July 27, 2009

कथा-"एउटा प्रेमकथा"

[हालसालै लेखिएका तीन वटा कथाहरु यहाँहरु समक्ष पस्किने क्रममा यो दोश्रो हो। कथामा सुधार गर्न सकिने ठाऊँहरु अझै प्रशस्त छन्, तैपनि राख्दैछु किनभने लेखेको लामो समयसम्म पनि कतै राखेन भने रचनाको शक्ति निख्रिँदै गएजस्तो लाग्छ मलाई। तपाईँहरुका पारखी आँखाको परख पर्खिरहेछु। यसपछि पनि केहि सानातिना, विशेष गरी भाषिक परीवर्तनहरु हुनसक्नेछन्, त्यसका लागि क्षमा चाहन्छु। मूल भाव र शैलीमा भने अब परीवर्तन हुनेछैन।]

एउटा प्रेमकथा

प्रियतम, तिमीले छोडेर गएपछिका यी कहालीलाग्दा दिनहरुका हरेक क्षण मैले आफ्नो जिन्दगीलाई फेरि एकपटक जिएकी छु। तिमीसंगका क्षणहरुको याद गरेर तिमी नहुँदाको यो डरलाग्दो एकान्तलाई झेलेकी छु। तिम्रो उपस्थिति मेरो हरेक श्वाशमा र रगतको थोपा-थोपामा एउटा स्वाभाविकता र अनिवार्यता बनिसकेछ! तिमी हुँदा पनि मलाई लाग्थ्यो तिमी मेरो मुटुको साह्रै-साह्रै नजिक छौ भनेर तर आज तिमी नहुँदा बोध भएको छ वास्तवमा तिमी र मेरो मुटुको बीचमा कुनै दूरीनै रहेनछ, मेरो मुटुनै तिमी रहेछौ।

तिमीलाई भेट्नु अगाडिको मेरो अभावग्रस्त बाल्यकाल र दु:खै-दु:ख र अपमानले भरिएको मेरो कैशोर्यसंग पनि मेरो केहि गुनासो छैन अब। तिमीलाई पाउनको लागि मैले गर्नुपर्ने तपस्याहरु थिए ती शायद। तिमीसंग फेरि यस्तै एक जुनी पाऊँछु भने म सात जुनिसम्म पनि ती दु:खहरु झेल्न तयार छु।

अभावग्रस्तै भएपनि सानी हुँदा मसंग आमाको माया थियो। म नौ वर्षकी नहुँदै आमा बितेपछि बाले अर्की आमा ल्याए। ती साँच्चैकी सौतेनी आमा थिईन्। हुनत सौतेनी आमाको जातै खराब मानेको छ संसारले तर गाऊँ-ठाऊँमा कति मायालु सौतेनी आमाहरु पनि देखिन्थे जसले सौताका सन्तानलाई आफ्नालाई भन्दा पनि माया गर्थे। तर मेरी सौतेनी आमाले मसंग एक वचन पनि राम्रोसंग बोलेको याद छैन मलाई। ती मलाई टोकस्न र उमेरले सक्नेभन्दा बढी काम गर्न लगाउन बाहेक केहि जान्दिनथिन्। मेरा बा पनि कथामा हुने बाजस्तै सौतेनी आमाको वशमा परेका थिए। सौतेनी आमाले मलाई विना कारण गाली गर्दा,कुट्दा-लुछ्दा पनि तिनले कहिल्यै रोकेनन्, ‘किन?’ भनेर सोध्दा समेत सोधेनन्। तिनी मसंग कहिल्यै राम्रो बोल्दा पनि बोलेनन्।

विकट ठाऊँ भएपनि हाम्रो गाऊँ नजिकै त्यतिखेरै एउटा स्कूल खुलिसकेको थियो। त्यहाँ पढ्न जाँदा खाजा खान पाईन्थ्यो। गाऊँका धेरैले छोराछोरीलाई भर्ना गरेका थिए। आमा हुञ्जेल म पनि जान्थें। सौतेनी आमा घरमा भित्रेको महिनादिनमै मलाई स्कूलबाट निकालिएको थियो, घरको काम सघाउन भनेर। घरको काम सघाउने मात्रै होईन, मैले आफूलाई पाल्न मेलापात समेत गर्नुपर्ने भयो। दश-एघार वर्षकी पनि नहुँदाबाटै म मेलापात हिँडेकी हुँ भनेर पछि मैले तिमीलाई सुनाऊँदा तिमी कस्तरी रोएका थियौ!

ठूली हुँदै जाँदा ममा पनि आँट आउन थाल्यो र सौतेनी आमाको टोकसोको जवाफ फर्काऊन थालें। शुरु-शुरुमा तिनले हात पनि हाल्थिन् मलाई तर तिनको डाँको भन्दा मेरो डाँको ठूलो हुन थालेपछि हच्किन थालिन्। बालाई कुरा लगाऊँथिन् ती त्यसपछि। सौतेनी आमासंग के भन्थे कुन्नि बाले तर मलाई भने आँखा तरेर हेर्थेमात्रै, केहि भन्दैनथे।

मेलापात नभएको बेलामा पनि मलाई घरमा बस्नै मन लाग्दैनथ्यो। म धेरैजस्तो आफ्ना साथीहरुसंग हुन्थें। 'टुहुरी विचरी!' भनेर तिनका आमाहरुले मलाई माया गर्थे। धेरैजसो म सुत्न मात्रै घर जान्थें। कति रात त साथीहरुकै घरमा पनि सुत्थें।

पन्ध्र-सोह्रको उमेर बाट मसंग अलि बढी मिल्ने साथी थिई एउटी, माया भन्ने। गरीबनै भएपनि ऊ नाम अनुसारनै माया पाएर हुर्केकी थिई। तर त्यो असाध्यै पात्तेकी र छाडा थिई। केटाहरुसंग छिल्लेर कुरा गर्न लाजै मान्दिनथी। मेलापात, जात्रा आदिमा उसका वरिपरि केटाहरु झुम्मिन्थे। गाऊँमा जन्त आएका केटाहरुलाई समेत जिस्काउन जान्थी त्यो। म असाध्यै लजालु थिएँ यस्ता कुरामा, तैपनि ऊ मेरो नजिककी साथी थिई। कसरी, कहिले बाट ऊ मेरी मिल्ने साथी बनी, मलाई थाहै भएन। म मेरो मनको कुरो उसैसंग मात्रै खोल्थें। मलाई जे पर्दा पनि ज्यान दिएर सघाऊँथी ऊ। मान्छेहरु छक्क पर्थे हामी दुई मिलेको देखेर, हाम्रो विपरीत स्वभावलाई लिएर उनीहरु “पानी र तेल मिलेको!”भन्थे।

एकचोटि ऊ र म उस्को मामाघर गएका थियौं। भोलिपल्टको ठूलो एकादशीको मेला हेर्न जाने भनेर हामी त्यहाँ पुगेका थियौं। उस्को मामाघरबाट एक घण्टाको बाटोमा मेला लाग्थ्यो। अरुलाई नभनेपनि, ऊ खासमा त्यहाँ एउटा केटो भेट्न भनेर आएकी थिई र मलाई साथी ल्याएकी थिई। दुई महिना पहिला गाऊँको एउटा बिहेमा जन्त आएको केटो थियो त्यो।

मेलामा त्यो केटोसंगै तिमीपनि आएका थियौ। त्यो केटो मायाजस्तै बढी बोल्ने रहेछ, तिमीभने एकदम गम्भिर अनुहार बनाएर त्यो केटोभन्दा अलिक पछाडिनै उभिएका थियौ। एकछिनपछि हामी दुबैलाई त्यहीँ छोडेर माया र त्यो केटो अलि पर गएर कुरा गर्न थाले। हामी दुईमात्रै हुँदा मलाई पनि अलि-अलि अप्ठेरो लागेको थियो तर तिमीलाई त असाध्यैनै भएको थाहा पाएकी थिएँ मैले। तिमी मभन्दा पनि लजालु रहेछौ! म तिमीलाई हेरिरहेथें, तिमीभने भुईँतिर हेरेर बसिरहेका थियौ, तिम्रो अनुहार-कान रातो हुँदै आएको थियो। एकछिन त्यत्तिकै उभ्भिएपछि म आफैं तिमीसंग बोल्न र कुराकानी शुरु गर्न आँटेकी थिएँ, माया र त्यो केटो फर्किए।

