August 29, 2010

फेरि पूरानै टुक्राहरु

यस पटक ब्लगले एउटा 'रेकर्ड' तोड्यो:) आज आठौं दिनमा आएर बल्ल नयाँ केहि टाँस्ने जमर्को गर्दैछु। त्यो पनि हालसालै लेखेको नयाँ नभएर, धेरै पूराना। जापान बसाईका शुरुवाती दिनहरुमा लेखिएका टुक्रा हुन् यी, नियममा नबसी लेखिएका 'सेन्र्यु'हरु।

"गरिबीको आनन्द"

सस्तो कोठाले
पूर्ण भएको छ मेरो
लाम्खुट्टे मार्ने कला ।

"बतास"

तन छुँदाछुँदै
मन पनि धोईसकेछ
क्या मिठो वतास!

ब्लगमा कतै दोहोरिईसकेका रहेछन् यी टुक्राहरु भने माफ पाऊँ।

August 21, 2010

रविन थपलियालाई सहयोग

दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका पत्रकार रविन थपलियाको उपचारको सहयोगार्थ आयोजित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्यो, गत साउन ३१ गते सोमबार। उक्त कार्यक्रममा रविन थपलियाजीको उपचारार्थ जापानमा संकलित रकमको औपचारिक हस्तान्तरण पनि गरियो।

रविनजीसंग मेरो परिचय फेसबुकले गराएको हो। उहाँको उपचारका लागि र कृत्रिम खुट्टा जडानका लागि सहयोग गर्ने आह्वानका साथ फेसबुकमा चर्चा शुरु भएपछि जापानमा पनि हामीले कुराकानी र योजना शुरु ग-यौं। केहि समयपछिनै जापानमा रहेका नेपाली विद्यार्थीहरुको संगठन ‘नेपाली विद्यार्थी सामाज, जापान’ (नेसाज) को नेतृत्वमा सहयोग संकलन शुरु गरियो। यसपटकको संकलन अभियान नागोया क्षेत्रमा केन्द्रित थियो, तर नागोया बाहिरका केहि महानुभावहरुले पनि खुल्ला मनले सहयोग पठाउनुभएको थियो। नेसाजको सकृय अभियानका कारण दुई हप्ताभन्दा छोटो समयमै पनि उल्लेखनीय रकम संकलन भयो। हामी नेपाल फर्कने बेला परेकोले त्यो रकम हस्तान्तरण गर्ने कामको जिम्मा पनि हामीलाईनै दिए साथीहरुले।

रविनजीको उपचारको लागि धेरै देशमा रहेका नेपालीहरुले सहयोग संकलन जारी राखेका छन्। केहि ठाऊँको रकम उहाँले प्राप्त पनि गरीसक्नुभएको छ। सोमबारको कार्यक्रममा एनआरएन-आयरल्याण्डका प्रतिनिधिले आयरल्याण्डमा संकलित रकम पनि हस्तान्तरण गर्नुभएको थियो। देशभित्रैबाट पनि सहयोग संकलन भईरहेछ। उक्त कार्यक्रममै पनि थुप्रै संघ-संस्थाहरु र सहृदयी महानुभावहरुले सहयोगको घोषणा गर्नुभएको थियो।

यो कार्यक्रमभन्दा पहिले रविनजीकै निवासमा दुई पटक भेटघाट र आत्मीय भलाकुसारी भएको थियो मेरो। उहाँले भोग्नुपरेको बिभत्स दुर्घटना, बीएण्डबी अस्पतालको लापर्वाही, क्षतिपूर्ति पाउनका लागि गर्नुपरेको संघर्ष र दोषीहरुमाथि कारवाही गर्न सम्बन्धित निकायहरुले देखाएको उदासीनता उहाँकै मुखबाट सुनें मैले। उहाँको कुरा सुनेपछि हाम्रो देशको स्थितिको भयावहताले मलाई एकचोटि फेरि कहाली लगायो। हाम्रो देश सिण्डिकेटहरु, अपराधीहरु र भ्रष्टाचारी कर्मचारी र नेताहरुको मिलमतोका कारण विकराल दण्डवीहिनताको स्थितिमा पुगेको छ। रविनजीको समग्र अनुभव हाम्रो देशमा जारी नियमहीनता र दण्डहीनताको एकदम स्पष्ट उदाहरण हो।

