May 24, 2009

नेपाली ब्लगको वर्तमान र भविष्य

मूलत: नेपाली भाषामा लेखिने ब्लगहरुको वर्तमान र भविष्यको बारेमा कुराकानी गर्ने जमर्को गर्दैछु आज।

हुनत म मेरो ब्लगिङ यात्रा लामो भईसकेको छैन। आफैं ढिलो गरी शुरु भएको नेपाली ब्लग दुनियाँमा पनि केहि ढिलै आईपुगेको हुँ म। फेरि जीबनका अरु सबै पक्षहरुजस्तै ब्लगिङको संसारसंगको सम्बन्धका पनि सीमितता हुन्छन्। मलाई थाहा छ, म नेपाली ब्लग जगतको एउटा अंशसंगै मात्रै परिचित छु। त्यसैले मैले जति कुरा गर्छु तीनले सबै पक्षलाई समेट्न नसक्नु स्वाभाविक हो। तैपनि, यो विषय छलफल शुरु गर्नै पर्ने विषय जस्तो लागेर एउटा दुस्साहस गरेको हुँ।

आफैंले ब्लग शुरु गर्नुभन्दा पहिले मैले चिनेको नेपाली ब्लग 'माईसंसार' मात्रै थियो। ब्लग शुरु गरे यता बितेका दुई वर्षमा सैयौं ब्लगहरुमा पुगियो। यस बीचमा नेपाली भाषामा ब्लगहरुको बाढीनै आयो भने पनि हुन्छ। यो निश्चय पनि अत्यन्त सकारात्मक कुरा हो, नेपाली ब्लगजगत र समग्र नेपाली भाषाकै लागि। धेरै ब्लगमा भाषिक वा सृजनात्मक गुणस्तरका कुरा पनि उठाउन नसकिने होईन तर मलाई के लाग्छ भने 'गुणस्तर'को समस्या भएका केहि ब्लगहरु सम्बन्धित ब्लगरले निरन्तरता दिएका खण्डमा र अरु ब्लगरहरुबाट सुझावमिश्रित आलोचनाहरु पाईरहेमा सुध्रिँदै जानेछन्, केहि भने बिस्तारै निष्कृय हुँदै जानेछन्। तत्कालका लागि बढिरहेको ब्लग संख्यानै नेपाली ब्लगजगतको ठूलो पूँजी हो।

धेरै संख्यामा ब्लगहरु हुनुको एउटा सकारात्मक पक्ष यसले ब्लगरहरुका बीचमा उब्जाउने प्रतिष्पर्धात्मक भावना पनि हो। आफ्ना पाठक बढाउन कोहि अलि बिस्तारै लाग्ला, कोहि अलि कस्सिएर लाग्ला, त्यो बेग्लै कुरो हो, तर मूल सत्य के हो भने प्रायश: सबै ब्लगरहरुले धेरै पाठकहरु खोजिरहेका हुन्छन्। (लेख्ने कुरामा आत्मसन्तुष्टिको उद्देश्य अलिकति त हुन्छ नै, तर खुल्ला ब्लग चलाउनु भनेको अरुले पनि पढिदिउन् भनेर नै हो। यदि यो उद्देश्य नहुने हो भने मान्छेले कि त लेख्दै-लेख्दैन कि त कसैलाई पनि थाहा नदिई लेख्छ।) जब नेपाली 'ब्लग-बजार'मा ब्लगहरुको संख्या बढ्छ, पाठकहरुले छानी-छानी पढ्नेछन् र हामीलाई 'डार्बिन बूढाको जय!' भन्न बाध्य पार्नेछन्। प्रतिष्पर्धाबाट आफना लागि पाठकको ठूलो हिस्सा तान्ने सबैभन्दा ठूलो उपाय भनेको ब्लगको गुणस्तर र विविधतालाई माथि लानुनै हो। प्रचारबाजी र अरु बिभिन्न 'बजारमुखी' उपायले एक हदसम्म त सघाऊँछन, कम्तिमा कुनै पाठकलाई पहिलो पटक ब्लगसम्म ल्याउँछन् तर गुणस्तर र विविधता देखेन भने त्यो पाठक फेरि फर्केर ब्लगमा आउने सम्भावना ज्यादै कम हुन्छ।

