June 28, 2009

कथा- "बाँचेको मान्छे"

[विगत केहि समय यता लगभग राजनीतिक विषयमा मात्रै लेखें मैले। अब केहि समय ब्लगमा अलि-अलि साहित्य पनि घोल्ने छु। यस बीचमा लेखिएका केहि कथाहरु र पुराना एक-दुई कविताहरु राख्दै जानेछु बीच-बीचमा।]


बाँचेको मान्छे

आज पनि बाऊले गाली गरे।

सधैंजस्तै आज बिहान पनि ऊ अलिक ढिला गरेर खाना खान घर फर्केको थियो। बाऊको गाली खानबाट जोगिन चाहन्थ्यो ऊ। बाऊको गालीले अघाईसकेपछि खानाको लागि ठाऊँ बाँकीनै रहँदैनथ्यो र ऊ दिनभरि भोकै हुनपुग्थ्यो। घरमा बाऊको चालचूल थिएन, उसले आमालाई सोधेन पनि, बाऊ कता गए भनेर। ऊ भान्सामा उसको लागि भनेर रहेको खाना एकैपटक खन्याएर हतार-हतार खान थाल्यो।

“ल हेर, कविज्यू आईपुग्नुभएछ!” खाईसक्ने बेलामा अचानक बाऊ भित्र पसे। “के छ लेखकज्यू?” बाऊ अचेल यस्तै पाराले छेडखान गर्छन् उसलाई। “गधा—साले---! पुरुषार्थ भन्या एक रौं पनि नभा’को---!” यो चाहिँ छेडखान पछि बाऊले भुतभुताऊने ‘मन्त्र’। बाऊ भुतभुताऊँदै आँगनतिर लागे। आमापनि नजिकै थिईन्, अरु दिन भए आमाले ‘खाने बेलाँ पनि किन करा’को?’ भन्थिन् तर आज भने कहि पनि नबोली उस्ले खाएका भाँडा उठाएर बाहिर तिर लागिन्।

मनको नरमाईलोलाई अलिक फिका बनाउन ऊ बजार तिर लाग्यो।

बाऊको ऊसंगको रिस उसले कमाएन अथवा गतिलो कमाई हुने जागिर खोजेन, २५-२६ हुञ्जेलसम्म पनि हल्लेर बसेको छ भन्ने हो। यतिखेर त अझ बाऊलाई 'सरकारी अधिकृत’ को भूत चढेको छ। उसका दुईटै दाइहरु लोकसेवा लडेर शाखा अधिकृत बनेका थिए र अहिले अरु कुनै जिल्लाहरुतिर पुगेका थिए। बाऊ चाहन्थे, ऊ पनि लोकसेवा लडोस् र शाखा अधिकृत बनोस्। बूढाको अचेलको सपनामा कुनै दिन आफ्ना तिन्टै छोराहरु सचिव हुन्थे। यसैले उनको सपनाको एउटै बाधा बनेको थियो ऊ।

'भुत्राको जागिर---!‘ ऊ मनमा धेरै कुरा खेलाएर हिँडिरहेको थियो। उसलाई यान्त्रिक जागिरे जीवनले कहिल्यै आकर्षण गर्न सकेन। एउटा उमेरबाट उसमा अनौठो ‘भूत’ चढ्यो, ऊ ‘लेखेर बाँच्न’ चाहन्थ्यो। धेरै विदेशी लेखकहरुको सफल जीवनशैलीका बारेमा पढेपछि ऊ एकदम प्रभावित भएको थियो किशोरवयमा। ऊ लेख्ने कुरामा सानैबाट प्रतिभाशालीमा गनिन्थ्यो पनि। विद्यालय र त्यो भेगका लगभग सबैजसो कार्यक्रमहरुमा पुरस्कार पनि हात पार्थ्यो।

पछि अलिक उमेर खाएपछि उसलाई आफ्नो सपना र यथार्थबीचको खाडलको बोध भयो। लेखेर कमाएर बाँच्ने कुरा त परै जाओस् अलि गतिलो पत्रिकामा सित्तैमा रचना छपाउन समेत सजिलो हुँदो रहेनछ। उसको भन्दा धेरै तल्लै स्तरका, साह्रै गएगुज्रेका रचनाहरु प्रकाशित हुन्थे, जति पठाए पनि उसका भने कहिल्यै देखिँदैनथे। तीन-चार पटक काठमाडौं पुगेको बेला उसले केहि पत्रिकाहरुको अफिसमै पुगेर पनि रचना छाड्यो र केहि महिना कु-यो तर उसका रचनाहरु देखिएनन्। आफैं किताब छपाओस् भने पनि उसको परिवार त्यसरी पैसा निकाल्न सक्ने परिवार होईन, सक्नेनै भएपनि बाऊले के दिँदा हुन! अचेल ऊ पूरै साहित्यिक प्रकाशन फाँटलाई एउटा फोहरी ‘सिण्डिकेट’ को रुपमा मात्रै लिन्छ जहाँभित्र पस्न कि त गतिलो चिनजानको जालो चाहिन्छ कि आफैं दाम लगाउन सक्नुपर्छ।

आफ्नो सपना खाल्डामा परिसकेपछि पनि उसले कुनै एउटा निश्चित निर्णय गर्न भने सकेन। केहि समय विरक्तिएर केहि पनि लेख्दै-नलेखी बस्यो। नलेखी बस्दा झन् उकुसमुकुस बढेकोले फेरि लेख्न थाल्यो तर छपाउने कुरामा चासो राख्न छोड्यो। कहिलेकाहीँ जिल्लाका स्थानीय पत्रिकाहरुका लागि वा सङ्घ-संस्थाका स्मारिकाका लागि रचना माग्न आऊँथे। तिनबाट उसले एक प्रति स्मारिका वा पत्रिका पाऊँथ्यो, कतिले त त्यहि पनि दिँदैनथे। त्यसबाहेक, जिल्लामा हुने साहित्यिक कार्यक्रमहरुमध्ये केहिमा सहभागिता जनाऊँथ्यो।

पैसो नभई जिन्दगीको गाडी नचल्ने बोध पलाईसकेको थियो उसलाई केहि वर्ष पहिलानै तर उसलाई कुनै पनि खाले बन्धन भने सैह्य थिएन। लेख्न छोडेनैपनि ऊ एउटा जागिरे बन्न सक्दैनथ्यो होला शायद, किनभने उसको मुख्य सीप र रुचि दुबै भनेकै साहित्य-लेखन मात्रै थियो। त्यसैले जिन्दगी धान्ने तात्कालिक उपायका रुपमा ऊ गाऊँकै एउटा ‘बोर्डिङ्ग स्कूल’ को शिक्षक बन्यो। शिक्षकको जीवन उसलाई ठिकै लागेको थियो र ऊ आफनो स्थायी पेशा पनि यसैलाई बनाउने विचार गर्दै थियो। तलब धेरै थिएन तर उसको आवश्यकता टरेको थियो। तर बाऊको गाली अलिक फरक मात्रै भएको थियो त्यतिबेला पनि। ‘त्यो मु— माष्टरको जागिर पनि काहीँ जागिर हो---?!---- कल्ले दिन्छ छोरी यस्ता मु— माष्टरलाई--?!’ यस्तो हुन्थ्यो बाऊको गाली त्यो ताका। उता छोराको जागिर गतिलो नहुँदा बुहारी बनेर गतिलो घरकी छोरी नआउली भन्ने पीर आमाले पनि देखाऊँथिन्।