करीब चौध महिना पहिले बालाजुमा घटित एक बिभत्स दुर्घटनामा पर्नुभएको थियो रविनजी। उहाँले चलाईरहनुभएको मोटरसाईकललाई गलत दिशाबाट आईरहेको ट्रकले ठक्कर दिएको थियो। सामान्य घाईतेमात्रै हुनुभएका उहाँलाई ट्रकचालकले ट्रक ब्याक गरेर मार्न खोजेको रहेछ, तर त्यहाँ उपश्थित जनसाधारणले उहाँलाई जोगाएका रहेछन्। दुर्घटनाका कारण उहाँको खुट्टामा चोट लागेको रहेछ। उक्त चोट गम्भिर भएपनि खुट्टै काट्नुपर्ने स्थितिको भने थिएन। उपचारार्थ बीएण्डबी अस्पतालमा भर्ना भएपछि अस्पतालको लापरवाहीका कारण चोटमा ईन्फेक्सन हुँदै र फैलिदैं जाँदा खुट्टा काट्नुपर्ने भएको रहेछ। आफ्ना समग्र भयावह अनुभवहरुलाई रविनजीले आफ्नो ब्लग “अग्निबाँण” मा रविनजीले विस्तृत रुपमा लेख्नुभएको छ।

फर्कौं फेरि कार्यक्रमतिरै। कार्यक्रम निर्धारितभन्दा एक घण्टा ढिला शुरु भएको थियो। कार्यक्रमका सबै वक्ताहरुले छोटो र विषयको सीमाभित्रै रहेर बोलेका थिए। यहाँसम्म कि माओवादी नेता पोष्टबहादुर बोगटी र कांग्रेस नेता अर्जुन नरसिंह केसीसमेतले राजनीतिका कुरा गरेनन्। उनीहरुले रविनजीको उपचारार्थ आर्थिक र अन्य सहयोगको प्रतिबद्धता राखेर छोटो मन्तब्यमात्रै राखे। नेपालका कार्यक्रमहरुमा यस्तो विरलै देखिन्छ। यतिखेरका हरेक कार्यक्रमहरुमा, चाहे ती राजनीतिसंग सुदूर साईनोसम्म पनि नभएका किन नहुन्, देशको राजनीति र हुन नसकेको प्रधानमन्त्रीको निर्वाचनको बाढी पस्नु स्वाभाविक देखिन्छ। यो कार्यक्रमको एउटा सकारात्मक अनुभवको रुपमा लिएको छु मैले यसलाई।

कार्यक्रममा नेसाजको प्रतिनिधित्व गर्दै नेसाजका पूर्व कार्यकारी सदस्य सोविता कोईरालाद्वारा जापानमा संकलित १११६०२ येन रकम रविनजीलाई हस्तान्तरण गरियो। नेसाजको पूर्व सदस्यको रुपमा सोविताजी र नेसाजको सल्लाहकारको रुपमा मैले छोटो मन्तब्यको अवसर पनि पाएका थियौं। टनाटन भरिएको हल र विशिष्ट ब्यक्तित्वहरुको माझमा नेसाजको चर्चा हुँदा यो कार्यक्रमका माध्यमबाट नेसाजले पनि एउटा राम्रो पहिचान बनायो भन्ने लागेको छ हामीलाई।

औपचारिक कार्यक्रपछिको रमाईलो सांस्कृतिक कार्यक्रम भने आधा भन्दा बढी हेर्न भ्याईएन।

