April 02, 2009

जापानमा उत्तर कोरीया आतंक


Image source:Provide for the Common Defense

केहि हप्ता यताबाट हरेक दिनको जापानी समाचारमा नछुट्ने कुरा बनेको छ, अब एक-दुई दिनमै उत्तर कोरीयाले गर्ने कथित ‘भू-उपग्रह प्रक्षेपण’। जापान, दक्षिण कोरीया र अमेरिकाले यसलाई ‘भू-उपग्रहको खोल ओढाएर उत्तर कोरीयाले आणविक क्षेप्यास्त्र परीक्षण गर्न लागेको’ भनेर दोषारोपण गरेका छन् भने उत्तर कोरीयाले भने ‘संचार-प्रयोजनका लगि भू-उपग्रह प्रक्षेपण गर्न लागेको’ भनेर स्पष्टीकरण दिँदै पछि नहट्ने संकेत दिईसकेको छ। उत्तर कोरीयाजस्तो निर्मम तानाशाही भएको, बन्द र विश्व-समुदायबाट अलगथलग देशभित्रका गतिबिधिबारे पूरा र स्पष्ट जानकारी आउने सम्भावना एकदमै कम हुन्छ, त्यसैले यो प्रकरणभित्रको यथार्थ पनि उत्तर कोरीयाली शाशकहरुको एक तप्कालाई मात्रै थाहा होला। बाँकी विश्वमा भने अमेरिकी जासूसी भू-उपग्रहहरुले खिचेका तस्बीरहरुका आधारमा संभावित प्रक्षेपणको प्रकृति र क्षमता आदिका बारेमा अडकलबाजी मात्रै चलिरहेका छन्।

अनगिन्ती वार्ता र 'मोलतोल'हरुपछि उत्तर कोरीयाले आफनो आणविक हतियार कार्यक्रमलाई स्थगित गरेको धेरै भएको छैन। केहि पश्चिमा संचारमाध्यमहरुले अहिलेको यो प्रकरणलाई नयाँ अमेरिकी राष्ठ्रपतिको ‘नाडी छाम्ने उत्तर कोरीयाली प्रयास’को रुपमा पनि चित्रित गरेका छन्। त्यो पनि यो प्रकरणबाट पूरा गर्ने उत्तर कोरीयाका केहि उद्देश्यहरुमध्ये एक हुन सक्ने सम्भावना प्रबल छ। अमेरिका लगायतका विश्वशक्तिहरुसंग सिंगौरी खेल्नका लागि आर्थिक मन्दीले सबैको ‘नींद हराम’ गरिरहेको यो समय एकदम उपयुक्त लागेको हुनसक्छ उत्तर कोरीयालाई।


अडकलबाजीको स्रोत
विस्तृत जानकारी Global Security.org मा भेट्न सक्नुहुन्छ।

जापानले आफ्नो सुरक्षा-संयन्त्रलाई एकदमै सजग बनाएको छ। प्रक्षेपणका क्रममा केहि गल्ती भएर मिसाइल जापानतिर सोझिन सक्छ भन्ने डर छ जापानलाई। जापानी वायु सीमा (air space) भित्र पसेमा त्यसलाई ध्वस्त पारीने घोषणा गरीसकेको छ जापानले। क्षति पुग्नसक्ने सम्भाबित ठाऊँका जनतालाई तुरुन्त सूचित र उद्धार गर्न सकिने तयारी पनि भइरहेको छ। उता उत्तर कोरीयाले आफ्नो क्षेप्यास्त्रलाई 'छोइएमा' जापानमाथि धावा बोल्ने र जापानलाई तहसनहस पार्ने घोषणा गरेको छ। यसरी यतिखेर सुन्दर हानामीको मौसमभित्र युद्धको बादल लुकिरहेको छ र परिष्थितिले जस्तो मोड पनि लिनसक्ने संभावना छ।

उत्तर कोरीया जापानको लागि आतंकको स्रोत हो। आनुवांशिक र सांस्कृतिक हिसाबले दुबै जाति निकट लागेपनि धेरै ऐतिहासिक कारणहरुले गर्दा यी दुई देशको सम्बन्ध अत्यन्त जटिल र एकापसमा शंकालु रहेको छ। निकट इतिहास हेर्दा, गत शताब्दीको शुरुवातमा जापानले पूरै कोरीयाली प्रायद्वीपमाथि कब्जा जमायो र चरम दमनकारी औपनिवेशक शाशन ग-यो। दोश्रो विश्वयुद्धमा जापानको हारपछि जापान त फर्कियो तर शीतयुद्धको मारमा परेर कोरीया विभाजित भयो। उत्तर कोरीयामा सोभियत संघ समर्थित साम्यवादी तानाशाही शुरु भयो भने दक्षिण कोरीया अमेरिका समर्थित सरकारको नियन्त्रणमा पुग्यो। दक्षिण कोरीया कहिले सैनिक शाशन कहिले प्रजातन्त्र हुँदै अहिलेको प्रजातान्त्रिक राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा आईपुगेको छ भने उत्तर कोरीया ठीक उल्टो झन्-झन् कठोर दमनकारी राज्य बन्दै गएको छ। शीतयुद्धको समाप्तिपछि उत्तर कोरीयाको निकटतम बाह्य सम्पर्क झन् खुम्चिएर चीनमा सीमित भएको छ।

