June 21, 2007

घुम्दै-फिर्दै फेरि नेपाली लोकगीत!

विक्रम सम्वतको २०३० को दशकमा हुर्किँदा सुन्न पाउने भनेको रेडियो नेपालले बजाउने नेपाली लोकगीत-गीतहरु र हिन्दी फिल्मी गीतहरु मात्रै थिए। हाम्रो घरमा रेडियो थिएन। काकाको घरमा थियो एउटा सानो नेशनल-पानसोनिक रेडियो। त्यो रेडियोमाथि हजूरआमाको पूरा नियन्त्रण थियो। के सुन्ने, के नसुन्ने भन्ने कुराको निर्णय अरुले हतपती गर्न पाउने चलन थिएन। हजूरआमालाई शाही नेपाली सेनाले चलाउने कार्यक्रममा भीमबहादुर थापाका रुपकहरु असाध्यै मन पर्थ्यो, बेलुका आउने कृषि कार्यक्रमकी बूढीआमैको गन्थन र परिवार नियोजन कार्यक्रमका रमाईला सम्वादहरु पनि खुब सुन्नुहुन्थ्यो वहाँ। त्यस्तै हरेक शनिबार दिउँसो एक कि साढे एक बजे आउने नाटक पनि सुनिन्थ्यो, घर-छिमेकका लगभग सबैले। ठूलो जमात भेला भएर चिया पिउँदै, गफ गर्दै नाटक सुन्ने ती दृश्यहरु मेरो मानसपटलमा नमेटिने भएर रहेका केहि दृश्यहरुमध्ये पर्छन्। कार्यक्रम सुन्ने सवालमा हाम्रो अनूरोधको खासै सुनुवाई हुँदैन थियो। बढीमा बाल-कार्यक्रम सम्म सुन्ने अनुमति हुन्थ्यो यदाकदा। बाल-कार्यक्रम, त्यसभित्रको पनि ‘हातेमालो’ भन्ने कार्यक्रम असाध्यै मन पर्थ्यो मलाई। काकाको घरको रेडियोबाट सुन्ने अवसर नपाएको बेला ठूलो बाको घरमा पुग्थें बाल-कार्यक्रम सुन्न। त्यो घरको कान्छो छोरो मसंग एउटै उमेरको (म भन्दा एक महिनामात्रै कान्छो) छ र हामी एउटै विद्यालयमा एउटै कक्षामा पढ्थ्यौं। उसंगै मैले पनि सुन्न पाउँथे बाल-कार्यक्रम।

नेपाली लोकगीतहरु र नारायण गोपालका गीतहरु मन पर्थ्यो मलाई। केहि हिन्दी गीतहरु पनि मन पर्थे। किन हो कुन्नि, विशेष गरी गायक मुकेशको स्वरसंग म एकदमै आकर्षित थिएँ। गाउँमा भिडियो-टेलिभिजन धेरै पछि मात्रै आए। एस.एल.सी.सकुञ्जेलसम्म अंग्रेजी गीतहरु बारेको मेरो जानकारी शून्य थियो। नेपाल टेलिभिजनका शुरुवाती दिनहरुमा भूषण दाहालले ‘सण्डे पप’ चलाउन थालेपछि भने अलि अलि हेर्ने मौका पाईयो, तर गीतको अँग्रेजी ठ्याम्मै बुझिँदैन थियो, संगीत र नाचकै रमाईलोले मात्रै हेरिन्थ्यो।

स्नातक पढ्न भनेर २०४८ मा पहिलो पटक नेपाल छाड्दा मैले जम्मा दुईटा क्यासेट साथमा लगेको थिएँ। एउटा ‘नारायण गोपालका गीतहरु’को कुनै भाग थियो, अर्को महको ‘पिकनिक’ भन्ने प्रहसन थियो। त्यतिखेर विदेश जानेहरुमा नारायण गोपाल र मह नबोक्नेहरु त कोहि पनि हुँदैन थिए होलान् जस्तो लाग्छ। सबैजसोले कुमार बस्नेतका लोकगीतहरु पनि बोकेका हुन्थे। मैले कुमार बस्नेतका गीतहरु नबोकेपनि संगै जाने अरु धेरैले बोकेका रहेछन्।

