December 30, 2009

यहि यामकै कुरा, फेरि पनि

चाडबाडको याम छ यहाँ। यसैले स्वाभाविक हो, यी चिसा दिनहरुमा पनि मस्ती र अलमस्ती भरिएको देखिन्छ, हावाले मादकता बोकेको देखिन्छ।

यसरी चाडबाडको यामले यी बस्तीहरु छोपिँदा घर र नेपालको याद आउँछ। अर्कोतिर, चाडबाडको यामले नेपाल छोपिँदा पनि नेपालको यादले पुरिन्छु म। यसरी वर्षको धेरै समय उदास हुने मेलो बन्छन्, दुईतिरका चाडबाडका यामहरु।

मेरो यो उदासी, मैले मनमनै कहिले रुँदै-कहिले हाँस्दै सम्झने नेपाल, देश बाहिर बसिरहेका लाखौं नेपालीहरुको साझा भावना हो।

देशबाहिर केहि वर्ष बस्नुमा म बाध्यतामात्रैलाई दोष दिन सक्दिन, अझ बाध्यताको अंश एकदम कम छ भनेपनि हुन्छ। म मेरो महत्वाकांक्षाले घिसारिएर परदेशिएको हुँ, यसमा अरु कुरा थपथाप भएका मात्रै हुन्। महत्वाकांक्षालाई ‘बाध्यता’ नामको खोल ओढाएर किन आफैंलाई ढाटौँ म? यसैले मैले ‘रोईरहनु’मा कुनै तुक भने देख्दिन म। मेरो पूर्ण ‘मानसिक’ भलाई चाँडै नेपाल फर्कनुमानै हुनेछ, जिन्दगीमा अरुखाले समस्याहरु थपिएलान् त्यो बेग्लै कुरा हो।

यो याम डिसेम्बर लाग्दैबाट शुरु भएको माने हुन्छ; मैले अलिक पहिला कुरा गरेको थिएँ बो-नेन-काइको, हो त्यहि बो-नेन-काइको हल्ला-खल्लाबाट। त्यसपछि क्रिशमश। जापानीहरु क्रिशमस मनाऊँछन् र जापानीहरु क्रिशमश मनाऊँदैनन्। क्रिशमस मनाऊँछन् यसकारण कि उनीहरु क्रिशमसको मनोरञ्जन (भौतिक/ब्यापारिक) पक्षहरु सबै पछ्याऊँछन्; मनाऊँदैनन् यसकारण कि क्रिशमसको धार्मिक पक्ष भने त्यति देखिँदैन उनीहरुको क्रिशमस उत्सवमा। अर्को शब्दमा भन्दा जापानको क्रिशमसमा सान्ता क्लज आऊँछन, जिसस क्राईष्ट भने आऊँदैनन्। क्रिशमश धर्म अँगालेका थोरै प्रतिशत जापानीहरुको कुरो होईन यो, बाँकी ‘गैर-क्रिश्चियन' जापानीहरुको हो। हुनत, जापानमात्रै किन, सबै ठाऊँहरु, हाम्रो समाज, पनि यस्तै-यस्तै हुँदै गईरहेका छन्। क्रिश्चियन समाजहरुको सम्पन्नता, उनीहरुका सञ्चार-माध्यमहरुको शक्ति र एक हदसम्म विगत केहि शताब्दीदेखि निरन्तर विश्वभाषाको रुपमा उपस्थित अंग्रेजी भाषाको प्रभावका कारण हुनुपर्छ यो।

पोहरबाट क्रिशमशको औपचारिकता अलि-अलि पूरा गर्नुपर्ने ‘बाध्यता’मा प-यौं हामीपनि। किण्डरगार्टेनमा क्रिशमशको कुरा सुनेर आएपछि आर्याले घरमा पनि कुरा गर्न थाली। यसैले उसका लागि केहि उपहारहरु ल्याईदिन सान्ता हजूरबालाई अनूरोध गर्नैप-यो:) यसपालि त एउटा सानो हरियो क्रिशमश ट्री (प्लाष्टिकको) र केहि झिलिमिली बत्तीहरुको समेत ब्यबश्था गर्नुप-यो। सान्ता हजूरबाले पनि राती आएर एक पोका उपहार त्यहि रुखमुनि राखेर हिँडेछन्:)

जापानको यो यामको अर्को एउटा चलन ‘ओ-सोउजी’ (ठूलो सरसफाई?) हो। सामान्यतया नयाँ वर्षको बिदा शुरु हुने अघिल्लो दिन आफ्नो कार्यस्थलमा सबै मिलेर गरिने सर-सफाईलाई ‘ओ-सोउजी’ भनिन्छ, मेरो अड्डामा हिजो थियो। मेरो विचारमा वर्षान्तमा यस्तो सर-सफाई गर्ने चलन सबैतिर हुन्छ। जापानमा यस्ता औपचारिकता, गतिबिधि आदिलाई अलिक गम्भिरतापूर्वक, अलिक दार्शनिक दृष्टिकोण (philosophical approach) का साथ सम्पन्न गरिन्छ, फरक भए त्यसमै होला।