चारमहिना पहिला ‘बुर्जुवा र दलाल शिक्षा’ पढाएको भन्दै माओवादीले स्कूल बन्द गराईदिए। बजारका ठूल्ठूला ‘बोर्डिङ्ग’ जिऊँदै थिए, मर्नेमा किन हो कुन्नि उसले काम गर्ने, गाऊँको फुच्चे ‘बोर्डिङ्ग’नै प-यो। यता घरमा बिस्तारै बाऊको गाली पनि पूरानै ठाऊँमा फर्कियो।

“ओहो--- ‘विवश’ कविज्यू! आज कसरी हाम्रो पसलमा---!?” पैसा बुझ्ने ठाऊँबाटै साहु करायो, उसको साहित्यिक नामलाई अलिक जोड दिएर बोल्दै। मनमा कुरा खेलाऊँदा-खेलाऊँदै पत्तै नपाई कसरी ऊ यो मोतीमान साहुको पसलमा पसेछ। मोतीमान साहुका ताई न तुईका कुरा उस्लाई त्यति मन पर्दैनथ्यो, त्यसैले ऊ सकेसम्म पस्दैनथ्यो यहाँ।
“ल आऊनुस्,कविज्यू! बस्नोस्।“ साहुले अघिल्तिरको कुर्सी देखायो र ‘दुईटा चिया ल्याउन’ पसलमा काम गर्नेलाई अह्रायो।

“होईन साहुजी, म चिया नलिऊँ होला, भर्खर खाना खाएर आएको।“ आफ्नो अघिल्तिर चिया देख्यो उसले।
“लिऊँ, लिऊँ! केहि हुन्न, चिया खानेनै खाना खाएपछि हो---- “
-----
“अस्ति त निकै कविता पढिँदै थियो नि हँ त्यता चोकमा!” यो कुरो ननिक्लेहुन्थ्यो भन्दा-भन्दै साहुले कुरो निकालिहाल्यो। अस्ति पसल नजिकैको भूपि चोकमा एउटा साहित्यिक कार्यक्रम भएको थियो र ऊ र हिरामान साहुका कविताहरु साह्रै चर्चित भएका थिए। कार्यक्रम सकिने बेलामा पनि उनीहरु दुईलाई उनीहरुका केहि थप कविताहरु पालैपालो वाचन गराईएको थियो।

मोतीमान साहुले कुरा उप्काएको पनि हिरामान साहुकै कारणले हो। हिरामान, मोतीमानको साख्खै दाजु हो। पुर्ख्यौली सम्पत्तिलाई लिएर दुई भाइमा धेरै वर्ष पहिला बाट बोलचाल बन्द छ र बेला-बेला झगडा परिरहन्छ। उनीहरुको वैमनस्य जिल्लैभरि चर्चित छ।

“कविज्यू, यस्सो यो कविता-सविता लेख्ने कुरा हाम्लाई पनि सिकाउनुस् न---!” ऊ पसलबाट हिँड्ने बेलामा मोतीमान साहुले भन्यो।

‘कविता लेख्न सिकाएर सिकिन्छ---?’ बाहिर निस्केपछि गम्यो ‘विवश’ ले। मोतीमानमा रहेको हिरामान प्रतिको ईर्ष्याकै एउटा विस्तार थियो यो पनि भन्ने उसलाई थाहा थियो। आफू कुनै पनि कुरामा हिरामानभन्दा कम नभएको देखाउन चाहन्थ्यो मोतीमान। अरु कुरामा त थियो पनि तर साहित्यिक कुरामा भने मोतीमानले आँट्न सक्दैनथ्यो। हिरामान एउटा प्रतिभाशाली कवि थियो र स्थानीय साहित्यिक वातावरणमा राम्रै नाम कमाएको थियो। ऊ जिल्लाको एउटा सफल ब्यापारी, समाजसेवी र साहित्यसेवी मानिन्थ्यो। ब्यापारी र समाजसेवी त मोतीमान पनि कहलाईन्थ्यो, ऊ अब साहित्यसेवी पनि बन्न चाहन्थ्यो। तर लेख्न त जान्नु-सक्नु प-यो नि!

विना उद्देश्य बजारमा बरालिईरहँदा अचानक ‘विवश’को मनमा एउटा झिल्का उठ्यो र ऊ घरतिर लाग्यो। सधैं रात परेपछि घर फर्कने छोरो आज दुई नबज्दै फर्केको देखेर बाऊ-आमा छक्क परेको थाहा हुन्थ्यो, तर भन्नचाहिँ केहि पनि भनेनन् उनीहरुले। ऊ कोठामा पस्यो र चुकुल लगायो।

चार बजेतिर, आमाको ‘खाजा खाएर जाने’ आग्रहलाई पनि टारेर ऊ फेरि बजारतिर लाग्यो।

“साहुजी, एउटा जरुरी कुरा गर्नु थियो---।“ ग्राहक नभएको मौका पारेर ऊ मोतीमान साहुको अघिल्तिर उभियो।
“हुन्छ कविज्यू! भन्नुस् के सेवा गर्नुप-यो।“
“अलि गोप्य कुरा हो। भित्र गएर कुरा गर्न पाए हुन्थ्यो।“
“कविज्यूले के त्यस्तो गोप्य कुरा ल्याउनुभो' त?” मोतीमान साहुले उसको कुरालाई अझै खासै महत्व नदिएको थाहा हुन्थ्यो। एक छिन् पछि पसल काम गर्नेको जिम्मा लगाएर ‘विवश’ कविज्यूलाई लिएर साहु भित्र पस्यो।