चीनमा बस्दा अँग्रेजी गीतहरु सुन्न थालियो। शुरवात जोन डेन्भर र बिटल्सबाट भएको याद छ मलाई। एक वर्ष भाषा पढेर इञ्जिनियरिङ्ग पढ्ने विश्वविद्यालय गएपछि भने एकदम धेरै सुन्न थालें। कारणचाहिँ संगै पढ्ने, सानेपा घर भएको एकजना साथी थियो। उसंग अंग्रेजी गीतहरुको धेरै ठूलो संकलन थियो, धेरै त नेपालबाटै लिएर गएको। उ ‘गन्स एन रोजेज’ र ‘जिम मोरिसन’ भनेपछि मरिहत्ते गर्थ्यो। मैले ‘यू टू’, ‘पिंक फ्लोयड’, ‘रोलिङ स्टोनस्’, ‘आरइएम’, ‘क्वीन’आदि थाहा पाएको उसैबाट हो। त्यहाँ हाम्रै उमेरको एउटा अमेरिकी (मिनेसोटा राज्यको) केटो अंग्रेजी पढाएर बसेको थियो छ महिना जति। हुनत, उ हामी भन्दा अलि फरक थियो, हामीभन्दा उल्टो संस्कृत, गीता, ध्यान आदिमा बढी रुचि भएको, तर उसबाट पनि धेरै थाहा पाइयो अंग्रेजी गीतहरुको बारेमा। उ विशेष गरी त्यतिखेरका मूलधारभन्दा अलि फरक खाल्का अँग्रेजी गीतहरु बढी रुचाउँथ्यो। ती चार वर्षको दौरानमा मैले सुनेका मध्ये सबैभन्दा मन पर्ने समूहहरु भन्नु पर्दा ‘क्वीन’ र ‘डायर स्ट्रेट्स’ भन्छु होला शायद। अंग्रेजी गीतहरु बढी सुन्ने यो क्रम २०५३ तिरबाटै बिस्तारै कम हुँदै गयो।

चिनियाँ गीतहरु पनि सुनिन्थ्यो धेरै। शास्त्रीय चिनियाँ संगीत मन परेपनि बढी उदासी भरिएको लाग्ने हुँदा अलि कम सुन्थें। चीन भर्खरै मात्र खुल्ला समाजको बाटोमा हिँडेको थियो र पप गीतहरु पनि त्यसै अनुसार अगाडि आउँदै थिए। हङकङ र ताइवानका पप गीतहरु पनि बढी सुनियो। मूलभूमि चीनमा भने रक गीतहरुको बाढीनै आएको थियो त्यो ताका। अर्थतन्त्र विस्तारै पूँजीबादतिर गएपनि कठोर साम्यवादी राजनीतिक बन्देज भने छँदैथियो। यस्तो अवश्थामा रक गीतहरुले अति अप्रत्यक्ष तरिकाले राजनीतिक सन्देश बोकेका जस्ता लाग्थे। थुप्रै समूहहरु मध्ये ‘थाङ डाइनाष्टी’ र छुइ चियान (ब्यक्तिको नाम) बढी मन परेका थिए। हङकङको एउटा ‘बियोण्ड’ भन्ने समूह पनि खुब मन पर्थ्यो, हुनत त्यो समूहका सबैजसो गीतहरु क्यान्टोनीजमा हुन्थे। नेपाल फर्किँदा यी समूहहरुका केहि क्यासेट-सिडीहरु पनि ल्याएको थिएँ।

