June 18, 2009

नेपाल अपराधीहरुको स्वर्ग किन भयो?

दलहरुकै कारण, दलहरुकै कारण र केवल दलहरुकै कारण!

एउटा क्याम्पसका क्याम्पस-प्रमुखलाई स्ववियू पदाधिकारीसहितले ढोका थुनेर मर्णान्त हुञ्जेल पिट्छन्। तिनको उद्धार हुन्छ र पछि प्रहरीले अभियुक्तहरुमध्येका केहिलाई पक्राऊ गर्छ।

यहाँबाट 'खेल' शुरु हुन्छ। सबै दलका मान्छे मिलेर ती अभियुक्तहरुलाई पक्राऊ गरिएकोमा विरोध जनाऊँछन् र तिनलाई रिहा नगरिए जिल्लै ठप्प पार्ने धम्की दिन्छन्। यस्तो बेलामा प्रहरीमाथि आएको यो अनुचित दबाबलाई हटाउन दलका 'माथि'का मान्छेहरुले वास्ता गर्दैनन् (उल्टो आफैंपनि भित्र-भित्रै पुलिसलाई दबाब दिईरहेका होलान्, चलनै हो यो)। पछि अदालतले छोड्ने आदेश दिन्छ अपराधीहरुलाई। र अबीर-जात्रा हुन्छ गुण्डाहरु छुटकोमा---!

यो कुनै मसलादार फिल्मको दृश्य होईन, सबैका आँखा अगाडि घटेको प्रत्यक्ष घटना हो। समाचार हेर्नुस्, क्याम्पस प्रमुख कुट्ने विद्यार्थी रिहा

यसरी अबीर-जात्रासहित गरिएको रिहाइले क्याम्पस-प्रमुखमाथि कति ठूलो मानसिक तनाव दिईरहेको होला! क्याम्पस प्रमुखलाई अब शायद ज्यानकै चिन्ता लागेको हुनुपर्छ। यो स्थितिमा उनको ठाऊँमा जो भएपनि ज्यानको चिन्ता लाग्नु स्वाभाविक हो। 'झण्डै मार्न खोज्दा' अबीर-जात्राले सम्मान पाएपछि कथित स्ववियू पदाधिकारिहरुको आत्मबल गज्जबसंग बढेको होला र अब उनीहरुले भेट्टाए क्याम्पस-प्रमुखलाई पक्कै मार्नेछन् होला किनभने हाम्रो देशको राजनीतिले हत्यालाई 'महिमामण्डित' गरिसकेको छ, हत्याराहरु हाम्रो देशमा बहादुर ठहरिन्छन् र तिनको जताततै पदोन्नति हुन्छ!

देशका प्राज्ञिक थलोहरुलाई दलहरुले एक‍-एक गर्दै गुण्डागर्दीका पाठशालामा बदलिदिएका छन्। केहि समय पहिले त्रिविका उपकूलपतिलाई कालो मोसो दले तत्कालिन प्रमकै दलका कार्यकर्ताले। तिनलाई के कारवाही भयो कुन्नि थाहा छैन। तत्कालीन सरकारले चासो समेत दिएन, न त अहिलेको सरकारलेनै दिनेछ। के अब हाम्रो देशमा प्राज्ञिक पेशामा लाग्नुनै 'अपराध' ठानिन थालेको हो?

यो समाचार पढेपछि मलाई आफैंमाथि दया लागेको छ। यी ती दलहरु हुन् जो हामीलाई नयाँ संविधान दिने र नयाँ नेपाल दिने गफ दिईरहेछन्! यस्ता अपराधी-जत्थाले के दिन्छन्?!!