मेरो ब्यक्तिगत बुझाईमा (गलत पनि हुनसक्छु म), नेपाल र विदेश दुबै ठाऊँबाट बाट सञ्चालित नेपाली भाषाका ब्लगहरुमा साहित्यिक अंश बढी देखिन्छ। धेरैजसो ब्लगहरु पूर्णतया साहित्यमा समर्पित छन् र बाँकीले पनि साहित्यलाई प्रमुख ठाऊँ दिएका छन्। राजनीतिक टिप्पणी/विश्लेषण नेपालबाट सञ्चालित ब्लगमा भन्दा विदेशबाट सञ्चालित ब्लगमा बढी देखिन्छन्। देशभित्र मूलधारका मिडियालेनै यस्ता राजनीतिक टिप्पणी/विश्लेषणहरु प्रशस्त गर्ने भएकोले ब्लगहरुमा त्यति नदेखिएको हुनसक्छ। हो, राजनीति बढी पस्कने केहि ब्लग पनि छन्, तर तीन लाई ब्लग भन्दा बढी 'न्यूज-पोर्टल' को रुपमा लिँदा अन्यथा नहोला।

खेलकूद, प्रविधि, फोटोग्राफी, स्वास्थ्य, रंगमञ्च/चलचित्र जस्ता 'भिन्दै' विषयमा समर्पित नेपाली ब्लगहरुको संख्या एकदम कम छ। साहित्यकै सवालमा पनि कविता र गजलले धेरै ठाऊँ ओगटेका छन। मूलधारको प्रकाशन क्षेत्रमा जस्तै निबन्ध वा कथाहरुको स्थिति नेपाली ब्लगजगतमा पनि राम्रो छैन। त्यस्तै बाल-साहित्यमा समर्पित ब्लगहरुको लागि पनि ठूलो ठाऊँ खाली छ। यो कुरा उप्काउनुको मेरो उद्देश्य नयाँ ब्लग शुरु गर्न लागेका साथीहरुलाई अलिक फराकिलो आयाममा सोच्न सल्लाह दिनु पनि हो। सबैले उस्तै ब्लग चलाउनुपर्छ भन्ने छैन; आफ्नो रुचि र ज्ञानको संयोजन जुन विषयमा राम्रो देखिन्छ त्यतै लाग्नु ठीक हो।

नेपाली ब्लग पढ्ने नेपालीहरुको संख्या बढ्दै गएको छ तर अझै पनि नेपाली ब्लग जगतले नेपालभित्रै भने यथेष्ट पाठकहरु पाईसकेको छैन। एकजना ब्लगरले लेखेको पढेको थिएँ केहि समय पहिला (कता हो याद भएन), "----नेपाली ब्लग भनेको मूलत: विदेशमा बसेका नेपालीलाई लक्षित गरेर लेख्ने हो।" यो कुरा मलाई पनि धेरै हदसम्म चित्त बुझ्छ। नेपालमा ब्लग पढ्ने मान्छे छैनन् भन्न खोजेको होईन, धेरै छन् र बढ्दै पनि छन् तर नेपालको जनसंख्याको ठूलो भाग अझै सूचना-प्रविधिको पहुँचबाट बाहिरै छ र पहुँच हुनेहरुको पनि एउटा हिस्साले मात्रै ब्लग पढ्ने हो। त्यसकारण कम्प्युटर/इण्टरनेटको प्रयोग नेपाली समाजमा बढ्दै जाँदा हामी ब्लगरहरुले पाउने 'हिस्सा' पनि बढ्दै जाला भन्ने आशा गर्नुभन्दा बढी केहि गर्न सकिँदैन तत्काललाई। नेपालबाटै सञ्चालित हुने ब्लगहरुको संख्या बढ्न पनि नेपाली समाजमा सूचना-क्रान्तिलाई पर्खनुको विकल्प छैन।

अर्कोतिर, 'ब्लग' भनेको कि त पत्रकारले कि त काम नभएका 'बूढाखाडा' ले मात्रै गर्ने चिज हो भन्ने धारणा पनि नेपाली समाजमा ब्लगले ब्यापकता लिन नसक्नुमा जिम्मेवार छ। हामीले परिवार, समाज र अध्ययनस्थल/कार्यस्थल सबैतिर यो धारणाको सशक्त वैचारिक प्रतिकार गर्नु अति आवश्यक छ।

