March 11, 2010

तिम्रो ढुकढुकी

तिम्रो ढुकढुकी

प्रिय, तिम्रो ढुकढुकी सुन्दैछु म-
घना पहाडी बनभित्र कतै
लुकेर बग्ने खोलाको गीत हो यो,
सृष्टिकर्ताले छोडेर गएको
आदिम र अनवरत-
सुन्दर संगीत हो यो;

भारहीन भएको छु म अब-
जिन्दगीको लडाईँमा केहि जितें भने
खुशीको भारी ल्याएर बिसाउन
तिम्रा हातहरु पाएको छु,
जिन्दगीको लडाईँमा कतै हारें भने
आँशुको भारी पोखेर बिसाउन
तिम्रा पाउहरु पाएको छु;

आजै बिलाएँ भने पनि म
यो दुनियाँको आँखाबाट-
तिम्रो अस्तित्वको कुनै छेउमा
मेरो नाम पनि हुनेछ,
तिम्रो धडकनको कुनै भागमा
मेरो धडकनको ध्वनि पनि हुनेछ;

तिम्रो धड्कन सुन्दैछु म
र कल्पनामा तिमीलाई नियालिरहेछु,
प्रिय, तिम्रो ढुकढुकी सुन्दैछु म-
म तिमीलाई पर्खिरहेछु।

(डिसेम्बर १९, २००५; खासुगाई, जापान)

 Image Source: Click Here

यो कविता लेख्दा आर्या अझै आफ्नी आमाको पेटमै थिई। खासमा हामीलाई हुनेवाला बच्चा छोरी हुने हो कि छोरा हुने पनि थाहा थिएन। हामीलाई चासो पनि थिएन, यो एउटा सुखद् 'सस्पेन्स' नै रहिरहोस् भन्ने हामी दुबैको चाहना थियो। त्यतिखेरका हाम्रा डाक्टर योनेमोतोको विचार पनि यस्तै रहेछ।

डाक्टरले अल्ट्रासाउण्डमा बच्चा चलेको देखाउन थालेपछि र बच्चाको धड्कन सुनाउन थालेपछिको कुरा थियो यो। अलिक पछि म बेला-बेला सोविताको पेटमै कान लगाएर बच्चाको धड्कन सुन्थें र चाल अनुभव गर्थें। त्यो एउटा वर्णनातीत रुपान्तरणकारी अनुभव थियो, एउटा आध्यात्मिक अनुभव थियो। आफ्नो बच्चा हुनुको मात्रै होईन, एउटा जीवनभित्र, एउटी नारीको शरीरभित्र अर्को एउटा नयाँ जीवन हुर्किरहेको नजिकबाट देख्न पाउनु एउटा अहोभाग्य मानेको थिएँ मैले। यसलाई एउटा स्वाभाविक र नियमित घटनाको नाम दिएर टार्न नसक्ने भएको थिएँ म। बच्चाको आगमनको प्रकृयासंगै म मेरी जीवनसंगिनी नवमाता र समस्त नारीजगत प्रति अगाध कृतज्ञता भाव र अपार श्रद्धाले भरिन थालेको थिएँ।

त्यतिखेर हामी दुईले गर्ने कुरा स्वाभाविक रुपमा बच्चाकै बारेमा र बच्चाकै लागि हुन्थे। कान थापेर सुनिएका ती धड्कनहरु र हामी दुईका ती अनगिन्ती गुनगुनहरुबाट जन्मिएको हो यो कविता, नवमाता-पिताको मनोदशालाई उतार्ने मेरो सानो प्रयास।

यो कविताको अंग्रेजी अनुवाद मेरो अर्को ब्लग HER WORLD, OUR WORDS मा राख्नेछु। अनुवादको लागि श्वेता बहिनीलाई धेरै-धेरै धन्यबाद!

आर्या पर्सिबाट ४ वर्षकी हुँदैछे। उसलाई जन्मदिनको मंगलमय शुभकामना!

