April 16, 2018

घलेल हुँदै ल्वाङ्गतिर

बोलीचालीमा ल्वाङ्ग घलेल नामले चिनिने भेग छ कास्कीमा। ल्वाङ्ग एउटा गाऊँ, घलेल अर्को गाऊँ। दुबै झुरुप्प परेका गुरुङ्ग बस्ती। २०७४ सालको अन्त्यका दुइ दिन त्यता घुमियो
----------------------------------- 
२०७३ सालको अन्त्यमा म, सोविता र आर्याले पर्वतको चित्रेमा एक रात बसेर भोलिपल्ट पञ्चासेको लेक उक्लेका थियौं। पञ्चासेबाट झरेर कास्कीको भदौरे देउरालीमा बास बसेर तेश्रो दिन पोखरा फर्केका थियौं। यात्राको अन्त्यमा हाम्रो पारिवारिक सल्लाह के भएको थियो भने हरेक वर्षको अन्त्यमा हामी तीनजना यसैगरी कतै न कतैको पदयात्रामा हिँड्ने छौं।

यसपालिको पदयात्रामा क्याम्पसका सहकर्मी परिवारहरु पनि मिसिने कुरा थियो। र योजना बनेको थियो पुनहिलको। म ६ महिना पहिलामात्रै त्यहाँ पुगेको भएपनि फेरि जान तयार थिएँ, त्यहाँको जंगलमा गुराँस अझै बाँकी होला भन्ने आशा पनि थियो।

तर आर्या आफ्नो बिदा मनाउन काठमाण्डौं घरतिर लागी। "अहिले तपाईँहरु जानुस्, म पछि साथीहरुसंग जाउँला।" भन्ने आत्मविश्वाश हामीतिर फ्याँकेर उ काठमाण्डौंमा आफ्ना काका-काकी, दाजुभाइ, दिदीबहिनी, फुपूहरुसंग रम्न थाली।

हामीले यात्राको योजना त्यागेनौं, पुनहिलतिरको ४ दिने यात्रालाई २ दिनको ल्वाङ्ग घलेल यात्रामा भने बदल्यौं।

चैत्र २९ गते बिहान १० बजेतिर हाम्रो चार सदस्यीय भ्रमण दलले आफ्नो यात्रा शुरु गर्‌यो। बगरसम्म नगर बसमा गइयो, त्यहाँबाट हरिचोकसम्म हिँडियो। हरिचोकबाट हेम्जा मिलनचोकसम्म फेरि अर्को बसमा गइयो। त्यहाँबाट एउटा जीप चढेर लुम्रे पुगेर झरियो।

त्यो दिन मलाई साह्रै झुम्म भइरहेको थियो र बसमा र जीपमा झकाइरहेको थिएँ। दूध चियाको तलतल लागेको थियो र त्यो खाए निद्रा पनि भाग्ला भनेर चिया पसलतिर लागियो तर दूध छैन भन्ने जवाफ पाइयो। अर्कोमा पस्दा पनि उहि जवाफ पाइयो र थप के पनि थाहा पाइयो भने लुम्रेमा दूध पाउन गाह्रै रहेछ। हरेक पसलमा सजाएर राखिएका 'ब्राण्डेड' बोतलहरु देख्दा यो ठाउँमा दूध नपाइनु स्वाभाविकनै हो भनेर कालो चिया पिइयो।

त्यसपछि जीप चल्ने बाटै-बाटो हामी बिस्तारै उकालो लाग्यौं। घलेल पुगेर बस्न घरवास (homestay) को सम्पर्क संगै गएका साथीका मामाबाट प्राप्त भयो। मसंग पोखरा वरिपरिका होम स्टेका विवरण र सम्पर्क नम्बरहरु भएको पर्यटन बोर्डको पुस्तिका पनि छ, अचेल होम स्टेका लागि हिँड्दा म त्यसैमा रहेका टेलिफोन नम्बरहरुमा सम्पर्क गरेर व्यवश्था मिलाउँछु। यस पटक भने मामाले भनेकै ठाउँमा गइयो।