नेपालीहरु विश्वब्यापी रुपमा छरिँदै जाँदा नेपाली ब्लगले 'भूगोल'को नेपाललाई नाघिसकेको छ र नेपाली राष्ट्रियताको विश्वब्यापी भावनात्मक संवाहकहरुमध्येको एकका रुपमा आफूलाई स्थापित गर्ने क्रममा छ। अब नेपाली ब्लगले नेपाली राष्ट्रियता बाहेकको बिशुद्ध नेपाली भाषिक पक्षलाई पनि समेट्नुपर्ने आवश्यकता छ। नेपाल बाहेक भारत, भुटान, बर्मा आदि ठाउँमा पनि थुप्रै नेपालीभाषीहरु बसोबासरत छन्। राष्ट्रियता फरक भएपनि सांस्कृतिक र भाषिक रुपमा एक हुन हामीलाई कसैले छेक्न सक्दैन। ब्लग पनि यो अभियानका लागि एउटा सशक्त माध्यम हुनसक्छ। दार्जलिङ, आसाम, देहरादून वा कुनै पनि नेपालीभाषी क्षेत्रबाट सञ्चालित नेपाली ब्लगसंग गाँसिएर आफ्नो सञ्जाल फैलाउनु र ती ब्लगहरुलाई नेपाल र विदेशमा रहेका नेपालीहरुको माझमा फैलिन सहयोग पु-याउनु हाम्रो अर्को काम हुनसक्छ। नेपाली भाषाको श्रीवृद्धि गर्न र नेपालीहरुमाझ सांस्कृतिक एकता कायम राख्न त यो महत्वपूर्ण हुनेनै छ, पाठकहरुको कमीको समस्यालाई समाधान गर्न पनि यो कार्यले हामीलाई सघाउनेछ।

मैले देखेको नेपाली ब्लगको एउटा अर्को समस्या भनेको पाठकहरुको निष्कृय सहभागिता हो। हाम्रा पाठकहरुले ब्लगमा प्रतिकृया दिँदैनन्। विगत दुई वर्षदेखि मैले देख्दै आएको छु, ब्लगमा प्रतिकृया लेख्नेहरु ९५ प्रतिशत अरु ब्लगरहरुनै हुन्छन्। मेरो आफ्नो ब्यक्तिगत चिनजानका मान्छेहरु धेरै छन् जो मसंग भेट्दा वा फोनमा कुराकानी हुँदा 'तैंले फलानो दिनको पोष्टमा लेखेको फलानो कुरो चित्त बुझेन!' वा '---साह्रै ठीक लाग्यो!' भन्छन् तर ब्लगमै भने कहिल्यै प्रतिकृया दिँदैनन्। कति अपरिचितहरु बरु इ-मेल पठाऊँछन् तर ब्लगमा प्रतिकृया लेख्दैनन्। ती पाठकहरुले ब्लगमै प्रतिकृया लेखिदिए अरु पाठकहरुले पनि पढ्न पाऊँथे र ब्लगमा निहित अन्तर्कृया अझ बढी जीबन्त हुन्थ्यो। अरु भाषाका ब्लगहरुमा यो समस्या छ कि छैन थाहा छैन तर 'विशुद्ध' पाठकहरुका प्रतिकृया नबढुञ्जेल हामी एक हिसाबले असफलनै छौं भनेपनि हुन्छ। यस्ता 'निष्कृय पाठक' लाई कसरी 'सकृय पाठक' बनाउन सकिएला?
----------------------------------
हतारमा लेखिएको एउटा छोटो टाँसोले सबै कुरा समेट्न निश्चय पनि सक्दैन। अपूर्णनै भएपनि यो टाँसोलाई आज यहाँहरु समक्ष राख्नुको मेरो उद्देश्य नेपाली ब्लग जगतलाई अझ सशक्त बनाउन हामी बीचको छलफल र वादविवादको शुरुवात गर्नु हो।

20 comments:

  1. कुरा त सहि नै हो । अनि उल्लेख्य रुपमा नेपाली ब्लगहरु बनिरहेकाछन् । अनि मैले थाहा पाएको पहिलो ब्लग भनेको चाँहि आफ्नै ब्लग हो भलै, म पनि निकै पछि आएको हुँ । आफूले लेख्न थालेपछि चाँहि, ए ! त्यो पनि ब्लग रहेछ भन्ने जस्तो भा'को थ्यो मलाई ।

    अनि सायद, कसैले नपढ्ने भए यहाँ लेख्न जरुरी थिएन । अनि साँच्चै भन्ने हो भने लेख्ने बानी बस्ने पनि थिएन होला । पाठक नै नहुँदा, अलि खल्लो लाग्नु स्वभाविक नै हो । अनि यहाँले भनेजस्तै, पाठक लाई आकर्षित गर्ने होड जस्तो नै चलेको छ, अनि केही हदसम्म आफूनै पनि सामेल भइएको होला ।

    जेहोस्, नेपाली ब्लगको सेरोफेरो लेख्नुभएको मा धन्यवाद ! तर पनि कता कता, यो पोष्ट मलाई अपुरो नै लागेको छ, केही नपुगेको जस्तो । भन्न खोजेको कुरा ठ्याक्क लेख्न नसकेको जस्ति । :)

