माओवादीले आत्मा साक्षी राखेर जनतालाई बताईदिए देशको भलो हुनेथियो तर माओवादीबाट त्यस्तो कुराको कमै आशा गर्न सकिन्छ। त्यस्ता मौखिक सहमति हुँदै नभएको पनि हुनसक्छ। 'नेपाल' साप्ताहिकमा केहि समय पहिला एउटा लेख पढेको थिएँ मैले, नेपाली राजनीतिमा गिरिजाको शक्तिलाई नेपाल टेलिभिजनको पुरानो टेलिफिल्म "जनैको साँचो" को पर्याय देखाईएको थियो।  स्थिति त्यस्तै पनि हुनसक्छ। गिरिजा हुँदा-हुँदै पनि गत एक वर्ष देखि देशको शान्ति-प्रकृया जहीँको तहीँ छँदैथियो, अझ ओरालो लागेको हुनसक्छ। 

समस्या गिरिजा बाहेकका हाम्रा अरु नेताहरु पनि हुन्। आफ्ना तुच्छ आग्रह र अहंलाई त्यागेर, देश र जनतालाई सबैभन्दा माथि राखेर खुल्ला दिलले छलफल गर्न सक्दैनन् र उनीहरुलाई सधैं कोहि न कोहि 'मनिटर' चाहिन्छ। गिरिजाको उमेर र स्वास्थ्यका कारण उनको निधन अवश्यंभावी भईसकेको थियो र यो स्थितिमा शान्ति-प्रकृयालाई टुंगोमा पु-याउन उनीबाहेकको संयन्त्रको निर्माण र सशक्तीकरण भईसकेको हुनुपर्थ्यो। कांग्रेसका अरु नेता र माओवादी-एमालेले त्यो 'आँट' देखाउन सकेनन्। 

एक राष्ट्रिय सार्वजनिक ब्यक्तित्व भएका कारण उनका बारेमा यति कुरा, यो बेलामा पनि, गर्ने हक म र सबै नेपाली जनतासंग छ भन्ने ठान्छु म।

फेरि एक पटक हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना गर्दछु।
*************************************************
गिरिजाबाट हामीले र विशेष गरी हाम्रा नेताहरुले सिक्नसक्ने कुरा धेरै छन्, जसमा सबैभन्दा प्रमुख वैचारिक-राजनैतिक अडान हुनसक्छ। उनको जस्तो दृढनिश्चय र ईच्छाशक्ति हरेक नेतामा हुनु अनिवार्य छ।

उनको जीवनको नकारात्मक पाटोबाट पनि सिक्न सकिने कुरा धेरै छन्। पहिलो त हरेक नेतामा 'म पनि एकदिन मर्नेछु र मेरा आजका तुच्छ आग्रह र स्वार्थहरु मसंगै एकदिन बाग्मतीमा बग्नेछन्।' भन्ने बोध हुनु अति आवश्यक छ। हाम्रो राजनीति यस्तरी कुरुप हुनुको कारण त्यसमा यो आध्यामिकताको अंश नभएर हो।

अर्को, हरेक दलको नेतृत्वले सधैंभरि 'बूढो गोरुले गाई ओगट्ने' नगरी नयाँ नेतृत्वको, युवा नेतृत्वको विकासमा सघाउनुपर्छ र उसलाई अवसर र चुनौतीहरुले खारिन दिनुपर्छ। एउटा ब्यक्ति या समूहको नेतृत्व क्षमताको परख गर्न बढीमा दुई पूर्ण कार्यकाल हेरेपुग्छ, मृत्युनै कुरिरहनुपर्दैन। हरेक नेताले,  हरेक पुस्ताले एउटा निश्चित बिन्दूमा पुगेपछि सत्ताको दौडबाट आफूलाई अलग गर्ने आँट देखाउन सक्नुपर्छ।

