August 21, 2018

सरकारी भेटी

सरकारले गरीबलाई यस्तो दक्षिणा, यस्तो भेटी दियो
तालु देखि पैतालासम्म निचोर्‍यो र घाँटी रेटिदियो
गरीबलाई बाँड्ने भन्दै ठूलो होहल्ला गर्दै छापिएको
सरकारले गरिबीको परिचयपत्र धनीलाई बेचिदियो !

(साउन ३१, २०७५)

July 01, 2018

काउँरेडको बिहे

काउँरेड हावामा मुड्की बजारेर उभिनुभयो
जन्तीलाई कालो चिया र बिस्कुट दिनुभयो
बिहे त जनवादीनै गर्नु भएको हो काउँरेडले
दाइजोमा सय तोला सुन कसरी लिनुभयो ?

June 26, 2018

देशभक्त

दिनभरि अफिसको कम्प्युटरमा तास खेलेर थाकेपछि कर्मचारी कवि भट्टी छिरेछन्। धोक्नु धोकेर उडान भईसकेपछि अचानक देशको माया उर्लेर आएछ र धुरु-धुरु रोएछन्। अनि बेयरासंग डट्पेन मागेर न्याप्किन पेपरमा घघडान् देशप्रेमी कविता लेखेछन्। 
भोलि कुनचाहिँ पत्रिकामा आऊँदैछ रे 

May 19, 2018


मलाई उज्यालो मन पर्छ, घामको भएपनि जूनको भएपनि
यात्रा आफ्नै उडान आफ्नै, धामको भएपनि धुनको भएपनि
यी कुनै पनि ‘दरबार’संग साट्न सक्दिन म मेरो स्वतन्त्रता
पिँजडा आखिर पिँजडानै हो, फलामको भएपनि-सुनको भएपनि

May 14, 2018

साहित्यको बजारशास्त्र


बजारका गौंडा-गौंडामा ‘पत्रम्-पुष्पम्’ चढाउँला
आफू-आफूलाई उचालेर अरु सबैलाई लडाउँला
‘तैं बाहुन, मै बाहुन-घरका पैसा कतै नजाउन्’
तपाईँ मलाई पुरष्कार दिनुस्-म तपाईँलाई दोसल्ला ओढाउँला

April 16, 2018

घलेल हुँदै ल्वाङ्गतिर

बोलीचालीमा ल्वाङ्ग घलेल नामले चिनिने भेग छ कास्कीमा। ल्वाङ्ग एउटा गाऊँ, घलेल अर्को गाऊँ। दुबै झुरुप्प परेका गुरुङ्ग बस्ती। २०७४ सालको अन्त्यका दुइ दिन त्यता घुमियो
----------------------------------- 
२०७३ सालको अन्त्यमा म, सोविता र आर्याले पर्वतको चित्रेमा एक रात बसेर भोलिपल्ट पञ्चासेको लेक उक्लेका थियौं। पञ्चासेबाट झरेर कास्कीको भदौरे देउरालीमा बास बसेर तेश्रो दिन पोखरा फर्केका थियौं। यात्राको अन्त्यमा हाम्रो पारिवारिक सल्लाह के भएको थियो भने हरेक वर्षको अन्त्यमा हामी तीनजना यसैगरी कतै न कतैको पदयात्रामा हिँड्ने छौं।

यसपालिको पदयात्रामा क्याम्पसका सहकर्मी परिवारहरु पनि मिसिने कुरा थियो। र योजना बनेको थियो पुनहिलको। म ६ महिना पहिलामात्रै त्यहाँ पुगेको भएपनि फेरि जान तयार थिएँ, त्यहाँको जंगलमा गुराँस अझै बाँकी होला भन्ने आशा पनि थियो।

तर आर्या आफ्नो बिदा मनाउन काठमाण्डौं घरतिर लागी। "अहिले तपाईँहरु जानुस्, म पछि साथीहरुसंग जाउँला।" भन्ने आत्मविश्वाश हामीतिर फ्याँकेर उ काठमाण्डौंमा आफ्ना काका-काकी, दाजुभाइ, दिदीबहिनी, फुपूहरुसंग रम्न थाली।

हामीले यात्राको योजना त्यागेनौं, पुनहिलतिरको ४ दिने यात्रालाई २ दिनको ल्वाङ्ग घलेल यात्रामा भने बदल्यौं।

चैत्र २९ गते बिहान १० बजेतिर हाम्रो चार सदस्यीय भ्रमण दलले आफ्नो यात्रा शुरु गर्‌यो। बगरसम्म नगर बसमा गइयो, त्यहाँबाट हरिचोकसम्म हिँडियो। हरिचोकबाट हेम्जा मिलनचोकसम्म फेरि अर्को बसमा गइयो। त्यहाँबाट एउटा जीप चढेर लुम्रे पुगेर झरियो।

त्यो दिन मलाई साह्रै झुम्म भइरहेको थियो र बसमा र जीपमा झकाइरहेको थिएँ। दूध चियाको तलतल लागेको थियो र त्यो खाए निद्रा पनि भाग्ला भनेर चिया पसलतिर लागियो तर दूध छैन भन्ने जवाफ पाइयो। अर्कोमा पस्दा पनि उहि जवाफ पाइयो र थप के पनि थाहा पाइयो भने लुम्रेमा दूध पाउन गाह्रै रहेछ। हरेक पसलमा सजाएर राखिएका 'ब्राण्डेड' बोतलहरु देख्दा यो ठाउँमा दूध नपाइनु स्वाभाविकनै हो भनेर कालो चिया पिइयो।

त्यसपछि जीप चल्ने बाटै-बाटो हामी बिस्तारै उकालो लाग्यौं। घलेल पुगेर बस्न घरवास (homestay) को सम्पर्क संगै गएका साथीका मामाबाट प्राप्त भयो। मसंग पोखरा वरिपरिका होम स्टेका विवरण र सम्पर्क नम्बरहरु भएको पर्यटन बोर्डको पुस्तिका पनि छ, अचेल होम स्टेका लागि हिँड्दा म त्यसैमा रहेका टेलिफोन नम्बरहरुमा सम्पर्क गरेर व्यवश्था मिलाउँछु। यस पटक भने मामाले भनेकै ठाउँमा गइयो।

डेढ घण्टाजति हिँडेपछि मामाले दिनुभएको नाम लेखिएको सानो साइनबोर्ड बाटैको एउटा पसलमा झुण्डिएको देखियो। चिनापर्ची गरेपछि हामीलाई पसलभन्दा दुइ कान्ला माथिको एउटा घरमा लगिन् घरबेटी बाकी बुहारीले। उनकी २-३वर्षकी सानी छोरी पनि पछि लागिन्। घर होम स्टेकै लागि छुट्याइएको रहेछ तर आँगन र पिँढीमा केहि धूलो-फोहर थुप्रिएको थियो। बुहारी नानीका अनुसार 'अहिले सिजन नभएको र आक्कलझुक्कल मात्र पाहुनाहरु आउने हुँदा' सरसफाइ त्यति नगरिएको रहेछ। परिवार सडकको पसलमै खाने-बस्ने गर्दो रहेछ। होम स्टेको बाहिरै चूल्हो पनि थियो र टन्न दाउरा पनि थुपारिएको थियो। 'सिजन'मा मान्छेहरु धेरै हुँदा त्यहि चूल्होमै खाना पाक्ने होला। हाम्रा लागि भने पसलमै पकाउने कुरा भयो।

उनले पिँढी अलि-अलि बढारेर गुन्द्री ओछ्याइदिइन्। हामी झोला कोठामा फ्याँकेर बाहिर निक्लियौं।

बस्दै गर्दा अघि देखिएकी सानी नानीसंगै ६-७ वर्षका दुइ नानीहरु पनि आइपुगे। एउटी तिनै सानी बच्चीकी दिदी र अर्की फूपूकी छोरी रहिछन्, अर्थात घरबेटी बा-आमैका छोरातिरका दुइ नातीनी र छोरीतिरकी एक नातीनी।

खाजाका रुपमा कालो चिया र घरमै बनेको झिलिङ्गा तारिएर आइपुग्यो। झिलिङ्गा निकै मिठो थियो।

हामीलाई यो घरवास कता-कता आत्मीयताहीन जस्तो लागीरहेको थियो। यस अघि गएका धेरै घरवासहरुमा पाइएको आत्मीयताका बारेमा कुरा गर्दै खाजा खायौं। अन्तजस्तो टिका र मालाले स्वागत नगरिएर पनि हाम्रो मनलाई त्यस्तो लागेको हुनसक्छ।

खाजा खाएर एकछिन गाउँ डुल्ने योजना थियो हाम्रो तर दर्केर पानी पर्न थाल्यो। 'पिउने कुरा के छ?' भनेर सोध्दा 'जेन्सका लागि लोकल र लेडिजका लागि भोड्का छ।' भन्ने बुहारी नानीको जवाफले एकछिन हँसायो पनि हामीलाई। पानी परेपछिको अलमललाई स्थानीय रक्सी मगाएर समाधान गर्ने निधोमा पुगियो। कोकाकोलाको बोतलमा डेढ लिटर कोदोको रक्सी आयो र साथमा आयो साँधेको भटमास। पछि साँधेको बदाम र अम्लेट पनि थपियो। अम्लेट मैले भने खाइन। मैले माछा, मासु र अण्डा नखाएको साढे सात वर्ष भइसकेको छ।

हाम्रो 'खानपीन' भर्खर शुरु हुँदै थियो, साथीको मामा आइपुग्नुभयो। उहाँ हेम्जादेखि सिदिङ्गसम्मका भेगहरुका पसलमा सामान आपूर्ति गर्नुहुँदो रहेछ। वर्षौसम्म हरेक दिनजसो जीपमा ओहरदोहर गरीरहनुभएका अनुभवी मामाका कुरा सुनियो। उहाँहरुको आफ्नै पसल पनि छ हेम्जा मिलनचोकमा। उहाँ धेरै बेर भने बस्नु भएन।

रक्सी त्यति कडा थिएन र स्वादपनि राम्रै थियो। रक्सीले ज्यान र मन दुबै तताउँदै ल्यायो। रक्सीले 'न्यानो' बनाएको आँखाले झमझम पानीमा रुझ्दै हाम्रा लागि पसलबाट खानेकुरा ओसारीरहेकी र 'आज तपाईँहरुलाई यहि खुवाउँछु' भनेर हलहलेको साग टिपिरहेकी बुहारी नानीलाई देखेपछि 'यो ठाउँ पनि साँच्चै आत्मीय रहेछ!' भन्ने निष्कर्षमा पुग्यो मेरो मन।

