म हुर्केको परिवार, परिवेश अलिअलि मांसाहारी थियो। जातीय कारणले खसी-बोका मात्रै खान हुने मानिन्थ्यो। कुखुराको अण्डा पनि खान नहुने मानिन्थ्यो, तर केहि ‘आँटिला’हरुले अण्डा र कुखुराकै मासु पनि खान थालीसकेका थिए। ती आँटिलामध्येमा पर्न आफूसंग भने गाँठ र आँट दुबै थिएन:) धेरै खान सक्ने हैसियत थिएन तर मासु एउटा ‘विशेष’ खानेकुरा मानिन्थ्यो र चाडबाड, विशेष गरी दशैं, चैते दशैंमा यो अनिवार्य ठानिन्थ्यो। आक्कलझुक्कल अरु बेलामा पनि यो मुखमा पर्न आईपुग्थ्यो। यसरी हेर्दा मेरो बाल्यकाललाई म ९५ प्रतिशत शाकाहारी र ५ प्रतिशत मांसाहारी मान्न सक्छु :)
शिक्षा र रोजगारीका लागि मान्छेहरु शहर पस्न थालेपछि तिनले खाने मासुको परिमाण पनि बढ्न थाल्यो। अत्यन्त ‘स्वादिष्ट’, ‘सम्मोहनकारी’ र ‘शक्तिशाली’ म:म:लाई चिनेपछि त्यसबाट को बँच्न सकोस्! खसी-बोकामात्रै सिध्याउन पाउने भनेर तोकिएका बाहुनहरुले प्लेटका प्लेट भैंसी पनि सखाप पार्न थाले। तीन वर्षको दौरान गोटा सौ एक प्लेट ‘भैंसी’ मेरा पेटमा पनि पसे हुनन्। तैपनि औसतमा मेरो मांसाहारको परिमाण खासै बढेको मान्न सकिन्न।
अध्ययनका लागि २०४८ मा चीन पुगेपछि भने मासुको परिमाण बेस्सरी बढ्यो। चीनियाँ भोजनमा मासुको अंश ज्यादै धेरै हुन्छ। सागपातपनि थरी-थरिका र धेरै पाईन्थे तर मासु धेरै सस्तो लाग्थ्यो। ‘चिनियाँहरुले उड्नेमा हवाईजहाज र हिँड्नेमा मोटर बाहेक जे पनि खान्छन्!’ भन्ने सुनिन्छ यदाकदा। त्यो साँच्चै हो जस्तो लाग्थ्यो मलाई चिनियाँहरुको खानपीन हेर्दा। अहिलेको चीनमा कस्तो छ त्यति थाहा भएन तर मेरो अनुमानमा त्यहाँ शाकाहारी बढेका छैनन् बरु घटेका होलान्।
चीनमा बस्दा कुखुरा र बुंगुरको मासु सबैभन्दा धेरै खाईयो। मुसलमानका भोजनालयहरुमा खसीको मासु पनि खाईयो र यदाकदा गाईकै मासु पनि खाईयो होला, जोगिन खोज्दा-खोज्दै पनि खानामा गाईको मासु छ भन्ने थाहा नभएर र कहिलेकाहीँ भुँडी भर्ने अरु कुनै उपायनै नदेखेर। नेपालमा छँदा गनेर दुई-तीन पटक भन्दा बढी माछा खाने सौभाग्य मिलेको थिएन होला, चीनमा माछा खान पनि ‘पारंगत’ भईयो:)
नेपाल फर्केपछि पनि कुखुरा र खसीको मासुलाई निरन्तरता दिईयो। भैंसीवाला म:म: भने खान छोडियो।