त्यतिखेरको जापानी अत्याचारका कारण उत्तर-दक्षिण दुबैतिर जापानलाई मन नपराउने कोरीयालीहरुको संख्या ठूलो छ। त्यतिखेरको औपनिवेशिक अत्याचारलाई छोप्न खोजेको, कहिल्यै खुल्ला मनले स्विकार र पश्चाताप नगरेको आदि आरोप लाग्ने गरेको छ जापानमाथि। त्यति हुँदाहुँदै पनि दक्षिण कोरीयाको जापानी नीति धेरै हदसम्म ब्याबहारिक र भविष्यमुखी भईसकेको छ। दक्षिण कोरीया आर्थिक रुपमा पनि जापानको समकक्षी र प्रतिष्पर्धी भईसकेको छ र जापानसंग उस्का ब्यापारिक लगायतका धेरै स्वार्थहरु जोडिएका छन्। यो अबश्थामा जापानसंगको सम्बन्ध अस्थिर हुँदा जापान र दक्षिण कोरीया दुबैलाई हानी हुने निश्चित छ। त्यसैले यी दुई देश आफूबीचका समस्यालाई कूटनीतिक प्रयासबाट हल गर्नेतिर लागेका छन्।

उत्तर कोरीया आर्थिक रुपले टाट उल्टेको धेरै भईसकेको छ। यसको अहिलेको एउटा प्रमुख 'खेती' दक्षिण कोरीया, जापान र अमेरिकाका विरोधमा निरन्तर विषवमन गर्नु, धम्क्याउनु र 'मोलतोल' गरेर आर्थिक सहयोग पाउनु रहेको छ। देशभित्र जनतालाई मौलिक ब्यक्तिगत अधिकार र राजनीतिक-सांस्कृतिक स्वतन्त्रता बिल्कूलै दिईएको छैन। साम्यवाद र सर्वहारावर्गको अधिनायकत्वको नाम दिँदै चरम दमनकारी र सैन्यप्रधान राज्यब्यबश्था खडा गरिएको छ। आफूलाई सबैभन्दा आधुनिक र प्रगतिशील विचारधारको अनुयायी भन्न रुचाउनेहरुले सामन्ती शाशनमा झैं किम 'राजवंश' खडा गरेका छन्। अहिलेका 'सुप्रिमो' किम जोङ इलको सन्की पारासंग पूरै विश्व सशंकित छ।

जापानीहरुलाई आतंकित बनाउने अर्को प्रसंग अपहरण हो। १९७७ देखि १९८३ को अवधिमा थुप्रै जापानीहरु, धेरैजसो तन्नेरीहरु रहस्यमय ढंगले हराए। पछि थाहा भयो, आफ्ना जासूसहरुलाई जापानी सिकाउने प्रयोजनका लागि अथवा हत्या गरेर ब्यक्तिगत पहिचान (personal information) 'चोरी' गर्नका लागि उत्तर कोरीयाले अपहरण गरेको रहेछ। उत्तर कोरीया आफैंले पनि स्विकारिसकेको छ, यो कुरा तर केहि ब्यक्तिहरुको 'दुस्साहस'लाई दोषी देखाएर आफू भने पन्छिएको छ। अपहरण गरिएको संख्यामा पनि विवाद छ। उत्तर कोरीयाले १३ जनाको मात्रै जिम्मेवारी लिएको छ भने जापानी सरकारले औपचारिक रुपमा १६ जनाको नाम पेश गरेको छ। सरकारले १६ जना मात्रै भनेपनि जापानी जनमानसमा भने यो संख्या ७०-८० हुनुपर्ने धारणा ब्याप्त छ। केहि वर्ष पहिला जापान-उत्तर कोरीया वार्तापछि अपहरितमध्येका ५ जना आफ्ना परिवारसहित जापान फर्केका छन्। बाँकी आठजना मरिसकेकोले अब यो समस्या बाँकी नरहेको उत्तर कोरीयाको जिद्दी छ भने जापानले त्यसलाई स्विकारेको छैन।