साढे सातबजेतिर खाना खान पसलतिर ओर्लियौं हामी। घरबेटी बा-आमैका दुइ छोरा साउदीमा रहेछन्। एउटी छोरीको घर नजिकैको धितालमा रहेछ। यी बुहारी नानीपनि दुइ छोरीहरु पढाउन पोखरामै बस्दी रहिछन् र अहिले छोरीहरुको बिदा भएकाले गाउँ आएकी रहिछन्। अर्की बुहारी नानीपनि बजारतिरै बस्दी रहिछन्।

दालभात, आलु-प्याजको तरकारी, हलहलेको साग र टमाटरको पिरो अचार- खाना वास्तवमै स्वादिलो थियो।

खाना खाइसकेपछि पिउने पानी लिएर घरवासतिर उक्लियौं र साढे आठतिरै सुत्यौं। रक्सीले राती तिर्खाभने खुब लगायो। धेरै सपना पनि देखियो, एउटामा म हाम्रो गाउँको एकजना दलीय 'झोले'संग  नराम्रोसंग बाझ्दैथिएँ। पछि ब्यूँझेपछि हाँसो लाग्यो यो सपना सम्झेर।

बिहान उठ्दा दिन सफा थियो र माछापूच्छ्रेको शिखरमा घामले स्पर्श गरीरहेको सुन्दर दृश्य देख्न पाइयो  घरको आँगनबाटै । 


नित्यकर्म सकेर चिया-खाजा खान पसलतिर झरियो। खाजा तयार हुँदै गर्दा पसल नजिकैको बारीको पाटोमा गएर हेर्दा अझ सुन्दर दृश्य देखिँदो रहेछ हिमशृंखलाको। पर्यटन बोर्डको पुस्तिकामा घलेलको परिचयसंगै देखाईएको तस्बीर यहीँबाट खिचिएको रहेछ।


घरबेटी बाले पकाएको चामलको मिठो रोटी, चिया र उसिनेको अण्डाको खाजा खाएर हिसाबकिताब गर्‌यौं र पैसा तिर्‌यौं। यो होम स्टे सस्तै मानियो। बारीको पाटोमा गएर केहि फोटाहरु खिचियो र बिदा भएर ल्वाङ् गाऊँतिर लागियो।

ढुङ्गा छापेको सिँढीहरु हुँदै एकछिन उकालो लागेपछि गाऊँ सकियो र। जंगलको बाटो शुरु भयो। बाटोभन्दा तल भने खेत थिए, धेरैजसो बाँझै। यी खेतहरुमा बर्खामा धान रोप्ने र हिऊँदमा केहि नरोप्ने गरिएकोले अहिले बाँझै देखिएको हुनसक्छ वा गाऊँमा काम गर्ने पाखुरीको अभावका कारण सधैं यसै गरी बाँझै रहेका हुन सक्छन्। एक ठाउँमा डेढ सयजति भेडाहरु चरीरहेका थिए। बाटोभन्दा तल्लो फोगटोमा एउटा टेण्ट थियो र त्यो भन्दा तल्लो फोगटोमा एकजना दिदी केहि काम गर्दै थिइन् र आफूसंगै काम गर्नका लागि आफ्नो छोरालाई बोलाउँदै थिइन्। छोराचाहिँ 'एकैछिन् है, आइहालेँ।' भन्दै टारीरहेका थिए। टेण्टमा बसीरहेका छोराचाहिँको खुट्टा र मोबाइल चलाइरहेका हातमात्रै देखिन्थ्यो बाटोबाट।

पन्ध्र मिनेट जतिमा बाटो ओरालो लाग्यो। अघिल्लो रात बेस्सरी पानी परेकाले बाटो चिसो थियो र एक-दुई ठाऊँमा अलिअलि चिप्लो पनि, तर बाटो सजिलै थियो। ओरालोको अन्त्यमा एउटा झोलुङ्गे पुल रहेछ। त्यो तरेर गएपछि कोलेली गाऊँ शुरु हुने रहेछ, संगै गएका साथीका अनुसार।


यो झोलुङ्गे पुल तरेर कोलेली गाउँको फेदको बाटो हिँड्न थालेपछि हिमशृङ्खलाले फेरि चियाउन थाल्यो। यो मनोरम हिमशृङ्खलाले बाटोभरि पछ्याइरह्यो।



यो बाटोमा बस्ती एकदमै पातलो थियो। बाटोमा हामीले जम्मा एकजना मान्छे भेट्यौं। 'कताबाट आउनुभयो?' भन्दै दाइ आफैंले कुरा शुरु गरे। बाटो छेउकै कच्ची घर अधिकारी थरका उनै दाइको रहेछ। घरमाथिदेखि खोला किनारसम्मैको जग्गा देखाउँदै आफ्नो खेतीको बारेमा कुरा गरे उनले। उनका छोराहरु दुबै 'बजार'तिर-एकजना लाचोक र अर्का पोखरा बस्दा रहेछन्। छोराहरुकी आमा पनि एउटा छोरासंग बस्दीरहिछन्। दाइलाईचाहिँ शहरले तान्न सकेनछ र एक्लै खेतबारी, गाईबस्तु र गोबरमाटोसंग खेलेर बसेका रहेछन्।

'खेती गर्न गाह्रो छ। जे लगाएपनि तस्करले केहि बाँकी राख्दैन।----' दाइले प्रयोग गरेको 'तस्कर' शब्दले एकछिन अलमल्यायो मलाई। कुरा गर्दै जाँदा बुझियो 'तस्कर' भनेर उनले बालीनाली खाइदिने बाँदर, मृग, दुम्सी आदिलाई भनेका रहेछन्। 'तस्कर' शब्दको यस्तो प्रयोग पहिलोपटक सुनेकोले अनौठो र रमाइलो लाग्यो। ठिकै हो, अर्काको मेहेनतमा चोरी गर्नेहरु तस्करने हुन्। तर यी त चेतना नभएका जनावर भए, यहाँ मान्छेलेनै मान्छेको मेहेनतको फल चोरी गर्छन् र पो समस्या छ।

पहाडका गाउँहरुमा 'तस्कर'को यो समस्या निकै बढेको छ अचेल। पहाडमा जंगल र जंगली जनावर बढेका छन्, यो धेरै राम्रो कुरा हो तर गाऊँलेका बालीनालीलाई बाँदर, मृग, दुम्सी आदिजस्ता जनावरबाट जोगाउन गाह्रो हुँदै गएको छ। बलियो तारबार गर्न पनि महंगो पर्छ, फेरि तारबारले मृगजस्ता जनावरलाई रोक्न सकेपनि बाँदरलाई रोक्न सक्दैन। पहाडका बारीहरु भिरालो जग्गामा हुन्छन्, खेत पनि सामान्यतया स-साना फोगटाहरु हुन्छन्। यसैले खेतीपातीको शैलीलाई बदल्नुको विकल्प छैन। सुरक्षित ठाउँमा अन्न, तरकारी आदि खेती गर्ने र असुरक्षित ठाउँमा जनावरले आँखा नलगाउने अलैंची, अदुवा, चिया, जडीबूटीहरु आदि लगाउन सकिन्छ।

ती दाइले पनि आफ्नो जग्गाको केहि भागमा अलैँची खेती शुरु गरीसकेका रहेछन्। अलैंचीको बजार, मूल्य आदिका बारेमा हामीसंग पनि सोध्दै थिए। 'मूल्य राम्रै छ जस्तो लाग्छ, बजार ब्यवश्थापनका लागि गाउँपालिकालाई अनूरोध गर्नुहोस्।' हामीले भन्न सक्ने यतिनै थियो।

दाइसंग छुट्टिएर हिँडियो। बाटोमा एक-दुई ठाऊँमा ऐंसेलु पाक्न थालेको पनि भेटियो। दुई-चार टोप्रा खाइयो पनि। कतैकतै गुराँसका बोट पनि भेटिए तर गुराँस एकदम थोरै मात्र बाँकी थियो। काफलका बोट पनि देखिए बाटोमा।

एकछिनपछि संघर्ष चोक आइपुग्यो। चोक नजिकै घरका दाइलाई किन यो चोकको नाम संघर्ष चोक राखेको हो भन्दा केहि जवाफ पाइएन। सशस्त्र द्वन्द्वकालमा यो भेग माओवादीहरु लुक्ने ठाऊँ थियो, त्यसैसंग जोडिएको हुनसक्छ वा अरुनै कुनै कारण पनि हुनसक्छ, रामजाने।


यहँबाट अगाडि बढेपछि फेरि जङ्गलको बाटो शुरु भयो। घलेलबाट हिँडेबाटै मैले पर्यटन बोर्डको पुस्तिकामा दिइएका ल्वाङ्गको होम स्टेका दुइटा नम्बरमा फोन गरिरहेको थिएँ, उठेको थिएन। जंगल पसेपछि एउटाबाट फोन आयो, बोनी गुरुङ्गजीको रहेछ। मैले हामी ल्वाङ्गतिर आउँदैगरेको र क्यानोनिङ्ग गर्न चाहन्छौं भनें। 'तपाईँहरुले ढिलो गर्नुभयो, हिजोसम्म आएको भएपनि गराउँथे, आज बाट त हाम्रो मर्मत-सम्भार शुरु भयो। तीन-चार दिनपछि मात्र फेरि शुरु हुन्छ।' बोनीजीको कुराले हामीलाई अलि-अलि निराश बनायो। खानाका लागि भने उहाँले आफ्नै घरमा व्यवश्था गर्न लगाइदिन्छु भन्नुभयो। उहाँ आफैंभने क्यानोनिङ्गको मर्मतसम्भारमा ब्यस्त हुने भएकाले भेट हुन सक्ने भएन।

ल्वाङ्ग गाऊँ पस्नासाथ 'बोनी गुरुङ्गजीको घर कता हो?' भनेर सोध्दा एकजनालाई भाइलाई हाम्रो साथ लगाइयो बोनीजीको घर देखाउनका लागि। भाइ आफैं पनि क्यानोनिङ्गको मर्मतसम्भारबाट फर्केका रहेछन् र एकछिनपछि फेरि त्यतै जाँदै रहेछन्। भाइका अनुसार दश जनाको समूहमा क्यानोनिङ्ग गर्न आउने हो भने क्यानोनिङ्गको शुल्कबाटै हरिचोकबाट लाने-ल्याउने र खानाको समेत सुविधा उपलब्ध हुने रहेछ। क्यानोनिङ्गका लागि असार-साउनतिर १० जनाको समूह बनाएर आउनुपर्ला भन्ने सोच बन्यो हाम्रो त्यसपछि।