रविनजीलाई सहयोग गर्न ईच्छुक हुनुहुन्छ भने तलको खातामा रकम जम्मा गरेर सहयोग गर्न सक्नुहुन्छ;

गोर्खा विकास वैक,
पुतलीसडकमा रहेको
रविन थपलिया नामको खाता नम्वर 03823 SA

रविनजीसंग सम्पर्कको लागि;

रविन प्रसाद थपलिया
मनमैजु ५, काठमाण्डौ,
मोवाईल ९८४१६५९४९४
rabin.thapaliya@gmail.com

August 15, 2010

पहिलो नजरमा

अर्को एउटा बढी सोधिईने प्रश्न हो, "यति लामो समय जापान बसेर आएपछि नेपालको धेरै कुरा एकदम फरक लाग्छ होला, सबैभन्दा बढीचाहिँ के फरक लाग्छ?" जापानजस्तो अति विकसित र नेपालजस्तो अति कम विकसित देशलाई दाँज्दा हजारौं भिन्नताहरु भेटिन्छन् भन्ने कुरामा प्रश्न सोध्ने महानुभावहरु सचेत हुनुहुन्छ, उहाँहरुको चासो तुरुन्तै देखिने, एक नजरमै अनुभव हुने कुराहरुको बारेमा हो।

त्यस्ता प्रश्नहरुको जवाफमा एउटा लामो सूचिनै बन्नसक्छ। मलाई चिमोट्नेमध्येका एक-दुई कुराहरु राख्ने जमर्को गर्दैछु।

छक्क पार्ने, निराश बनाउने अनुभवको शुरुवात हाम्रो एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेबाटै शुरु हुन्छ। विमानस्थल सानो-ठूलोको कुरो त्यति महत्वको कुरो होईन तर हाम्रो विमानस्थल फोहर, अब्यबश्थित र अँध्यारो छ। देशको एकमात्र आकाशे ढोकाका इमिग्रेशन लगायतका सबै भागहरुलाई राम्ररी उजिल्याए पहिलो पटक नेपाल पस्ने विदेशीले पनि नेपालको उज्यालै छवि मनमा राख्ने थिए। अहिले हाम्रो विमानस्थल र इमिग्रेशनले नेपाल पहिलो पटक पस्ने विदेशीलाई मलिन र चिसो छवि दिँदो हो नेपालको।
इमिग्रेशनमा देश पस्नेहरुको पासपोर्ट-भिसा आदि जाँच गरीरहेका मान्छेहरु बाहेक अर्को एउटा समूह पनि देखिन्छ जहिले पनि। त्यो समूहको काम लाम लागेर उभिएका आगन्तुकहरुको अनुहार अर्थ न बर्थसंग क्वार्क्वार्ती हेरेर उभिईरहनु हो। तिनको अरु कुनै काम देखिँदैन, फेरि तिनमा न कुनै फुर्ति देखिन्छ, न कुनै उत्साह। हाम्रो देशको जासूसी संयन्त्रमा काम गर्ने मान्छेहरु हुन् भनौं भने जासूसी त्यसरी गरिन्न। उसैपनि हात्ती पनि भित्र-बाहिर गर्न सक्ने विमानस्थलको रुपमा कुख्याति कमाएको विमानस्थल छ हाम्रो। विमानस्थलको 'ओभरस्टाफिङ' को नमूना पात्रहरु हुन् ती। हाम्रो देशका सबै निकायहरुमा गाँजिएको छ यो 'ओभरस्टाफिङ' को रोग। वास्तवमा, हाम्रो देशको अहिलेको कर्मचारी संख्याको आधालाई हटाएपनि अझै चाहिनेभन्दा धेरै बाँकी रहन्छन्।