“तिम्रो साथी त कस्तो बोल्दै-नबोल्नी हो! केटीजस्तो----!" एकछिन पछि मायाले तिमीतिर हेर्दै भनी।
“मेरा भान्दाई हुन्। सोझा छन्। अहिलेसम्म केटी छो’का छैनन् यिनले---“ त्यो केटो तिमीलाई जिस्काऊँदै बोल्यो र हाँस्न थाल्यो।
“यो चाहिँ बिन्दे, यस्लाई पनि अहिलेसम्म कसैले सुता' छैन।" माया छिल्लिई। उनीहरु दुईजना हाँस्न थाले। मायाको यस्ता कुराको बानी लागिसकेको थियो मलाई। तिम्रो अनुहार-कान झन-झन् रातो हुँदै थियो।
“घर कहाँ हो नि भान्दाइको? तिम्रो नजिकै हो?” मायाले सोधी।
“होईन, यिनको घर देऊभञ्ज्याङ्ग हो।“
“देऊभञ्ज्याङ्ग भन्या' कता हो नि?” मैले त्यो केटोसंग सोधें।
“धेरै टाढा छैन। तल रोडबाट गाडीमा एक घण्टा जति लाग्ला। देऊभञ्ज्याङ्ग बजारमा झरेर यामबहादुरको पसल कुन हो भनेर सोधे जल्ले’पनि देखाईदिन्छ।" तिम्रो साथीले जवाफ दियो। तिमीभने अझै चूपचाप थियौ।

“तँ त्योसंग हिँड्नै आँटिस् कि क्या हो--?” छुट्टिएर हामी मायाको मामाघरतिर लागेपछि मैले सोधें।
“अँ----!” मायाले सजिलै जवाफ दिई।
“अरुलाई नि थाहा छ? तेरो घरमा--?”
“कसैलाई नि थाहा छैन। 'पोईल जान्छु!’भनेर घरमा भन्दै हिँड्छ कोई?” माया हाँस्न थाली।
“कहिले नि---?”
“अब १५-२० दिनमा। जानु अगाडि तँलाई भनिहाल्छु नि।“

मायाले १५-२० दिन पनि कुरिन, एक हप्तामै हिँडी। म त्यो दिन अलिक टाढा कतै पुगेकी थिएँ। उसले धेरै बेर मलाई खोजेकी थिई रे।

पछि तिमीले भनेपछि थाहा भयो त्यो केटो तिम्रो नातेदार पनि होईन रहेछ। तिम्रो बाको पसलमा सामान ल्याईदिने साहुको गाडीको खलासी रहेछ ऊ। ती दुबैसंग हाम्रो भेट भएन त्यसपछि।

माया हिँडेपछि मलाई गाऊँमा बस्न झन गाह्रो हुनथाल्यो। माया नभएपछि मायाको घरको बाटो बन्द भयो मेरा लागि, उसका बाऊ-आमा त मसंग बोल्नै पनि छोडे। पहिला मसंग राम्रै ब्यबहार गर्ने मान्छेहरुको पनि मप्रतिको दृष्टि नराम्रो हुँदै गएको थियो अब। 'एउटी गई, अब अर्की पनि जान्छे!’ भनेर गाऊँमा हल्ला हुन थाल्यो। माया नभएपछि बल्ल मलाई आफ्नो जवानी र त्यसमा तीरझैं गाडिन आउने आँखाहरुको अनुभूति हुन थालेको थियो। मसंग छेडखान गर्नेहरु अचम्मसंग बढ्न थालेका थिए। मलाई अब आफू असुरक्षित भएजस्तो लाग्न थाल्यो। माया साथमा हुञ्जेल जवानी ताकेर आउने तीरहरु ऊतिरै सोझिन्थे र म जोगिएकी थिएँ शायद।

कहिल्यै फर्किन नपरे हुन्थ्यो जस्तो लाग्ने घर मेरो बाध्यता बन्यो फेरि। यो बाध्यताबाट उम्किने बाटो खोज्न थालें म। तर कुनै कुनै बाटो देखिएको थिएन। यता गएपनि असुरक्षा र उता गएपनि असुरक्षा थियो मेरा लागि।

मेलामा तिमीलाई देखेदेखिनै मेरो मनमा तिम्रो लागि एउटा ठाऊँ बनिसकेछ। म आफैंलाई पनि पत्यार लागेन कति समयसम्म त! हरदम मेरो स्मृतिमा तिम्रा ती निर्दोष आँखाहरु चम्किरहन्थे ।

मैले तिम्रा ती निर्दोष आँखाहरुलाईनै आफ्नो बाटो र लक्ष्य बनाउने निधो गरें।

र एकदिन म एउटा ट्रक चढेर हिँडे।

देऊभञ्ज्याङ्ग बजार पुगेर म ट्रकबाट झर्दा दिऊँसोको तीन जति भएको थियो। सानो बजार थियो त्यो, दश-बाह्र पसलहरु हुँदा हुन्। 'यामबहादुरको पसल कुन हो?' भनेर सोधखोज गर्दा तिमी बजार छोडेर गाऊँमै फर्केको जवाफ पाएँ मैले। त्यहाँबाट बीस-पच्चीस मिनेटको उकालो बाटो रहेछ। एक्लै जाने मेसो नपाएर म एकछिन त्यतै अल्मलिएँ। तिम्रो र मेरो नाता सोध्ने एक-दुईजनालाई ‘म यामबहादुरकी मामाकी छोरी’भनेर ढाँटिदिएँ मैले।

पछि जजमानी गरेर फर्किएका एकजना बूढा बाजेको साथ लागेर म तिम्रो घर पुगें। ती बाजेलाई पनि पहिला मैले म तिम्री मामाकी छोरी भनेर ढाँटेकी थिएँ तर तिनले पत्याएनन्। म तिमीसंगै 'पोईल' आएकी हुँ भन्ने तिनले भेऊ पाईसकेका थिए कुराकानीबाट। तिनलाई हामी दुईको राम्रो चिनजान र लामो हिमचिम भएजस्तो लागेको रहेछ। 'यामे मान्छे हेर्दा सोझो देखिन्छ तर बज्जे कम्ताको चाहिँ होईन रहेछ!' भनेर हाँस्दै थिए। मैले पनि मौन हाँसेर सहमति जनाईदिएँ, त्यहि नै सुरक्षित लागेर।

"ए यामे, ल हेर्, तेरी दुलही आ’की छे!” तिम्रो आँगनमा पुगेपछि ती बाजे कराए। घरको ढोका खुलै थियो, तर तिमी निक्लिएनौ।
"दैलो खुल्लै छ। एकछिनमा आऊँछ होला। मेरो घर अलिक टाढा छ। साँझको बाटो---“ भनेर बाजे हिँडे।

एकछिन पछि तिमी आयौ।

र तिमी मलाई हेरेको हे-यै भयौ। अनि म पनि तिमीलाई हेरेको हे-यै भएँ। हामी धरै बेर नजानिँदो, मन्द मुस्कान साटिरह्यौँ।

"---अँध्यारो भयो----", धेरै बेरपछि तिमी लाज मानी-मानी बिस्तारै बोल्यौ। हामी भित्र पस्यौं, तिमीले टुकी बाल्यौ।

र मेरो जीवनमा उज्यालो छायो।

त्यसपछिको कथा, मेरो जीवन उज्यालिएपछिको कथा, तिमीसंगको मेरो प्रेमकथा, हाम्रो जीवनकथा; खुल्ला पुस्तकझैं देखेको छ यो दुनियाँले।

'यामेले स्वास्नी ल्यायो रे!' भन्दै मलाई हेर्न आउनेहरुको भिड र गाऊँमा हुने हामी बारेका सत्य-असत्य अनेक कुराहरु पातलिन थाल्दा बल्ल तिमी राम्ररी बोल्न र खुल्न थालेका थियौ। पाँच वर्ष पहिले तिम्री आमा बितिछन्। अनि एक वर्ष पहिले तिम्रा बा बितेछन्। बा बितेपछि पनि बजारको त्यो सानो चिया पसल चलाएछौ तिमीले केहि समय, तर पछि बजारमा बस्न मन नलागेर पसल बेचेछौ। बजार जँड्याहाहरुको अखाडा भएको तिमीलाई मन नपरेको कुरा गरीरहन्थ्यौ तिमी। पछि हामीले गाऊँमै सानो चिया पसल चलायौं।

म, भएर पनि हुन नसकेको मेरो माइतीतिर कहिल्यै फर्किईँन।

अझै पनि कहिलेकाहीँ लाग्छ; 'त्यो बेला तिमी नभेटिएको भए!----’ अथवा ‘त्यो केटाले देऊभञ्ज्याङ्ग यस्सै भन्दिएको भए र तिम्रो घर अन्तै भैदिएको भए----!' अथवा “तिमीले मलाई नस्विकारेको भए!----' अथवा '----!'। म एकपछि अर्को सैयौं डरलाग्दा सपना देखेझैं झस्किन्छु, आङ्ग जिरिङ्ग हुन्छ।

चारवटा छोराछोरी हुर्काऊँदा ३० वर्ष बितेको पत्तै भएन। अब त छोराछोरी सबैको घर बसिसक्यो, कोहि संगै छन्, कोहि अलिक पर पुगेका छन्। काखमा नाती-नातीनाहरु पनि खेल्न थालिसके। अरुले हेर्दा जिन्दगीमा सबैथोक छ।

तर तिमी छैनौ।

तिमी मलाई छोडेर यति चाँडै किन गयौ???