गिरिजापछिको कांग्रेसले यो मामिलामा कुन बाटो लिने हो, समयले देखाउला तर कांग्रेसबाहेकका दलहरुमा पनि स्थिति खासै उत्साहजनक छैन। माओवादी विगत दुई दशकदेखि विना महाधिवेशन तदर्थ चलिरहेछ। युद्ध हाँक्न प्रचण्ड सबैभन्दा सक्षम थिए होलान् तर खुल्ला राजनीतिका लागि उनी चरम रुपले असफल देखिईसकेका छन्। एक हिसाबले 'जनयुद्ध' ताकाको प्रचण्डको आगोलाई त्यसपछिको खरानीले निभाईसकेको छ। माओवादीलाई नयाँ नेतृत्वको आवश्यकता छ, तर माओवादीभित्र प्रचण्डको स्थिति शायद कांग्रेसभित्र गिरिजाको जस्तै गरी स्थापित गरिसकिएको छ र सहजै नेतृत्व परीवर्तन नहुने सम्भावना छ। त्यो एउटा दुखद सम्भावना हो।

आन्तरिक लोकतन्त्र अलिक जीवन्त भएको एमाले (तत्कालीन माले) मा पनि रहस्यमय मदन-आश्रित हत्याकण्डपछि माकुनेको एकछत्र राज भयो। आफ्नै समकक्षी नेताहरु र कार्यकर्तलाई जुधाई-जुधाई माकुनेले १५ वर्ष बिताईदिए र एमालेलाई पत्रु बनाईदिए। संविधानसभाले एमालेलाई तीस सिटे मिनिबसको औकातमा नझारिदिएको भए उनी गिरिजाकै पारामा जीवनभरी एमालेका सर्वेसर्वा बन्थे होलान्। गत बुटवल महाधिवेशनले गरेका वाचा पूरा भए भने केहि आशा गर्न सकिएला एमालेबाट।

16 comments:

  1. बिगतका सबै कुरा बिर्सने र पछिल्ला केहि चरण मात्र याद गर्ने हो भने अहिलेको परिस्थितिमा देशले गिरिजा गुमाउनु देशको र हाम्रा लागि केहि अप्ठेरो परिस्थितिनै हो झैं लाग्छ तर अरु पार्टी छोडेर काँग्रेसको मात्र कुरा गर्ने हो भने काँग्रेसले जहाँनिया बाट मुक्ति पायो ।अब हेरौं काँग्रेसको रुप र भबिष्य कस्तो हुने हो ?

    ReplyDelete
  2. यथार्थ कुरा लेख्ने वानी तपाईको यहाँ नेर पनि प्रश्ट भयो। साह्रै सही कुरा लेख्नु भयो। गिरीजा प्रतिमेरो पनि यस्तै धारणा छ। तर म उनलाई ब्यत्तीगत रुपमा राम्रो नेता मान्दिन् । प्रजातन्त्र पछि आज देश जुन हालतमा गुज्रीएको छ त्यसको महत्वपुर्ण कारक गिरिजानै हुन। आज सम्म देश बनाउने मौका यदि कसैले पाएको थियो भने गिरिजाले नै हो। तर उनले कहिलै पनि राजनेताको जस्तो ब्यवहार गरेनन् र यो मौकालाई उपयोग गर्न पाएनन्।
    तपाई मान्नुस वा नमान्नुस यदी स्बस्थले साथ दिएको भए फेरी प्रधानमन्त्री वा राष्ट्रपति खाएरै छाड्थे उनले अहिले पनि।
    जनता सग सघै झुटको खेती गर्ने उनी गणेशमान र कृष्ण प्रसादको लागि किन राम्रा हुन्थेर? नेपाली राजनितिमा उनले भनेको ग्राईन्ड डिजाईनको रहस्य यस्तै एउटा उदाहरण हो।
    पछिल्लो पटकको पुत्री मोहले त झन उनी उमेरले नै र लामो समय राजनितीमा बिताएको कारणनै सबैको मुली बनेका रहेछन् भन्ने कुरा प्रश्ट भयो।
    बाकी मलाई त कस्तो लाग्छ भने, माओबादीलाई मुलधारमा ल्याउन उनले गरेको योगदानको आज निकै चर्चा हुन्छ तर राजाले नलत्याएको भए गिरिजा माओवादीसगँ मिल्ल सायदै जान्थे होला। नत्र आफू सत्तामा बस्ता कति मौका पाए उनले तर खै? क्षमता गिरिजाको हैन माओबादीको उपयोगीताको राजनितिमा फसेका हुन गिरिजा बाबु।
    त्यसैले मैले आफू प्रजातन्त्रमा बिश्वास गर्ने भएर पनि गिरिजालाई कहिलै पनि राजनेता मान्ने कारण देख्दिन। तर म त उनलाई नेपाली काग्रस भित्रका एक तनाशाहकै रुपमा हेर्छु। उनले गरेको काम पार्टी भित्र कुनै तानाशाहले गरेको भन्दा कम रहेन।
    उनको आत्माले सान्ती पाओस।