हाम्रा दलहरुले युवा उर्जा, जोश र जाँगरको अत्यन्त दुरुपयोग गरिरहेका छन् तिनलाई सृजनात्मक हुने मौकै दिएका छैनन्। स्ववियू यस्तै एउटा अत्यन्त अनावश्यक निकाय हो। नेपालको शैक्षिक क्षेत्रलाई सपार्ने हो, नेपालको समग्र राजनीतिको अपराधीकरणको अन्त्य गर्ने हो भने सबैभन्दा पहिले गर्नुपर्ने काम भनेकै स्ववियूको समाप्ति र प्राज्ञिक क्षेत्रको 'निर्दलीयकरण' हो। यो कुरा हाम्रा सबै दलहरु, नेताहरु, कथित विद्यार्थी नेताहरु सबैलाई चित्त नबुझ्न सक्छ किनभने उनीहरुको एउटै सीप भनेको यी युवा विद्यार्थीहरुलाई भड्काउने, सडक तताउन लगाउने, लड्न-भिड्न लगाउने र गोली खान छाती थाप्न लगाउने हो। कथित विद्यार्थी राजनीति सकिनेबित्तिकै हामीले जानेको नेपाली राजनीतिको अस्तित्व सकिनेछ र यसमा हाली-मुहाली गरिरहेका कथित नेताहरुको उपादेयता सकिनेछ। त्यसपछिमात्रै साँचो राजनीतिको जग बस्नेछ। जबसम्म युवा विद्यार्थीको उर्जाको इमान्दारीपुर्वक रचनात्मक प्रयोग गरिँदैन तबसम्म अपराधीकरणले भरिएको राजनीतिको कुरुप छायामा ओस्सिन हामी बाध्य भईरहनेछौं।

यसबारेमा मैले अलिक पहिलाको टाँसो विद्यार्थी राजनीति-राजनीतिक अपराधीकरणको पहिलो पाठशाला मा पनि कुरा गरेको छु।

अर्कोतिर, यसैपनि धेरै कमजोर भईसकेको नेपाल प्रहरीको मनोबल यो घटनाले झन् खस्काएको छ। दलहरु अपराधीहरुलाई जोगाउन यसरी कस्सिएर लाग्ने भएपछि फेरि यस्तै घटना घट्दा अनुसन्धान गर्न, अभियुक्तलाई पक्रिन प्रहरी किन सकृय हुन्छ?

हाम्रो देशको शान्ति-सुरक्षा खत्तम छ र यसको दोष हाम्रा राजनीतिक दलहरु र केवल राजनीतिक दलहरुलाईनै जान्छ। तिनीहरुकै कारण प्रहरीको मनोबल गिरेको छ। यदि प्रहरीमा ब्यापक भ्रष्टाचार छ नै भनेपनि त्यो पनि हाम्रो देशको भ्रष्ट राजनीतिको दोष हो। प्रहरी भनेको त राजनीतिको छायाँमा बसेर कार्य गर्ने निकाय हो, राजनीतिले नै हो यसलाई सपार्ने र बिगार्ने।

मलाई निराशावादी हुन मन लाग्दैन। मलाई लाग्छ राजनीति ठिक भयो भने अरु धेरै कुरा आफैँ ठिक ठाऊँमा आउन बाध्य हुन्छन्। आज म आफ्नै विचारसंग पनि निराश भएको छु। आज लाग्दैछ, नेपाली राजनीति यस्तरी पतित भईसक्यो कि अब यसलाई ठिक पार्न सकिने, सपार्न सकिने सम्भावनानै छैन।


तस्बीर साभार:नागरिक दैनिक

14 comments:

  1. निकै चित्त बुझ्दो बिष्लेषण गर्नुभयो।नेपालका सवै दल नै हिंम्सावादी भए पछि कस्को के लाग्छ !!

    ReplyDelete
  2. Jyoi saab nikai ramro lekh leksido rahera...the real truth of nepal.... for now n ever.