डेढ घण्टाजति हिँडेपछि मामाले दिनुभएको नाम लेखिएको सानो साइनबोर्ड बाटैको एउटा पसलमा झुण्डिएको देखियो। चिनापर्ची गरेपछि हामीलाई पसलभन्दा दुइ कान्ला माथिको एउटा घरमा लगिन् घरबेटी बाकी बुहारीले। उनकी २-३वर्षकी सानी छोरी पनि पछि लागिन्। घर होम स्टेकै लागि छुट्याइएको रहेछ तर आँगन र पिँढीमा केहि धूलो-फोहर थुप्रिएको थियो। बुहारी नानीका अनुसार 'अहिले सिजन नभएको र आक्कलझुक्कल मात्र पाहुनाहरु आउने हुँदा' सरसफाइ त्यति नगरिएको रहेछ। परिवार सडकको पसलमै खाने-बस्ने गर्दो रहेछ। होम स्टेको बाहिरै चूल्हो पनि थियो र टन्न दाउरा पनि थुपारिएको थियो। 'सिजन'मा मान्छेहरु धेरै हुँदा त्यहि चूल्होमै खाना पाक्ने होला। हाम्रा लागि भने पसलमै पकाउने कुरा भयो।

उनले पिँढी अलि-अलि बढारेर गुन्द्री ओछ्याइदिइन्। हामी झोला कोठामा फ्याँकेर बाहिर निक्लियौं।

बस्दै गर्दा अघि देखिएकी सानी नानीसंगै ६-७ वर्षका दुइ नानीहरु पनि आइपुगे। एउटी तिनै सानी बच्चीकी दिदी र अर्की फूपूकी छोरी रहिछन्, अर्थात घरबेटी बा-आमैका छोरातिरका दुइ नातीनी र छोरीतिरकी एक नातीनी।

खाजाका रुपमा कालो चिया र घरमै बनेको झिलिङ्गा तारिएर आइपुग्यो। झिलिङ्गा निकै मिठो थियो।

हामीलाई यो घरवास कता-कता आत्मीयताहीन जस्तो लागीरहेको थियो। यस अघि गएका धेरै घरवासहरुमा पाइएको आत्मीयताका बारेमा कुरा गर्दै खाजा खायौं। अन्तजस्तो टिका र मालाले स्वागत नगरिएर पनि हाम्रो मनलाई त्यस्तो लागेको हुनसक्छ।

खाजा खाएर एकछिन गाउँ डुल्ने योजना थियो हाम्रो तर दर्केर पानी पर्न थाल्यो। 'पिउने कुरा के छ?' भनेर सोध्दा 'जेन्सका लागि लोकल र लेडिजका लागि भोड्का छ।' भन्ने बुहारी नानीको जवाफले एकछिन हँसायो पनि हामीलाई। पानी परेपछिको अलमललाई स्थानीय रक्सी मगाएर समाधान गर्ने निधोमा पुगियो। कोकाकोलाको बोतलमा डेढ लिटर कोदोको रक्सी आयो र साथमा आयो साँधेको भटमास। पछि साँधेको बदाम र अम्लेट पनि थपियो। अम्लेट मैले भने खाइन। मैले माछा, मासु र अण्डा नखाएको साढे सात वर्ष भइसकेको छ।

हाम्रो 'खानपीन' भर्खर शुरु हुँदै थियो, साथीको मामा आइपुग्नुभयो। उहाँ हेम्जादेखि सिदिङ्गसम्मका भेगहरुका पसलमा सामान आपूर्ति गर्नुहुँदो रहेछ। वर्षौसम्म हरेक दिनजसो जीपमा ओहरदोहर गरीरहनुभएका अनुभवी मामाका कुरा सुनियो। उहाँहरुको आफ्नै पसल पनि छ हेम्जा मिलनचोकमा। उहाँ धेरै बेर भने बस्नु भएन।

रक्सी त्यति कडा थिएन र स्वादपनि राम्रै थियो। रक्सीले ज्यान र मन दुबै तताउँदै ल्यायो। रक्सीले 'न्यानो' बनाएको आँखाले झमझम पानीमा रुझ्दै हाम्रा लागि पसलबाट खानेकुरा ओसारीरहेकी र 'आज तपाईँहरुलाई यहि खुवाउँछु' भनेर हलहलेको साग टिपिरहेकी बुहारी नानीलाई देखेपछि 'यो ठाउँ पनि साँच्चै आत्मीय रहेछ!' भन्ने निष्कर्षमा पुग्यो मेरो मन।

साढे सातबजेतिर खाना खान पसलतिर ओर्लियौं हामी। घरबेटी बा-आमैका दुइ छोरा साउदीमा रहेछन्। एउटी छोरीको घर नजिकैको धितालमा रहेछ। यी बुहारी नानीपनि दुइ छोरीहरु पढाउन पोखरामै बस्दी रहिछन् र अहिले छोरीहरुको बिदा भएकाले गाउँ आएकी रहिछन्। अर्की बुहारी नानीपनि बजारतिरै बस्दी रहिछन्।

