आदिकवि भानुभक्तमा हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्न चाहन्छु!
************************************************
भानु-जयन्ती नागोयामा, सबैको कार्यब्यस्ततालाई ध्यानमा राख्दै एक दिन पहिलेनै, हिजो मनाईयो। कार्यक्रमका आयोजक थिए अनेसास-जापान र एनआरएन-जापानको तोकाई-होकुरिकु शाखा। गीत र नृत्यहरु र कलाकार बिनोद बूढाथोकीज्यूका चित्र प्रदर्शनीसमेतले गर्दा कार्यक्रमले पूर्ण साँस्कृतिक परिवेश पाएको थियो। साथमा विगत केहि वर्षदेखि जापानमा नेपाली लोक-संगीत, लोक-बाजाहरुको प्रचार-प्रसारमा संलग्न संस्कृतिकर्मी मन बहादुर थापाज्यूलाई सम्मान पनि गरिएको थियो।
२२ वर्ष पहिला स्कूल छोडेपछि आफू प्रत्यक्ष सहभागी भएर मनाएको पहिलो भानु-जयन्ती कार्यक्रम थियो यो मेरा लागि।
यस्ता कार्यक्रमहरुको आफनो एउटा पवित्र उद्देश्य त भई नै हाल्छ, साथमा पुराना साथीहरु भेटिने र नयाँ चिनजान हुने मेसो पनि मिल्छ। कुमार सिंखडाजी र अनेसास जापानका साथीहरु दिनेश राज ज्ञवालीजी, आलोक चालिसेजी, प्रकाश पौडेल 'माइला'जी र गंगा घिमिरेजी टोकियोबाट आउनुभएको थियो। कुमारजीसंग बेलाबखत भेट भईरहन्छ, दिनेशजीसंग पोहर एक पटक टोकियोमा एनआरएनको कार्यक्रममा भेट भएको थियो, आलोकजी, 'माइला'जी र गंगाजीसंग हिजो पहिलो पटक भेट भएको हो। ब्लगको माध्यमबाट एक-डेढ वर्ष पहिलेनै चिनजान भएका र नागोयामै बस्ने भाइ फुरी शेर्पासंग पनि हिजै पहिलोचोटि भेट भयो।
कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो प्रसिद्ध भाषाविद्,समालोचक प्राध्यापक डा. माधव प्रसाद पोखरेल। उहाँ जापानको कोबे विश्वविद्यालयमा नेपाली र जापानी भाषाको केहि पक्षविशेषका बारेमा तुलनात्मक अध्ययन-अनुसन्धान गरिरहनु भएको रहेछ। उहाँजस्ता विद्वान र भद्र ब्यक्तित्वसंग चिनजान गर्न पाउनु पनि हाम्रो सौभाग्यनै हो।
कार्यक्रमलाई साहित्यिक र सांगीतिक दुई भाग गरेर संचालन गर्ने योजना थियो। साहित्यिक कार्यक्रम रचना-वाचनको बीच-बीचमा अतिथिका मन्तब्यहरु राखेर संचालन गरिएको थियो। गायक साथीहरु चाँडै फर्किनुपर्ने कारण रचना-वाचनकै बीचैमा दुई गीतहरु पनि प्रस्तुत गरिए।
वाचन गरिएका रचनाहरु सबै एक से एक सुन्दर र उत्कृष्ट थिए। नागोयमा एउटा गतिलो नेपाली साहित्यिक माहौल बन्न आवश्यक 'पूर्वाधार' सबै रहेछन्, यस्तै कार्यक्रमहरुको मात्रै अभाव रहेछ। एक-दुई महिनाको अन्तर राखेर नियमित साहित्यिक जमघट गर्न सकिने संभावना देखायो हिजोको कार्यक्रमले।
