April 01, 2012

कमेडीका विषयमा

अलिक पहिलाको एक बिहीबार, नेपाल टेलिभिजनको 'तितो सत्य' भन्ने कमेडी कार्यक्रमले लिंग परीवर्तनको विषयलाई केन्द्रमा राखेर प्रस्तुत गरेको थियो। त्यो बेला एकजना युवा लिंग परीवर्तन गरेर युवती बनेको घटनाको चर्चा भईरहेको थियो। 'तितो सत्य'ले यो विषयलाई छान्नुनै पनि आवश्यक थिएन, किनभने यो एकजना व्यक्तिको नितान्त नीजि मामिला थियो, यसले समाजका अरुलाई कुनै हानि गरेको थिएन। कार्यक्रममा यो विषयलाई अति घटिया ढंगले पेश गरिएको थियो। मलाई नेपालका कमेडी कार्यक्रमहरुको संवाद, प्रस्तुति र समग्र स्तर अत्यन्त दयनीय लाग्छ। यसैले यस बारेमा एउटा लेख लेखेर कान्तिपुर दैनिकमा प्रकाशनार्थ पठाएको थिएँ। 

नेपाली कमेडीका कमजोर प्रस्तुति

नेपाली टेलिभिजनहरुमा वर्षौंदेखि उनै मानिसहरुले चलाउँदै आएका धेरै हास्यव्यंग्य (कमेडी) कार्यक्रमहरु छन्। स्तरका हिसाबले कहिलेकाहीँ मात्रै यी कार्यक्रमहरु साँच्चैका कमेडी लाग्छन्, धेरैजसो समय यीनले अत्यन्त बच्काना हाऊभाऊ र अपरिपक्व संवादमात्रै पस्किने गरेका छन्। यिनले समसामयिक घटनाक्रमहरुलाई लिएर गर्ने एकाध रमाईला टिप्पणी र ब्यंग्यका कारण धेरै मानिसहरु अझै पनि यी कार्यक्रमहरु हेर्छन्। यिनका समसामयिक टिप्पणीहरु मध्येपनि सबैमा यिनले विषयगत-प्रस्तुतिगत गम्भिरता देखाएका हुँदैनन्, कहिलेकाहीँ यिनको प्रस्तुति अत्यन्त घटिया र लाञ्छनायुक्तमात्रै हुन्छ।

सरकारी च्यानलबाट साप्ताहिक रुपमा नियमित प्रसारण हुने एउटा कार्यक्रमको केहि पहिलाको भाग यस्तै घटिया प्रस्तुतिको एउटा उदाहरण हो। हालै मात्र एकजना ब्यक्तिले गरेको लिङ्ग परीवर्तनको घटनालाई प्रमुख विषय बनाएको उक्त कार्यक्रमले विषयको गम्भिरतालाई अलिकति पनि पक्रिन सकेको थिएन। कार्यक्रमले न सम्बन्धित व्यक्तिको मनोविज्ञान र निजी जीवनको संवेदनशीलतालाई ख्याल गरेको थियो र न प्रस्तुतिनै गतिलो थियो। हल्काफुल्का ‘आवाराछाप’ संवाद र त्यहि स्तरका हाऊभाऊ पस्केर उक्त कार्यक्रमले यो विषयका प्रति समाजमा अत्यन्त नकारात्मक धारणा सृजना गर्न खोजेको छ। एक-दुई ठाऊँमा ‘समर्थन’ र ‘सहानूभूति’का केहि वाक्यहरु हालेजस्तो गरेपनि पूरै कार्यक्रमको नकारात्मक संरचनाका कारण तिनको कुनै प्रभाव देखिएको छैन।

उक्त कार्यक्रमले यो विषयलाई हाँसोको माध्यम बनाउन हतारिएर ठूलो गल्ती गरेको छ। यो एकजना व्यक्तिको नीजि जीवनको नितान्त नीजि मामिला हो र यसलाई कथित हास्यब्यंग्यको विषय बनाउनुपर्ने कुनै कारण छैन। नेता र प्रशाशकहरुले गर्ने भ्रष्टाचार, महंगी वा अभावजस्ता जनताका जीवनसंग जोडिएको र जीविकालाई कष्टकर बनाउने कुरो होईन यो। देशमा विकृति र विसंगतिका कहिल्यै नरित्तिने ‘खानी’हरु धमाधम सृजना भईरहेका बेला अरु सबै छोडी यहि विषय पक्रनुले यो कार्यक्रम बनाउनेहरुको दिमागले काम गर्न छोडीसकेको मात्रै देखाऊँछ।