बोनीजीको घर निकै व्यवश्थित रहेछ। सुविधाजनक होम स्टे लाग्थ्यो घर। हामी त्यहाँ पुग्दा पूर्वी यूरोपीयन जस्ता लाग्ने एक जोडी थिए। पछि कुनै दिन ल्वाङ्ग बास बस्ने गरी आइयो भने यहि घरमा आउनुपर्ला भन्ने लाग्यो।

ल्वाङ्ग पूरै गाऊँ पनि घलेल भन्दा सफा र सम्पन्न लाग्थ्यो।

बोनीजीकी अर्धाङ्गिनीको विनम्र र न्यानो आतिथ्यले मन प्रफुल्ल भयो। कालो कफी पिएर पौने घण्टाजति गफ गरेर बसियो। त्यसपछि खाना आईपुग्यो, गज्जबको स्वादिलो थियो।

खाना खाएपछि झोला त्यहीँ छोडेर ल्वाङ्गको चिया बगानतिर उक्लियौं। उकालोमा एकजना गुरुङ्ग दिदी भेट हुनुभयो। दिदीको माइती ल्वाङ्ग र घर घान्द्रूक रहेछ। छोरी जन्मेको केहि समयपछि लोग्नेले सौता हालेपछि दिदी आफ्नी छोरी लिएर माइत आउनुभएछ र छोरीलाई एक्लै हुर्काउनुभएछ। छोरी अहिले १४-१५ की भइसकिछन् र उनले पढाइमा खासै मन नदिएकोमा दिदी चिन्तित हुनुहुन्थ्यो। दिदीका दाजुभाइ यूकेतिर रहेछन् र उनीहरुको जग्गाको चियाखेती सबै दिदीको रेखदेखमा रहेछ। 'जिन्दगीमा साह्रै धेरै दु:ख गरेको छु!' भन्नुहुन्थ्यो दिदी र उहाँलाई हेर्दा त्यो स्पष्ट देखिन्थ्यो। तर दिदी असाध्यै रसिली र ठट्टा गरीरहनुपर्ने हुनुहुन्थ्यो। आफ्नो जिन्दगीका सारा पिडाहरुलाई यसैगरी हाँसखेल र ठट्टाहरुका सहारामा जित्नुहुन्छ होला दिदीले।

चियाका बुट्यानहरुको माझमा बसेर दिदीसंग केहि तस्बीर पनि लियौं हामीले।




चिया बगानबाट लाचोक, घाचोक भेग स्पष्ट देखिन्छ।


चिया बगानबाट झरेर खानाको पैसा तिरेर हामी बिदा भयौं।

अलिकति तल आइसकेपछि फर्केर हेर्दा ल्वाङ्ग यस्तो देखियो।


हिँडेर खोरामुख आएर चिया खाइयो। लुम्रे, घलेल र ल्वाङ्गमा नपाएको दूध यहाँचाहिँ पाइयो र दूधचियाको तलतल मेटियो :)

साथीको मामा जिप लिएर पोखरातिरै जानुहुँदै रहेछ, एकछिनमै त्यतै आइपुग्नुभयो।
--------------------
यस्तै रह्यो यसपालिको नयाँ वर्षे यात्रा।


April 05, 2018

महिलामाथि विकराल हिंसा

वर्ष २०७४ भरी हरेक दिन जसो महिलामाथि भएका जघन्य हिँसाका खबरहरु सञ्चारमाध्यमहरुमा आइरहे।

नारी दिवसकै दिन कैलालीमा राधा चौधरीमाथि भएको अत्यन्त बर्बर अत्याचार र त्यसलाई रमिता मानेर हेरीरहेको समाजलाई देखेपछि हामी एक्काइसौं शताब्दीको कुनै सभ्य देश हौं भन्ने कुरा असम्भव लाग्छ। एकजना रमिते ‘बुद्धिजीवि’ले उक्त घटनाको भिडियो युट्युबमा नराखेको भए शायद यो यातनाकाण्डले चर्चै पाउने थिएन र राधा चौधरीमाथि त्यस दिन भएको बर्बर यातना उनी स्वयं र अरुमाथि दोहोरिइरहने थियो। उक्त घटनापछि उजूरी लिन नमानेको प्रहरी प्रशाशनलाई पनि हाइसञ्चो हुने थियो। अर्कोतिर, यति जघन्य अपराधलाई देखेको नदेख्यै गर्न सक्ने ‘अति ब्यस्त’ मेयर ममताप्रसाद चौधरीले पनि राधा चौधरीलाई दुई चार हजार ‘दिलाईदिएर’ मिलापत्र गराउने थिए र एक्काईसौं शताब्दीको एक ‘प्रगतिशील’ नेपाली नेताको कर्तव्य पूरा गर्ने थिए। विगतमा यसै गरी यातना खपेका कैयन् राधा चौधरीहरुको वास्तविक कथा यहि हो।

प्रधानमन्त्रीसम्मले चासो राखीसकेपछि यस पटक राधा चौधरीलाई न्याय मिल्ला कि भन्ने आशा गर्न सकिन्छ। तर हाम्रो राज्य र राजनीतिको चरित्रलाई हेर्दा धेरै आशावादी हुने ठाउँ भने छैन। राधा चौधरीमाथिको क्रूर यातनालाई समाजको विस्मृतिमा जान नदिनका लागि र दोषीलाई सजाय दिलाउनका लागि निरन्तर खबरदारी आवश्यक छ।

जघन्य महिला हिँसाको सूचि घट्नुको साटो बढीरहेछ। यो एक्काइसौं शताब्दीको समाजवादतिर हिँडेको भनिएको देशमा बोक्सीको आरोपमा यातना दिइने घटनाहरु अझै नियमित छन्। अर्कोतिर, यो वर्ष शायदै कुनै दिन थियो जुन दिन बलात्कारका घटनाहरु नघटेको होस्।  यतिखेर, बलात्कार पछि हत्या गरिएकी एउटी अबोध छोरीको लाश अस्पतालमा सडीरहेछ, त्यस्तै अबोध अर्की छोरी अस्पतालको शैय्यामा जीवनमरणको दोसाँधमा छिन्, धेरै छोरीहरुमाथि पराइबाटमात्र होइन अत्यन्त निकटका नातेदारहरुबाटै दुर्व्यबहार र बलात्कार भइरहेछ, ४-६ महिनाका बच्चीहरु समेत सुरक्षित छैनन्। कामबाट फर्कीरहेका महिलाहरुलाई अपहरण गरेर सामूहिक बलात्कार गरिएको छ, छात्राहरु आफ्नै शिक्षकबाट असुरक्षित छन्, अशक्त किशोरीलाई हप्तौं बन्धक बनाएर बलात्कार गरिएको छ, केटा साथीले झुक्याएर सामूहिक बलात्कारमा पारेका छन्, खेतमा काम गर्न गएका छोरीबुहारीहरु सुरक्षित छैनन्, आफैंले अनाथाश्रम चलाएर त्यहिँका बालिकामाथि बलात्कार गरिएको छ, हजुरआमाको उमेरका महिलाहरुमाथि दुर्व्यबहार भएको छ। सञ्चार माध्यमका आँखा पुगेका यी केहि घटनाहरु प्रतिनिधिमूलक मात्रै हुन्, धेरै घटनाहरु बाहिर आउनै पाउँदैनन्, स्थिति वास्तवमै कहालीलाग्दो छ। यो स्थितिमा यो समाजको एक सदस्यको रुपमा आफ्नो अस्तित्वप्रतिनै धिक्कार भन्न मन लाग्छ। हाम्रो समाज कसरी यति पतित भयो र यति धेरै घटना घटीरहँदा पनि राज्य किन यस्तरी संवेदनहीन छ, हामी किन संवेदनहीन छौं?

सामाजिक रुपले उत्पीडित र आर्थिक रुपले विपन्न महिलाहरु जहिले पनि यातना र हिँसाको शिकार बन्ने गरेका छन्। बोक्सीको अभियोगमा यातना खप्ने समाजको सबैभन्दा तल्लो खुट्किलोमा रहेका यस्तै विपन्न महिलाहरु छन्। अहिले अचाक्ली बढीरहेको बलात्कारका घटनाहरुमा पनि यहि वर्गका महिला र बालिकाहरु बढी  परेका छन्। विशेष गरी, विपन्न परिवारका बालिकाहरु यतिखेर सबैभन्दा ठूलो जोखिममा देखिन्छन्। यिनीहरुको सुरक्षाको लागि राज्यसंग कुनै सोच र योजना भएको देखिँदैन।

यी सबै घटनाहरु पश्चात दोहोरिएको हाम्रो राज्यको प्रवृत्ति र समाजको प्रतिकृया हेर्‌यो भने झन् कहाली लाग्छ। महिलामाथि हुने विभेद र हिंसालाई गरिने ‘बौद्धिक समान्यीकरण’ ले पनि निराशा बाहेक केहि बढाउँदैन।

बलात्कारका घटना हुन् वा बोक्सीको अभियोगमा यातना दिइएका घटना हुन्, शुरुमा प्रहरीले उजूरी दर्ता गर्नै मान्दैन, जाहेरी लिँदै लिँदैन। सञ्चारमाध्यममा चर्चामा आएपछि वा ‘माथि’बाटै दबाब आएमात्र जाहेरी दर्ता हुन्छ। विगत केहि समय यताका हरेक घटनाहरुलाई हेर्दा प्रहरीभित्र यो प्रवृत्ति झाङ्गिईसकेको देखिन्छ। किन यस्तो हुन्छ? प्रहरी किन यति संवेदनाहीन छ? यस्ता घटनालाई दाम कमाउन सकिने ‘भन्सार’का रुपमा हेर्न थालिएको त होइन? हो भने त्यो भन्दा ठूलो बिडम्वना अरु के हुनसक्छ?