तिमीमा कुनै रोग थिएन। पचास-एकाउन्नको उमेरमा पनि तिम्रो फूर्ति देखेर मान्छे छक्क पर्थे। त्यो दिन पनि दिऊँसो तिमी र म तरकारी बारीमा काम गर्दै थियौं। तिमीले मुटु दुख्यो भन्यौ र गएर पिँढीको गुन्द्रीमा सुत्यौ। म पनि पछि-पछि गएँ र तिमीलाई दिन भनेर भित्रबाट एक गिलास पानी लिएर आएँ।

म पानी लिएर आईपुग्दा तिमी छटपटाउन थालिसकेका थियौ। मैले तिम्रो टाउको उठाएर मेरो काखमा राखें। के गरौं, कसलाई बोलाऊँ भनेर म आत्तिदैं थिएँ, तिम्रो मुखबाट फिँज आयो अलिकति। त्यसपछि तिमीले एकपटक मलाई हे-यौ र मलाई छाडेर गयौ!

यसरी हाम्रो प्रेमकथामा म एक्लै भएँ! र म जिन्दगीमा फेरि एक्लै भएँ!

कहिलेकाहीँ दु:ख लाग्छ मैले तिम्रो काखमा मर्ने सौभाग्य पाईँन। फेरि कहिले अलिक सन्तोष पनि लाग्छ, तिम्रो अन्तिम घडीमा तिमीलाई मैले मेरो काख दिन पाएँ।

म काँतर होईन र यो मेरो आत्महत्या पनि होईन, शायद मेरो चाहनाको बलले खिँचिएर मृत्यु मेरो नजिकै आईपुगेको हो। छोरा-बुहारीबाट अपहेलित पनि छैन म। नाती-नातीना खेलाएर अर्को पन्ध्र-बीस वर्ष सजिलै काट्न सकिन्थ्यो होला, तर तिमी गएपछि किन-किन यस्सै बाँच्ने मन मर्दै आएको छ। मलाई तिमीविना एक्लै बस्न मन छैन। मेरो अस्तित्वको ठूलो अंश तिमीसंगै गईसकेको छ र बाँकीलाई पनि म तिमीमै मिलाउन चाहन्छु।

मलाई बिस्तारै निद्राले छोप्दैछ। मलाई थाहा छ, भोलि बिहान म यो संसारमा ब्युँझने छैन।

मान्छेहरु जम्मा हुनेछन् र भन्नेछन्, "बिचरी! उमेरै नभई गई!", त्यसरीनै जसरी तिमी जाँदा "बिचरो! उमरै नभई गयो!" भनेका थिए। उनीहरु "तीन महिना पहिला लोग्ने बितेको तोडले ओईलाऊँदै गएकी थिई बिचरी!" पनि भन्लान्। हाम्रो प्रेमकथाको चर्चा होला फेरि एक पटक र केहि समयपछि धेरैले हामीलाई बिर्सेलान्। कसैले बिर्सेलान्, कसैले सम्झेलान् तर हाम्रो प्रेमकथा, तिम्रा-मेरा सुस्केराहरु, तिम्रा-मेरा हाँसोहरु अनन्तसम्म यो धर्तीको कुनै कुनामा गुञ्जिरहेनछन्।

म तिमीलाई देखिरहेछु प्रियतम! तिमी आहिलेपनि एक्लै एउटा घरमा मलाई कुरेर बसिरहेछौ। म आउनेछु र हामी फेरि मुखामुख गरेर मन्द-मन्द मुस्काउँनेछौं। अनि हामी घरभित्र पस्नेछौं र तिमीले टुकी बाल्नेछौ।

र मेरो जीवन फेरि उज्यालो हुनेछ।

(००:३२ बजे, जुन २१, २००९; नागोया, जापान)

July 22, 2009

ईञ्जिनियर दिवस-२००९

गत शनिवार (जुलाई १८) को दिनभरि म क्योटोमा थिएँ। यो वर्षको "ईञ्जिनियर दिवस" को उपलक्षमा नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान केन्द्रले आयोजना गरेको एउटा विचार गोष्ठीमा सहभागी हुन क्योटो विश्वविद्यालय पुगेको थिएँ म।

नेपाल ईञ्जिनियर्स एशोसिएसनको स्थापना भएको दिन श्रावण ३ लाई 'ईञ्जिनियर दिवस'(Engineers' Day)का रुपमा मनाईन्छ। जापानमा हामीले पोहरबाट मनाउन थालेका हौं। पोहरको कार्यक्रमको बारेमा यहाँ पढ्न सक्नुहुन्छ

यसपाली दुई वटा कार्यक्रम भए। दोश्रो कार्यक्रम जुलाई १९ मा टोकियोमा भयो। टोकियोको कार्यक्रममा सहभागी हुने मेसो मिलेन। क्योटोको कार्यक्रमका केहि तस्बीरहरु राख्दैछु आज।

"Flood Estimation Techniques and Issues in Nepal" शिर्षकको आफ्नो पेपर प्रस्तुत गर्नुहुँदै विनय कुमार मिश्रजी।









"Photochemical Oxidation of Pharmaceuticals and Personal Care Products (PPCPs) in Mixed Aqueous Solution Using Low Pressure UV Lamp and H2O2" शिर्षकमा आफ्नो अनुसन्धानका केहि परिणामहरु राख्दै रवीन्द्र राज गिरि दाइ।



सानो 'ब्रेक'को गफगाफ।














नेत्र प्रकाश भण्डारी दाइ आफ्नो प्रस्तुति "Coupling Hazard Management and Sustainable Development:Role of Engineering Education and Engineers in Nepal" राख्दै।






"Numerical Simulation of Unsteady Storm Storage into Granular Road Sub-base for Sustainable Urban Drainage" शिर्षकमा आफ्नो अनुसन्धानको प्रगति राख्दै बिदुर घिमिरेजी।




"Sediment Disasters and their Countermeasures as Sabo Technologies in the Context of Nepal" शिर्षकमा आफ्नो अनुसन्धान बारे प्रकाश पार्दै बद्रीभक्त श्रेष्ठजी।






"संविधान लेखन र त्यसभन्दा पर:नेपाली राजनीतिका संभावनाहरु र ईञ्जिनियरहरुले खेल्न सक्ने सकारात्मक भूमिका" का बारेमा आफनो मन्तब्य राख्दै भाष्कर गौतमजी।







क्योटो विश्वविद्यालयको प्रमुख 'आइकन'का अगाडि सामूहिक तस्बीर।












साँझको खाना एउटा नेपाली रेष्टूरेण्टमा।













क्योटो र टोकियोका कार्यक्रमहरुका बारे जापानबाट संचालित नेपाली समाचार पोर्टल "समुद्रपारी"मा राखिएको समाचार यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ। यी कार्यक्रमहरुमा प्रस्तुत गरिएका सामाग्रीहरु केहि समय पछि नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान केन्द्रको गृह-पृष्ठ http://www.neajc.org मा पनि राखिनेछन्।

July 18, 2009

चैतन्य अधिकारीज्यूको कोसेली

[पहिलो पाहुना लेखकको रुपमा साथी चैतन्य अधिकारीज्यूलाई यो ब्लगमा स्वागत गर्दैछु आज, उहाँका दुई कविताका साथमा। चैतन्यजी संगको मेरो चिनजान लगभग एक दशक पुरानो भईसकेको छ। म उहाँका सुन्दर कविताहरुको प्रशंशक हुँ। परिचयको केहि समयपछि "पोखरेली युवा साँस्कृतिक परिवार" को मासिक काव्य-सन्ध्यामा भेटिएपछि हाम्रो साझा रुचि-साहित्यका बारेमा एक-अर्कालाई थाहा भएको हो।]