    ReplyDelete
  3. बसन्तजी एक दम राम्रो कुरा गर्नु भएको छ । यस्ता अपराधीहरुलाई कडा भन्दा कडा कारबाही गर्नु पर्ने हो तर बिडम्भना ठुला ठुला नेताहरु र दलहरुले नै यस्ता अपराधी हरुको सरक्षण गरेर प्रोत्साहन गरिदिन्छ ।

    ReplyDelete
  4. नेपालको शैक्षिक क्षेत्र लाई सपार्ने हो भने स्वबियू को समाप्ती पहिला हुनु पर्छ यो कुरा म एकदमै सहमत छु । जब सम्म युवाहरुको जोश जागर अनि उर्जाको सही उपयोग कुनै रचनात्मक काममा गरिदैन तब सम्म यस्ता आपराधिक कृयाकलाप ले हाम्रो समाजमा निरन्तर गती लिइ नै रहन्छ । एकदम राम्रो बिषयमा कुरा कोट्ट्याउनु भो बसन्त जी

    ReplyDelete
  5. तल को टांसो को बारेमा भन्नु पर्दा, मलाई नेपाल यसरी ओरालो लाग्नु मा नेपाली कांग्रेसको प्राइभेट लिमिटेडको ९०% हात छ जस्तो लाग्छ । २०४७ चुनाव मा बहुमत ल्यएको कांग्रेसले पहिलो ५ बर्ष मात्र मरेर काम गरेको भए देश अहिले कंहा हुन्थ्यो र नेपालमा संधै कांग्रेसकै छत्र छांया हुन्थ्यो । तर अफ्सोच दुई तिहाइ बहुमत को हठले गर्दा देश freefall मा झर्यो । मलाई त अचम्म लाग्छ, गिरिजाको बहुलठिपन को बिरुद्ध केही बोल्न नसक्ने वा बोले कारबाहिमा परिन्छ भनेर चुप चाप बस्ने हरु बाट भविश्यमा पनि के आश गर्न सकिन्छ ? गिरिजाले देशको लागि नराम्रो गरे, बरु त्यसको बिरोध गरेर कांग्रेसनै छोडेर कोहि स्वतन्त्र भएका छन भने म default त्यसको समर्थन गर्छु (मन्त्री र प्रधानमन्त्री हुन अर्को पार्टी खोल्नेको कुरो गरेको हैन मैले)। मलाई कहिले कंही कांग्रेसको राजनीति सार्है फिल्मी लाग्छ, कांग्रेसीहरुले भारत बहिरको पनि अरु रजनैतिक मोडल छ भनेर बुझ्न जरुरी छ ।

    नियम कानुनको कुनै बिकल्पनै छैन । राष्ट्रिय शुद्धिकरण भन्दा अब क्षेत्रिय शुद्धिकरणको मोडल अपनाउनु पर्छ जस्तो लाग्छ मलाई । कुनै पनि समस्यलाई राष्ट्रिय रुपमा नहेरी क्षेत्र क्षेत्र बाट हेर्नु पर्छ । प्रचन्ड रोल्पा १ र किर्तिपुर १० का लागि जवाफदेही हुनु पर्छ, त्यस्तै अरु आ-आफ्नै ठांउ बाट । अनि ति क्षेत्रका जनताहरु सिधै तेही प्रतिनिधिको सातो खान जानु पर्छ, बिरोध गर्नु परे आफ्नै सिमामा रहेर मात्र बिरोध गर्ने । जनता भन्दा कार्यकर्ता शायद धेरै त छैनन होला नि । उदाहरणका लागि: गिरिजाले कुनै राष्ट्रको नराम्रो काम गरे भने गीरिजालाइ हैन आफ्नो क्षेत्रको कांग्रेसी प्रतिनिधिको साटो खाने हो, त्यो काम को सुधार गर्न pressure दिन । यदी त्यो प्रतिनिधि गिरिजाको अघि नपुंसक छ भने त्यो त्यस ठाउको प्रतिनिधि हुने कुनै अधिकार छैन, र अर्को चुनावमा नराम्रो संग हार्छ । यदी गिरिजाले त्यसलाई कारवाही गरेर पार्टी निकाला गरे अर्को पाली स्वतन्त्र रुपमा त्यो प्रतिनिधिले चुनाव जित्ने बातावरण नबने सम्म देश लगाम बिनाको घोडा झै हुन्छ ।