जापानी भाषाका यस्ता ‘ओ-सोउजी’ जस्ता शब्दको भावानुवाद गर्न सकिन्छ तर ठ्याक्कै मिल्ने नेपाली शब्द खोज्न गाह्रो लाग्छ मलाई। मेरो सीमित नेपाली शब्द-भण्डार, त्यसमा पनि केहि वर्ष बानी परेपछि यस्ता शब्दहरु यतैका बढी आऊँदारहेछन्, मनमा-मुखमा। बो-नेन-काइसम्बन्धी टाँसो बारेमा प्रतिकृया दिँदै (फेसबुकमा) साथी गोविन्द रिजालजीले बो-नेन-काइसंग ठ्याक्कै मिल्ने नेपाली शब्द ‘मैजारो’ हो भन्नुभएको थियो। ‘ओ-सोउजी’ संग ठ्याक्कै मिल्ने शब्द पनि होला, तपाईँलाई थाहा भए जान्न पाउने आशा छ।

हस् त यहि कुराकानीका साथ आजलाई बिदा पाऊँ।

तपाईँहरु सबैलाई नववर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!


December 24, 2009

नेपाली ब्लगरहरु:'सन्तान थरि-थरिका'!

चरो पनि उड्न नपाउने बन्दको दिन, तर केयू नफर्की नहुने! हिजो बेलुका काठमाण्डु पस्दासम्म बन्द हुने सूईँको सम्म थिएन। आकार भाइ असीनपसीन हुँदै हिँडिरहेका थिए। भोक र थकाईले लखतरान भएकोले कतिखेर होष्टेल पुगौंला भन्ने मात्रै ध्याउन्न थियो।

केयू पुग्ने-पुग्ने बेलामा तालुमा चिसो-चिसो केहि खस्यो र अलिकति बग्दै निधारसम्मै पुग्यो। यस्सो छोएर हेरेको, भर्खर भुर्र उडेको परेवाले 'घात' गरेर गएको रहेछ:) आकार भाइलाई साफ रिस् उठ्यो, तर अब रिस कसलाई पोख्ने????

परेवाको बिष्टा पुछ्दै आकार ब्रो सम्हालिएछन् र आफैसंग बोल्दै बाटो लागेछन्, "धन्न भगवान! गाई-भैंसी भने उड्दैनन्!"।
************************************************

"मलाई फेरि पियानो सिक्न मन लाग्यो यार।" राजेश भाइले आफ्नो साथीलाई गफ दिएछन्।
"गफ दिन्छ मुला! तैंले पहिला कहिले पियानो सिक्या' थिस् र?" साथीले समायो।
"होईन, दुई वर्ष पहिला पनि मन लाग्या' थ्यो। अहिले फेरि मन लाग्यो।"
************************************************

सोमबारे औंशीको बिहान थियो। सोमबारे औंशीको दिन एक पटक पनि नबोल्दै नुहाउनु भन्छन्।
अञ्जली, श्वेताअर्चना पनि नबोल्दै नुहाउन भनेर पँधेरातिर जाँदै थिए।
बाँसघारीतिर केहि छ्यास्स ग-यो।
अञ्जली: ऊ--- स्याल---!
श्वेता: लौ, यो त बोली!
अर्चना (एकछिनपछि): तँ पनि बोलिस् नि!
************************************************

सिकारु ब्रो, टाउकोमा पट्टी बाँधेर आईरहेका थिए।
"के भयो ओ सिकारु ब्रो? साथीले सोध्यो।
"के हुनु यार! सधैं बाटोको घरको कौसीमा एउटी च्वाँक देखिन्थी। हिजो मैले आँखा सन्काएँ---।"
"अनि के भो त?"
"मैले आँखा सन्काएँ, उसले पनि आँखा तन्काई।"
"अनि--?"
"त्यसपछि मैले 'आइ लप यू!' भन्दिएँ।"
"अनि, अनि---?" साथीको चासो बढ्दै थियो।
"त्यसपछि उसले फूलले हानी मलाई।"
"अनि---?"
"अनि टाउकोमा घाऊ भयो यी, पट्टी बाँध्नु प-यो---"
"धत्! फूलले लागेर पनि काहीँ घाऊ हुन्छ?" साथी जंगियो।
"पहिला पूरा कुरा त सुन् न यार!" सिकारु ब्रो बोले, "गमलैसहितको फूल भएपछि घाऊ हुन्न त?"
*****************************************************

"ब्लग गर्नु र हावा गफ दिनु बाहेक अरु के के रुचि छन् तपाईँका?" एउटा अलपत्रकारले हावा ब्रोलाई सोधेछ।
"धेरै छन् नि! जस्तो म्युजिकमा पनि विशेष रुचि छ मेरो।" हावा ब्रोले छाती तन्काएर जवाफ दिएछन्।
"ए हो र? अनि बाजागाजा पनि बजाउनुहुन्छ होला है। के के बजाउनुहुन्छ?"
"बजाउँछु नि तीन-चारवटा।" हावा ब्रोले जवाफ दिए, "रेडियो, क्यासेट, आइपोड---।"
हावा ब्रोको जवाफ सुनेर अलपत्रकार अलप भएछ:)
*******************************************************