हामी

देश तड्पिई रह्यो
देश भड्किई रह्यो
अन्तहीन बन्दहरुमा
देश अड्किई रह्यो

हामी डराए झैं भयौं
हामी हराए झैं भयौं
मैदान भन्दा धेरै पर
गुन गुन कराए झैं भयौं

हत्या अपहरण भए
त्राषद प्रकरण भए
हामी स्तब्ध भयौं
तैपनि हामी मौन रह्यौं

कुट्ने मार्ने बिजेता भए
ठग्ने लुट्ने नेता भए
हामी हेरिरहे झैं भयौं
सधैं टेरिरहे झैं भयौं

देशले पर्खीइरह्यो
समय घर्कीइरह्यो
हामी विदेशकै भयौं
देश भुले झैं भयौं

खासमा,
केही कुरी रहेझैं भयौं
फर्कने त हो भन्दै रह्यौं
हामी बिरानो झैं भयौं
अब पुरानो झैं भयौं

अरु पनि कति विदेशिए
सबै यतै उतै भेटिए
मानिसहरु यसरी बिरक्तिए
शायद गाउँ शहर रित्तिए

कसरी कसरी,
हामी नभए झैं भयौं
हामी नरहे झैं भयौं
मुटू आफ्नो दुखे पनि
हामी पराय झैं भयौं।


अँध्यारो / उज्यालो

तिमीले भन्यौ
म अँध्यारोमा छु
मैले चियाएर हेरें
तिमीलाई देखिन र
ढुक्क भएर फर्कें
तिमी पक्कै पनि त्यहीं हुनुपर्छ
अँध्यारोमै |

मैले बोलाईन तिमीलाई
अर्थात् बोलाउन उचित सम्झिन
आफु अँध्यारोमा भएको बुझ्नेले
या त अँध्यारोमै रम्छु भन्नुपर्यो
या त अँध्यारो छिचोल्नु पर्यो
बाहिर निस्कनुपर्यो
कम्तिमा दोसाँध त भेट्नुपर्यो
तिमी निस्की आयौ भने
अब त उज्यालो भेटें भन्नेछौ
अँध्यारो उज्यालोको विभेद चिन्नेछौ

हँ, कतै तिमी बाहिर उज्यालोमै हिंडिरहेका त छैनौ ?
-चैतन्य अधिकारी



July 13, 2009

भानु-जयन्ती २०६६


आदिकवि भानुभक्तमा हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्न चाहन्छु!
************************************************

भानु-जयन्ती नागोयामा, सबैको कार्यब्यस्ततालाई ध्यानमा राख्दै एक दिन पहिलेनै, हिजो मनाईयो। कार्यक्रमका आयोजक थिए अनेसास-जापान र एनआरएन-जापानको तोकाई-होकुरिकु शाखा। गीत र नृत्यहरु र कलाकार बिनोद बूढाथोकीज्यूका चित्र प्रदर्शनीसमेतले गर्दा कार्यक्रमले पूर्ण साँस्कृतिक परिवेश पाएको थियो। साथमा विगत केहि वर्षदेखि जापानमा नेपाली लोक-संगीत, लोक-बाजाहरुको प्रचार-प्रसारमा संलग्न संस्कृतिकर्मी मन बहादुर थापाज्यूलाई सम्मान पनि गरिएको थियो।

२२ वर्ष पहिला स्कूल छोडेपछि आफू प्रत्यक्ष सहभागी भएर मनाएको पहिलो भानु-जयन्ती कार्यक्रम थियो यो मेरा लागि।

यस्ता कार्यक्रमहरुको आफनो एउटा पवित्र उद्देश्य त भई नै हाल्छ, साथमा पुराना साथीहरु भेटिने र नयाँ चिनजान हुने मेसो पनि मिल्छ। कुमार सिंखडाजी र अनेसास जापानका साथीहरु दिनेश राज ज्ञवालीजी, आलोक चालिसेजी, प्रकाश पौडेल 'माइला'जी र गंगा घिमिरेजी टोकियोबाट आउनुभएको थियो। कुमारजीसंग बेलाबखत भेट भईरहन्छ, दिनेशजीसंग पोहर एक पटक टोकियोमा एनआरएनको कार्यक्रममा भेट भएको थियो, आलोकजी, 'माइला'जी र गंगाजीसंग हिजो पहिलो पटक भेट भएको हो। ब्लगको माध्यमबाट एक-डेढ वर्ष पहिलेनै चिनजान भएका र नागोयामै बस्ने भाइ फुरी शेर्पासंग पनि हिजै पहिलोचोटि भेट भयो।

कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो प्रसिद्ध भाषाविद्,समालोचक प्राध्यापक डा. माधव प्रसाद पोखरेल। उहाँ जापानको कोबे विश्वविद्यालयमा नेपाली र जापानी भाषाको केहि पक्षविशेषका बारेमा तुलनात्मक अध्ययन-अनुसन्धान गरिरहनु भएको रहेछ। उहाँजस्ता विद्वान र भद्र ब्यक्तित्वसंग चिनजान गर्न पाउनु पनि हाम्रो सौभाग्यनै हो।

कार्यक्रमलाई साहित्यिक र सांगीतिक दुई भाग गरेर संचालन गर्ने योजना थियो। साहित्यिक कार्यक्रम रचना-वाचनको बीच-बीचमा अतिथिका मन्तब्यहरु राखेर संचालन गरिएको थियो। गायक साथीहरु चाँडै फर्किनुपर्ने कारण रचना-वाचनकै बीचैमा दुई गीतहरु पनि प्रस्तुत गरिए।

वाचन गरिएका रचनाहरु सबै एक से एक सुन्दर र उत्कृष्ट थिए। नागोयमा एउटा गतिलो नेपाली साहित्यिक माहौल बन्न आवश्यक 'पूर्वाधार' सबै रहेछन्, यस्तै कार्यक्रमहरुको मात्रै अभाव रहेछ। एक-दुई महिनाको अन्तर राखेर नियमित साहित्यिक जमघट गर्न सकिने संभावना देखायो हिजोको कार्यक्रमले।

स्थानीय प्रतिभा बाहेक ई-मेलबाट प्राप्त दुई-तीन रचनाहरु र एउटा प्रकाशित कृतिका केहि हाईकूहरु पनि पढेर सुनाईएका थिए।

मैले अचेल सुन्दै आएको छु, 'नेपाली साहित्यमा आजभोलि गजलको बाढीनै आएको छ।'। हिजोको कार्यक्रमले पनि ठ्याक्कै त्यहि बताऊँथ्यो। पाठ गरिएका रचनाहरुको तीन चौथाई भन्दा बढी गजलहरुनै थिए। नेपाली भाषामा गजल विधाका कृतिहरु अझै कमै भएकोले यो राम्रै कुरा हो। यो 'बाढी'ले नेपाली भाषामा अझ मिठास थप्नेछ र हाम्रो भाषाको गेयात्मक सौन्दर्यको अझ परिष्कार गर्नेछ भन्ने लाग्छ मलाई। तर यो 'बाढी'ले साहित्यका अरु विधामा खडेरी नल्याओस् भनेर चाहिँ सचेत हुनैपर्छ।

श्रोता/दर्शकको उपस्थिति राम्रो थियो तर साहित्यिक रचना पाठ भईरहेका बेलामा भने हल्ला पनि अलि बढीनै हुन्थ्यो र बिहेभोजको झलक आऊँथ्यो कहिलेकाहिँ। गीत अथवा नाचको बेलामा भने हल्ला लगभग हुँदै-हुँदैनथ्यो। यो कुरालाई प्रमुख अतिथिज्यूले पनि आफ्नो मन्तब्यमा निकै ब्यंग्यात्मक शैलीमा औंल्याउनुभएको थियो।

