September 02, 2008

यसपालीको तीज (र मिसिएको नेपाली राजनीतिको बाढी)

सम्पूर्ण नेपाली दिदी-बहिनीहरुमा तीजको हार्दिक शुभकामना!

नागोयामा दशैं र नेपाली नयाँ वर्ष (वैशाख १) नियमित रुपमा र निकै जोश र जाँगरका साथ मनाईन्छ। तीज पनि पहिलादेखिनै मनाईँदै आएका छन् यहाँ। सामान्यतया दर खाने दिन राती १०-११ बजेबाट नेपाली संचालक भएका एक-दुई रेष्टुरेण्टहरुमा नाचगान कार्यक्रमहरुको आयोजना हुन्छ। भोलिपल्ट बिहानैबाट पढाई अथवा काम हुनेका लागि सहभागिता जनाउन अप्ठेरै हुन्छ। त्यसकारण, यसपटक बरु केहि दिन पहिलानै होस् तर शनिबार (३० अगष्ट) दिनभरि कार्यक्रम गर्ने योजना बन्यो। अपर्झटको योजना भएकाले सहभागिता पनि औसतभन्दा धेरैनै कम भयो।

केहि दिनदेखि लगातार जसो मूसलधारे पानी परिरहेको थियो, त्यो दिन पनि बिहानैबाट दर्किरहेको थियो। केहि साथीहरु बस्ने आवास-क्षेत्रको हल लिईएको थियो दिनभरिका लागि भनेर। त्यो दिनका खानेकुराहरु केहि बनाएर महिला समूह हलतिर लाग्दा सम्म डेढ-दुई बजिसकेको हुँदो हो। त्यसपछिको अढाई घण्टा हामी पुरुष पाटीको काम बाँकी रहेका खाना तयार गर्नु र हलसम्म खानेकुराहरु बोकेर जानु थियो। त्यत्तिमात्रैले हाम्रो अढाई घण्टा सजिलै बित्ने वाला थिएन। 'सुत्केरीको निहुँ पारी-----' लाई त भो नकोट्याउँ:)

त्यो अढाई घण्टामा नेपालको कुरा हुनु स्वाभाविकनै भयो। कोशीले गरेको विनाशको कुरो भयो केहि बेर। तर जहिले जहाँ बसेर कुरा गरेपनि कुरामा नेपालको राजनीतिको बाढी पनि सोझै मिसिइहाल्छ। नेपालको राजनीतिनै यस्तो छ कि यसको बारेमा लगातार, अनन्तसम्म कुरा गर्न सकिन्छ। फेरि हालसालै मात्रै एमालेका केहि नेताहरु जापान आएकाले त्यतातिरका प्रसंगपनि धेरै हुननै भए।

माधव नेपालको स्वागतमा टोकियोमा गरिएको एउटा कार्यक्रम प्रचण्डले नेपालमा शपथ लिएकै दिन परेको रहेछ र एकजना साथीले आफ्नो मन्तब्यको क्रममा "माओवादीले आफ्नो घमण्ड र अधिनायकवादी नियत छाडेनन् भने प्रचण्डले शपथ लिएको दिन नेपाली इतिहासको कालो दिन पनि बन्न सक्छ" भनेर भन्दिनुभएको रहेछ। त्यो कुरालाई लिएर जापानका माओवादीहरु 'रिसाएका' रहेछन्। रिसाउनुपर्ने कुरो त केहि पनि छैन त्यसमा तर साथीको मन्तब्यको प्रसंगलाई पूरै पन्छाएर उनीहरु "हाम्रो नेताले शपथ लिएको दिनलाई 'कालो दिन' भन्यो त्यल्ले" भन्दै दागा धर्दै हिँडेका रहेछन्। यो प्रसंग मैले त्यहि दिन थाहा पाएँ।

