प्रचण्ड र माओवादीको वास्तविक अनुहार उदांगिएपछि र प्रचण्डले "---बाग्मतीमा धेरै पानी बगिसक्यो--" भनेर कथित 'स्पष्टीकरण' दिएपछि पनि बाग्मतीमा केहि दिनको पानी बगिसकेको छ। यस बारेमा केहि कुरा अघिल्लै टाँसोमा लेखौं कि भन्ने लागेको थियो तर पावन बुद्ध जयन्तीको दिनमा माओवादीको हिँसारञ्जित जुँघाको कुरा गर्नु ठीक लागेन।
माओवादीले यो भिडियोलाई जति असान्दर्भिक भनेर घोक्रो फुलुञ्जेल चिच्याएपनि कसैले पत्याउँदैन। उनीहरुको ब्यबहारलाई यो भिडियोले एउटा स्पष्ट आकार दिएको छ र माओवादीको वास्तविक उद्देश्यका बारेमा धेरै मान्छेहरुमा रहेको भ्रम चिरिएको छ।
वर्तमान अन्तरिम संविधान र राजनीतिक परिवेश सबैको सम्झौताकारी बाध्यता हो। संसदीय दलहरुलाई तत्कालीन राजा ज्ञानेन्द्रले सेनाको भरमा पाखा लगाएका थिए। अर्कोतिर, माओवादी नेतृत्व आफ्नो 'जनयुद्ध'को लागि सुरक्षित अवतरण खोजिरहेको थियो (भन्ने अरु सबैको विश्वाश थियो।)। यी दुबैको मिलन बिन्दू खोज्ने क्रममा संघिय लोकतान्त्रिक गणतन्त्रको सूत्र फेला परेको हो। यो संघीय लोकतान्त्रिक गणतन्त्रमा परिभाषित हुन बाँकी थुप्रै कुराहरु छन् तर पनि सारमा यसले खुल्ला समाज, बहुदलीय प्रतिस्पर्धा र वैचारिक स्वतन्त्रतालाई अंगीकार गर्नेछ भने अर्कोतिर माओवादीले उचालेका वर्गीय, जातीय, आर्थिक र सामाजिक मुद्दाहरुको पनि उचित समाधान पनि खोज्नेछ भन्ने हाम्रो आशा हो। त्यसैले एउटा पक्षले हारेको र अर्को पक्षले जितेको भन्दा पनि दुबै पक्षले जित्ने बाटो समातिएको हो भन्नु उपयुक्त हुन्छ।
तर प्रचण्डको भिडियो हेरिरहँदा यो कुराको बोध पटक्कै भएन मलाई। उनी अरुलाई सोत्तर बनाएर आएको भाव-भंगिमामा बोलिरहेका थिए। माओवादीको घमण्ड त धेरैनै देखिएको थियो तर उनीहरुको सर्वोच्च नेतृतवमै यस्तो चरम अहंकार र अरुप्रति निषेधको भावना देख्दा अनौठो लाग्यो।
यो भिडियोबाट ब्यक्त भएको राजनीतिक बेइमानीको बारेमा धेरै कुरा लेखिईसकेका/बोलिईसकेका छन्। माओवादीले कसरी जनता, अरु दल र अन्तर्राष्ट्रिय समुदायलाई थाङ्नामा सुताएर आफ्ना हरेक अभीष्ट पूरा गर्दै आईरहेको रहेछ भन्ने छर्लङ्ग भएको छ। केहि मित्रहरुले यसलाई 'संविधान-सभानै हुन नदिने संभावना भएको बेलामा आफ्ना लडाकूहरुको मनोबल कायम राख्न गरिएको भाषण' भनिदिए। तर भिडियोमा प्रचण्ड बडो गर्वका साथ 'हामीले नजित्ने खण्डमा हामी आफैं चुनाव हुन दिँदैनौ!' भन्छन्। यो कस्तो राजनीतिक इमान्दारी हो? उनी अझ 'संविधान-सभानै नहुने र त्यो स्थिति जनताको असन्तुष्टिलाई उपयोग गर्दै सशस्त्र विद्रोह'का लागि अति उपयुक्त अवसर हुने कुरा पनि गर्छन्।
शान्ति-प्रकृया शुरु भए यता माओवादीका यो वा त्यो नामका भातृ-संगठनहरुले देशभरि ब्यापक ताण्डब मच्चाइरहेका छन्। फरक विचार राख्नेहरु उनीहरुबाट कुटिएका र लखेटिएका वा मारिएका छन्, जनताका सम्पत्ति लुटिएका छन्। यी कुरा देखाएर कसैले प्रश्न राख्दा माओवादीको नेतृत्व भने जहिले पनि गुलिया कुरा कुरा गर्थ्यो (अहिले पनि गर्छ); 'यो हाम्रो दलको नीति होईन, केहि ब्यक्तिले गरेको कामका लागि हाम्रो पार्टी पूरैलाई दोष नलगाउनुहोला। दोषीलाई कारवाही गर्न हामी सघाउनेछौं---' आदि-आदि। धेरैलाई जस्तै मलाई पनि शुरुमा लाग्थ्यो, माओवादी नेतृत्वले नचाहँदा-नचाहँदै पनि कार्यकर्ताहरुले केहि बदमाशी गरेका होलान् वा केहि कार्यकर्ता शान्ति-प्रकृयाका विरोधी होलान्, समयक्रममा माओवादी नेतृत्वले आफ्ना सबै कार्यकर्तालाई नियन्त्रण गर्न र अराजकता रोक्न सक्षम हुनेछ। तर समय बित्दै जाँदा माओवादी नेतृत्वको 'ओंठे प्रतिबद्धता'मा विश्वाश घट्दै गयो। माओवादीहरु देशभरि कानूनभन्दा माथि बसिरहे। लुटिएका घर-जग्गा फिर्ता गर्ने प्रतिबद्धता मात्रै प्रचण्डले दश पटक ब्यक्त गरे होलान्। फिर्ता हुनु त कता हो कता उल्टो झन् लुट्न थालियो। प्रचण्ड बाहिर त नाटक मात्रै पो गर्दा रहेछन्!
