नेपाली कांग्रेस र विशेष गरी यसभित्रको 'श्री १००८ महाराजाधिराज गिरिजा' र 'राजकुमारी सुजाता'को ढलीमलीलाई लिएर एउटा ब्यंग्य-निबन्ध लेख्ने विचार थियो कुनै दिन र विषयवस्तुलाई आकार दिईरहेको थिएँ मनमनै। त्यो विचारलाई सेलाएँ मैले अब किनभने नेपाली कांग्रेस आफैंमा एक ब्यंग्य, एक कूरुप जोक र प्रजातन्त्रको नाममा विडम्बनामा सीमित भईसकेको छ। आफैं ब्यंग्य बनिसकेकामाथि ब्यंग्य गर्नुको के अर्थ?
२०४२-४३ सालतिरको कुरा हो। पञ्चायत विरुद्धको नेपाली कांग्रेसको सत्याग्रह बिभिन्न कारणहरुले गर्दा सफल हुन नसकेपछिको केहि समय देशमा ठूलो आन्दोलन उठ्ला जस्तो देखिएको थिएन। पञ्चायत विरोधी राजनीति त्यति धेरै नपसिसकेको हाम्रो काँठमा पनि आफूलाई कांग्रेस भन्ने केहि मान्छेहरु थिए। तिनको कांग्रेसीपना त्यो बेलाको साप्ताहिक विमर्श वा देशान्तर पढ्ने भन्दा माथिको भने थिएन। तिनीहरु भन्ने गर्थे; 'मन्त्री पायो भने गिरिजा पञ्चायत पस्ने पक्का छ!'। गिरिजा त्यतिखेर के कारणले पञ्चायत पसेनन् थाहा भएन तर त्यसपछिका यी २२-२४ वर्षमा कांग्रेसलाई पत्रु बनाउन कुनै कसर बाँकी राखेनन्, कांग्रेसभित्र असल मान्छेहरु शिला खोज्नुपर्ने स्थिति बनाईदिए।
बिपीको निधनपश्चात पनि कांग्रेस गणेशमानको त्याग र अडानका कारण उज्यालो लाग्थ्यो। बहुदलको पुनर्स्थापनापछि गिरिजाले प्रणालीबद्ध रुपमा गणेशमान र कृष्णप्रसाद भट्टराईलाई अपमान गर्दै र पाखा लगाऊँदै आफ्नो 'तानाशाही' लागू गर्दै गए। देश यो जर्जर अवश्थामा आईपुग्नुमा बहुदल पछि ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा नलिऊञ्जेलसम्म लगभग सधैं शाशन गरेको कांग्रेसको दम्भ र अरुलाई रौं बराबर पनि नगन्ने उसको मानसिकता धेरै हदसम्म जिम्मेवार छ। गिरिजाको नेतृत्वका कांग्रेसीहरु नेपालमा शाशन गर्ने भनेको कि दरबारले हो, कि कांग्रेसले हो, अरु त हाम्रा हरुवा-चरुवा हुन्, तिनलाई टाउको उठाउनै दिनुहुन्न भन्ने खालको ब्यबहार गर्थे। त्यो मानसिकताको मूल्य देशले साह्रै नराम्रोसंग चुकायो र अझै चुकाऊँदैछ।
चाउरिएर, खुम्चिएर र डल्लिएर गिरिजाको खल्तीमा र अर्को अर्थमा सुजाताको पेवाको रुपमा सीमित बनेको नेपाली कांग्रेस हेर्दा घर बाहिर नारी स्वतन्त्रताको धुवाँधार भाषण गर्ने तर घरभित्र पस्नासाथ ढोका थुनेर स्वास्नी कुट्ने मान्छेजस्तो लाग्छ मलाई। जो आफैंभित्र यति धेरै तानाशाही र विधिहीनता पालेर बसेको छ, त्यो दलसंग अरुलाई लोकतन्त्र, विधि आदिमा 'नैतिक' उपदेश दिने हक र नैतिक बल कसरी हुन्छ? कांग्रेसीहरु माओवादीको अधिनायकवादी उद्देश्यको विरुद्ध संघर्ष गर्छौं भनेर कराईरहन्छन् तर आफ्नै दलभित्र दासको भन्दा बढी हैसियत नभएकाहरुले कुनै गतिलो आन्दोलन गर्न सक्लान् भनेर अब जनताले पत्याउलान्? आफ्नै दललाई गिद्धे तानाशाहीबाट जोगाउन नसक्नेले मुलुकलाई जोगाउलान् भनेर पत्याउने कुन मुर्ख बाँकी होला अब?