आर्याले आफ्नो आगमनको संकेत दिएपछि शुरु भएको जीवन यात्राको यो नयाँ चरण झन्-झनै रुपान्तरणकारी हुँदै गईरहेछ, किनभने मलाई बच्चाहरु सधैं असाध्यै मन पर्थे र आर्याको संगतपछि ती अझ धेरै मन पर्न थालेका छन्। जाल-झेल, कपट र क्रूरताले भरिएको यो संसार अझै बस्न योग्य यसकारण छ कि यहाँ बच्चाहरु छन्, तिनका निर्दोष आँखाहरु छन्, खुला आकाशजस्ता तिनका मन छन् र तिनका चोखा जिज्ञासाहरु छन्; र यसैले तिनमा नयाँ उडानका अपार सम्भावनाहरु छन्। ।

हरेक बच्चालाई सुखद् बाल्यकाल दिनसक्नुमानै मानवताको भविष्य निर्भर छ, नत्र मानवताका लागि अन्धकार शिवाय केहि छैन।

यो कविता समस्त बच्चाहरुमा नीहित नयाँ उडानका तिनै अपार सम्भावनाहरुमा समर्पण!

17 comments:

  1. ओ हो बसन्तदाइ मलाई आर्या जन्मिदा हजुरले आफ्नो खुशी हामी थुप्रै संग बाड्नु भएको थियो पुरानो याद ताजा भएर आयो --साच्चै कति रमाइला थिए है ति दिनहरु --बाहिनीको नाम खोज्दा खोज्दा ..... हा हा हा!!! साच्चै माथिको कबिता कति सुन्दर छ नानूलाई धेरै धेरै शुभकामना सुन्दर भविश्यको !!!

    ReplyDelete
  2. 'तिम्रो ढुकढुकी' कविता राम्रो लाग्यो । आफ्नो सन्तानप्रति उत्तरदायी सबैलाई त्यस्तो अनुभव हुन्छ । रचनागर्भले कविता बुझ्न र ओजिलो बनाउन अझ मद्दत पुर्याएको छ । सानी नानी आर्याको सुस्वास्थ्यको कामना र धेरै धेरै शुभकामना !

    ReplyDelete
  3. आर्यालाई जन्मदिन को अग्रिम शुभकामना ! अनि खुशि को पल सुसेल्ने 'तिम्रो ढुकढुकी' कविता पनि निकै सुन्दर छ !

    ReplyDelete
  4. I feel envious of those who can fully understand what u write!I feel u r a very balanced writer!

    ReplyDelete
  5. बसन्त जी , नानुको ४ औं जन्मोत्सबको धेरै धेरै शुभकामना । जुन नानीले जन्मनु अगाडिनै तपाईंलाईं यसरी रचनाको लागि प्रेरित गरिन् उनीबाट मैले चाहिं धेरै आसा गरेको छु । धन्यबाद यो मीठो कबिता अनि यस्को पृष्ठभूमिको लागि ।

    ReplyDelete
  6. आर्या लाइ मेरो तर्फ बाट पनि हार्दिक मंगलमय शुभ - कामना छ !

    राम्रो रहेको छ कविता ! अनि बसन्त दाइको यस्तै आफ्ना रुपान्तरकारी अनुभवहरु लेख्ने जुन शैली छ ... त्यसलाई म नपढीरहन सक्दिन .... ! अनि तपाईका लेखाइ हरुमा बाल विशेषज्ञको झलक पाइन्छ ! जुन कुरा मैले अघिल्ला पोस्टहरुमा (यस्तै खाले -आफ्नो बच्चाको बारेमा ) पनि पाएको थिए र भनेको'नि !थिए !

    ReplyDelete
  7. Happy Bday Aryaa in advance !

    एउटा अभिभावकको लागि बच्चाको खुसी र दु:ख नै सर्वोपरि हुन्छ । झन् मानवीय संवेगलाई घना रूपले अनुभूति गर्ने मन छ भने प्रियाताको उचाइ नै अर्कै हुन्छ । तपाईंको यो पोस्टले त्यस्तै मनसँग झलक गरायो । नानी आर्याबारे अघिल्ला लेखिएका पोस्टभन्दा यो अलि आत्मीय तहमा बि निकै न्यानो लाग्यो । मानौँ, हजुरआमाले कपाल मुसारिदिएको होस् । त्यति स्मरणीय लाग्यो ।