दोश्रो प्रवासका लागि जापान पुगेपछि फेरि चीनकै जस्तो स्थिति दोहोरियो। त्यहाँ पनि माछा-मासु नखाई टिक्न नसकिने स्थिति छ। सुविधासम्पन्न जीवन जीऊन सक्नेहरुको कुरा बेग्लै तर सामन्यतया शाकाहारी जीवन मांसाहारीभन्दा महंगो लाग्छ जापानमा। ‘शाकाहारी हुँ’ भनेर कसैले भन्दा जापानीहरु छक्क पर्छन् र सोध्छन्; “अण्डा पनि खाँदैनस्?” वा “माछा पनि चल्दैन?”। कतिपय रेष्टुरेण्ट वा भोजहरुमा मासु र आलु मिसाएर पकाएको तरकारीबाट आलुका टुक्राहरुमात्रै छानेर शाकाहारी ब्यक्तिलाई दिईएका कुराहरु पनि धेरै सुनिन्छन्। परम्परागत जापानी खानामा माछा र समुद्री जीवको प्राधान्यता छ तर गत शताब्दीबाट पश्चिमा खानाको प्रभावका कारण जापानमा मासुको खपत पनि धेरै बढी छ।
जापानमा शकाहारी खानाको अस्तित्वनै छैन होला भन्ने लागेको थियो मलाई तर नेपाल फर्कने केहि महिना अघि पुगेको एउटा बौद्ध मन्दिरले भने मेरो त्यो सोचाईलाई गलत साबित गरिदियो।
एकजना शुभचिन्तक जापानी बृद्धाले लिएर गएकी थिईन् हामीलाई त्यो मन्दिरमा। आफूलाई कहाँ लगिँदैछ भन्ने बारेमा त्यति नबुझ्दा-नबुझ्दै पनि हामी उनको पछि लागेका थियौं, एउटा आईतवार बिताउनु थियो जसरी भएपनि:)
जापानी बौद्ध परम्पराका बिभिन्न सम्प्रदायहरुमध्ये कुनै एकद्वारा संचालित त्यो मन्दिर हंसमुख बुद्ध (Laughing Buddha) को रहेछ। प्रवचनकर्ताका अनुसार उनीहरु Laughing Buddha लाई बौद्ध धर्मशास्त्रहरुमा वर्णित गौतम बुद्ध पछिका बुद्ध, मैत्रेय बुद्ध मान्दा रहेछन्। पछि मैले ईण्टरनेटमा पनि खोजेको थिएँ; Laughing Buddha लाई मैत्रेय बुद्ध मान्नेहरु यहाँमात्रै होईन जापानकै अन्य भाग र अरु देशहरुमा पनि धेरै रहेछन्।
मन्दिरसंगै भव्य सुविधापूर्ण प्रार्थना कक्षहरु, ध्यान कक्षहरु पनि थिए। प्रवचनहरुपछि हामीलाई पनि सामूहिक, ब्यक्तिगत प्रार्थनामा सहभागी गराईयो। त्यसपछि भोजनालायतिर लगियो। त्यहाँको भोजनालयमा पूर्ण शाकाहारी भोजन तयार हुँदो रहेछ। हामीकहाँ शाकाहारीहरु गाईभैंसीको दूध भने खान्छन् तर त्यहाँ दूधसंग सम्बन्धित भोजन पनि छँदै थिएनन्। त्यो सम्प्रदायमा दूधलाई पनि मासुजस्तै मानिने रहेछ। खाना अत्यन्त स्वादिष्ट थियो, र उनीहरुले भनेअनुसार त्यो अत्यन्त पौष्टिक पनि हुन्छ रे। जीवनमा पहिलोचोटि मैले पूर्ण शाकाहारी तर माछामासुभन्दा धेरै स्वादिष्ट र पौष्टिक खानाको स्वाद पाएँ।
त्यो ठाऊँमा फेरि पुग्ने मेसो मिलेन तर त्यो घटनाले मांसभोजनलाई निरन्तरता दिन मेरो मनले बनाएको एउटा ‘निहुँ’लाई भने गतिलै धक्का दियो। केहि वर्षयता मासु खानका लागि गरिने पशुपञ्छीको बध, तीनलाई दिईने यातना आदिका प्रति म संवेदनशील हुँदै गईरहेको थिएँ तर मासु छोड्न सकिरहेको थिईँन। मैले खोजेका बिभिन्न बहानाहरुमध्ये ‘माँसाहारजत्तिको पौष्टिक शाकाहार नहुन सक्छ’, अथवा कम्तिमा ‘हामी शाकाहारी