नविनजी, दीपेन्द्रजी  र दूर्जेयजी पहाड घुम्दै रहेछन्। तल नजिकै एउटा खोला देखिएछ।

"म यो खोलाको गहिराई नापेर आउँछु।" नविनजीले खोलातिर एक 'डाइभ' दिएछन् र कता हराएछन्।

"म यो खोलाको Hydro-power potential चेक गरेर आऊँछु।" दीपेन्द्रजीले पनि खोलातिर एक 'डाइभ' दिएछन्।

धेरै बेर कुर्दा पनि दुईजना नफर्किएपछि दूर्जेयजी आफ्नो Conclusion भट्भट्याऊँदै बाटो लागेछन्; "I think both of them are soluble in water."

(Physicist, Engineer, Chemist)
*******************************************************

एकदिन साँझ सुजनजी र दिलिपजीको ठाक-ठुक परेछ र बोलचालै बन्द भएछ। हुनत बूढा-बूढीको झगडा परालको आगो भन्छन् तर कहिलेकाहीँ यहि परालको आगो निभ्न पनि एक-दुई दिन लागिहाल्छ।

अब दिलिप बूढालाई फसाद परेछ। भोलिपल्ट छ बजे नै अफिस बोला'को रहेछ बोसले, छ बजे अफिस पुग्न पाँच बजे नउठी भएन। बूढा परे भुस् भएर आठ बजेसम्म सुत्ने मान्छे। अलार्म पनि छोरीले कता फाल्दिछे।

केहि उपाय नदेखेर बूढाले यामानको सूचना लेखेर टाँसेछन् सिरानीमाथि; "मलाई भोलि बिहान पाँच बजे उठाईदिनु।"

बिहान उठ्दा झलमल्ल घाम लागिसकेको, पौने आठ भईसकेको रहेछ। रिसले भुन्भुनिँदै गर्दा बूढाका आँखा सिरानीमाथि परेछन्। हिजो बेलुका उनले टाँसेको सूचनासंगै अर्को सूचना पनि रहेछ; "पाँच बज्यो, उठे हुन्छ!"
*******************************************
भूलचूक लिनेदिने!
जय होस् नेपाली ब्लगरहरु र तिनका पाठकहरुको!
सबैलाई क्रिसमसको मंगलमय शुभकामना!

December 18, 2009

'बो-नेन-काइ'को याम

जापानमा डिसेम्बर महिना 'बो-नेन-काइ'को महिना भने पनि हुन्छ। बोनेनकाइ (忘年会) लाई सोझो शाब्दिक अर्थ लगाऊँदा "वर्ष बिर्सने पार्टी" भन्ने हुन्छ। अर्थ पनि त्यहि हो:) संगै काम गर्नेहरु, मिल्ने साथीहरु, संगै पढ्नेहरु भेला भएर बितेको वर्षका समस्याहरु, दु:ख र असफलताहरुलाई भुलेर रमाईलो गर्दै वर्षलाई बिदा गर्ने हो। त्यो रमाईलो भनेको मूलत: बेस्करी खाने र पिउनेनै हो:)

नयाँ वर्ष शुरु भएपछि 'सिन-नेन-काई' (नयाँ वर्षको पार्टी) हरु पनि आयोजित हुन्छन्, यसैगरी रमाईलो गर्दै उज्यालो र आशावादी मनले नयाँ वर्षलाई स्वागत गर्न। मेरो अनुभवले के बताऊँछ भने बो-नेन-काइ जस्तो धेरै सिन-नेन-काइ आयोजित हुँदैनन् र आयोजना भए नै पनि बो-नेन-काइमा जति उत्साह र लगन हुन्छ त्यो सिन-नेन-काइमा भेटिन्न। म गलत पनि हुनसक्छु, जापानवासी अरु साथीहरुले पनि आफ्नो अनुभव बताउनुहुनेछ भन्ने आशा राखेको छु।

डिसेम्बर ५ मा अड्डा (कम्पनी)को कार्यक्रम थियो। यो 'बो-नेन-काइ' थिएन, अड्डाको वार्षिक आन्तरिक सम्मेलन थियो। कम्पनीको सबैभन्दा ठूलो आन्तरिक कार्यक्रम यहि हो। कम्पनीको वर्षभरिको उपलब्धिको समीक्षा, बिभिन्न बिभागका गतिबिधिहरुबारेको प्रस्तुति र उत्कृष्टलाई पुरस्कार, यो एक वर्षभित्रका कम्पनीका नवप्रवेशीहरुको परिचय, समूहगत छलफल आदि गरेर दिन बित्छ। त्यसकारण एक हिसाबले यो पनि बो-नेन-काइनै हो। साँझ परेपछि भने 'साँच्चैको' बो-नेन-काइको रुप लिन्छ यसले; उहि क्या भुँडी फुट्ने गरी खाने र पिउने:)

