एउटा संघर्षशील जीवनको अन्त्य भएको छ। उहाँले भोगेका दु:खका पहाडहरुका कुरा सुन्दा जहिलेपनि हाम्रो आङ्ग जिरिङ्ग हुन्थ्यो। हाम्रो पालनपोषण र शिक्षादिक्षा उहाँको तपस्या थियो। चरम अभावको क्षणमा पनि उहाँले हामीलाई त्यसको सकेसम्म अनुभव हुन नदिने कोशिश गर्नुभयो।
उहाँको आत्माले चीर शान्ति पाओस्।
७३ वर्षको उमेरलाई वृद्धावश्था निश्चय पनि मान्न सकिन्छ तर यति वृद्ध पनि होईन कि निधनलाई स्वाभाविक र कालगतिको मान्न सकियोस्। उहाँलाई केहि महिना पहिलासम्म देख्ने जो कोहिले पनि उहाँ अझै १२-१५ वर्ष स्वस्थ र पूरै सकृय बाँच्ने कुरामा अलिकति पनि शंका गर्ने थिएन। हामीलाई त्यस्तै लाग्थ्यो तर नियतिका अगाडि हाम्रा चाहना र प्रार्थनाहरुको कुनै जोड चलेन।
गएको हिऊँदबाट उहाँको फोक्सोमा क्षयरोग देखिएको थियो। लगभग साठी वर्षको धूम्रपानका कारण थियो त्यो। केहि महिनाको सघन उपचार र धूम्रपान त्यागपछि स्थिति सप्रिएको थियो र उहाँ फेरि सामान्य र स्वस्थ जीवनमा फर्किनुभएको थियो। तर त्यसको केहि समयपछि धेरै समस्याहरु देखापर्न थाले। उहाँले दृष्टिशक्ति गुमाउन थाल्नुभयो, बेसूरका कुराहरु गर्न थाल्नुभयो र शारीरिक रुपमा गल्दै जानुभयो। उहाँको समय र स्थानको चेत तिब्र गतिमा घट्न थाल्यो, उहाँ धेरैजसो वर्तमानसंग अप्रासंगिक र धेरै पूराना कुराहरु गर्न थाल्नुभयो, धेरै मान्छेलाई नचिन्ने समस्या पनि देखिन थाल्यो। बिस्तारै बोली पनि लर्बरिँदै गयो, हातखुट्टाको नियन्त्रण पनि गुम्दै गयो।
निधनको दुई महिनाअघि गरिएको जाँचले उहाँमा ब्रेन ट्युमर देखियो। चिकित्सकहरुका अनुसार ब्रेन ट्युमरले मष्तिष्कको १/६ भाग ढाकिसकेको थियो र त्यो फैलिने क्रममा थियो। उनीहरुका अनुसार, त्यसलाई हटाउनका लागि शल्यचिकित्सा गर्न सकिने सम्भावना पनि थिएन, विशेष गरी उहाँको उमेर र शाररिक कमजोरीका कारण। हामीसंग उहाँको सकेसम्म राम्रो स्याहार गर्ने र कुनै दैवी ‘चमत्कार’ को आशा गर्ने बाहेक अरु राम्रो विकल्प थिएन।
आफ्नो जीवनका ती अन्तिम दुई महिना बा धेरैजसो पूरै अचेत, कहिलेकाहीँ अर्धचेत अवश्थामा रहनुभयो। अर्धचेत अवश्थामा शरीरका बिभिन्न भागमा आफूलाई अत्यन्तै पिडा भईरहेको कुरा भन्नुहुन्थ्यो। कहिलेकाहीँ केहि पारीवारिक कुराहरु पनि गर्नुहुन्थ्यो। झोल कुराहरु अलिअलिमात्रै खुवाउन सकिन्थ्यो, त्यो पनि साह्रै मुश्किलले। दिशा-पिसाबका लागि डायपर प्रयोग गरिएको थियो।
हाम्रो भागमा कुनै दैवी चमत्कार परेन। बालाई निको भएन। र बा अब हुनहुन्न।
मेरो बाल्यकालमा फर्किएको छु म यतिखेर। बाको काखमा, बासंग म आफूलाई कति सुरक्षित र आनन्दित ठान्थें। हिजोसम्म, अचेत भएर लडिरहेकै भएपनि बाको उपश्थितिमात्रैले पनि कति सुरक्षित र निश्चिन्त बनाऊँथ्यो मलाई।
उहाँले एउटा गम्भिर रोगको पिडाबाट मुक्ति पाउनुभयो भनेर मनलाई ढाडस दिने कोशिश गर्न खोज्छौं हामी तर----
आज, आफू जिन्दगीको लडाईँको सबैभन्दा अग्र मोर्चामा बलजफ्ती घचेटिएझैं लागीरहेछ मलाई। यो जिन्दगीका घाम, पानी, हुरीले मेरो छातीमा सोझै हान्नेछन् अब। म लुक्ने काख हुनेछैन अब। म छेलिने ओत हुनेछैन अब। म सुस्ताउने छहारी हुनेछैन अब।
बा अब हुनहुन्न---
मार्मिक संस्मरण !