मलाई एउटा सहभागीका रुपमा रचना पाठ गर्ने वा बढीमा एउटा मन्तब्यसम्म दिने मन थियो तर कार्यक्रमको सभापति बन्ने अनूरोध प्राप्त भयो। सभापतिका रुपमा औपचारिक कार्यक्रमको अन्त्य गर्नुपर्ने बेलामा त्यति बोल्न मन लागेन, ढिलो भईसकेको थियो। धेरै बोल्नु भनेको आफैंलाई र अरु सबैलाई पनि यातना दिए जस्तो हुने थियो। नेपाली भाषाको ब्लगहरुको स्थितिका बारेमा मन्तब्य दिन र रचना पाठ गर्न अनूरोध गर्नुभएको थियो कार्यक्रमका उद्घोषकले। नेपाली भाषाका ब्लगहरुको स्थितिलाई एकदमै छोटकरीमा भ्याएर आफ्ना दुई गजल पाठ गरें मैले; "तिम्रो ठेगाना" र "आज फेरि सपनीमा देश देखें"।
******************************************************
जापानबाट सञ्चालित एक समाचार पोर्टल 'समुद्रपारी'मा यस बारेमा समाचार आईसकेको रहेछ। समाचार कसले लेख्यो कुन्नि, ब्यापक अशुद्धि भएको त्यो समाचारमा मलाई कार्यक्रम आयोजक समितिको संयोजक पनि भनिएको रहेछ। संयोजक म थिईँन, सल्लाहकारमात्रै थिएँ। अर्कोतिर, मलाई साहित्यिक गतिबिधिका कुरामा आफ्नो नामको अगाडि 'डा.' जोडिएको बिल्कूलै चित्त बुझ्दैन। गुनासो गरौं भने पनि "यति सानो कुरामा---" भन्लान् साथीहरुले भन्ने डर।

कार्यक्रममा वाचित रचनाहरु अनेसास-जापान वा अन्य कुनै माध्यमबाट अनलाईन भएपछि यहाँ पनि लिंक राख्नेनैछु, अहिलेलाई यतिनै।














July 08, 2009

कथाजस्तै सत्यकथा


यो मेरो मौलिक रचना हैन, समयको रचना हो। यो कथा मैले लेखेको हैन, देखेको हो। यो कथा मैले रोजेको हैन, भोगेको हो। यो मैले लेख्न चाहेको कथा पनि हैन, बाध्य भएर लेखिएको कथा हो।

एउटा ज्यामी (रामकिस्ने वा रामकिशन वा रामप्यारी वा रामदुलारी कुनै एक नाम दिनुस्।) कामबाट छुटेर घर फर्किरहेछ। ऊ लखतरान छ दिनभरिको कामपछि। अक्सर ऊ एक्लै हुन्छ घर फर्किँदा। एउटा घना जंगलको बाटो हुँदै फर्किनुपर्छ उसले। उसै त जंगल, झन अचेल हिंस्रक जन्तुहरु थपिएका छन् रे! त्यसैले ऊ सधैं सकेसम्म उज्यालैमा त्यो जंगल काटिसक्छ, जसरी भएपनि।

तर आज कामबाट निस्कन साह्रै ढिला भएछ। ऊ डराई-डराई हिँडिरहेछ, सासै रोकेर हिडिरहेछ। कतैबाट बाघ-भालु निक्लेला र झम्टेला भन्ने डरले ऊ त्यसै पनि अधमरो भईसकेको छ।

एक छिनमा उसको डर साकार उभिन्छ अचानक उसको अघिल्तिर! संसार हल्लाउने गर्जन सुन्छ ऊ र देख्छ दुईटा बल्डेंग्रा आँखाहरु उसलाई ताकिरहेछन्! विशाल बाघ उसको बाटो छेकेर उभिएको छ।

अब रामकिस्नेले के नै गर्नसक्छ र अरु? ऊ आफैंलाई बिर्सेर कुद्न थाल्छ। ऊ यसरी कुद्छ कि (अचम्म छ, आपत परेपछि मान्छेमा कस्तो शक्ति आउँदो रहेछ!) गर्जिँदै दौडिरहेको बाघले पनि उस्लाई भेट्न सक्दैन।

यसरी घना जंगलमा बाघसंग छलिन वेपर्वाह दौडिदा-दौडिदै अचानक स्वर्ग भेट्छ उस्ले। जंगलको बीचमा एउटा सानो झुप्रो रहेछ! कतै केहि नसोची ऊ सोझै झुप्रोभित्र पस्छ र ढोका लगाउँछ। बाहिर पिँढीमा आएर बाघ घुरेको सुन्छ रामकिस्नेले, तर आफू बाँचेकोमा ढुक्क भइसकेको छ ऊ अब!

यस्तै झुप्रोमा जन्मेर, झुप्रोमा हुर्केर, झुप्रैमा बूढो हुन आँटेको रामकिस्ने यो झुप्रोसंगपनि परिचितनै छ भने हुन्छ। मेरो मतलब झुप्रोमा कहाँ के छ भनेर उ अँध्यारैमा पनि ठम्याउन सक्छ। ढोकाको एकापट्टि छामछुम पारेपछि उसले खोपा भेट्छ। टुकी छ त्यहाँ। आफूसंग बाँकी रहेको एक काँटी सलाई कोरेर ऊ टुकी बाल्छ र पुनर्जन्मको खुशीमा लामो सास लिन भनेर टाउको उठाउँछ।

तर पख्नुस्! खुशी नहुनुस्! रामकिस्नेले लामो सुस्केरा हाल्न पाउँदैन। टुकीको उज्यालोमा ऊ देख्छ, उसको अगाडि एउटा गोमन फुलेर बसिरहेको छ, आक्रमणको पूरा तयारीमा!

बाघबाट जोगिएको रामकिस्ने साँपको गुँडमा पुगेको छ!

मैले भनिरहनु पर्छ र रामकिस्ने भनेको नेपाली जनता हो भनेर?!

तर यो कथा किन दोहोरिईरहेछ हरेक पुस्ता-दरपुस्तामा?

किन हाम्रो रात सकिएर दिन आउँदैन? किन हाम्रो रात अनन्त छ ?


(जुन ५, २००७ मा साझामा राखिएको रचना, केहि परिमार्जन सहित)

July 03, 2009

कविता - "सप्ताहान्तको साँझ"

Image Source Here

ब्लगमा साहित्यको मौसम लम्बिने जोग परेजस्तो छ अब:) त्यसैले आज एउटा पुरानो कविता लिएर आएको छु। यसलाई कुनै सप्ताहान्तमै ब्लगमा पार्ने योजना थियो, आजैलाई जु-यो।

सप्ताहान्तको साँझ

सप्ताहान्तको साँझ

एक्लै आउँछ,

गुलुपबाट मधुरो पहेँलो उदासी निकाल्छ

र मेरो अनुहारमा पोतिदिन्छ,

ऊ मलाई गिजोल्छ, चिथोर्छ र निचोर्छ

अनि एक्लोपनाका अनगिन्ती माउसुलीहरू बनेर

रातभर मेरा भित्ताहरूमा घस्रिरहन्छ,

सप्ताहान्तको साँझ

एक्लै आउँछ।

(असोज ६, २०५७; पोखरा)

[कविता पछि अब कविताको कुरा। गजलजस्तै 'छोटो, मिठो र सटीक' कविता लेख्ने मेरो एउटा प्रयास हो यो। 'रचना' मासिक साहित्यिक पत्रिकामा प्रकाशित भईसकेको छ यो, साथै 'साझा' लगायत केहि साइटहरुमा पनि राखिसकिएको छ।]

June 28, 2009

कथा- "बाँचेको मान्छे"

[विगत केहि समय यता लगभग राजनीतिक विषयमा मात्रै लेखें मैले। अब केहि समय ब्लगमा अलि-अलि साहित्य पनि घोल्ने छु। यस बीचमा लेखिएका केहि कथाहरु र पुराना एक-दुई कविताहरु राख्दै जानेछु बीच-बीचमा।]


बाँचेको मान्छे

आज पनि बाऊले गाली गरे।

सधैंजस्तै आज बिहान पनि ऊ अलिक ढिला गरेर खाना खान घर फर्केको थियो। बाऊको गाली खानबाट जोगिन चाहन्थ्यो ऊ। बाऊको गालीले अघाईसकेपछि खानाको लागि ठाऊँ बाँकीनै रहँदैनथ्यो र ऊ दिनभरि भोकै हुनपुग्थ्यो। घरमा बाऊको चालचूल थिएन, उसले आमालाई सोधेन पनि, बाऊ कता गए भनेर। ऊ भान्सामा उसको लागि भनेर रहेको खाना एकैपटक खन्याएर हतार-हतार खान थाल्यो।

“ल हेर, कविज्यू आईपुग्नुभएछ!” खाईसक्ने बेलामा अचानक बाऊ भित्र पसे। “के छ लेखकज्यू?” बाऊ अचेल यस्तै पाराले छेडखान गर्छन् उसलाई। “गधा—साले---! पुरुषार्थ भन्या एक रौं पनि नभा’को---!” यो चाहिँ छेडखान पछि बाऊले भुतभुताऊने ‘मन्त्र’। बाऊ भुतभुताऊँदै आँगनतिर लागे। आमापनि नजिकै थिईन्, अरु दिन भए आमाले ‘खाने बेलाँ पनि किन करा’को?’ भन्थिन् तर आज भने कहि पनि नबोली उस्ले खाएका भाँडा उठाएर बाहिर तिर लागिन्।

