July 27, 2010

सत्तालिप्साको मानसिक आधार

तपाईँहरुलाई थाहै छ, संविधानसभा यतिखेर प्रधानमन्त्री चुन्न नसकेर अलमलिएको छ। संविधानसभाको यो अलमलले पूरै देशलाई प्रभावित पारेको छ। आफ्ना तुच्छ ब्यक्तिगत अहं र दलीय स्वार्थमा अल्झेर नेता र दलहरु संविधान निर्माणको प्रमुख कामलाई बिर्सिरहेका छन्।

सहमतीय सरकार बनेन भने संविधान नबन्ने निश्चित छ, कथंकदाचित बनिहाल्यो भनेपनि क्षणिक र कामचलाऊ बन्नेछ। त्यस्तो संविधानले अहिलेका जल्दाबल्दा मुद्दाहरुलाई बिल्कुलै समाधान नगर्ने मात्र होईन, अरु नयाँ समस्याहरु पनि उब्जाउनेछ। 

सहमतीय प्रधानमन्त्रीको रुपमा सबैलाई स्विकार्य ब्यक्ति पाउन गाह्रो छ। अहिलेको अवश्थामा अलिक बढी संभावना भएका नेता बाबुराम भट्टराईमात्रै हुन्। माओवादीले उनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याएको भए शायद देश यो अनिर्णयको बन्दी बनीरहनुपर्ने थिएन। तर माओवादीले फेरि प्रचण्डलाईनै उम्मेदवार बनायो।

नेपाल फर्केपछिका यी दश दिनमा मैले नेपाली समाजको वर्तमान मनोदशालाई केहि पढ्ने कोशिश गरेको छु। मैले के भेटें भने मानिसमा माओवादीप्रति र विशेष गरी यसका अध्यक्ष प्रचण्डप्रतिको बिश्वास तिब्र रुपमा घटिरहेको छ र उनीहरु कांग्रेस र एमालेभन्दा अलिकति पनि फरक नभएको धारणाले जरो गाड्दैछ। जमघट र कुराकानीहरुमा प्रचण्डप्रतिको अविश्वास भेटिन्छ जताततै। प्रचण्डले एउटा मौका पाईसकेका र उनको कार्यक्षमता र शैली देखिईसकेकोले फेरि उनलाईनै प्रधानमन्त्री बनाऊँदा उस्तै स्थिति दहोरिने चिन्ता छ सबैमा। यसैले अब पालो बाबुरामको हो भन्ने एउटा बलियो जनमत बनिसकेको छ नेपालमा। बाबुराम प्रधानमन्त्री होलान्-नहोलान् र भएभने पनि उनी सबैले आशा गरे अनुसारका 'सबैका' प्रधानमन्त्री बन्लान्-नबन्लान् त्यो कुरो भविष्यको गर्भमा छ तर जनताले उनीमाथि धेरै ठूलो भरोसा राखेका छन्। नीजि र दलगत स्वार्थभन्दा माथि उठेर काम गर्न सके भने आफूलाई 'नेता' हरुको भिडबाट माथि उठाएर 'राजनेता' बनाउने मौका दिँदैछन् जनता। जनमतको पृष्ठभूमि यस्तो हुँदा-हुँदै र कांग्रेस-एमालेले पनि स्विकार्ने संभावना पनि धेरै हुँदा-हुँदैपनि यो वा त्यो बहाना बनाएर उनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा नउभ्याउनु माओवादीको गल्ती र कमजोरी दुबै हो। प्रचण्ड आफैं उम्मेदवार हुनुमा उनको सत्तालोलुपता सबैभन्दा ठूलो कारण हो। 

यतिखेर प्रचण्डले देखाएको ब्यबहार विगतमा गिरिजाले देखाउने ब्यबहारभन्दा कत्ति पनि फरक छैन। गिरिजामा चरम सत्तालिप्सा थियो र उनी दल र सरकार दुबैको नेतृत्वमा आफूबाहेक अरुलाई कल्पना गर्न सक्दैनथे। प्रचण्ड अहिले त्यहि ब्यबहार देखाईरहेछन् र यो र त्यो बहाना बनाएर बाबुरामलाई छिर्के हानिरहेछन्। सरकार र दलको सम्बन्धालाई स्पष्ट रुपमा परिभाषित गर्ने हो भने फरक-फरक ब्यक्तिले यी दुईको नेतृत्व गर्दा सरकार र दल दुबैको संचालन झन् राम्रो हुन्छ। अर्कोतिर, प्रचण्डले अहिले कुर्सीलिप्सा नदेखाएको भए उनको राजनीतिक उचाई बढ्ने थियो, उनी फेरि लोकप्रिय हुनसक्थे र सत्ताबाहिरै बसेर पनि देशको राजनीतिलाई डो-याउन सक्थे।