नेपाल फर्केपछि भने विस्तारै गजल-कव्वालीहरुमा बढी मन जान थाल्यो। गजलहरु पहिला पनि नसुनिने हैन, तर अब भने गजलहरुमात्रै जस्तो भयो। बढी मन पर्ने चाहिँ जगजीत सिंह। नुसरत फतेह अली खानलाई भेटेपछि त जिन्दगीको सम्पूर्ण खोजनै सकिएजस्तो लागेको थियो केहि समय। मैले शुरुमा सुनेको नुसरतको कव्वाली ‘दम मस्त कलन्दर’ को शास्त्रीय संस्करण थियो। संगै किनेको जावेद अख्तरका शब्दहरु भएको ‘संगम’ अल्बम (जो पूरै शास्त्रीय शैलीमा भने छैन) त अहिलेसम्म कति हजार पटक सुनिसकें होला!

चार वर्ष पहिला जापान आएपछिबाट अहिलेसम्म पनि गजल र नुसरत प्रतिको आकर्षण उस्तै छ। यस बीचमा ‘फ्यूजन’ तिरको आकर्षण पनि बढेको छ। ‘करुणेश’, ‘प्रेम जोशुवा’, ‘अहिँसा’, ‘अनुष्का शंकर’ आदिमा मन लाग्न थालेको छ। कहिलेकाहिं लाग्छ, यो म मानसिक रुपमा बूढो हुँदै गएको संकेत हो, अब अरु सब छोडेर शुद्ध शास्त्रीय संगीतमात्रै मन पराउन थालेपछि मेरो बूढ्यौलीले पूर्णता प्राप्त गर्छ होला! तर फेरि ‘बूढो हुँदै गएको नभएर सौन्दर्य-चेत निखारिँदै गएको पनि त हुनसक्छ नि!’भनेर आफैंलाई सम्झाउँछु!

यसबीचमा जापानी शास्त्रीय अथवा लोक संगीतको त कुरै छोडौं, जापानी रक-पपको समेत एउटा गीत पनि पूरा सुनेको छैन। पप संस्कृतिका हिसाबले जापान एकदम समृद्ध छ र म अहिलेसम्म अछूतो बसेकोमा आफैंलाई धिक्कार्न थालेको छु अचेल। यति धेरै वर्ष यो ठाउँमा बिताइसकेपछि पनि यहाँको समसामयिक संस्कृतिको बारेमा खासै ज्ञान राखेको छैन। तर दोष मेरो मात्र हैन है (अझ मेरो दोषै पनि नहुन सक्छ!)! मूल दोष त इण्टरनेटको हो! अब सजिलै बुझ्ने नेपाली-हिन्दी गीतहरु जतिखेरपनि आरामले सुन्न मिल्ने भएपछि जापानी गीत सुनेर नबुझिने शब्दमा कस्ले टाउको दुखाओस्! (तर अलि-अलि त सुन्नु पर्छ गोताएँ, सुन्! )

दुई वर्ष पहिला नेपाल जाँदा तीजको समय परेको थियो र फर्किँदा तीजका गीत र अरु लोकगीतहरुको संकलनहरुमात्रै किनेर ल्याइएछ। शनिबार-आइतबार कोठा सफा गर्ने जाँगर चलाउन मात्रै सुनिन्थ्यो, ती पनि।

छोरी सात महिनाजतिकी भएपछि होला, उ केहि कुराको आड पाए बिस्तारै उठ्न थालेकी थिई। एउटा एक फूट जति उचाइको जापानी डाइनिङ्ग टेबुल छ घरमा। उ त्यसको आडमा उठ्न मन पराउँथी धेरै जसो। अनि हामीले के देख्यौं भने लोकगीतहरु बजेको बेला छोरी एकदम खुशी हुन्छे। एक हातले टेबुलको आड लिएर अर्को हात घुमाएर नाचेझैं पनि गर्छे। हामीले सिकाएको याद छैन, शायद कतिपय कुरा बच्चाको स्वभावअनुसार प्राकृतिक रुपमै पनि आउँछन् होला। हामी पनि खुब रमाउँथ्यौ उस्को ‘नाच’ हेरेर।