    ReplyDelete
  2. म तपाईं सँग पूर्ण सहमत छु। हाम्रो भाषाको ब्लगगिङ पारीधीले बिज्ञान र प्रबिधिक पक्षलाई समेट्न सकेको छैन। तपाईंले भने जस्तो पाठकहरुलाई आकर्षन गर्ने दौडमा बिज्ञान र प्रबिधी सम्बन्धी ब्लग पछाडि नै पर्ने हुँदा यस्ता ब्लगहरु अली सुस्ताएको भान हुन्छ। तर नेपाली साहित्य र समसामयिक राजनैतीकमा लेखिएका ब्लग सबैले बुज्ने भएर पनि होला यस्का पाठकहरु अरु बिज्ञान र प्रबिधी सम्बन्धी ब्लग भन्दा बढीनै हुन्छन। तर एउटा ब्लगरले आफ्नो ब्लगको लक्ष र आफ्नो ब्लगको प्रभाव क्षेत्रको राम्रो हेक्का चाँही राख्नु नै पर्छ।

    ReplyDelete
  3. मलाई पनि शुरुमा यो ब्लागिन संसारमा पाइला टेक्नु अगाडी सम्म नेपाली भाषी ब्लगरहरु यतिका र यती राम्रा ब्लग पस्किरहेका छन भन्ने अनुमान सम्म थिएन। हो हामीमा विविधता, स्तरीयता, तथा अरु धेरै कमी कमजोरीहरु पक्कै छन तथापि समयसंगै पाठकको माग अनुरूप तीनले परिस्कृतिको बाटो जरुर समाउदै जानुपर्छ, त्यसो त केवल डायरीकै वा स्वरचना संकलनकै रुपमामात्र यो संजाल प्रयोग गर्नेहरु पनि होलान तर तीनको पनि कुनै न कुनैबेला पाठकले पढि देऊन भन्ने भित्री आशय चाहि हुन्छ नै, हैन भने ब्लागिंग गर्नुको औचित्य छैन। डार्विन बुढासंग राम्ररी परिचित अंतर्संजाल संसारसंग बेलाबेला ब्लगर सतर्क रहन सकेन भने हाम्रा ब्लगहरु दाइनोसरको कथा जस्तै हुन सक्छन है होश गरौं , यो जानकारिमुलक र सचेत्नामुलक टासोको लागि बसंतजीलाइ धेरै धन्यवाद !

    ReplyDelete
  4. अति राम्रो प्रसंग लाइ कोट्याउनु भएको रहेछ अनि ब्लगरहरुलाई अरु विधामा पनी एक पटक घोत्लिएर सोच्न बाध्य तुल्याउनु भएको रहेछ | हो हामीमा भाषिक कमजोरीहरु नभएका भन्ने होइनन यसलाई सुधार गर्दै लैजानु ब्लगरको ग्रेडिङको अप ग्रेड हो | तपाइले आफ्नो लेखाइलाई (ब्लग को बारेमा ) अलिक अपूर्ण मान्नु भएको रहेछ तर यो अपूर्ण भए पनि निकै ओजस्वी रहेको छ - अनि तपाइका धारणाहरु प्रसंसायोग्य रहेको छ |

    ReplyDelete
  5. मैले पनि देखेको, पाठकहरु नेपाली राजनितीमा धेरै नै रुचि राख्दा रहेछन ।राजनैतिक बिषयमा बढी नै प्रतिकृयाहरु लेख्ने गरेको पाएँ । यो एउटा सुखद पक्ष हो तर कयौं पाठकहरु गाली गलौज को भाषा प्रयोग गरेको देख्दा चैं दु:ख लाग्छ । अर्को विचार या भिन्न दृष्‍टिकोणलाई होच्याउन प्रयोग गरिने तुच्छ शब्दले भरिएको प्रतिकृयाले युद्ध हाम्रा ति नेताहरु बिच होइन कि हामी बिच नै भएको भान गराउँछ । मलाई अचम्म त के ले गराउँछ भने विरोधी विचार सुन्ने धैर्यता हामीमा छैन । शायद हामीले प्रजातन्त्र या लोकतन्त्र आखिर जे नाम दिए पनि यस्को मर्म बुझेका छैनौं । अर्काको भावना, विचारलाई कदर गर्न नसक्नु हाम्रो कमजोरी हो । कुनै तन्त्रको होइन । यदि विरोधिलाई कुनै स्थान दिन सकिंदैन भने जुन तन्त्र आए पनि के काम होइन र ?