“---------------------------------------“
“---------------------------------------“
“---------------------------------------“
“खोई हरौं त!"
"यी, ल हेर्नुस्।"
“ल ठीक छ, तर डेढ लाख त साह्रै बढी भन्यौ कविज्यू--- “
“कसरी बढी भयो साहुजी? तपाईँले यस्सो कोटयाए पनि निक्लिन्छ त्यति त! अब तपाईँलाई नाम चाहिएको, मलाई दाम चाहिएको। कविता भन्ने चीज पनि त्यस्सै बर्सिने होईन, दिमाग लगाउन परिहाल्छ, समय लागिहाल्छ लेख्न।“
“ल ल, धेरै कुरा किन? म एक लाख दिने भएँ यसका लागि।“ एकछिन विचार गरेर मोतीमान साहु बोल्यो। ‘विवश’ कविज्यूको मौनताले स्विकृतिको सूचना दियो।
“कविता सबै राम्रा छन् हैन त? अस्ति त्यो भातेले पढेभन्दा पनि राम्रा—“ हिरामान साहुसंगको रिस पोखिन आईपुग्यो यहाँ पनि।
“धेरै जसो राम्रै छन्, कुनै-कुनै चाहिँ ठिकै खाले पनि छन्। एकैचोटि वाह! वाह!! पायो भने मान्छेले शंका गर्छन् क्या!” साहुलाई फुल्यायो ‘विवश’ कविज्यूले। खास कुरा चाहिँ के हो भने उसले धेरैजसो आफूलाई एकदमै मन नपरेका र केहि ठिकैमात्र लागेका आफ्ना कविताहरु सारेर ल्याएको थियो। राम्रालाई त उसले जोगाएर राख्नेछ अझै केहि वर्ष!
------
“तर एउटा कुरो कविज्यू, कविता त बीस वटा मात्रै छन् नि!” साहुले गन्न भ्याईसकेछ। "यति थोरैले कविता संग्रह निक्लिन्छ?”
“काँ’ अहिल्यै कविता संग्रह निकाल्ने कुरा ग-या साहुजी? मान्छेले पत्याऊँछन्? यस्तो हतार गर्दा चोरेर छापेको भनेर पत्रिकाले लेख्दैनन्? पहिला, महिनाको एक-दुईटाको दरले यिनलाई ठाऊँ-ठाऊँमा पाठ गर्ने, पत्रिका-सत्रिकामा छपाउने र बिस्तारै चिनिँदै जाने। संग्रह त एक-दुई वर्षपछि निकाले हुन्छ। मैले एउटा ‘प्लान’ बना’को छु। त्यहि ‘प्लान’ अनुसार अघि बढ्यो भने कसैले पनि शंका गर्दैन। बरु त्यो ‘प्लान’ बापत डेराभाडाको पैसा पाए म यतै बजारतिरै बस्थें तपाईँलाई सघाउन।“
“हुन्छ कविज्यू। एउटा सस्तो खाले कोठाको भाडा मैले तिर्दिनें भएँ, तर संग्रह निकाल्ने बेलासम्म चाहिँ पचासवटा पुग्नुपर्छ है। बाँकी पनि लेख्दिनुपर्छ नि कविज्यू!”
“अलि बढी दाम पाए त्यो ‘काम’ पनि गरिन्छ साहुजी!” ‘विवश’ कविज्यूको अनुहारमा अलिक धूर्त चमक देखिन्थ्यो। “तर अलि-अलि चाहिँ आफैंले पनि लेख्ने कोशिश गर्नुहोला।“
“साह्रै बाठो पो रैछो कविज्यू तिमी त! हेर्दा यस्तो सोझो देखिन्छौ!“
“खोई के सोझो - के बांगो साहुजी!”
-----------------------------------------------------------------
भोलिपल्ट 'बजारको एउटा स्कूलमा जागिर मिल्ला जस्तो छ!’ भनेर आमालाई ढाँट्यो र सिरक-डसना, आफ्ना कापी किताब र एउटा पुरानो स्टोभ बोकेर ‘विवश’ले घर छोड्यो। बजारमा बस्न थालेपछि कुनै स्कूलमा ‘अल्झिने’ योजना भने थियो उसको।

दुई हप्ताजति पछि बजारको एउटा ‘साहित्यिक भेला’ मा मोतीमान साहुले “म लेख्न जान्ने मान्छे त होईन तर पनि एउटा सानो कोशिश गरेको---“ भन्दै एउटा छोटो कविता पाठ ग-यो र अलि-अलि वाह! वाह!! पनि बटुल्यो। कोहि-कोहिले त ‘रगतमै साहित्यिक प्रतिभा भएको परिवार यहाँको त !’ भनेर पनि फुर्क्याए उसलाई। ‘विवश’ भने त्यो कार्यक्रममा देखिएको थिएन।

दुई दिन पछिको शुक्रवारको साँझ, ‘विवश’ कविज्यू कुनै भट्टीमा बिजुली पानी र सुकुटीसंग आफ्ना विचार चपाऊँदै थियो र आफ्नो लेखेर बाँच्ने अधमरो सपनालाई बोकेर कतिञ्जेल ‘महादेव’ भईरहने हो, सोच्दै थियो।
“तपाईँका अरु लक्ष, अरु सपना के छन् त?” स्थानीय एफ.एम को कार्यक्रम संचालक कसैको अन्तर्वार्ता लिँदै थियो।
“हेर्नुस् भाइ, यो जिन्दगीमा मलाई अरु सबै पुग्या’ छ। अब अलि-अलि साहित्यसेवा गर्ने मन छ। लेख्न सिक्दैछु।-------“ यो त हाम्रो ब्यापारी-समाजसेवी मोतीमान साहु थियो र कार्यक्रम हाम्रो ‘विवश’ कविज्यूकै ‘प्लान’ को अर्को चरण थियो!
“साह्रै महान विचार! हजुरको प्रतिभा त अस्तिको एउटा कवितालेनै देखाईसक्या’ छ। शुभकामना छ हजुरलाई अझ धेरै सफलताको! हजुरको आगमन नेपाली साहित्यको लागि एउटा ठूलो शुभ-घटना बन्ने निश्चित छ।----- ।“
“---------“

अन्तर्वार्ता सकिँदासम्म ‘विवश’को मन पनि बिजुली पानीले तातेर रसिक हुँदै आईसकेको थियो। ‘खासमा म लेखेरै त बाँचेको छु नि! आफ्नै नाममा लेखेपनि, अरुकै नाममा लेखेपनि- त्यै लेखेकै भरमा त बाँचेको हुँ म। अझ त्यो मोतीमान साहु पनि अचेल मेरै लेखाईले बाँच्न थालेको छ। म लेख्छु र म बाँच्छु; म लेख्छु र मोतीमान साहु बाँच्छ।'


-समाप्त-

वसन्त गौतम
जुन ७ (दिउँसो १२:५४)
नागोया, जापान

June 23, 2009

एउटा राजनीतिक 'जलपान'मा

एमालेको जापानस्थित भातृ-संगठन 'नेकपा-एमाले प्रवास कमिटि'को नागोया शाखाले अस्ति आइतबार एउटा जलपान कार्यक्रमको आयोजना गरेको थियो, नेपालमा एमालेको नेतृत्वमा सरकार बनेको उपलक्षमा। त्यसलाई एउटा विचार-गोष्ठीको रुप पनि दिईएको थियो।
-------------------------------------------------------------------------------
एमालेको कुरा गर्दा यसलाई सबैभन्दा बढी लाग्ने दोष भनेको यो ढुलमुले छ र यसको केहिमा पनि स्पष्ट अडान छैन भन्ने हो। मध्यमार्गी राजनीतिका कतिपय बाध्यताहरु हुन्छन् त्यो सत्य हो तर एमालेले वास्तवमै आफूलाई परिभाषित गर्न नसकेको अथवा जनताको माझमा आफ्नो नीतिलाई स्पष्ट राख्न नसकेको भने अवश्य हो।

२०४६ सालपछिको लामो अवधिमा यो प्रायश: प्रतिपक्षमै रह्यो। सत्तामा रहेको कांग्रेस सत्तामा रहेर भ्रष्ट भयो र बिग्रियो। एमाले सत्तामा थिएन तर यो प्रतिपक्षमा रहेर, सत्ता बाहिरै रहेर पनि भ्रष्ट भयो र बिग्रियो। यसले बिग्रने र पत्रु बन्ने कुरामा कांग्रेससंग प्रतिस्पर्धा ग-यो। यसरी यसले आफूलाई कांग्रेसको सहि विकल्पको रुपमा उभ्याउनै सकेन। जनताको नजरमा यो कांग्रेसको विकल्प होईन, भाइ-कांग्रेसको रुपमा चिनियो। जनताले 'कांग्रेस-एमालेजस्तो भ्रष्ट' भन्न थाले र विकल्पमा अरुनै कोहि उदायो।

अलिक पछि आएर एमालेले कांग्रेससंगको प्रतिशोधलाईनै आफ्नो राजनीति बनायो। गिरिजा एण्ड कम्पनीले बेला-बेलामा एमालेलाई थाङ्ग्नामा नसुताएको होईन तर त्यहि रिसमा यसले कहिले पञ्चलाई प्रधानमन्त्री बनाएर सरकारमा गयो, कहिले दरबारमा निवेदन हाल्न गयो, तपाईँहरुलाई थाहै छ।