हालैको एक घटनामा, काममा गएकी आफ्नी श्रीमती घर नआइपुगेपछि खोजिदिनका लागि याचना गरीरहेको श्रीमानसंग ‘तेरी स्वास्नी राम्री थिई, कसैले लग्यो होला!’ भन्ने घटिया मजाक गर्ने प्रहरी जनताको रक्षक हुन्छ कि भक्षक? ती महिला सामूहिक बलात्कारको शिकार भइछन् र केहि दिनपछि झण्डै मृत अवश्थामा भेटिईन्। पुलिसको बोलीले उनीमाथि पुलिसकै कुदृष्टि रहेछ र कुनै दिन उनी पुलिसकै सामूहिक बलात्कारमा पर्न सक्ने थिइन् भन्ने सम्भावना देखाउँदैन।

दोश्रो, समाजका ठालू र दलीय नेताहरुको कथित ‘मेलमिलाप’कारी चरित्र हो। पीडितलाई केहि पैसा दिएर दबाब र धम्कीका भरमा उजूरी फिर्ता लिन बाध्य पारिन्छ। जघन्य अपराधका घटनाहरुलाई पैसाले छोपछाप पार्ने यो प्रवृत्तिले पीडकको मनोबल झन् बढ्छ र पीडित झन् असुरक्षित हुन्छन्। यस्तो दण्डहीनताले समाजलाई कता लाँदैछ भनेर सोच्नुपर्ने हो नेता भनाउनेहरुले, तर सोच्दैनन् किनभने उनीहरुलाई समाजको चरित्र बदल्नुभन्दा पनि दुर्गन्धित समाजलाई गिजोलेरै फाइदा लिन सजिलो लाग्छ।

ब्यापक रुपमा सञ्चारमाध्यममा छाएपछि राधा चौधरीमाथिको यातनाको घटनालाई लिएर प्रधानमन्त्रीसम्मले बोल्नुपर्ने अवश्था आयो तर सबै घटनाहरु यसरी सञ्चारमाध्यममा आउने संयोग मिल्दैन। यदि हाम्रो राज्ययन्त्र साँच्चै जनताको लागि हो भने यस्ता घटनाका दोषीलाई कारवाही गर्न प्रधानमन्त्रीको तहसमम पुग्नै पर्दैन, स्थानीय प्रशाशन र प्रहरीलेनै गर्न सक्छन्। राज्यका स्थानीय संयन्त्रहरु अलिकति चनाखो हुने हो र तिनले दण्डहीनतालाई काखी नच्याप्ने हो  भने यस्ता घटनाहरु दोहोरिने सम्भावना पनि न्यून हुँदै जान्छ। तर विविध कुत्सित स्वार्थका कारण यातना र बलात्कारका यस्ता घटनाहरुलाई हाम्रो देशको स्थानीय राजनीति र प्रशाशनले देखेको नदेख्यै गर्दिन्छ। दलका कथित भातृसंगठनहरुको वास्तविक चरित्र पनि यस्तै बेलामा देखिन्छ। राधा चौधरीलाई यातना दिइएको बारेमा केहि नबोलेका एमालेको भातृसंगठनहरुले मेयर चौधरीमाथि आक्रमण हुँदाचाहिँ जुलूशै निकाले। मेयरमाथिको आक्रमण ठिक भन्न खोजिएको होइन, तर मेयरलाई आक्रमण हुँदा बोल्न सक्ने यी भातृ संगठनहरुले राधा चौधरीमाथिको यातनाका बारेमा पनि बोल्नुपर्ने होइन? देशको प्रतिपक्षी दल काङ्ग्रेसका भातृ संगठनहरु पनि यो जघन्य अपराधका बारेमा मौन रहे तर त्यसको केहि दिनपछि पक्राउ परेका गुण्डा नाइके गणेश लामाको रिहाइ माग्दै बनेपा बजार तोडफोड गरे। दिनदिनै यति धेरै बलात्कारका घटनाहरु भइरहँदा पनि कुने पनि दलका कुनै पनि भातृ संगठनले एक शब्द बोल्नु पनि आवश्यक ठानेका छैनन्, दोषीलाई कारवाहीका लागि सरकारलाई दबाब दिने त कुरै छाडौं। कसका लागि राजनीति गर्छन् यी दलहरु?

समाजको संवेदनहीनता झन् कहालीलाग्दो छ। कार्यस्थल र बस आदिमा महिलामाथि हुने दुर्ब्यवहारमात्र होइन, बलात्कारजस्ता जघन्य अपराधलाई समेत वास्तै नगर्ने प्रवृत्ति विकसित हुँदै गएको छ। यस्ता जघन्य अपराध जुन व्यक्तिमाथि भएपनि त्यो समाजमाथिकै हो, आफैंमाथिको हो भन्ने चेतना न्यूनतम पनि छैन। राधा चौधरीमाथिको यातनालाई सिनेमा जसरी हेरेर मनोरञ्जन लियो समाजले। यता राजधानीमा एउटी बलात्कृत बालिकालाई अस्पताल लैजानका लागि उनकी आमाले हारगुहार गर्दा समेत छिमेकीले सुनेको नसुन्यै गरे। किन यति बिघ्न स्वार्थी र संवेदनाहीन बनेको हो हाम्रो समाज? यतिको परपीडक र पतित समाज दुनियाँमा अन्त कतै छ होला?

बलात्कार र यातनाका घटना हुनासाथ ‘महिला अधिकारकर्मी कहाँ छन् खै?’ भन्दै औंला ठड्याउने अर्को प्रवृत्ति पनि मौलाएको छ यो देशमा। ट्विटर र फेसबुकमा डेरा जमाएर बसेका यस्ता धेरैको कुरा सुन्दा लाग्छ यी बलात्कार र यातनाका घटनाहरु महिला अधिकारकर्मीले गरे-गराएका हुन्। यो समूहमा यो समाजका बुद्धिजीवि, अष्पष्ट ‘नागरिक समाज’का केहि स्वघोषित सदस्यहरु र आफूलाई राजनीतिकर्मीका रुपमा चिनाउन चाहनेहरु समेत छन्। महिलामाथि हुने सबै प्रकारका हिँसा र अत्याचारको दोष थोपर्ने ‘बलिको बोको’को रुपमा यो समूहले महिला अधिकारकर्मीलाई पाएको छ। राधा चौधरीमाथिको यातना युट्युबमा हेरेपछि आफूजस्तै रमिते समाजलाई गाली गर्नुको सट्टा यो समूह महिला अधिकारकर्मीलाई सराप्न थाल्छ, जब बलात्कारीहरु खुलेआम बजारमा घुमेको समाचार आउँछ तब यो समूह ‘राज्य खै? प्रशाशन खै?’ भन्नुको सट्टा ‘महिला अधिकारकर्मी खै?’ भनेर चिच्याउँछ, आफ्नै आँखाअगाडि महिला हिंसाको घटना घटे पनि आफूले केहि गर्नुको सट्टा हतपत फेसबुक र ट्विटरमा पसेर ‘नारीवादी खै?’ भनेर कराउँछ। महिला अधिकारकर्मी आफैं राज्य होइनन्, प्रहरी-प्रशाशन होइनन्, उनीहरुले गर्न सक्ने भनेको सचेतना फैलाउने र पीडितलाई न्याय दिलाउन सहजीकरण गर्ने हो जुन उनीहरुले गरीरहेकै छन्। यति सामान्य कुरा यी मानिसहरुलाई थाहा नभएको अवश्य होइन तर कतै न कतै दोष थोपरेर आफू पानीमाथिको ओभानो देखिनु परेको छ उनीहरुलाई।

यो समूह महिला अधिकारकर्मीको छविलाई ‘डलर खेती गर्ने’ र ‘पाँचतारेमा डिनर खाने’का रुपमा स्थापित गर्न कस्सिएर लागेको छ। राधा चौधरीमाथिको यातनापछि ‘नारी दिवसको कार्यक्रम पाँचतारेमा गर्नुको सट्टा गाउँमा गरेको भए यस्तो हुँदैनथ्यो!’ भनेर उपदेश दिनेहरुको एक हूलनै निक्लियो। त्यो दिन पाँचतारेमा कार्यक्रमहरु भए-भएनन् मलाई थाहा भएन तर सञ्चार माध्यममा आएका समाचारहरुलाई आधार बनाएर हेर्ने हो भने त्यो दिनका अधिकांश कार्यक्रमहरु कतै शहरका सडकमा भएका देखिए, कतै गाउँका चौतारीमा भएका देखिए र कतै जीर्ण सामुदायिक भवनका कोठाहरुमा भएका देखिए। फेरि, कुनै कार्यक्रमविशेष पाँचतारेमै हुनु आफैं पनि ठूलो कुरो हुँदै होइन। यस्तो ‘इमेज’लाई मलजल गर्ने काममा मेडिया पनि पछि पर्दैन, ‘कतै नारी दिवस, कतै मलको भारी’ जस्ता शीर्षकमा समाचार पस्केर। समाचारको शीर्षक हेर्दा यस्तो लाग्छ कतै नारी दिवस मनाएकै कारण अन्त कतैका महिलाले मलको भारी बोक्नु परेको हो।

‘डलर खेती’कै कुरा गर्दा पनि, कसले गरेको छैन ‘डलर खेती’? सबैभन्दा ठूलो डलर खेती त यो देशमा सरकारलेनै गरेको छ? महिला अधिकारकर्मीहरुमाथि डलरखेतीको गाली बर्साउने महोदयहरुले सरकारको डलरखेतीको हिसाबकिताबमा कहिल्यै प्रश्न उठाएका होलान्? फेरि यो देशमा ‘डलर’ कसका नाममा आएको छैन? जातिका नाममा, क्षेत्रका नाममा, धर्मका नाममा सबै नाममा ‘डलर’ आएको छ। महिला अधिकारको क्षेत्रमा पनि विदेशबाट आएको पैसा लागेको होला तर त्यो नै पनि के कुनै जघन्य अपराध हो? त्यो ‘डलर’ लक्षित क्षेत्रमा प्रयोग नभई दुरुपयोग गरिएको छ भने छानबीन गर्न, कारवाही गर्न राज्यका निकायहरु छैनन्?