थोरैमात्र पनि गतिलो सामान लिएर पसेका, विशेष गरी विदेशमा श्रम गरेर फर्किएका नेपाली दाजुभाई-दिदीबहिनीहरुले भोग्ने झञ्झट र मानसिक यातनाको कुरो छँदैछ। इमिग्रेशनबाट बाहिर निस्कनेबित्तिकै देखिने ट्याक्सीहरुको 'जुलुश' र तिनको तानतानले जो कोहि आगन्तुकलाई हैरान बनाऊँछ। दुनियाँको कुनै पनि विमान्स्थलको ट्याक्सी प्रणाली यति भद्रगोल छैन होला। यसलाई प्रणालीबद्ध देख्न पाउने कहिले होला हामीले?

विमानस्थलबाट बाहिरिनेबित्तिकै देख्न थालिने फोहरको थुप्रो र दुर्गन्ध हाम्रो देशको, विशेष गरी हाम्रो राजधानी शहरको पहिचान बनिसकेको छ। हाम्रा शहरहरुको ध्वनि-प्रदूषण पनि सीमाहीन छ। सात वर्ष जापान बस्दा मैले गाडीको हर्नको आवाज सात पटक भन्दा बढी सुनिन होला। ब्यबश्थित ट्राफिक बत्ती प्रणाली र त्यसलाई रिठ्टो नबिराई अनुशाशनपूर्वक पछ्याउने जापानी बानीका कारण हर्नको आवश्यकतानै नदेखिएको होला। बाबा नाम गरेका एकजना जापानीले हामीलाई ट्राफिक बत्तीमा बानी लगाउने कोशिश गरेका थिए केहि समय पहिला। ट्राफिक बत्तीको निर्देशनलाई नटेर्ने नेपालका केहि 'ठूलाबडा' लाई समेत समातेर तह लगाउने कोशिश गरेका थिए तिनले। के के भएर ती बाबा पनि फर्किए, अनि हाम्रा सडकहरुमा राखिएका ट्राफिक बत्तीलाई पनि हामी नेपालीले बिर्सियौं। तिनले सडक ओगटनुबाहेक अरु केहि योगदान दिन सकेका छैनन्। हाम्रो समाजको अनुशाशनहीनता झन्-झन् बढ्दैछ र अनुशाशनहीनता बढ्दै जाँदा ध्वनि-प्रदूषण र अरु प्रदूषणहरु बढ्नु स्वाभाविक हो।
यी एक-दुई कुराहरु त उदाहरणमात्रै हुन्। वास्तवमा हाम्रा सबैजसो समस्याका जगमा हाम्रो अनुशाशनहीनता उभिएको छ।

स्वभावकै कुरा गर्दा, काम गर्ने कुरामा हामी नेपाली अल्छी छौं। कसैलाई चित्त नबुझ्न सक्छ यसो भन्दा तर सत्य यहि हो कि हामी नेपालीहरु-सबै तहका, सबै पेशाका- तुलनात्मक रुपमा कम काम गर्छौं। मेहेनत गरेर कमाउनेलाई मूर्ख भन्ने र भ्रष्टा्चार गरेर, ठगेर कमाउनेलाई बहादुर ठान्ने सामाजिक मान्यता छ हाम्रो। हाम्रो समाजमा श्रमको सम्मान हुने दिन अझै शुरु भईसकेका छैनन्।

एक नजरमै झ्वाट्ट देखिने केहि कुराहरु भए यी। कति कुराहरुका बारेमा यति थोरै लेखेर नपुग्न सक्छ। केहि कुरामा मनमा पाकिसकेका छन्, ती ब्लगमा अर्लिने छन् बिस्तारै। आजलाई यत्तिनै।

सबैको जय होस्!

August 09, 2010

तँ किन घर फर्किस्?