गिरिजाले सुजातालाई 'राज्य-हस्तान्तरण' गरेको देख्दा सबै अचम्ममा पर्नु त स्वाभाविक नै हो तर महाअचम्म त ९५ प्रतिशत कांग्रेसीहरुको सिलाईएको ओठ देख्दा लाग्छ। यो दुई महिनाभित्रै कतिपटक देखिसकियो, कांग्रेस सुजाताको पेटीकोटभन्दा बढी नहुने दिशामा हिँडेको। कटवाल काण्डमा गिरिजाले आफ्नो महाकपटी रुप देखाएकै हुन् धेरै समय मौनता साधेर। सुजातालाई रक्षा मन्त्री बनाउनु गिरिजाको एउटै ध्येय थियो त्यो बेला भन्ने सबैले जानेका छन्। खुल्लमखुल्ला माओवादीको पक्षपोषण गर्दै हिँड्दा सुजातालाई कसैले छुन सकेन तर राष्ट्रपतिको कदमको बिधिगत अपूर्णताका बारेमा शिष्टतापूर्ण असहमति राख्दा नरहरि आचार्यले स्पष्टीकरण खप्नुप-यो। यो पक्षपातका विरुद्धमा बरु बाहिरकाले बोले तर कांग्रेसभित्र कुनै लहर उठेन।
सुजाताको 'राज्यारोहण'का बिरुद्ध पनि कांग्रेसका तलदेखि माथिसम्मका समितिहरुले आफ्नो स्वर सशक्त रुपमा उठाउनुपर्थ्यो र कांग्रेसभित्र विधिको शाशनको पुनर्स्थापनाको लागि संघर्ष गर्नुपर्थ्यो, तर एक-दुई ब्यक्तिगत स्वरुपका बाहेक विद्रोहको स्वर उठेकै छैन कांग्रेसभित्र।
गिरिजाको अगाडि गरुडको छायाँ परेका नागजस्ता हुने कांग्रेसीहरुमध्ये धेरैजसो गिरिजाको निधनलाई पर्खेर बसिरहेजस्ता देखिन्छन् मेरा आँखामा। तिनको भाव-भंगिमा हेर्दा 'यो बूढो छऊञ्जेल यस्तै हो, यो जाओस् अनि हेरौंला' भनिरहेझैं लाग्छ। यो पनि तरिका हो राजनीति गर्ने?!
कांग्रेसभित्र गिरिजाको एकछत्र राज र सुजाताको 'स्टेपवाईज राज्यारोहण'ले कांग्रेसभित्र वंशवाद स्थापनाको आधार खडा गरिसकेको छ, परिवारवाद त यसै पनि कांग्रेसको एउटा गुण छँदै थियो। पूर्व सोभियत संघ, क्यूबा, उत्तर कोरीयाका अधिनायकबादी दलहरुजस्तै नमरुञ्जेल पार्टी नेता/सभापति भईरहने परम्पराको 'नजीर' पनि बसेको छ अब। गिरिजा 'उपर' गएपछि बन्ने अर्को सभापति, देउवा वा अरु कोहि जसको खुराफाती बलियो हुन्छ, उसले पनि नमरुञ्जेल छोड्नेछैन। भन्न आफूलाई सबैभन्दा ठूलो प्रजातान्त्रिक दल भन्ने, अभ्यास भने तानाशाहीको गर्ने; यो भन्दा ठूलो विडम्बना के हुनसक्छ? अब नेपाली शब्दकोषमा 'विडम्बना' को पर्यायको रुपमा 'नेपाली कांग्रेस' सबैभन्दा सुहाउने देखिन्छ।