    ReplyDelete
  6. nepali ma type garna aalchi garne haru pani ganne ho bhane padhne ra comment garne ko ratio aajhai farak hola hai!
    :)

    ReplyDelete
  7. बसन्त दाजु, धन्यवाद । सान्दर्भिक लेख राख्नुभएकोमा । मैले पढेको पहिलो ब्लग माइ संसार हो भनेर म घमन्डी उमेशको नाक ठुलो बनाउन चाहन्न । साथीहरुलाई पचोस् या नपचोस् । नपचे क्षमा माग्न म सक्दिन । त्यो ब्लग केबल उमेशले मात्रै डिजाईन गरेको होइन । जस्तै; त्यसको शिर्शकमा जानुस्, कुनै एक ब्यक्तिले डिजाईन गरेको नाम देखाउछ - माउसले । मैले भन्न खोजेको के हो भने, मित्रहरु, उमेशको परिकल्पना हो - माइ संसार अनि नेपाल र बाहिर रहेका मित्रहरुको सहयोगमा आज माइ संसारको नाममा उमेशको फुर्ती एउटा नेपालीभाशी ब्लग्गरको रुपमा होइन, कुनै तनाशाहको शरह छ । तपाइ हामीले लेखेका सुझाब र रचनाहरु सारा क्लिकको भरमा "डिलेट" गर्छ , माइ संसार । यसर्थ; त्यो शिर्फ उमेशको संसार हो ।

    बिगत छ महिना पहिला मैले खुल्लामन्च सुरु गर्दा भनेको थिए कि हामी पनि जुटौ । एक हौ, अगाडी बढौ, सल्लाह गरौ र चलौ । फेरी सहयोगी "दौतरी" मार्फत पोस्ट राखेर भने - हामी जुटौ । आखिर जुट्न जसरी जुटे पनि हाम्रै उथ्थानको लागि हो । केही साथीहरुको कमेन्ट नआएको होइन तर त्यो प्रसँग त्यसै सेलायो ।

    आज बसन्त दाजुको यो लेख मार्फत हामी लागौ न अब, जन्मेका सारा नेपाली ब्लगहरुको एकता र भबिश्यको लागि । नेपाली ब्लग भए पनि माइ संसारले तपाईं हामीलाई गर्ने सौताने व्यबहारबाट अछुतो रहन पक्कै साथीहरु लाग्नुहुनेछ भन्ने आशा छ ।

    नोट: माइ संसारलाई बिना प्रसँग उल्लेख गरेर मैले ठुलो भाई दिएको भने पक्कै होइन ।

    ReplyDelete
  8. nepali blogerharu pani hijo aaja dherai chhan tara sada bhanda thulo problem bhaneko sabai ko aa-aafnai circle hunu ho. sabai jana aafno circle bata bahira aayera aruko blog padheko maile kamai payeko chhu. yo pani yauta communication gap bhayeko chha.

    tapaile bhanubhayeko kura sahi ho comment garne ko sankhya ullekhye hune ho bhane blogger haru lai pani lekhne mood pakai pani aauchha.

    ReplyDelete
  9. हो बसन्त जी हामीहरु धेरै पहिले एकै ठाँउ बसौ भनेर २।४ पटक बैठक पनि बसियो तर तातो न छारो केहि भएन । त्यसो नाम समेत जुरायौ ब्लगान । तर त्यसलाई कानुनी रुप लैजाने कि खुल्ला भन्ने विषयमा नै बिबाद भएर सेलायो । हेरौ अब तपाईको ब्लगपोष्टले केहि गर्छ की

    ReplyDelete
  10. बसन्तजी एकदमै सही कुरा लेख्नु भएको छ

    ReplyDelete
  11. ब्लगमा प्रतिकृयाहरू कम हुनु चाहिँ नेपालीमा टपाइ गर्ने सिप पठकहरूमा थोरै भएकोले जस्तो लाग्छ । नेपालीमा टाइप गर्न जान्ने वित्तिकै आफ्नै छुट्टै ब्लग बनाउन तयार हुन्छन् । यो राम्रो पक्ष पनि हो ।

    त्यसैले ब्लगरले मात्र कमेन्ट गर्‍यो भनेर चिन्ता लिन आवश्यक छैन । कमेन्ट गर्न सक्षम भैसकेपछि त ब्लग गर्नै सक्षम होइन्छ । अनि पहला आफ्नो ब्लग बनायो अनि कमेन्ट शुरू गर्‍यो । शायद यस्तै भैराखेको होला ।