अड्डाको पोहरको भोजमा अलि एक्लो महशूश भएको थियो। यसपालि त्यस्तो भएन। यहाँ बिताएको समय लम्बिदै जाँदा चिनजान बढ्दै गएर पनि होला। फेरि एउटा प्रस्तुतिमा खोक्नेमा पनि परियो। विषय मसंग त्यति सम्बन्धित नभएपनि विभागीय हाकिमले कुन्नि किन हो जबर्जस्ती भिडाए मलाई। त्यहि प्रस्तुतिले  पनि बेला-बेलाका 'ब्रेक'हरुमा कुरा गर्ने बाटो दियो। नत्र चुरोट नखाने मान्छेले गफ गर्ने साथी पाउनै मुश्किल हुन्छ:)

११ तारीख, शुक्रवारका दिनचाहिँ आफ्नै 'टिम'को बो-नेन-काइ थियो।

यस्ता बो-नेन-काइहरु प्राय: दुई-तीन घण्टाका हुन्छन्। 'नोमिहोदाइ' (निश्चित पैसा तिरेपछि तोकिएको समयभित्र जति पिएपनि, जे पिएपनि पाईने) बो-नेन-काइको अभिन्न अंग हो। 'ताबेहोदाइ' (त्यसैगरी जतिखाएपनि पाईने) पनि संलग्न हुनसक्छ तर धेरैजसो, खाना भने 'सेट' तोकेर अर्डर गरिएको हुन्छ।

सधैं संगै काम गर्ने भएपनि यस्ता कार्यक्रममा अझ धेरै नीजि र आत्मीय कुराहरु जान्ने मौका मिल्छ सबैका बारेमा। हाम्रा टिम प्रमुख कोनोसानले आफ्नी श्रीमती र छोरीहरुको गुनासो गरे धेरै बेर। उनको बढी पिउने बानी र रातभरि हल्ला गर्दै बेसबल हेर्ने बानीले हैरान छन् जस्तो छ उनीहरु र बेला-बेला थर्काईरहँदा रहेछन्। कोनोसानलाई रिस उठ्ननै भयो:) दिऊँसो संगै खाना खाँदै गर्दा पनि कहिलेकाहीँ यो कुरा गर्छन् उनी। 'आइमाइको जातै कच्कचे!' यो उनको एउटा प्रिय 'थेगो' हो।

कोनोनै नाम गरेको तर मभन्दा एक दशक कान्छो अर्को अविवाहित केटो पनि छ। उसलाई भने त्यो दिनको नाबेको पिरोले सताएछ। नाबेमा कति पिरो हाल्ने भनेर रेष्टूरेण्टका वेट्रेसहरु सोध्न आएका थिए हरेक टेबलमा। पिरो पनि दश तहको रहेछ, अरु दुई टेबलकाले १ तह र ३ तहको पिरो रोजे। म पिरो त्यति खान सक्ने मान्छे त होईन तर जापानको 'पिरो' भने मलाई पिरो लाग्दैन, जापान गुलियो खानाको देश हो। मैले ७ वा ८ रोजौं भन्दा कोनो झण्डै बेहोश भ'को:) पछि ५ मा राजी भयो।

तर नाबे खाने बेलामा भने त्यहि पाँचले पनि उसको कानबाट धूवाँ निक्लेको थाहा हुन्थ्यो:) मलाई भने त्यति पिरो लागेको थिएन। अलिकति खाएपछि ऊ त्यहाँबाट हटेर ३ वाला टेबुलमा पुगेर खाँदैथियो। संगै बसेका कोनोसानले भने ५ वालानै 'पचाए'। यो 'पिरो' प्रसंगले पनि रमाईलै गरायो, कोनो हिजो पनि कुरा गर्दै थियो।

कोन्दोऊ, जसको बिहेमा 'जन्त' जाने अवसर मिलेको थियो पोहर, अर्को टेबुलमा थियो। एकछिन ऊसंग कुरा गर्न पुगेको थिएँ। उ बाउ बन्दै रहेछ, बच्चा मे मा जन्मने रे। उसलाई दुई-चार सल्लाह मिसिएका बधाई दिईयो:) कोन्दोऊ जापानमा लोप हुँदै गएको समूहमा पर्छ, तिस नहुँदै बिहे गर्ने र बच्चा जन्माउने युवायुवतीहरु साह्रै कम छन् जापानमा। त्यस्तो सोचाईनै 'आउटडेटेड' मानिन्छ जस्तो छ यहाँ।

त्यसो त जापानमा बिहेनै पनि एउटा 'आउटडेटेड' सोचाइ बनिसकेको लाग्छ।

यो पालिको बो-नेन-काइ रमाइलै रह्यो।
Image Source:Click Here
***************************************

कोन्दोऊको बिहे 
पोहरको कुरा
परारको कुरा

December 14, 2009

शिनोजिमा

[बितेका तीन सप्ताहान्तमा लगातार एउटा न एउटा कार्यक्रममा परियो। तिनैका बारेमा कुराकानी गर्ने विचारमा छु यो र आगामी टाँसोमा (बीचमा विशेष केहि नपरे)।]