खानालाई मिलाएर बनाउन जान्दैनौं”; “जापानमा शाकाहारी हुनु असम्भव छ” आदि प्रमुख थिए। तर उक्त मन्दिरमा पुग्ने संयोगले मलाई मेरो कमजोर ईच्छाशक्तिनै सबैभन्दा प्रमुख कारण हो मैले मासु छोड्न नसक्नुमा भन्ने बोध गराईदियो। त्यसयता मैले माछामासुलाई क्रमैसंग घटाऊँदै लागें र विगत दुई महिना यता लगभग पूर्ण शाकाहारी बनेको छु। त्यो ‘लगभग’ किनभने दूध-दहीभने अझै बाँकीनै छ। यस्तोलाई अंग्रेजीमा lacto vegetarian (दुग्धाहारी?) भन्छन्।
केहि विशेष घटनाहरुले मान्छेको संवेदनालाई बढाईदिँदा रहेछन्। छोरीको जन्म एउटा यस्तै घटना भयो। एउटा नयाँ मानवजीवनको शुरुवात र हुर्काईलाई नजिकबाट हेर्दा-हेर्दै म सबै जीवनप्रति अझ संवेदनशील हुन थालेछु। मान्छे वा जनावर, सबैको जीवन एउटा अद्वितिय र अनुपम प्राकृतिक सौन्दर्य हो। जीवनको हत्या घोर कुरुपता हो र यस्तो कुरुप कार्य जीवनप्रति कुनै संवेदनशीलता नभएको क्रुर मान्छेले मात्र गर्न सक्छ। यो मान्यता अब मेरो मनमा गहिरो गरी बसेको छ। यो दशैंको याममा खसी-बोका-च्याङ्ग्रा-भेंडा आदि घिच्याऊँदै हिँडेका मान्छेहरु देख्दा मलाई उनीहरुले मान्छेकै बच्चालाई घिच्याऊँदै हिँडिरहेजस्तो लाग्छ।
एउटा ई-मेल प्राप्त हुनु अर्को घटना बन्यो। साउदी अरेबियामा कार्यरत भाइ उदय घिमिरेले एउटा मेल पठाएका थिए, त्यहाँको बहुचर्चित एक हत्याकाण्ड बारे। हत्याकाण्डको नृशंशता कहालीलाग्दो थियो। केहि फिलिपिनोहरुले एकजना पाकिस्तानी मान्छेलाई हत्या गरेर उसको मासु खाएका थिए र सम्पूर्ण गतिबिधिहरुलाई क्यामेरामा कैद पनि गरिररहेका थिए। पछि ती मान्छेहरु समातिएपछि ती फोटोहरु फेला परेर सबैका हातमा पुगेका रहेछन्।
भाइको ई-मेलमा धेरै फोटाहरु थिए। मृत पाकिस्तानीको लाश कुनै फलेकमा राखिएको, पहिला उसको घाँटी छिनालिएको, त्यसपछि क्रमैसंग हात खुट्टाहरु निकालिएको, उसको छाती फोरेर दुई भाग लगाईएको, भित्रका मुटु, कलेजा, फोक्सो आदि झिकिएको, आन्द्राभुँडी झिकिएको आदि अनेक फोटाहरु थिए। ती सबै राक्षसहरु अत्यन्त आनन्दित ‘पिकनिक’को मुडमा थिए, उनीहरुको अनुहारमा अलिकति पनि लज्जाबोध वा डर थिएन। ती मध्येका केहि उक्त अभागी मान्छेको जननेन्द्रिय हातमा लिएर क्यामेरातिर फर्केर जिस्कँदै हाँसिरहेका पनि थिए। त्यहाँ आन्द्राभुँडी सफा गरिएका तस्बीरहरु पनि थिए, अनि केहि ठूला ड्रमजस्ता भाँडाहरुमा मासु पकाएको र अन्त्यमा गोलाकार बसेर सबैले मासु खाएका फोटाहरु पनि थिए। सबै घटनाक्रम हामीकहाँ खसी-बोका काटेर गरिनेसंग उस्तै थिए।