दालभात, आलु-प्याजको तरकारी, हलहलेको साग र टमाटरको पिरो अचार- खाना वास्तवमै स्वादिलो थियो।

खाना खाइसकेपछि पिउने पानी लिएर घरवासतिर उक्लियौं र साढे आठतिरै सुत्यौं। रक्सीले राती तिर्खाभने खुब लगायो। धेरै सपना पनि देखियो, एउटामा म हाम्रो गाउँको एकजना दलीय 'झोले'संग  नराम्रोसंग बाझ्दैथिएँ। पछि ब्यूँझेपछि हाँसो लाग्यो यो सपना सम्झेर।

बिहान उठ्दा दिन सफा थियो र माछापूच्छ्रेको शिखरमा घामले स्पर्श गरीरहेको सुन्दर दृश्य देख्न पाइयो  घरको आँगनबाटै । 


नित्यकर्म सकेर चिया-खाजा खान पसलतिर झरियो। खाजा तयार हुँदै गर्दा पसल नजिकैको बारीको पाटोमा गएर हेर्दा अझ सुन्दर दृश्य देखिँदो रहेछ हिमशृंखलाको। पर्यटन बोर्डको पुस्तिकामा घलेलको परिचयसंगै देखाईएको तस्बीर यहीँबाट खिचिएको रहेछ।


घरबेटी बाले पकाएको चामलको मिठो रोटी, चिया र उसिनेको अण्डाको खाजा खाएर हिसाबकिताब गर्‌यौं र पैसा तिर्‌यौं। यो होम स्टे सस्तै मानियो। बारीको पाटोमा गएर केहि फोटाहरु खिचियो र बिदा भएर ल्वाङ् गाऊँतिर लागियो।

ढुङ्गा छापेको सिँढीहरु हुँदै एकछिन उकालो लागेपछि गाऊँ सकियो र। जंगलको बाटो शुरु भयो। बाटोभन्दा तल भने खेत थिए, धेरैजसो बाँझै। यी खेतहरुमा बर्खामा धान रोप्ने र हिऊँदमा केहि नरोप्ने गरिएकोले अहिले बाँझै देखिएको हुनसक्छ वा गाऊँमा काम गर्ने पाखुरीको अभावका कारण सधैं यसै गरी बाँझै रहेका हुन सक्छन्। एक ठाउँमा डेढ सयजति भेडाहरु चरीरहेका थिए। बाटोभन्दा तल्लो फोगटोमा एउटा टेण्ट थियो र त्यो भन्दा तल्लो फोगटोमा एकजना दिदी केहि काम गर्दै थिइन् र आफूसंगै काम गर्नका लागि आफ्नो छोरालाई बोलाउँदै थिइन्। छोराचाहिँ 'एकैछिन् है, आइहालेँ।' भन्दै टारीरहेका थिए। टेण्टमा बसीरहेका छोराचाहिँको खुट्टा र मोबाइल चलाइरहेका हातमात्रै देखिन्थ्यो बाटोबाट।

पन्ध्र मिनेट जतिमा बाटो ओरालो लाग्यो। अघिल्लो रात बेस्सरी पानी परेकाले बाटो चिसो थियो र एक-दुई ठाऊँमा अलिअलि चिप्लो पनि, तर बाटो सजिलै थियो। ओरालोको अन्त्यमा एउटा झोलुङ्गे पुल रहेछ। त्यो तरेर गएपछि कोलेली गाऊँ शुरु हुने रहेछ, संगै गएका साथीका अनुसार।


यो झोलुङ्गे पुल तरेर कोलेली गाउँको फेदको बाटो हिँड्न थालेपछि हिमशृङ्खलाले फेरि चियाउन थाल्यो। यो मनोरम हिमशृङ्खलाले बाटोभरि पछ्याइरह्यो।



यो बाटोमा बस्ती एकदमै पातलो थियो। बाटोमा हामीले जम्मा एकजना मान्छे भेट्यौं। 'कताबाट आउनुभयो?' भन्दै दाइ आफैंले कुरा शुरु गरे। बाटो छेउकै कच्ची घर अधिकारी थरका उनै दाइको रहेछ। घरमाथिदेखि खोला किनारसम्मैको जग्गा देखाउँदै आफ्नो खेतीको बारेमा कुरा गरे उनले। उनका छोराहरु दुबै 'बजार'तिर-एकजना लाचोक र अर्का पोखरा बस्दा रहेछन्। छोराहरुकी आमा पनि एउटा छोरासंग बस्दीरहिछन्। दाइलाईचाहिँ शहरले तान्न सकेनछ र एक्लै खेतबारी, गाईबस्तु र गोबरमाटोसंग खेलेर बसेका रहेछन्।