नेपाली कांग्रेसले साम्यवादको विरोध गर्नुबाहेक नीतिगत रुपमा आफूलाई अझसम्म परिभाषित गर्न सकेको छैन। कांग्रेसभित्र त्यो खालको छलफल र बहस एकदमै कम हुन्छ। कांग्रेस अहिलेसम्म केहि सीमित नाराहरुका आधारमा आफूलाई अगाडि बढाईरहेछ। बिपी छउञ्जेल उनको बौद्धिकता र ब्यक्तित्वले धेरै कुरा धानेको थियो होला, उनीपछि भने जस्तो हावा लाग्यो त्यस्तै हुँदै आएको छ। सन् १९९० को दशकमा संसारभरि साम्यवादी सत्ताहरु ढले र उदारवादी अर्थ ब्यबश्था हावी हुन पुगे। आफनो एउटा प्रमुख नारामा समाजवाद राखेपनि कांग्रेसले त्यतिबेला समाजवादको 'स'पनि नभएको नीति अँगाल्यो। विगत केहि वर्ष यता देशमा माओवादी बलिया भए, कांग्रेसले पनि गणतन्त्र अँगाल्यो तर त्यसपछि आर्थिक/सामाजिक दिशा के त भन्ने कुरामा कुनै स्पष्टता छैन। कुनै दलको नीति जड हुनुपर्छ भन्ने मेरो मान्यता होईन, समायानुकूल परीवर्तन हुनैपर्छ पतनबाट जोगिन तर दलभित्र ब्यापक छलफल हुनुप-यो र समितिगत निर्णय हुनुप-यो। कुनै एक ब्यक्ति वा बढीमा उसका केहि आसेपासेले जे भन्यो त्यहि हुने स्थिति एउटा लोकतान्त्रिक र आधुनिक भनिन चाहने दलका लागि लाजमर्दो स्थिति हो।
यी सबै लेखिसकेपछि पनि तपाईँहरुलाई एउटा निवेदन के गर्न चाहन्छु भने एउटा सप्रिएको, शुद्ध भएको, अवसरवादीहरु र भ्रष्टहरुलाई डाँडा कटाईएको, विधिमा चल्ने र ब्यक्तिभन्दा समितिको निर्णय हावी हुने लोकतान्त्रिक कांग्रेसको आवश्यकता देशलाई अझै छ भन्ने मेरो मान्यता हो। यदि नेपाली कांग्रेस गोल्खाडीनै भएछ भने पनि देब्रे-दाहिने दुबैतिरका अतिवादी मान्यताका विरुद्ध लड्न सक्ने अर्को कुनै मध्यमार्गी दल अपरिहार्य छ देशका लागि।
-------------------------------------------------------------------
र अहिलेलाई म 'ब्यंग्य-निबन्ध'मा दिमाग लगाउनबाट मुक्त भएँ:)
June 13, 2009
नेपाली कांग्रेस- एक ब्यंग्य, एक विडम्बना!
Subscribe to:
Post Comments (Atom)
गिरिजा अनि कुजाता कोइराला !
ReplyDeleteखै, सप्रिने छाँटकाँट त छैन । इतिहास मा यस्तो भा'थ्यो यस्तो गर्याथ्यो भन्नु बाहेक अरु नयाँ भन्ने कुरा केही छैन ।
लेखाई र लेख दुवै तारिफ योग्य छ !
ReplyDeleteदेशको एउटा ठूलो क्रान्तिको नेतृत्व अहिलेसम्म छुट्टाछुट्टै दलले गर्दै आएका छन् । ७ सालमा कांग्रेसले, ४६ मा तत्कालीन् माले (अहिलेको एमाले)ले अनि ६२-६३ मा माओवादीले । तर क्रान्तिको समाप्तिसँगै ती पार्टीले पनि समाप्तीको बाटो रोज्दैछन् । कांग्रेस र एमाले त्यसैको ज्वलन्त नमुना हुन् । इतिहासको ब्याज खाएर अहिलेसम्म उभिन सकेको कांग्रेसको भविष्यबारे शङ्का गर्ने ठाउँ धेरै छ । कांग्रेसको यो गति अरू दलहरूलाई गतिलो पाठ हो । एमालेले पनि सुध्रिने धेरै ठाउँ छ कांग्रेसको यो गति देखेर अनि माओवादीले पनि !!