स्थानीय प्रतिभा बाहेक ई-मेलबाट प्राप्त दुई-तीन रचनाहरु र एउटा प्रकाशित कृतिका केहि हाईकूहरु पनि पढेर सुनाईएका थिए।
मैले अचेल सुन्दै आएको छु, 'नेपाली साहित्यमा आजभोलि गजलको बाढीनै आएको छ।'। हिजोको कार्यक्रमले पनि ठ्याक्कै त्यहि बताऊँथ्यो। पाठ गरिएका रचनाहरुको तीन चौथाई भन्दा बढी गजलहरुनै थिए। नेपाली भाषामा गजल विधाका कृतिहरु अझै कमै भएकोले यो राम्रै कुरा हो। यो 'बाढी'ले नेपाली भाषामा अझ मिठास थप्नेछ र हाम्रो भाषाको गेयात्मक सौन्दर्यको अझ परिष्कार गर्नेछ भन्ने लाग्छ मलाई। तर यो 'बाढी'ले साहित्यका अरु विधामा खडेरी नल्याओस् भनेर चाहिँ सचेत हुनैपर्छ।
श्रोता/दर्शकको उपस्थिति राम्रो थियो तर साहित्यिक रचना पाठ भईरहेका बेलामा भने हल्ला पनि अलि बढीनै हुन्थ्यो र बिहेभोजको झलक आऊँथ्यो कहिलेकाहिँ। गीत अथवा नाचको बेलामा भने हल्ला लगभग हुँदै-हुँदैनथ्यो। यो कुरालाई प्रमुख अतिथिज्यूले पनि आफ्नो मन्तब्यमा निकै ब्यंग्यात्मक शैलीमा औंल्याउनुभएको थियो।
मलाई एउटा सहभागीका रुपमा रचना पाठ गर्ने वा बढीमा एउटा मन्तब्यसम्म दिने मन थियो तर कार्यक्रमको सभापति बन्ने अनूरोध प्राप्त भयो। सभापतिका रुपमा औपचारिक कार्यक्रमको अन्त्य गर्नुपर्ने बेलामा त्यति बोल्न मन लागेन, ढिलो भईसकेको थियो। धेरै बोल्नु भनेको आफैंलाई र अरु सबैलाई पनि यातना दिए जस्तो हुने थियो। नेपाली भाषाको ब्लगहरुको स्थितिका बारेमा मन्तब्य दिन र रचना पाठ गर्न अनूरोध गर्नुभएको थियो कार्यक्रमका उद्घोषकले। नेपाली भाषाका ब्लगहरुको स्थितिलाई एकदमै छोटकरीमा भ्याएर आफ्ना दुई गजल पाठ गरें मैले; "तिम्रो ठेगाना" र "आज फेरि सपनीमा देश देखें"।
******************************************************
जापानबाट सञ्चालित एक समाचार पोर्टल 'समुद्रपारी'मा यस बारेमा समाचार आईसकेको रहेछ। समाचार कसले लेख्यो कुन्नि, ब्यापक अशुद्धि भएको त्यो समाचारमा मलाई कार्यक्रम आयोजक समितिको संयोजक पनि भनिएको रहेछ। संयोजक म थिईँन, सल्लाहकारमात्रै थिएँ। अर्कोतिर, मलाई साहित्यिक गतिबिधिका कुरामा आफ्नो नामको अगाडि 'डा.' जोडिएको बिल्कूलै चित्त बुझ्दैन। गुनासो गरौं भने पनि "यति सानो कुरामा---" भन्लान् साथीहरुले भन्ने डर।
कार्यक्रममा वाचित रचनाहरु अनेसास-जापान वा अन्य कुनै माध्यमबाट अनलाईन भएपछि यहाँ पनि लिंक राख्नेनैछु, अहिलेलाई यतिनै।
