January 31, 2009

लच्छिनको बिरालो




(Image Source)

यो कुरालाई कुनै दिन ब्लगमा ठाऊँ दिऊँला भन्ने विचार त थियो, तर आजैको योजना भने थिएन। लेख्नका लागि धेरै नयाँ विषयहरु फन्फन्ती घुमिरहेका छन् दिमागमा, भनेजति समयभने मरु! त्यसैले यसले आजै ठाऊँ पायो।

जापानका बिरालाहरु हाम्रो देशका बिरालाहरुभन्दा भाग्यमानी छन्:) एउटा सकारात्मक विश्वाशसंग बिरालो जोडिएको हुँदा बिरालोप्रति जापानीहरुले गर्ने ब्यबहार धेरै राम्रो छ। यो विश्वाशलाई अन्धविश्वाशनै भनिदिए पनि फरक पर्दैन, तर समाज जतिसुकै विकसित भएपनि कुनै न कुनै रुपमा यस्ता विश्वाशहरु जीवितै रहनेछन्। मानवजाति जतिसुकै विकसित र शक्तिशाली होओस्, उसको मनमा यो जगतको रहस्यप्रतिको कौतुहलता रहिरहनेछ र आफूभन्दा पनि शक्तिशाली अरु कोहि छ भन्ने उसलाई लागिरहनेछ। त्यो रहस्यसंग उसलाई सधैं एउटा त्रास पनि हुन्छ। मानवजातिको त्यहि सामुहिक त्रासको अस्थायी निकास हुन् यी विश्वाश-अन्धविश्वाशहरु।

दुई-तीन वर्ष पहिला कान्तिपुर दैनिकको 'कोपिला'मा छपाउन पठाएको थिएँ यसबारेको कथा। जहाँसम्म लाग्छ, छापिएन। वच्चाहरुका लागि लेखिएको त्यहि कथा जस्ताको तस्तै राख्दैछु यहाँ। कथाका एक-दुई भिन्नै संस्करण पनि छन्, मैले सबैभन्दा बढी चलेकोचाहिँ लेखेको हुँ। बिरालोको वनावटमा पनि केहि विविधता छन्। 'मानेकी नेको'को बारेमा धेरै कुरा जान्ने रहर पलायो भने गुगलमा 'Maneki Neko' खोज्नुहोला।


"मानेकी नेको"-जापानी विश्वासको कथा

जापान एशियाको पूर्वमा रहेको एउटा टापू देश हो। यसलाई "सूर्योदयको देश" पनि भनिन्छ। जापान अत्यन्त धनी र विकसित राष्ट्र हो। यहाँ पनि बिभिन्न लोककथा र पहिलेदेखि चलिआएका विश्वासहरु छन्। तीमध्ये एउटा आज भाइबहिनीहरुलाई सुनाउन चाहन्छु।

हाम्रो समाजमा बिरालोलाई त्यति माया गर्ने चलन छैन। बिरालोले बाटो काटेमा अलच्छिन हुन्छ भन्ने विश्वास पनि छ। तर जापानमा यसको ठिक उल्टो चलन छ। मानिसहरु बिरालोलाई असाध्यै माया गर्छन्। सबैजसो पसल र कार्यालयहरुमा एउटा हात (अगाडिको खुट्टा) उचालेर बोलाईरहेको जस्तो लाग्ने बिरालोको प्रतिमा राखिएको हुन्छ।यो बिरालोलाई जापानी भाषामा "मानेकी नेको" (अर्थात "बोलाईरहेको बिरालो") भनिन्छ। यसले राम्रो ब्यापार, नाफा र सफलता ल्याउँछ भन्ने विश्वास गरिन्छ।

यसबारेमा एउटा पुरानो कथा छ।

सत्रौं शताब्दीतिर जापानको राजधानी टोकियोको एक भागमा एउटा पुरानो बौद्ध मन्दिर थियो।त्यो मन्दिरको नाम "गो तोकु जी" थियो। एकजना गरीब बूढा पूजारी त्यो मन्दिरमा बस्दथे। उनले "तामा" नाम गरेको एउटा बिरालो पालेका थिए। आफू जति गरीब भएपनि पूजारीले बिरालोलाई असाध्यै माया गरेर पालेका थिए।