    ReplyDelete
  12. Tapaiko yo lekh malai pani chitta bujhyo. Nepali blogger haruko sankhya din dui guna raat chauguna ko dar le badhi raheko cha... Tara maile nepali blog ma bibidhata bhane kam dekheko chu.. kunaii blog internet bata arkako samagri chorera "paste" gareka bhar ma chaleka chan.. koi raajniti ka baashi guff hanera.. Yeuta sachet nagarik ka haisiyet le raajniti ma chaso ta sabaile rakhnu parcha, tara aati-raajnitikaran ko sikar bhayeko hamro samaj ma aafnu dakhal bhayeko wa aafno ruchi ko bisayema blogging garne ho bhane chai ramro hunthyo jasto lagcha malai chai...

    ReplyDelete
  13. बसन्त जी, म त जहिले पनि ढिलो मान्छे आज तपाईको बलग हेर्न पनि ढिलो आईपुगे, धेरै राम्रो र बास्तबिक्तालाई ओछ्याउदै पब्लिश गर्नु भएको रहेछ, खुशी लाग्यो जति पनि बिषयलाई कोट्याउनु भएको छ, शान्दर्भिक छ अनि अहिले आएको बाढी भन्ने पक्षमा सही कुरा हो बाढी आएको देख्दा खुशी लागेको छ, तर छिट्टै सुकेर जाने समस्याले सताएको हेर्दा चाँही दुख लागेको छ। ब्लग चाहे त्यो भावनालाई समेट्न सकोस, नसकोस त्यसको निरन्तरतानै त्यसको असल पक्ष हो र त्यो कहिल्यै बिबिध समस्या सँग मुछिएको नहोस र मैले देखे कुनै साथीहरुको कमेन्ट कपी टु पेस्ट भन्ने बिषय पनि हुन सक्छ हाम्रा शाहित्यकार महोदयहरुले आफ्नो रचनालाई धेरै वटा ब्लग वा प्रतिष्ठित साईटहरुमा प्रकाशनको लागी दिईएको हुन सक्छ, त्यसलाई कपी टु पेस्ट भनिहाल्न मिल्दैन, धन्यबाद। बसन्त जी मलाई धेरै खुशी लाग्यो तपाईको यो पोस्ट देखी।

    ReplyDelete
  14. यो टाँसो शुरूमै पढेपनि विभिन्न कारणले गर्दा टिप्पणी लेख्‍न भने म पछाडि परें।

    नेपाली ब्लग जगतको सामान्य चीरफारमा केन्द्रित यो पोष्टले धेरै हदसम्म अहिलेको स्थितिको समिक्षा न्यायकासाथ गरेको छ ।

    'अफलाईन कमेण्ट'मात्र दिने पाठक हुनु वा नेपाली ब्लगका टिप्पणी कर्ता पनि ब्लगर नै हुनुमा माथी अरु साथीहरुले औंल्याउनु भएको भाषाको समस्या र केहि झीजों लाग्ने प्रक्रिया पनि जिम्मेबार हुन सक्छन ।

    यहाँनेर एउटा कुरा याद आयो। केहि बर्ष अगाडी बंगलादेशमा एउटा सामाजिक सर्बेक्षण गरीएको थियो, जसको नतीजा एकदमै चाखलाग्दो निस्क्यो। सो सर्बेक्षणका अनुशार बंगलादेशमा शीक्षीत जत्ती सबै साहित्यकार भएको वा 'हुन खोज्ने' देखाएको थियो ।

    हाम्रो ब्लगको पाठकहरुमा पनि सायद त्यहि 'फर्मुला' लागु हुन्छ जस्तो छ। अर्थात 'पाठक' पनि पाठक त्यतिबेला हुन्छ जब उ स्वयं पनि ब्लगर हुन्छ ।

    तर समष्टिमा हेर्दा, मलाई गत १-२ बर्षको तुलनामा नेपाली ब्लग जगतमा केहि "प्रौढता" आएको भान हुन्छ ।

    कतिले, ब्लगले नेपाली भाषाको शुद्धतामा नराम्रो असर परेको पनि बताउँदा रहेछन, तर मलाई भने समय क्रममा यो सबैमा पनि सुधार हुँदै जानेमा विश्‍वास छ र म त भन्छु कमसेकम यहि ब्लगका कारणले भए पनि धेरै भन्दा धेरै स्वदेश वा विदेशमा रहेका युवाहरु नेपाली भाषातर्फ आकर्षीत त भएका छन ।

    हरेक कुराका सहि र गलत प्रभाव त हुन्नन नै, तर नेपाली ब्लग सुधारोन्मुख रहेको र यसको भविष्य राम्रै रहेको जस्तो लाग्छ मलाई ।

    ReplyDelete
  15. सूझबूझपूर्ण प्रतिकृयाका लागि सबै साथीहरुलाई हार्दिक धन्यबाद!

