October 28, 2011

तिहार

आकाश पूरै खुलीरहेछु
पात-पातमा झुलीरहेछु
पुतलीसंगै डुलीरहेछु
फूलै-फूलमा फूलीरहेछु।

पात-पातमा झुलीरहेछु
यहाँ, त्यहाँ भुलीरहेछु
पुतलीसंगै डुलीरहेछु
फूलै-फूलमा फूलीरहेछु।

यहाँहरु सबैमा तिहारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। यहाँहरुको जीवन सधैं शान्ति, आनन्द र समृद्धिको ज्योतिले उज्यालो बनोस्!

October 20, 2011

सुन्दर काभ्रे गाऊँ

दशैं मनाउने क्रममा काठमाण्डौंमा थिएँ। कोजाग्रत पूर्णिमातिर पोखराबाट (दगाम यात्राका) साथीहरुले फोन गर्नुभयो, 'हामी शुक्रबार (असोज २७) होम-स्टेका लागि भूर्जुङ्ग खोलातिर जाँदैछौं, तँ पनि आईपुग्।' भनेर। शुक्रबार बिहान ७:३० मा एउटा टुरिष्ट बसमा काठमाण्डौं छोडेको, बाटाका बेला-बेलाका जामले गर्दा पोखरा झर्दा साढे ३ भईसकेको थियो। दिनभरिको पसिना पखालेपछि भटभटेमा हुईँकिएँ म भुर्जुङ्गखोलातिर, साथीहरुले 'हामी बाटैमा तँलाई पर्खिरहेका हुन्छौं।' भन्नुभएको थियो। 

२०५४-५५ सालतिरै एकपटक कसैको पछाडि बसेर पुरुन्चौरमा एउटा बिहेमा पुगे बाहेक म यो बाटो हिँडेको थिईँन। हतारको आऊ-जाऊले गर्दा त्यो बेलाको दिगो स्मृति पनि छैन। लामाचौरको अलिक माथि रहेको अकला देबीको मन्दिरमा धेरै पटक पुगेपनि त्यहाँभन्दा माथि लाग्ने जाँगर कहिल्यै आएन। अकला कटेर अलिक माथि पुगेपछि फाँटको बीचबाट बाटो जाँदो रहेछ। बादलु दिन थियो, यसैले हिमालको भने दर्शन भएन, घमाईलो दिनमै पनि यो ठाऊँबाट शायद हिमाल देखिँदैन होला। सिमसिम पानी पनि परीरहेको थियो बाटाभरि। तर जे होस्, दुईतिर पहाड, बीचमा फाँट र फाँटको छातीबाट कुदेको पक्की बाटो-यात्रा रोमाञ्चक हुने रहेछ। मलाई यो भेकले पनि मोहनी लगायो।  

 पुरुञ्चौरतिरैबाट अन्नपूर्ण संरक्षण क्षेत्र शुरु हुने रहेछ, बाटामा ठडिएका बोर्डहरुले त्यसै भन्थे। 

१० किलोमीटरभन्दा बढी हुईँकिसकेपछि साथीहरुलाई बाटैमा भेटियो। समूहमा दुईजना (मेरा लागि) नयाँ साथीहरु पनि हुनुहुँदो रहेछ, दुबै पृथ्वीनारायण क्याम्पसका प्राध्यापक। एकजना स्थानीय दाईपनि संगै लाग्नुभयो हामीसंग। मैले कुरो पछि बुझें। हाम्रा साथीहरुले एउटा पसलमा नजिकको राम्रो होम-स्टे गन्तब्यका बारेमा सोधखोज गर्दाको कुराकानी सुनेर ती दाइले 'ल म लैजान्छु तपाईँहरुलाई!' भन्नुभएको रहेछ। हामी उहाँकै गाऊँतिर जाँदै रहेछौं। हट्टाकट्टा र 'फिट' शरीरका हँसिला ती दाइको नाम रहेछ उदय बहादुर गुरुङ्ग।

तातोपानीबाट अन्दाजी ३-४ किमीको कच्ची बाटो कटेपछि दुईतिरबाट पहाडहरुले च्यापिएको अर्को एउटा फाँटमा पुगियो। त्यो ठाऊँको नाम सोध्न बिर्सिएछ। त्यहीँको एउटा घरको आँगनमा सबैका भटभटे बिसाएर उकालो लागियो। साथीहरुले हाम्रो गन्तब्य गाऊँ काउरे हो भन्थे, तर पछि थाहा भयो गाऊँको वास्तविक नाम काभ्रे रहेछ। 'हाम्रो गाऊँको नाम बिगारिदिए मान्छेहरुले!' भनेर स्थानीयहरु दुखेसो गर्दै थिए। कृषिप्रधान यो सानो गाऊँमा जम्मा २१ घरधुरी रहेछन्, ४ घर विश्वकर्माहरुका रहेछन्, बाँकी सबै गुरुङ्गहरुका रहेछन्। 