एकदिन एक महाजन शिकारबाट घर फर्कंदै थिए। आँधी चल्न र पानी पर्न थालेकोले उनी मन्दिरको छेवैमा रहेको ठूलो रुखमुनि ओत लाग्न गए। त्यतिखेरै उनले मन्दिरको बिरालोले एउटा हात उचालेर आफूलाई बोलाईरहेको देखे।अचम्म मान्दै उनी त्यो बिरालोलाई हेर्न भनेर मन्दिरतिर गए। उनी मन्दिरमा पुगेका मात्रै के थिए, रुखमा चट्याङ्ग प-यो र रुख खरानी भयो। यसरी महाजनको ज्यान जोगियो। 

महाजन आफूलाई बचाउने त्यो बिरालो र बिरालोलाई पाल्ने बूढा पुजारीप्रति अत्यन्त कृतज्ञ भए। उनले मन्दिरलाई धेरै धेरै दान दिए।

त्यो बिरालो मरेपछि उसलाई त्यहि मन्दिरमा गाडियो। बिरालोको सम्मानमा प्रतिमा बनाईयो र "मानेकी नेको" भन्ने नाम दिइयो। आजसम्म पनि जापानी जनताहरु "मानेकी नेको"ले सुख र सफलता ल्याउँछ भन्ने बिश्वास राख्दछन्।

<फेब्रुअरी ४, २००९ मा थप गरिएको>

पहिला अल्छी लागेर लेखिंन, अघि भर्खर प्रतिकृयाहरुको जवाफ दिने क्रममा लाग्यो यतिचाहिँ थप्दानै राम्रो होला। 'मानेकी नेको' को बनौट/रंगको कुरा हो।

देब्रे पञ्जा उठाएर बोलाईरहेको 'मानेकी नेको' ले ग्राहकहरु ल्याउने र ब्यापार बढाउने विश्वाश गरिन्छ। त्यसैले जापानका सबै पसलहरुमा यो देखिनु सामान्य हो। यो भन्दा अलि कम चल्तीमा छ, दाहिने पञ्जाले बोलाउने 'मानेकी नेको'। यसले चाहिं समृद्धि र राम्रो भाग्य ल्याउँछ रे! बिस्तारै यसको पनि लोकप्रियता बढ्दै छ।

रंगका हिसाबले सबैभन्दा चलेकोचाहिं calico (नेपालीमा के हुन्छ?) रंगको 'मानेकी नेको' हो। यो रंगको 'मानेकी नेको' सबैभन्दा भाग्यदायक मानिन्छ। दोश्रोमा सेतो रंगको 'मानेकी नेको' छ जुन पवित्रता र उज्यालो भविष्यको प्रतीक मानिन्छ। कालो रंगको 'मानेकी नेको' ले दुष्ट्याईँलाई नजिक आउन दिँदैन भन्ने मान्यता छ। त्यसैले लुच्चा-गुण्डाहरु आफ्नो छेउ नआईपुगुन् भनेर धेरै जापानी महिलाहरु कालो 'मानेकी नेको' साथमा राख्छन्। सुनौलो 'मानेकी नेको' ले समृद्धि ल्याउँछ भने गुलाबीले प्रेम र रोमान्स। हरियो 'मानेकी नेको' ले सुस्वास्थ्य र शैक्षिक सफलता दिलाउने विश्वाश छ; यसैले विद्यार्थीहरुमा यो लोकप्रिय छ।

16 comments:

  1. त्यो बोलाईरहेको बिरालोको सानो सानो मुर्तिहरु निक्कै देखेको थिएँ । कतिपयले गाडीहरुमा पनि राख्ने गर्छन् तर यस्को यो कथा भने सुनेको थिईंन । रमाईलो लाग्यो तपाईंको यो टाँसो ।

    ReplyDelete
  2. बसन्त जी.. मान्छेहरु वा भनौ देश जति नै बिकसित भएपनि आखिर कुनै न कुनै कुरामाथि आस्तिक त हुनै पर्ने रहेछ त्यसैको एउटा उदाहरण जापानमा पनि देखियो ।
    'मानेकि नेको' को परम्परागत भनाई पनि अति नै रमाइलो रहेछ । अनि बिरालो प्रति कति बिस्वाश सबैको घरमा हात दिएको अवस्थामा आखिर त्यहि महाजनको बचावप्रति बिस्वाश राखेर त होलानि?

