October 22, 2008

'वर्कशप' बाटै थप केहि कुरा

वर्कशप पछिका दिनहरुमा बेस्सरी बेफूर्सदी भईयो, अस्तिको टाँसो पनि त्यस्तै ‘हतारको काम लतार’ भनेजस्तो भयो। थप केहि टुक्रा-टाक्री कुराहरु आज लेख्दैछु।
----------------
कार्यक्रम गरिएको जाइकाको हल नेवा: ईण्टरनेशनलको नाममा लिईएको थियो। NEA-JC जापानमा दर्ता नभएको हुनाले यसको नाममा हल लिन नमिलेको रहेछ। उक्त सहयोगका लागि नेवा: ईण्टरनेशनललाई फेरि एक पटक धन्यबाद!
---------------
कार्यक्रममा 'मास' कम हुने कुरा अलिक पहिलेबाटै उठेको हो। कार्यक्रमको अघिल्लो दिन र कार्यक्रमकै दिन पनि फेरि उठ्यो। 'ईञ्जिनियरकै लागि मात्र' भनेर कार्यक्रम आयोजना गरिएको निश्चय पनि होइन। कार्यक्रमलाई सहभागितामूलक बनाउन नेसाज र एनआरएनमा पनि जानकारी पठाइएको थियो र ईञ्जिनियर बाहेकका साथीहरुसंग पनि पेपरका लागि अनूरोध गरिएको थियो।

हाम्रो तर्फबाट केहि कमजोरीहरु पक्कै पनि रहे होलान् यस मामिलामा, तर अचेल जापानमा हुने नेपाली कार्यक्रमहरुमा 'मास' जम्मा हुने कारण अलि फरक छ। ती कार्यक्रमहरु कि राजनीतिक हुन्छन् कि जातीय संस्थाका हुन्छन्। तीनमा स्वभावत: 'मास' ठूलो हुननै भयो। त्यस्ता कार्यक्रमहरु 'गज्जब' हुन्छन्, हरेक कार्यक्रममा कांग्रेस, एमाले, माओवादी, राजदूतावास र बिभिन्न संस्थाका प्रतिनिधिहरुलाई 'आसन ग्रहण' गराईन्छ। यो आसन ग्रहण गराईले उस्तै परे आधा घण्टा खाईदिन्छ। अनि सबैलाई 'छोटो मन्तब्य' दिन पनि आग्रह गरिन्छ, जुन 'छोटो मन्तब्य' औसतमा पनि ४०-५० मिनेटको हुन्छ। कार्यक्रमको मूल विषयलाई अत्यन्त कम समयमात्र बाँकी रहन्छ, उस्तै परे मूल विषयमा प्रवेशै नगरी कार्यक्रम सकिन्छ। यस्तो कार्यक्रम गर्ने समय NEA-JC संग छैन।

आफ्नो तर्फबाट प्रचारमा भएका कमी-कमजोरीलाई भने NEA-JC ले अबका कार्यक्रमहरुमा सच्याउनेनै छ।
----------------
वर्कशपमा राजदूतावासको प्रतिनिधिको रुपमा डेपुटी चिफ अफ द मिसन डा. दुर्गा बहादुर सुबेदी क्षेत्रीजी (जसको साहित्यिक नाम दुबसु क्षेत्री हो)को उपस्थिति थियो भने एनआरएनको तर्फबाट एनआरएन-जापानका केन्द्रीय सदस्य सफला धितालजीको उपस्थिति थियो।
----------------
दुर्गा बहादुर सुबेदी क्षेत्रीजीको चार-पाँच पृष्ठ लामो लिखित बक्तब्य अंग्रेजीमा थियो। बक्तब्यमा 'नयाँ नेपाल' यथेष्ट दोहोरिएको थियो।
----------------
पूरै कार्यक्रम 'नेपाङ्रेजी' भाषामा चलेको थियो। नेपालीहरुमात्रै भेला भएको कार्यक्रम पूरै अंग्रेजीमा गर्नुमा कुनै तुक छँदा पनि छैन तर नेपाली भाषाको प्राविधिक शब्दाभाव (र भएका पनि प्रयोग नगरिने चलन)ले गर्दा प्राविधिक शब्दावली भने अंग्रेजीकै हुनु स्वाभाविकै भयो।
---------------
दिउँसो खाना खाँदा सूर्य दाइको एउटा खेलले रमाईलो गरायो एकछिन। सय येनको सिक्कालाई बढाबढमा किन्ने खेल थियो। शर्त चाहिँ, १) सबैभन्दा बढी कबोल्ने दुई जना (टप टू)ले पैसा सूर्य दाइलाई दिनुपर्ने र २)त्यो सिक्का सबैभन्दा बढी कबोल्नेले पाउने। सयको सिक्कामाथि असीजतिको बोली परिसकेको थियो र खेल चालू रहे सय सजिलै नाघ्ने लक्षण देखिएको थियो, सूर्य दाइले खेल रोक्दासम्म। सूक्ष्म अहं र जूवाडे मनस्थिति जन्मिदो रहेछ बोली लगाउन थालेपछि। नेपालको राजनीतिलाई यो खेलले राम्ररी प्रतिनिधित्व गर्ने धारणा थियो सूर्य दाइको।