साँझको पाहुना बनेर हामी गाऊँको एउटा घरमा पस्यौं। अग्लो पिँढीमा बसेर भलाकुसारी र 'खानपीन' शुरु भयो। एकछिनपछि एकजना हँसिली बहिनी देवी गुरुङ्ग आईपुग्नुभयो। पोखराकै कुनै उच्च माविबाट १२ कक्षासम्मको अध्ययन गर्नुभएकी देवी बहिनी काभ्रे गाऊँको होम-स्टे सम्बन्धी गतिबिधिहरुको संयोजक हुनुहुँदो रहेछ। उहाँसंग काभ्रे गाऊँ र होम-स्टे कार्यक्रमका कुराहरु भए। एउटा 'औपचारिक' परिचयात्मक कार्यक्रम पनि भयो देवी बहिनीकै आग्रहमा। सन् २००८ बाट शुरु भएको रहेछ काभ्रेमा होम-स्टे। पाहुनाहरुलाई राख्न पालो प्रथा लगाईएको रहेछ, एक पटकका पाहुनालाई एउटा घरमा राखेपछि अर्को पटककालाई अर्को घरमा राखिँदो रहेछ र यहि क्रममा गाऊँका सबै घरहरु सहभागी हुँदा रहेछन्। 

एउटा पहाडको फेदमा बसेको काभ्रे गाऊँबाट सामुन्नेको पहाडको फेदमा झुरुप्प बसेको अर्को गाऊँका बत्तीहरु देखिन्थे। त्यो अर्को गुरुङ्ग गाऊँ मिर्सा रहेछ। मिर्साको नजिकका पहाडहरुका माथि-माथि पनि फाट्टफुट्ट बिजुलीको उज्यालो देखिन्थ्यो। यो भेगका पहाडहरुमा सबैतिर केन्द्रीय प्रसारणको विद्युत जोडिएको रहेछ।

एकछिनको नाचगान पछि हामीलाई उदय दाईको घरमा खाना खुवाईयो। मेरो भागको शाकाहारी खाना त स्वादिष्ट थियो नै, अरु (सबै) मासु खाने साथीहरुले पनि जिब्रो पड्काई-पड्काई खाएकाले उनीहरुलाई पनि सन्तुष्टि भएको पक्का हो। खानापछि पनि नाचगान जारी रह्यो। नाचगान खासै राम्ररी संयोजित (coordinated) भने थिएन। स्थानीयहरुभन्दा हामीनै बढी नाच्यौं होला:) दगामकै समस्या यहाँ पनि रहेछ, युवाहरु कि शहरतिर कि विदेशतिर रहेछन्। उसैपनि २१ घरधुरीको सानो गाऊँ, त्यसमाथि पलायन; १७-१८ देखि ४०-४५ उमेरका मान्छे देख्नै गाह्रो। स्थानीय मौलिक साँस्कृतिक सम्पदा (लोकगीत, लोकनाच आदि) त थोरै देखियो नै, बरु एकछिनपछि स्पीकर ल्याएर स्थानीय भाइहरुले 'मुन्नी बदनाम हुई---' र 'डिङ्का चिका---' पनि पो बजाउन थाले! कठै नेपाली गाऊँहरुको नियति! मलाई लाग्छ काभ्रे गाऊँ साँस्कृतिक रुपले पक्का पनि सम्पन्न छ, तर युवा शक्तिको पलायनले गर्दा अब त्यो साँस्कृतिक सम्पन्नतालाई कायम राख्न मुश्किल हुँदै गईरहेको छ। यो कथा नेपालका सबै गाऊँहरुमा दोहोरिईरहेको छ निरन्तर।

तर समग्रमा काभ्रेमा कटेको एक रात निकै रमाईलो रह्यो। गाऊँलेहरुको न्यानो आत्मीयता अझै चोखै छ त्यहाँ र प्रकृति अझै सुन्दर छ त्यहाँ। यति भएपछि अरु कुरालाई दिमागको तपसीलमा पठाउन कुनै गाह्रो हुँदैन।

