February 09, 2009

"आज फेरि सपनीमा देश देखें" र चोरीबाट सावधान!

आफ्नो रचना, त्यो पनि साह्रै आत्मीयलाई यस्ता काइते प्रसंगमा जोडेर राख्ने मन थिएन। कुनै दिन यसलाई सोझै यहाँको आँखामा पारौंला भन्ने लागेको थियो। तर यहाँहरुलाई पनि होशियार बनाउनुनै ठीक होला भनेर यो प्रसंगपनि लेख्दैछु।

नेपाली युनिकोडमा हात बसेपछि आफ्ना नयाँ-पुराना धेरै रचनाहरुलाई बिभिन्न साइटहरुमा राखियो। मैले विशेष गरी साझामा धेरै लेखें केहि समय। त्यसबाहेक अरु केहि साइटहरुमा पनि फाट्टफुट्ट लेखें, धेरैजसो याद छैन अब।

२००५को लक्ष्मी-जयन्तीका लागि भनेर रचना गरेको परदेशी शिर्षकको एउटा कविता साझाको "कविताको देश" भन्ने धागोमा पनि टाँसेको थिएँ। पछि त्यो कवितालाई कुरुप 'कस्मेटिक सर्जरी' गरेर, कतै काटेर-कतै ऐंजेरु थपेर एकजना मित्रले कुनै अर्को साइटमा आफ्नै नाममा छपाएको भेटियो। बलजफ्ती गरिएको काँटछाँटबाट त्यो चोरिएको कविता हो भन्ने सजिलै थाहा हुन्थ्यो। ति मित्र "कविताको देश" का नियमित सहभागी थिए पहिला, कविता चोरी गरेपछि देखिन छाडे। साझामै अलि-अलि चर्चा गरेपछि यो घटनलाई बिर्सेछु मैले, तर बिर्सन नहुने रहेछ।

साझाबासकै बेला गजलबारे केहि प्रारम्भिक ज्ञान पाएको हो मैले, त्यसभन्दा पहिला पढ्न-सुन्न राम्रो लागेपनि गजलको ब्याकरणको बारेमा फुट्टी पनि ज्ञान थिएन। साथीहरुका संगतमा लागेर दश-बाह्र वटा गजल लेखेंपनि। त्यो यात्रा अहिले रोकिएको छ; कारण धेरै हुनसक्छन्, त्यता नलागौं अहिले।

त्यतिखेर लेखेको एउटा गजल इण्टरनेटको कुन-कुन अड्डामा राखिएको रहेछ भनेर खोज्ने सूर चल्यो, अस्ति एउटा प्रसंगवश र गुगलमा "आज फेरि सपनीमा देश देखें" लेखेर ठेल्दिएँ।

मिलेको सूचिको टाउकैतिर मेरो गजलका हरफहरु बोकेको म कहिल्यै नपसेको एउटा अड्डा (साइट) देखियो। पसेर हेर्दा मेरो गजल त्यहाँ पनि टाँसिएको रहेछ, तर रचनाकारको नामै नराखी। मैले लेखिसकेर साझाको गजलको धागोमा राखेको नौ महिनापछि यसमा राखिएको रहेछ। अरु कसैको नाममा नराखिएको हुँदा चोरीको नियत छैन पनि भन्न सक्ला कसैले, तर राखेको यति लामो समयसम्म पनि नाम नदेखिनु पनि खराब नियतै हो। राखिएको पर्सिपल्टै 'रचनाकारको नाम राख्ने' अनुरोध गर्दै एकजना पाठकको प्रतिकृया पनि आईसकेको रहेछ। तैपनि नराखिनु भनेको अर्काको रचनालाई कौडीमा पनि नगनिएको, रचनाकारको आत्मसम्मान नगरिएको उदाहरण हो।

मैले पनि त्यो गजल आफ्नो भएको जानकारी दिँदै गल्ती सच्याउन अनुरोध गरेको तीन दिन भयो, तर अझै सच्चिएको छैन।

तपाईँ-हाम्रा प्यारा रचनाहरु कति यसरी अर्काकै नाममा अथवा गुमनाम भेटिन सक्छन् खोज्दा। गुगल अथवा कुनै पनि सर्च ईञ्जिनले नदेखाउने पनि होलान् कति। यो क्रम बढ्दै जाँदा भविष्यमा कुनै दिन आधिकारिकता सम्बन्धी समस्या आउने निश्चित छ। इण्टरनेटले गर्दा लेख्ने र छपाउनेलाई सजिलो भएको छ, तर चोर्नेलाई झन सजिलो भएको छ। यो समस्यामाथि गम्भिर विचार गर्नेपर्ने भएको छ। चोरहरुको पाएसम्म भण्डाफोर गर्नैपर्छ। पेशेवर या सौखिन, हाम्रो रचना भनेको हाम्रो सम्पत्ति हो, त्यसमा हामीले प्रशस्त समय र सृजनात्मक उर्जा खर्चेका हुन्छौं। यसलाई बिटुल्याउने र बजारमा सस्तो बनाउने कामको जति निन्दा गरेपनि कम हुन्छ।

