October 30, 2010

शाकाहारतिरको यात्रा-३


भाग १ यता
भाग २ यता

मानव जाति कहिलेदेखि मांसाहारी भयो अथवा यो मानवको रुपमा उभिएको शुरुवाती दिनदेखिनै मांसाहारी थियो वा थिएन भन्ने बारेमा मेरो सीमित ज्ञानले कुनै निर्णय दिन सक्ने कुरो भएन। तर मानवजाति विगत केहि हजार वर्ष देखिनै अत्यन्त हिंस्रक देखिन्छ। उसको त्यो हिँस्रक जीवनशैली र स्वभावसंगै मांसाहारपनि आईरहेको देखिन्छ। मान्छेले मान्छे खाने कुरा इतिहासको पानामा सीमित भईसकेको कुरा हो, (भलै हालै साउदी अरेबियामा फिलिपिनोहरुले पाकिस्तानीलाई खाएको कुराले यो तथ्यमा पनि पुनर्विचार गर्नुपर्ने देखाउँछ) तर सूधा र कमजोर जनावहरुप्रतिको मानव ब्यबहार भने अझै जस्ताको तस्तै र दानवीय छ। केहि समय अगाडिसम्म कुनै-कुनै समाजमा बच्चाको सालनालसमेत खाने कुराको उल्लेख गर्नुभएको छ कृष्ण पौडेलजीले यहि लेखकै भाग-१ माथिको आफ्नो प्रतिकृयामा। उहाँले चिनियाँहरुले बाँदर खाने अति क्रुर तरिकाको पनि चर्चा गर्नुभएको छ। मान्छेले मान्छे खाने कुरा अपवादबाहेक नदेखिएपनि, नसुनिएपनि मान्छेले मान्छेसंग गर्ने ब्यबहार भने अझै पनि अत्यन्त हिंसात्मक छ। चेतना माथिल्लो स्तरको हुँदै जाँदा र बुद्धिको विकास हुँदै जाँदा त समग्र मानवजाति बिस्तारै अहिंस्रक र कोमल हुँदै जानुपर्ने हो तर त्यो हुन सकेको छैन। मान्छेलाई मान्छे हुनबाट रोक्ने एउटा प्रमुख कारण मांसाहारनै हुनसक्छ। हत्या गरिँदाको क्षण पशुपञ्छीमा उब्जने भय र क्रोधभावका कारण तिनका शरीरमा थुप्रै विषाक्त रसायन निर्माण हुन्छन्। ती विषाक्त रसायन मासु हुँदै मान्छेको शरीरमा पनि प्रवेश गर्छन्। मासुले मान्छेमा तनाव र चिन्ता बढ्ने कुरा प्रमाणित भईसकेको छ। संसारमा मासुकै कारण र मासुको माध्यम हुँदै धेरै रोगहरु फैलिरहेका छन्। 

मानवीय संवेदनाले मांसाहारलाई कदापि स्विकार्न सक्दैन। यो भन्दा तल्लो, शारीरिक तहमा उभिएर पनि,मानव शरीरलाई मांसाहार आवश्यक पर्छ कि पर्दैन वा मानव शरीरको बनौट, विशेषत यसको पाचन प्रणाली मांसाहारलाई मिल्ने गरी बनेको छ कि छैन भन्ने बारेमा विवादहरु चलिरहेका छन्। मानिसले मासु खानुपर्ने कुरामा दिइने एउटा तर्क यसको पौष्टिकताको हो। मासु यदि पौष्टिकनै हो भनेपनि यत्तिकै पौष्टिक शाकाहारी खानेकुराहरु पनि जति पनि भेटिन्छन्। त्यसैले पौष्टिकताकै लागि मासु खानुपर्ने र निर्दोष जनावरहरु मार्नु पर्ने कुरामा खासै दम देखिँदैन। मानिसको पाचन प्रणाली, मुख-दाँत-भोजन नली-आन्द्राहरुको बनौट पनि मांसाहारी जनवारहरुसंग बिल्कूलै नमिल्ने तर शाकाहारी जनावरहरुसंग मिल्ने कुरामा विज्ञहरु एकमत देखिन्छन्। यसैले प्रकृतिले मानिसलाई शाकाहारी जीवनको लागि तयार पारेको हो, मांसाहारी जीवनको लागि होईन।