हिन्दी फिल्मी गीतका बारेमा भने भोलिपल्ट आगन्तुक पुस्तिकामा एउटा सुझाव लेखियो।

हामी ७ जना मध्ये ४जनालाई उदय दाइको घरमा सुताईयो, बाँकी तीनलाई संगैको (नाचगान गरिएको) घरमा। उदय दाइले आफ्नो घरमा दशजनासम्म पाहुनालाई सुताउन मिल्नेगरी कोठाहरु थप्दै गर्नुभएको रहेछ।

बिहान उठेपछि माछापूच्छ्रेको दर्शन गरियो। मिर्सा गाऊँ पनि देखियो। त्यहाँ पनि कुनै दिन पुग्ने योजना बन्यो हाम्रो। मिर्साभन्दा अलिक उचाईमा छ काभ्रे, तर काभ्रेबाट हेर्दा मिर्सा जस्तो देखिन्छ, मिर्साबाट काभ्रे त्यस्तै देखिँदो हो। २१ घरधुरीको काभ्रेभन्दा मिर्सा निकै ठूलो भने देखिन्छ।

बिहान एकछिन गाऊँ घुमियो। र खाना खाएर काभ्रेसंग बिदाबादी भईयो।

स्मरणीय पलहरुका लागि सुन्दर काभ्रेलाई हार्दिक धन्यबाद!

ऊ--- त्यो (दाहिनेतिरको) भिरमाथि बसेको छ काभ्रे गाऊँ। भोलिपल्ट फर्कने बेला खिचेको फोटो हो यो।

भान्सामा भाउज्यू।

नाचगानको एक क्षण।

भेला भएका मनकारी काभ्रेलीहरु। उभिईरहेकी यी नानीले खुब राम्रो नाच्दीरहिछन्।

नमस्ते माछापूच्छ्रे। पोखराबाट जस्तो देखिन्छ, यहाँबाट पनि ठ्याक्कै त्यस्तै देखिँदो रहेछ, र अलिकति छेकिँदो पनि रहेछ।

काभ्रेबाट हेर्दा मिर्सा गाऊँ। यहाँपनि एकदिन पुगिएला।

बिदाबादीको क्षण।

काभ्रेसंग बिदा भएर फर्कँदै मेरा सहयात्रीहरु।


October 11, 2011

अल बिदा गजल सम्राट!



आफ्नो स्वर र संगीतको जादूले हामीलाई एउटा अलग्गै दुनियाँमा लैजाने गजल सम्राट जगजीत सिंह अब हामीमाझ रहनुभएन।

जगजीत, अझ समग्रमा भन्दा जगजीत-चित्राको जादूको मोहनीजालमा कहिलेबाट परें, यकिन तिथिको याद छैन मलाई, तर जब परें सधैंका लागि परें। उहाँका गजलहरु जिन्दगीको एउटा ठूलो हिस्सा बनेर रहेका छन्, मेरा सुखी-दु:खी अनगिन्ती पलहरुका साथी बनेका छन्। जिन्दगीका दर्दपूर्ण क्षणहरुमा त उहाँको गम्भिर आवाज मेरो मनका लागि मल्हम हो। फेरि संयोग भनौं या एउटा स्वाभाविकता, मेरा घनिष्ट मित्रहरुमध्ये सबैजसो जगजीत-चित्राप्रेमी छन्।

सन् १९९१-१९९६ सम्मको आधा दशक चीनमा विद्यार्थीको रुपमा बस्दा उहाँका 'हम तो हैं परदेशमें---', 'वो कागजकी कस्ती---', 'सारे पिण्ड चुपवाडे---' जस्ता गजलहरु दिनदिनै जसो सुनिन्थ्यो। संगीतले भाषा र राष्ट्रियताको सिमानालाई अस्विकार गर्छ, यो मानवजातिलाई एककार बनाउन सक्षम हुन्छ। जगजीत सिंह संगीतको त्यहि शक्तिको एउटा शक्तिशाली प्रतीक हुनुहुन्छ।

उहाँका सबै गजलहरु प्रिय लाग्छन् मलाई। कहिलेकाहीँ कुनै अलि बढी प्रिय लाग्छन्, अलि बढी सुनिन्छन्। २००३ मा जापान पसेपछिको केहि समय "Someone, Somewhere" संग्रह एकदम सुनें। आफ्नो छोराको असामयिक मृत्युको पिडामा जगजीत-चित्राले गाउनुभएको यो संग्रहले जीवनका गहन दार्शनिक प्रश्नहरुलाई केलाएको छ। यो एल्बम आफैंमा एउटा उत्कृष्ट एल्बम हो, यसभित्र पनि मलाई 'आदमी आदमीको क्या देगा---' र 'मेरी जिन्दगी किसी औरकी---' अति प्रिय लाग्छन्।