    ReplyDelete
  3. यहाँ नेर फेसबुकको एउटा कमेन्ट याद आयो : गिरिजा एक कुसल नेता थिए असल थिएनन | बाँकी अरु नेपाली नेता यी दुवैकुरामा गिरिजाको लेबल भन्दा माथि उठ्न नसकेकोले पनि गिरिजा फेम यति बढेको होला शायद |

    अनि जब सम्म गिरिजा भन्दा कुसल र कमसल अर्को जन्मिदैन ... शायद उनको चर्चा सँधै भैरहने छ ...खरानी भैसके पनि

    ReplyDelete
  4. Meri orse bhee bhavbheeni shradhanjali...

    ReplyDelete
  5. मानिस एउटा निश्चित उमेरमा पुगेपछि 'परिपक्व' भएजस्तै पुरै समाजको 'सामुहिक सोच' मा पनि अबको समयसम्म पुग्दा प्रौढता आउनु पर्छ भन्ने मेरो पनि मान्यता हो ।

    अस्तिदेखी मेरो मनमा कुनै एउटा तेस्रो दर्जाको हिन्दी फ्लिमको संबाद बारम्बार गुञ्जीएको छ : "मरने के बाद सब आदमी अच्छे हो जाते है" ।

    जीउँदो हुने बेलासम्म हरेक कुरामा सराप्ने र मर्ने बित्तीकै भयंकर गल्तीलाई पनि बिर्सेर "अच्छा आदमी" बनाउने समाजका वेहोस समुहको बिचारसंग म पनि कहिल्यै मिल्न सक्दीन ।

    मैले उनको योगदानको अवमूल्यन गर्न खोजेको हैन तर उनको बारेमा यसरी नै यथार्थको धरातलमा बसेर नै लेखाजोखा गरिनु पर्छ ।

    अहिले आएर हिँजोका उनका कट्टर विरोधिहरु नै उनलाइ "अच्छा आदमी" प्रमाणीत गर्न जोडतोडले लागेका छन। जीउँदो रहँदा नै उनले भनेको मानेको भए वा उनको "अच्छा काम" मा सहयोग गरेको भए सायद आज उनको निधन पछि उनलाई असल नेता भएको प्रमाणीत गरेर बर्बराउन मात्रै पर्दैनथ्यो होला ।

    मिलनजीको माथीको टिप्पणीले पनि धेरै सत्यता बोलेको छ ।

    अन्तमा उनको आत्मको चिर शान्तिको कामना गर्दछु ।

    ReplyDelete
  6. आफूले बालेको आगो आफ्नै खरानीले निभाउने प्रवृत्ति हाम्रा नेताहरुको साझा रोगजस्तै देखिन्छ। गिरिजा त मरिहाले, बाँचेका (?) नेताहरुले Wells को भनाइ कतै पढेका/सुनेका छन् कि छैनन् कुन्नि?

    ReplyDelete
  7. सटिक र कनिका केलाइ लेख । नेपाली परिद्दश्य हेर्ने हो भने अहिलेको राजनितिमा असल र कुसल नेता बाबुराम बाहेक कोहि नि देखिन्न । बाबुराम पनि प्रचण्डले माथि आउन दिने कुरामा शंका नै छ ।

    ReplyDelete
  8. वसन्तजी
    निकै राम्रेा , एकदम गहिरिएर यथार्थ , देखेका र भेागेका कुरा लेख्नु भयेा । व्यक्ती सवै थेाक त हैन, उनका पछाडी लामेा संघर्ष वेाकेकेा पर्टी पनि त थियेा । ०६२। ०६३ केा अान्देालन अघिवाट मात्र उनले केही कुरालार्इ छेाडेर राजनेताकेा भूमिका निभाउन खेाजेकेा जस्तेा देखिएकेा थियेा । थुप्रै थुप्रै उदाहरणीय काम गरेर देखाउने मैाका पाएका उनले धेरै कुरावाट माथि उठेर राजनेता वनेर भने देखाउन सकेनन् जस्तेा लाग्छ । संधै सत्ता र शक्तीकेा मियेा वनेर वस्न रूचाउने प्रवृत्ति उनमा हावी भएकेा देखिन्थ्रयेा ।त्यसका लागि जे पनि गर्न पछि नपर्ने उनकै पार्टी भित्रकेा अवस्था हेर्दा देखिन्छ । जे हेास् शान्ती र लेाकतन्त्रका लागि उनले खेलेकेा भूमिकालार्इ सामान्य भन्न मिल्दैन । फेरी एक पटक श्रद्धान्जली ।