धेरै पहिलानै हो, कुनै पोष्टरमा यस्तो लेखिएको देखेको थिएँ; “Home is a place where when you go there, nobody asks why you came.” (घर भनेको त्यो ठाऊँ हो, जहाँ तिमी जाँदा कसैले पनि तँ किन आईस् भनेर सोध्दैन।)

मलाई यो भनाई असाध्यै मन परेको थियो त्यतिबेला, अहिलेपनि मनपर्छ र एउटा स्पष्ट सत्योक्ति मान्छु म यसलाई। सवा सात वर्ष लामो प्रवासबाट नेपाल फर्केपछि सामना गरेका प्रश्नहरुका कारण भने यसको सत्यतामाथि कता-कता शंका लाग्न थालेको छ।

नेपाल मेरो देश हो। मेरो देश भनेको मेरो घर हो। म घर फर्केको छु र यसैले मलाई मान्छेहरुले “तँ किन फर्किस्—“ भनेर सोध्नुनपर्ने हो। तर नेपाल फर्कपछिका साढे तीन हप्तामा मैले सामना गरेका तीन चौथाई प्रश्नहरुको एउटै सार यहि हो। धेरै परिचितहरु म बढीमा दशैं-तिहार सम्मलाईमात्रै फर्केको होला भन्ने ठान्छन्, उनीहरु म सधैंका लागि फर्केको भन्ने स्वीकार्न तयार छैनन्। जसले मेरा कुरा पत्याएका छन् उनीहरु मलाई ‘मूर्ख’, ‘महामूर्ख’ भन्छन्।

यस्ता प्रश्नहरुको सामना गर्न मानसिक रुपले आफूलाई एक हदसम्म तयार पारेको थिएँ मैले, किनभने म यो समयमा नेपाल फर्किन्छु भनेर मैले चार वर्ष पहिलानै तय गरीसकेको थिएँ। १४ वर्ष पहिला पहिलो प्रवासबाट यसैगरी फर्किँदानै यस्ता धेरै प्रश्नहरुको सामना गरीसकेको थिएँ। त्यतिखेरभन्दा यतिखेर स्थिति झन् बिग्रेको छ, देशबाट पलायन हुनेहरुको बाढी निरन्तर ठूलो हुँदै गईरहेको छ। यो स्थितिमा विदेशको सहज जिन्दगी छोडेर नेपालमा आउनेलाई धेरै मान्छेहरु “जानी-जानी आगोमा हाम्फाल्ने मूर्ख” भनिदिन्छन सहजै। नेपाली मानसिकता प्रवल रुपले त्यहि साँचोमा ढलीसकेको छ। चारवर्ष अगाडिबाटै केहि साथीहरु र आफन्तहरुलाई मैले आफू नेपाल फर्किने कुरामा दृढ भएको सुनाऊँदा उनीहरु सबैबाट म मूर्ख भनिन थालीसकेको थिएँ। सकेसम्म नफर्किने र फर्किहालेपनि अहिले होईन, १५-२० वर्ष “उतै” बसेर “प्रशस्त” कमाएपछि “रिटायर्ड लाईफ” मात्रै नेपालमा बिताउन आउने सल्लाह पाउन थालेको पनि त्यतिखेरबाटै, अझ विदेश पसेबाटै हो मैले।

केहि मान्छेहरु भने ‘यसले बेस्करी कमाएर, सात पुस्तालाई पुग्ने पैसा लिएर फर्कियो होला।‘ भन्ने सोच्छन्। ठिकै छ, आफ्नो यथार्थ-आफ्नो पिडा आफैसंग छ, यस्ता कुरामा विवाद गरेर समय खेर फाल्नुहुँदैन भन्ने सोचेर यस्ता कुरा सुनेका बेला मौन बसिदिन्छु। अरु केहि साथीहरु, ‘देशको स्थिति अझै सप्रेको छैन, दुई वर्ष जति ढिला गरेर फर्किएको भए हुन्थ्यो’ भनेर ‘चिन्ता’ ब्यक्त गर्नुहुन्छ। तर अबको दुई वर्षमा देशको स्थति सप्रिन्छनै भन्ने के निश्चित छ? स्थिति अहिलेभन्दा अझ भयावह पनि हुनसक्छ। देशको स्थिति सप्रेपछिमात्रै फर्किने ‘अवसरवादी’ बनेर कति वर्ष पर्खिने?