ReplyDeleteमलाई राजनितिको कुरा गर्दा अतिनै दु:ख लागेर आउछ र म कमैमात्र राजनितिको कुरा गर्छु। यसो त मलाई राजनितिको कुरा मन नपर्ने हैन तर हाल हाम्रोमा चलेको राजनितिको कुराले साह्रो चित्त दुखेर आउछ र कतै तिरबाट पनि आशा लागेर आउदैन। सबै त्यसतै लाग्छ यिनीहरुको कुरा गराई र भनाइमा। साह्रै अस्सथ भएर जादैछ हाम्रोमा यो राजनिति।
ReplyDeleteजे हो त्यहि लेख्नु भयो बसन्तजीले। तपाईको यो लेखले यथार्थतालाई न्याय गरेको छ। राम्रो बिबेचना !!!
वसन्तजी तपाइको लेख र लेखाइ सधै उत्कृष्ट छन- तारिफ र प्रशंशाको सिमाना भन्दा माथि । सुबोध बिचार, चेतनाको उच्चतम बिन्दु छोएर कोरिएका । फुर्सद निकालेर पहिलेका लेखहरु पनि बिस्तारै खोतल्दै छु । प्रत्येक लेखोटले स्थितिको यथार्थ चित्रण मात्र गरेका छैनन्, सहि र स्पष्ट दिशानिर्देश पनि गरेका छन ।
ReplyDelete"यो बूढो छऊञ्जेल यस्तै हो, यो जाओस अनि हेरौंला" यो व्यंग्यले पार्टीभित्रको लाचारी, भ्रष्टता,खुराफाती, गोल्खाडी, दिशाहीनता...., ...., ...., ..... र अरु धेरै समस्याको चुरो समातेको छ । सामयिक लेखको लागि धेरै धन्यवाद !
राजनीतिलाई जागिर ठानेर मात्रै पूर्णकालिन राजनीतिमा लाग्ने चलनले पो हो कि तपाईंले देख्नुभएको आवश्यकता राजनीतिमा डुब्नेहरुले नदेखेका ? हाम्रो देशमा राजनीति सँधै 'अवशर' भएको छ , यो 'सेवा' नहुञ्जेल दलहरुको अनि राष्ट्रको हविगत यस्तै रहने पक्का छ ।
ReplyDeleteभर्खरै फेसबूकमा लेखेको कुरा नै दोहोर्याएं है मैले चैं यता पनि ।
बसन्त जि यो बुडो गोल्खाडि हुनु भन्दा बुडोले देशलाई पहिला गोल्खाडि लगाउला जस्तो छ।के गर्ने?यस्तै छ नेपालको राजनिति!!!सारै चित्त बुज्दो र सटिक लेखको लागि धन्यबाद!!!!
ReplyDeleteयो गिरिजा रहुन्जेल न देशले न त जनताले सुख पाउछन ? साहेद् नेपाली जनता चुप लागेर बसे भने गिरिजाले नेपाललाई भारतमा मिलाएर चाडछ होला । त्यो कुजाता कोइरालाले भनेको सुन्यौ नि हामीले एत्रो अतिक्रमण हुँदा पनि अतिक्रमण भएको छैन रे त्यहाँका जनता बौलएछन ।
ReplyDeleteनामै त गिरिजा। तेहि भएर अरुलाइ त गिराउनु नै पर्यो नि। देशको त के होला खै।
ReplyDeleteएकथरी मानसिहरु यी झल्लु बुढा ( के नेता भन्ने यस्तालाई !)पछि कांग्रेस सुध्रिने कुरा गर्छन । तर मलाई त तीनका कुरा सुन्दा पनि हाँस उठछ। यिनी पछि यिनको कुर्सीमा बस्ने जो सुकै होस 'हुत्तिहारा' नै हुनेछ । किनकी सिङ्गै दल प्रा ली हुँदा समेत 'भोली भाग खान पाईएला' भनेर'चुईक्क' गर्न नसक्ने व्यक्तित्वनै यिनको ठाउँमा बस्ने न हो! ।
ReplyDeleteएक दिन एकजना ज्योतिषले यीनलाई 'देश मूल्याहा' भन्दा म हाँसेको थिएँ, आज सोच्दा लाग्दैछ म गलत रहेछु । अरु के लेख्ने खै !