यो भिडियोले ती सबै कुरापनि पार्टीकै नीति हुन् भन्ने देखाउँछ। आफ्ना कार्यकर्ताले के-के गर्छन् भन्ने प्रचण्डलाई सब थाहा छ। उनी भन्छन्; 'हाम्रा साथीहरुलाई कस्तो लाग्यो भने कुनै घर जलाइदियो भने विद्रोह हुन्छ कि कसैलाई गोद्दियो भने विद्रोह हुन्छ कि त्यस्तो जस्तो गर्छन् साथीहरु। एउटा घर जलाएर र पिटेर विद्रोह हुने होइन नि।' उनको भाव-भंगिमा आफ्नो बच्चा कुनै खेलौनासंग खेलेको देखेर रमाएको जस्तो छ। घर नजलाउन वा अरुलाई विना उचित कारण नगोद्न आफ्ना कार्यकर्तालाई कडा निर्देशन बिल्कूलै दिएका छैनन्। बरु अर्को ठाऊँमा अरु दलका कार्यकर्ता-समर्थकको 'खुट्टा भाँच्दिने' धम्की दिन्छन् र आफ्नो दल र लालसेनाले अरुमा सृजना गरेको 'आतंक' माथि बहुत गौरब गर्छन्। अब आफूले सृजना गर्न सकेको आतंकमा गौरब गर्नेलाई हामीले के नाम दिने?!
चुनावताका अरु दलका उम्मेदवारका आमसभा बिथोल्ने, उम्मेदवारलाई घाइते बनाउने काम पनि पार्टीको नीतिनै हो रहेछ।
शहीदको नाममा वा लडाकूको जीविकाको नाममा पैसा लिने र त्यसको ठूलो अंश हतियार किन्नमा लगाउने कुराले माओवादी शान्ति-प्रकृयाप्रति बिल्कूलै इमान्दार थिएन भन्ने प्रष्ट हुन्छ। आफैं सरकारमा गईसकेर पनि उसले राज्यलाई धम्क्याएर, फकाएर जसरी भएपनि दुहुनो गाइकै रुपमा मात्रै उपयोग गरिरहेको रहेछ। यति सबै भईसकेपछि पनि माओवादीसंग अरुलाई सुशाशन र नैतिकताको पाठ पढाउने अलिकति पनि हक छ र?
नाटक जारी छ!
माओवादीले भन्ने कुरा र गर्ने कुरा फरक छ भन्ने लोकलाई थाहा भईसक्यो तर पनि माओवादी नौटंकी जारी छ। "विदेशी प्रभुसंग नझुक्ने" भन्दै सरकारबाट राजीनामा दिने तर संसद अवरुद्ध पारेर अर्को सरकार बन्नै नदिने कामलाई शायद उनीहरु द्वन्द्वात्मक भौतिकवाद भन्छन् होला। यता काठमाडौंमा उनीहरु 'नागरिक सर्वोच्चता' को खोल भिरेर राष्ट्रपतिविरुद्ध तल्लो तहका गाली-गलौजमा उत्रेका छन् उता जिल्ला-जिल्लाबाट अरु दलका कार्यकर्ता/समर्थकहरु खेदिन थालेका छन्, माओवादीका केन्द्रीय नेताहरु आफैं पुगेर प्रोत्साहन गरेका छन् यस्ता कामलाई। तर काठमाडौंमा प्रचण्ड अझै भनिरहेछन् 'त्यो हाम्रो पार्टीको नीति होईन'!