केहि समय यताको शान्ति-प्रकृयामा यसको भूमिकाको भने सबैले सराहना गरेका छन्।

संविधान-सभाको चुनावमा गोल्खाडी भएपछि एमाले कति चेतेको र भविष्यका लागि कस्ता योजना छन्, त्यो उनीहरुलाई नै थाहा होला।

मैले माथिनै भनिसकें, दुई अतिवादको बीचमा रहेर राजनीति गर्नु गाह्रो काम हो। राम्रो र प्रभावशाली नेतृत्व हुँदा यस्तो राजनीतिले देशको लागि सबैभन्दा बढी काम गर्न सक्छ, तर गलत वा असलै भएपनि अप्रभावी नेतृत्व हुँदा कुनै तरंग ल्याउन सक्दैन र भूमिकाहीन भएर सुक्दै जान्छ। एमाले यसकारण अहिले अवसर र संकटको अन्तिम दोसाँधमा उभिएको छ।
----------------------------------------------------------------------
विचार-गोष्ठीमा हामी केहिले आफ्ना मन्तब्य राखेका थियौं। म 'निर्दलीय' मान्छे, मैले पनि त्यहाँ बोल्नु पर्ला भन्ने सोचेको थिईँन। साथीहरुले 'नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान केन्द्र'को पूर्व अध्यक्षको रुपमा भएपनि बोल्ने अनूरोध गरे। ('नागरिक समाज' बनिसकेछु म त:) हे हे हे!)

संविधान निर्माण एउटा प्रमुख प्राथमिकता हुँदै हो सरकारको तर देशभरि ब्याप्त हत्या-हिंसा, अराजकता र दण्डहीनतालाई बेलैमा लगाम लगाईएन भने संविधान बने पनि नबने पनि हाम्रो देश एउटा गम्भिर दुष्चक्रमा फँस्ने निश्चित छ। नेताहरु र दलहरुमा देशको माया कति छ भन्ने कुरा यो जटिल परिश्थितिमा ब्यक्तिगत र दलीय स्वार्थबाट को कत्तिको माथि उठ्छ भन्ने कुराले देखाउनेछ। हामीले दिएका सुझाव यस्तै थिए। हाम्रा सुझाव देश चलाउनेका कानसम्म पुग्लान्-नपुग्लान्, त्यो बेग्लै कुरो हो।

एउटा सामान्य नेपालीले अहिले सबैभन्दा पहिला चाहेको भनेको शान्ति-सुरक्षानै हो। यसको अगाडि सँविधान निर्माण पनि गौण बन्न जान्छ। एउटा जिऊँदो-जाग्दो र सभ्य समाज बनाउन सकेनौं हामीले भने, लोकतान्त्रिक संस्कारलाई हाम्रो चिन्तन र ब्यबहारमा स्थापित गर्न सकेनौं हामीले भने, जति राम्रो संविधान लेखिए पनि त्यो खोष्टो सरह हुनेछ। समाज सभ्य छ भने संविधानका बुँदा पनि तपसील बन्न जान्छन्। बेलायतजस्तो एक हिसाबले लिखित संविधाननै नभएको देश यो संसारको आधुनिक लोकतन्त्रको जननी हो। मलाई त अचेल यो गणतन्त्र, संघीयता सब तपसीलका कुरा लाग्न थालेका छन। राजतन्त्र भएरै पनि यूरोपका त्यति धेरै देशहरु र जापान माथि पुगेकै छन्, ती मध्ये धेरै देश संघीय पनि होईनन्। कुनै पनि तन्त्रभन्दा महत्वपूर्ण कुरा संस्कार हो।

एमालेलाई दिईएको अर्को सुझाव गर्नु पर्ने कामहरुको सहि प्राथमिकता निर्धारण र सहमतीय निर्णय थियो। माओवादीको सरकार ढलेको एउटा प्रमुख कारण उसको गलत प्राथमिकता निर्धारण हो। अर्को कारण दुई तिहाई बहुमत भएझैंको उसको दम्भ र गठबन्धनको सरकारलाई आफ्नो पार्टी सचिवालयको आदेशका भरमा चलाउन खोज्ने हठ हो। एकजना साथीले राम्रो उदाहरण दिनुभएको थियो। बाटो सजिलो हुँदा मान्छे (दल) मात्तिने संभावना बढी हुन्छ र मात्तिएपछि ऊ लड्छ। तर बाटो अप्ठेरो छ भने मान्छे होशियार भएर हिँड्छ र नलडी बाटो पार गर्ने सम्भावना धेरै हुन्छ। साथीले 'माओवादी पात-पातमा नाचेर हिँड्न खोज्नाले लडेको हो!' भन्दा अलिक हाँसो पनि गुञ्जेको थियो। तर यथार्थ त्यहि हो।

June 18, 2009

नेपाल अपराधीहरुको स्वर्ग किन भयो?

दलहरुकै कारण, दलहरुकै कारण र केवल दलहरुकै कारण!

एउटा क्याम्पसका क्याम्पस-प्रमुखलाई स्ववियू पदाधिकारीसहितले ढोका थुनेर मर्णान्त हुञ्जेल पिट्छन्। तिनको उद्धार हुन्छ र पछि प्रहरीले अभियुक्तहरुमध्येका केहिलाई पक्राऊ गर्छ।

यहाँबाट 'खेल' शुरु हुन्छ। सबै दलका मान्छे मिलेर ती अभियुक्तहरुलाई पक्राऊ गरिएकोमा विरोध जनाऊँछन् र तिनलाई रिहा नगरिए जिल्लै ठप्प पार्ने धम्की दिन्छन्। यस्तो बेलामा प्रहरीमाथि आएको यो अनुचित दबाबलाई हटाउन दलका 'माथि'का मान्छेहरुले वास्ता गर्दैनन् (उल्टो आफैंपनि भित्र-भित्रै पुलिसलाई दबाब दिईरहेका होलान्, चलनै हो यो)। पछि अदालतले छोड्ने आदेश दिन्छ अपराधीहरुलाई। र अबीर-जात्रा हुन्छ गुण्डाहरु छुटकोमा---!

यो कुनै मसलादार फिल्मको दृश्य होईन, सबैका आँखा अगाडि घटेको प्रत्यक्ष घटना हो। समाचार हेर्नुस्, क्याम्पस प्रमुख कुट्ने विद्यार्थी रिहा

यसरी अबीर-जात्रासहित गरिएको रिहाइले क्याम्पस-प्रमुखमाथि कति ठूलो मानसिक तनाव दिईरहेको होला! क्याम्पस प्रमुखलाई अब शायद ज्यानकै चिन्ता लागेको हुनुपर्छ। यो स्थितिमा उनको ठाऊँमा जो भएपनि ज्यानको चिन्ता लाग्नु स्वाभाविक हो। 'झण्डै मार्न खोज्दा' अबीर-जात्राले सम्मान पाएपछि कथित स्ववियू पदाधिकारिहरुको आत्मबल गज्जबसंग बढेको होला र अब उनीहरुले भेट्टाए क्याम्पस-प्रमुखलाई पक्कै मार्नेछन् होला किनभने हाम्रो देशको राजनीतिले हत्यालाई 'महिमामण्डित' गरिसकेको छ, हत्याराहरु हाम्रो देशमा बहादुर ठहरिन्छन् र तिनको जताततै पदोन्नति हुन्छ!