    आकार भाइ, हो वास्तवमा मलाई पनि अपूरोनै लागेको छ। अपूरोनै भएपनि यसले एउटा छलफलको शुरुवात गर्न सक्यो भने सफलै मानुँला म यसलाई।

    दूर्जेयजी, विज्ञान-प्रविधिलाई समेटिएका नेपाली भाषाका ब्लगहरु एक-दुई भन्दा बढी छैनन्। त्यस्ता ब्लगका पाठक/प्रशंशक केहि थोरै हुनसक्लान् तर अत्यन्त समर्पित हुन्छन्। फेरि, शुरु नभएर पनि हो, त्यस्ता ब्लग धेरै शुरु भए भने पहिला रुचि नभएका मान्छेमा पनि रुचि जाग्न सक्छ।

    कृष्णजी, नेपाली ब्लग-जगतको ठूलो समस्या मलाई पनि विविधताको अभाव हो जस्तो लाग्छ। पाठकहरुले विविधता खोज्छन् र हामीसंग यसमा सचेत हुनुको विकल्प छैन।

    बेदनाथजी, मैले मूल-टाँसोमै पनि लेखेको छु, भाषिक कमजोरी ठूलो समस्या होईन। लेखाईलाई निरन्तरता दिने हो भने यो हराएर जान्छ। मूल कुरो, एउटा ब्लगरले आफ्नो ज्ञान र रुचिको संयोजन कुन विषयमा बढी खुल्छ भन्ने कुरामा सचेत हुनु जरुरी छ।

    इनाजी, हाम्रो देशको राजनीति बिग्रेकोले हुनसक्छ हामी सबै नेपालीको मनमा राजनीतिले यस्तरी चौबीसै घण्टा डेरा जमाएको। त्यसैको प्रतिबिम्ब नेपाली ब्लग-जगतमा पनि देखिएको छ। राजनीतिक रुपमा सचेत हुनु अत्यन्त राम्रो कुरा हो तर राजनीतिक कुराको पनि आफ्नै सीमा र समय हुन्छ। आशा गरौं, ब्लगर साथीहरुले यसमा ध्यान दिनेछन्।
    ब्लगका प्रतिकृयाहरुमा प्रयोग हुने तल्लो दर्जाका शब्दहरु देख्दा मलाई पनि अत्यन्त दु:ख लाग्छ। समाजको वैचारिक स्तर माथि गयो भने केहि कम हुँदै जाला।

    नविनजी, हा हा हा! Ratio लाई सही बनाउने हिसाब गर्दा अल्छी factor लाई पनि ध्यान दिनुपर्ने भयो:)

    गोकुल भाइ, माईसंसारसंग यस्तरी रिसाइरहनुको खासै अर्थ देखेको छैन मैले। अरु कसैको दावी प्रमाणित नहुञ्जेल नेपाली भाषाको पहिलो ब्लग माईसंसारनै हो। यति मानिदिएर हामी साना हुँदैनौं।
    जहाँसम्म प्रतिकृयाहरु मेटने कुरा छ, मेरो अनुभव त्यस्तो छैन। धेरैबाटचाहिँ मेटिन्छ भन्ने सुनेको छु। अब मेटिन्छनै भनेपनि हामी के गर्न सक्छौं र? त्यो उनीहरुको आफ्नो हकको कुरा हो। आफ्नो प्रतिकृया मेटिन्छ भने त्यो ब्लगमा फेरि नगएकै, वास्ता नगरेकै राम्रो।
    बाँकी रह्यो, नेपाल ब्लगरहरुको एकता आदिको। यसमा मेरो विचार भविष्यको कुनै टाँसोमार्फत राख्नेछु।

    wordflowsजी, तपाईँको कुरा ठीक हो। नेपाली ब्लगरहरु धेरै स-साना समूहमा बाँडिएका हुनाले पनि धेरै समस्याहरु निक्लेका हुन सक्छन्।

    राजेन्द्रजी, ब्लगरहरुको संगठन आदि कुरामा मेरो धारणा अलि फरक छ। समय मिल्दा हुँदी त्यसबारेमा एउटा छुट्टै लेख राखौंला यहि ब्लगमा।