ReplyDeleteआफ्ना अभिभावकको देहावसानले जसलाई पनि विह्वल बनाउँछ ! किनभने त्यसपछि कहिल्यै देख्न पाइन्न, कहिल्यै बोल्न पाइन्न र कहिल्यै भेट्न पाइन्न ।
Basanta ji,
ReplyDeletesorry to hear about your loss :(
सम्बेदना प्रकट गर्दछु
ReplyDeleteबसन्तजी,
ReplyDeleteधेरै पछी तपाईंको ब्लग पढ्दा बुवाले यो अनित्य संसार छोडेर जानुभएको सुन्नु पर्यो, नरमाइलो लाग्यो। संसारमा सबै भन्दा अनिश्चित र सबैभन्दा निश्चित दुबै कुरो मृत्यु हो भन्छन, अनिस्चित यस अर्थमा कि यो कहिले आउँछ, कसलाई टप्प टिपी लान्छ (लेखनाथ ले कालमहिमामा भन्नु भए जस्तो ) केही थाहा हुन्न, तर अर्कातिर निस्चित रुपले के भन्न सकिन्छ भने यसले हामीसबै लाई एक दिन टिपेर लैजान्छ। मेरा दुई शब्दले तपाईंका वेदनाहरु कम हुनेछैनन, खाली समयले मात्र यस्तो घाउको उपचार गर्छ भनिन्छ।
हाम्रा पुर्खाहरुले सहस्राब्दिदेखी मान्छेको नश्वर शरीरको अन्त हुँदा श्रीमदभागबतगीताको पाठ लगाउने गरेका छन। श्रीमदभागवतगीता मा
भगवान कृष्णले आत्मा भनेको के हो र यसको र शरीर को संबन्ध के हो भन्ने बारेमा भनेका श्लोकहरुले हजारौँ वर्षदेखी हाम्रो चिन्तन लाई प्रभावित परेका छन , जसलाई म यहाँ पुन: दोहोराउन चाहन्छु।
नजायते म्रियते वा कदाचिन
नायं भूत्वा भविता वा न भुय:
अजोनित्य: शाश्वत्वयम पुराणो
न हन्यते हन्यमाने शरीरे।
(आत्मा न जन्मन्छ, न मर्छ ; यसको न विगत छ न भविष्य छ , नित्य चलिरहने र शाश्वत यो आत्मा न पुरानो हुन्छ, न शरीर नासिदैमा नासिन्छ। )
यहाँको बुवाको आत्माको चिर शान्तिको कामना गर्दै:
BNP
Basant ji, extremely sorry to hear this...May his soul rest in eternal peace...May almighty God give you the strength to bear this sudden shock.
ReplyDeleteBasanta ji, mero tarfa bara pani tapai ko buwa prati hardik sradanjali chha.
ReplyDeleteUnhako aatmalai shanti milos - hardik sambedana.
ReplyDeleteवसन्तजी
ReplyDeleteअाफुलार्इ अव सम्हाल्नुस। जिन्दगि यस्तै हेा । मर्न नै हामी जन्मेक हैा । वाहाले त धेरै अाफना कर्तव्यहरू पुरा गरी जानु भयेा । अव वहांकेा अात्माकेा चिरशान्तिकेा कामना गरैा ।
समवेदनाका शब्दहरुका लागि यहाँहरु सबैलाई सादर धन्यबाद दिन चाहन्छु। हामी सम्हालिने र अघि बढ्ने कोशिशमा छौं। तपाईँहरुका सान्त्वनाका शब्दहरुका लागि धेरै-धेरै आभारी छौं।
ReplyDeleteबसन्त दाइ ! यहाँ लाइ मेरो पनि हार्दिक समवेदना छ !
ReplyDeleteजिन्दगीका कयौ मोडहरुमा ठोक्किनु पर्छ ....नियति नै यस्तै छ ! सायद छाल हो जिन्दगी कहिले सुखको किनार छुने कहिले दु:खको किनार !