देशका प्राज्ञिक थलोहरुलाई दलहरुले एक‍-एक गर्दै गुण्डागर्दीका पाठशालामा बदलिदिएका छन्। केहि समय पहिले त्रिविका उपकूलपतिलाई कालो मोसो दले तत्कालिन प्रमकै दलका कार्यकर्ताले। तिनलाई के कारवाही भयो कुन्नि थाहा छैन। तत्कालीन सरकारले चासो समेत दिएन, न त अहिलेको सरकारलेनै दिनेछ। के अब हाम्रो देशमा प्राज्ञिक पेशामा लाग्नुनै 'अपराध' ठानिन थालेको हो?

यो समाचार पढेपछि मलाई आफैंमाथि दया लागेको छ। यी ती दलहरु हुन् जो हामीलाई नयाँ संविधान दिने र नयाँ नेपाल दिने गफ दिईरहेछन्! यस्ता अपराधी-जत्थाले के दिन्छन्?!!

हाम्रा दलहरुले युवा उर्जा, जोश र जाँगरको अत्यन्त दुरुपयोग गरिरहेका छन् तिनलाई सृजनात्मक हुने मौकै दिएका छैनन्। स्ववियू यस्तै एउटा अत्यन्त अनावश्यक निकाय हो। नेपालको शैक्षिक क्षेत्रलाई सपार्ने हो, नेपालको समग्र राजनीतिको अपराधीकरणको अन्त्य गर्ने हो भने सबैभन्दा पहिले गर्नुपर्ने काम भनेकै स्ववियूको समाप्ति र प्राज्ञिक क्षेत्रको 'निर्दलीयकरण' हो। यो कुरा हाम्रा सबै दलहरु, नेताहरु, कथित विद्यार्थी नेताहरु सबैलाई चित्त नबुझ्न सक्छ किनभने उनीहरुको एउटै सीप भनेको यी युवा विद्यार्थीहरुलाई भड्काउने, सडक तताउन लगाउने, लड्न-भिड्न लगाउने र गोली खान छाती थाप्न लगाउने हो। कथित विद्यार्थी राजनीति सकिनेबित्तिकै हामीले जानेको नेपाली राजनीतिको अस्तित्व सकिनेछ र यसमा हाली-मुहाली गरिरहेका कथित नेताहरुको उपादेयता सकिनेछ। त्यसपछिमात्रै साँचो राजनीतिको जग बस्नेछ। जबसम्म युवा विद्यार्थीको उर्जाको इमान्दारीपुर्वक रचनात्मक प्रयोग गरिँदैन तबसम्म अपराधीकरणले भरिएको राजनीतिको कुरुप छायामा ओस्सिन हामी बाध्य भईरहनेछौं।

यसबारेमा मैले अलिक पहिलाको टाँसो विद्यार्थी राजनीति-राजनीतिक अपराधीकरणको पहिलो पाठशाला मा पनि कुरा गरेको छु।

अर्कोतिर, यसैपनि धेरै कमजोर भईसकेको नेपाल प्रहरीको मनोबल यो घटनाले झन् खस्काएको छ। दलहरु अपराधीहरुलाई जोगाउन यसरी कस्सिएर लाग्ने भएपछि फेरि यस्तै घटना घट्दा अनुसन्धान गर्न, अभियुक्तलाई पक्रिन प्रहरी किन सकृय हुन्छ?

हाम्रो देशको शान्ति-सुरक्षा खत्तम छ र यसको दोष हाम्रा राजनीतिक दलहरु र केवल राजनीतिक दलहरुलाईनै जान्छ। तिनीहरुकै कारण प्रहरीको मनोबल गिरेको छ। यदि प्रहरीमा ब्यापक भ्रष्टाचार छ नै भनेपनि त्यो पनि हाम्रो देशको भ्रष्ट राजनीतिको दोष हो। प्रहरी भनेको त राजनीतिको छायाँमा बसेर कार्य गर्ने निकाय हो, राजनीतिले नै हो यसलाई सपार्ने र बिगार्ने।

मलाई निराशावादी हुन मन लाग्दैन। मलाई लाग्छ राजनीति ठिक भयो भने अरु धेरै कुरा आफैँ ठिक ठाऊँमा आउन बाध्य हुन्छन्। आज म आफ्नै विचारसंग पनि निराश भएको छु। आज लाग्दैछ, नेपाली राजनीति यस्तरी पतित भईसक्यो कि अब यसलाई ठिक पार्न सकिने, सपार्न सकिने सम्भावनानै छैन।


तस्बीर साभार:नागरिक दैनिक

June 13, 2009

नेपाली कांग्रेस- एक ब्यंग्य, एक विडम्बना!

नेपाली कांग्रेस र विशेष गरी यसभित्रको 'श्री १००८ महाराजाधिराज गिरिजा' र 'राजकुमारी सुजाता'को ढलीमलीलाई लिएर एउटा ब्यंग्य-निबन्ध लेख्ने विचार थियो कुनै दिन र विषयवस्तुलाई आकार दिईरहेको थिएँ मनमनै। त्यो विचारलाई सेलाएँ मैले अब किनभने नेपाली कांग्रेस आफैंमा एक ब्यंग्य, एक कूरुप जोक र प्रजातन्त्रको नाममा विडम्बनामा सीमित भईसकेको छ। आफैं ब्यंग्य बनिसकेकामाथि ब्यंग्य गर्नुको के अर्थ?

२०४२-४३ सालतिरको कुरा हो। पञ्चायत विरुद्धको नेपाली कांग्रेसको सत्याग्रह बिभिन्न कारणहरुले गर्दा सफल हुन नसकेपछिको केहि समय देशमा ठूलो आन्दोलन उठ्ला जस्तो देखिएको थिएन। पञ्चायत विरोधी राजनीति त्यति धेरै नपसिसकेको हाम्रो काँठमा पनि आफूलाई कांग्रेस भन्ने केहि मान्छेहरु थिए। तिनको कांग्रेसीपना त्यो बेलाको साप्ताहिक विमर्श वा देशान्तर पढ्ने भन्दा माथिको भने थिएन। तिनीहरु भन्ने गर्थे; 'मन्त्री पायो भने गिरिजा पञ्चायत पस्ने पक्का छ!'। गिरिजा त्यतिखेर के कारणले पञ्चायत पसेनन् थाहा भएन तर त्यसपछिका यी २२-२४ वर्षमा कांग्रेसलाई पत्रु बनाउन कुनै कसर बाँकी राखेनन्, कांग्रेसभित्र असल मान्छेहरु शिला खोज्नुपर्ने स्थिति बनाईदिए।