नोभेम्बर २९, आइतबार एउटा सानो टूरमा गईयो। हरेक वर्ष सेप्टेम्बरको शुरुवातदेखि देखि नोभेम्बरको अन्त्यसम्ममा अड्डामा १०-१२ वटा यस्ता टूरहरु आयोजित हुन्छन्, कुनै एकदिने (बिहान गएर बेलुका फर्कने), कुनै एक रात बस्ने खालका। आयोजना कम्पनीको ट्रेड यूनियनले गर्छ र खर्चको दुई तिहाईजति कम्पनी ब्यबश्थापनले ब्यहोर्छ। एकदिनको टूरमा जाँदा आफ्नो खर्च लाग्दैन भने पनि हुन्छ, परिवारको पनि आधा मात्रै लाग्छ।

अड्डाका माथिदेखि तलसम्मका धेरैजसो सबै कुनै एउटा न एउटा टूरमा सम्मिलित हुन्छन।

परार, पोहर यस्ता टूरमा जाने मेसो मिलेको थिएन। यसपालि भएका एक दिने टूरहरुमध्ये एउटामा नागोया नजिकैको सानो टापू शिनोजिमा लगिने कार्यक्रम थियो, त्यहि रोजें मैले पनि सपरिवार जाने गरी।

नागोयाबाट ५० मिनेट रेल र त्यसपछि आधा घण्टा फेरी (ferry) चढेर जानुपर्ने रहेछ। दिन बिहानैदेखि बादलु  र अँध्यारो थियो, कतै घुम्न जानेजस्तो पटक्कै थिएन। शिनोजिमाका बारेमा त्यहि दिन बिहान ईण्टरनेटमा अलि-अलि पढे बाहेक खासै धेरै कुरा थाहा थिएन। टूरको ब्यबश्थापन गर्नेहरुले केहि भन्लान् जस्तो लागेको थियो, तर केहि पनि भनेनन्। हामीबाहेक अरु सबै जापानीहरु थिए र उनीहरुलाई नागोयाबाट खासै टाढा नरहेको त्यो सानो टापूको बारेमा सबै थाहा हुनु स्वाभाविक हो, त्यसैले हुनसक्छ। त्यहाँ जानेहरुको प्रमुख कारण भनेकै शिनोजिमाको खाना रहेछ। जापान समुद्री देश, यसै पनि माछा र अन्य समुद्री जीवहरुसंग सम्बन्धित परिकारका लागि प्रसिद्ध, त्यसमा पनि यस्ता साना-साना टापूहरुका परिकार झन् विशेष मानिँदा रहेछन्।

केहि (म काम गर्ने डिपार्टमेण्टका चारजनालगायत) भने माछा मार्नका लागि त्यहाँ जाँदै थिए र केहि दिनदेखि त्यसैबारेको चर्चा र तयारीमा थिए।  उनीहरु बिहान सबैरै टापूमा पुगेर खाना खाने बेलामा मात्रै समूहमा सम्मिलित हुन आईपुगेका थिए। शिनोजिमा माछा मार्नको लागि एकदम उपयुक्त स्थान मानिदो रहेछ। हाम्रो उद्देश्य भने नयाँ ठाऊँ घुम्ने र समुद्र सकेसम्म धेरै 'हेर्ने'  मात्रै थियो:)

कार्यक्रम सोचेजस्तो रमाईलो भने भएन। परिवार-बच्चासहित जाने असाध्यै कम थिए; यसैले आर्याले खेल्ने, कुरा गर्ने आफ्नै उमेरका साथी त्यति पाईन। खाना खाईसकेपछि जम्मा दुई घण्टा थियो, घुम्नको लागि। सबै आ-आफ्नै झुण्डमा रमाईरहेका थिए। नयाँ ठाऊँ-कता जाने, के गर्ने असमञ्जसमा नजिकैको समुद्री किनारमा अलमलिएर कट्यो दुई घण्टा। जाडो दिन भएपनि समुद्री छाल हेरेर र बालुवामा खेलेर आर्या खुब रमाई। यहि भयो यो यात्राको उपलब्धि।

खानामा माछा, अक्टोपस र प्राउनका परिकारबाहेक केहि पनि थिएनन्, ती पनि धेरैजसो काँचै खानुपर्ने। धेरै थरी माछा काँचै खाने चलन छ जापानमा, सोया सस लगायतमा चोभेर। जापान बसेको केहि वर्ष भईसकेकोले त्यति अप्ठेरो लाग्दैन अब। तर त्यहाँ अर्को अलिक अनौठो चलन पनि रहेछ। पन्ध्र से.मी. जति लामो जिऊँदो प्राउनको टाउको निमोठेर फालेर बाँकी भाग सोया र अर्को एकथरी ससमा चोभेर खानुपर्ने रहेछ। धेरैजसोले त्यसैगरी खाए तर हामीजस्तै नसक्नेहरु पनि थिए। नसक्नेहरुका लागि होटेलका कामदारहरुले नाबे (steamboat dish, hot pot) मा हालिदिए ती प्राउनहरुलाई। आफ्नै आँखा अगाडि सलबलाईरहेको देखिएका प्राउनहरुको निर्जीब शरीरमाथि झम्टिईयो एक छिनपछि।