अर्को प्रवृत्ति छ सामान्यीकरणको। उच्च संवैधानिक ओहदामा बसीसकेका ‘व्यक्तित्व’हरु समेत ‘महिलाको शत्रु महिलानै हो।‘ भन्ने खाले बनिबनाउ निष्कर्ष दिएर यो समस्याको भद्दा सामान्यीकरण गर्दिन्छन् मानौं महिलाका समस्या भनेका सासु-बुहारीका झगडा मात्र हुन्। बुहारीले जिउँदै जल्नुपर्ने र छोरी भ्रुणको हत्या हुनेसम्मको स्थिति के महिलाकै कारणले मात्र आएको हो? दाइजो नल्याएको निहुँमा आफ्नो लोग्ने र छोरासंग मिलेर बुहारीको जिऊमा आगो झोस्ने कुनै अनपढ सासुले यो कुकृत्य आफ्नै लहडले मात्र गरेकी हुन्? वर्षैपिच्छे गर्भपतन गराएर आफ्नो शरीरलाई जीर्ण बनाउने यो देशका बुहारीहरुले रहरले, मनोरञ्जनका लागि त्यसो गरेका हुन्? के यो समाजमा एउटी महिलाको कुनै पनि निर्णय जानेर वा नजानेर, प्रत्यक्ष वा अप्रत्यक्ष- पुरुषसत्ताले निर्धारण गरेका नियमकानून र संस्कारको सीमाभन्दा बाहिर जानसक्छ? के हाम्रो समाजले महिलामाथि थोपरेका बाध्यताहरुको यति सजिलो सामान्यीकरण सम्भव छ? हजारौंमा एकाध अपवाद होलान् तर महिलाको वास्तविक स्थिति देखाउने ऐना ती अपवाद हुन् कि आम रुपमा जारी रहेका महिलामाथिका हिंसा र विभेदहरु हुन्?

सामान्यीकरणको अर्को ‘प्रगतिशील’ रुप छ, महिला हक अधिकारका कुरालाई सम्पत्ति पारपाचुकेको अधिकारमा लगेर टुङ्ग्याइदिने। ‘महिलाले सम्पत्ति पाइसके, सबथोक पाइसके, तैपनि किचकिच गर्न छोड्दैनन्!’ भन्न थालिएको छ र सम्पत्तिमाथिको कागजी हकलाई सबै विभेदको अन्त्यका रुपमा ब्याख्या गर्ने प्रयास भइरहेको छ। सम्पत्ति माथिको हकनै कागजबाट पूर्ण रुपमा ब्यवहारमा उत्रिन अझै लामै समय लाग्ने देखिन्छ भने बाँकी विभेद त जस्ताको तस्तै छन्। कानूनमा जातीय विभेद हटेको यति लामो समय भइसक्दा त हाम्रो समाज जातीय विभेद समाप्तिको दिशामा साह्रै थोरै मात्र अगाडि गएको उदाहरण हाम्रो आँखै अगाडि छ। यसैले, महिला समानता र सशक्तीकरणको मुद्दा सम्पत्तिमै मात्र सीमित हुन सक्दैन। आमाको गर्भमै हत्या छोरीकै हुन्छ-छोराको हुँदैन। स्याहारसुसारमा छोरा र छोरीमा विभेद हुन्छ। शिक्षादीक्षाको सवालमा पनि पहिलो प्राथमिकतामा छोराहरु पर्छन्, एकदम सम्पन्न र शिक्षित परिवारमा पनि सूक्ष्म तहमा यो चिन्तन अझै हावी छ। बाटोघाटो र कार्यस्थलमा पुरुषले महिलामाथि मानसिक र शारीरिक हिंसा गर्नु सामान्य छ। शिक्षित र सक्षम महिला पनि पुरुषको दाँजोमा विभेदमा पर्नैपर्ने सामजिक र राजनीतिक संयन्त्र छ हाम्रो। त्यो सामाजिक र राजनीतिक संयन्त्रले गाउँ-टोलका उपभोक्ता समितिदेखि नीतिनिर्माणका तह र उच्च राजनीतिक नियुक्तिसम्म पुरुषको अत्यधिक बहुमत सृजना गर्छ।

हालैका चुनावहरुपछि ठूलो संख्यामा स्थानीय तहमा पुगेका भनेका महिलाहरुको भूमिका कति प्रभावकारी हुन्छ हेर्न बाँकी छ तर यसमा पनि नेतृत्वदायी पदमा अत्यन्त थोरै मात्र महिलाहरु छन्। संसदमा ३३ प्रतिशत प्रतिनिधित्वको बाध्यकारी प्रावधानलाई षडयन्त्रपूर्वक प्रतिनिधिसभामा कम भएपनि हुने गरी तोडमोड गरिएको छ।  मन्त्रीमण्डलमा महिलाको सहभागिता अत्यन्त कम गराइएको छ, प्रदेश प्रमुख त एकजना पनि महिला छैनन्। यसैले नीतिनिर्माणमा महिलाको हस्तक्षेप चाहेजति सशक्त हुन नसक्ने स्थिति बनेको छ।

हजारौं वर्षको पुरुषप्रधान सत्ताले तोकेका संस्कार र अन्धविश्वाशलाई साथ दिनेगरी नयाँ नयाँ पूर्वाग्रह र भद्दा सामान्यीकरणपनि थपिएर महिला अधिकारको लडाईँ झन् जटिल हुन पुगेको छ। महिला अधिकारको सवाल सम्पत्तिको मात्र होइन मानवोचित सम्मानको हो, यो लडाइँ महिलाको मात्र होइन, पुरुषको पनि हो र समग्र समाजकै हो भन्ने मान्यता समाज र राज्यसंयन्त्रमा स्थापित नहुञ्जेल हिँसा र यातनाको यो विकराल स्थितिको अन्त हुने देखिँदैन।
---------------------------------------------------*-----------------------------------------------------------------


(यो लेख छापिदिने अनूरोधका साथ एउटा राष्ट्रिय दैनिकमा पठाएको थिएँ। कुनै जवाफ पनि आएन र छापिएजस्तो लागेको पनि छैन।)

March 20, 2018

बन्दीपुरमा, दोश्रो पटक

गत शुक्रबार (चैत २ गते) तीनजना साथीहरुसंग बन्दीपुर गएँ। म बन्दीपुर गएको यो दोश्रो पटक हो। २०६८ सालको कार्तिकमा पहिलो पटक गएको थिएँ सोविता र आर्यासंग।

बिहान पौने ११ बजे एकजना साथीको गाडीमा तीन जना क्याम्पसबाट प्रस्थान गर्‌यौँ। बिन्दवासिनीबाट एकजना साथी थपिनुभयो। केहि किनमेल गरेर बन्दीपुरतिरको बाटो समात्यौं। डुम्रे पुगेर थप केहि सामान किनेर उकालो लाग्यौं। ठाउँ-ठाउँमा रोकिँदै बिस्तारै जाँदा साढे २ तिरै बन्दीपुर पुगियो। बजार नपुग्दैको पार्किङ्गमा गाडी राखेर टुँडिखेल तिर लाग्यौं। त्यहाँको एक विद्यालयमा कार्यरत कृष्णशरणज्यू, जो शिवको आत्मीय साथी हुनुहुन्छ, उहाँ विद्यालयबाट आउन नपाउञ्जेलको समय बिताउनु थियो हामीलाई।

बजारबाट अलिकति ओरालो-उकालो गरेर पुग्नुपर्दो रहेछ टुँडिखेल। अघिल्लो पटक आउँदा त्यता गइएको थिएन, चाँडै पोखरा फर्कने हतारो थियो कि कुन्नि। टुँडिखेल एक छिन सुस्ताउनका लागि राम्रै ठाउँ रहेछ। हामी पुग्दा बदाम, चटपटे, चिया-चुरोट आदिका डाले-नाङ्गले पसले, प्रेमालापमा मग्न २ जोडी र केहि स्थानीय बालबालिकाहरु थिए त्यहाँ। हिमालको दृश्यावलोकनका लागि उपयुक्त ठाउँ भएकाले पर्यटकीय याममा ठूलै भिडभाड हुन्छ होला। सरसफाई चाहिँ थिएन टुँडिखेलमा, 'फोहर' नामको राष्ट्रिय रोग राम्रैसंग सल्केको थियो बन्दीपुरको टुँडिखेलमा पनि।

टुँडिखेल एकछिन घुमेर हामी कृष्णशरणज्यूको कोठातिर लाग्यौं। मुख्य बजारबाट थोरै माथिको एक घरमा बस्नु हुँदो रहेछ उहाँ। उहाँको 'श्रीकृष्ण शतक' भक्ति कविता संङ्ग्रहको  पोखरामा भएको लोकार्पण कार्यक्रममा सामान्य चिनजान भएको थियो मेरो। विगत २७ वर्षदेखि बन्दीपुरको नोट्र डेम स्कूलमा नेपाली अध्यापन गरीरहनुभएका उहाँ एक प्रतिभाशाली शास्त्रीय कवि हुनुहुन्छ। छन्दमाथिको उहाँको पकड बेजोड छ र उहाँका तीन कविता सङ्ग्रह प्रकाशित भैसकेका छन्। उहाँको कोठामा एकछिन बसेर हामी निक्लियौं र थानीमाईतिर उकालो लाग्यौं। 

थानीमाई मन्दिर रहेको टुप्पामा पुगेर कुराकानी गर्दै वरिपरिको दृश्य हेर्न थाल्यौं। हाम्रा गफका विषयवस्तु स्थानीयदेखि राष्ट्रिय-अनर्राष्ट्रिय हुँदै स्टेफन हकिङ्ग र ब्रम्हाण्डसम्मै तन्किए एकैछिन भएपनि। थनाीमाईमा कुने मूर्ति छैन, एउटा शिलामात्र छ। ईँट्टाको मन्दिर बनेको रहेछ, २०६८ सालमा आउँदा यो थिएन जस्तो लाग्छ। मेरो सम्झना ठिक छ भने, त्यो बेला उक्त शिलाको वरिपरि बारबेरमात्र गरेर राखिएको थियो। दृश्यावलोकनको लागि गर्न आवश्यक-गर्न सकिने केहि काम भएका रहेनछन् अहिलेसम्म पनि। त्यहाँ सरसफाइ गर्ने, नजिकका रुखहरु काँटछाँट गर्ने वा दृश्यावलोकनका लागि टावर बनाउने आदि केहि काम पनि भएका रहेनछन्। आकाश खुलेको समयमा त्यहाँबाट हिमशृंखलाको मनमोहक दृश्य देखिन्छ। पश्चिम र पूर्वी नेपालका थुप्रै हिमालहरु खुट्याउन सकिन्छ। यस्तो ठाउँको व्यवश्थापनमा राज्य र स्वयं त्यहाँको स्थनाीय समुदायले पनि देखाएको वेवास्ताले खिन्न बनाउँछ। 

बन्दीपुरको मूल बजार वरिपरिको बस्ती घना हुँदै गएछ, तर योजनावीहिन ढंगले। खासमा बन्दीपुरको मूल बजारमाथिको भागलाई एउटा सानो आधुनिक आवासीय शहरको रुपमा विकास गर्न सकिन्छ। डुम्रे वा अझ दमौली वरिपरिकै मलिला फाँट मासेर शहर बढाउनुभन्दा बन्दीपुरजस्ता ठाउँको नजिकै साना (१ लाखसम्मको जनसंख्या हुने) खालका शहरहरु विकास गर्नु सबै हिसाबले राम्रो हुनेथियो। बन्दीपुरसम्म राम्रै बाटो पुगीसकेको छ, राम्रा विद्यालय-कलेजहरु पनि छन् र जिल्ला अस्पताल पनि यहीँ छ। सार्वजनिक यातायातको राम्रो व्यवश्था हुने हो भने डुम्रे वा दमौलीसम्म काम-ब्यापारका लागि झर्नेहरुका लागि पनि आउने-जाने समय धेरै लाग्दैन। आफ्नै साधन हुनेहरुलाई त झन् सजिलो हुने भइहाल्यो। बन्दीपुरजस्तो प्रदूषणमुक्त सुन्दर ठाउँमा बसेर बच्चाहरु हुर्काउनु र उनीहरुलाई शिक्षादीक्षा दिन पाउनुको आनन्दनै अर्कै हुन्छ।

बस्ती योजनावीहिन त छँदैछ, ठाउँ-ठाउँमा अत्यन्त अप्ठेरा ठाडा सडकहरु पनि खनिएछन् पहाडी छाती चिर्दै। एउटा उदाहरण तलको तस्बीर हो। अरुको फोटो खोच्न बिर्सिएछ। जग्गा दलालहरुको बुद्धि त होला यो! जग्गा दलालहरु  हावी भएपछि इञ्जिनियरिङ्गको के काम, योजनाको के काम!