मनको नरमाईलोलाई अलिक फिका बनाउन ऊ बजार तिर लाग्यो।

बाऊको ऊसंगको रिस उसले कमाएन अथवा गतिलो कमाई हुने जागिर खोजेन, २५-२६ हुञ्जेलसम्म पनि हल्लेर बसेको छ भन्ने हो। यतिखेर त अझ बाऊलाई 'सरकारी अधिकृत’ को भूत चढेको छ। उसका दुईटै दाइहरु लोकसेवा लडेर शाखा अधिकृत बनेका थिए र अहिले अरु कुनै जिल्लाहरुतिर पुगेका थिए। बाऊ चाहन्थे, ऊ पनि लोकसेवा लडोस् र शाखा अधिकृत बनोस्। बूढाको अचेलको सपनामा कुनै दिन आफ्ना तिन्टै छोराहरु सचिव हुन्थे। यसैले उनको सपनाको एउटै बाधा बनेको थियो ऊ।

'भुत्राको जागिर---!‘ ऊ मनमा धेरै कुरा खेलाएर हिँडिरहेको थियो। उसलाई यान्त्रिक जागिरे जीवनले कहिल्यै आकर्षण गर्न सकेन। एउटा उमेरबाट उसमा अनौठो ‘भूत’ चढ्यो, ऊ ‘लेखेर बाँच्न’ चाहन्थ्यो। धेरै विदेशी लेखकहरुको सफल जीवनशैलीका बारेमा पढेपछि ऊ एकदम प्रभावित भएको थियो किशोरवयमा। ऊ लेख्ने कुरामा सानैबाट प्रतिभाशालीमा गनिन्थ्यो पनि। विद्यालय र त्यो भेगका लगभग सबैजसो कार्यक्रमहरुमा पुरस्कार पनि हात पार्थ्यो।

पछि अलिक उमेर खाएपछि उसलाई आफ्नो सपना र यथार्थबीचको खाडलको बोध भयो। लेखेर कमाएर बाँच्ने कुरा त परै जाओस् अलि गतिलो पत्रिकामा सित्तैमा रचना छपाउन समेत सजिलो हुँदो रहेनछ। उसको भन्दा धेरै तल्लै स्तरका, साह्रै गएगुज्रेका रचनाहरु प्रकाशित हुन्थे, जति पठाए पनि उसका भने कहिल्यै देखिँदैनथे। तीन-चार पटक काठमाडौं पुगेको बेला उसले केहि पत्रिकाहरुको अफिसमै पुगेर पनि रचना छाड्यो र केहि महिना कु-यो तर उसका रचनाहरु देखिएनन्। आफैं किताब छपाओस् भने पनि उसको परिवार त्यसरी पैसा निकाल्न सक्ने परिवार होईन, सक्नेनै भएपनि बाऊले के दिँदा हुन! अचेल ऊ पूरै साहित्यिक प्रकाशन फाँटलाई एउटा फोहरी ‘सिण्डिकेट’ को रुपमा मात्रै लिन्छ जहाँभित्र पस्न कि त गतिलो चिनजानको जालो चाहिन्छ कि आफैं दाम लगाउन सक्नुपर्छ।

आफ्नो सपना खाल्डामा परिसकेपछि पनि उसले कुनै एउटा निश्चित निर्णय गर्न भने सकेन। केहि समय विरक्तिएर केहि पनि लेख्दै-नलेखी बस्यो। नलेखी बस्दा झन् उकुसमुकुस बढेकोले फेरि लेख्न थाल्यो तर छपाउने कुरामा चासो राख्न छोड्यो। कहिलेकाहीँ जिल्लाका स्थानीय पत्रिकाहरुका लागि वा सङ्घ-संस्थाका स्मारिकाका लागि रचना माग्न आऊँथे। तिनबाट उसले एक प्रति स्मारिका वा पत्रिका पाऊँथ्यो, कतिले त त्यहि पनि दिँदैनथे। त्यसबाहेक, जिल्लामा हुने साहित्यिक कार्यक्रमहरुमध्ये केहिमा सहभागिता जनाऊँथ्यो।

पैसो नभई जिन्दगीको गाडी नचल्ने बोध पलाईसकेको थियो उसलाई केहि वर्ष पहिलानै तर उसलाई कुनै पनि खाले बन्धन भने सैह्य थिएन। लेख्न छोडेनैपनि ऊ एउटा जागिरे बन्न सक्दैनथ्यो होला शायद, किनभने उसको मुख्य सीप र रुचि दुबै भनेकै साहित्य-लेखन मात्रै थियो। त्यसैले जिन्दगी धान्ने तात्कालिक उपायका रुपमा ऊ गाऊँकै एउटा ‘बोर्डिङ्ग स्कूल’ को शिक्षक बन्यो। शिक्षकको जीवन उसलाई ठिकै लागेको थियो र ऊ आफनो स्थायी पेशा पनि यसैलाई बनाउने विचार गर्दै थियो। तलब धेरै थिएन तर उसको आवश्यकता टरेको थियो। तर बाऊको गाली अलिक फरक मात्रै भएको थियो त्यतिबेला पनि। ‘त्यो मु— माष्टरको जागिर पनि काहीँ जागिर हो---?!---- कल्ले दिन्छ छोरी यस्ता मु— माष्टरलाई--?!’ यस्तो हुन्थ्यो बाऊको गाली त्यो ताका। उता छोराको जागिर गतिलो नहुँदा बुहारी बनेर गतिलो घरकी छोरी नआउली भन्ने पीर आमाले पनि देखाऊँथिन्।

चारमहिना पहिला ‘बुर्जुवा र दलाल शिक्षा’ पढाएको भन्दै माओवादीले स्कूल बन्द गराईदिए। बजारका ठूल्ठूला ‘बोर्डिङ्ग’ जिऊँदै थिए, मर्नेमा किन हो कुन्नि उसले काम गर्ने, गाऊँको फुच्चे ‘बोर्डिङ्ग’नै प-यो। यता घरमा बिस्तारै बाऊको गाली पनि पूरानै ठाऊँमा फर्कियो।

“ओहो--- ‘विवश’ कविज्यू! आज कसरी हाम्रो पसलमा---!?” पैसा बुझ्ने ठाऊँबाटै साहु करायो, उसको साहित्यिक नामलाई अलिक जोड दिएर बोल्दै। मनमा कुरा खेलाऊँदा-खेलाऊँदै पत्तै नपाई कसरी ऊ यो मोतीमान साहुको पसलमा पसेछ। मोतीमान साहुका ताई न तुईका कुरा उस्लाई त्यति मन पर्दैनथ्यो, त्यसैले ऊ सकेसम्म पस्दैनथ्यो यहाँ।
“ल आऊनुस्,कविज्यू! बस्नोस्।“ साहुले अघिल्तिरको कुर्सी देखायो र ‘दुईटा चिया ल्याउन’ पसलमा काम गर्नेलाई अह्रायो।

“होईन साहुजी, म चिया नलिऊँ होला, भर्खर खाना खाएर आएको।“ आफ्नो अघिल्तिर चिया देख्यो उसले।
“लिऊँ, लिऊँ! केहि हुन्न, चिया खानेनै खाना खाएपछि हो---- “
-----
“अस्ति त निकै कविता पढिँदै थियो नि हँ त्यता चोकमा!” यो कुरो ननिक्लेहुन्थ्यो भन्दा-भन्दै साहुले कुरो निकालिहाल्यो। अस्ति पसल नजिकैको भूपि चोकमा एउटा साहित्यिक कार्यक्रम भएको थियो र ऊ र हिरामान साहुका कविताहरु साह्रै चर्चित भएका थिए। कार्यक्रम सकिने बेलामा पनि उनीहरु दुईलाई उनीहरुका केहि थप कविताहरु पालैपालो वाचन गराईएको थियो।

मोतीमान साहुले कुरा उप्काएको पनि हिरामान साहुकै कारणले हो। हिरामान, मोतीमानको साख्खै दाजु हो। पुर्ख्यौली सम्पत्तिलाई लिएर दुई भाइमा धेरै वर्ष पहिला बाट बोलचाल बन्द छ र बेला-बेला झगडा परिरहन्छ। उनीहरुको वैमनस्य जिल्लैभरि चर्चित छ।