यसरी आफ्नो 'माछा-मासु घटाऊँदै लाने र सकेसम्म छिटो पूरा शाकाहारी बन्ने' योजनामा एउटा ठूलो धक्का लगाईयो। 'रोममा रोमनझैं बन्नु' भनेर मनलाई थुम्थुम्याईयो।

जापानका यस्ता स-साना टापूहरुको हालत बिग्रिन थालेको धेरै भईसकेको रहेछ। घट्दो जनसंख्या र त्यसमा पनि युवाहरुको मूलभूमितिरको पलायनले गर्दा बिस्तारै रित्तिँदैछन् यी टापूहरु। छ किलोमिटरको परिधिमा उभिएको शिनोजिमाको जनसंख्या घटेर २००० जतिमा पुगिसकेछ। घट्दो जनसंख्यासंगै ब्यापारिक/आर्थिक गतिबिधि पनि घट्नेनै भए। यहाँको एउटै हाईस्कूल पनि बन्द भईसकेछ र विद्यार्थीहरु मूलभूमिका हाईस्कूलमा जाँदा रहेछन्। होटलमा खाना खाँदा कामदारहरु सबै ६० कटिसकेकाजस्ता लाग्थे। समुद्र किनारसंगै जोडिएको शिनोजिमाको सुनसान सडकमा हिँड्दा बिस्तारै जीर्ण हुँदै गईरहेका गेष्टहाउसहरु, रेष्टुरेण्टहरु र फर्निचर आदिका पसलहरु थुप्रै देखिन्थे।

यो टापू शहरको भित्री भागमा पस्ने र यहाँका बिशिष्ट बौद्ध मन्दिरहरु हेर्ने रहर भने मनको मनमै रह्यो। गर्मीयाममा मेसो मिले एकचोटि जाने बिचार छ।

   




December 08, 2009

एमालेको सातपुस्ते श्राद्ध

नेपालीमा एउटा Politically incorrect उखान छ; "लूटको धन, फुपुको श्राद्ध" भन्ने (आईमाई भएकै कारण फुपुलाई हेपिएको हो, नत्र फुपु र काका-ठूलाबामा केहि फरक छैन।)। यसलाई अलि मिलाएर "अपुतालीको धन, सात पुस्ताको श्राद्ध" बनाउने अनुमति चाहन्छु। "अपुतालीको धन, सात पुस्ताको श्राद्ध" अहिलेको माकुने सरकारलाई सबैभन्दा सुहाउने विशेषण र यसको समग्र मूल्यांकन हो।

दिल्ली, न्यू योर्क आदि पछि यस्तै सात पुस्ते श्राद्धहरुको अर्को चरण पूरा गर्न अहिले माकुने जम्बो-टोली लिएर कोपनहेगन पुगेका छन्। प्रधानमन्त्रीले जम्मा तीन मिनेट मात्र सम्बोधन गर्न पाउने 'जलवायु सम्मेलन' मा नेपालका धेरै भ्रष्ट नेता र कर्मचारीले देशको धनको श्राद्ध खाएर डकारेर र पाधेर 'वायु' फाल्न पाउने भए। मन्त्रीपरिषद सचिवालयकै एक वरिष्ठ अधिकारीले प्रम र पाँचजना सरकारी अधिकारी बाहेक अरुको काम छैन भनेर सल्लाह दिँदा-दिँदै पनि पाँच दर्जनभन्दा बढीको जन्ती लिएर कोपनहेगनमा के गर्ने हो कुन्नि? नेपालमा जस्तो नारा-जुलुश गर्न र टायर बाल्न त पाईन्न होला त्यहाँ! थुक्क माकुने सरकार!

तर्क पनि कस्तो काईते! जानु-नपर्ने जो-जो अन्मरिएका छन् तिनको खर्च दाताले हाल्दिने रे! 'हामीले हाल्दिने भनेको नेपाललाई सहयोग दिन भनेर छुट्याएको पैसाबाटै हो' भनेर दाताले भनिसकेका छन्। त्यो  त देशलाईनै दुहेको भएन र? त्यसमा पनि अनेक सुबिधाका नाममा चालू बजेटबाटै पनि कति पैसा निकाल्ने होलान्।

माकुने सरकारको चाला ससुरालीको अकूत सम्पत्ति अपुतालीमा आईलागेको कुनै निकम्मा स्वाँठको जस्तो छ, अपुतालीमै आईलागेको सरकार भएर होला।

गाऊँघरमा यस्तै अपुतालीमा आईलागेको सम्पत्तिका कारण मात्तिएर भैंमा न भाँडामा भएका मान्छे देखिन्छन् धेरै। कहिलेकाहीँ चाहिँ अपुतालीमै सम्पत्ति आईलागेपनि नमात्तिई त्यो सम्पत्तिको सदुपयोग गर्ने र अरु थप्ने पनि देखिन्छन्। सोझा एमाले समर्थक मित्रहरुले आफ्नो दलको नेतृत्वको सरकारले पछिल्लो बाटो लिने आशा गरेका थिए होलान्, तिनीहरुसंग अब आत्महत्याभन्दा राम्रो विकल्प छैन शायद।