थानीमाईबाट झरेर अघि गाडी राखीएको ठाउँमा गइयो। कृष्णशरणजीले हाम्रा लागि जुन होमस्टेमा व्यवश्था मिलाउनुभएको थियो, गाडी पार्किङ्गको जग्गा त्यहि होमस्टे ‍चलाउने परिवारकै रहेछ। होमस्टेको सानो रेष्टुरेण्टमा उमालेको चाउचाउ र चिया खाएर आफ्ना झोलाहरु कोठामा लेगेर राख्यौं।

साँझ 'खानपीन'संगै धेरै कुराकानी भए। राजनीति, शाकाहार-मांसाहार लगायतका अनेक विषयमा कुरा भए। कृष्णशरणजीको साहित्यिक यात्राको कुरा पनि धेरै भयो। ६ वर्ष अघिबाट मात्र कविता लेख्न थाल्नुभएको रहेछ उहाँले, आफ्ना पिताजीको स्वर्गवासपश्चात। दश हजार छन्द कविता लेख्ने उद्देश्य रहेछ उहाँको र तीन हजार लेखीसकेको छु भन्दै हुनुहुन्थ्यो। उहाँले आफ्ना केहि कविता पाठ गरेर पनि सुनाउनुभयो। त्यसपछि शिव त्रिपाठीज्यूको अति मिठो गायनमा कृष्णशरणज्यूका कविताहरु सुन्न पाउँदा मन आनन्दित भयो। मैले पनि मेरा २-३ मुक्तकहरु र एउटा कविता सुनाएँ।

भोलिपल्ट बिहानको नित्यकर्मपछि बजारहुँदै तीनधारासम्म पुगियो। शुरुमा तीनवटा मात्रै धारा भएर 'तीनधारा' नाम रहेको होला, अहिले भने पाँचवटा धारा रहेछन्। तीनधारामाथिको डाँडोमा घना जङ्गल रहेछ। कृष्णशरणज्यूका अनुसार डेढ दशक अघिसम्म त्यो डाँडो नाङ्गै रहेछ। वृक्षारोपण र संरक्षणको सफल उहदाहरण रहेछ त्यो नयाँ जङ्गल।

तीनधारा जाने बाटैमा छ नोट्र डेम स्कूल। जापानी मिसनरीद्वारा सञ्चालित यो स्कूल सुन्दर र सफा देखिन्छ। गुणस्तरीय शिक्षाका कारण यो स्कूलको नाम धेरै चलेको छ। २०५७ सालतिर तत्कालीन माओवादीले यो स्कूल बन्द गराए। देवेन्द्र पौडेल भनिने एकजना नेताका भाञ्जा यो स्कूलको प्रवेश परीक्षामा अनुत्तीर्ण भएपछि त्यहि रिसले अनेक निहुँ निकालेर विद्यालय बन्द गराइएको थियो। यो स्कूल बन्द हुँदाका १५ महिना बन्दीपुरको इतिहासको एक अन्धकारमय समय थियो किनभने यहि स्कूलले बन्दीपुरको पुनर्जागरण शुरु गरको थियो।

बन्दीपुर राणाकालबाटै सम्पन्न थियो र यो तनहुँ जिल्लाको सदरमुकाम पनि थियो। २०२५ सालमा सदरमुकाम दमौली सारियो। सदरमुकाम सार्ने क्रममा बन्दीपुरनै राख्नुपर्छ भन्ने पक्ष र दमौली सार्नुपर्छ भन्ने पक्षका बीचमा ठूलो भिडन्त भएर केहि मान्छे हताहत समेत भएका थिए भनिन्छ। तर तत्कालीन राज्यसत्ता दमौलीको पक्षमा रहेका हुनाले बन्दीपुरेको केहि जोड चलेन। त्यसपछि धेरै बन्दीपुरेहरु बसाईँ सरे, धेरैजसो नारायणगढ झरे र केहि काठमाण्डौं, पोखरातिर लागे। बिस्तारै बन्दीपुर निर्जनजस्तै भयो र अघिल्लो पटक बन्दीपुर जाँदा हामीले सबैभन्दा पहिला भेटेका एकजना बुबाका शब्दमा  बन्दीपुर 'दिउँसै हिँड्न पनि डर लाग्ने गरी सूनसान भयो!'

सन् १९८५ मा नोट्र डेम स्कूल स्थापना भएपछि बन्दीपुरले नयाँ जीवन पायो। गुणस्तरीय शिक्षाका कारण उक्त स्कूलको नाम चल्न थाल्यो र देशभरिबाट विद्यार्थीहरु आउन थाले। केहि बन्दीपुरेहरु फर्किए, नफर्कनेहरुले पनि बन्दीपुरलाई फेरि जीवन्त बनाउने अभियानमा साथ दिए। बिस्तारै  बन्दीपुरको पर्यटन उद्योग पनि शुरु भयो। नोट्र डेम स्कूलको प्रगति लोभलाग्दो थियो। आफूलाई एउटा विश्वविद्यालयको रुपमा विकास गर्ने लक्षयका साथ अघि बढीरहेको थियो यो।  तर बन्दीपुरको नयाँ जीवन माओवादीलाई मन परेन र उसले यो विद्यालय बन्द गरायो। एउटा उत्कृष्ट विद्यालयको सम्पूर्ण प्रगति शून्यमा पुग्यो। १५ महिना प‍छि फेरि शुरु भएता पनि धेरै कुरा बिग्रिसकेको थियो। सबै कुरा शून्यबाट फेरि शुरु गर्नुपर्ने स्थिति बन्यो। जापानीहरुको मनमा गडेकोको डरले गर्दा यतिका वर्षपछिपनि उनीहरु पहिलजस्तो खुलेर अझै लाग्न सकेका छैनन् कृष्णशरणज्यूका अनुसार। 'के हुने हो, के हुने हो?' खालको असुरक्षाको भावना अझै छ। विद्यालय अहिले राम्रो हुँदैछ तर त्यो बेला माओवादीले बन्द नगराइदिएको भए यो शायद विश्वविद्यालयको रुपमा विकसित भइसक्नेथियो अहिलेसम्म। कति ठूलो योगदान हुने थियो त्यो बन्दीपुर र पूरै देशका लागि! माओवादीले देशलाई ४० वर्ष पछाडि धकेल्यो बन्दीपुरमा!

तीनधाराबाट फर्केर खाजा खाएपछि हामी पोखरातिर लाग्यौं।

February 13, 2018

तीन मुक्तक

मान्छे हुँ- कतै खुल्ला छु र कतै थोरै रहस्य मेरो पनि छ
ज्युँदो छु- रहर मेरा पनि छन्, केहि उद्देश्य मेरो पनि छ
सन्तानका लागि, भविष्यका लागि! भन्दै भाइ बिदेशियो
म यहीँ छु- सन्तान मेरा पनि छन् र भविष्य मेरो पनि छ
--------------------------------------------------

राजधानी+पत्रकार+दारुपानीको पूर्वाधार जानिएन
मोफसल बसाई यो देशमा गतिलो आधार ठानिएन
कस्ता-कस्ता हिट भए र कस्ता-कस्ता सुपरहिट भए
हाम्ले लेखेको किन कहिल्यै हिट धुवाँदार मानिएन ?
-----------------------------------------------------------------

म हदैको सोझो र बाठो असाध्य - दुबै भईदिन सक्छु
तिम्रा हर रहरमा म राजी र बाध्य - दुबै भईदिन सक्छु
अराजक जिन्दगी जिउने तिम्रो घोषणाको जवाफ सुन
तिम्रो अराजकताको साधन र साध्य - दुबै भईदिन सक्छु।

January 21, 2018

पहिलो स्वाद - 'काजुओ इशिगुरो'को

२०१७ को नोबेल पुरष्कार विजेता काजुओ इशिगुरोको लेखनीको पहिलो स्वाद लिइयो हालै।
*      *      *
आफ्नो पेशागत अध्ययन बाहेक अरु चिज पढ्ने कुरामा मलाई रुचि निश्चय पनि छ तर के पढ्ने र कसरी पढ्ने कुरामा कुनै नियम छैन। म खासमा 'जे भेटियो, त्यहि पढ्ने!' मान्छे हुँ। ज्ञानको यो विशाल ब्रम्हाण्डमा रहेका अनन्त संख्याका पुस्तकहरुबाट 'छानेर' पढ्न कुनै नियमनै बनाउनुको तुक पनि देख्दिन म। जे भेटिन्छ, त्यो पढिहाल्नुपर्छ!