“कविज्यू, यस्सो यो कविता-सविता लेख्ने कुरा हाम्लाई पनि सिकाउनुस् न---!” ऊ पसलबाट हिँड्ने बेलामा मोतीमान साहुले भन्यो।

‘कविता लेख्न सिकाएर सिकिन्छ---?’ बाहिर निस्केपछि गम्यो ‘विवश’ ले। मोतीमानमा रहेको हिरामान प्रतिको ईर्ष्याकै एउटा विस्तार थियो यो पनि भन्ने उसलाई थाहा थियो। आफू कुनै पनि कुरामा हिरामानभन्दा कम नभएको देखाउन चाहन्थ्यो मोतीमान। अरु कुरामा त थियो पनि तर साहित्यिक कुरामा भने मोतीमानले आँट्न सक्दैनथ्यो। हिरामान एउटा प्रतिभाशाली कवि थियो र स्थानीय साहित्यिक वातावरणमा राम्रै नाम कमाएको थियो। ऊ जिल्लाको एउटा सफल ब्यापारी, समाजसेवी र साहित्यसेवी मानिन्थ्यो। ब्यापारी र समाजसेवी त मोतीमान पनि कहलाईन्थ्यो, ऊ अब साहित्यसेवी पनि बन्न चाहन्थ्यो। तर लेख्न त जान्नु-सक्नु प-यो नि!

विना उद्देश्य बजारमा बरालिईरहँदा अचानक ‘विवश’को मनमा एउटा झिल्का उठ्यो र ऊ घरतिर लाग्यो। सधैं रात परेपछि घर फर्कने छोरो आज दुई नबज्दै फर्केको देखेर बाऊ-आमा छक्क परेको थाहा हुन्थ्यो, तर भन्नचाहिँ केहि पनि भनेनन् उनीहरुले। ऊ कोठामा पस्यो र चुकुल लगायो।

चार बजेतिर, आमाको ‘खाजा खाएर जाने’ आग्रहलाई पनि टारेर ऊ फेरि बजारतिर लाग्यो।

“साहुजी, एउटा जरुरी कुरा गर्नु थियो---।“ ग्राहक नभएको मौका पारेर ऊ मोतीमान साहुको अघिल्तिर उभियो।
“हुन्छ कविज्यू! भन्नुस् के सेवा गर्नुप-यो।“
“अलि गोप्य कुरा हो। भित्र गएर कुरा गर्न पाए हुन्थ्यो।“
“कविज्यूले के त्यस्तो गोप्य कुरा ल्याउनुभो' त?” मोतीमान साहुले उसको कुरालाई अझै खासै महत्व नदिएको थाहा हुन्थ्यो। एक छिन् पछि पसल काम गर्नेको जिम्मा लगाएर ‘विवश’ कविज्यूलाई लिएर साहु भित्र पस्यो।

“---------------------------------------“
“---------------------------------------“
“---------------------------------------“
“खोई हरौं त!"
"यी, ल हेर्नुस्।"
“ल ठीक छ, तर डेढ लाख त साह्रै बढी भन्यौ कविज्यू--- “
“कसरी बढी भयो साहुजी? तपाईँले यस्सो कोटयाए पनि निक्लिन्छ त्यति त! अब तपाईँलाई नाम चाहिएको, मलाई दाम चाहिएको। कविता भन्ने चीज पनि त्यस्सै बर्सिने होईन, दिमाग लगाउन परिहाल्छ, समय लागिहाल्छ लेख्न।“
“ल ल, धेरै कुरा किन? म एक लाख दिने भएँ यसका लागि।“ एकछिन विचार गरेर मोतीमान साहु बोल्यो। ‘विवश’ कविज्यूको मौनताले स्विकृतिको सूचना दियो।
“कविता सबै राम्रा छन् हैन त? अस्ति त्यो भातेले पढेभन्दा पनि राम्रा—“ हिरामान साहुसंगको रिस पोखिन आईपुग्यो यहाँ पनि।
“धेरै जसो राम्रै छन्, कुनै-कुनै चाहिँ ठिकै खाले पनि छन्। एकैचोटि वाह! वाह!! पायो भने मान्छेले शंका गर्छन् क्या!” साहुलाई फुल्यायो ‘विवश’ कविज्यूले। खास कुरा चाहिँ के हो भने उसले धेरैजसो आफूलाई एकदमै मन नपरेका र केहि ठिकैमात्र लागेका आफ्ना कविताहरु सारेर ल्याएको थियो। राम्रालाई त उसले जोगाएर राख्नेछ अझै केहि वर्ष!
------
“तर एउटा कुरो कविज्यू, कविता त बीस वटा मात्रै छन् नि!” साहुले गन्न भ्याईसकेछ। "यति थोरैले कविता संग्रह निक्लिन्छ?”
“काँ’ अहिल्यै कविता संग्रह निकाल्ने कुरा ग-या साहुजी? मान्छेले पत्याऊँछन्? यस्तो हतार गर्दा चोरेर छापेको भनेर पत्रिकाले लेख्दैनन्? पहिला, महिनाको एक-दुईटाको दरले यिनलाई ठाऊँ-ठाऊँमा पाठ गर्ने, पत्रिका-सत्रिकामा छपाउने र बिस्तारै चिनिँदै जाने। संग्रह त एक-दुई वर्षपछि निकाले हुन्छ। मैले एउटा ‘प्लान’ बना’को छु। त्यहि ‘प्लान’ अनुसार अघि बढ्यो भने कसैले पनि शंका गर्दैन। बरु त्यो ‘प्लान’ बापत डेराभाडाको पैसा पाए म यतै बजारतिरै बस्थें तपाईँलाई सघाउन।“
“हुन्छ कविज्यू। एउटा सस्तो खाले कोठाको भाडा मैले तिर्दिनें भएँ, तर संग्रह निकाल्ने बेलासम्म चाहिँ पचासवटा पुग्नुपर्छ है। बाँकी पनि लेख्दिनुपर्छ नि कविज्यू!”
“अलि बढी दाम पाए त्यो ‘काम’ पनि गरिन्छ साहुजी!” ‘विवश’ कविज्यूको अनुहारमा अलिक धूर्त चमक देखिन्थ्यो। “तर अलि-अलि चाहिँ आफैंले पनि लेख्ने कोशिश गर्नुहोला।“
“साह्रै बाठो पो रैछो कविज्यू तिमी त! हेर्दा यस्तो सोझो देखिन्छौ!“
“खोई के सोझो - के बांगो साहुजी!”
-----------------------------------------------------------------
भोलिपल्ट 'बजारको एउटा स्कूलमा जागिर मिल्ला जस्तो छ!’ भनेर आमालाई ढाँट्यो र सिरक-डसना, आफ्ना कापी किताब र एउटा पुरानो स्टोभ बोकेर ‘विवश’ले घर छोड्यो। बजारमा बस्न थालेपछि कुनै स्कूलमा ‘अल्झिने’ योजना भने थियो उसको।

दुई हप्ताजति पछि बजारको एउटा ‘साहित्यिक भेला’ मा मोतीमान साहुले “म लेख्न जान्ने मान्छे त होईन तर पनि एउटा सानो कोशिश गरेको---“ भन्दै एउटा छोटो कविता पाठ ग-यो र अलि-अलि वाह! वाह!! पनि बटुल्यो। कोहि-कोहिले त ‘रगतमै साहित्यिक प्रतिभा भएको परिवार यहाँको त !’ भनेर पनि फुर्क्याए उसलाई। ‘विवश’ भने त्यो कार्यक्रममा देखिएको थिएन।

दुई दिन पछिको शुक्रवारको साँझ, ‘विवश’ कविज्यू कुनै भट्टीमा बिजुली पानी र सुकुटीसंग आफ्ना विचार चपाऊँदै थियो र आफ्नो लेखेर बाँच्ने अधमरो सपनालाई बोकेर कतिञ्जेल ‘महादेव’ भईरहने हो, सोच्दै थियो।
“तपाईँका अरु लक्ष, अरु सपना के छन् त?” स्थानीय एफ.एम को कार्यक्रम संचालक कसैको अन्तर्वार्ता लिँदै थियो।
“हेर्नुस् भाइ, यो जिन्दगीमा मलाई अरु सबै पुग्या’ छ। अब अलि-अलि साहित्यसेवा गर्ने मन छ। लेख्न सिक्दैछु।-------“ यो त हाम्रो ब्यापारी-समाजसेवी मोतीमान साहु थियो र कार्यक्रम हाम्रो ‘विवश’ कविज्यूकै ‘प्लान’ को अर्को चरण थियो!
“साह्रै महान विचार! हजुरको प्रतिभा त अस्तिको एउटा कवितालेनै देखाईसक्या’ छ। शुभकामना छ हजुरलाई अझ धेरै सफलताको! हजुरको आगमन नेपाली साहित्यको लागि एउटा ठूलो शुभ-घटना बन्ने निश्चित छ।----- ।“
“---------“