र ईमान्दारिताका साथ भन्नुपर्दा मेरो देश फर्किने निर्णयलाई एकदमै मनपराउने र मलाई देशभित्रै बसेर देशका लागि केहि गर्ने प्रेरणा दिनेहरु पनि भेटेको छु मैले तर उनीहरुको संख्या ज्यादै थोरै छ।

यसको दोष कसलाई दिने? आममानिसमा शान्त, सुरक्षित र सम्मानित नागरिकको रुपमा जीवन बाँच्ने चाहना प्रवल हुन्छ। मानिसहरुमा ‘राष्ट्रवाद’ र आफ्नो समाजको माया पनि नहुने होईन तर जीवनका दैनिक समस्याहरुलेनै उम्किन नसक्ने गरी अँठ्याएको बेला यस्ता भावहरु ‘एब्स्ट्रयाक्ट’ र अनावश्यक समेत मानिँदा रहेछन्। दशकौं-शदियौंदेखि गलत राजनीतिको शिकार बनेको हामी अभागी नेपालीको देश नेपाल हरतरहले खोक्रो बनीसकेको छ। विदेशीहरुले हामीलाई असफल राष्ट्रको सूचिमा राख्न थालीसके। हाम्रा आफ्नै आँखाले पनि हाम्रो देशको नाडीमा ‘सफल राष्ट्र’को कुनै लक्षण भेट्न सक्दैनन्। सुरक्षा, रोजगारी र सम्मान कुनै पनि नागरिकको नैसर्गिक अधिकार हो र आफ्नो देशमा त्यसको सम्भावना नदेखेपछि मान्छे, चरम मानसिक पिडा खपेरै भएपनि प्रवासिन, प्रवासमै आफ्नो पसीना पोख्न र उतै बिलाउन बाध्य र तयार हुन्छ।

नेपाल फर्किनुका मेरा आफ्नै कारणहरु छन्।

पहिलो, मलाई विदेशको जीवन मानसिक रुपले अत्यन्त कष्टकर लागीरह्यो सधैंभरी। नेपाललाई माया गर्ने मेरो संवेदनशील मननै मेरो ‘कमजोरी’ हो। ‘नेपाल’ भन्ने एउटा आदर्शको लागि बाँच्न र सकेसम्म ‘केहि’ गर्न मलाई बाध्य बनाउने यहि संवेदनशीलतालाई लिएर धेरैले मलाई गिज्याऊछन् र उडाऊँछन्। अर्कोतिर, म विदेशी समाजमा बस्न तयारै भएपनि मेरो हैसियत त्यो समाजको तेश्रो-चौथो तहको नागरिक भन्दा कहिल्यै हुनेथिएन। आफू खाने-बस्ने र ‘धानिने’ बाहेक मैले त्यो समाजको लागि केहि गर्न सक्ने पनि थिईँन। यसैले ‘जति बसेपनि म यो समाजको सबैभन्दा बाहीरी घेरोबाट कहिल्यै भित्र पस्न सक्ने होईन।‘ भन्ने भावनाले मेरो मनमा सधैं घर बनाईरह्यो। मलाई नेपाल फर्काउने पहिलो ‘मानसिक’ ईन्धन यहि थियो।