'खेती गर्न गाह्रो छ। जे लगाएपनि तस्करले केहि बाँकी राख्दैन।----' दाइले प्रयोग गरेको 'तस्कर' शब्दले एकछिन अलमल्यायो मलाई। कुरा गर्दै जाँदा बुझियो 'तस्कर' भनेर उनले बालीनाली खाइदिने बाँदर, मृग, दुम्सी आदिलाई भनेका रहेछन्। 'तस्कर' शब्दको यस्तो प्रयोग पहिलोपटक सुनेकोले अनौठो र रमाइलो लाग्यो। ठिकै हो, अर्काको मेहेनतमा चोरी गर्नेहरु तस्करने हुन्। तर यी त चेतना नभएका जनावर भए, यहाँ मान्छेलेनै मान्छेको मेहेनतको फल चोरी गर्छन् र पो समस्या छ।

पहाडका गाउँहरुमा 'तस्कर'को यो समस्या निकै बढेको छ अचेल। पहाडमा जंगल र जंगली जनावर बढेका छन्, यो धेरै राम्रो कुरा हो तर गाऊँलेका बालीनालीलाई बाँदर, मृग, दुम्सी आदिजस्ता जनावरबाट जोगाउन गाह्रो हुँदै गएको छ। बलियो तारबार गर्न पनि महंगो पर्छ, फेरि तारबारले मृगजस्ता जनावरलाई रोक्न सकेपनि बाँदरलाई रोक्न सक्दैन। पहाडका बारीहरु भिरालो जग्गामा हुन्छन्, खेत पनि सामान्यतया स-साना फोगटाहरु हुन्छन्। यसैले खेतीपातीको शैलीलाई बदल्नुको विकल्प छैन। सुरक्षित ठाउँमा अन्न, तरकारी आदि खेती गर्ने र असुरक्षित ठाउँमा जनावरले आँखा नलगाउने अलैंची, अदुवा, चिया, जडीबूटीहरु आदि लगाउन सकिन्छ।

ती दाइले पनि आफ्नो जग्गाको केहि भागमा अलैँची खेती शुरु गरीसकेका रहेछन्। अलैंचीको बजार, मूल्य आदिका बारेमा हामीसंग पनि सोध्दै थिए। 'मूल्य राम्रै छ जस्तो लाग्छ, बजार ब्यवश्थापनका लागि गाउँपालिकालाई अनूरोध गर्नुहोस्।' हामीले भन्न सक्ने यतिनै थियो।

दाइसंग छुट्टिएर हिँडियो। बाटोमा एक-दुई ठाऊँमा ऐंसेलु पाक्न थालेको पनि भेटियो। दुई-चार टोप्रा खाइयो पनि। कतैकतै गुराँसका बोट पनि भेटिए तर गुराँस एकदम थोरै मात्र बाँकी थियो। काफलका बोट पनि देखिए बाटोमा।

एकछिनपछि संघर्ष चोक आइपुग्यो। चोक नजिकै घरका दाइलाई किन यो चोकको नाम संघर्ष चोक राखेको हो भन्दा केहि जवाफ पाइएन। सशस्त्र द्वन्द्वकालमा यो भेग माओवादीहरु लुक्ने ठाऊँ थियो, त्यसैसंग जोडिएको हुनसक्छ वा अरुनै कुनै कारण पनि हुनसक्छ, रामजाने।


यहँबाट अगाडि बढेपछि फेरि जङ्गलको बाटो शुरु भयो। घलेलबाट हिँडेबाटै मैले पर्यटन बोर्डको पुस्तिकामा दिइएका ल्वाङ्गको होम स्टेका दुइटा नम्बरमा फोन गरिरहेको थिएँ, उठेको थिएन। जंगल पसेपछि एउटाबाट फोन आयो, बोनी गुरुङ्गजीको रहेछ। मैले हामी ल्वाङ्गतिर आउँदैगरेको र क्यानोनिङ्ग गर्न चाहन्छौं भनें। 'तपाईँहरुले ढिलो गर्नुभयो, हिजोसम्म आएको भएपनि गराउँथे, आज बाट त हाम्रो मर्मत-सम्भार शुरु भयो। तीन-चार दिनपछि मात्र फेरि शुरु हुन्छ।' बोनीजीको कुराले हामीलाई अलि-अलि निराश बनायो। खानाका लागि भने उहाँले आफ्नै घरमा व्यवश्था गर्न लगाइदिन्छु भन्नुभयो। उहाँ आफैंभने क्यानोनिङ्गको मर्मतसम्भारमा ब्यस्त हुने भएकाले भेट हुन सक्ने भएन।