    गर्भावस्थामै कान थापेर ढुकढुकी सुन्न पाउने अहोभाग्यमा रम्न पाउने बुबा र त्यति मख्खिने मन निकै भाग्यमानी हो, परिवारको लागि समेत कविता पनि निकै मनकारी लाग्यो । यसमा पनि चौथो लहर विशेष रुचिकर लाग्यो । जीवनपछि जोडिने जीवनको जोर्नीको प्राकृतिकतालाई कति मजाले मुखर गरेको ।
    सुखमय रहोस् यहाँहरू तिनै जनाको पल ।

    ReplyDelete
  8. कविता पुरै सुन्दर भए पनि यि हरफहरु विशेष लागे :
    भारहीन भएको छु म अब-
    जिन्दगीको लडाईँमा केहि जितें भने
    खुशीको भारी ल्याएर बिसाउन
    तिम्रा हातहरु पाएको छु,
    जिन्दगीको लडाईँमा कतै हारें भने
    आँशुको भारी पोखेर बिसाउन

    छोरीलाई जन्मदिनको शुभकामना !!

    ReplyDelete
  9. very nice poem!

    Happy birthday to Aryaa in advance!

    ReplyDelete
  10. 'जाल-झेल, कपट र क्रूरताले भरिएको यो संसार अझै बस्न योग्य यसकारण छ कि यहाँ बच्चाहरु छन्, तिनका निर्दोष आँखाहरु छन्, खुला आकाशजस्ता तिनका मन छन् र तिनका चोखा जिज्ञासाहरु छन्; र यसैले तिनमा नयाँ उडानका अपार सम्भावनाहरु छन्।'

    साधारण जस्तो लाग्ने कुरालाई पनि मनको भित्री कुनासम्म छुने गरी व्यक्त गर्न सक्ने तपाईंको अद्वितीय क्षमताले नतमस्तक नै बनाउँछ।

    आर्या नानीलाई जन्मदिनको धेरै-धेरै शुभकामना!!

    ReplyDelete
  11. वसन्तजी, सर्वप्रथम त सानी नानी अार्याकेा शुभ जन्मदिनकेा उपलक्षयमा हार्दिक मंगलमय शुभकामना ।यहांहरू सवैकेा उत्तरेात्तर प्रगतिकेा पनि कामना गर्दछु ।
    कविता साह्रै राम्रेा लाग्येा ।

    ReplyDelete
  12. ओ तान्जोबी ओमेदेतोउ गोजाइमास आर्या ! पापा नो तांका वा सुबाराशीई! (Happy Birthday Aarya! Papa has written an splendid poem in your name!).

    ReplyDelete
  13. सुन्दर र मनछुने कविता कि पृष्टभूमि...प्यारी सानी फुच्चीलाई जन्म दिनको धेरै धेरै शुभकामना है..!

    ReplyDelete
  14. कान थापेर सुनिएका ती धड्कनहरुको गुनगुनबाट निस्केको यो हृदयस्पर्शी कविता र रचनागर्भको यो मिठो बयान कति मन पर्यो भनि साध्य छैन ।
    प्यारी छोरी आर्यालाई जन्मदिनको धेरै धेरै शुभकामना ....।

    ReplyDelete
  15. विषेश अवसरका लागी लेखिएका पोष्टमा प्रतिक्रिया लेख्न ढिलो आइपुग्दा अप्ठ्यारो लाग्छ नै फेरी पनि छोरी आर्यालाई ढिलैभएपनि जन्मदिनको शुभकामना!

    कविताले मन हर्यो मात्र हैन मन उडाएर त्यहाँ पुर्याईदियो जहाँ मैले त्यस्तै अनुभुति गरेर पनि कविता लेख्न सकेको थिईनं ।

    ReplyDelete
  16. कविता साह्रै राम्रो लाग्यो। अझ मलाई तपाईको सकारात्मक सोंचको तारीफ नगरी रहन सकिन। म चाहन्छु हरेक पुरुषले तपाईले जस्तै नारीको सम्मान गरुन, हरेक पतिले आफ्नी जीवन संगिनीको पीडा बुझुन अनि हरेक पिताले छोराछोरीको भेदभाव नगरी समान अवसर दिउन्। अन्तमा तपाई जस्तो पिता पाऊने भाग्यमानी छोरी आर्यालाई जन्म दिनको धेरै धरै शुभकामन!!!

    ReplyDelete
  17. पढिदिनुहुने, प्रतिकृया दिनुहुने सबैलाई हार्दिक धन्यबाद!

    ReplyDelete