मांसाहारको पक्षमा दिईने अर्को एउटा तर्क हो, ‘मानवजातिले मांसाहार नगर्ने हो भने, पर्यावरणीय सन्तुलन (इकोसिष्टम) बिग्रन्छ’। यहि लेखकै पहिलो भागमा अमित भाइले पनि यस्तै प्रतिकृया लेखेका छन्। तर यो तर्कमा पनि कुनै दम छैन, किनभने जुन प्राकृतिक प्रणालीको सन्तुलनको कुरा गरिएको छ, त्यो प्राकृतिक प्रणालीबाट मानवजाति धेरै पहिले अलग भइसकेको छ। खेतीपाती गर्न जानेबाटै मानिस त्यसबाट अलग भईसकेको हो। मान्छे जंगलमै बसीरहेर अरु कुनै वैकल्पिक आहारको ब्यबश्था गर्न नसकेको भए, मासु नखाई बाँच्न नसक्ने स्थितिमा यो ‘पर्यावरणीय सन्तुलन’ को हावादारी कुरामा केहि दम हुनसक्थ्यो। बाघभालूले मासु नखाँदा तिनको अस्तित्वनै समाप्त हुन्छ, पर्यावरणीय सन्तुलन बिग्रने त्यो अवश्थामा हो। मान्छेले मासु नखाँदा पृथ्वीको पर्यावरणीय सन्तुलनको रौं पनि हल्लिँदैन। फेरि मान्छे जंगली जनावरहरुको शिकार गरेर पनि खाँदैन अचेल, ऊ त तुलनात्मक रुपमा सूधा र कमजोर जन्तुहरुलाई केहि समय पालेर, पछि ‘धोकापूर्ण’ तरिकाले मारेर खान्छ। यी जनावरहरुलाई तिनको प्राकृतिक जंगली जीवनशैलीबाट जबर्जस्ती तानेर घरपालुवा बनाएर उसले पृथ्वीको पर्यावरणीय सन्तुलनलाई पहिल्यै धेरै खल्बल्याईसकेको छ। उल्टो अब मासु खाने बहाना पनि त्यसैलाई बनाउन खोज्नु भनेको कुटिल चालबाजी मात्रै हो।

एकथरी लालबुझक्कडहरु अन्न-सागपात-फलफूल खानुपनि हिँसानै हो भन्छन्। यस्ता काईते गफ गरेरै भएपनि मासु खानुलाई न्यायसंगत ठान्नेहरुसंग कुरा गरीरहनुको तुक छैन। वनस्पतिहरु चेतनाको हिसाबले जनावरहरुभन्दा फरक आयामका हुन्। फेरि वनस्पतिहरु पाकेपछि वा तिनमा फल लागेपछि मात्रै खान्छौं हामी। हाम्रो अस्तित्वका लागि अन्न-सागपात-फलफूल जरुरी छन्। भोलि मानवजातिले आफ्नो शरीरका लागि आवश्यक पर्ने पौष्टिक तत्वहरु वनस्पतिले जस्तै सोझै सूर्यको किरणबाट र माटोबाट लिन सक्ने भयो भने हामीलाई तिनको पनि जरुरत हुने छैन। तर एउटा कुरा के स्पष्ट छ भने त्यतिखेर पनि ‘घामबाट ताकत लिनु पनि मांसाहारनै हो’ भन्ने लालबुझक्कडहरुको कमी हुनेछैन।

धेरैजसो धर्ममा देवताको नाममा पशुबली दिईन्छ, विगतमा देउताकै नाममा नरवलि पनि दिईन्थ्यो। हिन्दू धर्मका बिभिन्न सम्प्रदायहरुमा यो अझ बढी देखिन्छ। ढुंगाको मूर्ति अगाडि निर्दोष र अबोध पशुहत्या गरेर धर्म कमाईन्छ भन्ने हाम्रो संस्कार र परम्परालाई धिक्कार छ! नेपालका कतिपय मन्दिरहरुमा त त्यो निर्दोष-अबोध जनावरलाई जति धेरै यातना दिएर तड्पाई-तड्पाई मा-यो, त्यतिनै धर्म र पुण्य कमाईने विश्वाश गरिन्छ। के हिंसा धर्म हो????? हामीले आफ्नो क्रुरता र हिंसालाई छोप्न धर्म-परम्परा र कथित शास्त्रको गज्जबको खोल तयार पारेका छौं। बलीप्रथाका विरुद्ध कसैले चुईँक्क बोल्यो कि शास्त्रको दुहाई दिँदै त्यसको समर्थनमा पाखुरा खैंचिदै आउनेहरु धेरै छन्। तर विचारणीय छ, के कुनै पनि शास्त्रनै कुनै विषयको अन्तिम सत्य हुनसक्छ? के एउटा निश्चित कालखण्डमा लेखिएको त्यो कथित ‘शास्त्र’लाई सबै समयका सबै मानिसले मान्नुपर्छ भन्ने बाध्यता छ? 