    बद्रीजी, हौसलाका लागि आभारी छु।

    "नेपाली भाषाका ब्लगहरु"ज्यू, यदि भईरहेको त्यसै हो भने खुशीको कुरो हो।

    किशोरजी, हामी नेपालीको स्वभाव अलि त्यस्तै छ, सबैले उस्तै काम गर्ने। आफ्नो क्षमतालाई चिनेर क्षेत्र रोजेको खण्डमा धेरै ब्लगरहरु सफल हुने थिए। राजनीति र साहित्यमात्रै ब्लगका क्षेत्र होईनन्। मलाई किशोरको फोटो-ब्लग साह्रै मन पर्छ।

    बान्तबाजी, यहाँको ओजपूर्ण प्रतिकृयाको लागि आभारी छु। आशा गरौं नेपाली ब्लगमा निरन्तरताको अभाव हुने रोग सल्किनेछैन।

    दिलिप दाइ, सबै साहित्यकार-कविनै हुनुपर्ने रोग हाम्रोमात्रै नभएर पूरै दक्षिण एशियाकै हो जस्तो छ:)
    ब्लगको भाषिक पक्ष ठूलो समस्या हो जस्तो त मलाई पनि लाग्दैन। निरन्तरता दिएका खण्डमा यो हराएर जान्छ। तर यो आफैं ब्लगर नभईकन प्रतिकृया नदिने वा पाठक नहुने भने चाहिँ समस्यानै हो। टाइपिङको झञ्झट आदिको कुरा पनि छ, त्यस्लाई पनि ध्यान दिनु आवश्यक छ, तर यूनिकोड आएको पनि केहि वर्ष भइसक्यो र हामीले अलिक बढी आशा गरे फरक नपर्ला।
    नेपाली ब्लगको भविष्य सुधारोन्मुख र उज्ज्वल छ भन्ने कुरामा म पनि विश्वस्त छु। एउटा छलफलको शुरुवात होस् र नेपाली ब्लगको गति बढोस् भन्ने उद्देश्य हो मेरो।

    ReplyDelete
  16. Munna Gautam (munnag_76@hotmail.com)
    बिज्ञान र प्रविधि मा नेपाली भाषामा लेखिएका कुनै ब्लग छन् कि?

    ReplyDelete
  17. धन्यबाद Munna Gautamज्यू!
    कम्प्युटरसंग सम्बन्धित कुराकानीमा समर्पित "कम्प्युटर नेपालीमा" http://computernepalima.blogspot.com/) छ। त्यसबाहेक पूर्ण रुपमा विज्ञान र प्रविधिमा समर्पित नेपाली ब्लग देखेको छैन मैले। अथवा भएर पनि त्यति प्रचारित नभएको हुनसक्छ। अंग्रेजी र नेपाली दुबै भाषामा र प्रविधिका बारेमा लेखिने ब्लग एउटा Science to Society (http://giri25.blogspot.com/) हो। यो ब्लग चलाउने साथीकै अंग्रेजी भाषाको अर्को ब्लग छ NepaChem (http://nepachem.blogspot.com/), तर त्यो अलिक specialized छ, सम्बन्धित क्षेत्रका विज्ञ बाहेक अरुले नबुझ्ने हुनसक्छ कतिपय लेखहरु। अर्का नेपाली ब्लगरकै अंग्रेजी ब्लगहरु Time! (http://ajabgajab.blogspot.com/) र Web Logger Dai:---(http://webloggerdai.blogspot.com/)मा पनि प्रविधिका कुरा धेरै लेखिएका हुन्छन्। नियमित नभएपनि बेलबखत प्रविधिका बारेमा, विशेष गरी कम्प्युटर-ईण्टरनेट आदिका बारेमा नेपालीमा लेखिएका लेखहरु http://dacharya.blogspot.com/ मा पनि पढ्न सकिन्छ।

    ReplyDelete
  18. munnag_76@hotmail.com
    विवरण दिनुभएकोमा धन्यवाद।

    ReplyDelete
  19. नेपालि व्लग सम्वन्धि धेरै कुरा जानकारी दिनु भएकेामा साधुवाद। व्लगका विषयमा धेरै पछि थाहा पाएकेाले कमेन्ट गर्न पनि पछि परें।जहिले देखि थाहा पाए मैले पनि लेख्न शुरू गर्दै यस क्षेत्रमा वामे सर्ने केाशिस गर्दैछु ।gckarkiwordpress.com.तपाइकेा भलेा कामना गर्दछु ।

    ReplyDelete
  20. gckarkiज्यू, हार्दिक धन्यबाद! यो ब्लगमा स्वागत छ। तपाईँको ब्लग-यात्राको सफलताको कामना गर्दछु।

    ReplyDelete