February 23, 2010

नेसाजको Knowledge Transfer Symposium सम्पन्न

NESAJ Symposium on Knowledge Transfer-2010 भब्यताका साथ सम्पन्न भयो। त्यसै कार्यक्रमका केहि झलकहरु राख्ने अनुमति चाहन्छु आज।

कार्यक्रम Nagoya International Center को एउटा हलमा गरिएको थियो र उत्साहजनक सहभागिता रहेको थियो।
   आयोजक समितिका संयोजक र कार्यक्रम सञ्चालक सरोज कँडेल

 
स्वागत भाषण ठोक्दै आयोजक समितिका अध्यक्ष

 
नेसाजका पूर्व अध्यक्ष रिषभ पौडेल

  
गैर-आवासीय नेपाली संगठन (एनआरएनए)-जापानका राष्ट्रिय संयोजक डा. सुदिप अधिकारी

"Different Aspects of Federalism" शिर्षकमा विशेष आमन्त्रित प्रवचन दिँदै वरिष्ठ प्राध्यापक किनहिदे मुसाकोजी

प्रमुख अतिथि महामहिम राजदूत डा. गणेश योञ्जन तामाङ

 
नेसाजका अध्यक्ष एवं उद्घाटन सत्रका सभापति राजेन्द्र पराजुली धन्यबाद ज्ञापनका साथ सत्र समाप्तिको घोषणा गर्दै

उद्धाटन सत्रको प्रमुख आकर्षण प्राध्यापक मुसाकोजीको प्रवचन साँच्चैनै उत्कृष्ट थियो। बिभिन्न बिश्वविद्यालयहरु र राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायहरुमा फैलिएको प्राध्यापकको पेशागत जीवनको सार भनेपनि हुन्थ्यो ३५ मिनेटको अंग्रेजीमा दिईएको प्रवचनलाई। थोरै टिपोटहरुका भरमा र अलिकति ह्वाइट बोर्डमा लेखेर आफ्ना कुरा राख्नुभएको थियो प्राध्यापकले। 'झिलिमिलि' पावर-प्वाईण्टको जमानामा पनि त्यो बिनै यति सशक्त प्रस्तुति हुन सक्दो रहेछ। मलाई लाग्छ, यो मैले धेरै पछिसम्म सम्झीरहने एउटा प्रवचन हुनेछ।

प्राध्यापकको प्रवचनमा नेपालले अपनाउन लागेको संघीयताका बारेमा उहाँका धारणाहरु थिए मूलत:। कस्तो खाले संघीयता भन्ने कुरामा पश्चिमा वा अरु कसैको पनि प्रेस्कृप्सनलाई हु-बहु पछ्याउनु गलत हुने र नेपालीहरु आफैंले विकास गर्ने मोडेलमात्रै सफल हुने धारणा थियो उहाँको। उहाँका अनुसार नेपालको भू-राजनीतिक र आन्तरिक दुबै स्थिति पूर्व यूगोस्लाभियासंग धैरै मिल्छ। 

प्रवचनबाट जापानकै सामाजिक-राजनीतिक पक्षका नयाँ कुराहरु पनि जान्न पाईयो। जापानका अल्पसंख्यक जाति/समूहहरुमाथि अझसम्म पनि हुने दुर्ब्यबहार र पक्षपातका कुराहरुको बारेमा पनि बोल्नुभएको थियो उहाँले। विगतमा नेपालका दलितजस्तै अपहेलित जापानको अल्पसंख्यक 'बुराकु' (Burakumin) भनिने जातिको हुनुहुँदोरहेछ प्रोफेसर र उहाँका अनुसार कानूनी बिभेद नदेखिएपनि जापानी समाजमा उनीहरुलाई गरिने ब्यबहार अझै पनि राम्रो छैन। रोजगारी र सामाजिक जीवनमा अझै पनि प्रशस्त बिभेद देख्न सकिने रहेछ। नेपालको दलित आन्दोलनसंग पनि सम्बद्ध हुनुहुँदोरहेछ प्राध्यापक। नेपालबारेको उहाँको जानकारी साँच्चैनै विस्तृत र गहन थियो।