दुई तरिकाले हेर्न सकिन्छ यो खेललाई। पहिलो हेराईमा नेता र दललाई सय येनको सिक्काको रुपमा हेर्ने हो भने हामी जनताहरु सय येनको सिक्कालाई हजार येन तिरेर किनिरहेका छौं।

दोश्रो हेराईमा, हामी जनता आफैं सय येनको सिक्का हौं। र नेता र दलहरुको सिण्डिकेट यस्तो छ कि धेरै कम मोलमा हामी 'बेचिईरहेका' छौं। बढाबढमा बोली लगाउनेहरुको सिण्डिकेट हुने हो भने १० येनमै बोलीलाई सीमित गर्न सकिन्छ। सबैभन्दा माथिका दुई जनामध्ये एउटाले १० र अर्कोले ९ येन बोलेर १९ येन तिरेको भरमा सय येनको सिक्का हात पार्न सक्छन्।
--------------------
खाना खाएर हलतिर फर्कँदै गर्दा एउटा भित्री बाटोमा रातो ट्राफिक लाइटमा परियो। बटन थिचेर हरियो बल्ने प्रतीक्षा गरिरहेका थियौं हामी, तर धेरै बेरसम्म बल्दै-बलेन। रातैमा भएपनि बाटो काट्ने सूर गर्दै थियौं हामी (त्यति चल्तीको बाटो थिएन त्यो), एउटी कुइरीले हामीभन्दा पहिल्यै दौडिँदै बाटो काटी।
"जापानीले यो कुइरीलाई हेरेर चाहिँ 'इसोगासीइ ने!' (कति हतार छ विचरीलाई!) भन्छन्, हामीलाई भने आँखा तर्दै 'वारुइ गाइजीन' (खराब बिदेशीहरु!) भन्छन्।" एकजना साथीले हाँसो गर्नुभयो। कुरोमा हाँसो भएपनि भित्री यथार्थ भने त्यस्तै हो।

5 comments:

  1. राजनीतिका मान्छेलाई कार्यक्रममा नबोलाएर राम्रो गर्नुभएछ । नभए आधाभन्दा धेर समय खाइदिन्थे ।

    ReplyDelete
  2. Why to be disturbed in the unity of Nepali abroad by by system of party in the heavenly priortized country Japan. Well done.

    ReplyDelete
  3. Ujeli g ko kurama ma sahamat 6u. natra bhane ...bolna matrajaneka le .... boleko bolei garnethe.... ani hudain ta thyo barbad.

    ReplyDelete
  4. बसन्तजी,

    राम्रै गर्नु भो। मान्छे जम्मा गर्नकै लागी आसन ग्रहण गराऊने र भाषण गराऊने कुरा मलाई त्यति ठिक लाग्दैन। जति थियो, राम्रै थियो। के हामीलाई कसैलाई नेता बनाऊनु छ र भीड जम्मा गर्न? मलाई प्यानेल डिस्कसन चाँहि निक्कै राम्रो लाग्यो। तपाँई, नेत्र दाज्यू र सूर्य दाज्युका छलफल एकदम सटीक र विश्लेषणले भरिपूर्ण थियो। आगामी दिनमा यो जापान च्याप्टरले अरु प्रगती गरोस भन्ने शुभेच्छा ब्यक्त गर्दछु।

    परिवर्तन
    परिवर्तन।

    ReplyDelete
  5. सबै साथीहरुलाई धन्यबाद प्रतिकृयाको लागि!

    ReplyDelete