नेपाली साहित्यिक नक्षेत्रका मूर्धन्य ब्यक्तित्वको समझना मा २२ बर्ष पहिलाको कुरा हरुलाई ताजगि गराउनु भएछ |
ReplyDeleteजेहोस प्रबाश मा रहर नेपाली साहित्यिक प्रति तपाईले देखाउनु भएको उत्साह र पहलहरु निकै सहारनीय रहेको छ |
तपाई लागी आफ्नो नाम को अघि डा. लेखन मन नपर्ने कुरा गर्नु भएको रहेछ किन नि सर ? तर त्यो त तपाई लाइ गरिएको सम्मान हो नि ! अनि के थाहा नि त्यो "समुन्द्रपारी" का राइटर लाइ - त्यो कुरा तपाईलाई मन पर्दैन भनेर |
भानु का सबै आदर्श भावहरु दिगंत रहिरहुन |
आदिकवि भानुभक्तमा हार्दिक श्रद्धान्जली
ReplyDeleteआदिकबि भानुभक्त प्रति मेरो पनि श्रध्दान्जलि।
ReplyDeleteआदीकबी भानु भक्त प्रती मेरो पनि हार्दिक श्रद्वान्जली एबं धन्यबाद बसन्त जी तपाईंको ब्लगमा उहाँको सम्झना भेट्दा मलाई धेरै खुशी लाग्यो।
ReplyDeleteबसन्त दाजु, नमस्कार,
ReplyDeleteनेपाली साहित्यका धरोहर उनै भानुभक्त आचार्यलाई परदेशमा सम्झनामा मात्रै सिमित नराखेर औपचारिक कार्यक्रम नै आयोजना गरी सम्झनु एउटा ठुलो पुण्य हो जस्तो लाग्छ । पोहोर बोस्टन बसाइमा केही कार्यक्रमहरु भएका थिए, सहभागिता जनाइएको थियो । अहिले क्यालिफोर्नियाको बसाइमा साहित्यनुरागिहरुसँग संपर्क नै हुन सकेको छैन । तपाईंको यही टासो साक्षी राख्दै भानुप्रती श्रद्धान्जली !!!
हुन त आजकल देशमा उनको सालिक पनि फोड्नेहरुको बल मिच्याई जारी छ । तर यो टाँसो पढ्दा मलाई भने बारम्बार यहि अनुभव भयो कि, अहिले पनि उनकै कारणले नापाली भाषाको श्रिबृद्धि सम्भव भैरहेको छ ।
ReplyDeleteविदेशको बसाई र व्यस्त जिवनका बाबजूद पनि यस्तो कार्यक्रम आयोजना हुनु र सफलतापूर्वख सम्मपन हुनु पक्कै पनि खुशीको कुरा हो ।
धन्यवाद्, आयोजक र सञ्चालक र यसमा योगदान गर्ने सबैमा !!!
अहो बसन्त ब्रो पनि डक्टर पो ?...मैले त जापान मा डिशवाशर पो भन्ठनेको सरी है ब्रो... ह न, के को डागदर ब्रो ?... धत्तेरिका आफु मात्रै कनडक्टर भैयेछ...हेहेहे
ReplyDeleteअच्छा दार्जीलिङ र हङ्कङ मा अनी डा. बसन्त जी ले भनेजस्तो जापान मा पनि नेपाली भाषा र भानुभक्त एकता को प्रतिक भएको बेलामा नेपालमा चाँही किन औपनिबेसिक भनिन थालिएको होला ?
भानुभक्त आचार्य आँफैमा एक गौरवान्वित नाम हो ।नेपाली भाषा र साहित्यका निमित्त । नेपाली साहित्यका कहिले नअस्ताउने तारा हुन् । उनी बिनाको नेपाली साहित्य अपुरो र अधुरो हुन्छ ।
ReplyDeleteउहाँ प्रति हार्दिक श्रद्धाञ्जली !