यसरी अपहरणमा पर्ने दक्षिण कोरीयालीहरुको संख्या झन् ठूलो, ५०० को हाराहारीमा छ। दक्षिण कोरीया र जापान बाहेक चीन, थाइल्याण्ड, लेबनान, जोर्डान, रुमानिया आदि देशका थुप्रै मान्छेहरु पनि उत्तर कोरीयाको अपहरणमा परेको प्रमाणित भईसकेको छ। यी मध्येका केहिलाई वार्ताका 'गोटी'का रुपमा प्रयोग गर्दै पनि आएको छ उत्तर कोरीयाले। पाँच जापानीजस्तै अरु कतिको स्वतन्त्रता पनि आर्थिक सहयोग र बिभिन्न कूटनीतिक छुटसंग 'साटिएको' हुनसक्छ।

अहिलेको यो प्रकरण पनि उत्तर कोरीयाको 'बाली' उठाउने मौसम हुनसक्छ। विश्वसमुदाय- विशेष गरी दक्षिण कोरीया, जापान र अमेरिकालाई धम्काएर आर्थिक सहयोग र कूटनीतिक छुट लिने र त्यसपछि यो कार्यक्रमलाई रद्द वा स्थगित गर्ने रणनीति हुनसक्छ उसको। चीन र रुस, विशेष गरी चीन 'दाहिना' हुञ्जेल संयुक्त राष्ट्रसंघ वा विश्व-समुदायले उसलाई खासै नियन्त्रणमा लिन पनि सक्दैन। त्यसैले भित्रभित्रै कुनै 'मोलतोल' चल्दै गरेको हुनसक्ने सम्भावना पनि छ ।

Image source: Associated Content

7 comments:

  1. खै, कुरा पढ्दा त निकै डरलाग्दो नै छ ! अलिकति सनक चढ्यो भने, सबै कुरो स्वाहा हुन बेर लाग्दैन । बनाउन पो धेरै समय त, बिग्रन त केहि सेकेण्ड र केही सनक नै काफी छ ।

    हुन त देशहरु सम्बन्धि ज्ञान कम नै छ, त्यही पनि बुझ्दा, उत्तरकोरिया केही बढि नै सन्की हो कि जस्तो लाग्छ । सम्बन्ध कसैसँग पनि राम्रो छैन । उसबाट, जापान, दक्षिण कोरिया लगायत संसार नै पिडित भएको जस्तो आभाष हुन्छ । बाहिर को सम्पर्क बाहिर रहेर पनि, उत्तरकोरियाले भू-उपग्रह प्रक्षेपण गर्नु भनेको राम्रै कुरा नै हो ।

    जेहोस् तर उत्तरकोरिया को भू-उपग्रह को प्रक्षेपण को कारण कसैलाई हानि नपुगोस्, झगडा नतन्कियोस् ।

    ReplyDelete
  2. अधिकार कै कुरा गर्ने हो भने जुन मुलुकले यस्ता हतियार गलत हातमा पर्न नदीई ब्याबस्थापन गर्न सक्ने क्षमता राख्छ ति सबै लाई यो अधिकार हुनुपर्छ .. अमेरिका, रूस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान र इजराएल सम्मलाई भएको अधिकार उत्तर कोरिया, इरान वा लीबियालाई मात्रै नहुने कुरै छैन ... त्यसैले होला मेरो एस.एल.सी. ताका उत्तर कोरियाले आफ्नो देशमा आणविक हतियार भएको सगर्ब घोषणा गर्दा कम्तिमा यो देशले आफ्नो ब्याक्तिगत स्वतंत्रताको उपभोग गरो भनेर मलाई सारै आनन्द लागेको थियो |

    तर यस्तो हतियार हुनु हातमा चक्कू हुनु जस्तो सामान्य कुरो होइन | जब कसैको ब्याक्तिगत स्वतंत्रताले अरुलाई असर गर्छ त्यों कुरो ब्याक्तिगत रहन्न | त्यसैले आणविक बिषय सबैको चासो को बिषय हो..

    हुन त म मुलांखरेको आवाज कसले सुन्छ... तर मेरो बस चल्ने भए म उत्तर कोरिया त के सबै राष्ट्रका आणविक हतियार र अरु सबै घातक हतियार नष्ट गरि दिन्थें...

    ReplyDelete
  3. मलाइ मिलनजीको प्रतिक्रृया मनपर्यो । अहिले विश्वमा यही अाणविक हतियारकै बलमा त अमेरिकी दादागिरी छ नि ।

    अाणविक हतियार कि त सबैले राख्न हुन्न कि कसैले नि राख्न हुन्न । किन भेदभाव ?