उहाँका गजलहरुबाट सबैभन्दा मनपर्ने वा उत्कृष्ट छान्न खोज्नु एउटा दुस्साहस हो भन्ने जान्दा-जान्दै पनि अर्को एक गजल 'शायद मैं जिन्दगीकी----' पनि विशेष लाग्छ मलाई भन्ने लोभ त्याग्न सकिन। अचेल मैले सबैभन्दा बढी सुन्ने गजल यहि बनेको छ। उहाँका भजनहरुपनि सशक्त र आध्यात्मिक शक्तिले भरिएका लाग्छन् मलाई।

गजल सम्राटमा हार्दिक श्रद्धाञ्जली! वहाँको आत्माले चीरशान्ति पाओस्!

October 05, 2011

दशैंको हार्दिक मंगलमय शुभकामना!

यहाँहरु सबैमा दशैं-२०६८ को हार्दिक मंगलमय शुभकामना!

तपाईँको जीवनमा स्वास्थ्य, आनन्द, सफलता र समृद्धिको निरन्तर वर्षा भईरहोस्!

 

September 28, 2011

त्यागको प्रतिस्पर्धा

लघुकथा
त्यागको प्रतिस्पर्धा
प्रधानमन्त्रीले महँगा गाडीको ‘त्याग’ गरेर र मुस्ताङ्ग चढेर वाहवाही लुटेकाले मन्त्रीहरुलाई पनि त्यस्तै वाहवाही लुट्ने लोभ लाग्यो। यसैले मन्त्रीहरु ‘त्याग’ का एक से एक रचनात्मक उदाहरणहरु देखाउन थाले। एक जना मन्त्रीले आफूले अब सरकारको केहि पनि नचढ्ने, चढ्नुपर्ने कुरा आफनै मात्र चढ्ने घोषणा गरे। यसपछि एक लालबुझक्कड मन्त्रीले आफू मोटरसाईकल मात्रै चढ्ने वाचा के गरेका थिए, शेरमाथिका सवा शेर अर्का निक्ले र घोषणा गर्दिईहाले, ‘म पनि अब मन्त्री छउञ्जेल साईकलमात्रै चढ्छु!”। यी त शेर माथिका सवा शेर मात्रै रहेछन्, अर्का साढे शेर निक्ले, “म त झन् केहि पनि चढ्दिन, पैदलै हिँड्छु!“।

यो त ‘त्याग’को पराकाष्ठानै भयो, अब त सकियो होला भनेर जनता गम्दै थिए, तर अर्का अझ 'महात्यागी' निक्ले र घोषणा गर्दिए, “म त अबदेखि चढ्ने-उड्ने कुरा त के हिँड्दा पनि हिँड्दिन ल। लौ मेरो भन्दा बढी त्याग गरेर देखाओस् त कसैले?!”

पढीसकेपछि लघुकथा जस्तो लागेन भने यसलाई एउटा जोकै मान्दिनुस्:)

September 18, 2011

दुई 'नाङ्गा' मुक्तकहरु

"हामी नेपाली"
झूटो-साँचो हावा थोरै बहिदिए पुग्छ
रेलिङ्ग भाँच्ने शक्ति थोरै रहिदिए पुग्छ
जस्को पनि जन्ती, जस्को पनि मलामी
हामीलाई बस् केहि भईदिए पुग्छ।


"राष्ट्रिय पोशाक नीति"
पाईण्टमाथि कट्टु लगाए पनि हुन्छ
रातो साडीको फेटा सजाए पनि हुन्छ
अबदेखि सभासद र मन्त्रीहरु
कार्यालय नाङ्गै आएपनि हुन्छ।

September 12, 2011

दगाममा एक रात-२

त्यसको एकछिनपछि हामीलाई भान्छाघरतिर लगियो। स्थानीय रक्सी र केहि खानेकुराहरु थिए। त्यस्तो विशेष केहि थिएन, सामान्य थिए परिकारहरु। शाकाहारी भएकाले मलाई भने अलि-अलि अप्ठेरै भयो, म भुटेको (तारेको) कालो बोडी बढी खानेमा परें। उकालो लाग्नु अगाडि खैरेनीटारमै किनेको स्याऊ पनि थियो अलिकति। समूहका अर्का एक सदस्यचाहिँ अरु बेला मासु खाए पनि रक्सीसंग भने मासु नखाने हुनुहुँदोरहेछ। त्यसैले हाम्रो जोडी मिल्यो:)