त्यसपछिका दुई सत्रहरुमा एकजना नेपालविज्ञ जापानी प्राध्यापक र जापानमा अध्ययन/अनुसन्धानरत छ नेपाली विद्यार्थीहरुले आफ्ना पेपरहरु प्रस्तुत गर्नुभएको थियो। 

 
Introduction to Fiber Optic Communication and Status in Nepal शिर्षकको आफ्नो प्रस्तुतिका साथ मधुसुदन कायस्थ

 
An Introduction to Early Childhood Development (ECD) Program in Japan शिर्षकमा सोविता कोइराला
  
Community Based Rehabilitation in Nepal:Challenge for Inclusive Society शिर्षकमा नेपालका अपाङ्गहरुको सामाजिक/आर्थिक स्थितिको बारेमा प्रस्तुति दिँदै Hamamatsu University-Japan Nepal Educational Cooperative Society का प्राध्यापक मासायुकी वातानाबे ( उहाँले केहि वर्ष नेपालमा काम गरिसक्नुभएको रहेछ र उहाँ सरल नेपाली बुझ्नुहुँदोरहेछ।)

Effects of FRP Reinforcements on the Buckling and Reduced Stiffness Criteria of Compressed Steel Cylinders शिर्षकमा आफ्नो अनुसन्धान परिणाम प्रस्तुत गर्दै कृष्ण कुमार भेटवाल

Possibility of Technology Transfer to Nepal शिर्षकमा आफ्नो Carbon Solar Cell बारेको अनुसन्धानमा आधारित प्रस्तुति दिँदै ईश्वर खत्री

  
Smart Contractor: A distributed Task Assignment System Based on the Simple Contact Net Protocol शिर्षकका साथ आफ्नो संलग्नतामा विकसित एक सफ्टवयेर प्रोग्रामको बारेमा जानकारी दिँदै बिपिन खनाल
 
 Potential and Problems in the Development of Micro-Hydro in Nepal विषयक प्रस्तुतिमा होम प्रसाद अधिकारी
 
कार्यक्रमको अन्त्यमा जापानमा रहेका नेपाली विद्यार्थीहरुको बारेमा बनाईएको एउटा डकुमेण्ट्री देखाउने तयारी गर्दै सरोज कँडेल 

 
ब्यबश्थापनमा ब्यस्त विमल अधिकारी

कार्यक्रम सफल बनाउन योगदान दिनुहुने पेपर प्रस्तुतकर्ताहरु, विशिष्ट अतिथिहरु र सम्पूर्ण सहभागीहरुलाई हार्दिक धन्यबाद! कार्यक्रम समापनको घोषणा गर्दै आयोजक समितिका अध्यक्ष वसन्त गौतम

र अरु तीन सामूहिक झलक;



साँझ ओजोनेको म्याग्दी नेपाली रेष्टूरेण्टमा भएको रमाईलोको कुरो त बेग्लै छँदैछ:))

February 19, 2010

'नेसाज'को Knowledge Transfer Symposium


आज आफ्नो पनि संलग्नतामा आयोजना हुन गईरहेको एउटा कार्यक्रमको प्रसंगमा छोटो कुरा गर्ने अनुमति चाहन्छु।

जापानमा रहेका नेपाली विद्यार्थीहरुको छाता संगठन छ, नेपाली विद्यार्थी समाज, जापान (Nepalese Students' Association in Japan)। छोटकरीमा यसलाई NESAJ (नेसाज) भनेर पुकार्छौं हामी। जापानमा रहेका नेपाली विद्यार्थीहरु र (मूलत: जापानमा कार्यरत) भूतपूर्व नेपाली विद्यार्थीहरुलाई एकताबद्ध पार्ने, आपसी अन्तर्कृयाका माध्यमबाट ज्ञान/सीप आदानप्रदान गर्ने र बिभिन्न माध्यमबाट नेपालको विकासमा योगदान पु-याउने उद्देश्य बोकेको यो संस्था सन् १९९७ देखि जापानमा कृयाशील छ।