यस्तै, एउटा अर्को कार्यक्रमले केहि भागमा बर्ड फ्लूलाई आफ्नो विषय बनाएको थियो। यहाँ पनि बर्ड फ्लूलाई अत्यन्त सतही र हल्का बनाएर पेश गरिएको थियो। विषयका हिसाबले बर्ड फ्लूपनि कुनै हास्यब्यंग्य कार्यक्रमाका लागि असाध्यै योग्य भने होईन तर यसलाई छानिसकेपछि यसैलाई माध्यम बनाएर सरकार र यससंग सम्बन्धित अरुहरुको निकम्मापनलाई रचनात्मक तरिकाले ब्यंग्य गर्ने कौशल देखाउन सक्नुपर्थ्यो कार्यक्रमले। यसको रोचक प्रस्तुतिले जनचेतना बढाउने काम समेत गर्न सक्थ्यो होला।

कमेडी मानव सभ्यताको एउटा पूरानो कलाकर्म हो। मानव जातिले अभिनय कला सिकेदेखिबाटै यो कलाको एउटा अंशको रुपमा कमेडीको अस्तित्व रहेको छ। पौराणिक कालदेखिनै शाशकहरुका दरबारमा विदूषकहरु रहेका प्रसंग भेटिन्छन्। सञ्चार माध्यमको अहिलेजस्तो विकास नहुञ्जेल शाशक र प्राभावशाली सामन्तहरुलाई ‘हँसाउने’ यिनै विदूषकहरु थिए। नेपालमा पनि राणाकालसम्मै यस्तो प्रचलन रहेको देखिन्छ। तर जनताहरु पनि नहाँसी बसेका भने थिएनन्। हाम्रा धेरै जात्रा, चाडपर्व आदिमा सामूहिक हास्यव्यंग्य (मास कमेडी) पनि समाहित भएको पाईन्छ। समाजमा टेलिभिजन पस्नुअगाडिसम्म गाऊँ-घरमा गरिने नाटकहरुको एउटा मुख्य ध्येय पनि ‘हँसाउनु’नै हुन्थ्यो।

नेपाली कमेडीले कहिले आधुनिक स्वरुप ग्रहण गर्यो भनेर ठ्याक्कै भन्न अलिक धेरै अनुसन्धानको आवश्यक पर्छ, तर के कुरा निर्धक्क भएर भन्न सकिन्छ भने रेडियोको प्रचलन बढ्दै जाँदा नेपाली कमेडीले अगाडि फड्को मार्ने एउटा गतिलो माध्यम भेटेको हो। रेडियोका नाममा सरकारी रेडियो नेपालमात्रै हुँदा-हुँदै पनि रेडियोले नेपाली कमेडीलाई विकास गर्न ठूलो योगदान दिएको हो। लामो समय नियमित हुन नसके पनि रेडियोबाट बज्ने रसरंग जस्ता कार्यक्रमका कमेडी जनतामा लोकप्रिय थिए। प्रत्यक्ष रुपमा भ्रष्टाचार र बेथितिबिरुद्ध ब्यंग्य कस्न र अप्रत्यक्ष रुपमा तत्कालीन पञ्चायती निर्दलीयता र दमन विरुद्ध जनमत सृजना गर्न समेत यी कमेडी कार्यक्रमहरु प्रयोग हुन्थे।

आधुनिक नेपाली कमेडीको इतिहासमा सबैभन्दा प्रभावकारी छाप मह जोडीकै छ भन्ने कुरामा कसैको दुईमत नहोला। विषय चयनको विविधता, प्रस्तुतिको कलात्मकता, संवादको रचनात्मकता तथा मौलिकता र लक्षित सन्देशको सफल संप्रेषणका हिसाबले मह जोडीलाई जित्न सक्ने अर्को समूह वा ब्यक्ति अझै देखिएको छैन। पञ्चायत विरुद्ध जनमत सृजना गर्न पनि महका कमेडीहरुको ठूलो योगदान छ। त्यतिखेर महका कमेडी क्यासेटहरु जनताले खोजीखोजी सुन्ने र जतन गरेर राख्ने सम्पत्ति थिए। बहुदल आईसकेपछिका केहि वर्षपनि महले भ्रष्टाचार र बेथितिमाथि ब्यंग्य कस्दै थिए तर त्यसपछि मह जोडी बिस्तारै सामजिक सन्देश बोकेका कार्यक्रममा बढी लागेको देखिन्छ। र मह जोडीको अनुपश्थितिलाई बिर्साउने गरी कोहि निस्कन सकेको देखिँदैन।