लोड-शेडिङ्ग रहेछ त्यो दिन। हामीले खाना खान थाल्दा-नथाल्दै भयंकर हुरीसंगै पानी बर्सिन पनि शुरु भयो। आधा घण्टाजतिमा रोकियो र एकछिनमा बत्ती पनि आयो। खानासंगै अलिअलि नाचगान पनि शुरु भएको थियो। वर्षायाम भएकोले सबै खेतीपातीमा ब्यस्त हुँदा साँस्कृतिक तयारी त्यति हुन नसकेको कुराको जानकारी गराउँदै हुनुहुन्थ्यो नन्द सर। हाम्रो समूह पनि सानै थियो, फेरि समूहका सबै नेपालीमात्रै। यो कारण पनि हुनसक्छ त्यति उत्साहित माहौल नदेखिनुमा। जे होस् रमाईलै भयो भन्नुपर्छ समग्रमा। दोहरी निकै रन्कियो एक छिन्। हाम्रो समूहका शिव सर खप्पीस हुनुहुँदोरहेछ दोहरीमा। उहाँको गायकीको बारेमा थाहा थियो, तर दोहरीमा पनि पोख्त हुनुहुन्छ भन्ने चाहिँ थाहा थिएन। बाँकी हामी अरुको काम भनेको थप्पडी बजाउने र नाच्नेमात्रै भयो। खाना खाईसकेपछि एकछिन स्थानीय कौडा नृत्य पनि हेर्ने अवसर पाईयो। 



 दोहरीको स्थानीय टिम
 


नृत्यमग्न क्षणहरु

कौडा गाऊँदै स्थानीयहरु 

कार्यक्रमको बीचतिर फिट्टान भएर ढल्पलिँदै एकजना युवा आईपुगे र उफ्री-उफ्री नाच्न थाले। ती बेला-बेलामा "तिमी टाढा, मैपनि टाढा; माछी काँडे डाँडैमा घर सार" भाकाको फर्माईश पनि गरीरहेका थिए। चालढालले ती भाइ स्थानीय होईनन् भन्ने सहजै थाहा हुन्थ्यो। उनी जुम्लाका रहेछन्। नेपाली सेनाका जवान ती भाइ यतिखेर भने दगामको छेवैको अर्को डाँडाको टुप्पोमा रहेको दूरसञ्चारको टावरको रक्षार्थ खटिएका रहेछन्।

तिनको चुरीफुरी 'साह्रै' भएपछि हामीमध्येकै एकजना साथी पोखराको फूलबारी ब्यारेकको क्याप्टेन बन्नुभयो। अर्को एकजना साथी ती भाइका गणपतिका साथी बन्नुभयो र आफ्नो गणपति 'साथी'संग मोबाईलमा 'कुरा गर्न' थाल्नुभयो। क्याप्टेनलाई नजिकै देखेपछि र गणपतिका कुरा सुनेपछि जुम्ली भाइलाई रक्सीले छोडेजस्तो भयो, ती  त्यसपछि शान्त भएर एक छेऊमा बसे। भोलिपल्ट बिहानै हामी नउठ्दै आईपुगेका थिए रे ती र नन्द सरसंग 'हिजो बेलुका सरहरुसंग नराम्रो गरें कि क्या हो?' भनेर पीर मान्दै थिए रे।

क्याप्टेन (ज्याकेटमा) र जवान। जवानले क्याप्टेनलाई 'चिन्नु' भन्दा पहिले:)

हामी त्यसपछि सुत्नका लागि संगै बनाईएको पाहुनाघरतिर लाग्यौं। स्थानीयहरुको घरमा एक-एक जनाको दरले सुत्ने ब्यवश्था पनि थियो तर हाम्रो सल्लाह पाँचजना एकै ठाऊँमा सुत्ने भन्ने भएकोले पाहुनाघरतिर लगिएको थियो।