नेपाली साहित्यका चम्कीला तारा आदिकबि भानुभक्तमा हार्दिक श्रद्धान्जली ब्यक्त गर्न चाहन्छु ।
ReplyDeleteबिदेशमा भएर पनि गरिएका यस्ता गहकिला कार्यक्रमहरुले पक्कै हाम्रो साहित्यलाई माथि धकेल्नेछन ।
बसन्त जी कार्यक्रममा तपाइले सोचेभन्दा बढी पाउनुभएको सु-सम्मानको लागी हार्दिक आभार अनि बधाई ।
मैले पनि सम्झे यसपाली भानुलाई। भाषाको बिबाद चरम बिन्दूमा रहेको बेला, र नेपाली भाषालाई नै खाने र बिस्थापित गर्न खोजिरहेको बेला उनको आबस्यकता अझै महसुस गरेको छु मैले। सायक यसै कारण होला अन्य समय भन्दा बढी याद भयो उनको।
ReplyDeleteनिकै रमाइलो गर्नुभएछ । साहित्यक सत्सङ्ग र सांस्कृतिक कार्यक्रमको रमझम । तपाईँका अनुभव पढ्दाखेरि पनि त्यो कार्यक्रमलाई 'भव्य'कै दर्जा दिन मन लाग्यो । भानु जयन्तीमा भक्तहरूको लाम स्वदेशमा भन्दा विदेशतिर बढ्ता हुन्छ भन्ने सुनिँदै आइएको हो दार्जिलिङको उदाहरणबाट, जापान पनि कम रहेनछ । साहित्यिकहरूको बढ्दो जापानी जमघट पछिल्लो समयमा विपत्तै देखिएकोले यस्तो समारोह हुन सकेको होला भन्ने लख काट्दा अन्यथा नहोला ।
ReplyDeleteआफूले भने यस्तो साहित्यिक समारोह (विशेषत: भानु या मोती जयन्ती) मनाउने सुयोग जुरेको छैन । मौलाउँदो गुटबन्दी प्रथाले साहित्यिक क्षेत्रमा पनि स्वाभाविकै मान्नु परिरहेछ पछिल्लो समयमा । ५-७ जना भेला हुने कोठे गफमा "राष्ट्रिय समारोह" सम्पन्न गरिन्छ । कुनाकानीमा आ-आफ्नै धुन हुन्छ साहित्यिक कार्यक्रम र उत्सव आयोजनाको । मिलीजुली सामूहिक रूपले त्यही कार्यक्रम गरे कति प्रभावकारी र फलदायी हुँदो हो । खासमा यही गुटबन्दी खेलले गर्दा नै होला अरू क्षेत्रको नजरमा हाम्रो साहित्यले उपेक्षित र अपहेलित खेप्नुपरेको । आफू-आफूमै शङ्का, अविश्वास, भेदभाव र निषेधको व्यवहार गरे अरूहरूले कसरी पो हेयको दृष्टिले नहेर्लान् ?
माधवप्रसाद पोखरेल त्यहीँ हुनुहुँदो रहेछ, उहाँजस्तो दिग्गज व्यक्तित्वसँग सङ्गति गर्न पाउनु पनि पुन्य अवसर हो । गजलको बाढी बग्दैबग्दै जापानसम्म पुगेछ, खुसी लाग्यो । तर तपाईँको जस्तै डर - गजलको यो बाढी र परिमाणात्मक लस्करले सर्जकहरूको प्राथमिकता पनि एउटैतिर केन्द्रित हुँदा अन्य विधा उपेक्षाको सिकार होलान्, रचनागत भीड मात्र बन्ला ।
भानुप्रति यो भक्तको पनि सम्झना छँदैछ, सदैव ।
सबैलाई हार्दिक धन्यबाद! भानुमा फेरि एक पटक श्रद्धाञ्जली!