तपाईँहरु पनि होशियार बन्नुहुनेछ भन्ने आशा गरेको छु।


चोरिएको गजलको स्क्रीन शट
----------------------------------------------------------------
त्यो मेरो साह्रै आत्मीय गजल रचना राख्दैछु अब। २००५, डिसेम्बर ८ मा साझाको गजलको धागोमा पहिलोपटक टाँसिएको थियो यो।


सपनीमा आज फेरि देश देखें

पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा देश देखें।

11 comments:

  1. अर्काको रचना चोर्नु ग़लत काम हो | राईट क्लिक गरेर कपि गर्ने बित्तिकै अरुको रचना आफ्नो भन्न पाईने भए लक्ष्मी प्रसाद देवकोटाका सबै कबिता आज देखि मेरा भए | त्यस्तो भन्न पाईन्छ र ? हरेकलाई आफुले दुःख गरेर कमाको सम्पति भन्दा पनि दुःख गरेर सिर्जेको रचना प्यारो हुन्छ...

    ReplyDelete
  2. ईन्टरनेटको प्रयोग पछी यस्ता छोरी कार्यमा धेरै बढोत्तरी भएको छ। ठुला भनौदाहरु समेत सम्मतिएका घटना छन। तँपाइको पनि छोरी भएछ, त्यो पनि पटक-पटक। वास्तवमा यिनिहरुलाई निरुत्साहित पार्नै पर्छ।

    र बसन्तजी, यो चाँही औधी राम्रो छ। एउटा पोजिटिभ कुरा के भने यसले चोरलाई राम्रै लठ्याएछ।

    ReplyDelete
  3. बसन्त जी यो यकदमै राम्रो कुरा उठाउनु भएको छ ,
    टासो सँगै रचनाकार को नाम चाँही राख्नु पर्ने हो /
    कमेन्ट मा समेत अनुरोध गरी सक्दा पनि रचनाकारको नाम नराख्दा चाँही त्यो साईट को संचालक को नियत ठीक छैन जस्तो छ

    ReplyDelete
  4. वसन्तजी यो प्रवृतीको शिकार एकाध पटक म पनि भएको छु । अलि बढ्तै हेल्चेक्र्याँई गर्ने गर्छन यस्तो कुरामा । प्रवासबाट भनेर अझ प्रवासी नेपालीको आवाज भनेका छन् काम चैं यस्तो बेईमानी ।

    ReplyDelete
  5. बसन्त जी, यस्ता घटना त कत्ती भएको छ कत्ती मेरो कत्ती पोस्ट हरु चोरी गरेर आफ्नै भनेर ब्लगमा टास्छन। म देखे पनि बास्तै गर्दिन थे ।

    तर एकचोटि त अति भयो मेरो एउटा पोस्ट एक्जना ब्लगरले आफुले लेखेको भनेर आफ्नो ब्लगमा टासेछन्। अर्का बाठा ब्लगरले त चोरिको ब्लग हेरेर मेरो ब्लगमा आएर उल्टै मलाई चोरको दोष लगाए
    लौ यो पोस्टमा wienmandu मा भन्ने को कमेन्ट हेर्नुस् त।

    http://archanashrestha.blogspot.com/2008/01/blog-post.html

    ReplyDelete
  6. रहरले ब्लग चलाउने र दिमागशुन्य भएपछि सिधै अर्काको बौद्धिक प्रतिभाको चोरी गर्ने यस्तो कार्य पहिले पनि भएको हो र यस्तो कार्यको बिरोध गर्नै पर्छ ।

    हुन त चोरको हजार दाउ हुन्छ तैपनि अब भने हामीहरुले आ-आफ्नो ब्लगमा text-copy disable गर्नै पर्छ जस्तो लाग्दैछ । मैले गरी सकें र साथीहरुलाई पनि आफ्नो ब्लगमा right click गरी copy गर्न नमिल्ने गर्न सल्लाह दिन्छु ।

    चोरी भएको रचनाको बारेमा चाही त्यस्ता चोरलाई ठिक ठाँउमा ल्याउने केहि उपाए सोच्दैछु र सोचौं सबैले ।

    ReplyDelete
  7. बसन्त जि,

    गजलले मन छोयो, म त तपाईंको लेखन शैली को फ्यान नै हुँ, यो त पहिले पनि भनी सकें :)
    त्यो वेबसाईट सेप्टेम्बर २००८ देखी अपडेट नै भएको रहेनछ, त्यसैले तपाइंलाई रेस्पोन्द नगरेको होला ।
    तपाईं ले उठाउनु भएको कुरा समय सापेक्ष छ । राम्रा लेखकहरुको लेख चोर्न बाट १००% बाचाउन त असम्भव नै होला, तर कसैले सभार गरेको छ भने link back गरे राम्रो हुन्थ्यो ।

    ब्लगमा right click गरी copy गर्न नमिल्ने बनाउने पो कसरी हो ? जान्नेकारहरु प्लिज सल्लाहा पाउं न। Blogspot मा गर्न मिल्ने भए पनि शायद wordpress म मिल्दैन होला फेरी !