नेसाजका बारेमा थप जानकारी तपाईँ यसको गृहपृष्ठ बाट प्राप्त गर्न सक्नुहुन्छ।

नेसाजले नियमित रुपले बिभिन्न गतिबिधिहरु सञ्चालन गर्छ। यिनै विविध गतिबिधिहरुमध्ये एउटा NESAJ Symposium on Knowledge Transfer हो। यसपालिको कार्यक्रम नागोयामा हुँदैछ, पर्सि आइतबार (फेब्रुअरी २१) बिहान ११ बजेबाट। आयोजक समितिको अध्यक्षका रुपमा म पनि संलग्न छु।

यो Symposium जापानका लागि नेपाली राजदूत महामहिम डा. गणेश योञ्जन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न हुँदैछ। तोयोहाशी बिश्वविद्यालयका नेपालविज्ञ प्राध्यापक मासायुकी वातानाबे र जापानमा अध्ययन/अनुसन्धानरत ६ नेपाली विद्यार्थीहरुले बिभिन्न विषयमा कार्यपत्र पेश गर्ने कार्यक्रम रहेको छ। साथै विशेष आमन्त्रित बक्ताका रुपमा Osaka University of Economics and Law का वरिष्ठ प्राध्यापक किनहिदे मुसाकोजीले  "संघीयताका बिभिन्न पक्षहरु" शिर्षकमा प्रवचन दिनुहुनेछ।

कार्यक्रममा सक्दो सहभागिता जनाईदिनुहुन सबैमा हार्दिक अनूरोध र निमन्त्रण पनि गर्न चाहन्छु यो टाँसोको माध्यमबाट। जापान बाहिरका साथीहरुलाई सम्भव नहोला पक्का पनि, तर यहि निहुँमा गृहपृष्ठका माध्यमबाट नेसाज र आगामी कार्यक्रमका बारेमा केहि जानकारी भने लिनुहुनेछ भन्ने आशा गरेको छु। 

बाँकी कुरा कार्यक्रम पछिका लागि थाती राख्दैछु:)

तपाईँको सप्ताहान्त सुखद रहोस्!

February 13, 2010

तिमी

तिमी छ्यौ र त पवित्र मन्दिर लाग्छ
मलाई मेरो हरेक बास,
अहोभावले भरिएका छन्
मेरा प्रत्येक पलहरु
र प्रार्थना जस्तो लाग्छ हरेक श्वास;

लहर लागेर तैरिरहेका छन्
खुशीका सहस्र जोडी राजहाँस
मेरो आँखाको आकाशमा,
र उडेर जुन क्षितिज पुगेपनि
सधैँ सधैँको लागि जोडिएका छन्
तिम्रो आँचलको एक छेऊमा;

मेटिएको छ मेरा लागि अब
हिऊँद र वसन्तको भेद,
तिमी हुनुको मेरो खुशीमा
पागलपन चढेको छ रुखहरुलाई
र निर्वस्त्र नाचिरहेछन्,

मुटु जमेर कठ्याङ्रिएको हैन यो रात-
तिमी हुनुको खुशीले अवाक् मात्रै हो
सेतो पछ्यौरीभित्रको यो रात,
आफ्नै लागि लाम्बिएको हैन यो रात-
मेरो दिनलाई अलिक बढी घाम टिपेर दिन
तन्किएको मात्रै हो यो रात,
हो प्रिय,
तिमी हुनुको खुशीले
अवाक् मात्रै हो यो रात।

(डिसेम्बर १२, २००५; खासुगाई, आइची, जापान)
 
Image Source : Click Here

February 08, 2010

नेपाली खेलकूदको स्वर्णकाल =------पञ्चायत??????

स्वर्ण पदक विजेता विनिता महर्जनजी (तस्बीर साभार:नागरिक दैनिक)

पहिला, ढाकामा जारी एघारौं दक्षिण एशियाली खेलकूद (साग) मा नेपाललाई पदक दिलाउने खेलाडीहरुलाई हार्दिक बधाई र धन्यबाद! पदक पाएपनि-नपाएपनि देशका लागि मेहेनत गर्ने सम्पूर्ण खेलाडीहरुलाई हार्दिक धन्यबाद!

खेलकूद पदाधिकारीहरुले गरेको देशको घोर बेईज्जतीको लागि तिनलाई धिक्कार र 'थुक्क!'!
 