चर्चाकै भरमा म कमै किताब छान्छु। कोहि आत्मीयले कुनै किताब 'पढ्दा हुन्छ।' भनेर सल्लाह दिएको खण्डमा त्यो खोजेर पढ्छु। नेपाली प्रेसबाट निक्लेका किताबहरु तुरुन्त नकिन्ने, 'दुई वर्षजति पर्खेर मात्र किन्ने' मेरो सिद्धान्त साथीहरुमाझ चर्चित छ। राम्रा किताब दुई वर्षपछि पनि पाइन्छन्, नराम्रा हराइसकेका हुन्छन्, खोज्ने टण्टै भएन भन्ने विचार हो मेरो। सधैं दुई वर्ष कुर्नु पनि पर्दैन। नेपाली छापा जगतको सिण्डिकेटले जत्रो ठूलो होहल्ला खडा गरेर बजारमा ल्याए पनि धेरै किताब दुई महिनामै गुमनाम भइसकेका हुन्छन्।

कतिपय अवश्थामा भने तात्तातै कुनै किताब किन्नबाट जोगिन सकिँदैन। विमोचन कार्यक्रमहरुमा पुगेपछि किन्नैपर्ने अघोषित बाध्यता आइपर्छ। यस्तो 'बाध्यता'का कारण खत्तम र झूर किताबहरुको पनि सानो संग्रह बनीसकेको छ मसंग।

पछिल्लो पटक पढेको तीर्थ गुरुङ्गको 'पाठशाला' मलाई निकै मन परेको नेपाली किताब हो। त्यसका बारेमा आफ्नो फेसबुक भित्तोमा केहि लेखेको पनि थिएँ।
*      *      *
म काजुओ इशिगुरोको कुरा गर्दै थिएँ। जापानी नाम हारुकी मुराकामीका बारेमा निकै पढेको-सुनेको थिएँ तर काजुओ इशिगुरोको बारेमा पहिले त्यस्तो केहि पढेको वा सुनेको स्मरण छैन। मुराकामीकै पनि कुनै कृति पढेको चाहिँ छैन मैले, अब पढ्नुपर्ला।

पोखराको हिमालयन रिडर्स कर्नर भन्ने पुस्तक पसलका विजयजीले आफ्नो पसलमा आइपुगेका नयाँ किताबहरुको जानकारी गराउनुहुन्छ, फेसबुक मेसेञ्जरका माध्यमबाट। केहि समयपहिला '२०१७ का नोबेल पुरष्कार विजेता काजुओ इशिगुरोका किताबहरु आइपुगे।' भनेर सूचिसहितको सन्देश पठाउनुभएको थियो मेसेञ्जरमा। केहि समयपछि छोरीको जाडो बिदाका लागि किताबहरु किन्न गएँ छोरीलाई लिएर। छोरीले उसका लागि किताबहरु छानीसकेपछि, आफ्ना लागि भने काजुओ इशिगुरोको कुनै किताब लिने विचार आयो। उपन्यासभन्दा कथाहरुबाट शुरु गर्नु ठिक होला भन्ने लागेर 'Nocturnes' भन्ने पाँचवटा कथाहरुको संग्रह किनें। पहिला मूल्य हेरिएनछ, पैसा तिर्ने बेला त्यो एउटा किताबकै रु ९०० देख्दा झण्डै सातो गएको :)



Nocturnes भित्रका पाँचवटै कथाहरु वैवाहिक जीवनको संकटलाई मुख्य विषय बनाएर बुनिएका छन्। र त्यो क्षणमा जोडिन आइपुग्छन् कुनै संघर्षशील संगीतकारहरु। भौतिक रुपमा सम्पन्न आजको पश्चिमी समाजको एउटा अंशको चिन्ता र चासोलाई सुरुचिपूर्ण तरिकाले प्रस्तुत गरिएको छ। विषयवस्तु र कथा बुनिएका ठाउँहरु उस्तै लागेपनि पात्रहरु र घटनाक्रम नयाँ लाग्छन् र कतैपनि दोहोरिएजस्तो लाग्दैन। हरेक कथा पढीसकेपछि वर्तमान पश्चिमी समाजका असन्तोषहरुको चित्र दिमागमा छापिन्छ। निरन्तरको भौतिक सम्पन्नताले एउटा निरसता पैदा गरेको छ उनीहरुको जिन्दगीमा। उनीहरुका पिडा र असन्तोष भौतिक छैनन् - मानसिक छन् र हाम्रो समाजका पिडा र असन्तोषभन्दा फरक छन्। विवाह वा पारपाचुके समेतलाई आफ्नो पेशामा सफलताको माध्यम बनाउने वा पेशागत सफलताकै लागि भनेर अनुहारको महंगो कस्मेटिक सर्जरी गराउने कथाहरु हाम्रो समाजमा लेखिन सक्दैनन्। हाम्रो समाज अझै गरीब र अभावग्रस्त भएकाले हाम्रो समाजका कथामा भौतिक अभावका कारण सृजित दु:ख र ब्यथाहरु बढी देखिनु यसैले अस्वाभाविक भएन।

काजुओ इशिगुरोका यी कथाहरुले मलाई विश्वविद्यालय जीवनमै पढेको The Stories of John Cheever सम्झाए।त्यो संग्रह मसंग अझै छ। हुनत, जोन चीभरका कथाहरु अमेरिकी अर्धशहरी (suburban) परिवेश विशेषमा बुनिएका छन् तर जोन चीभरका कथाहरु पढेपछि जुन अनुभूति मनमा आएका थिए, त्यस्तै-त्यस्तै अनुभूति इशिगुरोका यी कथाहरुले पनि दिए।

अब इशिगुरोका कुनै एक उपन्यास आँटनुपर्ला। 
  

January 03, 2018

प्रादेशिक 'राजधानी' को कोलाहल

देशमा नयाँ संविधान अनुसारका ३ नै तहका चुनावहरु सम्पन्न भइसकेका छन् । नयाँ संविधान अनुरुपका राजनीतिक संरचनाहरु बनेर आइसकेपछि तिनीहरुका लागि आवश्यक विभिन्न भौतिक पूर्वाधारहरु मध्ये ७ प्रदेशका राजनीतिक प्रशासनिक केन्द्रहरु सबैभन्दा प्रमुख मध्येका हुन् । यी केन्द्रलाई प्रादेशिक राजधानी पनि भनिएको छ । अहिले देशका विभिन्न भागहरु यही प्रादेशिक राजधानीको कोलाहलले गुञ्जायमान भएका छन् । कथित प्रादेशिक राजधानी आफ्नै सहरमा हुनुपर्ने मागका साथ बन्द हड्ताल समेत हुन थालेका छन् । भर्खरै सम्पन्न चुनावमा नेताहरुले ठूला भोट बैंक भएका ठाउँ जति सबैमा प्रदेश राजधानी ल्याइदिने आश्वाशन बाँडेका थिए । र अहिले पनि कतिपय नेताहरु ‘फलानो ठाउँमा प्रदेश राजधानी नभए जे पनि हुन सक्छ !’ भन्ने शैलीको गैरजिम्मेवार भाषणबाजीमा व्यस्त छन् ।
प्रदेश राजधानीको माग प्रदेशका सबै भागबाट सकेसम्म समदूरीमा पर्ने, राम्रो सडक सुविधा भएको, नवनिर्माणका लागि पर्याप्त खाली जग्गा भएको आदि मापदण्डहरुका आधारमा तुलना गरेर आएको भन्दा पनि मनोगत रुपमा मात्रै आएको धेरै देखिन्छ । यो कोलाहलमा आवाज मिसाउनेहरु मूलत २ थरी छन् । एक थरी, प्रदेश राजधानी आयो भने आफ्नो ठाउँमा अन्यत्रभन्दा धेरै सेवासुविधा आउँला भन्ने विचारले प्रेरित छन् । बजार क्षेत्रका केहीलाई आफ्ना जग्गाको भाउ बढ्ला वा आफ्ना घरभाडामा जालान् भन्ने आशा पनि होला तर आफ्नो ठाउँप्रतिको भावुकता प्रमुख देखिन्छ यो समूहमा । अर्काथरी प्रदेश राजधानीको हल्ला चलाएर बजार छेउछाउको जग्गाको भाउ बढाउनेर त्यसमा तर मार्न चाहने ‘व्यवसायी’ हरु छन् । प्रदेश राजधानी आउनु–नआउनुभन्दा पनि तिनलाई त्यसको हल्लाले दिने फाइदानै पनि काफी छ । प्रदेश राजधानी भनेर हल्ला चलाइएका केही ठाउँहरुमा हप्ता दिनमै जग्गाको भाउ ३ गुणाले बढेका समाचारहरु आइरहेका छन् ।
कथित प्रदेश राजधानीको लागि मान्छेहरु यति धेरै उत्साहित हुनुमा कुनै भरपर्दो कारण भने देखिँदैन । नयाँ संवैधानिक संरचना अनुसार नीतिनिर्माणको धेरै काम केन्द्रीय संसदले गर्ने र विकास निर्माणका धेरै काम स्थानीय तहले गर्ने भएकाले प्रादेशिक तह सामान्यतया समन्वयकारी भूमिकामै सीमित हुने देखिन्छ । शक्तिशाली स्वायत्त स्थानीय तहहरु भइसकेपछि हाम्रो जस्तो सानो देशमा प्रादेशिक संरचना आवश्यकनै देखिँदैन । यो संरचना देशको ‘राजनीति उद्योग’ का मध्यम तहका खेलाडीहरुलाई ‘ठाउँ दिन’ र ‘अल्मल्याउन’ भने काममा आउने देखिन्छ । तर, यो ‘ठाउँ दिने’ खेलले देशलाई धेरै ठूलो आर्थिक बोझ थप्ने निश्चित छ ।
संघीयता कार्यान्वयन गर्न आवश्यक केन्द्रीय, प्रादेशिक र स्थानीय संरचनाहरु निर्माण गर्न सवा ८ खर्ब रुपैयाँजति चाहिने प्रक्षेपण गरिएको छ । यो खर्चको सबैभन्दा ठूलोे अंश प्रादेशिक संरचना निर्माणमै जानेछ किनभने यो हाम्रो लागि बिल्कुलै नयाँ संरचना हो । योजना गरिए अनुसार ३ वर्षभित्रमा खर्च हुने गरी यति ठूलो रकम निकाल्ने क्षमता देशसँग छैन । यो खर्च कसरी जुटाउने भन्ने बारेमा न राजनीतिक नेतृत्व न प्रशासनिक संयन्त्र, कसैसँग पनि ‘दाता गुहार्ने’ भन्ने बाहेक अरु कुनै स्पष्ट दृष्टिकोण छैन । दाता गुहार्दा पनि यति ठूलो रकम उठ्न सक्ने सम्भावना कम छ, यसैले आन्तरिक स्रोत पनि व्यापक रुपमा परिचालन गर्नुपर्ने हुन्छ । अर्को तर्फ, कुनै पनि निर्माण कार्यमा देखिने हाम्रो चरम ढिलासुस्ती हेर्दा ३ वर्षमा यति धेरै संरचनाहरु बन्छन् भनेर विश्वास गर्न सकिने आधार पनि कतै देखिँदैन ।
पौडिन नजानेका हामीहरुलाई एकै पटक समुद्रमा फ्याँकिएको छ, अब हामीसँग कि पौडिन सिकेर तैरिनु, नभए डुब्नुको विकल्प छैन । यो संघीयताको अभ्यास गर्ने, यसको सम्भव भएसम्म सदुपयोग गर्ने, संरचनाका कमीकमजोरीहरुलाई समाधान गर्दै जाने र एक दशकपछि गम्भीर समीक्षा गर्नुपर्ने स्थिति छ ।
हाम्रो देश विगतमा चरम काठमाडौं केन्द्रित राजनीतिले निर्देशित रह्यो । मोफसलमा आवश्यक संख्यामा गतिला सभासम्मेलन हलहरु समेत बनेनन् । केही प्रदेशमा प्रादेशिक संसदनै पार्टी प्यालेस र सिनेमा हलहरु भाडामा लिएर राख्नु पर्ने सम्भावना समेतको कुरा भयो । संसदपछि गभर्नरका निवास, मन्त्रालयहरु, मन्त्रीहरुका निवास आदि थुप्रै संरचनाहरु आवश्यक पर्छन् । यी सबैका लागि अहिले सम्बन्धित प्रदेशको कुनै एक ठूलो सहरलाई कथित राजधानी तोकेर त्यहाँ रहेका सरकारी भवनहरुलाई उपयोग गर्ने कामचलाउ निर्णय गरिएको छ ।


