गत बुधवार दिऊँसोको कुरो हो। कलंकीमा एउटा माईक्रोमा बसीरहेको थिएँ। माईक्रो खाली-खालीनै थियो, खलासी भाइ "सुन्धारा, रत्नपार्क--" भन्दै घोक्रो सुकाईरहेका थिए।
"रत्नपार्क हो--?" भन्दै एकजना मंगोल अनुहारका विदेशी बृद्ध पसे र मसंगै बसे। तिनको नेपाली उच्चारण राम्रो थियो।
"तपाईँ यो पढ्नु होला।--" एकछिनपछि तिनले मलाई दुई साना रंगीन पुस्तिकाहरु दिए। ति क्रिश्चियन धर्म-प्रचारका सामाग्री थिए। "यहोवाका साक्षी" रहेछन् ती बूढा बा।
"तपाईँ कोरीयाबाट हो?" मैले उनलाई नेपालीमा सोधें।
"हैन, म जापानबाट हो।"
त्यसपछि त के चाहियो, मलाई त 'माईती' भेटेजस्तो लाग्यो:) अनि म उनीसंग जापानीमा कुरा गर्न थालें। उनीपनि खुशी भएर आधा नेपाली, आधा जापानीमा कुरा गर्न थाले। उनी नागोया नजिकैको गीफु प्रान्तको ताकायामा भन्ने ठाऊँका रहेछन्। ताकायामा समृद्ध साँस्कृतिक ईतिहास र परम्पराहरु भएको सानो प्राचीन शहर हो। ताकायामा हुँदै केहि यात्रा गरपेनि त्यहि शहर घुम्ने मेसो परेन मेरो कहिलेपनि।
उनी सेवानिवृत्त भएपछि नेपाल पसेका रहेछन् र नेपालमा बसेको केहि वर्ष भईसकेको रहेछ। आफ्नी श्रीमती र छोरीका साथ किर्तिपुरमा बस्दारहेचन् उनी। उनी नेपालमा यहोबाका सन्देशहरु फैलाउन दत्तचित्त भएर लागेका रहेछन्।
उनको भनाईअनुसार यतिखेर नेपालमा धेरै सेवानिवृत्त जापानीहरु बसीरहेका छन्। जापानजस्तो महंगो ठाऊँमा निवृत्तिभरणको कमाईले बाँच्न साह्रै गाह्रो हुने तर नेपालमा आरामदायक र धनी बनेर बाँच्न सकिने उनको कुरा सोह्रै आना सत्य हो। अनि उनी पहिला शहरको बीचतिरै बसेका थिए रे तर सफा हावाको खोजीमा किर्तिपुर सरेका रे। जे होस् उनी नेपाल बसाईमा पूर्ण सन्तुष्ट देखिन्थे। कम्तिमा पनि २-३ लाख येन हुने उनको पेन्सनले नेपालमा 'राजा'को जिन्दगी जिउन सकिन्छ पनि।
"नेपालमा पनि ठिकै छ, तर यातायात भरपर्दो भईदिए जिन्दगी अझ सुखी हुन्थ्यो होला।" मैले भनें। सार्वजनिक यातायातको साधनभित्र भईरहेको कुराकानीले गर्दा मेरो मनमा अरु नभएर त्यै नै कुरो उब्जेको होला त्यसबखत।
"हो त्यो त!" उनले सही थापे, "अनि अर्को समस्या पनि छ नेपालको। मान्छेहरु समयलाई खासै महत्व दिँदैनन्, केहि कुरो पनि भनेको समयमा हुँदैन। मान्छेहरु आफ्नो बाचा पनि पूरा गर्दैनन्।"उनको कुरालाई शतप्रतिशत स्विकार गर्नुको विकल्प थिएन मसंग। नेपाली मानसिकतालाई ठ्याक्कै उतारेका थिए उनले आफ्नो कुरामा। हामी ठ्याक्कै त्यस्तै छौं। अर्कोतिर जापानीहरु हामीभन्दा ठिक विपरीत ध्रुबमा उभिएका छन्, सेकेण्ड-सेकेण्डलाई महत्व दिन्छन् र आफ्नो बचनका पक्का हुन्छन्-बाचा गरेपछि पूरा गर्छन्-गर्छन्, निभाउन नसक्ने भए बाचै गर्दैनन्।
तिनीसंग छुट्टिएपछि म प्रज्ञा-भवनमा जारी पुस्तक-प्रदर्शनीमा पुगें। किताबहरु खासै देखिन मैले त, म प्रदर्शनी शुरु भएको केहि दिनपछि पुगेकोले पनि हुनसक्छ। एउटा वालकथा संग्रह, एउटा वालकविता संग्रह, 'समकालीन साहित्य' को नवीनतम अंक र 'नेपाली वृहत् शब्दकोष' किनें।
प्रज्ञाको दोश्रो तल्लाको सानो हलमा थियो यो प्रदर्शनी। प्रज्ञाको मुख्य खण्ड पत्रकार महासंघको अधिवेशन/चुनावमा ब्यस्त थियो। वेपर्वाह छरिएका, पत्रकार बन्धुहरुका चुनाव-प्रचारका पर्चाहरुले प्रज्ञा-परिसरलाई अत्यन्त फोहर बनाएका थिए। त्यतिखेर भित्र मतगणना हुँदै थियो र 'मास' बाहिरै बसीरहेको थियो। केहि मित्रहरु शालीकमै चढेर पनि बसीरहेका थिए। यसपटक क्यामेरा नबोकेकोमा थक्क-थक्क लाग्यो मलाई।
सोचें, ती जापानी बूढाले बनाएको नेपाली-स्वभावको पूर्ण सूचिमा यी कुराहरु पनि पक्कै छन्।
यी मात्र होईन, त्यहाँ बाटैमा मूत्रत्याग गर्ने बानी, जतापनि फोहर फाल्ने बानी, आन्द्रै बाहिर आउला जस्तरी खकारेर बाटोमा थुक्ने बानी---- आदि धेरै कुराहरु पनि पक्कै छन् त्यो सूचिमा।
वास्तवमा, त्यो सूचि धेरै लामो छ!
वास्तवमा, त्यो सूचि धेरै लामो छ!
No comments:
Post a Comment