यो टाँसो अहिले लेख्न थाल्नुअगाडि पढेका एक दुई समाचारले मेरो मनको तितो अलिक कम गरिदिएका छन् तर सरोकारवालाहरुसंगको आक्रोश भने ज्यूँका त्यूँ छ।

अघि भर्खर पदक तालिका हेर्दा  (11th South Asian Games) नेपाल छैठौं स्थानमा छ। दशकौंको बिदेशी हस्तक्षेप, गृहयुद्ध र आतंकवादले जर्जर भएको अफगानिस्तान समेत हामीभन्दा माथि छ। मार्शल आर्ट्सले अलि-अलि पदक थपेपनि माथि उक्लन अब त्यति सम्भव छैन नेपाललाई। हाम्रा खेलकूद पदाधिकारी र सरकारले त अब 'भुटान र मालद्विभ्सभन्दा त माथिनै छौं नि!' भन्दिन पनि बेर लगाऊँदैनन्, लाज नभएका नकचरा र हरामहरु हुन् यी!

क्रिकेटलाई छोडेर पूरै दक्षिण एशिया आफैं खेलकूदमा धेरै तल छ। त्यसको पनि पिँधमा पुगेपछि बिश्व‍-खेलकूदमा हाम्रो ठाऊँ कुन रसातलमा होला, अनुमान गर्नुहोस्। 

खेलाडीभन्दा दश गुणा बढी पदाधिकारीहरुको जन्ती, देशको झण्डाको अपमान, पुरानो राष्ट्रिय गान, खेलाडीहरुलाई निम्नस्तरीय बसोबास, दुर्घटनामा घाइते खेलाडीहरुको बेवास्ता र दुनियाँको अगाडि आफू-आफूमै हात हालाहाल! अब देशको बेईज्जत हुन केहि बाँकी रह्यो र?????

कालो झण्डा देखाउनुपर्ने हुन् यी खेलकूद पदाधिकारीहरु! साग सकिएपछि फर्किँदा बिमानस्थलमै यी मध्ये केहिलाई कालोमोसो दल्नुपर्छ र जुत्ताको माला लगाएर काठमाण्डु पूरै घुमाउनुपर्छ। र सत्ता टिकाउन मनपरी जन्ती लान दिने र गतिलो ब्यबश्थापनको निर्देशन दिन नसक्ने लाचार सरकारलाई धिक्कार छ!!!! देशको इतिहासमा कालो नाम लेखाउन यो सरकारका लागि ११औं सागनै काफी भयो!

खेलकूद केवल खेलकूद होईन, यो एउटा सभ्य देश र समाजको चिनारी हो। खेलकूद प्रतिष्पर्धा त हुँदै हो, त्यसमाथि यो एउटा उद्योग, एउटा ब्यापार र एउटा सफल कूटनीति पनि हो। वर्तमान बिश्वमा खेलकूद राष्ट्रिय गौरव बृद्धि गर्ने, नयाँ पुस्ताका लागि 'हिरो'हरु र 'आइडल'हरु दिने एउटा सशक्त र भरपर्दो माध्यम हो। हाम्रो खेलकूदको यो घोर बेईज्जतीले फेरि एकपटक हामी खेलकूदले प्रतिनिधित्व गर्ने यी सबै पक्षमा चरम रुपमा असफल छौं भन्ने देखाएको छ। हरेक प्रतियोगिताहरुले यहि सन्देश दिन थालेको धेरै भईसक्यो तर कान नभएका 'सर्प' हाम्रा दलहरुले अहिलेसम्म एकैछिन पनि यतातिर सोच्ने कोशिश गरेका छैनन्।

यो स्थिति आईपुग्नुमा खेलाडीहरुको भने अलिकति पनि दोष छैन। तालीम र प्रशिक्षणको अभाव, अवसरहरुमा पक्षपात र चरम अब्यबष्थापनको माझबाट पनि जति उपलब्धि उनीहरुले देशलाई दिएका छन्, त्यसका लागि उनीहरु धन्य छन्।