पछि ‘यू ट्यूब’ मा नेपाली लोकगीतहरु खोजेर देखाउन थाल्यौं उसलाई। राम्रो ग-यौं कि नराम्रो ग-यौं थाहा छैन तर नेपाली लोकगीत र नाच हेर्न पाएपछि खुब खुसी हुन्छे ऊ। विरामीनै भएको बेला अलग हो, तर खाना खान मन नगरेको बेला पनि लोकगीतको भिडियो देखाएपछि खान थाल्छे। झगडा गरिरहेकी, झर्किरहेकी छे भने पनि लोकगीतले ‘प्यासीफायर’ को काम गर्छ उस्का लागि। कार्टूनहरु, बच्चाहरु र जनावर-चराहरु भएका भिडियोहरु पनि एकदम मन पराउँछे ऊ, तर लोकगीत सबैभन्दा माथि छ उस्को रोजाईमा। (निश्चयनै, उसको उमेरका कारण, एकदमै आवश्यक नपरीकन यस्ता भिडियोहरु बढी नदेखाउने कुरामा भने हामी सचेत छौं।)

यसरी नेपाली लोकगीततिरको मेरो लगाव फेरि शुरु भएको छ, छोरीको कारणले। धेरै लामो समयपछि लोकगीतमा फेरि रुचि जागेकोले म भर्खरै शर्मिला, गुरुङ, बीमा कुमारी दूरा, लक्ष्मी न्यौपाने, बुद्धि परियार, बद्री पगेनी, सिन्धु मल्ल, खेमराज गुरुङ, बिष्णु माझी र कोमल ओली आदिलाई राम्रोसंग चिन्दैछु। दोहरी, रत्तेउली, तीजका गीत, असारे र कौडा आदिले बोक्ने कोमल ग्रामीण मनका पिडालाई साँच्चै अनुभूत गर्दैछु र जति पिडा परेपनि गाउन, नाच्न र उज्यालोको आशा गर्न नछोड्ने नेपाली मनप्रति गौरव गर्दैछु। अलि मियां र झलकमानलाई सुनेर म साँच्चै रुन थालेको छु अचेल। मेरो संस्कृति एकदम सुन्दर र जीवन्त लाग्न थालेको छ मलाई। म कति टाढा पुगिसकेको रहेछु मेरो आफ्नै पहिचानबाट! भोलि छोरी ठूली भैसकेपछि उस्लाई मैले उस्को आफ्नो पहिचान चिनाइरहन पर्ला-नपर्ला, तर उसले अहिले अन्जानमै सहि, मलाई आफ्नो पहिचानप्रति सजग गराइदिएकी छे।

यसको अर्थ मैले बाँकी सबलाई मन पराउन छाडेको भने निश्चय पनि होईन। मलाई ती पनि सधैंभरिका लागि प्रिय छन्। मात्र के भने, आत्मीय आफन्तहरुसंग धेरै लामो समयपछि फेरि भेट भएको छ।

र लोकगीत अझै मनपर्छ र सुनेपछि छमछम नाचिहाल्न मन लाग्छ भनेपछि म मनमा बूढो भएकै रहेनछु, ब्यर्थैमा चिन्ता गरेको रहेछु शायद! (भित्रैदेखि मुस्कुराउँदै छु!)

2 comments:

  1. नेपालियनJuly 10, 2007 at 10:35 AM

    राम्रो लाग्यो गोतामे जि । म पनि देश छोडे पछि लोकगितमा लगाब बढाउदै गएको छु । नेपालीमा टाइप एउटा उदाहरण हो ।

    ReplyDelete
  2. धन्यबाद छ नमे, यो ब्लगमा स्वागत छ।

    ReplyDelete