    ReplyDelete
  4. लौन!!! मेरो देशको स्वतनत्रता माथि पनि आक्रमण भाईरहेको छ छिमेकिको, यसको बारेमा पनि केही लेखिदिनुस् न ।

    ReplyDelete
  5. असभ्य हुदै गएको यो समाज - याहाका हरेक ले आफुलाई बिकसित र शिक्षित ठान्नेर यस्तै खाल्का आपसमा जुधेर सिद्धिने प्रतिस्प्रधा गर्न रमाउछन - त्यस्कै नियति ठाने मैले त , यो दुई देश को सम्बन्धलाइ |

    ReplyDelete
  6. यति पर अमेरिका मा त unpredictable North Korea बारे त्रास सिर्जना भएको छ भने जापान त झनै हुने भयो । जनता खान नपाएर भोकै हुंदा पनि के जोरी खोजी रहेको हो कुन्नी । सांच्चै तपाईं ले भन्नु भएको जस्तै अमेरिका, चाइना, र रस्सिया बिच को मोलतोल नमिले सम्म यो सुल्झियला जस्तो छैन ।
    तर जापान को तयारी सुनेर भने खुशी लाग्यो, आपत आइपुग्नु भन्दा अघी नै तयारी गरेको राम्रो, बिकसित देश भनेको आखिर बिकसित नै हो ।

    ReplyDelete
  7. प्रतिकृयाका लागि सबैलाई धन्यबाद!

    मिलन भाइ र जीबनजी, 'अमेरिकाले पाउने, उत्तर कोरीयाले किन नपाउने?' भन्ने कुरो जति सहज र जायज छ उत्तिकै जटिल पनि छ। कुरो गर्दा अमेरिकाको मात्रै पक्ष-पोषण गरेजस्तो हुनसक्छ, त्यसैले यो जटिल कुरामा म जान चाहन्न। एउटा कुरा के भने भनिहालौं भने म पनि यो पृथ्वीबाट आणविक हतियार पूर्ण रुपमा उन्मूलन हुनुपर्छ भन्ने दृढ मान्यता राख्छु।

    उत्तर कोरीया आर्थिक रुपले टाट उल्टेको देश हो र करोडौं जनता भोकले मरिरहेका छन्। यतिखेर उत्तर कोरीयामा राम्रोसंग दुई छाक खान पाउने भनेका कि सैनिक हुन् कि कम्युनिष्ट दलका टाउकेहरु। यस्तो विकराल आर्थिक दुर्गतिमा पनि कथित 'भू-उपग्रह' प्रक्षेपणको नाममा करोडौं डलर झ्वाम् पार्नुमा के तुक छ? भोकले जनता मरेको देश आणविक हतियारका भरमा मात्रै जोगिन्छ?
    फेरि उत्तर कोरीयाको अहिलेको राज्ययन्त्र आफ्नो सुरक्षाको लागि मात्र हतियार विकास गर्ने नभएर अल-कायदा वा अरु कुनै पनि आतंकवादी संगठनलाई बिक्री गर्न नहिच्किचाउने राज्ययन्त्र हो। त्यसकारण, सबै कुरालाई निरपेक्ष आँखाले मात्रै नहेर्ने कि?
    साना राज्यले पनि आणविक हतियार बनाएमात्रै बलिया राष्ट्र ठीक ठाऊँमा आऊँछन् भन्नु पनि बच्काना हो। अमेरिका वा रुससंग यति धेरै त्यस्ता हतियार जम्मा भईसकेका छन् कि उत्तर कोरीयाजस्ता देशलाई अर्को पचास वर्षले पनि नपुग्ला हाराहारीमा पुग्न। साना राष्ट्रहरु आणविक हतियारको दौडमा लाग्ने होईन बरु एक भएर आणविक शक्ति राष्ट्रहरुलाई निशस्त्रीकरणका लागि कूटनीतिक दबाब दिन सक्नुपर्छ।

    उत्तर कोरीयाको यो कदमले आणविक हतियारको दौडलाई कम गर्ने होईन झन बढाउने संकेत देखिएको छ। आफ्नै आणविक हतियार विकास कार्यक्रममा लाग्न जापानलाई बलियो निहुँ मिलेको छ, भलै दोश्रो विश्वयुद्धपछिको विश्व-राजनीतिमा उसको सामरिक खुट्टा बाँधिएको छ। 'चीन पहिल्यै आणविक छ, उत्तर कोरीया पनि यसरीनै सन्किरहे जापानले पनि चूप लागेर बस्नुपर्ने वा दोश्रो विश्वयुद्धपछिका बन्धनहरुलाई मानिरहनुपर्ने के आवश्यकता छ?' यस्तो चिन्तन जापानका युवा-राजनीतिज्ञमा बढ्दै छ। जापान प्राविधिक र आर्थिक दुबै रुपले सक्षम छ, द्रुत गतिमा आणविक हतियार उत्पादन गर्न। उता दक्षिण कोरीयाले पनि यहि बाटो लिनसक्छ।

    अमोल भाइ, मैले लेखेको छु यार भाइको 'देश'को बारेमा पनि:) हुनत, म जाबाले लेखेको कसले सुन्छ र:)

    ReplyDelete