साग-११ मा नेपालको घोर बेईज्जतले मलाई २०४६ साल अघिका पञ्चायती दिनहरुमा पु-यायो। पञ्चायतपछिका दिनहरुमा देशले केहि पक्षमा राम्रा कुराहरु पायो होला तर खेलकूदको क्षेत्रमा भने देश दशकौंपछाडि धकेलिएको छ। त्यो बेला नियमित रुपमा राष्ट्रिय-क्षेत्रीय खेलकूद प्रतियोगिताहरु भईरहन्थे।  राजाको नामनै जोडिएको सही, बीरेन्द्र शील्ड भनिने वार्षिक राष्ट्रब्यापी खेलकूदका कारण स्कूल-स्कूलका, गाऊँ-गाऊँका प्रतिभाशाली खेलाडीहरु सबैका नजरमा पर्थे र तिनले प्रशिक्षण र थप प्रतियोगिताहरुको अवसर पाऊँथे। खेलकूदका हकमा अहिलेको दाँजोमा पञ्चायतसंग एउटा समग्र राष्ट्रिय दृष्टिकोण र योजना थियो। त्यतिखेर नेपाल यस्ता साग गेममा भारतको प्रतिष्पर्धी मानिन्थ्यो। फुटबलमा हामी स्वर्णकै दावेदार मानिन्थ्यौं। हामी बिस्तारै दक्षिण एशियाली मापदण्डलाई नाघ्नसक्ने हैसियतमा पुग्दै थियौं जस्तो लाग्छ मलाई त।

अहिले 'खुट्टा तान्ने' राजनीतिक प्रतियोगितामा मात्रै राज्यको ध्यान छ। नीजि क्षेत्रले केहि गर्न नसक्ने होईन तर त्यसको प्रभाव कम हुन्छ। हाम्रो जस्तो आर्थिक/राजनितिक अबष्था भएको देशमा जबसम्म खेलकूदको विकासका लागि राज्य आफैंले एउटा स्पष्ट खाका ल्याउँदैन र प्रणालीबद्ध र संयोजनकारी काम गर्दैन तबसम्म नीजि क्षेत्रको लगानी पनि बालुवामा पानी हालेभन्दा बढी हुँदैन।

पञ्चायतको गुणगान गाउनु मेरो उद्देश्य होईन यहाँ। पञ्चायतले आफू र निरकुंश राजतन्त्रलाई जोगाउन खेलकूद र खेलाडीहरुको दुरुपयोग पनि गरेको थियो। र जुन उपलब्धि पञ्चायत कालमा नेपालले खेलकूदमा प्राप्त गरेको थियो, नेपाली जनताको खेलकूदप्रतिको आकर्षण र नेपाली खेलाडीको सम्भावित क्षमताको दाँजोमा अझै कम हो।

तर अहिलेको दुर्दशा देख्दा र निकट क्षितिजमा सुधारको कुनै किरण नदेख्दा म पञ्चायतकाललाई नेपाली खेलकूदको स्वर्णकालका रुपमा स्विकार्न बाध्य छु, विवश छु।

February 02, 2010

माओवादीको धीरेन्द्र प्रेम

यो टाँसो पनि माओवादीको जारी 'राष्ट्रिय स्वाधीनता आन्दोलन'कै एउटा प्रसंगमा केन्द्रित गर्दैछु। यसपटक माओवादीहरुले उल्लेख गर्ने नेपाली राजनीतिको एउटा पात्रको कुरा हो।

माओवादी र विशेष गरी यसका अध्यक्ष अहिले दासढुंगा दुर्घटना र दरबार हत्याकाण्डलाई भजाएर आफ्नो आन्दोलनमा समर्थन बढाउने अभियानमा छन्। उनीहरुको भनाइ अनुसार राष्ट्रवादी भएकै कारण भारतले तत्कालीन राजा बीरेन्द्रको हत्या गराएको हो। उनीहरुको भनाई अनुसार राजा बीरेन्द्रसंग उनीहरुको राम्रो सम्बन्ध थियो र माओवादी हेडक्वार्टर र बीरेन्द्रको सम्बन्धका सूत्रधार तत्कालीन (पूर्व) अधिराजकुमार धीरेन्द्र  थिए। प्रचण्डको भनाई अनुसार त बीरेन्द्र प्रचण्डसंग वार्ता गरेर राजतन्त्र समाप्त पार्न र आफू पहिलो राष्ट्रपति बन्न समेत तयार थिए रे! अहिले प्रचण्डको भाषणैपिच्छे मदन भण्डारी र बीरेन्द्र संगसंगै  धीरेन्द्रको नाम पनि आउँछ।