सबैले सोचिरहेको कुरालाई तर्क, कारण र समाधानकारी पक्ष खोतलेर मननीय रूपमा उठाइएको लेखमा निकै बल छ । काङ्ग्रेसमा गिरिजा-लीला चल्नुमा अन्य नेताहरूको मौनता कारक हो धेरै हदसम्म । कुनै मुद्दाको विरोधमा र विषयगत विवादमा चुइक्क नबोलेपछि गिरिजा जस्तो हठी पितामहको मनोबल र हालीमुहाली खेती बढ्नु स्वाभाविकै हो । अनि गिरिजाको कार्यशैलीप्रति ती नेताहरूले आवाज उठाउन नसक्नुमा चाहिँ पार्टीभित्र ठूलै कोपभाजनमा पर्नुपर्ला (नरहरिजीले जस्तै) भन्ने भय र 'गुहुलाई चलाई गन्ध, आफ्नै धुनमा बस्यो टन्टै साफ' भन्ने लुम्रे मानसिकताले काम गरेको हो कि बनेर अड्कल काट्न सकिन्छ ।
ReplyDeleteअनि तपाईँले भने जस्तै सबै काङ्ग्रेसी नेता गिरिजा 'उपर' जाने बेला कुरेर बसे जस्ता छन्, जे गर्ने हो त्यसपछि गरौँला भनेर । तर अबको अवस्थाभन्दा झनै नाजुक स्थिति आउला काङ्ग्रेसको भावी जीवनमा, गिरिजाले अरू केही नभएपनि हठी स्थिरताबाट पार्टीलाई एउटा अडानमा बाँधिएको रूपमा स्थापित तुल्याएका छन् । अनुशासनहीनतामा पनि एउटा अनुशासन बनाएका थिए । अबका उनीपछिका नेताले सबैलाई लिएर जान सक्लान् भन्नेमा धेरै शङ्का छ । तानातानी र षड्यन्त्र होला जस्तो छ । तर समग्रमा काङ्ग्रेसको यस्तो अवस्थाले देशलाई भने नपुरिने खाडल जिम्मा लगाएको छ ।
मलाई पनि मन नपर्ने नेताको नाम लिनुपर्दा यिनै बूढाको नाम लिने गर्दछु । तर काग्रेस भित्र भएका अरु प्रभावशाली नेताहरु किन गिरिजाको नाम सुन्नासाथ दुलो भित्र पस्छन? यही कारणले गर्दा उनिहरु सहित सिङो पार्टी नै गोल्खाडी मा पर्दै छ । अझै नबुझेर सुजाताको हातमा बिउ छर्दा पनि मौन बनेर बस्दैछन लाज पचेकाहरु ।
ReplyDeleteहो..."यो बुढो छउन्जेल यस्तै हो , यो जावोस अनि हेरौंला" भन्ने मानशिकता भएर नै हो सँधै उस्तै रहेको | तर केहि छोडेर नेपाली कांग्रेशका प्राय नेता यति पराधिन छन कि उनीहरुले चाहेर पनि केहि गर्न सक्दैनन...
ReplyDeleteनरहरि आचा॔॔य हरु पाखा र सुजाता हरु काखा हुने party को जति बयान गरे पानि कम हु्न्छ..... तितो सत्य त यहि हो बसन्त जि..!
ReplyDeleteबसन्त ब्रो, हामी केटा केटी थियौ जतिखेर कोही प्र ने का को कार्यकर्ता भन्ने थाहा पाउदा सम्मान पूर्वक हेर्ने गर्थ्यौ आजका स्कुले पुस्ता बीच आफ्नो परिवारमा कोही कङ्रेस्स समर्थक छ भन्दा पनि हीनताबोध गर्छन् प्र ने का का कार्यकर्ता हरु अहिले का माओवादी भन्दा कम् साहसि थिएनन बैचरिक अर्थमा शायद बढी नै साहसि थिए होलान किनभने तेसबेला को राज्नीतिक अवस्था माओवादी ले बिद्रोह गर्दा पाएको जस्तो सजिलो थिएन तर किन आज तपाईं ले भने जस्ताइ ने का ब्यङ गर्न पनि नलायक अवस्था मा पुग्यो ?