तस्बीर-साभार:कान्तिपुर दैनिक
यो 'विदेशी प्रभुसंग नझुक्ने' नाटकका अरु अध्यायहरु पनि एक-एक गरी खुल्दैछन्। माओवादी कार्यकर्ता र समर्थकहरु भारतीय अखवार 'हिन्दू' ले दुई दिन लगाएर छापेको प्रचण्डको अन्तर्वार्तालाई शुतूरमूर्गी पाराले नदेखेझैं गर्छन् तर माओवादी नेतृत्वको 'राष्ट्रवाद'को धोती नराम्रोसंग फुस्किरहेको छ त्यहाँ। कटवाल काण्डमा भारतको 'ठूलै' मान्छेसंग 'सल्लाह' गर्न लागेका रहेछन् उनले। अब नेपालमा भारतको हस्तक्षेप भयो, भारत विस्तारवादी हो र अरु सबै दल भारतका पूच्छर हुन् भनेर चिच्याउने मान्छेले आफ्नो निर्णयमा भारतले लालमोहर लगाइदिन्छ कि दिँदैन भनेर किन जोखना हेर्नु? किन उनीहरुसंग सोध्नु? माओवादीहरुसंग यस्ता प्रश्नको जवाफका रुपमा कांग्रेस-एमालेका विरुद्ध गाली बाहेक केहि पनि छैन।
त्यहि अन्तर्वार्तामा उनले "भारत विस्तारवादी होइन" भनेर स्पष्ट पारेका छन्। यतिसम्म देखिसकेपछि "भारतीय विस्तारवाद" को विरोधमा देशभरिका सडकमा बौलाईरहेका उनका चेलाहरु त बेहोश हुनुपर्ने हो, आत्मग्लानिले!
अर्को एक ठाऊँमा उनी 'चीनसंग कुनै सन्धि हुन लागेको' कुरालाई अस्विकार गर्छन्। यो पनि अहिले भारतलाई रिझाउन बोलिएको एउटा झूट मात्रै हो। उक्त सन्धिको कुरा नेपाल सरकारकै एक उच्चपदस्थ कर्मचारीले सार्वजनिक गरेका हुन् केहि महिना पहिलेनै (अहिले ती मान्छे कुनै यूरोपियाली देशका लागि राजदूत भइसकेका छन्)।
राष्ट्रहितका लागि नेपालले चीनसंग सन्धि गर्नु नराम्रो भन्न खोजेको होईन मैले। प्रधानमन्त्रीले भारतको अगाडि यसरी जिब्रो चपाएको देख्दा अचम्म लागेको मात्रै हो।
यो टाँसो धेरै लामो भयो जस्तो छ। यहाँभन्दा बढी तपाईँहरुलाई सकस दिन चाहन्न:)
यस बीचका केहि समाचारसंग सम्बन्धित सूत्रहरु छन् तल। पढ्न/हेर्न भ्याउनुभएको छैन भने पढ्नुहोला/हेर्नुहोला।
PKD Video
Prachanda's Interview with The Hindu-1
Prachanda's Interview with The Hindu-2
भारतसंग कुरा गर्न खोजेको थिएँ
भारत विस्तारवादी होइन-प्रचण्ड
माओवादी पोस्न १ अर्ब-----
एमाले-कांग्रेस खेद्ने क्रम शुरु
जुंगा बहादुरहरुले फेरी बिद्रोह मच्चाउन सक्छन, फेरी रगतको राजनीति गर्न सक्छन, बन्दूकको आड़मा मन्परीपथ लादन सक्छन, फेरी सोझा सीधा नेपाली लाइ मीठा मीठा सपना बाडेर जिउज्यान दाग्न सक्छन ! सबै तैयार हौं सामना गर्न !
ReplyDeleteफेसबुकमा मैले अली अगाडी यस्तै स्टाटस लेखेथे, यहाँ पनि सान्दर्भिक लाग्यो, बसंतजी लाई फेरी पनि धन्यवाद यो टाँसोको लागि !
आसा गरौ पहिले जस्तो आशान्ति फेरि नहोस् भनेर
ReplyDeleteसही बिश्लेषण बसन्तजी | बडो घत लाग्यो | बिदेशमा रहेर पनि तपाईं देशको राजनीतिप्रति अतिनै सचेत अल्पसंख्यक असल नागरिक हुनुहुन्छ | थाप जानकारीको प्रतिक्षामा .....|
ReplyDeleteधन्यबाद |
बसन्त जी तपाइको समसामयिक गफगाफ स्वागतयोग्य छ ।
ReplyDeleteप्रतिकृयाको लागि सबै साथीहरुलाई हार्दिक धन्यबाद! माओवादीको तानाशाही योजनाका विरुद्ध सबैले अहिलेबाटै आ-आफ्नो ठाऊँबाट लाग्नैपर्छ। समय गईसकेपछि पछुताउनुको कुनै अर्थ हुनेछैन।
ReplyDeleteआशा छ, सबै ब्लगर साथीहरुले पनि आफ्नो ब्लगमा तानाशाही सोचको सशक्त प्रतिकार गर्नुहुनेछ।
JO choor UsaiKo Thulo soor ho hamro desh maa ta.
ReplyDeleteSab badar hun tesma pani uni dhedu badar pare ni ta.
धन्यबाद किराँतजी! ठीक भन्नुभयो तपाईँले; वास्तवमै 'जो चोर, उसैको ठूलो स्वर' भएको छ अहिले।
ReplyDeleteDerai ramro kura garnubhayo dai le.Maobadi ko dhoti phuskisakeko cha.
ReplyDelete