बिहान छ बजेतिर उठेर बाहिर निस्कँदा चिसो तर मिठो हावा सर्सराईरहेको थियो र वरिपरि हरियालीको महासागर छचल्किरहेको थियो। वर्षातको याम अझै नसकिएकोले दिन पूरै खुलेको भने थिएन। बस्तीहरु बादलमुनि लुकिरहेझैं लाग्थे। त्यहाँबाट हिमश्रृंखलाको लामो भाग देख्न सकिने रहेछ। बिहान एफएममा कायाकैरन सुन्दै गर्नुभएका नन्द सरले ऊ 'ऊ त्यता लमजुङ्ग हिमाल पनि देखिन्छ, आज अलि खुलेको छैन।' भनेर देखाऊँदै हुनुहुन्थ्यो। त्यो बाहेक अरु हिमाल भने देखिएका थिए।

रुपाताल लगभग पूरै देखिन्थ्यो त्यहाँबाट। "ऊ त्यो देखिएको चाहिँ रुपाताल, नदेखिएको चाहिँ वेगनास ताल!" भनेर ठट्टा गर्दै हुनुहुन्थ्यो एकजना साथी।


बादलमुनिका बस्तीहरु र बादलमाथिका हिमालहरु

दगामसंग आँखा जुधाएर उभिएको यो पहाड थाप्रेक गाविसको एक भाग रहेछ। एउटा लामो बादलको टुक्रा धेरै बेर बिस्तारै हिँडिरहेको देखेपछि यो तस्बीर लिएको थिएँ मैले।

नन्द सरसंग एकछिन अरु कुरा पनि भए। दगामको सबैभन्दा ठूलो समस्या पानीको रहेछ। अनि अर्को समस्या गाऊँबाट युवा पलायनको पनि रहेछ। यथार्थमै, अघिल्लो रातको भेलामा पनि कि १७-१८ सम्मका युवाहरु थिए, कि ५० कटेकाहरु थिए, बीचका छँदै-थिएनन्। नन्द सरका आफ्नै छोराछोरी पनि काठमाण्डौंतिर रहेछन्। गाऊँका धेरै युवा अरबमा रहेछन्। अरबको कमाई पनि गाऊँमा खासै आईपुग्दो रहेनछ, सबैले काठमाण्डौं र खैरेनीटार वा दुलेगौंडा जस्ता चल्तीका बजारमा घरघडेरी जोड्दा रहेछन्। नन्द सरजस्ता केहि स्थानीय दगामलाई एउटा राष्ट्रिय-अन्तर्राष्ट्रिय पर्यटक गन्तब्य बनाउन कस्सिएर जति लागे पनि युवापुस्ताको सकृय सहभागिताविना त्यो असाध्यै गाह्रो हुने निश्चित छ। उहाँहरुको योजना अरु-अरु पनि रहेछन्, जस्तै प्रशश्त मात्रामा रहेको चरन क्षेत्रको सदुपयोग गर्दै ठूलो आयतनमा बाख्रापालन गर्ने। यस्ता योजनालाई सघाउन एउटा सहकारी पनि शुरु भईसकेको रहेछ। तर यहाँपनि नयाँ ढंग, नयाँ ब्यवश्थापनका लागि शिक्षित युवा रगतको जरुरत छ। कम्तिमा दशजना पढेलेखेका युवाले गाऊँमै बसेर केहि गर्ने कम्मर कसे भने नन्द सरजस्ता पाकाको अभियान धेरै अगाडि बढ्न सक्ने निश्चित छ। अलिकति सुझबुझपूर्ण योजना र लगानी पाउने हो भने २-३ वर्षमै दगामले स्थानीय रुपमै आत्मनिर्भर मौलिक पर्यटन उद्योगको विकास गर्ने छ र यो एउटा चर्चित गन्तब्य बन्ने छ।

एकछिनमा एकजना साथी उठेर आउनुभयो। अरु तीनजनालाई पाहुना घरमै छोडेर म र उहाँ नजिकैको अर्को डाँडातिर लाग्यौं। फेदीमा एउटा प्राथमिक विद्यालय रहेछ, २०११ सालमै स्थापना भएको। २०११ सालमै विद्यालय स्थापना भईसकेको कुराका आधारमा यहाँको शैक्षिक चेतना धेरै माथिल्लो स्तरको भईसक्नुपर्ने जस्तो लाग्छ, तर त्यस्तो हुन नसकेको स्पष्ट देखिन्थ्यो दगाममा। अलिकति भौगोलिक दुर्गमता, अलिकति राज्यको वेवास्ता र अलिकति शिक्षित दगामेलीहरुको पलायन सबै मिलेर यो स्थितिको निर्माण भएको हुनुपर्छ। 