आफूलाई जम्बो-जेटभन्दा घटी नठान्ने एमालेलाई संविधान-सभाको चुनावले तीस सिटे मिनिबस बनाईदियो। माओवादीले हतारिएर सरकार छोड्नाले र कांग्रेसले अप्रत्याशित रुपमा कथित 'उदारता'  देखाएर 'निगाह बक्स' गर्दिनाले एमालेको तालुमा आलु फल्यो। अवसर जसरी आएको भए पनि एमालेका लागि यो सुनौलो अवसर थियो, नेपाली समाजमा तिब्र गतिले स्खलित भईरहेको आफ्नो छविलाई सुधार्ने र भावी दिनका प्रतिष्पर्धाहरुमा आफ्ना लागि अलिक ठूलो आकारको निश्चितता गर्ने।

तर एमालेको सरकार लाग्यो सातपुस्ते श्राद्ध गर्न!

यो सरकारका कोहि मन्त्री त बिहारको आफ्नो सुसराली गएर आउन पनि राज्यकोषमा आँखा गाड्दा रहेछन्।

आफूलाई 'खाँट्टी' र 'कट्टर' एमाले भन्ने एक-दुई मित्रहरुसंग कुरा भएको थियो यस बीचमा। यस्तो कुरालाई आफ्ना नेताहरुजस्तै उनीहरु 'गठबन्धनको बाध्यता' भनेर टार्ने कोशिश गर्दा रहेछन्। सबैलाई थाहा छ यो गठबन्धन सरकार हो र गठबन्धनका आफ्नै सीमा हुन्छन्, तर त्यहि निहुँमा सीमाहीन ढंगले कुशाशन चलाउन पाईँदैन। अर्कोतिर, यो सरकारको नेतृत्व एमालेले गरेको छ त्यसकारण आम नेपालीको लागि यो 'एमाले सरकार' हो। अघिल्लो सरकार पनि गठबन्धन सरकार थियो र त्यसको नेतृत्व माओवादीले गरेको थियो, त्यसैले जनताको आँखामा त्यो 'माओवादी सरकार' थियो। अघिल्लो सरकारका कामहरुको जस-अपजस मूलत: माओवादीको भागमा गएजस्तै अहिलेको सरकारका कामहरुको जस-अपजस पनि मूलत: एमालेको हो। एमालेलाई आफ्नो भविष्यको चिन्ता छ भने गठबन्धनको निहुँमा थारो देशलाई दोहिरहनुभन्दा देशमा सुशाशन कायम गर्नेतिर लाग्नुपर्ने हो, तर के देखिन्छ भने भविष्यसंग एमालेवालाहरुलाई खासै चासो छैन।

गठबन्धन भन्दैमा सरकारमा सम्मिलित अरु दलले जे-जे भन्छन् त्यहि मान्नैपर्छ भन्ने छैन, तर यसका लागि नेतृत्व गर्ने दलमा पर्याप्त नैतिक बल हुनुपर्छ। कोपनहेगनकै प्रसंगमा पनि एमालेले आफ्ना हनुमानको संख्या आधा घटाएको भए अरु पनि त्यसै गर्न बाध्य हुन्थे। यसरी कोपनहेगनमा डकार्न र पाध्न जानेहरुको संख्या पाँच जनामै नझरेपनि बीस-पच्चीसमा सीमित हुन्थ्यो होला। यो कुरा मन्त्रीमण्डल बनाउने देखि लिएर सबै सरकारी कामकाजमा लागु हुन्छ, नेतृत्वले त्याग देखाउन सक्नुपर्छ पहिला, त्यसपछि अरुले पनि त्याग गर्छन्। तर विगतमा पञ्चहरुलाई टाउकामा चढाउने कुसंस्कारको शुरुवात गरेको र डलरखेतीवालाहरुको दबदबामा आफैं पूर्ण रुपमा एनजीओ बनिसकेको एमालेबाट गतिलो कुराको आशा गर्नु बेकार रहेछ।

हातका चुरा बजाएर माकुने सरकारलाई हल्लाउने सुजाता र करीमा अनि माकुने सरकारबाट 'राजकीय' सम्मान पाउने ऋषि धमलाका कुरा त मलाईभन्दा बढी तपाईँलाईनै थाहा होला:)

संविधान सभाको चुनावले के देखाईसकेको छ भने एमालेसंग टेक्ने भुईँ र समाउने हाँगा एकदम कम बाँकी  छ। माओवादीसंग नयाँ राजनीतिक शक्ति हुनुको लहर छ, मान्छेहरुमा उसप्रतिको आकर्षण अझै कम भईसकेको छैन। अर्कोतिर, कांग्रेसको आफ्नो बर्गीय आधार त्यति भत्किसकेको छैन। त्यसैले एमाले जति कुबुद्धिग्रस्त र गोल्खाडी हुँदै जान्छ, त्यति यसलाई छोडेर एकथरी माओवादीतिर लाग्नेछन्, अर्कोथरी कांग्रेसतिर।