    ReplyDelete
  8. Blogger मा right click गरी copy गर्न नमिल्ने बनाउन एकदमै सजिलो छ:
    त्यसकोलागी आफ्नो बल्गर dashboard मा गएर Edit HTML गरी यहाँ बाट कोड कपी पेस्टगरी ‘Save Template’ गर्दा हुन्छ।

    Wordpress को बारेमा त्यत्ती ज्ञान नभएपनि मेरो जानकारी अनुशार wordpress.org मा ब्लग छ भने तपाईले यहाँ बाट plug-in Download गर्न सक्नु हुन्छ। wordpress.com मा ब्लग होस्टिङ भएको छ भने चाहि सायद त्यहा plug-in को option हुँदैन क्यार ।

    ReplyDelete
  9. धन्यबाद सबै साथीहरुलाई!

    अर्चनाजी, त्यस्सै छोड्नुभने हुँदैन चोरहरुलाई! हामी चुप लाग्यौं भने यो प्रवृत्ति झन बढ्छ।

    दिलिप दाइलाई धन्यबाद, कोडको बारेमा प्रकाश परदिनुभएकोमा। Javascript Disable ग-यो भने यसले पनि काम गर्दैन तर त्यतिसम्म गर्न जान्नेले आफैं लेख्न पनि जान्या हुन्छ भन्ने आशा गरौं।

    ReplyDelete
  10. कमेन्ट लेख्नु भएकोमा धन्यवाद । वास्तवमा यो कविता कुनै चेन इमेलबाट हामीलाई प्राप्त भएको थियो । यसमा लेखकको नाउँ नभएकोले कसको हो भन्ने जानकारी हामीलाई भएन ।

    गजल निकै राम्रो लागेर नेपाली साहित्यको प्रचार प्रसारको लागि जस्ताकोतस्तै भन्ने श्रेणीमा हामीले टपक्क टिपी राखेका थियौ ।

    यसलाई निकै ठूलो विषय मानि लेखकजीले गर्नु भएको गुनासो चाँहि नाजायज भन्न मिल्दैन तर यसलाई चोरी गरियो भनेर लामो लेख नै तयार गर्नु चाँहि अलिकति नमिलेको हो कि ? किनकी चोरि गरिएको भएँ स्पष्ट नाउँ लेखिने थियोहोला ।

    कमेन्टप्रति उत्तरदायित्व भएन भन्ने प्रसंगमा हरेक लेख तथा रचनाको प्रतिक्रिया हेर्ने समय नपुगेर होला भन्ने लाग्दछ ।

    प्रतिक्रिया इमेल आजमात्र पढने अवसर पाएँ । सायद निकै जंक मेलहरु बारम्बार आइरहदा प्रतिक्रियालाई पनि जंग नै संझी अन्जानमा डिलेट भएको हुनसक्छ ।

    अन्तमा लेखकहरुको आपना रचनाबारे देखिएको सतर्कताप्रति भने हामी निकै नै गौरवान्वित भएका छौं ।

    धन्यवाद
    प्रवासबाट
    http://chij.blogsome.com/2006/09/06/p379/

    ReplyDelete
  11. 'प्रवासबाट'ज्यू, ब्लगमा स्वागत छ। ढिलै भएपनि स्पष्टीकरणको लागि हार्दिक धन्यबाद!
    लेखकको नाम फेर्नु वा ठाडो चोरी गर्नु मात्रै नराम्रो होईन, नाम नराखी प्रकाशित गर्नु पनि उस्तै हो भन्ने मान्यता मेरो भएकोले यो लेख लेखिएको हो। यसभन्दा पहिला पनि आफ्ना केहि रचनाहरु चोरी भैसकेका र अरु धेरै साथीहरुले पनि यस्तै समस्या झेलिरहेकाले सबैलाई सजग बनाउने उद्देश्य हो मेरो। कुनै पनि साहित्यिक रचनामा रचनाकारको प्रशस्त सृजनात्मक उर्जा र समय लागेको हुन्छ। यसैले कुनै हालतमा पनि रचना र रचनाकार माथि अन्याय हुन दिनहुँदैन। वेनामे रचनालाई प्रकाशित नगरेकै राम्रो।

    तपाईँको खुलस्तीका लागि आभारी छु र भविष्यमा अझ बढी ध्यान दिनुहुनेछ भन्ने आशा पनि गर्दछु।

    ReplyDelete