May 28, 2011

आज दीपावली हुनुपर्ने थियो!

आज २०६८ साल जेठ १४ गते।

आजको दिन नेपालको इतिहासको एउटा उल्लासमय दिन हुनुपर्ने थियो। खासमा, २०६७ को जेठ १४ नै यस्तो दिन हुन सकेको भए अझ सुनमा सुगन्ध हुने थियो। ठिकै छ, त्यो एक वर्ष हामीले राम्रो संविधान बन्ने सदाशयलाई छोडोदियौं। यसैले आज नेपालभरि दिपावली गरिने दिन हुनुपर्ने थियो। नेता र दलहरुले ईमान्दारिता देखाउन सकेको भए, उनीहरुमध्ये केहिमात्रै पनि 'नेता' बाट 'राजनेता' बन्न सकेको भए देशले नयाँ लोकतान्त्रिक संविधान पाईसक्ने थियो। यसरी देश राजनीतिक अनिश्चितताको एउटा भुमरीबाट पार लागिसक्ने थियो र अरु कुरामा ध्यान दिन सक्ने थियो। सात साल देखिको हाम्रो ला--मो राजनीतिक संक्रमणले एउटा टुंगो पाउने थियो र हामी राजनीतिक स्थायित्वको चरणमा प्रवेश गर्ने थियौं।

तर नेपाल र हामी नेपालीको दुर्भाग्य! त्यस्तो हुने सकेन र हामी यतिखेर चरम अराजकता र असुरक्षा झेल्न बाध्य भएका छौं। हाम्रो भविष्यले अनिश्चितिताको गहिरो अन्धकारपूर्ण स्वरुप लिएको छ।
हामी कसरी यस्तो भिरमा आईपुग्यौं? दोष कस्को?

जुन संविधानसभा हामीले चुनेर पठायौं, त्यसैको। दिनरात पसिना चुहाएर खाने नेपाली जनताले एउटा मौका पाएका थिए, तिनले दल र नेताका कुरा सुने र त्यसकै आधारमा प्रतिनिधि चुनेर पठाए। तर दल र नेताहरुले जनताको आशा र विश्वाशमाथि अनगिन्ती छुर प्रहार गरे। संविधान बनाउने जुन मूल दायित्व तिनको काँधमा थियो, त्यसलाई उपियाँले लाशलाई छोडेझैङं सर्लक्क छोडे र सत्तालिप्साको निकृष्ट खेलमा लागे। बाँकी शान्ति-सुरक्षाका कुरा र देशलाई आर्थिक/सांस्कृतिक सबलता दिने कुरामा पनि तिनले सिन्को पनि भाँचेनन्, उल्टो सक्दो अराजकता निर्माण गरे। 
जनता विचरा अवाक छन्। तिनले पाँच-सात वर्षमा एक पटक आफ्नो अभिमत दिन पाऊँछन्, तर हरेक पटक तिनले छानेका कथित जनप्रतिनिधिहरु निकृष्ट, स्वार्थी र बेईमान निक्लिन्छन्। एउटा चुनाव सकिएपछि अर्को चुनाव नआऊञ्जेल तिनले न जनता सम्झन्छन्, न जनतासंग गरेका वाचाहरु सम्झन्छन्। संविधानसभाको चुनाव अरुभन्दा फरक भएकाले यसपटक भने अलि फरक देखिएलान् भन्ने हाम्रो झिनो आशा पनि निराशामा परिणत भयो।

रात परेपछि 'तात्ने' हाम्रा नेताहरु अहिले साना र ठूला 'कोठे' बैठकमा ब्यस्त छन्। देशका चौटालाई कसरी भाग लगाउने र कसले ठूलो साँप्रो पार्ने 'बार्गेनिङ्ग' जस्तो देखिन्छ यो। यहि मौकामा यतिखेर आएर संविधान जारी गराउन 'दबाब' दिने थरी-थरीका विदूषकहरु सडकमा छ्याप्छ्याप्ती छन्। ती विदूषकहरु कहिले देशलाईनै बन्द गर्दिन्छन्, कहिले सडकभरि अराजकता र असुरक्षा थपिदिन्छन्। अब बन्दै नबनेको संविधान कसरी जारी हुन्छ? समय छँदै बनाउन दबाब दिएको भए पो अहिले जारी गर्न दबाब दिन सुहाऊँथ्यो।

यो संविधान सभाको म्याद थप्ने-नथप्ने कुरामा अड्केको छ देशको राजनीति अहिले। नथपे देश झन् अराजकतातिर जाने सम्भावना छ, थपेपनि नेताहरु अब ईमान्दार बन्लान् भनेर कसैले विश्वाश गरेको छैन। थपिएला पनि भोलि मध्यरातमा, अरु बाटो छैन। अब थपिएको म्यादमा पनि संविधान बनेन भने (ब्यक्तिगत रुपमा मलाई लाग्छ, बन्नेछैन), जनताको धैर्यको बाँध टट्नेछ र फेरि अर्को एउटा ठूलो विद्रोह अवश्यंभावी छ नेपालमा। त्यो बेला यो संविधानसभा र अहिलेका दल, नेताहरु सबै बढारिने छन्।  नेपाल र नेपालीले आफ्नो लागि नयाँ बाटो खोज्नेनै छन्।

थरी-थरीका रिसोर्टहरुमा जारी कथित बैठकहरु र सडकमा देखिने अराजकताले मलाई आफ्नै एउटा कविताका केहि हरफहरु सम्झाईरहन्छन् घरी-घरी।  

भित्र बैठकमा,
हिसाब नमिलेर होला भागबण्डाको-
लूटेराहरु एक आपसमा औँला ठड्याईरहेछन्
र बाहिर,
'जिन्दाबाद', 'मूर्दाबाद' उचालीरहेका सडकहरुमा
भविष्यको पदचाप सुनिदैन।

3 comments:

  1. देशमा असाध्यै नराम्रो संस्कार बस्यो | कुनै काम बेलामा नगर्ने र घडी बितेपछि मध्यरातसम्म रंग्मंगिने | आफ्नै गल्तीबाट नसिक्नेले अरुलाई के सिकाउँछन् खै ?

    ReplyDelete
  2. यिनीहरुलाइ माफी मागेर विगतको भुलबाट पाठ सिक्छु र गल्ति सुधार्छु भन्दैमा पत्याइहाल्ने स्थिति पटक्कै छैन, खासमा त्यसो गर्न पनि धेरै ढिला भैसकेको छ । तर विकल्परहित भए पछि कसको के लाग्छ र ?

    ReplyDelete