एमाले सरकार सुशाशनभन्दा पनि यस्ता सातपुस्ते श्राद्धहरुमै रमाईरहेको देख्दा एउटा कुरा ठोकेर भन्ने स्थितिमा आईपुगेको छु म, आफूलाई जम्बोजेट ठान्ने एमालेलाई संविधान-सभाको चुनावले तीस सिटे मिनिबस बनाईदियो, अबको चुनावमा यो चार सिटे ट्याक्सी बन्नेछ।

बार-बार अवसर पाईरहने दलले सधैं उहि भ्रष्ट चाला देखाईरहने हो भने त्यो दलको पतन अनिवार्य छ। त्यस्ता दलको पतनपछिनै नयाँ राजनीतिक शक्तिको उदय हुन्छ।

एउटै चिन्ता के हो भने, दलहरुले यसरी बारम्बार आफूलाई बलात्कार गरिरहेपछि नेपाली जनतामा लोकतन्त्र, राजनीति र राजनीतिक प्रकृयाप्रतिनै मोहभंग हुनसक्छ। देश र समाजका लागि त्यो साह्रै दु:खलाग्दो सम्भावना हो। युवापुस्तामा "राजनीतिलाई घृणा गर्छु!" भन्नेहरु बढ्दै जानु त्यहि सम्भावनाको लक्षण हो।

December 04, 2009

एउटा अजम्बरी त्रिवेणी

यो गीत मलाई पहिलो पटक सुनेबाटै साह्रै मनपर्ने हो। त्यसो त एकचोटि सुनेपछि यो गीत मन नपराउने नेपाली को नै होला र!

भट्टजी जापानमै हुँदासम्म नागोयाका दशैं र नयाँ वर्षका कार्यक्रमहरु र अन्य केहि अवसरमा उहाँले गाउनुहुन्थ्यो यो गीत; हरेक पटकका भेलाहरुमा "अल्झेछ क्यारे पछ्यौरी----" हाम्रो फर्माईश र "वन्स मोर!" मा पर्थ्यो।

तर नेपाल छोडेपछिको यति लामो समयसम्म स्वर-सम्राटकै स्वरमा सुन्न भने मेसो परेन। हात परेका कुनै पनि संग्रहहरुमा यो गीत छैन, आफू पुगेका नेपाली गीतहरुको अनलाईन संग्रहमा पनि यो भेटिएन।

विगत डेढ महिना यता झन् यो गीत बिहान उठेदेखिनै मेरो मनमा गुञ्जिन थालेको छ, अनि दिनभरि गुञ्जिरहन्छ। यो गीतका पछिल्ला शब्दहरु बिर्सिसकेको थिए र मेरो मनको गुनगुनाहट 'सल्लाझैं आमा----' मा पुगेर रोकिन्थ्यो।

थाहा छैन किन हो, यो गीत सम्झेपछि मलाई एउटा अत्यासलाग्दो उदासी र बेचैनीले घेर्न थाल्यो र मेरा आँखाहरु डिलसम्मै भरिन थाले। मेरा जनम-जनमका पिडाबोध र उदासी खप्टिएर अचानक एकमुष्ठ ममा पसेजस्तो!

र मैले यो गीत खोज्न थालें गुगलमा, तर एम रानाजीको Imeem मा बाहेक अन्त भेट्न सकिन। धन्यबाद एम रानाजीलाई!






पूरा गीत यहाँ सुन्न सक्नुहुन्छ; aljhechha kyare pachhe.mp3 - narayen gopal

इण्टरनेटमा यो गीत खोज्ने क्रममानै थाहा पाएँ यो गीतका रचनाकार मेरा प्रिय कवि भूपि शेरचनज्यू हुनुहुँदोरहेछ, पहिला रचनाकारमा ध्याननै दिएको रहेनछु मैले।

कति भाग्यमानी यो गीत, जसले भूपिको कलमबाट जन्मिने, गोपाल योञ्जनको शिल्पमा सजिने र नारायण गोपालको स्वरमा आकाशमा उडने सौभाग्य पायो! तीन अमर नदीहरु! र तीनको संगम-एउटा अजम्मरी त्रिवेणी!

अचेल घरमा यो गीत धेरै-धेरै बज्न थालेको छ र मेरा आँखाहरु झन्-झन् भरिन थालेका छन्।

लाग्छ, एक दिन यो गीत सुन्दै म डाँको छोडेर रुनेछु धेरै बेरसम्म। धेरै कुरा आफूले चाहेर पनि गर्न नसक्दाको नीरिहतामाथि, कति कुरा गर्न सक्ने हुँदा-हुँदै पनि नगर्दाको पश्चात्तापमाथि र धेरै-धेरै आफ्ना विवशताहरुमाथि!
*********************************************************
आज स्वरसम्राटको पुण्यतिथि! उन्नाईस वर्ष अघि पूरै नेपाल रोएको दिन!

स्वरसम्राटमा हार्दिक श्रद्धाञ्जली!





*********************************************************
र यस्तै अजम्बरी कृतिहरु दिएर, हामीलाई नेपाली हुनुको अस्तित्वबोध-नेपाली हुनुको गर्वबोध दिनुहुने हिजो, आज र भोलिका समस्त श्रष्टाहरुमा सादर धन्यबाद!