ReplyDeleteगिरिजा लाई मात्र दोश दिएर कोही कङ्रेस्सी उम्किन खोज्चन भने त्यो उनिहरुको मुर्खता हो जसरी गिरिजा ले आफ्नो लागि सबै लाई उपयोग गरे तेसै गरी सबै कङ्रेस्सी ले आफ्नो लागि गिरिजा लाई उपयोग गरेका छन गिरिजा को बिकल्पमा कङ्रेस्सी हरुले कस्लाई रोजेका छन उही शेरे देउबा लाई होइन? मुख्य कुरा के हो भने कङेस्स सैधन्तिक रुपमै बसी बसी खाने र भ्रस्ट बर्ग हावी भएको पार्टी हो किन भने एस्ले बिसुद्ध पूँजीवाद लाई मार्गनिर्देशक सिद्धान्त अङालेको छ मेरो विचारमा कङ्रेस्स मा जतिपनी इमान्दार समाजवादी बिचार का मनिस छन तिन्ले अब माओवादी र एमाले मा प्रबेस गरे हुन्छ कम्सेकम ति पार्टीहरुको लोकतान्त्रिकरन मा सहयोग पुग्थ्यो
सबैलाई हार्दिक धन्यबाद!
ReplyDeleteत्यहि त आकार ब्रो, सधैं ‘इतिहासको ब्याज’ खाएर मात्र कति चल्ला र!
ईशानजी, हौसलाको लागि आभारी छु।
प्रवेश भाइ, कांग्रेसको अनुभवबाट स्वयं कांग्रेस र एमाले अनि माओवादीले शिक्षा लिने जाँगर देखाए अझै पनि ढिलो भैसकेको छैन। शिक्षा नलिनेहरु बिस्तारै समाप्तिको बाटोमा जान्छन्।
दूर्जेयजी, राजनीति नराम्रो भयो भनेर कुरै नगर्नु पनि राम्रो होईन। राजनीति हाम्रो जीवनमा सबैभन्दा प्रत्यक्ष असर गर्ने कुरा हो। यसैले रुचि राख्न र कुनै न कुनै हिसाबले सकारात्मक हस्तक्षेप गर्न छोड्नु हुँदैन भन्ने मेरो विचार हो।
कृष्णपक्षजी, यहि ‘"यो बूढो छऊञ्जेल यस्तै हो, यो जाओस अनि हेरौंला" भन्ने सोचनै कांग्रेस भविष्यमा पनि नसप्रिने पक्का प्रमाण हो। गर्नेले अहिल्यै गर्छ नि, यस्तो ताई न तुईको निहुँ पारेर बस्छ?
जडितजी, वास्तवमै हाम्रो देशको राजनीति बिग्रेको एउटा प्रमुख कारण भनेकै नेताहरुसंग अरु खुबी नहुनु र यिनले राजनीतिलाईनै जागिर ठान्नु हो। हाम्रो देशको राजनीति एक किसिमले असफलहरुको भिड हो।
यो ‘जागिरे राजनीति’ को मानसिकता हटेर तपाईँले भनेजस्तै राजनीतिलाई निस्वार्थ समाजसेवाको रुपमा लिने नेताहरुको आवश्यकता छ हामीलाई।
संगमजी, त्यस्तै होला जस्तो छ। हाम्रो दुर्भाग्य!