ReplyDeleteबेदनाथजी, त्यो ‘डा.’ मेरो पेशागत जीवनमा मात्रै काम लाग्छ भन्ने मेरो मान्यता हो। साहित्यमा त्यसका लागि कुनै ठाऊँ छैन। समाचार कार्यक्रम आयोजकमध्येकै कुनै साथीले पठाएको हुनुपर्छ किनभने ‘समुद्रपारी’ जस्ता साइटका धेरैजसो समाचार कार्यक्रम आयोजकलेनै पठाएर छापिएका हुन्छन्।
बद्रीजी, wordflowsजी, बि.जे.जी, खुल्लामञ्चजी, सुजनजी, सिकारुजी, दूर्जेयजी; प्रतिकृयाका लागि आभारी छु। भानुले देखाएको बाटोलाई अझ फराकिलो बनाउन हामीले सकेको योगदान देऔं।
दिलिप दाइ, अहिले नेपालमा नेपालका सबै रोगहरुको दोष भानुका थाप्लामा हाल्ने लहर चलेको छ। साह्रै दु:ख लाग्दो स्थिति छ। सर्जकहरुको महत्वलाई न राज्यले बुझेको छ न त यस्ता कुरामा जनताकै चेतनास्तर राम्रो
छ। सर्जकको अपमान हुने समाज पतनको बाटोमा जान्छ, हामी अहिले त्यहि अवस्थामा छौं।
हावा ब्रो, हे हे हे! यो जापानमा डिशवाशर, डाक्टर र कण्डक्टरको उत्तिकै सम्मान हुन्छ (बरु अचेल बसमा कण्डक्टर राख्न छोडेका छन्।)। ‘डिशवासर’हरुको जीवनस्तर पनि राम्रै हुन्छ, कहिलेकाहीँ तिनको आम्दानी डाक्टरहरुको भन्दा पनि बढी हुनसक्छ। अब हाम्रो नेपालको त बातै अलग!
नेपाली भाषालाई औपनिवेशिक भन्नेहरु दिमाग खुस्केका हुन्। नेपाली भाषा स्वत:स्फुर्त रुपमा नेपालमा रहेका बिभिन्न जातजातिहरुको सम्पर्क भाषाको रुपमा विकास भएको हो। त्यतिमात्र नभएर दार्जलिङ्ग, आसाम, भुटान र बर्मा आदिसम्म पनि जनताको माया र प्रयोगका कारण फैलेको हो। अहिले नेपालमा उल्टो हावा चलेको छ र मान्छेहरु जल्लाई भेट्यो काट्ने, जे लाई भेट्यो सराप्ने भएका छन्। त्यसकै शिकार भएको हो नेपाली भाषा।
धाइबाजी, जापानका नेपाली अहिले साहित्यिक रुपमा साँच्चै साह्रै सकृय भएका छन्। भानु-जयन्ती र लक्ष्मी-जयन्ती नियमित हुन थालेका छन्। गुटबन्दी विदेश बस्ने नेपालीका बीचमा पनि नहुने होईन, गुटबन्दी र झगडा हाम्रो ‘राष्ट्रिय पहिचान बनिसकेको छ; तर देशमा जति भने अझै भईसकेको छैन, विशेष गरी साहित्यका हकमा। त्यसैले सौहार्दपूर्ण वातावरणमा यस्ता कार्यक्रमहरु सम्भव छन् अझै।
बसन्त जी
ReplyDeleteधन्यबाद यो टाँसो अनि त्यो दिनको शभापतित्वको लागि पनि । हामि टोकियो बाट जाने कुमार जी , प्रकाश जी ,आलोक जी , गंगा जी र मेरो तर्फबाट । हामीले अहिले सम्म जापान बिशेष गरि टोकियो मा जति कार्यक्रम गर्यौं त्यो मध्यमा सबै भन्दा बेशी साहित्यप्रेमी हरुको जमघट भएको कार्यक्रम हुन सफल भयो ।तपाईंहरुको सहयोग बाट मात्र यो सफल भएको जस्तो लागेको छ । समय रह्यो र साथ दियो भने अगाडीका दिनमा पनि यस्तो भेटघाट को आशा गर्दछु ।
धन्यबाद दिनेशजी!
ReplyDeleteभविष्यमा पनि अनेसासले नागोया लगायत टोकियो बाहेकका अरु शहरहरुमा यस्ता कार्यक्रम गरिरहनेछ भन्ने आशा छ।