बिभिन्न चाडपर्वहरुमा हाम्रो समाजले बलि दिने जनावरहरु तुलनात्मक रुपले निर्धा र सोझा हुन्छन्। राँगोलाई महिषासुरको अवतार मान्ने हाम्रो समाजले अझ सम्म किन नबुझेको होला, अरुलाई मारेर मासु खाने हिसाबले बाघ वा सिंह पो बरु महिषासुरका नातेदार हुनसक्छन् (गहिरिएर हेर्ने हो भने तिनले पनि आफ्नो प्राकृतिक स्वभावलाई पछ्याएका मात्र हुन्)। तर हामी बाघ वा सिंहलाई खसी-बोका-राँगोलाई जसरी यातना दिन र मार्न सक्दैनौं; हाम्रो शारीरिक क्षमताले पुग्दैन त्यसो गर्न, अनि हामी हाम्रो कुण्ठा र हीनताबोधलाई लगेर आफूभन्दा कमजोर र सूधा जनावरहरुमाथि खन्याउँछौं। हाम्रा धेरैजसो मन्दिरहरुमा मानसिक शान्ति पाईँदैन, ती जनावरहरुका वधशाला मात्रै हुन्। र हाम्रा पेट आईन्स्टाईनले कतै भनेझैं, हत्या गरिएका अबोध जनावरहरुका चिहानमात्रै हुन्।

म शाकाहारतिरको मेरो यात्रासम्बन्धी कुराकानीलाई अहिले यत्तिमै बिट मार्ने अनुमति चाहन्छु।

यात्रा जारी छ र कुराकानी पनि बेलाबखत जारीनै रहनेछ :)

(समाप्त)

8 comments:

  1. तपाई को विचार नराम्रो भन्न पनि सक्दिन र यही नै हुनु पर्छ भनेर सहमति पनि जनाउन पनि सक्दिन ! आ-आफ्नो विचार हो ! माछा-मासु को स्थान एक ठाउँ मा छ ! जब सम्म सकिन्छ तब सम्म माछा-मासु खाइनै रहन्छ ! हुन त शाकाहारी र मांसाहारी को बिचमा यस्तो कुरा निस्किँदा निकै चर्का चर्की पनि सुनेको छु ! एक धर्मभिरुहरु चाँहि माछा-मासु खाने मान्छे ले छोएको खाँदिन भनेर, पाखण्डपन देखाउने पनि यहिँ छन् ।

    आफ्नो भन्नु, म पनि बलि बिरोधी ! बलि दिनु पर्छ भन्ने पक्ष मा छैन, अनि आफ्नो घर को हक मा पनि बलि दिने कार्य विगत केही वर्षदेखि रोकिएको छ । तर माछा-मासु खानु कुनै अपराध होइन ! यहाँ यही माछा मासु को लागि, कुखुरा, खसी, बोका, राँगा, हाँस, बंगुर आदि पालेर, आफ्ना जिवन निर्वाह गर्ने धेरै जनसमुदाय छ ! कुरै गर्ने हो भने, यही माछामासु सँग अत्याधिक मान्छेहरु को रोजिरोटि पनि जोडिएको छ ।

    अत: शाकाहारी ले मासु न-खा भन्नु र मांसाहारी ले मासु खानुपर्छ भन्नु, दुवै आ-आफ्ना ठाउँमा ठिक छन् । दुवै का तर्कहरु ठिक हुन्छन् ! मेरो भन्नु, आफ्नो हृदय ले इच्छाएसम्म, र शरिरले साथ दिएसम्म, माछा-मासु खाँदा कुनै पाप हुँदैन, कुनै हानी हुँदैन !

    ReplyDelete
  2. लेख राम्रो छ। उठाइएका कुराहरु जायज र तर्कसँगत सुनिन्छन्। शाकाहारतिरको यो यात्रामा लेखकलाई मेरो पनि साथ छ। तर, पृष्ठको अन्त्यतिर देखिएको साथी आकारको टिप्पणीप्रति म सन्तुष्ट हुन सकिंन।

    "धर्मभीरुहरुले माछा-मासु खाने मान्छेले छोएको खाँदिन भनेर पाखण्डिपन देखाउँछन" भन्नु यो लेखसँग के-कति कारणले सम्बन्धित हुन सक्यो मैले थाहा पाउन सकिन। 'बलि'को पक्षमा नभएको मान्छेले 'माछा-मासु खानु अपराध होइन' भनेर भन्न सुहाउँदैन। दलाई लामाले आफ्नो आत्मवृतान्तमा भनेका छन्,"तिम्रो मासु खाने ईच्छा,जनावरको बधको कारण बन्छ भने त्यो जनावरको हत्याको दोषी तिमीपनि हुनेछौ"।