जति निष्पक्ष र राजनितिक पूर्वाग्रहरहित भएर हेरेपनि यी माओवादीहरु अझै असहिष्णुनै लाग्छन्। जापानका केहि 'सकृय' माओवादीहरुसंग बिभिन्न कार्यक्रमहरुमा भेट भइरहेको छ अचेल। माओवादीहरुको पारा गज्जब लाग्छ। उनीहरुका नेता आउँदा सबै आईदिउन् भन्ने चाहना हुन्छ उनीहरुको। तर एमाले-काँग्रेसको कुनै नेता आउने कुरो भयो भने "कालो झण्डा देखाउने" धम्की दिँदै हिँड्छन्। अस्ति माधव नेपालसंग नागोयामा भएको अन्तर्कृयामा आफूलाई माओवादी भन्नेहरु केहि आफू त आएनन्-आएनन् उल्टो आउन लागेका धेरैलाई पनि रोकेछन्। कसैलाई कुनै दल अथवा नेता मन पर्नु र कसैलाई मन नपर्नु स्वाभाविक हो, तर विरोध देखाउने गतिलो अथवा राजनीतिक तरिका त्यो होईन। ती मित्रहरुले के बुझ्नु जरुरी छ भने राजनीतिक असहमति र राजनीतिक असहिष्णुता दुई बिल्कुलै भिन्नै कुरा हुन्।

जब राष्ट्रपतिको चुनावमा माओवादी पछारियो, ती मित्रहरुले धेरैलाई फोन गरेर हैरान पारे र कांग्रेस-एमाले-फोरमको 'अपवित्र गठबन्धन' को विरोधमा काने पाक्ने गरी भाषण छाँटे। एकजनाले त मलाई यस्तो 'अपवित्र गठबन्धन'को विरोधमा नेपाल इञ्जिनियर्स एशोसिएसन-जापान केन्द्रको तर्फबाट पनि बक्तब्य दिने 'सल्लाह' समेत दिए! तर पछि फोरमसंगै गठबन्धन गरेर माओवादीले सरकार बनायो। अचेल उनीहरु फोनै उठाउँदैनन्!

मर्यादाक्रम-सर्यादाक्रम जे भनेपनि माओवादीले वामदेवलाई नर्सरीमा भर्ना गरेको खबर कान्तिपुरमा 'तातै' थियो शनिबार। प्रधानमन्त्री विदेश जाँदा वामदेवलाई पनि साथै लाने र का.वा.मा बाबुराम जहिले पनि पक्का रे! हा हा हा! के वामदेव नर्सरी पढ्ने बच्चा हुन् हात समातेर डो-याउनु पर्ने? फेरि, प्रधानमन्त्री विदेशै जाँदामात्रै कुर्सी खाली हुने हैन, अरु केहि राम्रा-नराम्रा सम्भावना पनि हुन्छन्। यिनै 'सम्भावना'हरुका कुरा गरेर पनि खुब हाँसियो।

प्रचण्डको डेढ लाखको खाट पनि राम्रै सितन बन्यो हाँस्नका लागि। यो कुरामा 'ब्रेक' लगाउन भने निकै गाह्रो भएको थियो किनकि, खाटको कुरा प-यो, जतापनि तन्किन सक्नेनै भयो:)
*********************************************
हामी खाना लिएर हलमा पुग्दा नाचगान भब्य गईराखेको थियो।

'नेपाली लोग्नेमान्छेहरु भेट भयो कि बियर खाने र राजनीतिको कुरा गर्ने बाहेक केहि गर्दैनन्।' भन्ने गुनासो र 'यस्तै हो भने अबका कार्यक्रमममा लोग्नेमान्छेलाई आउट गर्ने' धम्कीका कारण हलमा हामी 'सुख्खै' पुगेका थियौं। तर खाना खाँदै गर्दा फेरि राजनीति पसिहाल्यो कुरामा। केहि दिन पहिला आएका पहिलेका माओवादी-अहिलेका एमाले नेतासंगको कुराकानीका प्रसंग शुरु गरे साथीहरुले। माओवादीले कसरी सजिलै त्यति धेरै हतियार जम्मा पा-यो भन्ने साथिहरुको जिज्ञासामा उनले लगभग सबै हतियार बिहारबाट आउँथ्यो भने रे। बिहारको संगठित अपराध-उद्योग र छ्यास्छ्यास्ती हतियार कारखानाहरुको बारेमा पहिलेदेखिनै सुनिँदै आएको हो।

"बिहारमा त दशैंमा टिका लगाएर ज्वाईँ-छोरीलाई बन्दूकै दक्षीणा दिन्छन् रे। अलि हुनेखानेले त एसएलआरनै पनि दिन्छन् रे। अनि नातीनातीनालाई एक-एक पोका गोली दिन्छन् रे!" राजनीतिको निरसतालाई एकजना साथीले रमाइलो मोड दिनुभयो। यसले उब्जाएको सामूहिक अट्टहास लामै थियो। हाँस्दा-हाँस्दा आंखाबाट आँसु आएको थियो मेरो।