धीरेन्द्र शाह मेरो उमेरका नेपालीहरुको बाल्यकाल र कैशोर्यका स्मृतिका एक कुख्यात पात्र हुन्। पञ्चायत आफ्नो मस्त यौवनमा छँदा निरकुंश राजतन्त्रको सुरक्षा कवचमा बसेर उनले देशमा अनगिन्ती अपराध र हत्याकाण्डहरु मच्चाएका थिए। २०४६ सालपछि जन्मेको पुस्तालाई बुझाउनु पर्दा, उनी अघिल्लो पुस्ताका 'पारस' थिए, अझ उद्दण्ड। सञ्चार साधन र पत्रिकाहरुको अहिलेजस्तो बाहुल्यता नभएपनि उनको बारेमा पूरै देशलाई थाहा थियो र उनी त्यति बेला त्रासको स्रोत थिए र घृणाका पात्र थिए।

धीरेन्द्र शाह यौन-आशक्त थिए र केटी फेरिरहन्थे। उनको बारेमा कस्ता सम्म हल्ला चलेका थिए भने उनी हरेक दिन पद्मकन्या क्याम्पस अगाडि गएर बस्थे रे अनि जुन केटी राम्री लागी, त्यसैलाई अपहरण गर्थे रे।  उनी लुगाभित्र पनि देख्न सकिने खाले चश्मा लगाउँथे भन्ने हल्ला पनि थियो। यस्ता हल्लाको तथ्यमा  अतिशयोक्ति पक्कै छ तर सार भने पटक्कै गलत छैन। त्यतिबेरको अत्यन्त चर्चित नमिता-सुनिता हत्याकाण्डका प्रमुख दोषी भनेर मानिएका थिए उनी, तर सत्ताको आडमा उनी कारबाहीबाट जोगिए, कथित अनुसन्धानमा उनको नाम समेत आएन।

देशका पूराना मूर्ति चोरेर बिदेशीलाई मोटो दाममा बेच्ने र लागू पदार्थको कारोबार गर्ने शक्तिशाली गिरोहको नाइके पनि उनै मानिन्थे।  यसै क्रममा कुनै बैशाख एकको राती, पूरा काठमाण्डौं उपत्यकाको बत्ती निभाएर भक्तपुरको भूपतीन्द्र मल्लको शालीक उखेल्न दलबलसहित क्रेन लिएर उनी त्यहाँ पुगेको तर त्यहाँ खटिएका नेपाल प्रहरीका एक निर्भीक इन्स्पेक्टर रुपकराज शर्मा (जो एक समयका चर्चित फुटबल खेलाडीसमेत थिए) का कारण उनको योजना असफल भएको अर्को एउटा हल्ला पनि आँधीजस्तै फैलिएको थियो। पूरा काठमाण्डौं उपत्यकामा एकैचोटि बत्ती निभेको त्यो रात याद छ मलाई।

उनले आफ्नी श्रीमतीलाई सधैं निर्घात चुट्ने कुरा पनि चर्चाको केन्द्रमै रहिरहन्थ्यो सधैं।

दरबारभित्रको केहि आन्तरिक कारणले होला, पञ्चायतको अन्त्य हुने ताका उनी अधिराजकुमारको पदवी त्यागेर बेलायत बस्न थाले। त्यसपछि क्रमैसंग उनी बारेका चर्चाहरु सेलाउन थाले।