त्यहि विद्यालयनै नन्द सरको कार्यस्थल पनि रहेछ। 

विद्यालय कटेर उकालो उक्लिसकेपछि दुईटा समथर भूभाग देखिए; एउटा त्यहाँको पूजाआजा गर्ने-बलि दिने कोट थियो, अर्को समथर भूभाग बनभोजस्थलका रुपमा प्रयोग गर्न मिल्दो देखिन्थ्यो। त्यहाँबाट पनि पोखरासम्मको दृश्य र हिमालहरु देखिन्थ्यो। 

दक्षिणतिर फर्किएर हेर्दा। बादलको समुद्रले छोपिएका छन् बस्तीहरु।

कोटबाट पोखरातिर फर्किएर हेर्दा।

कोट दगामभन्दा केहि अग्लो ठाऊँमा छ। तलको तस्बीर कोटबाट दगाम हेर्दाको हो। छेऊतिर दूरसंचारको टावर देखिएको छ। बीचतिर देखिएको हामी बास बसेको गाऊँ हो, जसको खास नाम 'माझ दगाम' रहेछ, अर्को दगामलाई पल्लो दगाम कि त्यस्तै के भनिन्छ भनेर कुरा भएको थियो।


फर्केर गएर हामीले कोदोको रोटी र स्थानीय महको नास्ता ग-यौं। दुई घण्टाजति अल्मलिएर कोदोको ढिँडोसहितको खाना खायौं र फूलका गुच्छा समातेर दगामसंग बिदाबारी भयौं।

फर्कँदा हामीले अर्को बाटो समात्यौं, जुन दुलेगौंडातिर जान्थ्यो। यो फराकिलो तर कच्ची मोटरबाटो थियो, बर्खामा भने त्यति प्रयोगमा आएको/आउनसक्ने देखिँदैनथ्यो। हिँडेको एक छिन पछि भिरालो बाटोमा हिजोका जुम्ली भाइ भेट्टिए, मध्यान्हमै ती आफूलाई सम्हाल्नै नसक्ने गरी फिट्टान थिए र अर्का एकजना भाइ उनलाई सम्हालेर बाटो हिँडाऊँदै थिए।

हामीलाई देखेपछि ती भाइ अलि सतर्क भए र 'क्याप्टेन' को नजिकै उभिएर जीऊ तनक्क तन्काएर स्यालुट गरे। 'क्याप्टेन साप' ले उनलाई 'ल राम्रोसंग ड्युटी गर्नु!' भनेपछि हामी हाँस्दै बाटो लाग्यौं।

ती भाइले सुरक्षा गरेको टावर कत्तिको सुरक्षित होला! धन्न अहिले द्वन्द्व छैन यो क्षेत्रमा!

दगाममा एक रात-१
(समाप्त)


September 06, 2011

दगाममा एक रात-१

गत शुक्रवार तनहुँ जिल्लाको एउटा सुन्दर गाऊँ दगाम जाने अवसर मिल्यो। दगाम तुलनात्मक रुपमा नयाँ पर्यटकीय गन्तब्य हो। यसको प्राकृतिक अवश्थितिका कारण यहाँबाट धेरै हिमशृंखला नियाल्न सकिन्छ र चारैतिरका भेगहरु, पोखराको केहि भाग सम्मपनि राम्ररी देख्न सकिन्छ। आफ्नो यो विशेषतामा 'होम स्टे' र सांस्कृतिक गतिबिधिहरु पनि जोडेर आफूलाई चिनाउने चिनाउने प्रयासमा छ दगाम।

समुद्र सतहबाट १६-१७ सय मीटरको उचाईमा हुनुपर्छ दगाम। यो मेरो अनुमान मात्र हो, दगाम त्यति नचिनिईसकेकोले यसका बारेमा धेरै पढ्न पनि पाईन्न। दगाम मगर जातिको बाहुल्य भएको गाऊँ हो, अलिकति गुरुङ्गहरु पनि रहेछन्।