टेलिभीजनको प्रसारण शुरु भएपछि कमेडीले अझ सशक्त मञ्च पाएको हो। टेलिभीजन च्यानेहरु थपिँदै जाँदा कमेडीका कलाकारहरुका लागि अवसर पनि थपिएका छन्। नेपाली टेलिभीजनका अरु कार्यक्रम नहेर्नेले पनि ‘हिजो आजका कुरा’, ‘तितो सत्य’ आदि जस्ता कमेडी कार्यक्रमहरु भने हेर्छन्।

तर दु:खलाग्दो कुरो के छ भने टेलिभिजनहरुबाट प्रसारित हुने नेपाली कमेडीहरुमा परिपक्वता बिल्कुलै देखिन्न। (माथि उल्लेख गरिएजस्ता केहि बाहेक) प्रमुख मुद्दा (विषयवस्तु)को चयनमा खासै ठूलो समस्या छैन। सबैजसोले समसामयिक घटनाक्रमबाटै विषय लिएका हुन्छन्, अन्तर्राष्ट्रिय चलन पनि यस्तै देखिन्छ। नेपाली कमेडीहरुको सबैभन्दा ठूलो समस्यानै विषयवस्तुलाई संप्रेषण गर्ने संवाद र अभिनयमा देखिन्छ। कार्यक्रम चलाउनेहरुलेनै लेख्ने भएर होला, संवादको भाषा र प्रवाह एकदम कमजोर हुन्छ। विदेशमा कमेडी कार्यक्रमहरुमा संवादको पाटो हेर्न छुट्टै लेखकहरु हुन्छन्। स्वाभाविक हो, कार्यक्रम बनाउन जान्ने वा अभिनयनै गर्न जान्नेहरुमा पनि संवादलाई सरल-सरस र प्रवाहमय बनाउन सक्ने क्षमता हुनैपर्छ भन्ने छैन। नेपाली कमेडीहरुले यो पक्षमा ध्यान दिनै पर्ने देखिन्छ।

अभिनयको कुरा गर्दा सबै टेलिभिजन कमेडीहरु ‘अति अभिनय’ (ओभर एक्टिङ्ग)को शिकार भएका छन् (ओभर एक्टिङ्गकै कुरा गर्दा कति ठाऊँमा मह जोडी पनि यसबाट मुक्त हुन नसकेको देखिन्छ।)। शरीरको चाल र बोलीलाई सकेसम्म अस्वाभाविक नबनाएसम्म कमेडीनै चल्दैन भनेजस्तो गरिन्छ। अझ अगाडि बढेर शारीरिक वा मानसिक अशक्तता भएका पात्रहरुको हाऊभाऊ वा बोल्ने तरिकालाई समेत हाँसोको माध्यम बनाईन्छ। अरुको पिडामा रमाउने परपीडक मनस्थिति भएकाले मात्र यस्तो गर्न सक्छन्। के सहज अभिनय र संवादले हाँसो र ब्यंग्यलाई बोक्नै सक्दैनन् र? विदेशी भाषाका कमेडीहरु हेर्दा त यस्तो लाग्दैन। नेपाली कमेडी चलाउनेहरुले आजभोलि प्रसारित भईरहेका हिन्दी वा अंग्रेजी कमेडीहरुमध्ये एक-दुईटामात्रै हेर्ने गरे पनि हुन्थ्यो जस्तो लाग्छ।

अर्कोतिर, अझै पनि गैर नेपाली मातृभाषा बोल्ने समुदायका सदस्यले नेपाली बोल्दाको लवजलाई समेत हाँस्यव्यंग्यको ठूलो माध्यम मानिन्छ। केहि समयअघिसम्म त मधेशी नागरिकले नेपाली बोल्दाको लवज नराखे कमेडीनै बिक्दैन जस्तो गरिन्थ्यो। यो तरिका पनि कसैको बाध्यतालाई ‘उडाउनु’ बाहेक अरु केहि होईन।

यसरी विषयवस्तु ठिकै हुँदाहुँदै पनि संवाद र अभिनयमा कुनै रचनात्मकता नहुनेबित्तिकै कार्यक्रमले दिन खोजेको सन्देश पनि त्यसै अल्मलिएर जान्छ। 

के नेपालका कमेडी शोहरुबाट हामीले आशा गर्नसक्ने भनेको यत्तिमात्रै हो?