बिपीको निधनपश्चात पनि कांग्रेस गणेशमानको त्याग र अडानका कारण उज्यालो लाग्थ्यो। बहुदलको पुनर्स्थापनापछि गिरिजाले प्रणालीबद्ध रुपमा गणेशमान र कृष्णप्रसाद भट्टराईलाई अपमान गर्दै र पाखा लगाऊँदै आफ्नो 'तानाशाही' लागू गर्दै गए। देश यो जर्जर अवश्थामा आईपुग्नुमा बहुदल पछि ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा नलिऊञ्जेलसम्म लगभग सधैं शाशन गरेको कांग्रेसको दम्भ र अरुलाई रौं बराबर पनि नगन्ने उसको मानसिकता धेरै हदसम्म जिम्मेवार छ। गिरिजाको नेतृत्वका कांग्रेसीहरु नेपालमा शाशन गर्ने भनेको कि दरबारले हो, कि कांग्रेसले हो, अरु त हाम्रा हरुवा-चरुवा हुन्, तिनलाई टाउको उठाउनै दिनुहुन्न भन्ने खालको ब्यबहार गर्थे। त्यो मानसिकताको मूल्य देशले साह्रै नराम्रोसंग चुकायो र अझै चुकाऊँदैछ।

चाउरिएर, खुम्चिएर र डल्लिएर गिरिजाको खल्तीमा र अर्को अर्थमा सुजाताको पेवाको रुपमा सीमित बनेको नेपाली कांग्रेस हेर्दा घर बाहिर नारी स्वतन्त्रताको धुवाँधार भाषण गर्ने तर घरभित्र पस्नासाथ ढोका थुनेर स्वास्नी कुट्ने मान्छेजस्तो लाग्छ मलाई। जो आफैंभित्र यति धेरै तानाशाही र विधिहीनता पालेर बसेको छ, त्यो दलसंग अरुलाई लोकतन्त्र, विधि आदिमा 'नैतिक' उपदेश दिने हक र नैतिक बल कसरी हुन्छ? कांग्रेसीहरु माओवादीको अधिनायकवादी उद्देश्यको विरुद्ध संघर्ष गर्छौं भनेर कराईरहन्छन् तर आफ्नै दलभित्र दासको भन्दा बढी हैसियत नभएकाहरुले कुनै गतिलो आन्दोलन गर्न सक्लान् भनेर अब जनताले पत्याउलान्? आफ्नै दललाई गिद्धे तानाशाहीबाट जोगाउन नसक्नेले मुलुकलाई जोगाउलान् भनेर पत्याउने कुन मुर्ख बाँकी होला अब?

गिरिजाले सुजातालाई 'राज्य-हस्तान्तरण' गरेको देख्दा सबै अचम्ममा पर्नु त स्वाभाविक नै हो तर महाअचम्म त ९५ प्रतिशत कांग्रेसीहरुको सिलाईएको ओठ देख्दा लाग्छ। यो दुई महिनाभित्रै कतिपटक देखिसकियो, कांग्रेस सुजाताको पेटीकोटभन्दा बढी नहुने दिशामा हिँडेको। कटवाल काण्डमा गिरिजाले आफ्नो महाकपटी रुप देखाएकै हुन् धेरै समय मौनता साधेर। सुजातालाई रक्षा मन्त्री बनाउनु गिरिजाको एउटै ध्येय थियो त्यो बेला भन्ने सबैले जानेका छन्। खुल्लमखुल्ला माओवादीको पक्षपोषण गर्दै हिँड्दा सुजातालाई कसैले छुन सकेन तर राष्ट्रपतिको कदमको बिधिगत अपूर्णताका बारेमा शिष्टतापूर्ण असहमति राख्दा नरहरि आचार्यले स्पष्टीकरण खप्नुप-यो। यो पक्षपातका विरुद्धमा बरु बाहिरकाले बोले तर कांग्रेसभित्र कुनै लहर उठेन।

सुजाताको 'राज्यारोहण'का बिरुद्ध पनि कांग्रेसका तलदेखि माथिसम्मका समितिहरुले आफ्नो स्वर सशक्त रुपमा उठाउनुपर्थ्यो र कांग्रेसभित्र विधिको शाशनको पुनर्स्थापनाको लागि संघर्ष गर्नुपर्थ्यो, तर एक-दुई ब्यक्तिगत स्वरुपका बाहेक विद्रोहको स्वर उठेकै छैन कांग्रेसभित्र।

गिरिजाको अगाडि गरुडको छायाँ परेका नागजस्ता हुने कांग्रेसीहरुमध्ये धेरैजसो गिरिजाको निधनलाई पर्खेर बसिरहेजस्ता देखिन्छन् मेरा आँखामा। तिनको भाव-भंगिमा हेर्दा 'यो बूढो छऊञ्जेल यस्तै हो, यो जाओस् अनि हेरौंला' भनिरहेझैं लाग्छ। यो पनि तरिका हो राजनीति गर्ने?!

कांग्रेसभित्र गिरिजाको एकछत्र राज र सुजाताको 'स्टेपवाईज राज्यारोहण'ले कांग्रेसभित्र वंशवाद स्थापनाको आधार खडा गरिसकेको छ, परिवारवाद त यसै पनि कांग्रेसको एउटा गुण छँदै थियो। पूर्व सोभियत संघ, क्यूबा, उत्तर कोरीयाका अधिनायकबादी दलहरुजस्तै नमरुञ्जेल पार्टी नेता/सभापति भईरहने परम्पराको 'नजीर' पनि बसेको छ अब। गिरिजा 'उपर' गएपछि बन्ने अर्को सभापति, देउवा वा अरु कोहि जसको खुराफाती बलियो हुन्छ, उसले पनि नमरुञ्जेल छोड्नेछैन। भन्न आफूलाई सबैभन्दा ठूलो प्रजातान्त्रिक दल भन्ने, अभ्यास भने तानाशाहीको गर्ने; यो भन्दा ठूलो विडम्बना के हुनसक्छ? अब नेपाली शब्दकोषमा 'विडम्बना' को पर्यायको रुपमा 'नेपाली कांग्रेस' सबैभन्दा सुहाउने देखिन्छ।

नेपाली कांग्रेसले साम्यवादको विरोध गर्नुबाहेक नीतिगत रुपमा आफूलाई अझसम्म परिभाषित गर्न सकेको छैन। कांग्रेसभित्र त्यो खालको छलफल र बहस एकदमै कम हुन्छ। कांग्रेस अहिलेसम्म केहि सीमित नाराहरुका आधारमा आफूलाई अगाडि बढाईरहेछ। बिपी छउञ्जेल उनको बौद्धिकता र ब्यक्तित्वले धेरै कुरा धानेको थियो होला, उनीपछि भने जस्तो हावा लाग्यो त्यस्तै हुँदै आएको छ। सन् १९९० को दशकमा संसारभरि साम्यवादी सत्ताहरु ढले र उदारवादी अर्थ ब्यबश्था हावी हुन पुगे। आफनो एउटा प्रमुख नारामा समाजवाद राखेपनि कांग्रेसले त्यतिबेला समाजवादको 'स'पनि नभएको नीति अँगाल्यो। विगत केहि वर्ष यता देशमा माओवादी बलिया भए, कांग्रेसले पनि गणतन्त्र अँगाल्यो तर त्यसपछि आर्थिक/सामाजिक दिशा के त भन्ने कुरामा कुनै स्पष्टता छैन। कुनै दलको नीति जड हुनुपर्छ भन्ने मेरो मान्यता होईन, समायानुकूल परीवर्तन हुनैपर्छ पतनबाट जोगिन तर दलभित्र ब्यापक छलफल हुनुप-यो र समितिगत निर्णय हुनुप-यो। कुनै एक ब्यक्ति वा बढीमा उसका केहि आसेपासेले जे भन्यो त्यहि हुने स्थिति एउटा लोकतान्त्रिक र आधुनिक भनिन चाहने दलका लागि लाजमर्दो स्थिति हो।

यी सबै लेखिसकेपछि पनि तपाईँहरुलाई एउटा निवेदन के गर्न चाहन्छु भने एउटा सप्रिएको, शुद्ध भएको, अवसरवादीहरु र भ्रष्टहरुलाई डाँडा कटाईएको, विधिमा चल्ने र ब्यक्तिभन्दा समितिको निर्णय हावी हुने लोकतान्त्रिक कांग्रेसको आवश्यकता देशलाई अझै छ भन्ने मेरो मान्यता हो। यदि नेपाली कांग्रेस गोल्खाडीनै भएछ भने पनि देब्रे-दाहिने दुबैतिरका अतिवादी मान्यताका विरुद्ध लड्न सक्ने अर्को कुनै मध्यमार्गी दल अपरिहार्य छ देशका लागि।
-------------------------------------------------------------------
र अहिलेलाई म 'ब्यंग्य-निबन्ध'मा दिमाग लगाउनबाट मुक्त भएँ:)

June 08, 2009

कता गईरहेछौं हामी!?!?