पृथ्वी राजमार्गमा पर्ने एउटा बजार खैरेनीटारमा आफ्ना साधन राखेर हामी गाऊँ पसेका थियौं, पौने दुई भईसकेको थियो। सहयात्री साथीहरु (ईश्वर, गोपाल, शिव र महादेव) पहिले पनि गईसक्नुभएको रहेछ दगाम। उहाँहरु त्यसबेला अर्कै बाटो मोटरसाईकलमा जानुभएको रहेछ। यसपालि भने हिँडेरै जाने योजना थियो। खैरेनीटार र लगत्तैको दरगाम गाऊँमा सोधखोज गर्दा साढे-दुई तीन घण्टा लाग्ने जानकारी पाईयो। यो हिसाब दैनिकजसो ओहरदोहर गरीरहने, बानी परेका मानिसहरुका लागि हो। यसैले हाम्रा लागि ४-५ घण्टा लाग्ने कुरामा हामी ढुक्क भयौं। फेरि हामीलाई हतारिएर हिँड्नु थिएन, बाटामा पर्ने ग्रामीण भेग र जंगलहरुको अवलोकन गर्दै, आधा घण्टाको फरकमा केहि क्षण आराम गर्दै हिँड्न चाहन्थ्यौं, साँझ सात बजेसम्ममा दगाम पुगे हुन्छ भन्ने मानसिकतामा थियौं हामी। 

मैले नेपाल धेरै घुमेको छैन। जापानबाट फर्केपछि त झन् कतै पनि गएकै छैन। यसैले बाटाका हरेक दृश्य मेरा लागि नयाँजस्तै र ताजगीदायक (refreshing) भए। मलाई मेरो देशको सौन्दर्यले जहिलेपनि खुशीनै खुशी भरिएको भावुकता दिन्छ। र त्यो दिनको यात्राभरि पनि हरियो सौन्दर्यको खात लागेको थियो हाम्रो वरिपरि जतिखेरपनि।

घण्टौं हिँड्दा लागेको थकाई र तरतरी बगेको पसीनाको भने भो न कुरो गरम्:) एक-दुई ठाऊँमा नाक ठोक्किने उकालाहरु पनि थिए। थकाई, पसीना र उकालाहरुसंग जुध्न हाम्रा रमाईला गफ र जोकहरुले खुब साथ दिएको मान्नैपर्छ।

 बाटामा एक ठाऊँमा भेटिएका स्थानीय केटाकेटीहरु

 सहयात्रीहरु

 
 उकालीमा।
 विश्राममा सहयात्रीहरु

 चार घण्टा पछि बल्ल नजिक आईपुग्यो दगाम। (देख्न त यो खैरेनीटारबाटै पनि देखिन्छ।)

दगाम यो भिरालो डाँडाको टुप्पैमा बसेको छ। दगामलाई पाल्ने खेतीपातीले ढाकिएको छ पूरै डाँडो। 

 दगामको मलिलो ज्यानको एउटा हिस्सा

गाऊँ पसेर गाऊँका मसिना गोरेटा बाटाहरु छिचोल्दै हामी अलिक माथि रहेको गाऊँको मूलबाटोमा पुग्यौं। मूलबाटो किन भनेको भने दगाम एउटा फराकिलो (तर कच्ची बाटो)ले वरिपरिका शहरी भेगसंग जोडिईसकेको रहेछ। कच्ची हुनाले बर्खायाममा भने बाटो त्यति भरपर्दो नहुने रहेछ। 

अलिकति अगाडि बढेपछि हामीलाई स्वागत गर्न त्यो गाऊँका 'मुखिया' नन्द थापा मगर उभिईरहनुभएको थियो। उहाँसंग भलाकुसारी र परिचय (नयाँ त मै मात्र थिएँ)पछि हामी त्यहाँको पर्यटकीय प्रयोजनका लागि बनाईएको सामुदायिक भवनतिर लगियौं। त्यहाँ केहि किशोरी बहिनीहरुले माला र टिकाले हामीलाई स्वागत गरे।
 स्वागतपछि। हामी खैरेनीटारबाट हिँडेको लगभग पाँचघण्टा भईसकेको थियो।

शीतल बतास चलिरहेको थियो, त्यसले लखतरान भएर थाकेको हाम्रो ज्यानमा नयाँ ज्यानको संचार गरायो। त्यहाँबाट दुलेगौंडा, लेखनाथ नगरपालिकाको केहि भाग, रुपाताल र पोखराकै पनि केहि भाग देखियो। साँझ परीसकेकोले बत्तीहरु टिल्पिलाउन थालीसकेका थिए सबैतिर। दगामबाट देखिने दृश्य एकदम रोमाञ्चक थियो। हवाईजहाजले अलिकति उचाई लिएपछि देखिनेजस्तै थियो दृश्य। धोका दिन थालेको मेरो तीन वर्ष चानचुन पूरानो क्यामेरा त्यो दृश्यलाई कैद गर्न सफल भने भएन।




दगाममा एक रात-२