मैले कतै पढेको थिएँ (लाओ-च वा च्वाङ् च को भनाई हुनुपर्छ यो) , "A good ruler rules without ruling." (असल शाशक शाशन नगरी शाशन गर्छ।) । चरम विरोधाभाषी लाग्ने यो भनाई एउटा गहन सत्य हो। एउटा असल शाशक त्यहि हो जो आफ्नो नैतिक बलको भरमा शाशन गर्न सक्छ। उसको उपस्थितिमात्रै पनि काफी हुनसक्छ। एउटा राजनेता त्यहि हो, जो सत्तामा भए पनि नभए पनि, आफ्नो वैचारिक क्षमता र नैतिक बलको आधारमा देशको राजनीतिलाई प्रभावित बनाउन सक्छ।

बाबुरामलाई राजनेता 'घोषणा' गर्न खोजेको होईन मैले, उनले देशका लागि धेरै काम गर्न बाँकीनै छ त्यसका लागि तर एउटा सामान्य तुलनामा पनि उनी प्रचण्डभन्दा प्रभावशाली लाग्छन्। सरकार त के दलमै नबसे पनि देशको राजनीतिमा तरंग ल्याउन सक्ने चिन्तन र वैचारिक/बौद्धिक क्षमता छ उनीसंग। यसैले होला उनीमा कुर्सीलिप्सा केहि कम छ र उनी ढुक्क देखिन्छन्। अर्कोतिर प्रचण्डको स्थिति ठिक उल्टो छ, अहिलेसम्म उनले कुनै स्पष्ट चिन्तन र वैचारिक क्षमता देखाउन सकेका छैनन्। उग्र कुरा गरेर कार्यकर्तालाई सन्काउन र नेतृत्व तहका आफ्ना प्रतिस्पर्धीहरुको अन्तरविरोधमा खेल्न उनी सिपालु छन् तर त्यतिकै भरमा सधैं राजनीति चल्दैन। वैचारिक क्षमता नभएको नेता पदबाट हट्नासाथ उसको प्रभाव शून्य हुनपुग्छ। हिजो नेपालको राजनीतिमा जति ढलीमली गरेपनि आज गिरिजा झण्डै गुमनाम भईसके, त्यहि स्थिति प्रचण्डको पनि हुनसक्छ। यहि डरले उनलाई आफैं प्रमको कुर्सी ताकिरहने र अरुलाई मौका नदिने बनाएको हुनसक्छ।

माओवादी विना महाधिवेशन दुई दशक चल्नु र नेतृत्व परीवर्तनको कुनै हावा नचल्नुको मानसिक/वैचारिक आधार पनि यहि हुनसक्छ।

3 comments:

  1. Prashanta ShresthaJuly 27, 2010 at 11:44 AM

    हामी निरिह नेपालीहरु बिध्यमान राजनैतिक अबस्थामा हरेक नौला अनुहारहरुसंग परिवर्तनको झिनो अपेक्षामात्र गर्न सक्छौं l अनि यहि अवस्था रहिरहने हो र गतिरोध अन्त्यका लागि दलहरुले आफ्नो स्वार्थ त्यागेर अघि बढ्ने बाटो नखोज्ने हो भने गर्भमा रहेको नयाँ संबिधानले उज्यालो नदेख्नेमा शंकै छैन l

    ReplyDelete
  2. यो लेख नेपालको राजनीतिलाई नेपाली भुभागबाटनै हेर्दा देखिएको दुरुस्त स्वरुप हो . हो , प्रचण्ड भन्दा बाबुराम नेपाली जनतामा भिजेका र आशादित नेता हुन् तर उनकै पार्टीले उनलाई अघि बढ्न दिदैन ..जुन प्रचण्ड को सत्तालिप्साको परिणाम हो ..

    धेरै टाढा जानै पर्दैन ..इंडियामा मनमोहन र सोनिया गान्धीले सरकार चलाए जस्तै ...पि.यम. मा बाबुराम र संचालकमा आफु बसेर देश चलाउन सक्थे ..तर उनलाई त्यो पनि जायज लागेन ...

    लोकतन्त्र स्थापना पछि कामले जनता रिझाएका भनेको बाबुराम नै एक्ला नेता हुन् ...यसर्थ उनलाई सहि अवसर नदिईदा नेपाली राजनीति अझै पनि प्रचण्ड जस्ता बोल्न सिपालु परिपक्व हरुको लागि मात्र हो काम गर्ने हरुको लागि हैन भन्ने देखियो

    ReplyDelete
  3. प्रचण्ड २०५६ सालका चुनावी उम्मेद्वारजस्तै कुरा गर्छन्......राजनैतिक परिपक्वता भन्ने कुरा उनको पिँधमासमेत पलाको छैन..खोइ कहिले माथिसम्म आइपुग्ने हो !!

    ReplyDelete