    फेरी अर्को combo कमेन्ट भयो है :)

    ReplyDelete
  6. यी ती दलहरु हुन् जो हामीलाई नयाँ संविधान दिने र नयाँ नेपाल दिने "गफ" दिईरहेछन, यस्ता अपराधी जत्थाले के दिन्छन?
    तिनीहरुले बनाउने नयाँ नेपाल यस्तै हुन्छ जहाँ अपराधीहरु यी यस्तरी अबीर जात्रा गरेर हिडछन, अनि किन छाउदैन निराशाको बादल ? नचाहेरै पनि निराश बनाउने एकपछि अर्को घटना घटिरहेका छन।

    ReplyDelete
  7. बसन्त जि बल र मुर्खाइमा चलेको नेपलि राजनिति र त्यसका दासका रुपमा गरिदै आएको नेपलि बिद्यार्थि राजनितिलेको सहि बिश्लेषण छ तपाइको यो लेखमा। हो म पनि तपाईसग सहमति जनाउछु अब स्वबियुको रुपमा हुदै आएको गुन्डागर्दि राजनितिको अन्त्य हुन जरुरि छ।

    ReplyDelete
  8. यस्तो देशको दण्डहीनता देखेर मलाई त ....अचम्मै लागिसक्यो बसन्त जी .....अनि यो कतिन जेल सम्म रहने .......... जिम्वेवार को हुने ....प्रश्नै प्रश्न मात्र रहेका छन ? .... साबधान कसले , कहिले गर्ने हो कुनि ?

    ReplyDelete
  9. साह्रै नि दुखदायि अवस्थामा छौं हामी । तपाईंको टाँसोको बोलीमा समहमत छु म पनि । पुछारको तस्विर देख्दा मन साह्रै अमिलिएर आयो - मैले नागरिक दैनिकमा हेरेको रहेनछु ।

    ReplyDelete
  10. hamro desh ko raajniti nai asthir chha ani surashya nikaaya haru pani kamjora hudai gaira chhan. tyesaile dandahinata badhnu sobhaabika nai ho.

    ReplyDelete
  11. It is so amazing to see nepal heading towards anarchy, jhan jhan abastha kharab hundai gairakeko cha

    ReplyDelete
  12. राजनीति त दाइ ले भने झैं पुरै भताभुंग छ ... तर अब यसलाई ठिक पार्ने सपार्ने सम्भावना नभएको चाहिं पक्का होइन |

    ReplyDelete
  13. प्रतिकृयाको लागि सबैलाई हार्दिक धन्यबाद!

    तपाईँहरु सबैलाई थाहा भएकै कुरा हो, फेरि अर्को जघन्य हत्याकाण्ड भएको छ। नेपाल आमाकी एउटी होनहार छोरीलाई अपहरण गरेर निर्ममतापूर्वक हत्या गरिएको छ।

    ख्याति श्रेष्ठको आत्माले चीर शान्ति पाओस्!

    यति जघन्य हत्याकाण्डले पनि हाम्रा नेता र दलहरुलाई खासै फरक पारेको देखिएको छैन। समाज यति तल आईपुग्नुको प्रमुख कारण विगत केहि वर्षदेखि देशमा जारी दण्डहीनतानै हो। त्यो दण्डहीनतालाई प्रश्रय दिने नेताहरु र दलहरुनै हुन्। जब कुनै दलको खोल ओढेको भरमा अपराधीहरुले उन्मुक्ति पाऊँछन्, तब समाजमा अपराधीकरण बढ्नु स्वाभाविक हुनजान्छ। यो अवश्थाको अन्त्यनै अहिलेको आवश्यकता हो।

    ReplyDelete