तस्बीर साभार: नागरिक दैनिक

नेपालीको जिन्दगीमा यस्ता घटनापनि पनि हरेक दिनका नियमितता बन्लान् भन्ने हामी मध्ये धेरैले सोचेका थिएनौं होला।

आज 'नागरिक' दैनिकमा पढेको एउटा समाचारले दिनभरि भित्रभित्रै रुवाईरह्यो (यहाँ क्लिक गरेर जानसक्नुहुन्छ त्यो समाचारमा।)। कुनै दुर्घटनाको विरोधमा शहर बन्द गराउन बसेका आततायी दानवहरुले केटाकेटीहरु भित्रै हुँदा-हुँदै स्कूले बसमाथि आक्रमण गरेछन्। झोला बोकेर रुँदै भागिरहेका ती कलिला अबोध बच्चाहरुको अनुहार हेरेर म अहिलेपनि रोईरहेको छु। चरम निराशाले घेरिएको छु म यतिखेर, जबर्जस्ती लेखिरहेछु यी हरफहरु। ती निर्दोषहरु कति त्रसित थिए होलान् त्यतिखेर! तिनको मनमा कति नराम्रो असर परेको होला यो घटनापछि? ती सपनमा पनि तर्सिँदा हुन्। को संगको रिस ती अबोधहरुसंग पोखेका होलान् आततायीहरुले?

यो त एउटा प्रतिनिधि घटनामात्रै हो। आज हाम्रो देशका बच्चाहरु चौतर्फी हिंसाको माझमा हुर्किरहेका छन्। धेरै घटनामा ती प्रत्यक्ष परेका पनि छन्। हाम्रो समाज, हाम्रो देशको भविष्य भनेका तिनै बालबालिका हुन्। यो चौतर्फी हिंसा र त्रासले कस्तो असर पार्ला तिनमा र कस्ता मान्छेका रुपमा हुर्केलान् तिनीहरु, हामीले कहिले गम्भिर भएर सोच्ने? यो वातावरणले गर्दा हाम्रा बच्चाहरु केहि एकदम दब्बू र काँतर भएर हुर्कनेछन्, केहि एकदम अपरिपक्व र हिंस्रक बन्नेछन् ठूला हुँदै जाँदा। समाज र देशलाई अगाडि लान चाहिने सक्षम, सबल र चिन्तनशील पुस्ता निक्लने आश गर्न गाह्रो हुँदैछ अब।

अन्त जता जे गरेपनि कम्तिमा बच्चाहरु र शैक्षिक क्षेत्रलाई नछोईदिएहुन्थ्यो कुनैपनि आततायीहरुले! तर हाम्रो यो रोदन बगरेको अगाडि पाठाले गरेको रोदन जस्तो मात्रै भएको छ अझै!

ब्यस्त राजधानीमै यस्तो आततायी घटना हुँदा पनि राज्य देखिएन। के हाम्रो देश 'असफल देश' भईसकेको हो?

केहि दिनमात्रै पहिला पनि यस्तै एउटा अराजक आततायी समूहले एउटी महिलालाई यातना दिँदै नांगै पारेर रत्नपार्क डुलाएको खबर तस्बीर सहित राखेको थियो माईसंसारले। त्यहाँ पनि सरकार र राज्य देखिएन। राजधानीमै यस्तो छ भने सञ्चार माध्यमका आँखा नपुग्ने देशका दुर्गम ठाऊँहरुको कस्तो अवश्था होला?

आज खाली हिँसाका खबरहरुमात्रै देखें मैले। झापामा एउटा दलका कार्यकर्ताले जिऊँदै मान्छेलाई आगो लगाईदिएछन् (समाचार यहाँ छ।)। मान्छे यति हिंस्रक र निर्दयी कसरी हुनसक्छ?

यस्ता करतूत त अल-कायदा र अन्सर-अल-सुन्नाले मात्रै गर्छन् जस्तो लाग्थ्यो, होईन रहेछ, हामी नेपाली पनि 'सक्षम' भईसकेछौं! थुक्क! नेपाली हुनुमै लाज लागेको छ आज!

कतै क्याम्पस-प्रमुखलाई थुनेर चार घण्टासम्म निर्घात कुटपीट गरिएको छ, कतै विदेशीलाई कुटेर 'क्रान्तिकारिता' देखाईएको छ र देशको बेईज्जत गरिएको छ। राज्य कतै पनि अस्तित्वमा छैन र हतियार बोकेका मूढेहरुको दबदबा छ जताततै।

कता गईरहेछ हाम्रो समाज?! कता लागिरहेछ हाम्रो देश?

June 03, 2009

साँध ताछिँदैछ, आली भासिँदैछ!

फेरि नेपालीहरु लखेटिएका छन् आफ्नो थात-थलोबाट। भारतीय सेना नेपाल बसेर ताण्डब-नृत्य मच्चाईरहेछ र गाऊँका गाऊँ नेपाली जनताहरु आफ्नै देशमा शरणार्थी बन्नुपर्ने नियति भोगिरहेछन्। (भारतीय सुरक्षाकर्मीले लखेट्दा १८०० विस्थापित)

यस्तो समाचार आउन थालेको केहि दशक भईसक्यो। अहिले झन्-झन् बढी आऊँदैछन् यस्ता समाचारहरु। हामी घरभित्रै आफ्नै सानतिना अहंका लागि टाउको फोराफोर गरेर बसिरहेपछि छिमेकीले साँध ताछ्नु र हाम्रो आली भास्नु स्वाभाविक हो। भारतीय सेनाको यो घृणित कामको घोर विरोध र निन्दा त हुनैपर्छ तर त्यससंगै हामी हामीमाथि शाशन गर्नेको नालायकीको पनि निन्दा गरौं।