    ReplyDelete
  9. विश्लेषण चित्तबुझ्दो छ । यथार्थ निकै हदसम्म केलाएर विचार राख्नुभयो ।
    नकारात्मक चित्रणको प्रचुरतासँगै सकरात्मक कोण पनि उप्किएको छ ।

    चाहेको भए पाँच पटकसम्मको सत्तायात्रामा गिरिजाले धेरै गर्न सक्थे । सत्ता बाहिर रहँदा पनि राजनीतिक घेरा आसपासमै खिचाउन सफल उनले बाहिरबाटै पनि विशेष भूमिका खेल्न सक्थेँ । अडानमा टिकाउ भए पनि त्याग र मोहरहित राजनीतिमा कोल्टे फेर्न नसकेका कारण उनको योगदानलाई शत प्रतिशत रूपमा आँक्न नमिली अंशमा लिनुपर्ने भयो । यद्यपि गिरिजा नेपाली राजानीतिको समुद्रबीचमा टापु थिए । यो स्विकार्नैपर्छ ।

    ReplyDelete
  10. लेख्दा आत्मा साक्षी राखेर लेख्नुपर्छ । आफ्नो लेखनले आफ्नै विचारलाई सम्मान गर्न सकिदैन भने त्यो लेख फगत अर्थहिन अक्षरहरूको महल मात्र हुन्छ अरू केहि हुँदैन । वसन्तदाजूको लेखनशैलीवाट मैले सिकेको कुरा हुन् यी । एकदमै दमदार र ओजपूर्ण लाग्यो विचार । म काहिँपनि असहमत हुन सकिन । ध्रुवजीले आफ्नो लेखमा भन्नुभए जस्तै हामी आलोचना गर्दा र स्तुति गर्दा सन्तुलन गुमाउने गर्छौँ । गिरिजावावूको निधनमा पनि त्यहि भएको हो । यस्तो शोकको घडिमा मानिस भावुक हुनु स्वभाविक हो तर भावनामा वगेर सहि गलत नै छुट्याउन नसक्नेगरि विवेकशून्य हुनु पक्कै राम्रो हैन । गिरिजावावूलाई श्रद्धाञ्जली ।

    ReplyDelete
  11. बसन्तजी,
    लेख एकदम रोचक र यतार्थ छ ।

    ReplyDelete
  12. बसन्तजी,
    लेख एकदम रोचक र यथार्थ छ ।

    ReplyDelete
  13. लेखले गिरिजाप्रसादको भूमिकाको बारेमा निकै गम्भीर सबालहरु उठाएको छ, जो निकै मननयोग्य छन् | प्रजातन्त्रका लागि जीबनभरि नै लडे पनि दलभित्र प्रजातन्त्र चाहिने कुरो उनलाई कहिल्यै थाहा भएन| बिशेष गरी २०४६ सालको आन्दोलनपछिको पहिलो निर्बाचित सरकार बनाउंदाको बेलाको उनको असहिष्णु ब्यबहारले भर्खर भर्खर आएको प्रजातन्त्रलाई भाँड्ने काम गर्यो |
    उनले प्रतिपक्षमा बसेर खेलेका प्राय: सबै भूमिका ठीक छन् , तर कुर्चीमा बसेर खेलेका राजनीतिक भूमिका धेरैजसो बिबादास्पद छन् | आफू बाहेक अरुले पनि केही गर्न सक्छन भन्ने उनलाई लाग्दो रहेनछ र त्यो कुरालाई फेरि धेरैले मान्दा पनि रहेछन, यहि कुरो अचम्मको छ |

    ReplyDelete
  14. प्रतिकृयाका लागि यहाँहरु सबैलाई सादर धन्यबाद!

    ReplyDelete
  15. Our countries`s political scenario seems to be an area engulfed in conflicts and our party leaders as the heads of different gangs ,fighting with each-other without any vision of future.

    ReplyDelete