February 08, 2010

नेपाली खेलकूदको स्वर्णकाल =------पञ्चायत??????

स्वर्ण पदक विजेता विनिता महर्जनजी (तस्बीर साभार:नागरिक दैनिक)

पहिला, ढाकामा जारी एघारौं दक्षिण एशियाली खेलकूद (साग) मा नेपाललाई पदक दिलाउने खेलाडीहरुलाई हार्दिक बधाई र धन्यबाद! पदक पाएपनि-नपाएपनि देशका लागि मेहेनत गर्ने सम्पूर्ण खेलाडीहरुलाई हार्दिक धन्यबाद!

खेलकूद पदाधिकारीहरुले गरेको देशको घोर बेईज्जतीको लागि तिनलाई धिक्कार र 'थुक्क!'!
 
यो टाँसो अहिले लेख्न थाल्नुअगाडि पढेका एक दुई समाचारले मेरो मनको तितो अलिक कम गरिदिएका छन् तर सरोकारवालाहरुसंगको आक्रोश भने ज्यूँका त्यूँ छ।

अघि भर्खर पदक तालिका हेर्दा  (11th South Asian Games) नेपाल छैठौं स्थानमा छ। दशकौंको बिदेशी हस्तक्षेप, गृहयुद्ध र आतंकवादले जर्जर भएको अफगानिस्तान समेत हामीभन्दा माथि छ। मार्शल आर्ट्सले अलि-अलि पदक थपेपनि माथि उक्लन अब त्यति सम्भव छैन नेपाललाई। हाम्रा खेलकूद पदाधिकारी र सरकारले त अब 'भुटान र मालद्विभ्सभन्दा त माथिनै छौं नि!' भन्दिन पनि बेर लगाऊँदैनन्, लाज नभएका नकचरा र हरामहरु हुन् यी!

क्रिकेटलाई छोडेर पूरै दक्षिण एशिया आफैं खेलकूदमा धेरै तल छ। त्यसको पनि पिँधमा पुगेपछि बिश्व‍-खेलकूदमा हाम्रो ठाऊँ कुन रसातलमा होला, अनुमान गर्नुहोस्। 

खेलाडीभन्दा दश गुणा बढी पदाधिकारीहरुको जन्ती, देशको झण्डाको अपमान, पुरानो राष्ट्रिय गान, खेलाडीहरुलाई निम्नस्तरीय बसोबास, दुर्घटनामा घाइते खेलाडीहरुको बेवास्ता र दुनियाँको अगाडि आफू-आफूमै हात हालाहाल! अब देशको बेईज्जत हुन केहि बाँकी रह्यो र?????

कालो झण्डा देखाउनुपर्ने हुन् यी खेलकूद पदाधिकारीहरु! साग सकिएपछि फर्किँदा बिमानस्थलमै यी मध्ये केहिलाई कालोमोसो दल्नुपर्छ र जुत्ताको माला लगाएर काठमाण्डु पूरै घुमाउनुपर्छ। र सत्ता टिकाउन मनपरी जन्ती लान दिने र गतिलो ब्यबश्थापनको निर्देशन दिन नसक्ने लाचार सरकारलाई धिक्कार छ!!!! देशको इतिहासमा कालो नाम लेखाउन यो सरकारका लागि ११औं सागनै काफी भयो!

खेलकूद केवल खेलकूद होईन, यो एउटा सभ्य देश र समाजको चिनारी हो। खेलकूद प्रतिष्पर्धा त हुँदै हो, त्यसमाथि यो एउटा उद्योग, एउटा ब्यापार र एउटा सफल कूटनीति पनि हो। वर्तमान बिश्वमा खेलकूद राष्ट्रिय गौरव बृद्धि गर्ने, नयाँ पुस्ताका लागि 'हिरो'हरु र 'आइडल'हरु दिने एउटा सशक्त र भरपर्दो माध्यम हो। हाम्रो खेलकूदको यो घोर बेईज्जतीले फेरि एकपटक हामी खेलकूदले प्रतिनिधित्व गर्ने यी सबै पक्षमा चरम रुपमा असफल छौं भन्ने देखाएको छ। हरेक प्रतियोगिताहरुले यहि सन्देश दिन थालेको धेरै भईसक्यो तर कान नभएका 'सर्प' हाम्रा दलहरुले अहिलेसम्म एकैछिन पनि यतातिर सोच्ने कोशिश गरेका छैनन्।

यो स्थिति आईपुग्नुमा खेलाडीहरुको भने अलिकति पनि दोष छैन। तालीम र प्रशिक्षणको अभाव, अवसरहरुमा पक्षपात र चरम अब्यबष्थापनको माझबाट पनि जति उपलब्धि उनीहरुले देशलाई दिएका छन्, त्यसका लागि उनीहरु धन्य छन्।

साग-११ मा नेपालको घोर बेईज्जतले मलाई २०४६ साल अघिका पञ्चायती दिनहरुमा पु-यायो। पञ्चायतपछिका दिनहरुमा देशले केहि पक्षमा राम्रा कुराहरु पायो होला तर खेलकूदको क्षेत्रमा भने देश दशकौंपछाडि धकेलिएको छ। त्यो बेला नियमित रुपमा राष्ट्रिय-क्षेत्रीय खेलकूद प्रतियोगिताहरु भईरहन्थे।  राजाको नामनै जोडिएको सही, बीरेन्द्र शील्ड भनिने वार्षिक राष्ट्रब्यापी खेलकूदका कारण स्कूल-स्कूलका, गाऊँ-गाऊँका प्रतिभाशाली खेलाडीहरु सबैका नजरमा पर्थे र तिनले प्रशिक्षण र थप प्रतियोगिताहरुको अवसर पाऊँथे। खेलकूदका हकमा अहिलेको दाँजोमा पञ्चायतसंग एउटा समग्र राष्ट्रिय दृष्टिकोण र योजना थियो। त्यतिखेर नेपाल यस्ता साग गेममा भारतको प्रतिष्पर्धी मानिन्थ्यो। फुटबलमा हामी स्वर्णकै दावेदार मानिन्थ्यौं। हामी बिस्तारै दक्षिण एशियाली मापदण्डलाई नाघ्नसक्ने हैसियतमा पुग्दै थियौं जस्तो लाग्छ मलाई त।