ल्वाङ्ग गाऊँ पस्नासाथ 'बोनी गुरुङ्गजीको घर कता हो?' भनेर सोध्दा एकजनालाई भाइलाई हाम्रो साथ लगाइयो बोनीजीको घर देखाउनका लागि। भाइ आफैं पनि क्यानोनिङ्गको मर्मतसम्भारबाट फर्केका रहेछन् र एकछिनपछि फेरि त्यतै जाँदै रहेछन्। भाइका अनुसार दश जनाको समूहमा क्यानोनिङ्ग गर्न आउने हो भने क्यानोनिङ्गको शुल्कबाटै हरिचोकबाट लाने-ल्याउने र खानाको समेत सुविधा उपलब्ध हुने रहेछ। क्यानोनिङ्गका लागि असार-साउनतिर १० जनाको समूह बनाएर आउनुपर्ला भन्ने सोच बन्यो हाम्रो त्यसपछि।

बोनीजीको घर निकै व्यवश्थित रहेछ। सुविधाजनक होम स्टे लाग्थ्यो घर। हामी त्यहाँ पुग्दा पूर्वी यूरोपीयन जस्ता लाग्ने एक जोडी थिए। पछि कुनै दिन ल्वाङ्ग बास बस्ने गरी आइयो भने यहि घरमा आउनुपर्ला भन्ने लाग्यो।

ल्वाङ्ग पूरै गाऊँ पनि घलेल भन्दा सफा र सम्पन्न लाग्थ्यो।

बोनीजीकी अर्धाङ्गिनीको विनम्र र न्यानो आतिथ्यले मन प्रफुल्ल भयो। कालो कफी पिएर पौने घण्टाजति गफ गरेर बसियो। त्यसपछि खाना आईपुग्यो, गज्जबको स्वादिलो थियो।

खान खाएपचि झोला त्यहीँ छोडेर ल्वाङ्गको चिया बगानतिर उक्लियौं। उकालोमा एकजना गुरुङ्ग दिदी भेट हुनुभयो। दिदीको माइती ल्वाङ्ग र घर घान्द्रूक रहेछ। छोरी जन्मेको केहि समयपछि लोग्लेने सौता हालेपछि दिदी आफ्नी छोरी लिएर माइत आउनुभएछ र छोरीलाई एक्लै हुर्काउनुभएछ। छोरी अहिले १४-१५की भइसकिछन् र उनले पढाइमा खासै मन नदिएकोमा दिदी चिन्तित हुनुहुन्थ्यो। दिदीका दाजुभाइ यूकेतिर रहेछन् र उनीहरुको जग्गाको चियाखेती सबै दिदीको रेखदेखमा रहेछ। 'जिन्दगीमा साह्रै धेरै दु:ख गरेको छु!' भन्नुहुन्थ्यो दिदी र उहाँलाई हेर्दा त्यो स्पष्ट देखिन्थ्यो। तर दिदी असाध्यै रसिली र ठट्टा गरीरहनुपर्ने हुनुहुन्थ्यो। आफ्नो जिन्दगीका सारा पिडाहरुलाई यसैगरी हाँसखेल र ठट्टाहरुका सहारामा जित्नुहुन्छ होला दिदीले।

चियाका बुट्यानहरुको माझमा बसेर दिदीसंग केहि तस्बीर पनि लियौं हामीले।




चिया बगानबाट लाचोक, घाचोक भेग स्पष्ट देखिन्छ।


चिया बगानबाट झरेर खानाको पैसा तिरेर हामी बिदा भयौं।

अलिकति तल आइसकेपछि फर्केर हेर्दा ल्वाङ्ग यस्तो देखियो।


हिँडेर खोरामुख आएर चिया खाइयो। लुम्रे, घलेल र ल्वाङ्गमा नपाएको दूध यहाँचाहिँ पाइयो र दूधचियाको तलतल मेटियो :)

साथीको मामा जिप लिएर पोखरातिरै जानुहुँदै रहेछ, एकछिनमै त्यतै आइपुग्नुभयो।
--------------------
यस्तै रह्यो यसपालिको नयाँ वर्षे यात्रा।


No comments:

Post a Comment