    ReplyDelete
  3. नौलो जानकारी र रोचक कथा ।
    सकारात्मक सोच ।
    हाम्रो त कुनै पनी कुरा प्रति हेर्ने दृष्टिकोण नै गलत भए जस्तो लाग्छ , मान्छे त अलक्छिना हुन्छन अनि जीव त परै जावोस ।

    कथाले दिन खोजेको शन्देश - मननयोग्य छ ।

    ReplyDelete
  4. "मानेकी नेको" जापानी विश्वासको कथा रोचक रहेछ ।

    ReplyDelete
  5. मलाई नि राम्रो लाग्यो यो कथा !!!

    बिरालोको नाम "तामा" रे!! :D

    ReplyDelete
  6. कतै कतै यो बिरालो देखेको थिएँ, तर यसको पछाडी यो रमाईलो किम्बदन्ती पनि जोडीएको रहेछ जुन भर्खरै थाहा भयो । भने पछि नेपाली बिरालो मात्रै अलच्छिन रहेछन ।

    ReplyDelete
  7. When i out from my quarter, many times a cat(sometimes black cat too) crosses my way.
    Now i feel relief it is fortunate one :-).
    BTW, is there any story about with color of cat

    ReplyDelete
  8. I liked the pictures. The story is nice too.

    ReplyDelete
  9. सारै रमाइलो किम्बदन्ति... हामी कहाँ चै खोई किन हो बिरालो लाई त्यति राम्रो मान्दैनन, हाम्रो पछाडी पनि कुनै किम्बदन्ति होला की !

    ReplyDelete
  10. सबैलाई धन्यबाद!
    साधनाजी, माया गरेर दिइएको नाम हो 'तामा', अर्थ चाहिँ मलाई पनि थाहा भएन।
    सुमिरनजी, जिउँदो बिरालोको रंगलाई कसरी अर्थ्याऊँछन् जापानीहरुले थाहा भएन, तर 'मानेकी नेको' को प्रतिमाको बनौट/रंगको अर्थ भने अलि-अलि थाहा छ। पहिला अल्छी लागेर लेखिँन। अहिले यहाँ लेख्नुभन्दा पनि मूल-टाँसोमै थप्नु ठीक लाग्यो, त्यता हेर्नुहोला।
    मिलनजी, त्यहि त है, हाम्रो समाजको 'बिरालो-विरोधी' धारणाको खास कारण खोज्नुपर्ने हो हामीले। कोहि ब्लगर साथीहरुले लेख्नुहुनेछ भन्ने आशा छ।

    ReplyDelete
  11. पहिला पहिला म पनि यस्तो रुदिबादी कुरा मा बिश्वास राख्थे,समय परिवर्तन सङ सगै आफु बसेको समाजमा भिजे पछी आफ्नो सोचमा स्वतस्फुर्त परिवर्तन आउदो रहेछ ।
    कहाँ हाम्रो समाजमा कुकुर र बिरालो प्रती राख्ने हाम्रो दृष्टिकोण र त्यस सम्‍बन्‍धी सुन्ने गरेको किम्‍बदन्‍ति, अनि कहाँ जापान जस्तो बिकसित राष्ट्रमा पालिने कुकुर र बिरालो को जिवन शैली ? आखिर दुबै तिर पशु त पशु नै हो, अन्तर छ त केवल हामो सोचमा छ होईन र ?
    बिरालो सम्‍बन्‍धी रोचक जानकारी को लागी बसन्त जी लाई धेरै धेरै धन्यबाद ।

    ReplyDelete
  12. धन्यबाद cheejuजी! यो ब्लगमा स्वागत छ!

    ReplyDelete
  13. La hera, yesta birala haru Nepal ma kahile bhitrane hun kunni..Ki Nepali le ni banaulan ni...

    blog lai ekdam suhaune post cha yo.

    Medost nepali Forum

    ReplyDelete
  14. Medost Nepali Forumजी, ब्लगमा स्वागत छ, प्रतिकृयाका लागि हार्दिक धन्यबाद!

    ReplyDelete
  15. Katha ramro ho. Tara kopila ma chapna ko lagi aali sano bhayo Basanta Ji ...

    ReplyDelete
  16. Bollywood Tourजी, ब्लगमा स्वागत र प्रतिकृयाको लागि धन्यबाद!

    कुरो सुन्दा 'कोपिला'संग नजिकको नाता पर्ने हुनुहुन्छ जस्तो लाग्यो:) बच्चाहरुको पत्रिका भएकोले कथालाई सकेसम्म सरल र छोटो बनाएको थिएँ। अब पछि लेख्दा तपाईँको सल्लाहलाई ध्यान दिनेछु।

    ReplyDelete