अहिले 'खुट्टा तान्ने' राजनीतिक प्रतियोगितामा मात्रै राज्यको ध्यान छ। नीजि क्षेत्रले केहि गर्न नसक्ने होईन तर त्यसको प्रभाव कम हुन्छ। हाम्रो जस्तो आर्थिक/राजनितिक अबष्था भएको देशमा जबसम्म खेलकूदको विकासका लागि राज्य आफैंले एउटा स्पष्ट खाका ल्याउँदैन र प्रणालीबद्ध र संयोजनकारी काम गर्दैन तबसम्म नीजि क्षेत्रको लगानी पनि बालुवामा पानी हालेभन्दा बढी हुँदैन।

पञ्चायतको गुणगान गाउनु मेरो उद्देश्य होईन यहाँ। पञ्चायतले आफू र निरकुंश राजतन्त्रलाई जोगाउन खेलकूद र खेलाडीहरुको दुरुपयोग पनि गरेको थियो। र जुन उपलब्धि पञ्चायत कालमा नेपालले खेलकूदमा प्राप्त गरेको थियो, नेपाली जनताको खेलकूदप्रतिको आकर्षण र नेपाली खेलाडीको सम्भावित क्षमताको दाँजोमा अझै कम हो।

तर अहिलेको दुर्दशा देख्दा र निकट क्षितिजमा सुधारको कुनै किरण नदेख्दा म पञ्चायतकाललाई नेपाली खेलकूदको स्वर्णकालका रुपमा स्विकार्न बाध्य छु, विवश छु।

13 comments:

  1. कुरा सोर्है आना सै हो।

    ReplyDelete
  2. मलाई पनि त्यस्तै लाग्छ ।

    ReplyDelete
  3. कुरा ठिक हो ।

    ReplyDelete
  4. jey lekhnu bhayo ekdam nai satya ani yathartha lekhnu baheyko chha. Yo hamrai durbhagya ho.

    ReplyDelete
  5. निकम्मा नेपालि नेता र राजनीतिक दल हरु कर्यर्कता को भरणपोषण मा तलिन्न छन यी लाज मारा हरु |

    ReplyDelete
  6. सारै चित्तबुझ्दो लेख लेख्नुभएछ बसन्तजीले | के भन्ने गालि गर्न पनि घीन लाग्छ यस्तालाई ! देश सबै यसरी नै चलेको छ ..उफ् ..!

    ReplyDelete
  7. I agree with you one precent and thank you for your article.

    ReplyDelete
  8. मेरो बिचारमा तिनेर्लाई था भएको यौटै खेल छ - त्यो हो राजनीतिको खेल ... अब जहाँसुकै त्यही खेल्नमा व्यस्त भएपछि कसरी हुने हाम्रो खेलकुदमा विकास?

    ReplyDelete
  9. अन्तिम घडीमा भए पनि केही खुशीको खबर सुन्न पाइयो, कमसेकम हामी अफगानिस्तानभन्दा माथि उक्लेछौँ। तर लेखमा उठाइएका मुद्दाहरु भने ज्यूँका त्यूँ नै छन्। झण्डा र राष्ट्रिय गानको कुरामा चाहिँ आयोजक बाङ्लादेशको चरम लापरवाहीलाई पनि बेवास्ता गर्न नमिल्ला।

    ReplyDelete
  10. तपाईका आक्रोशको कुराहरु सुन्दा म मा पनि रक्त संचार बढेर आयो ! गालि गर्दा तसलिमा नसरिनका शब्द झैँ लाग्ने शब्द युज गर्नु भएको छ !

    एउटा घत लाग्दो प्रसंग - भारत को प्रतिद्रन्दी मानिने नेपालको दुरदशा यस्तो होला भन्ने मैले पनि कल्पनै गरेको थिन |तर यथार्थ आज आफ्नै अगाडी आएको छ |सिमित स्वार्थी व्यक्ति / समुहले गर्दा हामीलाई काही को नरहने बनाए - बसन्त जी ! इजत नहुने को बेइजत हुन्न रे ! तिनले त्यस्तै सोचे कि क्या हो ?

    ReplyDelete
  11. बसन्त जि,

    तपाईं को सहि मा सहि थप्न चाहन्छु । देसको लागि खेल कति महत्वपूर्ण हुन सक्छ भनेर हेर्न Invictus भन्ने चलचित्र हेरे छर्लङ हुन्छ

    -Prajwol-

    ReplyDelete
  12. The day beore the game formally opened, I was telling to a Chinese friend that we might do well in martial arts and that will help us to put up in good place. I had also told that we were competitive in football as well. But as the game progressed, I wished he had not been remembering anything.

    Well said, sometimes I wonder what is the priority in our system of leadersip?? people, nationality, science and education, sports, public health?????

    ReplyDelete
  13. यहाँहरु सबैलाई सादर धन्यबाद!
    यसपाला पनि ढिला भईयो जवाफ लेख्न। क्षमाप्रार्थी छु।

    ReplyDelete