अन्तर्वार्ता सकिँदासम्म ‘विवश’को मन पनि बिजुली पानीले तातेर रसिक हुँदै आईसकेको थियो। ‘खासमा म लेखेरै त बाँचेको छु नि! आफ्नै नाममा लेखेपनि, अरुकै नाममा लेखेपनि- त्यै लेखेकै भरमा त बाँचेको हुँ म। अझ त्यो मोतीमान साहु पनि अचेल मेरै लेखाईले बाँच्न थालेको छ। म लेख्छु र म बाँच्छु; म लेख्छु र मोतीमान साहु बाँच्छ।'


-समाप्त-

वसन्त गौतम
जुन ७ (दिउँसो १२:५४)
नागोया, जापान

June 23, 2009

एउटा राजनीतिक 'जलपान'मा

एमालेको जापानस्थित भातृ-संगठन 'नेकपा-एमाले प्रवास कमिटि'को नागोया शाखाले अस्ति आइतबार एउटा जलपान कार्यक्रमको आयोजना गरेको थियो, नेपालमा एमालेको नेतृत्वमा सरकार बनेको उपलक्षमा। त्यसलाई एउटा विचार-गोष्ठीको रुप पनि दिईएको थियो।
-------------------------------------------------------------------------------
एमालेको कुरा गर्दा यसलाई सबैभन्दा बढी लाग्ने दोष भनेको यो ढुलमुले छ र यसको केहिमा पनि स्पष्ट अडान छैन भन्ने हो। मध्यमार्गी राजनीतिका कतिपय बाध्यताहरु हुन्छन् त्यो सत्य हो तर एमालेले वास्तवमै आफूलाई परिभाषित गर्न नसकेको अथवा जनताको माझमा आफ्नो नीतिलाई स्पष्ट राख्न नसकेको भने अवश्य हो।

२०४६ सालपछिको लामो अवधिमा यो प्रायश: प्रतिपक्षमै रह्यो। सत्तामा रहेको कांग्रेस सत्तामा रहेर भ्रष्ट भयो र बिग्रियो। एमाले सत्तामा थिएन तर यो प्रतिपक्षमा रहेर, सत्ता बाहिरै रहेर पनि भ्रष्ट भयो र बिग्रियो। यसले बिग्रने र पत्रु बन्ने कुरामा कांग्रेससंग प्रतिस्पर्धा ग-यो। यसरी यसले आफूलाई कांग्रेसको सहि विकल्पको रुपमा उभ्याउनै सकेन। जनताको नजरमा यो कांग्रेसको विकल्प होईन, भाइ-कांग्रेसको रुपमा चिनियो। जनताले 'कांग्रेस-एमालेजस्तो भ्रष्ट' भन्न थाले र विकल्पमा अरुनै कोहि उदायो।

अलिक पछि आएर एमालेले कांग्रेससंगको प्रतिशोधलाईनै आफ्नो राजनीति बनायो। गिरिजा एण्ड कम्पनीले बेला-बेलामा एमालेलाई थाङ्ग्नामा नसुताएको होईन तर त्यहि रिसमा यसले कहिले पञ्चलाई प्रधानमन्त्री बनाएर सरकारमा गयो, कहिले दरबारमा निवेदन हाल्न गयो, तपाईँहरुलाई थाहै छ।

केहि समय यताको शान्ति-प्रकृयामा यसको भूमिकाको भने सबैले सराहना गरेका छन्।

संविधान-सभाको चुनावमा गोल्खाडी भएपछि एमाले कति चेतेको र भविष्यका लागि कस्ता योजना छन्, त्यो उनीहरुलाई नै थाहा होला।

मैले माथिनै भनिसकें, दुई अतिवादको बीचमा रहेर राजनीति गर्नु गाह्रो काम हो। राम्रो र प्रभावशाली नेतृत्व हुँदा यस्तो राजनीतिले देशको लागि सबैभन्दा बढी काम गर्न सक्छ, तर गलत वा असलै भएपनि अप्रभावी नेतृत्व हुँदा कुनै तरंग ल्याउन सक्दैन र भूमिकाहीन भएर सुक्दै जान्छ। एमाले यसकारण अहिले अवसर र संकटको अन्तिम दोसाँधमा उभिएको छ।
----------------------------------------------------------------------
विचार-गोष्ठीमा हामी केहिले आफ्ना मन्तब्य राखेका थियौं। म 'निर्दलीय' मान्छे, मैले पनि त्यहाँ बोल्नु पर्ला भन्ने सोचेको थिईँन। साथीहरुले 'नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान केन्द्र'को पूर्व अध्यक्षको रुपमा भएपनि बोल्ने अनूरोध गरे। ('नागरिक समाज' बनिसकेछु म त:) हे हे हे!)

संविधान निर्माण एउटा प्रमुख प्राथमिकता हुँदै हो सरकारको तर देशभरि ब्याप्त हत्या-हिंसा, अराजकता र दण्डहीनतालाई बेलैमा लगाम लगाईएन भने संविधान बने पनि नबने पनि हाम्रो देश एउटा गम्भिर दुष्चक्रमा फँस्ने निश्चित छ। नेताहरु र दलहरुमा देशको माया कति छ भन्ने कुरा यो जटिल परिश्थितिमा ब्यक्तिगत र दलीय स्वार्थबाट को कत्तिको माथि उठ्छ भन्ने कुराले देखाउनेछ। हामीले दिएका सुझाव यस्तै थिए। हाम्रा सुझाव देश चलाउनेका कानसम्म पुग्लान्-नपुग्लान्, त्यो बेग्लै कुरो हो।

एउटा सामान्य नेपालीले अहिले सबैभन्दा पहिला चाहेको भनेको शान्ति-सुरक्षानै हो। यसको अगाडि सँविधान निर्माण पनि गौण बन्न जान्छ। एउटा जिऊँदो-जाग्दो र सभ्य समाज बनाउन सकेनौं हामीले भने, लोकतान्त्रिक संस्कारलाई हाम्रो चिन्तन र ब्यबहारमा स्थापित गर्न सकेनौं हामीले भने, जति राम्रो संविधान लेखिए पनि त्यो खोष्टो सरह हुनेछ। समाज सभ्य छ भने संविधानका बुँदा पनि तपसील बन्न जान्छन्। बेलायतजस्तो एक हिसाबले लिखित संविधाननै नभएको देश यो संसारको आधुनिक लोकतन्त्रको जननी हो। मलाई त अचेल यो गणतन्त्र, संघीयता सब तपसीलका कुरा लाग्न थालेका छन। राजतन्त्र भएरै पनि यूरोपका त्यति धेरै देशहरु र जापान माथि पुगेकै छन्, ती मध्ये धेरै देश संघीय पनि होईनन्। कुनै पनि तन्त्रभन्दा महत्वपूर्ण कुरा संस्कार हो।

एमालेलाई दिईएको अर्को सुझाव गर्नु पर्ने कामहरुको सहि प्राथमिकता निर्धारण र सहमतीय निर्णय थियो। माओवादीको सरकार ढलेको एउटा प्रमुख कारण उसको गलत प्राथमिकता निर्धारण हो। अर्को कारण दुई तिहाई बहुमत भएझैंको उसको दम्भ र गठबन्धनको सरकारलाई आफ्नो पार्टी सचिवालयको आदेशका भरमा चलाउन खोज्ने हठ हो। एकजना साथीले राम्रो उदाहरण दिनुभएको थियो। बाटो सजिलो हुँदा मान्छे (दल) मात्तिने संभावना बढी हुन्छ र मात्तिएपछि ऊ लड्छ। तर बाटो अप्ठेरो छ भने मान्छे होशियार भएर हिँड्छ र नलडी बाटो पार गर्ने सम्भावना धेरै हुन्छ। साथीले 'माओवादी पात-पातमा नाचेर हिँड्न खोज्नाले लडेको हो!' भन्दा अलिक हाँसो पनि गुञ्जेको थियो। तर यथार्थ त्यहि हो।