    ReplyDelete
  3. रोचक र तर्कसङ्गत लाग्यो शृंखलाबद्ध लेख ।
    म आफूँ चाहिँ अहिलेसम्म मांसाहारीतिरकै यात्रामा छु । शरीरले मागुन्जेल र इच्छाउन्जेल देखावटी रूपमा र धर्मको हवाला दिएर मासु त्याग गर्नु झन् महापाप हुन्छ कि जस्तो लाग्छ । भित्रैदेखि अनिच्छा भएपछि नै चटक्क छाड्ने हो । तर धर्मको नाममा हुने बलिप्रथा भने मलाई पनि बकवास लाग्छ ।

    आफ्नो इच्छापूर्तिका लागि कसैको नाममा अरूको जीवनमा धावा बोल्नु धर्म त परै जाओस्, पापको अनेकौँ भकारी खनिरहेको हुन्छ त्यसले । तर आफू जस्तै जीवन हो एउटा भनेर सोच्ने हो भने पशुबध र मांसभोजन परित्यक्त गर्नुपर्ने कुरा नै हो सक्ने हो भने ।

    ReplyDelete
  4. खानेले-खाउन; नखानेले-नखाउन । म चाहिँ खान्छु । कसैको शरीर; आफैलाई जस्तै दुःख; त्यो खानेले बिचार गर्नु पर्ने हो । तर जो जे मा खुसी छ, उसले त्यो गर्न पाउनु पर्ने हो ।

    तर तर्कपूर्ण तवले गर्दा विचार गर्दा : No one is Absolute Vegetarian.

    ReplyDelete
  5. Badhai chh.
    Man`s intestine is longer than the carnivorous animals,so,it is for veg. foods.
    It becomes impossible to eat meat for those who love life deeply.

    ReplyDelete
  6. अघिल्लो पोस्टमा पनि मैले लेखेको छु म पनि अहिलेसम्म को लागि मांसहारी नै हुँ तर पनि मलाई माथी अरु साथीहरुले लेख्नु भएजस्तै यो ठीक हैन र 'छुटे हुन्थ्यो' भन्ने भाव भने छ (मानसिक हिंसा कायम राखेर जवरजस्ती नछोडौँ भन्ने सोचले जितेको छ अहिलेसम्म)।

    सिधा "सूर्य-किरण-आहार" गरेपनि त्यसलाई मांसहार मान्ने जमातको कुरा भने एकदम चित्त बुझ्ने लाग्यो ।

    मैले देखेको मुख्य कुरा मांसहारलाई धर्मसँग जोडेर हेर्नु गलत कुरा हो। बलि दिनु पाप हो भने शाकाहारी हुनु पनि कुनै धार्मिक कृत्य भने हैन । त्यसैले यसको समर्थन वा विरोध जे गर्नेले पनि यसलाई धर्म सँग जोडेर हैन, जीवनपद्धति, सह-अस्तित्व वा सहिष्णुताको सँग गाँसेर मनन गर्दा सही हुन्छ जस्तो लाग्छ । यस बारेमा मलाई जेम्स क्रोमवेलको एउटा युक्ति सधैं याद आउँछ: “We don't need to eat anyone who would run, swim, or fly away if he could. ”

    धर्मको नाममा बलि दिने र धार्मिक हुन मांसहार छाड्नु दुबै गलत हो । तर मदिरा नपिउनू नै बेस भने जस्तै मांसहार नगर्नु नै मानवताजीको लागि उचित हो !।

    जाँदा जाँदै मैले कतै पढेको एउटा कोटेशन:

    "I do not want to make my stomach a graveyard of dead animals."~ George Bernard Shaw

    ReplyDelete
  7. बसन्तजीले यौटा राम्रो बहसको सुरुवात गर्नुभएको छ र तर्क बितर्क निकै उठेका छन् | साकाहारी भएर बिग्रने त केही देखिंदैन | साकाहारी हुँदैमा सबैकुरो राम्रो बन्छ भन्ने पनि छैन | तर यस्ता कुराहरु बेलाबखत सबैको मनमा खेल्छन | साँचो के हो र झुठो के हो भन्ने कुरा जति धेरै बहस विमर्श भयो, त्यति उजागार हुँदै जान्छ | बसन्तजीले विचार प्रवाह गर्नुभएको हो , कसैलाई कर गरेजस्तो त लागेन |

    ReplyDelete
  8. I like your topic , which i was thinking about this , i did not get time to raise , now you raise voice of all innocent animals , many many congratulation to you .
    One thing ,in modern and educated society , eating meat is not social behaviour ,

    ReplyDelete