महिलाहरुले नाचगान गरेर तीज मनाए। हामीले हाँसेर मनायौं। यो पाली गाइजात्रा मनाउने मेसो परेको थिएन, गाइजात्रा मनाइयो तीजको दिन भनौं न।

7 comments:

  1. मलाई पनि यी माओवादीहरू मनै पर्दैन । नचाहिँदो फुर्ति, कत्रो नै हुँ भन्ने मपाईँवादले ग्रसित, लौरा र ढुङ्गाले हानेर अरू उम्मेद्वारलाई गाउँ छिर्न नदिई आफैँ भोट हालेर चुनाव जितेको ध्वाँसका पोका र अवसरवादीको गिरोह हो माओवादी । सत्तामा जानुअघि सबैलाई देश चलाउन सिकाउँदै हिँड्ने अनि आफू सत्तमा पुगेपछि भारतको लगौँटी समाउँदै हिँड्ने दुईजिब्रे गोमन सर्प हो माओवादी । बेलैमा चिन्न सकिएन भने सबैलाई डसेर एक चिहान बनाउँछ यसले ।

    ReplyDelete
  2. यो गठबन्दन पनि पवित्र र अपवित्र भन्ने हुन्छ र भन्या ? राष्ट्रपती को चुनाबमा भएको कांग्रेस-एमाले-फोरमको गठबन्दन लाई मायोबादी हरुले जुन 'अपवित्र गठबन्धन' को संघ्या दियो, यो निस्चयनै राम्रो कुरा थिएन, र अहिले आएर तिनै मायोबादी ले फोरम सँग गठबन्दन गरेर सरकार बनाउदा चाँही हुने, यो कस्तो निती रहेछ हाम्रो नेपालमा आफुले गरेको चाँही जे कुरा पनि राम्रो अरुले गरेको चाँही अपवित्र भन्यो सक्यो.... यस्तै छ यहाँ को चलन......

    ReplyDelete
  3. यो 'तिज' भित्र त नेपालको राजनीति देखी दशैं समेतको झल्को रहेछ । त्यसमा पनि बिहारी दशैं र 'बिहारी दक्षीणा'को जोक चाहि दामि लाग्यो ।

    ReplyDelete
  4. This is a political immaturity to boycott other leaders. Hope the Maoists will imbibe some political culture and appreciate the existence of other players.

    ReplyDelete
  5. Basant g tapaiko comment ko lai dhanyabad tara tapai ko blog ta jhan ramro ra so quit sathai samay sandarvik rahe6 , derai ramro tapaiko blog maile mero frinds list ma add gare ra rakheko 6u mind garnu hun holani haina reply dinus la.

    ReplyDelete
  6. I found the narration quite interesting especially,...अनि नातीनातीनालाई एक-एक पोका गोली दिन्छन् रे!...महिलाहरुले नाचगान गरेर तीज मनाए। हामीले हाँसेर मनायौं।.
    I agree with Paribartan's comment on political immaturity of the present Nepalese leaders. and to some extent, this culture (non-acceptance of others' existence) is being adopted even by the followers (of those leaders.

    ReplyDelete
  7. सबैलाई धन्यबाद!

    दोहरो मापदण्ड राख्ने कुरामा नेपालका सबै दलहरु नामी छन्। यो माओवादीले सबैलाई उछिन्ने पक्का देखिन्छ। राजनीतिमा असहमति हुनु सामान्य हो तर त्यसलाई ब्यक्त गर्ने लोकतान्त्रिक तरिका पनि हुन्छन्। माओवादीहरु अझै मूढे बल, धम्की, बलप्रयोगकै भर परेर बसेका छन्।

    यो टाँसोसंग जोडिएको दिन हाँस्न भने बहुत हाँसिएको थियो। अहिले साथीहरुका प्रतिकृयाहरुको जवाफ लेख्न बस्दा पनि सम्झेर हाँसिरहेको छु।

    बेदनाथ पुलामी(उमेश)जी, ब्लगमा स्वागत छ र प्रतिकृयाको लागि धन्यबाद! तपाईँको ब्लगमा मेरो ब्लगको सूत्र राख्दिनुभएकोमा पनि धन्यबाद! खुशी लाग्यो। म पनि राख्नेछु तपाईँको ब्लगतिर जाने सूत्र।

    ReplyDelete