टेलिभिजनका यस्ता नेपाली कमेडी कार्यक्रमहरुमा वर्षौंदेखि उनै अनुहारहरुको हालीमुहाली छ। यिनले कसैसंग प्रतिस्पर्धा पनि गर्नुपरेको छैन, लाग्छ कसैले पनि यिनलाई ‘हास्यब्यंग्य’को यो स्थायी ‘जागिर’बाट हटाउन सक्दैन। यिनीहरुमा विकसित जागिरे मानसिकताले यिनको रचनात्मकतालाई भने भुत्ते बनाऊँदै लगेको छ। अर्कोतिर, प्रतिष्पर्धावीहीन यहि वातावरणमा नयाँ पुस्ता र नयाँ अनुहारहरुले यथेष्ट अवसर पाउन पनि गाह्रो छ। परिणाम, दर्शकहरु बच्काना हाऊभाऊ हेरेर र संवाद सुनेर त्यसैलाई नेपाली कमेडी मान्न बाध्य छन्।

अब नेपाली कमेडीले आफूलाई पुनर्परिभाषित गर्ने र परिपक्व बनाउनुपर्ने बेला आएको छ। कमेडी कार्यक्रमहरुको एउटा भरपर्दो रेटिङ्ग (मूल्यांकन) प्रणाली जरूरी भईसकेको छ। त्यस्तो प्रणालीले कमेडीहरुको विषय, संवाद र प्रस्तुति सबैको मिहिन विश्लेषण गर्न सक्नुपर्छ। त्यस्तै, उक्त रेटिङ्ग प्रणालीले आम दर्शकहरुको मतलाई पनि भरपर्दो गरी समेट्न सक्नुपर्छ। कार्यक्रमको रेटिङ्ग केहि समय लगातार खस्कन थालेपछि कार्यक्रम बनाईरहेको समूहलाई हटाएर नयाँ समूहलाई कार्यक्रम बनाउन र चलाउन दिईनुपर्छ। यसो गर्दा एकातिर कार्यक्रम बनाउने/चलाउनेहरुले मेहनत गरीरहन्छन्, आफ्ना उत्पादनमा रचनात्मकता कायम राख्ने कोशिश गरीरहन्छन्; अर्कोतिर नयाँ-नयाँ कार्यक्रम उत्पादक र कलाकारहरुका लागि पनि पनि अवसरका सम्भावना बढ्छन्।

अनि बल्ल हामीले साँच्चै हाँस्न पाऊँथ्यौं कि? र व्यंग्य पनि अझ सशक्त हुन्थे कि?


थोरै सम्पादनसाथ छापिएको त्यो लेख तपाईँ यहाँ पढ्न सक्नुहुन्छ, हास्यव्यंग्यको स्तर कसरी उकास्ने? 

4 comments:

  1. प्रशान्त श्रेष्ठApril 1, 2012 at 11:12 AM

    "अब नेपाली कमेडीले आफुलाई पुनर्परिभाषित गर्ने र परिपक्व बनाउनु पर्ने बेला आएको छ l" अपरिपक्वताले लेस्सियेका त्यस्ता कार्यक्रमहरु हेर्दा टाउको दुख्ने गरेको छ l जबर्जस्ति गरि हँसाउन खोज्ने त्यस्ता गुणस्तरहीन कार्यक्रमहरुले भन्दा बरु समाचारमुलक, ज्ञानबर्दक, विज्ञानका वा अन्य सिर्जनशील कार्यक्रमहरुले ठाउं पाओस भन्नेमा मेरो मत रहेको छ l

    ReplyDelete
  2. अझ महत्त्वोपूर्ण बिषय त यि झल्ला कार्यक्रम बाल्बालिकाको लागि कति प्रत्युपादक छन भन्ने हो । एउटा नाम तितो सत्य काम असत्य कार्यक्रमले राखेको बालकलाकार को भूमिकाले त बाल्बालिकालाई चुत्थ्थो, मान्यजन आभिभाबकलाई बुढो, आदी अमर्यादित शब्द घोकाइ रहेको हुन्छ कहिले काहित अझ घटिया रुपमा देखाइएको हुन्छ । मेरो घरमा त त्यो कार्यक्रम कसैले हेर्दैन यो पनि ३ बर्ष अघि बाटै मलाई यो ज्ञान आएको थियो। नकारात्मक भूमिका वा बिषयमा मात्र हास्य कार्यक्राम बनाउदा तेस्ले समाजलाई झनै बिगारेर लैजान्छ। तपाईं पनि साना नानी सँग बसेर यस्तो बिख कार्यक्रम नहेर्नुस है!

    ReplyDelete
  3. पेशागत/कार्यगत जिम्मेवारी बोध कहिँ पनि नहुनुको परिणती होला यो कुरा । ब्लगमा लेखिएको र अपेक्षा गरिएको स्तरमा आउन अझै थुप्रै समय लाग्ला सायद हामीलाई ।

    ReplyDelete