दोश्रो र उत्तिकै महत्वपूर्ण कारण हो, छोरीको पढाई। जापानको पढाई, कम्तिमा १२ कक्षासम्म निसन्देह एकदम उत्कृष्ट छ तर पढाईको माध्यम जापानी भाषा हो। जापानी शिक्षा प्रणालीमा अँग्रेजीको स्थिति अझै पनि सन्तोषजनक छैन। अहिलेको विश्वग्राममा जीवन बिताउनका लागि त्यो त्यति सहज तयारी होईन। झन् विशेष गरी हाम्रो जस्तो कमजोर र गरीब देशका मानिसका लागि त अँग्रेजी अत्यावश्यकनै छ। हुनत जापानमा अंग्रेजी माध्यममा पढाई हुने ‘ईण्टरनेशनल स्कूल’ हरुपनि नभएका होईनन्, तर तिनलाई मेरो पेशागत जीवनको कमाईले आँट्न सक्ने होईन। अंग्रेजीमै पढाउनका लागि हो भने अमेरिका, क्यानाडा, बेलायत वा अष्ट्रेलिया पसेर उतै भासिए भईहाल्यो भन्ने सल्लाह पनि नपाईने होईन। यस्तो सल्लाह अहिलेको समयमा सबैभन्दा ‘तार्किक’ मानिन्छ। तर मेरा लागि यो विकल्पलाई माथिको पहिलो कारणले काटिसकेको छ:)

अरु जति तर्क-वितर्क जति गरेपनि, म हाम्री छोरीले कम्तिमा १२ कक्षासम्म नेपालमै पढोस् भन्ने चाहन्छु। बाल्यकाल बाहिरै बिताएका, विद्यालय शिक्षा बाहिरै पढेका युवाहरुलाई हेरेर, उनीहरुको मनोदशा बुझेर म पुगेको निष्कर्ष के हो भने कुनै पनि मान्छेले आफ्नो मूल (root) निर्माण गर्ने समय भनेको बाल्यकाल, किशोरकाल र तीसंग जोडिएर आउने विद्यालय शिक्षा हो। बाहिरी समाजमा विद्यालय जीवन बिताऊँदा त्यो मूलको निर्माण त्यति राम्रोसंग नहुन सक्छ। त्यसरी हुर्केको मान्छेमा, न विदेश- न नेपाल, कुनैपनि समाजसंग आफ्नोपनको भावना निर्माण नहुन सक्छ। भोलि उसले ‘मेरो पनि आफ्नै देश छ’ भनेर फर्किने कुनै मानसिक आधार उसमा बिल्कुलै नबन्न सक्छ। मेरी छोरीले त्यो मनोदशा भोग्नु नपरोस् भन्ने प्रवल चाहना छ मेरो। मेरो लागि यो कारण, पहिलो कारणभन्दा पनि बलशाली भनेपनि हुन्छ।

छोरी घरका अरुसंग छोडेर आफू बूढाबूढीभने विदेशै बसेपनि भईहाल्छ नि भन्ने सल्लाह पनि पाईन्छ यदाकदा, तर छोरी हुर्कने क्रमका हरेक चरणलाई नजिकबाट हेर्न र त्यसमा सकेसम्म धेरै सकारात्मक योगदान दिन चाहन्छु म।

बाँकी जागिरे जीवनसंग जोडिएका केहि कुराहरु पनि छन्, तिनको आफ्नै महत्व छ, तर सबैभन्दा बलशाली भने पहिलो र दोश्रोनै हुन्।

तीन हप्ताले मलाई केहि सिकाईसकेको छ अब। म मान्छे हेरेर उत्तर दिन थालेको छु। ‘नेपाल कति बस्छस् अब?’ भनेर सोधिईएको बेला धेरैजसो मेरो उत्तर ‘बस्छु होला केहि समय।‘ जस्तो ‘अष्पष्ट’ हुन्छ। आफ्नो मनको साँचो कुरो केहि आत्मीयहरुसंगैमात्रै खोलेको राम्रो। कि कसो:)

August 02, 2010

पखेटा काटिएझैं-----

समय र ईन्टरनेटको 'उचित' तालमेल नमिल्दा पखेटा काटिएको चरो बनेको छु। एकदिन फेरि कस्सो नआउलान् मेरा ब्लगका दिन:))