केशवजी, सुजाताजस्ता नेपाली राजनीतिका पत्रु पात्रहरुको त कुरा गर्न पनि लाज लाग्छ मलाई पनि।
Wordflowsजी, हा हा हा! नाम साकार भएको छ गिरिजाको, तर साह्रै नराम्रो संग।
दिलिप दाइ, हो, अहिले केहि गर्न नसक्नेले भोलि गरौंला भनेको पनि त्यस्तै हो। हुती भए अहिल्यै तात्थे यिनीहरु। कांग्रेसमा तातो रगत एकदम कम भईसकेको छ।
धाइबाजी, कांग्रेस विगत २ दशक यताबाटै यस्तै हुँदै आएको छ। योग्यलाई अनेक निहुँ पारेर तेजोबध गर्दै उसको राजनीतिक जीवन सिध्याईदिने काम हुँदै आएको छ कांग्रेसमा। नरहरि आचार्य र गगन थापा त त्यस्तो कोपभाजनका नयाँ शिकार मात्रै हुन्।
गिरिजाले कांग्रेसलाई अनुशाशनमा राखेको भन्ने कुरा पनि हिटलरले जर्मन जनतालाई अनुशाशनमा राखेको भन्नेजस्तै हो। डर-त्रासले गर्दा चूईँक्क बोल्न नसकेको अवश्था अनुशाशन होईन, आतंक हो। दलको आन्तरिक प्रजातन्त्र बलियो भयो भने अनुशाशन आफैं आऊँछ। हो, प्रजातान्त्रिक प्रकृया शुरुमा अत्यन्त अराजक लाग्न सक्छ तर अभ्यास हुँदै जाँदा त्यसले परिपक्वता ल्याऊँछ। मूल कूरो त शुरुवातकै हो, शुरुनै नगरी एकैपटक परिपक्वता र अनुशाशन खोजेर हुँदैन। हिँड्दै-नहिँडी लक्ष्यमा पुगिन्न।
सिकारुजी, कांग्रेसका अरु नेताको त्यहि दब्बू मानसिकतानै कांग्रेसको सबैभन्दा ठूलो रोग हो।
मिलन भाइ, उनीहरुले चाहेर पनि केहि गर्न नसक्ने भएको उनीहरुकै कारणले हो र त्यो अवष्थालाई बदल्नुको विकल्प छैन, नत्र झन्-झन् गाह्रो हुँदै जाने पक्का छ।
किशोरजी, त्यहि त, सुजाताले सरकारमा दलको नेतृत्व गर्ने, नरहरि आचार्यले स्पष्टिकरण दिनुपर्ने! यो भन्दा ठूलो विडम्बना अरु के हुन सक्छ?
हावा ब्रो, नेपाली कांग्रेससंग निसन्देह अत्यन्त गौरवशाली इतिहास छ तर यो वर्तमान र भविष्यका चुनौतीहरुलाई झेल्न नसक्ने भइसकेको छ। नेपाली कांग्रेस हिजो अप्ठेरो समयमा सफल भयो, आज सजिलो समयमा आएर ओरालो लाग्यो। हिजो र आजको नेतृत्वको क्षमतालाई यसैले प्रष्ट पारेको छ।
कांग्रेस यसरी गोल्खाडी हुनुमा गिरिजाकोमात्रै दोष छैन, कांग्रेसको केन्द्रीय नेतृत्वको समूह र अझ भन्नुपर्दा तलसम्मका कांग्रेसीहरुको दोष छ। दललाई कमाउने, भ्रष्टाचार गर्ने गतिलो माध्यमको रुपमा परिणत गरे यिनीहरुले र यति सुविधाभोगी भए कि अहिले वाइसीएलको प्रतिकार गर्नसक्ने कार्यकर्तानै बाँकी छैनन् कांग्रेससंग।
कांग्रेसको ठाऊँमा उदारवादी समाजवादी दलको रुपमा एमाले आउनसक्छ तर उसलाई कम्युनिष्ट शब्द घाँडो हुनेछ। यो शब्द हटाओस् भनेपनि नेपाल कम्युनिष्ट शब्दमा अझै आकर्षण बाँकी रहेका एक-दुई देशहरुमध्ये एक हो र कम्युनिष्ट शब्द हटाऊँदा भोट घट्ने सम्भावना प्रवल छ; नहटाओस् ऊ पूर्ण लोकतान्त्रिक मानिने छैन।
reality and best suggestion for my party.
ReplyDeletejay shrestha
जयजी, ब्लगमा स्वागत छ! प्रतिकृयाको लागि धेरै-धेरै धन्यबाद!
ReplyDeletek ho kyaar
ReplyDeleteप्रतिकृयाका लागि धन्यबाद Anonymousज्यू!
ReplyDelete