यो काम चलाउ संरचनामा भुलेर बस्नु घातक हुनेछ । राज्यले प्रादेशिक संरचनाको लागि दीर्घकालीन योजना बनाएर तुरुन्त काम सुरु गर्नुपर्छ । पहिलो काम भनेको स्थायी रुपमा प्रदेशको केन्द्र राख्ने ठाउँ तोक्नका लागि आवश्यक मापदण्ड निर्धारण गर्नु हो । हचुवाका भरमा मनोगत रुपले केन्द्र कहाँ राख्ने भनेर निर्णय गर्नु हुँदैन । हामीसँग अहिले भएका कुनै पनि सहररुहरु योजनाबद्ध विकास भएका हैनन् र तिनलाई अब चाहे जसरी योजनाबद्ध बनाउने वा विस्तार गर्न सकिने सम्भावना पनि खासै छैन । यसैले नयाँ योजनाबद्ध आधुनिक सहरहरु निर्माण गरेर तिनलाई स्थायी प्रादेशिक केन्द्रहरुको रुपमा अघि बढाउनु सबैभन्दा राम्रो हुन्छ ।
यसरी जगैबाट नयाँ सिर्जना गरिने सहरलाई आवश्यकता अनुसार योजनाबद्ध बनाउन र अत्याधुनिक सुविधाहरुद्वारा सुसज्जित गर्न सकिन्छ । सहरका हरेक सडक, भवन र सार्वजनिक संरचनालाई पूर्ण अपांगमैत्री बनाउन सकिन्छ । यी सहरका हरेक भवनमा बिजुली र टेलिफोन लाइन मात्र होइन पानी, ग्याँस आदि समेत केन्द्रीय प्रणालीबाट वितरण गर्न सकिने हुनेछ । साथै सहरका हरेक कुना र हरेक भवनका हरेक कोठामा अप्टिकल फाइबर लान सक्ने गरी निर्माण गर्न सकिन्छ । यसरी सहर निर्माण गर्ने हो भने प्रशासनिक कामकाज र यातायात लगायतका अरु सेवाहरुलाई अधिकतम हिजिटलाइज्ड गर्न पनि गाह्रो हुँदैन । यस्ता सहरहरु नै वास्तविक अर्थका स्मार्ट सिटी बन्न सक्छन् । यसरी नयाँ सहर निर्माण गर्दा यिनले प्रदेशको अर्थतन्त्रलाई गतिशील बनाउन र थुप्रै नयाँ रोजगारी र व्यवसाय सिर्जना गर्न पनि योगदान दिनेछन् ।
७ प्रदेशहरु मध्ये प्रदेश नं ४ लाई ‘राजधानी तोक्नका लागि कुनै समस्या नभएको’ प्रदेशका रुपमा चर्चा गरिएको छ र पोखरालाई यसको निर्विवाद राजधानी मानिएको छ । पोखरा निश्चित रुपमा प्रदेश ४ मा सबैभन्दा सुविधा सम्पन्न सहर हो र प्रदेश केन्द्रको तत्काल व्यवस्थापन गर्न योभन्दा उपयुक्त अर्को विकल्प नदेखिएला । तर, प्रदेश केन्द्र स्थायी रुपमै यहाँ राख्नु पोखराको लागि कति घातक हुन सक्छ भनेर छलफल गरिएको छैन ।
पोखराको कमजोर भौगोलिक बनावटलाई हेर्दा यहाँ अझै बस्ती विस्तार गर्नु र जनसंख्या थप्नु सुरक्षित छैन । पोखराको अहिलेको जनसंख्यानै बढी भइसकेको छ । प्रादेशिक संरचना पनि यहीं थोपर्दा पोखरा भिडभाड र प्रदूषणको मापदण्डमा अर्को ‘काठमाडौं’ बन्ने जोखिम पनि छ । पोखराको पहिचान प्रकृति र पर्यटन हो, देशको पर्यटकीय राजधानीको रुपमा यसको बलियो पहिचान अहिल्यै छ । राजनीतिक हिसाबमा पनि पोखरा महानगर आफैं एउटा सम्पन्न र बलियो तह हो । यसकारण, पोखरालाई प्रादेशिक केन्द्रको बैशाखी चाहिने बिल्कुलै देखिँदैन । प्रादेशिक केन्द्र बनाउने हठले बरु पोखराको पर्यटकीय पहिचान नष्ट गर्न सक्छ ।
प्रादेशिक संरचनाहरु राख्दा आर्थिक गतिविधि बढ्छ भनेर मान्ने हो भने पनि पोखराभरि छरेर राखिने विभिन्न ‘मन्त्रालय’ र कार्यालयहरु वरपर फष्टाउने भनेको ‘कोठाभाडा’ र ‘चिया चुरोट’ अर्थतन्त्रमात्र हो र त्यस्तो टुक्रे आर्थिक गतिविधिले पोखराको अर्थतन्त्रमा उल्लेख्य योगदान दिन पनि सक्दैन । अब प्रयोगमा नआउने भनेर मानिएका नेपाल सरकारका साबिकका क्षेत्रीय कार्यालय र अन्य संरचनाहरुलाई महानगरलेनै ग्यालरी, म्युजियम, सुविधासम्पन्न पुस्तकालय जस्ता रचनात्मक प्रयोगमा लगाउन सक्छ । संरचना रहेको ठाउँ हेरी व्यापारिक गतिविधिमै पनि लगाउन सकिन्छ । यसरी निर्माण हुने अर्थतन्त्र प्रादेशिक संरचना राख्दा सिर्जना हुने अर्थतन्त्रभन्दा सानो हुनेछैन ।

पोखरामा प्रादेशिक संरचना राख्दा पोखरा र अन्य भेग बीचमा अहिल्यै रहेको विकास असन्तुलन अझ बढ्ने अर्को पाटो पनि छँदैछ । लेखनाथ क्षेत्रबाट त विरोधको स्वर पनि उठीसकेको छ । एउटै महानगरमा रहेर पनि विकास र सुविधाका दृष्टिमा लेखनाथ क्षेत्रनै पोखराभन्दा पछि परेको स्थिति छ भने महानगर बाहिरका अरु क्षेत्र झन् पछि पर्नु अस्वाभाविक भएन । तर, प्रादेशिक संरचनाहरु लेखनाथमा राख्नुपर्छ भनेर उठेकोे आवाजलाई नेतृत्व दिइरहेकाहरुले पनि फराकिलो दृष्टिकोण प्रस्तुत गरेको भने देखिएको छैन । प्रादेशिक संरचनालाई नयाँ सहरको रुपमा विकास गर्ने भन्दा पनि केहि ‘मन्त्रालय’ हरु सम्म लेखनाथमा लैजान बार्गेनिङ गर्ने मनशायमात्र देखिन्छ ।
लेखनाथमा प्रादेशिक संरचना राख्दा पोखरा महानगरको विकास असन्तुलन निश्चित रुपमा कम हुन्छ तर यो संरचनालाई योजनाबद्ध नयाँ सहरको रुपमा विकास गर्न चाहिने एकै ठाउँमा रहेको हजारौं रोपनी खाली जग्गा लेखनाथमै पनि सायद बाँकी छैन । कृषियोग्य फाँट मासेर सहर बसाउनु गर्न हुने काम होइन, फेरि यसमा अधिग्रहण र मुआब्जा वितरणको झमेलालेनै वर्षौं खाइदिन सक्छ । सरकारी स्वामित्वको जग्गा धेरै भएको ठाउँ रोज्दा यस्ता जटिलताहरुको सामना गर्नु पर्दैन । अर्कोतिर, लेखनाथ आफैं पनि पोखराकै प्रतिस्पर्धी पर्यटन उद्योग विकास गर्न सकिने ठाउँ हो । यसैले प्रदेशको केन्द्रका लगि पोखरा र लेखनाथ बाहेकका विकल्पहरुका बारेमा छलफल चलाउनु उपयुक्त हुने देखिन्छ । पर्याप्त खाली ठाउँ भएको, राजमार्गसँग जोडिएको, भविष्यमा विस्तार भएर अरु साना सहरहरुसँग जोडिन सक्ने, उत्तर दक्षिण दुवैतिरबाट पायक पर्ने आदि कारणहरुले गर्दा तनहुँ जिल्लाको भिमादक्षेत्र प्रादेशिक केन्द्रका रुपमा उपयुक्त हुन सक्छ भनेर पनि चर्चा सुरु भएको छ । यो लगायत प्रदेश नं ४ को विशाल भूगोलभित्र सम्भाव्य अरु ठाउँहरुको पनि अध्ययन गरेर छिटो निष्कर्षमा पुग्नु आवश्यक छ ।
(गौतम काश्यपी रिसर्च, कन्सल्टेन्सी एन्ड ट्रेनिङ कं. लिमिटेडमा आवद्ध छन् ।)
- २०७४, पौष १७ गते तदनुसार् ईस्वी सम्वत २०१८, जनवरी १ मा 'समाधान राष्ट्रिय दैनिक'मा प्रकाशित