नेपाल-भारत सम्बन्धको कथित 'परम्परागत जटिलता'का आडमा खुल्लमखुल्ला पन्पिरहेको भारतीय दादागिरि यति लामो समयसम्म टिकिरहनुको मूल कारण हाम्रो एउटा स्पष्ट र समग्र विदेश नीति र अडान नहुनु हो। राज्यस्तरमा त्यस्तो समग्र नीति बनाउने कुनै पहल अहिलेसम्म भएको छैन। यस विषयमा विगतका शाशकहरु र अहिलेका राजनीतिक दलहरु कसैले पनि गम्भिर भएर सोचेका छैनन्। हाम्रा राजनीतिक दलहरुका लागि भारत, सत्तामा पुग्नका लागि आवश्यक धापको रुपमा रहेको छ। "अरुलाई छिर्के हानेर आफू भारतको सबैभन्दा प्रिय हुनु, सत्ता पाउनु र जोगाउनु" नै अहिलेसम्मको हाम्रो भारत नीति र एक हिसाबले पूरै विदेश नीति हो। हाम्रा प्राय: दलहरुको भारत विरोध, आफू सडकमा पुगेको बेला टायर बाल्ने ईन्धनभन्दा बढी केहि होईन। हाम्रा राजनीतिक शक्तिहरुको दिमागमा अहिलेसम्म एउटा स्वाधीन, आधुनिक देशको चिन्तन-शैली पसेकै छैन।

भारतका राजदूतले दिनको तीन पटक सबै दलका नेताहरुलाई भेटिरहेका हुन्छन् तर कुनै पनि नेताले सीमामा भारतीय सेनाबाट नेपालीमाथि भएको दुर्ब्यबहारको कुरा गरे होला भन्ने कुरामा शंकै लाग्छ।

जनस्तरको हालत पनि उस्तै गएगुज्रेको छ, हाम्रो समाजमा आलु-प्याज बेच्न हिँडेकालाई लात हानेर 'राष्ट्रभक्ति'को कर्तब्य पूरा गर्नेहरु र भारतको विरोधमा अराजकता सृजना गरेर आफ्नै देशका भौतिक सम्पदाहरु नष्ट गर्ने 'क्रान्तिकारी' राष्ट्रवादीहरु धेरै छन्। राजनीतिक शक्तिहरु आफैं ईमान्दार राष्ट्रवादी नभैदिनाले र तिनले एउटा सन्तुलित राष्ट्रिय नीति दिन नसक्नाले युवाहरुको राष्ट्रवादी उर्जा अत्यन्त अराजक गतिबिधिहरुमामात्रै केन्द्रित भईरहेको छ।

भारत हामीभन्दा भूगोलमा र सामरिक-आर्थिक हिसाबले धेरै बलियो छ। हाम्रो जस्तो दुई तिरबाट भिमकाय देशहरुले पेलिएको सानो र कमजोर राष्ट्रले सामरिक लडाईँ कसैसंग लड्न सक्ने देखिँदैन। तर कूटनीतिक र नैतिक लडाईँको बाटो हाम्रो लागि खुल्ला छ। यो बाटोको चतुरतापूर्वक उपयोग गर्न सक्नुमै हाम्रो भलाई छ, हाम्रो मूल हतियार भनेको चतुर र शान्त कुटनीति नै हो। देशभित्र भारतका ज्यादतीका विरुद्ध खबरदारी हुनु अपरिहार्य छ तर त्यो साउने भेलजस्तो ह्वार्र-- एकछिन आउने र बिलाउने होईन निरन्तर हुनुपर्छ।

सीमा समस्यालाई सबैभन्दा पहिला समाधान नगरी नेपाल-भारत सम्बन्धका अरु जटिलताहरु फुक्न सक्दैनन् र यी जटिलताहरु रहिरहँदा हामीमाथिको भारतीय हैकम जारीनै रहन्छ। त्यसकारण, देशको सीमालाई सुरक्षित पार्न, भारतलाई हाम्रो सीमामथिको हाम्रो हक बनाउन बाध्य पार्न एउटा समग्र कार्ययोजनाका साथ अघि बढ्नु अनिवार्य भईसकेको छ। अब यो मामिलामा पनि हाम्रा नेताहरु/दलहरुले ब्यक्तिगत र दलीय स्वार्थभन्दा माथि राष्ट्रिय स्वार्थलाई राख्न सकेनन् भने तिनीहरुले आफूलाई नेपाली भन्ने कुनै हक छैन।

सीमा समस्या समाधानका लागि मेरो विचारमा तत्काल गर्नुपर्ने कामहरु;

१) सीमा-विशेषज्ञहरु, नापी विशेषज्ञहरु, अन्तर्राष्ट्रिय कानून विशेषज्ञहरु र इतिहासविद्हरु रहेको एउटा उच्च-स्तरीय "राष्ट्रिय सीमा आयोग" तुरुन्त गठन गर्ने। यसले नेपाल-भारत सीमा-समस्याको विस्तृत अध्ययन गरेर लिनुपर्ने नीतिको बारेमा सरकारलाई सुझाव दिन्छ।

२) आयोगले दिएको सुझाव र प्रमाणहरुका आधारमा उच्च राजनीतिक तहमा भारतसंग वार्ता गर्ने। आफ्नो पक्षमा यथेष्ट अकाट्य प्रमाणहरु पेश गर्न सक्दामात्रै भारतले हाम्रो कुरा सुन्ने संभावना हुन्छ। विना कुनै तयारी वार्तामा बस्ने हाम्रा नेता/प्रशाशकहरुसंग भारतले जे भन्यो (ऊ पूरा तयारीका साथ आऊँछ जहिले पनि) त्यहि हो भनेर सही ठोक्नेबाहेक अरु विकल्प हुँदैन। विगतमा सधैं यस्तै भएको छ।

३) भारतीय जनस्तर र नागरिक समाजमा पनि नेपाल-भारत सीमा समस्याको यथार्थलाई स्पष्ट पार्न र नेपालको पक्षमा समर्थन जुटाउन अर्को अभियान चलाउने।

४) निश्चित समयभित्र यी प्रयासहरुबाट कुनै परिणाम आउन सकेन र भारतले सीमा-सम्बन्धी कुरामा हाम्रो सुनुवाई गरेन भने यो समस्यालाई पूर्ण तयारीका साथ संयुक्त राष्ट्र-संघ र अन्य अन्तर्राष्ट्रिय निकायमा लैजाने।

विश्व-राजनीतिमा कुनै ब्यापक परीवर्तन नभै हाम्रो भूराजनीतिक अवश्थितिमा परीवर्तन आउने सम्भावना छैन। हामीसंग उपलब्ध सीमित बाटोहरुको अधिकतम उपयोगका लागि अध्ययनशील-पेशेवर कूटनीतिज्ञहरुको ठूलो आवश्यकता छ। भारतसंगको वार्तामा होस् या अन्य अन्तर्राष्ट्रिय मञ्चहरुमा भारतीयहरुसंग स्पष्ट र निर्भिक वैचारिक-बौद्धिक-तार्किक अडान लिन सक्ने कूटनीतिज्ञहरुको अभावमा हाम्रा अरु सबै प्रयासहरु बालुवामा पानी खन्याए सरह हुन्छन्। यो कुरामा त म झन् निराशावादी छु। हाम्रो कूटनीतिक क्षेत्र विगतदेखिनै राजनीति गर्नेहरुको भकुण्डोको रुपमा रहिआएको छ। सबै दलको राष्ट्रिय नीति-चिन्तन एउटै भईदिएको भए (जस्तो कि भारत र अन्य देशमा हुन्छ), कूटनीतिक नियुक्ति आदिमा अलि-अलि दलीय रंग पसेपनि खासै फरक पर्दैनथ्यो, तर हामीकहाँ त केवल दलीय नीति र स्वार्थमात्रै प्रधान रहँदै आएको छ।

तर कुनै दिन हाम्रो पनि एउटा समग्र राष्ट्रिय नीति बन्ने चमत्कारको आशा गर्न भने छोडेको छैन मैले।