केहि वर्ष बेलायत बसेपछि उनी फेरि नेपाल फर्किए। त्यतिखेरसम्म नेपालबाट पञ्चायत गईसकेको थियो र देशमा बहुदलीय संसदीय ब्यबश्था थियो। यसपछि उनी अर्को हिसाबले चर्चामा आउन थाले। मण्डलेहरुको भिड जम्मा पारेर 'कार्यक्रम' गर्ने र संसदीय ब्यबश्थाका बिरुद्ध विषवमन गर्ने-गराउने गर्न थाले उनी। उनको कार्यक्रममा मण्डलेहरु 'आदेश पाए पार्टीका नेताहरुलाई बन्दूकले उडाइदिन्छौं!' भनेर खोक्थे। उता सांसदहरु भने संसदबाट 'बेलायतमा कुहिरीले लात हानेपछि यहाँ आएर हामीसंग निहुँ खोज्ने?' भनेर प्रतिवाद गर्थे। दरबार हत्याकाण्डसंगै यो दोहरीको पनि अन्त्य भयो।

निरंकुश सामन्ती शाशन-त्यसको नेतृत्व गर्ने राजतन्त्र-बाट देशलाई मुक्त पार्ने भन्दै देशमा सशस्त्र द्वन्द्वको  डढेलो सल्काउने माओवादीको यस्ता ब्यक्तिसंग त्यति आत्मीय सम्बन्ध रहेछ भन्ने जान्दा जो कोहिलाई पनि शुरुमा अचम्म लाग्छ। माओवादीले जुन-जुन प्रवृत्तिको बिरोध गरेको थियो या बिरोध गरेको भनेर कार्यकर्ता र जनताको आँखामा छारो हालेको थियो ती सबै प्रवृत्तिहरुको एक प्रमुख प्रतिनिधि पात्र स्वयं धीरेन्द्र थिए। राजतन्त्रको बिरुद्ध भनेर त्यत्रो बबण्डर देशमा शुरु गर्ने, देशका होनहार युवा-युवतीहरुलाई आगोमा झोस्ने तर आफूभने दरबारसंग 'सुमधुर' सम्बन्ध राखिरहने? प्रचण्डसंग वार्ता गरेकै भरमा बीरेन्द्रले गद्दी छोड्ने भए त्यत्रो रक्तपात के का लागि? संसदीय ब्यबश्थाका बिरुद्ध?

उग्रवामपन्थी र उग्रदक्षिणपन्थीहरु सारमा उस्तै हुन्छन् भनेको यहि हो। उनीहरु दुबै मूल रुपमा बहुदलीय शाशन र खुल्ला समाजको विपक्षमा हुन्छन्। माओवादी र धीरेन्द्रको 'गर्धन' जोडिनुको मूल कारण पनि यहि हो। संसदीय ब्यबश्थाको बिरोधमा माओवादी चरित्रका, नीतिका अरु सबै तमाम कुराहरुलाई बिर्सेर जो संग पनि गठबन्धन बनाउन तयार थियो। के यहि हो प्रगतिशीलता? यहि हो जनवाद?

धीरेन्द्रको मृत्युपछि पनि यस्तै दरबारीया प्रतिनिधिपात्रहरुलाई आफ्ना बिश्वाशपात्र बनाउन माओवादीले छोडेको छैन। राजतन्त्रको अन्त्यपछि प्रखर निरंकुश राजतन्त्रका हिमायतीहरु रातारात माओवादी बनेका छन् र तिनले लाल-कार्पेट स्वागत पाएका छन्। सूर्यबहादुर सेन ओलीजस्ता पञ्चायत र राजतन्त्रका पहरेदार खम्बाहरु माओवादीका सल्लाहकार र सभासद समेत बनेका छन्। ज्ञानेन्द्रको निरंकुश शाशनकालका सबैभन्दा ठूला हिमायतीमध्येका एक लोकमानसिंह कार्कीजस्ता मान्छेहरु माओवादी नेतृत्वको बिश्वासपात्र भित्रिया बनेका छन्, उनलाई अस्ति प्रचण्डले अख्तियारको प्रमुख पदका लागि समेत सिफारिश गरे।

गज्जब लाग्छ मलाई! कुरा आकाश-पाताल जोड्ने गरी आदर्शका गर्ने तर ब्यबहारमा धीरेन्द्र प्रवृत्तिसंग अगाध प्रेम देखाउने, त्यसैसंग घाँटी जोड्ने! यो कुन 'वाद' हो कुन्नि, मजस्तो अदना नेपाली नागरिकले बुझ्न  कठिन भयो।